Saturday, December 31, 2016

नेपालको सामाजिक स्वरूप र कन्नौज — एक विवेचन

बासुदेवलाल दास
सहप्राध्यापक, इतिहास विभाग
ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज
गताङ्कको बाँकी

    मैनोलीसित सम्बन्धित भएकाले यिनीहरूको उपाधि मैनाली भएको हो । नेपालको भूभागमा आउनुभएका मैनाली वंशका आद्यपुरुषको नाम काशी मैनाली जोशी थियो, जसलाई भक्तपुरका राजा भूपतिन्द्र मल्लले राज ज्योतिषीको पदमा नियुक्त गरी काभ्रेपलाञ्चोक जिल्ला क्षेत्रमा बिर्ता दिएर राखेका थिए । यस विषयको उल्लेख मैनाली वंशावली नामक पुस्तकमा गरिएको छ, जसको प्रकाशन विक्रम संवत् २०६३ सालतिर काठमाडौंस्थित मैनाली समाज सेवा संस्थाद्वारा गरिएको थियो । यस वंशावलीका सङ्कलकहरूमा वासुदेव मैनाली, ओकिलप्रसाद मैनाली र पुष्पराज मैनाली थिए भने पुस्तकको सम्पादनको कार्य राजेन्द्रप्रसाद मैनाली, शम्भुप्रसाद मैनाली र बद्रीभक्त मैनालीले गरेका थिए ।
    पहाडी ब्राह्मण जातिका उपाधि, थरहरूको निर्माणमा स्थानको प्रभाव स्पष्टरूपमा देखिन्छ । नेपालको पश्चिमी क्षेत्रका विभिन्न स्थानहरूसित सम्बन्धित रहेका यस्ता उपाधि र थरहरूमा जुम्ला जिल्लाको धिता गाउँसित सम्बन्धित थर धिताल, पाण्डुसेराबाट पाण्डे, सिंजाबाट सिंजापति, चदिलागाउँबाट चौलागाईं, सुवाडाबाट सुवेदी, नियापानीबाट नेउपाने एवं प्याकुरीबाट प्याकुरेल थर भएका हुन् । यसैगरी, अछाम जिल्लाको तिमिल्सैनबाट तिमिल्सिना (तिमिल्सेना), देवकोटबाट देवकोटा, ढुङ्गानीबाट ढुङ्गाना, घिमिर्याबाट घिमिरे, ढाँकुबाट ढकाल, बजगाउँबाट बजगाईं, रिमाबाट रिमाल, घोडासैनबाट घोडासैनी, पुडासैनबाट पुडासैनी, धमालीबाट धमाला (धमला), दर्नाबाट दर्नाल, कुइकाबाट कुइँक्याल एवं चाल्साबाट चालीसे थर बनेका देखिन्छन् । यसरी नै बझाङ जिल्लाको रेगम स्थानबाट रेग्मी, सोताबाट सोती एवं खारबाट खरेल थर भएका तथा बाजुरा जिल्लाको जमकट्टीबाट जमरकट्टेल, छातीबाट छन्त्याल एवं कुण्डीबाट कुण्ड्याल थर भएका हुन् । त्यस्तै, गजु¥याल (गजुरेल) थरको निर्माण बैतडी जिल्लाको गरजई नामक स्थानबाट भएको हो भने डोटी जिल्लाको डोटेखोलाबाट डोटेल, खत्याडीबाट खतिवडा, निरौलीबाट निरौला, ओझानाबाट ओझा, काँडाबाट कँडेल एवं बोगटानबाट बोगटी थर बनेका हुन् । यसै प्रकार मुगु जिल्लाको खनायाबाट खनाल थर भएको हो भने रूकुम जिल्लाको गोताम स्थानबाट गोतामे र गौतम एवं सापकोट स्थानबाट सापकोटा थर भएको हो । त्यसरी नै दैलेख जिल्लाको लामाछानी स्थानबाट लामिछाने, बाँसकोटबाट बाँस्कोटा, बाँसतोलीबाट बाँस्तोला, सातलाबाट सत्याल, लुयाण्टीबाट लुञीटेल (लुइँटेल), वस्ताकोटबाट वस्ताकोटी, चापागाउँबाट चापागाईं, नेपा स्थानबाट नेपाल, रिजुबाट रिजाल, पोखरबाट पोखरेल, लम्सुबाट लम्साल, लम्जीबाट लम्जेल, दहबाट दहाल (दाहाल), कोइरालीबाट कोइराला, दवाडाबाट दवाडी, गैह्राबाट गैह्रे (गहिरे), भुर्तीबाट भुर्तेल, पराजुलबाट पराजुली, कट्टीबाट कट्टेल एवं भुषाकोट स्थानबाट भुषाल (भुसाल) थर बनेका हुन् । यस प्रकारका अनेक उदाहरण रहेका छन् । यस सन्दर्भमा सूर्यमणि अधिकारीद्वारा तयार पारिएको अनुसन्धानात्मक पुस्तक ‘दि खस किङडम ः ए ट्रान्स—हिमालयन इम्पाएर अफ दि मिड्ल एज’ द्रष्टव्य छ, जसको प्रकाशन भारतको राजस्थान राज्यको राजधानी जयपुरस्थित निराला पब्लिकेशन्सले सन् १९८८ ई.