Wednesday, January 20, 2021
पक्की पुल हेर्दै बाँसेपुलबाट जोखिमपूर्ण यात्रा
सञ्जय मित्र, रौतहट, ७ माघ/
सर्लाही र रौतहट जिल्ला जोड्नेगरी बागमती नदीमा तीन ठाउँमा पक्की पुल निर्माण भइरहेको छ। सबै ठाउँको पुल निर्माण समयमा भइदिएको भए सर्लाही र रौतहटबीच सञ्चालन हुने पुलको सङ्ख्या पाँच पुगिसकेको हुन्थ्यो तर पूर्व–पश्चिम राजमार्गमा रहेको वर्षौं पुरानो पुलबाहेक अन्य पुल भरपर्दो हुन सकेको छैन।
मध्य रौतहट र मध्य सर्लाहीमा पर्ने धर्मपुर तथा महिनाथपुरबीच पक्की पुलको निर्माण भइसकेको छ तर सडक निर्माण नभएकोले आवतजावत गर्न निकै सास्ती बेहोर्नुपरिरहेको यात्रुहरू बताउँछन्। पुल तयार भएर पनि सर्लाहीतर्फको सडक निर्माणले पूर्णता नपाएको हुँदा सवारी साधनलाई आवतजावत गर्न निकै कठिनाइ भएको सर्लाही, रामनगरका रामपवित्र साहको भनाइ छ। मध्य सर्लाहीबाट रौतहट जानुपर्दा अप्ठ्यारोको कारण महेन्द्र राजमार्ग भएर जानुपर्ने बाध्यता रहेको साहको भनाइ छ।
रौतहटको समनपुर र सर्लाहीको बरहथवा बजार जोड्ने बागमतीमा निर्माणाधीन पुल गत वर्ष नै निर्माण सम्पन्न हुनुपर्ने हो तर ठेकेदारको लापरवाहीले अझै कम्तीमा एक वर्ष लाग्ने गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवको भनाइ छ। जति ताकेता गरे पनि ठेकेदारले अपेक्षित काम नगरेपछि पुल निर्माण सुस्त हुन पुगेको मेयर यादवको भनाइ छ।
रौतहटको पिपरा र सर्लाहीको रामनगरबीच पनि पुल निर्माण भइरहेको छ। गत वर्ष नै निर्माण पूरा हुनुपर्नेमा आगामी एक वर्ष थप लाग्ने देखिन्छ। ठेकेदारले चासो नदिंदा निर्माण आधा पनि नसकिएको आरोप स्थानीयवासीको छ।
सर्लाहीको रामनगर र रौतहटको दुर्गा भगवती गाउँपालिकाले सहमति गरेर बागमती नदीमा बाँसको कच्ची पुल निर्माण गरेका थिए तर मरम्मतको अभावमा एक महीना नबित्दै भत्किएपछि नदीको माछा सकार गर्ने ठेकेदारहरूले अर्को पुल बनाएका छन्। ठेकेदारहरूले साइकलबाट पचास र मोटरसाइकलबाट एक सय रुपियाँ असुल गरिरहेका छन्।
समनपुरमा पनि निर्माण गरिएको बाँसको पुलबाट पार गर्दा उत्तिकै रकम यात्रुहरूले तिर्नुपरिरहेको छ।
समनपुर र पिपराघाटमा बागमती नदीमा वर्षौंदेखि निर्माणाधीन पुल टिठलाग्दो आँखाले हेर्दै बाँसको कच्ची पुलमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुहरू बताउँछन्। हल्लिइरहने बाँसेपुलबाट जोखिमपूर्ण यात्रा गर्नु बाध्यता रहेको पिपरास्थित बाँसेपुल भएर सर्लाहीबाट रौतहट आएका किशुनदयाल यादवले बताएका छन्।
६ महीनामा १९ अर्बको सामान निकासी
प्रस, वीरगंज, ७ माघ/
