Monday, February 1, 2021

 नागरिक अधिकार ः सरकार  र न्यायालयको भूमिका

नागरिक अधिकार ः सरकार र न्यायालयको भूमिका

अधिवक्ता वीरेन्द्रप्रसाद यादव

    कुनै पनि मुलुकमा नागरिक अधिकार निकै महŒवपूर्ण हुन्छ। विशेषगरी प्रजातन्त्रमा नागरिक नै सर्वोच्च हुने भएकोले जनताको सर्वोच्चता जनताको अधिकारबाट स्थापित हुन्छ। यसलाई मौलिक हक, मानव अधिकारलगायतको सुरक्षणको दृष्टिकोणले संविधानले संरक्षित गरेको हुन्छ। विद्वान्हरूले भनेका छन्–सरकार चिलको भूमिकामा हुन्छ भने जनता चल्लाको भूमिकामा। अर्थात् सरकारले कुनै बेला पनि चिलले चल्लालाई झम्टेजस्तै झम्टन सक्छ। सरकारले नझम्टोस्, जनताको अधिकार सुरक्षित रहिरहोस् भनेर मौलिक हकको सुरक्षा एवं संविधानको आधारभूत संरचनाको व्यवस्था गरिएको हुन्छ। व्यवस्थापिकालाई संविधान संशोधनको अधिकार भएपनि, संशोधनको माध्यमले संविधानको आधारभूत संरचना परिवर्तन गर्न नसकोस्। आधारभूत संरचना परिवर्तन गर्न खोजियो भने तेस्रो अङ्ग न्यायपालिकाले पुनरवलोकनको माध्यमबाट रोक्न सक्छ। अदालतले पुनरवलोकन गर्न पाउनु पनि संविधानको आधारभूत संरचना हो। जसको व्याख्या भारत, अमेरिका र पाकिस्तानको सर्वोच्च अदालतले समेत आफ्नो फैसला मार्फत अझ स्पष्ट पारेका छन्। भारतको सर्वोच्च अदालतबाट, २४ अप्रिल १९७३ का दिन केशवानन्द भारतीको मुद्दामा ६८ दिनको सुनवाइपश्चात् १३ जना न्यायाधीशहरूको बेन्चमा सातजना न्यायाधीशको बहुमतबाट निर्णाय भएको थियो। जुन निर्णयले भारतको संविधान र भारतीय जनताको संविधानप्रदत्त अधिकारलाई सुरक्षित राखेको छ।         ८ अनुसूचीमा सीमित रहेको भारतीय संविधानको अहिले १२ अनुसूची पुगेको छ। ९ अनुसूची त यस्तो छ जसभित्र परेको मुद्दा कानून पुनरवलोकनको माध्यमबाट पनि हेर्न मिल्दैन। जसमा अहिले लगभग पौने तीन सय जति कानून छन्। धारा ३६८ को माध्यमबाट अनेकौं संशोधन गरियो। १९५१ देखि १९६२ सम्म २३ वटासम्म संशोधन गरियो। सम्पत्ति सम्बन्धी अधिकार, समानतासम्बन्धी अधिकार, राजाहरूसम्बन्धी व्यवस्था, बैंक राष्ट्रियकरण गर्नेसम्मको व्यवस्था, जनताको सम्पत्ति लोकहितमा लिंदा क्षतिपूर्ति दिनुपर्ने प्रावधानको ‘क्षतिपूर्ति’ शब्द हटाई ‘एमाउन्ट’ शब्द राखियो जसबाट सरकारले जनताको सम्पत्ति अधिग्रहण गर्दा आफूखुशी रकममात्र दिने किसिमको व्यवस्था गरियो। जसले संविधानको मौलिक हक अस्तव्यस्त गरेको अवस्थामा केशवानन्द भारतीको केशमा अदालतले बोल्यो–संसद्ले संविधानको हरेक अङ्ग संशोधन गर्न सक्छ, प्रस्तावना पनि संविधानकै भाग हो, तर संसद् संविधानसभा होइन। संविधान निर्माता होइन। यसर्थ संसद्ले संविधान लेखन गर्न पाउँदैन। यसर्थ संविधान निर्माताले जुन आधारभूत संरचना बनाएको छ, त्यसलाई संविधान संशोधनको माध्यमबाट परिवर्तन गर्न सकिंदैन। संशोधन पनि एउटा कानून हो। त्यसैले संसद् निर्मित कानूनले संविधानलाई सङ्कुचित पार्न मिल्दैन। यसर्थ २४ अप्रिल १९७३ भन्दा पछि ९ अनुसूचीमा राखिएको कानूनको पनि पुनरवलोकन अदालतले गर्न पाउँछ भन्ने व्यवस्था गरियो। भारतको संविधान लागू भएको १९५१ देखि १९७५ सम्मको अन्तरालमा के देखियो भने सरकार बलियो भएको बखत अदालत कमजोर र सरकार कमजोर भएको बखत सरकार बलियो हुन्छ। जुन मुलुकको स्थिरता एवं समृद्धिको लागि उपयुक्त होइन। मन्टेस्क्युले राज्यको तीन अङ्गको कल्पना सन्तुलित एवं समन्वयकारी भूमिकाको लागि गरेका थिए। कसैले कसैको अधिकारमा हस्तक्षेप नगरी सबै आआफ्नो सीमामा रही जनता र देशको हितमा काम गरून्। 


