Showing posts with label स्वान्त–सुखाय. Show all posts
Showing posts with label स्वान्त–सुखाय. Show all posts

Friday, March 13, 2020

घुम्टो प्रथा र...

घुम्टो प्रथा र...

सञ्जय साह मित्र
    नेपाल सांस्कृतिक विविधताको सङ्ग्रहालय पनि हो । यहाँ अनेक किसिमका संस्कृति एकै धर्म, सम्प्रदाय तथा जातका मानिसबीच रहेको छ । भौगोलिक दूरी, शिक्षा, नदी तथा लामो कालखण्डसम्म सम्पर्क हुन नसक्नु, सञ्चार, यातायात, सामाजिक सञ्जाल आदिका कारण संस्कृतिमा परिवर्तन, हस्तक्षेप तथा नयाँ संस्कृतिको निर्माण र चलनमा पार्थक्य आउने गर्दछ । नेपालमा प्रचलित संस्कृतिहरूको अध्ययन गर्ने हो भने एउटै संस्कृतिमा पनि विविधता पाइन्छ । संस्कृतिको विविधताभित्र एकता पाइन्छ । यी तथ्यहरूले पनि यस देशलाई संस्कृतिको सङ्ग्रहालय बनाउन सहयोग पु¥याएका छन् ।
    देशमा भौगोलिक कारणले गर्दा तीन किसिमको संस्कृतिको निर्माण भएको छ – हिमाली, पहाडी र मधेसी । मधेसी संस्कृति भन्नु चाहिं देशको भूगोलको दृष्टिकोणले तराई भनिने क्षेत्रमा प्रचलित संस्कृतिको त्यो समष्टि हो जसलाई यहाँका रैथाने मान्दछन् ।
    मधेसी संस्कृतिको आप्mनै विशेषता छ । आप्mनै विविधता छ । वास्तवमा मधेसी संस्कृति महिलाप्रधान छ । महिलाविना यो संस्कृति अधूरो र अपूरो छ । मधेसी संस्कृतिको विविधतामध्ये परम्परादेखि नै चलिरहेको घुम्टो पनि एक हो ।
    घुम्टो प्रथा भनेको महिला वा आइमाईले आप्mनो अनुहार छोप्ने चलन हो । आइमाईले मुख्यतया साडी लगाउने र साडीको माथिल्लो फेरले आप्mनो टाउको छोपिराख्ने गर्दछन् । आपूmभन्दा ठूला वा नाताले मान्नुपर्ने मानिसको अगाडि साडीको फेरले अनुहार छोप्ने चलन नै घुम्टो प्रथा हो । साडी नलगाउने आइमाईले कुर्ता, सुरूवाल लगाए पनि जीउमा राख्ने सलले पनि आप्mनो अनुहार ठूलाबडाका अगाडि छोप्ने चलन रहेको छ । यसरी अनुहार छोप्ने चलन वा छोप्नुपर्ने अवस्था मुख्यरूपमा बिहे भइसकेपछि बढी हुन्छ । बिहे भइसकेपछि आप्mनो घर जाँदा दुलही वा आइमाईले यो प्रथा कायम राख्ने गर्दछन् । यो प्रथा देखासिकी प्रथा नै हो । अझ सम्भ्रान्त परिवार, सामाजिक प्रतिष्ठा उच्च रहेको परिवार तथा सामाजिक–सांस्कृतिक र धार्मिक कार्यहरूमा बढी प्रयोग गरिन्छ । मुस्लिम समुदायका महिलामा भने अझ अलिक फरक दृष्टिले यो प्रथा प्रचलनमा रहेको छ ।
