Thursday, February 25, 2021
सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रम चलेन
राधेश्याम पटेल, परवानीपुर, १३ फागुन/
कोरोना महामारीको त्रासका कारण ठप्प रहेका पर्साका सबै सामुदायिक विद्यालय सञ्चालनमा आइसकेका छन्। पर्साका १४ वटा पालिकामा रहेका करीब ३ सय विद्यालय सञ्चालनमा आइसकेका भएपनि उक्त विद्यFलयहरूमा दिवाखाजा कार्यक्रम भने अनिश्चित भएको छ।
करीब दुई महीनादेखि विद्यालयहरू सञ्चालनमा रहे तापनि सम्बन्धित पालिकाले दिवाखाजा कार्यक्रम शुरू गराउन सकेका छैनन्।
पर्साका पटेर्वासुगौली गाउँपालिका र पोखरिया नगरपालिकाबाहेक अन्य पालिकामा दिवाखाजा कार्यक्रम पुनः शुरू हुन नसकेको अभिभावकहरूले गुनासो गरेका छन्।
गत पुस दोस्रो सातादेखि सरकारको निर्देशनविनै अभिभावकहरूको मन्जुरीमा सुरक्षा मापदण्ड पूरा गरी सामुदायिक विद्यालयहरू खुलेका थिए।
वीरगंज–१८ भवानीपुरस्थित एक विद्यालयका प्रधानाध्यापकले भने, “विद्यालय सञ्चालन भइसकेपछि विद्यार्थीहरूले टिफिनको समयमा खाजा खोजिरहेका छन्, तर हामीले महानगरमा पटक–पटक भन्दा पनि खाजाको लागि रकम पठाइएको छैन।” उनले बजेट माग्न जाँदा शिक्षा प्रशासन महाशाखाका अधिकारीहरूले सरकारले विद्यालय खोल्न नभनेको तर तपाईंहरूले मनलाग्दीरूपमा विद्यालय खोलेको भन्दै खाजाको रकम नपाइने बताएको गुनासो गरे। यता, नेपाल शिक्षक महासङ्घ वीरगंज नगर समितिका अध्यक्ष विनोद मेहताले खाजाको रकम वितरण गर्ने विषयमा तत्काल छलफल गरी समस्या समाधान गराउने आश्वासन दिए।
नेपाल शिक्षक महासङ्घ पर्सा जिल्ला अध्यक्ष तीर्थराज यादवका अनुसार केही पालिकामा आंशिकरूपमा खाजा कार्यक्रम शुरू भएको र केहीमा अझै बाँकी रहेको बताए। उनले सम्बन्धित पालिकाका जनप्रतिनिधिहरूको उदासीनताको कारण खाजा कार्यक्रम पुनः शुरू हुन नसकेको बताए। उनले यस विषयमा सबै पालिकाका प्रमुख तथा वडाध्यक्षहरूको पनि ध्यान जानुपर्ने धारणा राखे।
२५ लाख ३५ हजार रकमसहित दुईजना पक्राउ
प्रस, बारा, १३ फागुन/
बाराको कलैया उपमहानगरपालिका वडा नं ८ बरेवाटोलस्थित कलैया–मटिअर्वा सडकखण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको २५ लाख ३५ हजार नगदसहित प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बिआर०५के०७९८ नम्बरको भारतीय मोटरसाइकल शङ्काको आधारमा चेकजाँच गर्दा बुधवार सो रकम बरामद भएको हो।

ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
प्रस, मकवानपुर, १३ फागुन/
मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं ११ नवलपुरमा बिहीवार बिहान ट्रकको ठक्करबाट तीन पाङ्ग्रे सफारी चालकको ज्यान गएको छ।
मृत्यु हुने हेटौंडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। बिहान पौने ६ बजेको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ख ४०४४ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना.१ह ३४०८ नम्बरको सफारी रिक्शालाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट गम्भीर घाइते चालक श्रेष्ठलाई उपचारका लागि चुरेहिल अस्पताल पु–याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका हुन्।
ट्रक घटनास्थलमा छाडेर चालक फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
गायक ब्लोन र उनका बुबामाथि आक्रमण, दुवैजना सख्त घाइते
प्रस, निजगढ, १३ फागुन/
युवा गायक प्रतीक ब्लोन र उनका बुबा वीरमान ब्लोनमाथि १०/१२ जनाको समूहले आक्रमण गरी बुबा र छोरा दुवैजनालाई सख्त घाइते बनाएको छ। खानेपानीको बोरिङ र विद्यालय निर्माणको विषयलाई लिएर उनीहरूमाथि आक्रमण भएको बताइएको छ।