मा गरेको थियो । यसैगरी, भारतको हरिद्वार र अल्मोडाको बीचको भूभागमा अवस्थित पौडी स्थानबाट पौडेल थरको निर्माण भएको हो । यिनैमध्येका केही पौडेल परिवार मुसिकोटनिकट अरज्यै गाउँमा आएर निवास गरेकाले अज्र्याल (अर्याल) तथा गुल्मी निकटको सिक्दी गाउँमा निवास गरेकाले सिक्देल (सिग्देल) थरको निर्माण भएको हो । यसैले पौडेल, अर्याल र सिग्देल यी तीनवटै थरको गोत्र भने ‘आत्रेय’ नै रहेको भनी उपर्युक्त चर्चा गरिएको ठूलो थर गोत्र प्रवरावली नामक पुस्तकमा उल्लेख भएको छ ।
    नेपाली समाजको पहाडी समुदायका ब्राह्मण जातिका धेरैजसो उपाधि र थरहरू क्षेत्री जातिमा विद्यमान रहेका देखिन्छन् । यस प्रकार क्षेत्री जातिको विकास एवं विस्तारमा ब्राह्मण जातिको भूमिका रहेको बुझिन्छ । यसलाई अर्को शब्दमा भन्ने हो भने नेपालका पहाडी समुदायका क्षेत्री जातिमा अप्रत्यक्षरूपमा कान्यकुब्जको योगदान स्पष्ट रहेको देखिन्छ । अर्कोतिर, पहाडी समुदाय अन्तर्गतको मगर जातिका आले, थापा र राना गरी तीनवटा प्रकारहरूमा कुल ३७१ थरहरू रहेका पाइन्छन् । यी थरहरूमा खड्का, खप्तरी, खुलाल, घिमिरे, दूध, पुवार, बराल, बस्न्यात, बुढाथोकी, भण्डारी, रोकाहा, रिजाल, रिमाल, लामिछाने, सापकोटा, सिंजापति जस्ता ब्राह्मण–क्षेत्री जातिहरूमा पाइने थरहरू रहेका देखिन्छन् । यसका साथै मगर जातिको उपर्युक्त तीनवटै प्रकारमा ‘कनौजे’ भन्ने थर रहेको पाइन्छ । अर्थात् आलेमगरमा कनौजे आले, थापामगरमा कनौजे थापा र रानामगरमा कनौजे राना नामक थर रहेका छन् । यसबारे विस्तृत जानकारीका लागि माथि उल्लेख भएको ठूलो थर गोत्र प्रवरावली नामक पुस्तक अध्ययन गर्न सकिन्छ । यस प्रकार मगर जातिको विकास र विस्तारमा ब्राह्मण र क्षेत्री जातिको भूमिका देखिने भएकाले यस क्षेत्रमा कान्यकुब्जको भूमिका रहेको थाहा हुन्छ । अर्को शब्दमा भन्नुपर्दा नेपाली समाजको पहाडी समुदायका मगर जातिमा, अप्रत्यक्षरूपमा भएपनि, कान्यकुब्जको योगदान निश्चितरूपले रहेको देखिन्छ । यसैगरी, हमाल जातिको विकासमा ब्राह्मण जातिको योगदान रहेको चर्चा गरिएको पाइन्छ । यसै सन्दर्भमा कान्यकुब्जमा सम्राट हर्षवद्र्धनको देहावसानपश्चात्को अस्तव्यस्ततापूर्ण समयमा अनेक कान्यकुब्जवासीहरू शान्तिपूर्वक जीवन बिताउनका लागि उत्तरी क्षेत्रका पहाडी प्रदेशहरूमा बसोबास गर्न थालेका भन्ने विषयको चर्चा जनकलाल शर्मा लिखित हाम्रो समाज