    शिक्षा र आय आर्जनमा महिलाको सहभागिता बढ्दै जानु र राजनैतिक–सामाजिक गतिविधिमा महिलाको सहभागितामा वृद्धि हुनु र नीति निर्माणमा पनि महिलाको सहभागिता बढ्दै जानुले घुम्टो प्रथा केही खुकुलो हुँदै गएको छ । यसैगरी मधेसको संस्कृति नबुझेका केहीले यसबारे निरन्तर आलोचना गर्नाले पनि यस प्रथाको क्षयीकरण भइरहेको छ । यस प्रथालाई कतिपयले अन्धविश्वास भनेर आलोचना गर्छन्, कतिपयले मानव अधिकार वा महिला अधिकारविपरीत व्यवहार मान्दछन् र कतिपयले महिलालाई अगाडि बढ्न नदिन पुरुषले चलाएको कुप्रथा मान्दछन् ।
    घुम्टो प्रथा कहिले, कुन परिवेशमा र कसले चलायो भन्ने प्रश्न आजको युगमा काम नलाग्ने हुन सक्छ । तर यो अवैज्ञानिक हो र यसले अन्धविश्वास फैलाउँछ भन्ने होइन । यो प्रथा तराई–मधेसको भूगोल तथा वातावरण अनुकूल छ र यसका सकारात्मक पक्ष पनि छन् ।
    तराई–मधेस मुख्यतः गर्मी प्रदेश हो । घाममा महिला घरबाट बाहिर निस्कँदा आप्mनो टाउकोलाई सकेसम्म घामले जोगाउन र घामको रापबाट अनुहार जोगाउन घुम्टोले सहयोग पु¥याउँछ । गर्मीले खल्खली पसिना चुहिंदा अनुहार र घाँटी यही घुम्टोले पुछ्न सजिलो हुन्छ । जाडोमा त झन् कपडाको महŒव कत्ति हुन्छ बताउनै पर्दैन । चीसो बतासबाट कान जोगाउन, टाउको छोपेर चीसोबाट जोगाउन तथा आँखासमेतलाई कम प्रभावित बनाउनसमेत घुम्टोले सहयोग पु¥याउँछ । वर्षाको समयमा पनि यसको महŒव विशिष्ट किसिमको रहेकोमा दुई मत छैन । आँखा, अनुहार तथा टाउकोलाई धूलो–छारोबाट जोगाउने काम पनि घुम्टोले गर्दछ । गर्मी, जाडो र वर्षा आदि सबै मौसमको दृष्टिकोणले हेर्ने हो भने मधेसी लोकजीवनमा प्रचलित घुम्टो प्रथा वैज्ञानिक सोचको उपज रहेको पुष्टि हुन्छ ।
    तराई–मधेसमा महिलालाई सभ्य र सुसंस्कृत देखाउने पहिलो शर्त नै घुम्टो मानिन्छ । अनुहार नछोपे पनि हुन्छ तर कम्तीमा टाउको भने छोप्नुपर्ने चलनलाई सभ्यता मानिन्छ । मधेसी समाजको यो सभ्यताले महिलालाई मात्र होइन, पुरुषलाई पनि मर्यादा राख्न सिकाएको छ । सामाजिक मर्यादाको दृष्टिले पनि यो प्रथा उपयुक्त देखिन्छ ।
