Friday, January 1, 2021

नारामा सीमित दलित उत्थान

नारामा सीमित दलित उत्थान

दलित समुदायको उत्थानका लागि गणतान्त्रिक सरकारले संविधानमा व्यवस्था गरेको छ। तर संविधानमा गरिएको उनीहरूको उत्थानको विषयमा अहिलेसम्म कसैले सशक्तरूपमा आवाज पनि उठाएको र सोअनुरूपको वातावरण सृजना गर्न नसकेको कारण यो समुदाय अहिले पनि पछाडि परेको छ।  शिक्षा, स्वास्थ्य, जागीर, राजनीतिमा उनीहरूको पहुँचको कुरा टाढाको विषय भएपनि अहिलेसम्म परम्परागतरूपमा हुँदै आएको विभेदलाई पनि हटाउन सकिएको छैन। अहिले पनि दलितहरू छुवाछूतबाट टाढिन सकेको अवस्था छैन। कानूनमा छुवाछूतविरुद्ध दण्ड जरिवानाको व्यवस्था छ तर कानून कार्यान्वयन कमजोर भएकोले दलितहरूले छुवाछूत र विभेदबाट उन्मुक्ति पाउन सकेका छैनन्। अहिले पनि गैरदलितहरूबाट दलितहरू छुवाछूतको पीडा सहन गर्दैछन्। गैरदलितहरूको घरमा हुने उत्सवहरूमा उनीहरूलाई प्रवेश रोक छ भने दलितहरूको उत्सवमा पनि दलितहरूलाई उनीहरूको अधिकारबाट वञ्चित पार्ने काम जारी छ।
पर्सा जिल्लाको मात्र सन्दर्भ कोट्याउने हो भने दलितहरूको उत्सवमा गैरदलितहरू सशर्त सहभागी हुने गरेका छन्। गैरदलितहरूले दलितको घरमा उनीहरूको निगरानीमा खानपिनको व्यवस्था गरेको खण्डमा मात्र दलितहरूको आतिथ्य स्वीकार्ने परम्परा विद्यमान छ। यसो गर्न नसक्ने दलितहरूले मनाउने उत्सवमा गैरदलितहरूको सहभागिता हुँदैन। पर्सा जिल्लामा एक लाखको हाराहारीमा दलित अन्तर्गत मुसहर, दुसाध, डोम, धोबी, बिन, हलखोर जाति छन्। उनीहरूमध्ये शिक्षण, निजामती सेवा, प्रहरीमा गन्तीका मात्र छन्। प्रायः दलितहरू दैनिक ज्यालादारी गर्छन्। पुरुषहरू ज्याला मजदूरीमा र महिलाहरू माछा मारेर घर गुजारा गर्दै आएका छन्। यसअलावा महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाहरूमा सफाइ कर्मचारीको रूपमा काम गर्दैछन्। यही कारण हो उनीहरूका बालबालिकाहरूको अहिलेसम्म शिक्षामा मजबूत पकड बनिसकेको छैन। दैनिक ज्याला मजदूरी गर्ने कारणले उनीहरूले आफ्ना बालबालिकाहरूलाई विद्यालयमा पठाउँदैनन् र कथंकदाचित कसैले पठाए पनि उनीहरूलाई एसइईसम्मको अध्ययन पनि गराइँदैन। १०–१२ वर्षको उमेर भएपछि विद्यालय जानबाट उनीहरूलाई वञ्चित पारिन्छ र परम्परागतरूपमा गर्दै आएको ज्याला मजदूरीमा लगाइन्छ। यो समुदायका बालबालिकाहरू अहिले पर्सा जिल्लाका १४ वटा पालिकामा एसइई तह उत्तीर्ण गरी कक्षा १२ उत्तीर्ण गरेको औंलामा गन्ती हुने सङ्ख्यामा छन्।
निर्वाचन आयोगले गत स्थानीय निर्वाचनमा दलित महिला सदस्य वडापालिकामा अनिवार्य व्यवस्था गरेपछि सोही पदसम्म अहिले उनीहरूको सहभागिता देखिएको छ। महिला सदस्यभन्दा एकाध मात्र पुरुष सदस्यहरू राजनीतिमा छन्। वडाध्यक्षसम्म बनेको उदाहरण यो जिल्लामा छैन। जबसम्म यो समुदायको शिक्षामा पहुँच बनाउन सकिंदैन, तबसम्म उनीहरूको उत्थानको कल्पना गरिनु व्यर्थ हुन्छ। यस अर्थमा दलितहरूको समुचित विकासको लागि चिन्तित हुने हो भने पहिला अनिवार्य शिक्षाको व्यवस्था गर्नुपर्छ। दलितका बालबालिकालाई स्थानीय पालिकाको रेखदेखमा विद्यालयमा निश्शुल्क गाँस, बास, कपाससहितको व्यवस्था गर्नुपर्छ। एउटा परिवारबाट कम्तीमा दुईजनालाई मात्र पनि यसरी शिक्षित बनाउने हो भने केही वर्षको अवधिमा उनीहरूको पहुँच राज्यका धेरैजसो स्थानमा सहज हुन सक्छ।
सांसदहरूको भाउ बढ्यो