मुलुककै प्रमुख भन्सार नाका वीरगंजबाट पछिल्लो ६ महीनाको अवधिमा १९ अर्ब ५३ करोड ९० लाख ९७ हजार मूल्य बराबरको मालसामान निकासी भएको छ। चालू आव २०७७–७८ को साउनदेखि पुस मसान्तसम्म यो मूल्य बराबरको मालसामान निर्यात भएको हो।
यो अघिल्लो आव २०७६–०७७ भन्दा ६.१० प्रतिशतले बढी हो। आव २०७६–०७७ मा १८ अर्ब ४१ करोड ५१ लाख ८९ हजार मूल्य बराबरको मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात भएको वीरगंज भन्सारका प्रमुख भन्सार प्रशासक महेश आचार्यले जानकारी गराए।
चालू आवको प्रथम ६ महीनामा वीरगंज नाकाबाट मात्रै ११ अर्ब ५५ करोड ८१ लाख ३३ हजार मूल्य बराबरको ७ करोड ८३ लाख ४१ हजार ७ सय २९ किलो भटमासको तेल भारत निकासी भएको छ। वीरगंज नाका भएर बारा, पर्सा औद्योगिक करिडरका १४ ओटा उद्योगले भटमासको तेल निकासी गर्दै आएका छन्। गत आव २०७६–७७ को साउनदेखि पुससम्मको तुलनामा चालू वर्ष निकासी भएको भटमासको तेल मूल्यका आधारमा ३ सय २ प्रतिशतले वृद्धि भएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ। पाम आयल निकासी रोकिएपछि स्वदेशी तेल उत्पादकहरू भटमास तेल निर्यातमा केन्द्रित भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक आचार्यले स्पष्ट पारे।
त्यसैगरी वीरगंज नाकाबाट डाबर नेपालद्वारा उत्पादित जुस, दन्तमञ्जन, च्यवनप्राशसहित कपडा, सेन्थेटिक यार्न, स्पोटर््स शूज, उनी गलैंचा, कार्पेट र पिना पनि भारत निकासी हुने मुख्य वस्तु हो। डाबरको जुस जाम १ अर्ब ६४ करोड ८४ लाख ६० हजार मूल्य बराबरको भारत निर्यात भएको छ भने च्यवनप्राश, त्रिफला, बत्तिसा ६६ करोड २० लाख १५ हजार मूल्य बराबरको निर्यात भएको छ।
डाबर दन्तमञ्जन मात्रै ५५ करोड ३० लाख २३ हजारको निर्यात भएको छ भने जमोठ कपडा ६६ करोड ६५ लाख ९५ हजार मूल्य बराबरको निर्यात भएको छ।
यता सेन्थेटिक यार्न ५० करोड २ लाख ६२ हजार मूल्यको निर्यात भएको छ भने स्पोटर््स शूज नेपालबाट ४८ करोड ४६ लाख ८२ हजार मूल्य बराबरको निर्यात भएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ।
त्यसैगरी आयुर्वेदिक औषधि, स्टीलका भाँडाकुँडा, कागजका बाकस, सीआर सीटलगायत वस्तु ठूलो परिणाममा भारततर्फ निर्यात हुने गरेको वीरगंज भन्सारले जनाएको छ।
शीतलहर र चीसोका बिरामी बढ्दै
प्रमोद यादव, पचगावाँ, ७ माघ/
मौसम परिवर्तन भएसँगै पर्साको ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा बिरामीहरूको चाप बढेको छ।
कोल्ड डायरिया, ज्वरो, श्वासप्रश्वाससम्बन्धी रोग, दमा, रूघाखोकी, छाला चिलाउने, एलर्जीका बिरामीहरूको सङ्ख्या बढेको निचुटा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख प्रमोदकुमार कर्णले बताए।