    कतिपयले के पनि विश्लेषण गर्ने गरेका छन् भने घुम्टो प्रथाकै कारण मधेसी समुदायका महिला वा युवती कतै बेचिएका छैनन् । विभिन्न बहानामा विभिन्न किसिमले बेचिने महिला वा युवतीमा मधेसी समुदायको प्रतिशत नगण्य हुनु यही घुम्टो प्रथाकै सामाजिक प्रतिष्ठा र सम्मानको उपज हो । नेपालकै अन्य समुदायका महिलाका तुलनामा नकारात्मक काममा मधेसी महिलाको सहभागिता वा नकारात्मक कामको चेतना निकै कम छ । मधेसी महिलाहरू सामाजिक कार्यमा कम सहभागी हुन्छन् तर नकारात्मक काममा भने झन् कम हुन्छन् । तुलनात्मकरूपमा महिलाको तटस्थ भूमिका हुन्छ ।
    घुम्टो प्रथा आफैं सुधारोन्मुख छ । यसमा धेरै हस्तक्षेप भइरहेको छैन तर आप्mनै किसिमले सुधार भइरहेको भने सत्य हो । आपूmले मान्नुपर्ने वा नातामा ठूलो हुने पुरुषका अगाडि वर्तमान शिक्षित तथा विभिन्न ओहोदामा पुगेका महिलाले अनुहार त पूरै छोप्दैनन् तर टाउको चाहिं छोपेर अगाडि उभिने, बस्ने, काम गर्ने गर्दछन् । यस सामाजिक सभ्यतालाई पालन गर्ने आइमाई र पालन नगर्ने आइमाईप्रतिको सामाजिक दृष्टिकोणमा अझै केही भिन्नता छ । गाउँबाहिरका र गाउँभित्रका महिलालाई हेर्ने सामाजिक दृष्टिकोणका तात्क्षणिक व्यवहारमध्ये घुम्टो प्रथा पनि एक हो ।
    मधेसी संस्कृतिको एउटा पाटोको मान्यता पाइसकेको र मधेसी लोकजीवनमा सभ्यता तथा संस्कृतिको परिचायक बनेको घुम्टोले सभ्यता, संस्कृति र सम्मानमा पनि ठूलो भूमिका खेलेको छ । मधेसी संस्कृति बुझेका र मधेसी संस्कृतिप्रति प्रतिबद्ध अगुवा महिलाहरूले घुम्टोलाई आप्mनो,  समाजको र संस्कृतिको पहिचानको रूपमा पनि लिने गरेका छन् । मधेसी महिलाको पहिरनमा विशिष्टता ल्याउने एउटा कारकको रूपमा रहेको घुम्टो पहिरन संस्कृतिको सभ्य अङ्ग हो, र ...
    महिलाले टाउको छोप्नु र अनुहार छोप्नुलाई कतिपयले मानव अधिकारको उल्लङ्घन पनि भन्दछन् तर आजभोलि कोरोना भाइरसको डरले टेलिभिजनहरूमा नाक–मुख छोप्नेहरू बढी देखिएको सन्दर्भलाई मानव अधिकारसित जोड्न सक्दैनन् किनभने यो विशेष अवस्था हो । स्वेच्छाले आप्mनो वस्त्र लाउन सक्छन् तर समाजमा असभ्यता प्रकट नगर्ने गरी भन्ने मान्यता छ । घुम्टोले असभ्यता त प्रकट गरेकै छैन, मर्यादाकै बरु परिपालना गरेको छ । आप्mनो इच्छाले संस्कृति मान्नुलाई कुनै किसिमको आरोप लगाउनु हुँदैन, यदि विज्ञानसम्मत छ र अरूलाई कुनै नोक्सानी पु¥याउँदैन भने ।
    घुम्टोभित्र लुकेको भौगोलिक परिवेशको विज्ञानलाई अझ पनि धेरैले बुझ्न बाँकी छ भन्ने लागेको छ । घुम्टोलाई तिरस्कार गर्नु हतार होला !