सांसदहरूको भाउ बढ्यो


मुकुन्द आचार्य

मान्छे जतिखेर वस्तु बन्छ अनि उसको पनि बजारभाउ बढ्छ–घट्छ। चुनाउको मौसम आएपछि मतदाता (भोटर) र ती मतदातालाई खरीद–बिक्री गर्ने चतुर नेता (जसलाई सोटर भनी बोलचालको भाषामा सम्बोधन गरिन्छ) को पनि ह्वात्तै भाउ बढ्छ। कोरोनाभन्दा पनि छिटो र प्रभावशाली ढङ्गले बढ्छ।
व्यापारमा आजको विश्वमा यी शब्दहरू निकै प्रचलित भएका छन्– मार्केट, सप्लाई, सर्टेज, एक्सपोर्ट, इम्पोर्ट, बिजनेस, टे«ड, बैंकिङ, दलाली, नाफा, नोक्सान, कर (टैक्स) छली, परसेन्ट, एभरेज इत्यादि।
हामी हिन्दूहरू वर्षमा एक दिन कुकुरको पनि पूजा गर्छौं। अनि भन्छौं एक वर्षमा भएपनि एक दिन सबैको पालो आउँछ। यो हाम्रो मुलुकमा श्रीमान् नेताजीहरूका केही नेत्रीहरूको बजार भाउ निकै चर्को भएको छ। जेहोस्, खरीद–बिक्रीका लागि राजनीतिक बजारमा नेता र नेत्री भनाउँदाहरू बेच्न राखिएका शोकेशका जिनिस भएका छन्। विकास युग हैन, दासयुग आए जस्तो छ।
जता बढी मोल पाइन्छ, उतैतिर टाँसिने (बिक्री हुने) सुनौलो अवसर अहिले प्राप्त भएको छ। अर्थात् बजारमा राम्रो मोलमा खरीद–बिक्री भइरहेको छ, नेता भनाउँदो जिनिसको। दशैंमा भेंडा, खसी, बाख्रा, बोका बिकेझैं।
यस्ता जिनिस किन्ने पनि के कम। नाउँ चलेका पार्टीले खरीद–बिक्री गर्न थालेपछि बजारमा गर्मी त आइहाल्छ नि। पाँचोटा सांसद ल्यायो भने दुई मन्त्रालय पक्कापक्की पाइने। यो फिक्स प्राइस होइन। मोलतोल, बोलकबोल सबै गर्न मिल्छ। यो दाम र नाम कमाउने सुनौलो अवसर घरीघरी पटक–पटक पाइन्न भन्ने ज्ञान सबै दलका दलालहरूलाई दिलैदेखि थॉछ। यस्ता दलभङ्गक नेताहरूलाई सधैं दशैं सधैं फागु १
अब हेर्दै जानुस्, कसले कतिलाई कतिमा किन्छ, कतिले आफ्नो कति भाउ लाउँछ– कति रमाइलो छ, गरीब देशको महँगो बजार। बजारमा हजार यै हो।
पैसा कमाउन विदेश जाने लाटाहरूले अब खुरुक्क राजनीतिमा छिरेर, भ्रष्टाचार र अत्याचारको हतियार भिरेर, आफ्नो पुख्र्यौली गरीबीलाई चिरेर, बडे नेताजीलाई अलिकति रकम तिरेर आफ्नै देशमा बसी आफ्नै देशलाई मुसाले झैं अरूले चाल नपाउने गरी कुटकुट खाए त भइहाल्यो नि। खाडी मुलुकको गर्मी खानुभन्दा त आफ्नै देश खाएर बसे हुन्न र ? थोडा खाना बनारस रहना सुन्या छैन ?
यो राजनीतिको बजार कहिल्यै मत्थर हुँदैन। सबैलाई फोहरी खेल खेल्न रमाइलो लाग्छ। यो फोहरी खेलमा कमाएको कालो धनमा कुनै टेक्स लाग्दैन। टैक्स फ्री बिजनेस १
पहिले जस्तो बलियो देशले कमजोर निर्धो देशलाई आफ्नो उपनिवेश बनाउने चलन अब हराउन थाल्यो। अब त आर्थिक उपनिवेश बनाउने नीति धनी र बलिया देशहरूले अपनाएका छन्। नेपालकै बजारमा हेरौं भारतीय र चिनियाँ सामानले एकछत्र राज गरेको देखिन्छ। आर्थिकरूपले हाम्रो नेपाल चैं यी दुवै बाहुबली देशको उपनिवेश भएन त ?
प्रधानमन्त्रीको कुर्सी खोस्न खोज्ने एकथरी, हैन म त बहुमतको नेता–कुर्सी ता छाड्दैन है १ भन्ने अर्काथरी। यी दुई साँढेको जुधाइमा बिचरो नेपाली जनता बाछो मिचिएझैं मिचिने, चेपिने, मर्ने अवस्था आइसक्यो। अनि यो तानातान र हानाहानमा माननीय र माननीयहरूको मोल त आकाशिने नै भयो।
तर दुःखद कुरो त के चै छ भने नेपाली जनतालाई सधैं भेंडा बनाएर राख्ने प्रवृत्ति हाम्रै नेताज्यूहरूमा टन्न भरिएको छ। जनतालाई पनि उनीहरू किनबेच गरेर, आफ्नो दुनो सोझ्याउन सिपालु छन्।
विरोध जुलुसमा सहभागी गराएर विशाल जनसमुदाय देखाउन सोझासाझा, निमुखा, निरक्षरहरूलाई किनेर ल्याएको तथ्य यौटा टिभी च्यानलले हालसालै देखाएको थियो। यस्तै रहेछ, यहाँको चलन...१ भन्दै गीत गाए हुन्छ। रोइरहनुभन्दा गाइरहनु–राम्रो हैन र ? कसको समर्थन र कसको विरोध गर्न जुलुसमा सामेल भएको हो, त्योसमेत थाहा छैन भन्ने जुलुसे त पक्कै किनबेचमा परेकै हो।

