Saturday, July 4, 2020

मितेरी पुलको मर्मत

मितेरी पुलको मर्मत


प्रस, वीरगंज, २० असार/
    वीरगंज–रक्सौल मितेरी पुलको मर्मतमा सांसद प्रदीप यादवले चासो देखाएका छन् । सो पुलको अवस्था नाजुक भएको र सम्बन्धित निकाय मौन भएपछि सांसद यादवले ग्रेभल हालेर सडक सम्याउने कार्य गराएका छन् । मितेरी पुल केही वर्षदेखि निकै जीर्ण अवस्थामा छ । ठाउँ–ठाउँमा खाल्डो भएको र सवारी आवतजावतमा समस्या भएपछि पुल मर्मतका लागि  धेरैले स्थलगत अवलोकन गरी मर्मतको आश्वासन दिएका थिए । सांसद यादवले निजी खर्चमा पुलको मर्मत सम्भार गराएको बताएका छन् ।
मनि ट्रान्सफरको उद्घाटन

मनि ट्रान्सफरको उद्घाटन

प्रस, बिरुवागुठी, २० असार/
    एशियन मनि ट्रान्सफर जीतपुरले दोस्रो शाखा सञ्चालनमा ल्याएको छ ।
    जीतपुरसिमरा उपमहानगरपालिका–१० नितनपुर चोकमा नगरकी उपप्रमुख सरस्वती चौधरीले मनि ट्रान्सफरको उद्घाटन गर्दै यस क्षेत्रका सेवाग्राही लाभान्वित हुने बताइन् । उनले विदेशबाट आउने रकम झिक्नका लागि झन्झट नहुने बताइन् ।
    मनि ट्रान्सफर जीतपुरका सञ्चालक नुरूलाह अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता देवनारायण चौधरी, मनोज पौडेल, वडासदस्य दुर्गा रिजाल, राजु गिरी, नेपाल एभरेस्ट बैंकका प्रबन्धक क्षितिज पराजुलीलगायतले शुभकामना व्यक्त गरेका थिए । उद्घाटन समारोहमा चाँदनी पौडेलले स्वागत र आशा दाहालले सहजीकरण गरेका थिए ।
ट्राफिक प्रहरीलाई टिभी सहयोग

ट्राफिक प्रहरीलाई टिभी सहयोग



प्रस, वीरगंज, २० असार/
    लायन्स क्लब अफ वीरगंज नर्थले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको ब्यारेकमा एलइडी टिभी जडान गराएको छ ।
    ब्यारेकमा बस्ने ट्राफिक प्रहरीलाई सूचना र मनोरञ्जनका लागि ३२ इन्चको एलइडी टिभी डिसलाइनसहित जडान गरिएको लायन्स क्लब नर्थका अध्यक्ष सञ्जय अग्रवालले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा शनिवार ट्राफिक प्रमुख कमलराज पण्डितलाई टिभी हस्तान्तरण गरिएको थियो ।
हरि खेतानमा कक्षा ११ को भर्ना प्रक्रिया शुरू