Friday, February 28, 2020

कानू जाति र गणिनाथको सम्बन्ध

कानू जाति र गणिनाथको सम्बन्ध

सञ्जय साह मित्र


    कानू जातिको इतिहास शताब्दीयौं शताब्दी पुरानो छ । महाभारतकालभन्दा पनि पुरानो जातिको रूपमा कानूलाई मानिएको छ तर कतिपय कुरा चाहिं विवादास्पद पनि आएका छन् । कतिपयले कानू जातिको कुलदेवता गणिनाथ चाहिं नै कानू जातिको उत्पत्तिकर्ता भएको तर्क निकाल्छन् भने कतिपयले चाहिं गणिनाथको उत्पत्ति हुनुभन्दा पहिलेदेखि नै कानू जातिको अस्तित्व रहेको तथ्य दिन्छन् ।
    गणिनाथलाई नाथ सम्प्रदायको एक उपासक पनि मानिएको पाइन्छ । नाथ सम्प्रदायमा गोरखनाथ पनि पर्छन् ।
    गणिनाथको विषयमा जानकारहरू गणिनाथलाई भगवान् शङ्कर वा माता पार्वतीको मानसपुत्र मान्दछन् । मानसपुत्र गणिनाथको अवतरण केही सीमित अवधिको लागि भएको थियो र उनको पालनपोषण मनसाराम साहको घरमा भएको थियो । मनसाराम साह कानू थिए (कानू भनेर विभिन्न स्थानमा विभिन्न नामले बोलाइने कानू, कान्दू, हलुवाइ आदि हुन् किनभने सबै एकै हुन् भन्ने मान्यता राख्नेहरू पनि छन्) । गणिनाथलाई कतिपयले सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा कुनै एक जातिको बताउने काम पनि गरिरहेका छन् । वास्तवमा गणिनाथको अवतरणलाई हेर्ने हो भने उनी कुनै जातिको भन्दा पनि उनको पालनपोषण कानू जातिको घरमा भएको थियो । गणिनाथलाई कुनै जातिको दायरामा सीमित राख्नु सीमित राख्ने खोज्नेको अज्ञानता हो भनी धेरैको मत छ ।
    साधुसन्त कुनै जाति, वर्ग वा समुदायको दायरामा हुँदैनन् भन्ने सामाजिक मान्यता रहेको छ । साधुसन्तको जीवन मानवकल्याणको लागि हुन्छ । अझ सबै जीवको रक्षाको लागि हुन्छ । गणिनाथको हकमा पनि यही लागू हुन्छ । आज पनि उनलाई धेरै जाति, वर्ग तथा घरमा श्रद्धापूर्वक पूजा गरिन्छ । यो निर्विवाद सत्य छ कि गणिनाथको अवतरणपूर्व पनि कानू (कान्दू, हलुवाइ) जातिको अस्तित्व थियो किनभने गणिनाथको अवतरणपूर्व मनसाराम साह र उनकी धर्मपत्नी पुण्यमतिको अस्तित्व जातिगत (कानू, कान्दू, हलवाइ) रहेको पाइन्छ । गणिनाथको विवाह खेमासती या क्षमासतीसित भएको थियो । ती महिला आपैंmमा विदूषी थिइन् । केही विद्वान्हरूको मान्यता तथा केही किंवदन्तीहरूमा क्षमासतीलाई मनसाराम साहकी पुत्री या धर्मपुत्री थिइन् । अर्को मान्यता यो पनि छ कि पाटलीपुत्रका नगरसेठ झोटिल साहकी छोरी थिइन्, जबकि लोकगीतहरू तथा प्रचलित किंवदन्तीहरू अनुसार गणिनाथका दुई छोराहरू रामचन्द्र राय तथा श्रीधर रायको विवाह नगरसेठ झोटिल साहकी दुई पुत्रीसित भएको थियो । दुवैजनाको नाम बिजुली बहुरिया र चतुरी बहुरिया भएको उल्लेख पाइन्छ ।