पर्साका स्थानीय तहहरूले प्रत्येक वर्ष दलित, विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्दैआएको भए पनि यस वर्ष पनि न्यानो कपडा वितरण गर्नुपर्ने ६५ वर्षीय वृद्ध जगरूप हजरा दुसाध बताउँछन्। शीतलहरका कारण दुई छाक टार्न गा–हो बेहोर्नुपरिरहेको उनले बताए।
पटेर्वासुगौली गाउँँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले चीसोबाट जोगिन न्यानो कपडा लगाउन र कामबाहेक घरबाट बाहिर नजान सुझाव दिए। उनले सरसफाइमा ध्यान नपु–याउँदा र अस्वस्थकर खानपीनको कारण मानिसहरू बिरामी भइरहेको बताए।
गापा स्वास्थ्य शाखा प्रमुख जगन्नाथ साहले दीर्घरोगी, बालबालिका वृद्धवृद्धालाई चीसोले बिरामी पारिरहेको बताए। उनले गापाका सबै स्वास्थ्य चौकीको अनुगमन गर्न शुरू गरिएको पनि बताए।
परिवार, समाज र सरकारबाट उपेक्षित तेस्रो/सम लिङ्गी
प्रस, वीरगंज, ७ माघ/
सदीऔंदेखि समाज र परिवारबाट अपहेलित हुँदै आएका तेस्रो लिङ्गी र समलिङ्गीहरू सरकारबाट पनि अपहेलित हुँदै आएका छन्।
सहयात्री समाज नेपालले आयोजना गरेको जिल्लास्तरीय सरोकारवाला निकायसँग समन्वय बैठकमा बोल्दै प्रोग्राम कोअर्डिनेटर समता बमले संविधानले तेस्रो लिङ्गी र समलिङ्गीलाई अधिकार दिएपनि स्थानीय तहबाट अहिलेसम्म कुनै सहयोग नपाएको गुनासो गरिन्।
समाज र परिवारबाट विस्थापित भएका तेस्रो लिङ्गी र समलिङ्गीहरूको दैनिक गुजारा टार्न पनि समस्या परिरहेको बताइन्।
वीरगंज महानगरका उपप्रमुख शान्ति कार्कीले महानगरले पनि तेस्रो लिङ्गीको लागि रकम निकासा गरेको र योजनासहित अगाडि आएमा सक्दो सहयोग गर्ने बताइन्। समाजकै अङ्ग तेस्रो लिङ्गीहरूलाई आफ्नो अधिकारको लागि आफैं अगाडि बढेमा आम समुदायले पनि सहयोग गर्ने बताइन्।
कार्यक्रममा सहभागीहरूले तेस्रो र सम लिङ्गीहरूको व्यवहारको कारण अपहेलित हुने गरेको बताए। घण्टाघर तथा बाइपास सडकमा रातिको समयमा देखिएको दृश्यले सो क्ष्Fेत्रमा बस्ने चेलीबेटीहरूलाई समेत असर पर्ने गरेको उनीहरूको भनाइ थियो।
सहयात्री समाज नेपालकी प्रतिनिधि ममता भाटले बाटोमा घुम्नु वा नाचगान गरेर गुजारा गर्नु बाध्यता रहेको बताइन्। घरबाट निकालिएको, समाजले स्वीकार नगरेको र कसैले आर्थिक सहयोग नगर्दा दैनिक गुजारा चलाउन बाध्यवश बाटोमा घुमफिर गर्नुपरेको बताइन्।
सेभ द चिल्डे«न ग्लोबल फन्ड, ब्लु डायमन्ड सोसाइटीले सहयात्री नेपालमार्फत एचआइभी रोगीहरूको पहिचान र त्यसको व्यवस्थापनको क्षेत्रमा काम गर्दैआएको भाटले जानकारी गराइन्।
कार्यक्रममा वडा नं. १४ का वडाध्यक्ष भरतराउत कुर्मी, जिल्ला स्वास्थ्य कार्यालय, पर्साका प्रमुख कामेश्वर चौरसियालगायत विभिन्न वडाका प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, सञ्चारकर्मीहरूको उपस्थिति थियो।