    नेपालमा २००७ मा प्रजातन्त्र आयो । २०१३ मा सर्वोच्च अदालतको स्थापना भयो। राजा–शासन, दलीय–शासन, संवैधानिक राजतन्त्रको व्यवस्था, एकात्मक राज्य व्यवस्था, सङ्घीय गणतन्त्रात्मकलगायत सातवटा संविधानको अभ्यास गरियो। यसबीच धेरै यस्ता दृष्टान्त देखिए, जसमा सर्वोच्च अदालतले नागरिक अधिकारको सवालमा शासकलाई रोकेको छ। जस्तै शाही आयोग समाप्त भयो। आन्दोलनरत दलका नेतालाई कैदमुक्त गर्ने सवालमा, प्रधानमन्त्रीले संसद् विघटन गरेका सवालहरूमा मात्र बोलेको छैन, संविधान निर्माण गर्दाको अवस्थामा संविधानसभाले प्रदेशको नामाङ्कन एवं सीमाङ्कनबेगर नै संविधान जारी गर्ने नियतलाई लक्ष्मणलाल कर्णले दिएको रिटको माध्यमबाट रोकियो। जुन ऐतिहासिक निर्णय हो।
    अहिले नेपालको अवस्था निकै जटिल छ। दुई वर्ष कार्यकाल छँदै बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गरेका छन्। जसविरुद्ध प्रायः राजनीतिक दल छन् भने सरकार पक्षधर पार्टीका आधा समर्थक मात्र छन्। अहिले जनतालाई निकै अप्ठ्यारो परेको महामारीबीच सर्वोच्च निकाय संसद् नै नरहेको अवस्थामा चिन्ता बढ्नु स्वाभाविक भए पनि अदालतमा संसद् विघटनको विवाद पुगेकोले जनताले राहत अनुभव गरेको छ। अहिले अन्तिम आस्थाको केन्द्र अदालतले नागरिक अधिकार संरक्षण एवं मुलुकको समृद्धिमा उत्पन्न अवरोध हटाउन उचित निकास देला भने आशा छ। राजनीतिक शक्तिहरूले पनि आफ्नो निर्णय अदालतको फैसलाको पर्खाइमा थाती राखेका छन्। यता सरकार चुनावको तयारीमा जुटेको अवस्था छ भने राजनीतिक दलहरू सरकारको विरोध एवं चुनावको तयारी दुवैमा जुटेका छन् । चुनावको तिथि नजीक निर्णय आयो भने जटिलता उत्पन्न हुन सक्ला। यसर्थ सक्दो चाँडो आउने निर्णयले नै मुलुकलाई उचित एवं उपयुक्त निकास दिन सक्छ।
    अहिले बहुमतप्रFप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँदैनन् । संविधानको धारा ३६ को उपधारा ३ र ४ ले प्रधानमन्त्रीले संसद्मा विश्वासको मतमा पराजित भएपछि मात्र लिन पाउने हो। प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अवस्था भनेको सरकार बनाउने विकल्पहीन अवस्था हो। संसद्ले सरकार दिन नसकेपछि मात्र नयाँ जनादेशमा जाने संविधानको मर्म हो भने एकथरिको भनाइ छ सरकार पक्षधरले यसलाई प्रधानमन्त्रीको अधिकारको रूपमा दाबी गरेको छ। यहींनिर संवैधानिक विवाद उत्कर्षमा पुगेको छ। जसले भविष्यको चुनौती एवं अवसर बोकेको छ। यो संविधानको अस्पष्ट प्रावधान पनि हो जसलाई अदालती निर्णयबाट स्पष्ट गर्न जरूरी छ। जसले गर्दा भविष्यमा पनि यस्तो विवाद नआओस्। भाारतको संविधानलाई १९५१ देखि १९७५ सम्म जसरी सरकारले चलायो, जसबाट जन अधिकार अस्तव्यस्त भयो र त्यसलाई अदालती निर्णयले पूर्णविराम लगायोस त्यसैगरी नेपालमा पनि वर्तमान संविधानको विवादलाई संवैधानिक इजलासबाट व्याख्या हुन जरूरी छ। यो विवाद अदालतमा गइसकेकोले निचोड निश्चितरूपमा आउँछ। आएको निचोड देश र नागरिकको पक्षमा आउने पनि निश्चित छ। यसर्थ हामीले सडक तताउनुभन्दा तेस्रो अङ्गको निर्णय पर्खन जरूरी छ र अदालतले पनि सक्दो चाँडो निर्णय दिन अपरिहार्य छ।