    आधुनिक इतिहासकारहरूका अनुसार गणिनाथको जीवनकालको समय १३औं वा १४औं शताब्दीको हुनुपर्छ । यस समयको हुनुपर्ने कारणमा तर्क के रहेको मानिएको छ भने सम्भवतः यसै समयमा मुस्लिमहरूको आगमन भारतमा भएको मानिन्छ । गणिनाथको जीवनकालमा लाल खान एक महŒवपूर्ण व्यक्ति हुन् । १३औं १४औं शताब्दीभन्दा पहिले भारतमा मुस्लिम राजा वा जमीनदार थिएनन् कि ? केही अन्य विद्वान्हरूले धर्मपुर पलवैया पालवंशीय महाराजा धर्मपालले गणिनाथलाई जागीर दिएका थिए । यहाँ एउटा यो पनि तर्क छ, धर्मपालको नामबाट आज पनि धर्मपुर र धर्मपालका पिता गोपालको नामबाट आज पनि गोपालपुर पलवैयाकै नजीक अवस्थित छ तर धर्मपाल ७७०–८१५तिर पालवंशका प्रमुख संस्थापक तथा शासक थिए । उनको राज्यको विस्तार पूर्वमा बङ्गालको खाडीदेखि पश्चिममा जालन्धरसम्म, उत्तरमा हिमालय पर्वतदेखि दक्षिणमा विन्ध्य पर्वतसम्म भएको उल्लेख पाइन्छ । अधिकांश पाल राजा बौद्ध धर्मका अनुयायी थिए । यदि पालवंशको शासनकाललाई गणिनाथसँग जोडिने लाल खाँको सन्दर्भ संशयपूर्ण हुन आउँछ र यसको आधारमा स्वयम् गणिनाथको पनि । वा लाल खाँ मुस्लिम समुदायको नभएको हो कि भन्ने अर्को शङ्कास्पद तर्कले ठाउँ लिन खोज्छ । १४औं शताब्दीको अन्त्यसम्म तिरहुतसमेत उत्तर बिहार तथा जौनपुर मुस्लिम शासकको हातमा गइसकेको थियो । ज्ञातव्य छ– तिरहुत राज्यमाथि सन् १३२४ मा दिल्लीका बादशाह ग्यासुद्दीन तुगलकले आक्रमण गरी आप्mनो आधिपत्य जमाएका थिए ।
    कानू, कान्दू, हलुवाइ जातिको बाक्लो बस्ती जौनपुरदेखि गङ्गा किनारको विभिन्न स्थानमा अहिले पनि रहेको छ । यो त्यही क्षेत्र हो, जहाँ गणिनाथको प्रभाव अधिक रहँदै आएको छ । त्यस समय जलमार्गको प्रधानता थियो । सिकन्दर लोधीले जौनपुरका राजालाई हराएर आप्mनो शासन स्थापित गरेका थिए । बाबर सन् १५७२–७४ मा बङ्गाल विद्रोह दबाउने प्रयासमा लागे । डा. सरोज प्रधानको एउटा पुस्तकमा पलवैया मन्दिरको ढोकामा मुगलकालीन अन्तिम शासकको जजिया करको सम्बन्धमा पत्र प्राप्त भएको वर्णन गरिएको पाइन्छ । अतः यो शोधको विषय बनेको छ तर गणिनाथको जीवनकाल १३औं १४औं शताब्दीभन्दा पछिकै बुझिन्छ । गणिनाथ र गोविन्दजीलाई लोकदेवताको रूपमा तथा उनका परिवारले गुरु परम्परालाई निर्वाह गरेको पाइन्छ । आज पनि धेरै घरमा सती–बंद्धिको पूजा, बोधाबाबाको पूजा गरिन्छ । यहाँ भनिएको सती अरू कोही नभएर खेमासती नै भएको पनि मानिन्छ । गणिनाथले आप्mनो परिवार    (पौत्र नीलकण्ठ रायबाहेक)सहित समाधिस्थ भएर महाप्राणको यात्रा गरे । आज पनि पलवैयामा गणिनाथको वंशका मानिसहरू (वंशावली सदस्य) रहेका छन् । उनीहरूलाई भगत वा पण्डा भन्ने गरिएको छ । उनीहरू वर्षभरि कुलगुरु     (गणिनाथ)लाई मान्नेहरूकहाँ भ्रमण गर्छन्, पूजा गर्छन्, प्रचारप्रसार गर्छन् ।
    विभिन्न स्रोतबाट लिइएका यी सामग्रीहरूबारे धारणाहरू आउनु जरुरी छ । गणिनाथको जीवनीबारे धेरै कुराहरू प्रकाशमा आइसकेका छन् । यहाँ मुख्य दुई कुरामा प्रकाश पारिएको छ– एक, गणिनाथभन्दा कानू जाति अझ पहिलेको हो र अर्को गणिनाथको प्रादुर्भावकाल । यी दुई पक्षमा भएका मतान्तरहरू पनि सभ्य र शिष्ट भाषामा यसै पत्रिकामार्पmत् जानकारीको अपेक्षासमेत रहेको छ ।