हरि खेतानमा कक्षा ११ को भर्ना प्रक्रिया शुरू


प्रस, वीरगंज, २० असार/
    वीरगंजस्थित हरि खेतान बहुमुखी क्याम्पसले शैक्षिक सत्र २०७७ को लागि कक्षा ११ को नयाँ भर्ना प्रक्रिया शुरू गरेको छ ।
    तराई क्षेत्रमा पहिलोपटक QAA Certified प्रथम तथा हाइटेक सुविधासमेत रहेको हरि खेतानले असार १९ गतेदेखि भर्ना आवेदन फाराम वितरण शुरू गरेको हो । विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानून सङ्कायमा कक्षा ११ मा भर्ना शुरू भएको क्याम्पसले जनाएको छ ।
    क्याम्पसले सार्वजनिक गरेको भर्ना कार्यक्रम अनुसार आवेदन फाराम वितरण तथा बुझाउने र नामाङ्कनका लागि असार १९ गतेदेखि नै खुला गरेको छ । आवेदन फाराम क्याम्पसको लेखा शाखाबाट ६ सय रुपैयाँको रसिद कटाइ प्राप्त गर्न सकिनेछ । क्याम्पसमा तत्काल सम्पर्क गर्न असमर्थ विद्यार्थीहरूका लागि क्याम्पसको वेबसाइट www.hmk.edu.np बाट पनि डाउनलोड गरी आवेदन फाराम प्राप्त गर्न सकिने क्याम्पस प्रमुख डा भगवानप्रसाद यादवले बताएका छन् ।
    हरि खेतानमा भर्नाका लागि   विद्यार्थीहरूको एसइईको ग्रेड सीट, चारित्रिक प्रमाणपत्रको सक्कल प्रति र हालसालै खिचेको फोटो २ प्रति बुझाउनुपर्ने छ । विदेशबाट कक्षा १० उत्तीर्ण गरेका विद्यार्थीहरूले भने माइग्रेशन प्रमाणपत्रको सकल प्रति साथै समकक्षता प्रमाणपत्रको सकलप्रति समेत बुझाउनुपर्नेछ ।
    बाराका कलैया, सिमरा, पथलैया साथै वीरगंज महानगर आसपास २० किलोमिटर क्षेत्रका विद्यार्थीले समेत घरमैं बसेर सजिलै तरीकाले अध्ययन गर्नका लागि अति सुलभ र सहुलियत दरमा ७ वटा बससेवा सञ्चालन गर्दै आएको यस क्याम्पसले सुविधासम्पन्न वातानुकूलित ५० वटाभन्दा बढि कम्प्युटर एवं मल्टिमिडिया प्रोजेक्टर भएको कम्प्युटर ल्याबको व्यवस्था गरेको छ । त्यसैगरी, सुविधासम्पन्न फिजिक्स, केमेस्ट्री र बायोलजीको प्रयोगशाला पनि छ ।
    क्याम्पसमा एक लाखवटाभन्दा धेरै पाठ्यपुस्तक उपलब्ध पुस्तकालय रहेकोले कुनै पनि विद्यार्थीलाई कहिल्यै पाठ्यपुस्तकको अभाव नहुने क्याम्पस प्रमुख डा यादवले प्रतीकसँगको कुराकानीमा बताएका छन् । उनले क्याम्पसमा Interactive Projector तथा Smart Board बाट पठनपाठन गराइने व्यवस्था रहेको बताए । सम्पूर्ण विद्यार्थीका लागि क्याम्पस परिसरमा वाइफाईको सुविधा रहनुका साथै योग्य, अनुभवी, एवं दक्ष प्राध्यापकहरूद्वारा पठनपाठन गराइन्छ ।
चुरे तराईको जीवनरेखा

चुरे तराईको जीवनरेखा

प्रस, निजगढ, २० असार/
    “चुरेको माटो चुरेलाई घना हरियाली वन र सफा पानी हामीलाई” मूल नारासहित निजगढमा चुरे संरक्षणसम्बन्धी अन्तरक्रिया तथा गोष्ठी शुक्रवार सम्पन्न भयो ।
    कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन बाराका प्रमुख मन्जुर अहमदले चुरेको उपल्लो तटीय क्षेत्रमा हुने हानिनोक्सानीका असरहरू तल्लो तटीय क्षेत्रमा पनि पर्ने भएकोले दुवै क्षेत्रको संरक्षणमा हामी सबैको समान दायित्व रहेको बताए । उनले चुरे तराईको जीवनरेखा रहेको चर्चा गर्दै चुरेको संरक्षणविना तराईमा मानवबस्ती कल्पना गर्न पनि नसकिने बताए । स्थानीय तहहरूले राजस्व सङ्कलन गर्ने होडबाजीमा नदीजन्य पदार्थको अवैज्ञानिक किसिमले जथाभावी उत्खनन गर्न नहुने भन्दै डिभिजन वन प्रमुख अहमदले सतर्क गराए ।
    गोष्ठीका विशिष्ठ अतिथि निजगढ नगरकी उपप्रमुख लीलादेवी लामिछानेले निजगढ नगरको नीति तथा कार्यक्रम एवं कार्ययोजनाहरू चुरे संरक्षणको पाटोमा अघि बढिरहेको दाबी गरिन् । चुरे र सो आसपास क्षेत्रका बासिन्दाहरूको  जनजीविका सदियौंदेखि चुरेसँग गाँसिएर रहेको भन्दै उनले संरक्षणका निम्ति स्थानीयको सहभागिता अनिवार्य रहेको बताइन् ।
    सहायक वन अधिकृत अनिल साहले सहजीकरण गरेको कार्यक्रममा चुरे विनाशमा कारक तत्वको रूपमा रहेका उद्योगधन्दा, कलकारखाना, इँटाभट्टा र क्रसर उद्योगको असरबारे वृत्तचित्र प्रस्तुत गरिएको थियो ।
    कार्यक्रममा निजगढ नगरपालिकाका जनप्रतिनिधि, प्रशासक एवं कर्मचारी, डिभिजन वनका अधिकारीहरू, सामुदायिक वनका पदाधिकारी र सञ्चारकर्मीहरूको सहभागिता थियो ।
    कार्यक्रम डिभिजन वन कार्यालय बाराको सहयोगमा नेपाल फोटो पत्रकार महासङ्घ, बाराले आयोजना गरेको थियो । महासङ्घ बाराका अध्यक्ष जीतलाल श्रेष्ठको अध्यक्षता र पत्रकार दिवाकर भण्डारीले सहजीकरण गरेको कार्यक्रममा गोकुल घोरसाइनेले स्वागत गरेका थिए ।

फरक समाचार

Find us