 पहिलो चरणको खोप १५५० जनालाई पर्सा जिल्लाका तीन स्थानबाट खोप दिइँदै

पहिलो चरणको खोप १५५० जनालाई पर्सा जिल्लाका तीन स्थानबाट खोप दिइँदै


प्रस, वीरगंज, १८ माघ/
    पहिलो चरणको खोप कार्यक्रम अन्तर्गत पर्सा जिल्लामा आइतवारसम्म  १५ सय ५० जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले बताए ।
    माघ १४ गतेदेखि नारायणी अस्पतालबाट शुरू भएको कोरोनाविरुद्धको पहिलो चरणको खोप अहिले तीन स्थानबाट लगाइँदै छ । सरकारी अस्पतालबाट लगाउने निर्णय भएपनि अहिले मन्त्रालयको आदेशमा शनिवारदेखि नेशनल मेडिकल कलेजबाट पनि खोप दिन शुरू भएको प्रमुख चौरसियाले बताए ।
    यसैगरी, आइतवारदेखि पोखरिया अस्पतालबाट पनि खोप दिन शुरू भएको छ । पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, वारुणयन्त्र, एम्बुलेन्स चालकलाई खोप दिने नीति रहे पनि पर्सा जिल्लामा कैदीबन्दी र वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई पनि खोप दिन शुरू गरिएको स्वास्थ्य कार्यालयका प्रमुख चौरसियाले जानकारी गराए । आइतवारदेखि वीरगंज कारागारका कैदीबन्दीहरूलाई खोप दिन शुरू गरिएको प्रमुख चौरसियाले बताए । वीरगंज कारागारमा महिला तथा पुरुष गरी १२ सय ५० जना कैदीबन्दी छन् ।
    पहिलो चरणमा पर्सा जिल्लामा ५ हजार खोप दिने लक्ष्य रहेकोमा आइतवारसम्म १५ सय ५० जनालाई खोप दिइएको स्वास्थ्य प्रमुख चौरसियाले बताए । उनले माघ २३ गतेसम्म पहिलो चरणको खोप सम्पन्न गर्ने लक्ष्य रहेको र सो लक्ष्य पूरा गर्न नारायणी अस्पतालमा थप खोपकेन्द्रको व्यवस्था गरिने बताए ।