महलमा विलासिता र झुपडीमा चोखा–भात

महलमा विलासिता र झुपडीमा चोखा–भात


राजेश मिश्र

‘नइखे कुछु त, भात–चोखा बना दीह, सुनलु।’ एक समय थियो, जतिबेला सामान्य नागरिकलाई खानाको लागि भात र चोखा मात्र सम्भव थियो। विगतकालका देहाती जीवनशैलीमा भात र चोखा निर्विकल्प भोजन थियो भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला। सम्पन्न परिवार वा राज्यका हुकुमाधिराजसँग आबद्ध पात्रजनबाहेक सामान्यवर्गको हैसियतमा थरीथरीका व्यञ्जन, मनोरञ्जन र विलासिता स्वप्न जस्तै थियो। उतिबेला रानीगंज दरबार, कलैया दरबार, सिम्रौनगढलगायत विभिन्न दरबारमा नृत्य र सङ्गीतको धुनमा मदिरापानसँगै राजा, महाराजाहरूको विलासिता उफानमा थियो। अर्कोतर्फ आमजन माटोको घरमा भात र सागपातको चोखा खाइरहेको हुन्थ्यो। अन्ततोगत्वा पुर्खाहरूको अश्रुजनित शापले विलासीजनहरूको पापकर्म ध्वस्त भयो र आज हामी गणतन्त्रात्मक व्यवस्थामा छौं।    
जीवनका कैयौं दशक पार गरिसकेका पुरनियाँहरूको विगतकालका तन्त्रको सम्झना ह्दयविदारक नै भन्नुपर्छ। उनीहरूका अनुसार राणाकालीन र शाहीकालीन शासन व्यवस्थाताका राज्यमा हुकुमत चलाइरहेका पात्रहरूले मद्यपान, नृत्य र गीत–सङ्गीतमा रमाइरहेका बेला हाम्रा पुर्खाहरू तरकारीको अभावमा भात र चोखा खाएर जीवन धानिरहेका थिए। गाउँदेहातमा पाइने सागपातको चोखा नै भात वा रोटीसँग उपभोग गरिन्थ्यो। खेंसारी, बथुवा वा अरुईलगायतका सागपात तरकारी वा चोखाको रूपमा उपभोग हुन्थ्यो। केही पनि उपलब्ध नभएको खण्डमा खुर्सानी, नून र तेलको मिश्रण भातसँग उपभोग गरिन्थ्यो।
आलु, भन्टा र खुर्सानीको चोखा जस्ता स्वादहरू विशुद्धरूपमा देहाती परिवेशका उत्पत्ति हुन् भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला। यो बेग्लै कुरा हो कि आज यो देहाती परिकार खानामा थप स्वादको रूपमा प्रचलनमा छ। चोखाको सम्झना भएमा मात्र पनि मुखमा पानी नआउने कोही नहोला। जाडोको महीनामा प्रायः उपभोग गरिने देहाती पारम्परिक खाजा ‘भुजा र चोखा’ देहातको पहिचान हो। घोन्सारमा भुजेको आनन्दी चामलको भुजा र घोन्सारको भट्टीमा पकाएको भन्टा वा आलुको चोखाको आनन्द लिनेहरूबाहेकलाई उक्त देहाती भोज्य पदार्थको स्वाद स्वप्न जस्तै हो। दिनभरि खेतमा काम गरी घर फर्किएका किसान खाजाको रूपमा भुजा र आलु वा भन्टाको चोखा खान्थे। पानी खाएपछि मुखबाट निस्कने ‘आह’ युक्त ध्वनिले मन कति प्रफुल्लित होला भन्ने कुरा प्रत्यक्ष अनुभूति गर्नेबाहेकलाई अनुमान गर्न कठिन छ। धानको नियारीले निर्मित ‘तरई’ वा बाँस र ‘साबे’को जोरले निर्मित ‘खटिया’ मा बसी ‘दौरी’ (डलिया) मा खाजा खाने देहाती शैली अपवादबाहेक लोपप्रायः छ।