(एक अध्ययन) पुस्तकमा गरिएको छ । यसै सिलसिलामा नेपाली समाजको पहाडी समुदाय अन्तर्गतको गुरुङ जातिको वंशावली अनुसार उनीहरूका पुर्खा कन्नौजमा रहेका थिए भन्ने चर्चा पाइन्छ । यस्ता कन्नौजवंशीय गुरुङहरू आप्mनो गोत्र भारद्वाज रहेको बताउने गरेका सन्दर्भको उल्लेख जनकलाल शर्माले आप्mनो उपर्युक्त पुस्तकमा गर्नुभएको छ । यस प्रकार नेपाली समाजको पहाडी समुदायका ब्राह्मण, क्षेत्री, मगर र गुरुङ जातिहरूमा कान्यकुब्जको योगदान रहेको देखिन्छ ।
    नेपाली समाजको मधेसी समुदाय अन्तर्गतका हिन्दू धर्मावलम्बी जातिहरूमध्ये ब्राह्मण जातिमा पूर्वीय क्षेत्रमा मैथिल ब्राह्मण रहेका छन् भने मध्य र पश्चिमी क्षेत्रमा कान्यकुब्ज ब्राह्मण बसोबास गर्दछन् । कान्यकुब्ज ब्राह्मणका १६ गोत्रहरू प्रसिद्ध रहेका एवं तीमध्ये ६ गोत्रलाई ‘कुलीन–षट्कुल’ भनिएको पाइन्छ । यसैगरी बाँकी १० गोत्रहरूलाई ‘धाकर’ भनिएको देखिन्छ । मधेसी समुदाय अन्तर्गतका कान्यकुब्ज ब्राह्मणका उपाधिहरूमा अग्निहोत्री, अवस्थी, तेवारी (तिवारी), त्रिवेदी, दीक्षित, दूबे, पाठक, पाण्डे (पाण्डेय), मिश्र, बाजपेयी, शुक्ल आदि रहेका बारे चर्चा माथि उल्लेख भएको हरिकृष्ण शास्त्रीद्वारा लिखित ब्राह्मणोत्पत्तिमात्र्तण्ड नामक ग्रन्थमा पाइन्छ । यसका साथै उपाध्याय, ओझा, चौबे, त्रिपाठी, भट्टाचार्य, सिंह जस्ता उपाधिहरू पनि कान्यकुब्ज ब्राह्मणमा देखिन्छन् । यस्ता उपाधिमा रहेका शब्दहरूद्वारा आस्पद र प्रतिष्ठा विषयक सङ्केत गरिएका हुन्छन् । यिनीमध्ये वेद अध्ययनको आधारमा द्विवेदी (दुबे), त्रिवेदी (तिवारी), चतुर्वेदी (चौबे) आदि भनिएका हुन्छन् भने अध्यापन कार्यसित सम्बद्ध भएकालाई उपाध्याय, पाठक, भट्टाचार्य भनिएको देखिन्छ । यसैगरी, यज्ञादि कर्मानुष्ठान गर्नेहरूका अग्निहोत्री, अवस्थी, दीक्षित, बाजपेयी आदि उपाधि रहेका हुन्छन् भने श्रौत स्मार्त कर्मानुष्ठान आदि गर्नेहरू मिश्र, शुक्ल आदि उपाधिधारी हुने गरेका पाइन्छन् । यसका साथै सरयू नदीको उत्तरी किनाराका क्षेत्रलाई लोकबोलीमा ‘सारव’ भनिन्छ । त्यस क्षेत्रका निवासी कान्यकुब्ज ब्राह्मणहरूलाई सरयूपारीण वा सारवपारीण वा सरवरिया ब्राह्मण भन्ने गरिएको पाइन्छ । यिनीहरूमा ३ र १३ अर्थात् त्रिकुल र त्रयोदशकुल भनेर विवेचना गरिएको एवं तिनलाई क्रमशः प्रथम र द्वितीय श्रेणीको भनेर मानिएको देखिन्छ । यसका साथै उपर्युक्त १६ कुलका अतिरिक्त रहेकालाई भने तृतीय श्रेणीका मानिएको पाइन्छ । यस सन्दर्भमा ज्वालाप्रसाद मिश्र कृत जातिभास्कर नामक माथि उल्लेख गरिएको ग्रन्थ द्रष्टव्य रहेको छ । यस प्रकार नेपाली समाजको मधेसी समुदायमा ब्राह्मण जातिमा कान्यकुब्जको योगदान स्पष्ट रहेको देखिन्छ ।