Saturday, February 15, 2020

के छ पतौराको पुरातात्विक वास्तविकता ?

के छ पतौराको पुरातात्विक वास्तविकता ?

सञ्जय साह मित्र

    ऐतिहासिक तथ्य र प्रमाणहरूले स्पष्ट केही पनि भन्दैनन् तर पतौराको भग्नावशेषले स्पष्ट नभन्ने सबैलाई चुनौती दिइरहेको छ ।
    नजीकै सिम्रौनगढ रिसाइरहेको छ । सिम्रौनगढले यस क्षेत्रकै इतिहास खोलेको छ । अलि परको ईशनाथ महादेव मन्दिरले पनि इतिहास बोलेकै छ । तर मौलापुर नगरपालिकाको पतौराबारे सबैतिर किन मौनता ?
    इतिहासले भन्छ – इस्वी सन् १०९७ मा डोय राज्यको स्थापना भएको थियो । दक्षिण भारतको कर्नाट देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई डोय राज्य स्थापना गरेका थिए । नान्यदेव दक्षिण भारतका चालुक्य शासकका सेनापति थिए । सेनापति नान्यदेवले डोय राज्यको स्थापना गरेका थिए । डोय राज्यमा नान्यदेवपछि गङ्गदेव, गङ्गदेवपछि नरसिंहदेव, रामसिंह देव, शक्तिसिंह देव, भूपालसिंह देव तथा हरिसिंह देवले शासन गरेको इतिहास छ । दिल्लीका बादशाह गयासुद्दीन तुगलकले डोय राज्यमा आक्रमण गरी ध्वस्त पारेपछि डोय राज्यका सातौं राजा हरिसिंह देव आप्mनो राज्य छाडी भागेका थिए । हरिसिंह देवले शासन छोडी भागेपछि तुगलकले कामेश्वर ठक्कुरलाई शासक नियुक्त गरेका थिए । त्यसपछि ठक्कुर वंशको पनि शासन चलेको पाइन्छ ।
    तुगलकले आक्रमण गरेको वर्ष भने सन् १३२४ हो । सामान्य ऐतिहासिक विश्वास के छ भने तुगलकको आक्रमणबाट सिम्रौनगढको भौतिक संरचना तहसनहस भएको थियो । सिम्रौनगढको समृद्धि खलबलिएको थियो र सिम्रौनगढ उजाड भएको थियो । सिम्रौनगढ समग्रमा ध्वस्त भएको थियो भन्ने मान्यता स्थापित भइसकेको छ ।
    सिम्रौनगढमा राजधानी त्यत्तिकै स्थापना भएको थिएन होला । त्यहाँको भौतिक संरचना वा कूटनैतिक महŒव वा सामरिक महŒव त्यस जमानामा केही थियो र त त्यहाँ राजधानी बनाइएको थियो । तुगलकको आक्रमणपछि सिम्रौनगढ पूर्णरूपमा ध्वस्त नै हुन पुगेको थियो भन्ने कुरा ठक्कुरले पुनः राज्यको शासन तुगलकबाट लिएकोबाट देखिन्छ । यहाँनेरको अँध्यारोले पनि केही बोल्नुपर्ने हो ।
    डोय राज्य स्थापना भएको वर्षलाई विक्रम संवत्मा ११५४ मानिएको छ । डोय राज्यको स्थापना हुनुभन्दा करीब चार दशक पहिले वि.सं.११४ मा औरैयामा ईशनाथ महादेवको स्थापना भएको ऐतिहासिक तथ्य रहेको छ । जसरी सिमरावनबाट सिमरौनगढ वा सिम्रौनगढ भयो त्यस्तै अमलाको वन भएको ठाउँ औरावनबाट औरैया हुन गएको हो । बकैया नदीको पश्चिमी किनारमा स्थापना भएको महादेव मन्दिरसँग सम्बन्धित अनेक किंवदन्तीहरू त्यस आसपासमा अद्यापि प्रचलनमा छन् । ईशनाथ महादेवको पुरानो मन्दिरको भग्नावशेष अझै पनि देख्न सकिन्छ ।
    सिम्रौनगढ स्थापना भएको समयभन्दा केही दशकपहिले स्थापना भएको मन्दिर अहिले पनि अस्तित्वमा छ र सिम्रौनगढको संरचना चाहिं ध्वस्त भएको छ । अझ स्पष्ट भन्ने हो भने पुराताŒिवक महŒवका दुवै स्थानको स्थापनाको इतिहास देखिन्छ,् तर पतौरा महादेवबारे सबैतिर मौनता किन ?