आजका पुस्ताले खानामा ‘चोखा’लाई अपवादको रूपमा लिन्छन्, किनभने समयको गतिसँगै विभिन्न प्रकारका तरकारीको सहज उपलब्धता र सुधारोन्मुख आर्थिक अवस्थाको कारण खानामा ‘चोखा’ हुनैपर्छ भन्ने छैन। यद्यपि आजको परिवेशमा समेत भोजनको रूपमा चोखा र भातमा मात्र आश्रित समुदाय छैनन् भन्न सकिने अवस्था पनि छैन। खानाको सवालमा सम्पन्न वर्गको थालमा सागपातको ‘चोखा’ अतिरिक्त स्वादको रूपमा सामेल होला त्यो भिन्दै कुरा हो तर विपन्न परिवारको लागि भात र चोखा नै निर्विकल्प भोजनको रूपमा आज पनि विद्यमान छ।
पारम्परिक देहाती ‘चोखा’ समयको गतिसँगै शहरीया थालमा मात्र होइन, यसको लोकप्रियता विदेशसम्म पुग्नु देश र देहातको लागि गौरवको विषय हो। कामको खोजीमा विदेश पलायन हुने क्रम अत्यन्त दुःखद भएपनि श्रमिकमार्फत देहातका मूलभूत परिवेश विदेशसम्म प्रवाहित हुनु सुखद पक्ष हो। देहाती जीवनशैलीका विशेषता तथा यस क्षेत्रका प्राकृतिक आयामहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रवाहित गर्नु राज्यपक्षको नितान्त कर्तव्य हो। यद्यपि देहातको उत्थानको निमित्त यस क्षेत्रबाट प्रतिनिधित्व जनाइरहेका पात्रहरूको मानसपटलमा मुख्य सरोकार अङ्कुरित नहुनु स्वार्थी मानसिकताको पराकाष्ठा हो भन्ने भुइँतहको बुझाइ नकार्न सकिंदैन। किंकर्तव्यविमूढताका कारण मूलभूत सरोकार नारा, जुलुस, टिकट, मत र पदलगायतका स्वार्थअनुकूल मानसिकताले देहातको गरिमामय विषयवस्तुहरू ओझेलमा परेका छन् भन्ने जनस्तरको आरोप सो–ह आना जायज हो।
सत्तामा लिप्त पात्रहरूको ह्दयमा ‘जनमत’को अपेक्षाबाहेक स्थान नपाउने भुइँमान्छेको सपना सुख–शान्तिका साथ कम्तीमा पनि सामान्य भोजन र अतिरिक्त स्वादको रूपमा सागपातको चोखा प्राप्त गर्ने आकाङ्क्षा पूरा होला कि नहोला ? जो पुरनियाँहरू जीवनकालमा कैयौं परिवर्तन देखिसकेका छन्, उनीहरूलाई विगतका शासन व्यवस्था र गणतन्त्रीय शासन व्यवस्थाको बीचमा फरक छुट्टाउने सन्दर्भमा प्रायः पुरनियाँहरू निश्शब्द हुन्छन्, किन ? पुरनियाँहरूको अनुभवलाई मान्ने हो भने अचेलको प्रवृत्तिमा एक असल काम गरेर मुद्दती खाता जस्तै जीवनभरि लाभ लिइरहने मानसिकता बढ्दो छ। त्यसैले संविधानले अपेक्षा गरेको परिवर्तन अनपेक्षित क्रियाकलापको चाङभित्र लोप हुँदै गइरहेको छ।
हिजोको शासन व्यवस्थामा संविधानभन्दा पनि व्यक्तिको हुकुम नै सर्वोपरी थियो, जे हुकुम भयो त्यहीं कानून हुने। तर गणतन्त्रमा संविधान सर्वोपरी हो अर्थात् संविधानभन्दा माथि कोही हुँदैन। संविधानमा अङ्कित अक्षरहरू जनताबाट चुनिएका जनप्रतिनिधिहरूले बनाएका हुन्। संविधानको पानामा देश र जनताको मर्म कोरिएको छ। संविधानको मूलभूत परिकल्पनाभन्दा पनि आफूलाई सर्वेसर्वा मान्ने मनस्थिति फरक शैलीमा हिजोकै पुनरावृत्ति हो भन्ने आममानिसको बुझाइलाई नकार्न सकिंदैन।
धेरै यस्ता परिवार छन्, जो आर्थिक अभावको कारण खानामा प्रतिदिन भातसँग दाल र तरकारी उपभोग गर्न अक्षम छन्। उनीहरूको लागि भात वा रोटीसँग स्थानीयस्तरमा उपलब्ध सागपातको चोखाबाहेक अर्को विकल्प छैन। वृद्धभत्ता, एकल महिला भत्ता जस्ता असहायहरूले पाउने सुविधामा आँखा लगाउने बानीले भ्रष्टाचार र कुशासन कति व्याप्त छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ। विगतमा चोखा नै तरकारीको विकल्प थियो। आजको प्रचलनमा ‘चोखा’को महत्व त्यसरी छैन, जसरी हाम्रा पुर्खाहरूको लागि थियो।
केही दशकदेखि दाल र तरकारीको भरपूर उपलब्धताले ‘चोखा’ अपवादमा परेको बुझ्न सकिन्छ। पुर्खाहरूले भोगेको वृतान्त नै ‘स्वविकास’को अवधारणामा देहातीजनलाई उत्प्रेरणा प्रदान गरेको कतिपयको भनाइलाई मान्ने आधारहरू प्रशस्त छन्। जस्तै विदेशमा श्रम बेच्ने र परिवारलाई पाल्ने मनोविज्ञानले परिवारलाई मात्र सुखशान्ति प्रदान गरेको छैन। अपितु राज्यलाई पनि विप्रेषणमार्फत टेवा पु–याइरहेका छन्। देहातीजन सुखशान्ति र प्रगतिका साथै खानाको सवालमा परिस्थिति सुधारोन्मुख छ तर निर्मूल भइनसकेको अवस्था छ।
दिनभरि हलो कोदालो चलाएर पाँच सय रुपैयाँ ‘बनिहारी’ (ज्याला) आर्जन गर्ने नागरिकलाई खानामा विभिन्न परिकार र पुष्टिबर्धक व्यञ्जन कसरी सम्भव हुन सक्छ ? केही धुर घडेरीमा बनेको फुसको झुपडी र एक/दुई कट्ठा खेतमा आश्रित परिवारका पुर्खाहरू जसरी चोखा र भातमा सीमित थिए, उनीहरूका नवपुस्ता पनि त्यसैगरी जीवन बाँच्न बाध्य हुन्छन् भने हिजोका ‘राजा’ र आजका ‘जनप्रतिनिधि’बीच फरक के त ? यो देहातीजनहरूको प्रश्न हो र यसको जवाफ कुनै पात्रसँग छ भने जनताको घरमा पुगेर धुत्र्याइँरहित उत्तर फर्काउने साहस आफूभित्र ल्याउन सक्नुपर्छ।