 इन्डो–नेपाल आँखा अस्पताललाई प्रशासनले उन्मुक्ति दियो

इन्डो–नेपाल आँखा अस्पताललाई प्रशासनले उन्मुक्ति दियो



प्रस, वीरगंज, १८ माघ/
    वीरगंज रजतजयन्ती चोकस्थित इन्डो–नेपाल अस्पताल तथा आई केयर सेन्टर प्रालिलाई जिल्ला प्रशासन कार्यालय, पर्साले उन्मुक्ति दिएको छ ।
    राजनीतिक दबाबमा जिल्ला प्रशासन कार्यालय, पर्साले अस्पतालले अहिलेसम्म मापदण्ड पूरा गरेर कामकारबाई नगरेको औंल्याए पनि दण्डित नगरेर तीन महीनाभित्र मापदण्ड पूरा गरी सुधार गरेर आउने गरी उन्मुक्ति दिएको छ । मापदण्ड पूरा नगरिएको अवस्थामा जिल्ला प्रशासनले आवश्यक कारबाई गर्नुपर्ने थियो तर दबाब र अर्थ मोहमा उन्मुक्ति दिइएको स्रोतले जनाएको छ ।
    जिल्ला प्रशासन कार्यालय, पर्साले गत मङ्सिर १९ गते अस्पतालमा छापा मारेर आवश्यक कागजातहरू नियन्त्रणमा लिएको थियो । प्रशासनले छापा मारेसँगै आर्थिक र राजनीतिक दबाब शुरू भएको हो । दुई महीना लामो अनुसन्धानमा प्रशासनले अस्पतालले पूरा गर्नुपर्ने मापदण्ड पूरा नगरेको ठहर गरे पनि दण्डित नगरेर छोडेको हो । प्रशासनले अस्पताल अनुगमनको क्रममा निर्धारण गर्नुपर्ने शुल्क नतोकेको, काउन्सिलमा दर्ता नरहेका व्यक्तिबाट ल्याब सञ्चालन भएको, क्षमताभन्दा बढी बिरामी उपचार गरेको, जनशक्तिको अभाव रहेको, यान्त्रिक बिलिङ नगरिएको, फार्मेसीको अध्ययन नगरेका व्यक्तिबाट औषधिपसल सञ्चालन गरेको, स्वास्थ्य मापदण्डअनुरूप भवन निर्माण नभएको, पार्किङस्थलको व्यवस्था नगरिएको, १० प्रतिशत बिरामीको निश्शुल्क उपचार गर्नुपर्नेमा सो नगरिएको, कर्मचारीहरूको नियुक्ति र सामाजिक सुरक्ष्Fा कोष कट्टा नगरिएको जस्ता मापदण्ड पूरा नगरेको ठहर गरेर दोषी देखाए पनि कारबाई भने नगरी तीन महीनाभित्र ती सबै मापदण्ड पूरा गर्ने गरी उन्मुक्ति दिइएको हो ।
    अस्पताल सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० को दफा १३ उपदफा ६ बमोजिम इन्डो–नेपाल तथा आई केयर सेन्टर सञ्चालन नभएको स्वयम् प्रशासनले ठहर गरेको थियो तर यस सम्बन्धमा दण्डित नगरिएकोमा जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले पहिलोचोटि तीन महीनाको समयसीमा प्रदान गरिएको बताए । उनले सो अवधिमा मापदण्ड पूरा नगरिए नियम अनुसार कारबाई गरिने बताए । यसअघि अस्पतालले मापदण्ड पूरा नगरेको भन्दै कारबाई गर्ने प्रजिअ तामाङले प्रतिक्रिया दिएका थिए । तर दुई महीना अवधिमा प्रजिअले बोली फेरेकाले पनि यो घटनामा आर्थिक तथा राजनीतिक चलखेल भएको देखिन्छ ।

 चुनावको लागि निर्वाचन कार्यालय तयारी अवस्थामा

चुनावको लागि निर्वाचन कार्यालय तयारी अवस्थामा

प्रस, परवानीपुर, १८ माघ/
    आगामी वैशाख १७ र २७ गते घोषणा भएको मध्यावधि चुनावको लागि निर्वाचन कार्यालय पर्सा तयार रहेको बताइएको छ ।
    जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख निर्वाचन अधिकृत रञ्जीता झाले निर्वाचन आयोगको निर्देशन अनुसार निर्वाचन गराउने तयारी अवस्थामा रहेको बताएकी छन् । “हामीले आयोगको निर्देशनबमोजिम सबै कामलाई अगाडि बढाएका छौं, मतदान स्थल तथा केन्द्र सिफारिस समितिको बैठक बसिसकेको छ,” उनले भनिन्, “माघ १५ देखि २२ गतेसम्म हरेक पालिकामा मतदाता नामावली प्रकाशन र अद्यावधि गराउने काम भइरहेको छ ।”
    उनले पालिकाका कार्यालयमा एक/एक जना कर्मचारी खटाइएको बताइन् । प्रकाशित मतदाता नामावलीमा कुनै त्रुटि वा दाबी विरोध परेको खण्डमा मतदाता नामावली खारेज गराउने काम पनि हुन्छ । पर्सा जिल्लामा २०७४ सालको प्रतिनिधिसभाको चुनावमा २ लाख ८९ हजार ५४ जना मतदाता थिए भने अहिले यस वर्षको चुनाव घोषणा मिति अर्थात् पुस ५ गतेसम्म १२ हजार ४ सय १९ जना मतदाता वृद्धि भएका छन् । अब पर्सामा कुल मतदाता सङ्ख्या ३ लाख १ हजार ४ सय ७३ रहेको उनले बताइन् ।
    पर्सामा मतदान स्थल साबिककै सरह १६७ तोकिएको छ भने मतदान केन्द्र १० वटा थप गर्ने निर्णय भएको छ । अबको चुनावमा पर्साका चारवटा क्षेत्रमा गरी १० केन्द्र थपेपछि १६१ वटा मतदान केन्द्र हुनेछन् ।
    यता, जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको शान्ति सुव्यवस्था र चुनावताका अपनाउनुपर्ने तयारीका बारेमा पनि काम थालेको छ । चुनाव भएको खण्डमा कति म्यादी प्रहरी वा सुरक्षाकर्मी चाहिन्छ भन्ने विषयमा पनि गृहकार्य भइरहेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी गराए ।

फरक समाचार

Find us