बारासँग सीमा जोडिएको मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ रजुवा बेसीटोलमा खानेपानीको लागि बोरिङ गर्न बकैया गाउँपालिकाले ९ लाख रकम विनियोजन गरेको थियो।
जडानस्थल बेसीटोल भनेर स्पष्ट खुलाउनुपर्नेमा रजुवा मात्रै लेखिदिएपछि अर्को टोलका बासिन्दाले उक्त बोरिङ आफूहरूको टोलमा जडान हुनुपर्ने भन्दै विवाद खडा गरेका थिए। सोही विवादका कारण अर्को टोलका स्थानीयहरूको एक समूहले आफूहरूमाथि आक्रमण गरेको प्रतीक ब्लोनले बताए।
विद्यालय निर्माणका लागि रजुवाको माथिल्लोटोल, बेसीटोल साथै छिमेकी जिल्ला रौतहटको इपिलघारी, भुलनटार क्षेत्रका बस्तीहरूका बालबालिकाहरूलाई समेत पायक पर्ने गरी बनाउनुपर्ने ब्लोनको अडान छ।
यसको लागि बकैया गाउँपालिका–१ रजुवा बेसीटोल आसपासको क्षेत्र उत्तम हुने उनले सुझाउँदै आएका छन्। सो कुरा मन नपराउने पक्ष्Fले विगतदेखि योजना बनाएर आफूहरूमाथि आक्रमण गरेको ब्लोनको आरोप छ।
बुधवार बेलुकी करीब ६ः३० बजे गौडा ढुकेर बसेका आक्रमणकारीहरूले ब्लोन बुबा र छोरामाथि साङ्घातिक आक्रमण गरेका थिए। कुटपिटबाट बुबा र छोरा सख्त घाइते भएका छन्। आफूमाथि ४/५ जना र छोरा प्रतीकमाथि ८/९ जनाले अकस्मात् चिर्पट र फलामे रडले प्रहार गरेपछि छोरा भुइँमा लडेको बुबा वीरमानले घटनाबारे सुनाए। छोरालाई मार्नुको साटो मलाई मार भन्दै आफू घिस्रिएर छोरा प्रतीक लडेको ठाउँमा पुगेपछि एकोहोरो आक्रमण गर्न कम गरेको र गाउँलेहरू आएपछि उनीहरू पछि हटेको उनले बताए।
आफूहरूमाथि आक्रमण गर्नेहरू गाउँकै भएको बताउँदै उनीहरूमाथि कर्तव्य ज्यान मुद्दाको जाहेरी दिने घाइते प्रतीक ब्लोनले बताए। उनको आँखा, पिठ्यूँ, हातलगायत शरीरका विभिन्न भागमा र उनका बुबा वीरमानको टाउको, हात, पिठ्यूँलगायतमा चोट लागेको छ।
खानेपानीको लागि बोरिङ गर्न वडा नं १ रजुवा बेसीटोलकै लागि रकम आफूले विनियोजन गरेको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले स्पष्ट पारे।
सामान्य कुरालाई लिएर आक्रमण गर्नु, कुटपिट गर्नु निन्दनीय काम भएको भन्दै घाइतेहरूको उपचार गर्नुपर्ने र घटनामा संलग्न दोषी जोकोही पनि कानूनी दायरमा ल्याइ कारबाही हुनुपर्ने गापा अध्यक्ष खनालले बताए।
घाइतेहरूको प्राथमिक उपचार निजगढ सामुदायिक अस्पतालमा गरी थप उपचारको लागि अन्यत्र पठाइएको छ। मकवानपुर जिल्लाको क्षेत्र रहे पनि भौगोलिक विकटताका कारण बकैयाका बासिन्दाहरू बारा निजगढ हँुदै प्रदेश राजधानी हेटौंडालगायत अन्य शहर बजारमा आउने जाने गरेका छन्।
घटनाको खबर प्राप्त हुनासाथ निजगढ नगरपालिका–१ भरतगंजसिगौल प्रहरी चौकी र इलाका प्रहरी कार्यालय निजगढको टोली घटनास्थल पुगेको थियो।
प्रहरी पुग्दा आक्रमणकारीहरू फरार भइसकेकाले कोही पक्राउ पर्न नसकेको इप्रका निजगढका प्रहरी निरीक्षक विकास थपलियाले बताए। प्रहरी राति नै घटनास्थल पुगेको थियो।
उक्त क्षेत्र वाग्मती प्रदेशको मकवानपुर जिल्लामा रहेको र फापरबारी प्रहरी चौकीको क्षेत्र रहेको बताउँदै आफूले पनि सम्बन्धित क्षेत्रको प्रहरी एकाइलाई घटनाबारे जानकारी गराएको प्रनि थपलियाले बताए।
घाइते प्रतीक ब्लोन बकैया गाउँपालिका–१ रजुवा नेकपा गाउँ कमिटी अध्यक्ष हुन्। जनसङ्गीतकर्मी वाग्मती प्रदेशका संयोजकसमेत रहेका प्रतीक ब्लोन परिवार सेवा समाजका केन्द्रीय सल्लाहकारसमेत हुन्।
राष्ट्रियस्तरका ख्यातिप्राप्त युवा गायक तथा जनसांस्कृतिककर्मी प्रतीक र उनको बुबामाथि ज्यान नै लिने उद्देश्यले आक्रमण भएको देखिएको बकैयाका बासिन्दाहरूले बताएका छन्। उनीहरूले घाइतेको उपचार र दोषीमाथि सख्त कारबाईको लागि माग गरेका छन्।