जाडो र ग्रामीण विज्ञान

जाडो र ग्रामीण विज्ञान


सञ्जय मित्र

प्रकृतिले सबै थोक दिएको छ, मानिसलाई। प्रकृतिबाट मानिस निकै प्रभावित छ। मानिस जतिसुकै प्रकृतिबाट टाढा भाग्न खोजे पनि प्रकृतिले मानिसलाई भाग्न दिएको हुँदैन। अहिले पनि ज्ञान र विज्ञानले उत्कर्षता प्राप्त गरिरहेको समयमा पनि प्रकृतिको महत्व कम भएको कसैले भनिरहेको छैन। विज्ञानले विकास गर्नुपर्दछ तर प्रकृतिलाई हानिनोक्सानी पु–याउनुहुँदैन भन्ने मान्यतामा पनि कमी आएको छैन। बरु प्रकृतिको संरक्षणले मानवजीवनको सम्पन्नता सम्भव छ भन्न थालिएको छ।
परिवेश अनुसार पृथ्वीका विभिन्न ठाउँमा विभिन्न किसिमका मौसम रहेको देखिन्छ। नेपालकै उत्तरमा अधिकांश समय जाडो हुने हुँदा लगभग एकै किसिमको मौसम हुन्छ तर जाडो कम हुने र जाडो धेरै हुने दुई मौसम भन्न सकिन्छ। त्यहाँको शब्दावलीमा जाडो र गर्मी होला तर यही नेपालकै दक्षिणी क्षेत्रका मानिसका लागि त्यहाँ जेठमा पनि जाडो हुनु स्वाभाविक हो। हिमाली क्षेत्रमा वर्षाको मौसम हुँदैन भनिन्छ वा पानी निकै कम पर्ने तथा पानीको साटो हिउँ पर्ने हुन्छ। पहाडमा भने जाडो, गर्मी र वर्षा गरी तीन मौसम हुन्छन्। तराईमा कहिल्यै हिउँ पर्दैन। तर पनि जाडो भने हुन्छ। यहाँका बासिन्दाका लागि धेरै जाडो हुने समयमा पनि हिमाली क्षेत्रका मानिसका लागि खासै जाडो हुँदैन यहाँ। हिमालका केही मानिस जाडो छल्न यहाँ झर्ने गर्दछन् र यहाँका बासिन्दाले अत्यन्त धेरै जाडोको अनुभूति गरिरहेको समयलाई पनि जाडो त छैन है भन्दै कुरा गरेको सुनिन्छ। अनुभव बताएको सुनिन्छ।
तराई–मधेसमा वार, महीना, ६ ऋतु र तीन मौसम हुन्छन्। हरेक मौसमका आफ्नै विशेषता छन्। गर्मीमा मानिस घरबाहिर जहाँ पनि बस्न सक्ने हुन्छन्। गर्मी छलेर बस्नुपर्ने भएकोले कम कपडा भएका विपन्न समुदायलाई पनि केहीको अभाव अनुभव हुँदैन। वर्षामा भने छानो चुहिने नहुँदा राम्रो हुन्छ र बाढीले धेरै नसताउँदासम्म बाँच्न खासै असजिलो हुँदैन तर जाडोको मौसम भने निकै निर्दयी हुन्छ। जहाँ गए पनि जाडोले छोड्दैन। जाडोबाट सबैभन्दा प्रभावित हुने वर्ग त निम्न नै हुन्छ। जाडोको पारो जति धेरै चढ्दै जान्छ, सुविधाविहीनहरूमा चिन्ता र समस्या दुवै बढ्दै गएका हुन्छन्।