    अर्कोतिर, मधेसी समुदाय अन्तर्गतका ब्राह्मणबाहेकका अन्य अनेक जातिहरूमा ‘कनौजिया’ नामक समूह रहेको छ । कनौजिया शब्दबाट कन्नौज वा कान्यकुब्जको बोध हुन्छ । यसबाट यी जातिहरूमा कान्यकुब्जको योगदान रहेको स्पष्ट हुन्छ । यसरी कनौजिया समूह रहेका मधेसी समुदाय अन्तर्गतका हिन्दू जातिहरूमा कानु, कुम्हार, कुरमी, कोइरी, गुआर, चमार, डोम, ततमा, तेली, दुसाध, धोबी, नुनियाँ, मुसहर, लोहार, हजाम, हलुवाई इत्यादि रहेका छन् । यीमध्ये कानु जातिमा गुप्ता, साह आदि उपाधि हुने गर्दछन् भने कुम्हार जातिमा पण्डित, प्रजापति आदि उपाधि रहेका छन् । यस्तै कुरमी जातिमा चौधरी, जैसवार, पटेल, मण्डल, महतो, राउत, सिंह जस्ता उपाधि पाइन्छन् भने कोइरी जातिमा कुशवाहा, महतो, सिंह आदि उपाधिहरू हुन्छन् । नेपाली समाजको मधेसी समुदाय अन्तर्गतको गुआर (ग्वाला) जातिमा अधिकारी, अरगरिया, कुशियैत, खिरहरि, खेरवार, गोइत, गोप, गोहिवार, चौधरी, चौरवार, छिटान, तपसी, देवहर, बरबरिया, भगत, भरखेर, भुरेर, मरवैता, मरहट्टा, महरान, यादव, राउत, राय, राव, रेधान, रोहिता, विराजी, सिंह इत्यादि एक सयभन्दा बढी उपाधि रहेका पाइन्छन् । यसरी नै चमार जातिमा नाइक, महरा, मोची, रविदास, राम, साफरी आदि उपाधि रहेका हुन्छन् भने डोम जातिमा मरिक, मली, मलिक जस्ता उपाधिहरू रहेका पाइन्छन् । यस्तै, ततमा जातिमा दास, मण्डल, महतो आदि उपाधि रहने गरेका पाइन्छन् । यस्तै, तेली जातिमा चौधरी, साह जस्ता उपाधि हुन्छन् भने दुसाध जातिमा पासवान, हजरा आदि उपाधि हुने गर्दछन् । त्यस्तै, धोबी जातिका उपाधिमा चौधरी, बैठा, रजक आदि हुन्छन् भने नुनियाँ जातिमा चौधरी, चौहान, भोगता, महतो, माझी, राउत, रावत, सिंह जस्ता उपाधि देखिन्छन् । यसैगरी, मुसहर जातिमा ऋषि, माझी, सदा जस्ता उपाधि रहेका हुन्छन् भने लोहार जातिमा ठाकुर, विश्वकर्मा, शर्मा जस्ता उपाधि रहेका पाइन्छन् । यस्तै, हजाम जातिमा ठाकुर र शर्मा उपाधि देखिन्छन् भने हलुवाई जातिमा गुप्ता, साह जस्ता उपाधि देखिन्छन् ।
    उपर्युक्त तथ्यहरूको विवेचनबाट के थाहा पाइन्छ भने वर्तमान नेपाल राष्ट्रको सिमानाभित्र निवास गर्ने पहाडी र मधेसी गरी दुवै समुदाय अन्तर्गत रहेका विभिन्न जातिको समाजको निर्माणमा कान्यकुब्जको योगदान रहेको छ । यसरी ऐतिहासिकरूपमा विचार गर्दा प्राचीनकालमा मूलस्थान एउटै कान्यकुब्ज अर्थात् कन्नौज (कनौज) क्षेत्र रहेको एवं कालक्रममा अनेक जाति र पेशाका मानिसहरू विभिन्न कारणले गर्दा त्यस स्थानबाट स्थानान्तरित हुँदै वर्तमान नेपाल राष्ट्रको भूभागमा पर्ने क्षेत्रहरूमा बसोबास गर्दै आएका देखिन्छन् । यस प्रकार वर्तमान नेपाली समाजको स्वरूपको निर्माणमा कान्यकुब्ज अर्थात् कन्नौजको योगदान रहेको तथ्यको पुष्टि हुन आउँछ । यो ऐतिहासिक तथ्यले नेपाली समाजमा सामुदायिक, साम्प्रदायिक एवं जातीय परिवेशमा समन्वयात्मक भावनाको विकास गर्नुका साथै परस्पर सौहाद्र्रपूर्ण सम्बन्धको स्थापनामा सहयोग हुने गरी सकारात्मक चिन्तनतिर उन्मुख र उत्पे्ररित गर्न सक्ने देखिन्छ । यस विषयमा अझ बढी अध्ययन र अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us