अहिले सुविधाको युग पनि हो। हुनेखानेको लागि अनेक सुविधा छन्, बजारमा। सुविधा र सुख किनेर पाइन्छ भन्ने भ्रम बढेको युग हो। बजारको चमकदमकले विपन्नलाई किन छुँदैन भने पहुँच हुँदैन। पहुँच नभएपछि जाडो त भोग्नुपर्छ। जाडोजस्तो कठिन समय गरीबको लागि केही पनि हुन्न। जाडोको समय विपन्नहरू आफ्नै किसिमले बिताउने गर्दछन्। सबैभन्दा बढी उपयोग आगोको गर्दछन्।
पहिले मानिस जाडोभरि परालको ओछ्यान लगाउँथे र परालबाटै बनेको सुकुल ओढ्ने गर्दथे। ओढ्ने र ओछ्याउने परालको भएपछि जाडो लाग्दैन भन्ने मान्यता थियो। यसै कारण अझै पनि कतिपय विपन्न परिवारमा प्लास्टिकको बोरालाई काटेर ठूलो बनाइ त्यसभित्र पराललाई टुक्राटुक्रा पारेर हालिन्छ र परालकै नरम ओछ्यान बनाएर सुतिन्छ। अब त सुकुल ओढ्ने चलन करीब–करीब हटिइसकेको छ तर अवशेष भने छँदैछ। अति अशक्त परिवारलाई कम्बल तथा सिरक कतैकतैबाट प्राप्त हुन्छ। यी दुई ओढ्नेलाई अन्य काममा त्यत्ति प्रयोग गरेको पाइँदैन।
न्यानो कपडा भनेकै एउटा ओढना हो गरीबको लागि। सम्भव भए सुइटर वा एउटा पूरा बाहुला भएको सर्ट लगाएर गाउँघरमा ओढना भनिने चादर ओढेर लगभग पूरा जीउलाई जाडोबाट जोगाउने प्रयत्न हुन्छ। ओढनाले टाउकोदेखि कम्मरसम्मको भागलाई सजिलै छोपेको हुन्छ। यसले गर्दा जाडो भगाउन सजिलो हुन्छ। ओढना ओढेर काम पनि गर्न मिल्ने भएको र काम गर्दा अलिकति गर्मी पनि महसूस हुने हुन्छ। भित्रैबाट गर्मी महसूस गराउन पनि कतिपयले जाडोमा अलिक बढी मिहिनेत गर्दछन्।
आगोको बहुमुखी प्रयोग विपन्न समुदायमा हुन्छ। आगोले विपन्न समुदायलाई सबै क्षेत्रमा सहयोग गर्दछ।
जाडोमा गाउँघरमा अहिले पनि के सोचाइ छ भने खाना तात्तातो खानुपर्दछ। तातो खाना खाँदा राम्ररी पच्छ र शरीरले ऊर्जा प्राप्त गर्दछ। अझ अति विपन्न समुदायका मानिस खाना खानेबेलामा सकेसम्म आगोको नजीक नै बसेर खाना खाना खोज्दछन्। घरमा चुलोमा खाना पकाएको अवस्था छ भने चुलोको आगोनेर नै खाना खान्छन् र यदि घरमा भाइबुहारी अथवा बुहारी छिन् भने घरबाहिर आँगनमा कतै घुर लगाएको ठाउँ वरपर खाना खान्छन्। बिहानको खाना हो भने सकेसम्म घाम नै रोज्ने गर्दछन्। खाना खाइसकेपछि अझै पनि धेरै मानिसले ज्वानो खाने गरेका छन्।
खाना खाने कलामात्र होइन, के खाने र कस्तो खाने भन्ने विषयमा पनि ग्रामीण समुदायमा आफ्नै किसिमको सचेतना रहेको छ। के खाँदा शरीरलाई चीसोबाट बचाउँछ र के खाँदा जाडो हुन्छ वा जाडोबाट शरीरलाई पार्ने दुष्प्रभावलाई अझ बढाउन सहयोग गर्दछ भन्ने विषयमा ग्राम्य विज्ञान परम्परागत दृष्टिकोणले नै सचेत छ। के कुरा खानै हुँदैन भन्ने कुरामा अहिले पनि ग्राम्य जीवनले नाघ्न सकेको छैन। सम्भवतः धेरै किसिमका चाडपर्वको प्रकृतिलाई अध्ययन गर्ने हो भने यस कुरालाई बुझ्न सकिन्छ। जाडो महीनामा मनाइने परम्परागत पर्वहरू आफ्नै किसिमका रहेका छन्। यस मौसममा मनाइने चाडपर्वहरूका खान्गी पनि मौसम सुहाउँदो र शरीरलाई ऊर्जा दिने किसिमका नै रहेका छन्।
घरमा कसैलाई रुघा लागेको वा खोकी लागेको अवस्था छ भने बिहान र बेलुकी तातो पानी खान्छन्। खाना पनि तातो, घाम वा आगोनजीक बसेर खाना खाने र तातो पानी खाएर जाडोलाई छल्ने र आफूलाई सकेसम्म स्वस्थ बनाइराख्ने कला ग्राम्य जीवनबाट अझै पनि हराइसकेको छैन।
ग्रामीण जीवनमा अझै पनि पराल, आगो, तातो पानी जाडोसित जोडिएका छन्। नवयुवक तथा भद्र पुरुषहरू घुरनजीक वा आसपासको ठाउँमा उभिएर वा बसेर सामाजिक गफगाफ वा छलफल गर्दा जाडो बितेको पत्तै पाउँदैनन्। ग्राम्य जीवनलाई बुझ्न अझै पनि गाउँ नै रहेको जनजीवनलाई बुझ्नुपर्ने हुन्छ।

संसदीय गोलचक्कर होइन वैज्ञानिक समाजवाद ल्याउने आन्दोलन चाहियो

संसदीय गोलचक्कर होइन वैज्ञानिक समाजवाद ल्याउने आन्दोलन चाहियो


वैधनाथ ठाकुर

पुसको जाडोमा युवाहरूले सडक तताएको देखिन्छ। सडकमा जिन्दाबाद र मुर्दाबादका नाराहरू फेरि घन्किन थालेका छन्। प्रहरी र आन्दोलनकारीबीच फेरि लुकामारीको खेल शुरू भएको छ। घण्टाघरमा मशाल जुलुस तथा प्रधानमन्त्रीको पुतला दहन कार्यक्रमको दृश्य हेर्दा २०६२/०६३ मा आठवटा राजनीतिक दलले गरेको संयुक्त आन्दोलनको झझल्को दिइरहेको छ। प्रहरीले फेरि आँखा चिम्लेर डन्डा हान्ने तथा आन्दोलनकारीले ताकेरै प्रहरीमाथि ढुङ्गामुढा गर्ने दृश्यहरू देख्दा संविधानसभाले बनाएको संविधानको यो अवस्था किन आएको होला एकचोटि फेरि सोच्न बाध्य पारेको छ, सबैलाई।
निकै लामो समयदेखि नेपालमा राजनीतिक स्थिरता थिएन। अल्पमतको सरकारको कुरै नगरौं। पूर्ण बहुमत र दुई तिहाइ बहुमतका सरकारहरूसमेत पूर्णकालसम्म सत्ता चलाएको इतिहास थिएन। राणाकाल होस् वा शाही शासन वा संवैधानिक बहुदलीय प्रणाली नेपाल जति कम अवधिमा यतिधेरै सरकार अन्यत्र नबनेको होला। यस अर्थमा नेपाल सरकारले गिनिज बूकमा नाम लेखाउने प्रक्रिया थाल्दा राम्रो होला। पूर्णकालसम्म सरकार चलाउने जनमत पाएर झन्डै दुई तिहाइको वाम सरकार अन्ततः दुई वर्षअगाडि नै ढल्न पुग्यो। यसरी सरकार ढल्नुको कुनै खास कारण पनि होइन। एकमात्र कारण सत्ताधारी पार्टी नेकपाभित्रका सबै नेतालाई पदको भागबन्डा सरकारमा व्यवस्थापन गर्न नसक्दा आफ्नो कुर्सी जोगाउन प्रधानमन्त्रीले सर्वोच्च भनिएका संसद् अर्थात् प्रतिनिधिसभा नै विघटन गरिदिए। यसकै आक्रोशपूर्ण अभिव्यक्ति यतिबेला सडकमा देखिएको छ।
लामो समयसम्म युद्धको पीडा भोगेको नेपाली समाज सरकारबाट स्थायित्व तथा विकास र समृद्धिको निकै लामो आस लिएरै झन्डै दुई तिहाइको बहुमत दिएर नेकपालाई प्रतिनिधिसभामा पठाएको थियो। त्यति बेला नेपाली जनताले नेकपा केवल नामको कम्युनिस्ट पार्टी हो, वास्तवमा यिनीहरू विदेशी पूँजीपतिका दलाल भइसकेको राम्ररी बुझेको थिएन। गएको तीन वर्षमा जनताको जीवनस्तर उकास्ने, रोजगार सृजना गर्ने, बजारको व्यवस्था गर्ने, तस्करी बन्द गर्ने, भ्रष्टाचार कम गर्ने जस्ता कुनै पनि जनतासँग सम्बन्धित कार्यक्रम सरकारले ल्याएन। बरु यसको ठीक उल्टो राज्यका प्रत्येक निकायमा पार्टीभित्र नेताहरूबीच भागबन्डाको आधारमा नियुक्ति गर्न गराउन खोजियो। यस कार्यमा आफूले ताकेको भाग नपाउँदा नेकपाभित्र ठूलो मथिङ्गल शुरू भयो। नेकपाभित्रको आन्तरिक भागबन्डाको कलहले यस्तो उग्ररूप लियो कि संविधानमैं व्यवस्था नभएको दुर्घटना संसद् विघटनको रूपमा देखा प–यो। संसद् विघटनको घटनालाई सत्तारूढ नेकपा ओली समूहबाहेक कसैले पनि समर्थन गरेको छैन। वैधानिक, अवैधानिक सम्पूर्ण पार्टीले यतिबेला ओली सरकारको संसद् विघटनलाई फासिस्टशैली भनेर भत्र्सना मात्र गरेका छैनन्, बरु संयुक्त कार्यक्रम नै बनाएर सडक आन्दोलन गर्ने निर्णय नै गरेका छन्।

ओली सरकारविरुद्ध यो लडाइँ त्यति सहज पनि छैन। यतिबेला सबै पार्टीको ध्यान सर्वोच्च अदालततिर केन्द्रित रहेको छ। सर्वोच्च अदालतको फैसलाले नै अबको राजनीतिक यात्रा कस्तो हुने हो भन्ने कुरा सुनिश्चित गर्नेछ। तर यहाँनिर एउटा प्रश्न फेरि पनि उठ्ने अवस्था रहेकोलाई अस्वीकार गर्न सकिन्न।
यदि अदालतले ओली सरकारको निर्णयलाई असंवैधानिक वा त्रुटिपूर्ण भनेर उल्टाइदियो भने के हुन्छ ? फेरि संसद् बस्छ र बहुमतको आधारमा दुई वर्षको लागि सरकार गठन हुन्छ। संसद्मा देखिएका अहिलेका पार्टीहरूमध्ये कुन चाहिं पार्टीको नेतृत्वमा बनेको सरकारले जनताका समस्याहरूलाई सम्बोधन गर्ला ? जनताप्रति उत्तरदायी नेता कोही पनि यतिबेला संसद्मा उपस्थित छ ?
मानौं अदालतले सरकारको निर्णयलाई नै यसभन्दा अगाडिको अदालती नजिरहरूलाई तेर्साएर सदर गरिदियो। त्यसपछि वैशाखसम्मलाई यही सरकार कायम रहन्छ। यसले चुनाव गराउँछ। जित्नेले सरकार बनाउँछ। पार्टीहरू यिनै हुन्। अहिलेसम्म राष्ट्रिय पार्टीको रूपमा मूलतः दुईवटा पार्टी मात्रै देखिन्छन्, जसले चुनावमा आफ्नो नेतृत्वमा एक्लै वा मिलीजुली सरकार बनाउन सक्छ। नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी। बाँकी राप्रपा, समाजवादीलगायतका पार्टीहरू अरूसँग जोडिएर जानुभन्दाको अर्को हैसियत अहिलेसम्म देखिएको छैन। भनेपछि नेपाली काङ्ग्रेस नेपालको राजनीतिमा सबैभन्दा बढी समय सत्तामा रहने पार्टी हो। यसले नेपाली जनताको सुखसुविधाभन्दा पनि आफ्ना नेताहरूको सुखसुविधा तथा कार्यकर्ता पाल्ने कामबाहेक खासै के पो आजसम्म गरेको छ र अब गर्ला भनेर कसरी पत्याउनु ?
रह्यो नेपाल कम्युनिस्ट पार्टीको कुरा। यिनीहरू पनि नाम मात्रका कम्युनिस्ट हुन्। वास्तवमा भ्रष्टाचार र कुशासनमा काङ्ग्रेसका पनि गुरु हुन् भन्ने कुरा थोरै दिनमा प्रमाणित नै गरिसकेका छन्। यिनीहरूको सिद्धान्त भनेको केवल कार्यकर्तालाई भ्रमित पारेर पछिपछि लगाउने र उनीहरूको भविष्य अँध्यारोमा पारेर नेताहरूले आफ्नो भविष्य चम्काउने कामबाहेक के गरेको छन् ? हिजोसम्म भूमिगतकालमा छातीमा गोली थाप्ने गरीबका छोराहरू आजको कम्युनिस्ट राजनीतिमा अयोग्य भएका छन् किनकि अहिलेको समाजवाद संसदीय बाटोबाट आउने हो। संसदीय बाटो भनेको बहुमतको सरकार बनाएर समाजवाद ल्याउने हो। बहुमतको सरकार बनाउनको लागि चुनाव जित्न जरुरी छ। चुनाव त्यसैले जित्छ, जोसँग करोडौं रुपैयाँ छ। करोडौं रुपैयाँ कोसँग छ ? सबैले बुझेकै कुरा हो। तस्कर, माफिया, भ्रष्टाचारी, दलाल, पूँजीपति, सामन्ती, नोकरशाहबाहेक अन्य कोहीसँग पनि चुनावमा खर्च गर्ने करोडौं रुपैयाँ छैन। अनि पार्टीमा हिजोदेखि लागेका गरीबका छोराहरूलाई एकैचोटि समानुपातिकमा लगिन्छ, त्यो पनि गुट र चाकडीको प्राथमिकतामा परेमा। तर नेताहरू आजीवन टिकट पाइरहन्छन्। ऊ जति चोटि दोहोरिए पनि हुन्छ। अनि यसरी चुनाव जितेर आएका तस्कर र तस्करको पैसाले चुनाव जितेका नेता दुवै कमरेडले गरीब, दुःखीको दुःख हरण गर्ने कार्यक्रम ल्याउँला भन्ठान्नुभन्दा महामूर्खता के होला ? अब त एकचोटि फेरि यी भ्रष्ट नेताहरूलाई पाखा लगाउने आन्दोलन चाहिएको छ, जसले वास्तविक अर्थमा सुखी नेपाली र समृद्ध नेपाल निर्माण गरोस्।

फरक समाचार

Find us