    एकजना जानकारको अभिमत कस्तो छ भने डोय राज्य ध्वस्त भएको केही समयपछि पतौरामा महादेव मन्दिरको स्थापना भएको हो र यहाँ केही शताब्दीसम्म पूजा चलेको हो र पृथ्वीनारायण शाहको समयमा पतौरा मन्दिरलाई ध्वस्त पारिएको हो । पतौरा मन्दिरलाई पृथ्वीनारायण साहका मान्छेहरूले किन ध्वस्त पारे ? ती जानकारको अभिमत छ– पतौरा र आसपासका बासिन्दा पृथ्वीनारायण शाहका पक्षमा थिएनन् रे । यहाँका बासिन्दा सेनवंशका समर्थक थिए रे । पृथ्वीनारायण शाहले मकवानपुर आप्mनो राज्यमा मिलाएपछि यहाँका बासिन्दाले पृथ्वीनारायण शाहलाई राजा स्वीकार गरेका थिएनन् । राजा नस्विकारेको कारणले उनको सेनाले यस क्षेत्रमा आक्रमण गरे र मन्दिरमा लुकेका स्थानीयलाई लखेट्ने क्रममा मन्दिर नै ध्वस्त पारे रे । मन्दिर ध्वस्त भयो र यो क्षेत्र पूरै मानवविहीन बन्न पुग्यो । कालान्तरमा फेरि बस्ती बस्न पुगी करीब दुई वर्ष पहिले मन्दिरको अवशेष फेला परेको हो ।
    यस तर्कलाई विभिन्न किसिमले विश्लेषण गर्दा तथ्य अर्कै हुनुपर्ने सङ्केत प्राप्त हुन्छ । पतौराको पुराताŒिवक उत्खनन भएको छ र उत्खननले प्रारम्भिकरूपमा के देखाएको छ भने यो मन्दिर कर्नाटकालीन हो । कर्नाटकालीन भन्नु चाहिँ डोयकालीन भन्नु नै हो । पृथ्वीनारायण शाहको समय भनेको त्यस्तै साढे दुई सय वर्ष पुरानो हो । धरतीभन्दा करीब बाइस फिट गहिरोसम्म मन्दिरको संरचना भेटिएको छ । यति गहिरोसम्म सिम्रौनगढमा मन्दिर वा पुराताŒिवक संरचना भेटिएको कसैलाई थाहा छैन । यदि हो भने तथ्य बाहिर आउला तर साढे दुई सय वर्षमा नै कुनै संरचना बाइस फिट गहिरो भासिन सक्ला र ? पतौरा र यस आसपासको बस्ती नै साढे दुई सय वर्षभन्दा पुरानो छैन भन्ने पनि स्पष्ट पार्दछ । तर वास्तविकता यो होइन । वास्तवमा पतौरा भन्ने बस्ती साढे दुई सय वर्षभन्दा पनि कैयौं शताब्दी पुरानो हो भन्नेमा शङ्का छैन।
    जब लोकमानसमा सिम्रौनगढ ध्वस्त भएको कुरा इतिहासको पुस्तकमा लेखिएको भन्दा पुरानो भनी व्याप्त छ, जुन सन् १३२४ को घटना हो । सिम्रौनगढ ध्वस्त भएको करीब सात सय वर्ष हुन लागेको छ तर जम्मा साढे दुई सय वर्ष पहिले ध्वस्त भएको पतौरा महादेवको मन्दिरबारे न कुनै किंवदन्ती प्रचलनमा छ, न लोकमानसमा यसको इतिहासको कुनै अवशेष नै छ । यसले के स्पष्ट हुन आउँछ भने पतौरा मन्दिरको इतिहास अन्य क्षेत्रको इतिहासभन्दा अझ पुरानो छ ।
    मन्दिरको आसपासको जग्गाजमीन र केही घरहरू माली जातिको रहेको पाइएको छ । करीब दुई दशक पहिले मन्दिरको संरचना भेटिएको र पुराताŒिवक उत्खननले हजारौँ वर्ष पहिलेको भएको सम्भावना व्यक्त गरिरहेको वर्तमानमा यसको पुराताŒिवक वास्तविकता अझ बाहिर आउन बाँकी नै छ । यहाँको मूर्तिकला, ईंटाको संरचना तथा अन्य तथ्यहरूले यहाँ कुनै प्राचीन सभ्य र भव्य बस्ती रहेकोतर्फ सङ्केत गर्दछ । कुनै प्राचीन बस्तीको विलुप्त अवशेष फेला पर्न सक्ने सम्भावनाले नयाँ किसिमले मानव सभ्यताको अध्ययनको ढोका पो खोल्ने हो कि ? यस विषयमा पुरातŒव विभागले नयाँ तथ्य सार्वजनिक गर्ला । सर्वसाधारण जान्न अत्यन्त उत्सुक छन्– आखिर के छ पतौराको पुराताŒिवक वास्तविकता ?

Friday, February 7, 2020

मधेसको आधुनिक नेपाली गजल

मधेसको आधुनिक नेपाली गजल

सञ्जय साह मित्र
    यहाँ मधेसलाई सङ्कुचित अर्थमा लिइएको छ । यस आलेखमा मधेस भन्नाले प्रदेश २ लाई सम्बोधन गरिएको हो ।
    नेपाली भाषा र साहित्यको सेवा मधेसले निकै सजगतापूर्वक गर्दै आएको छ । समग्र देशमैं मोफसलबाट पहिलो पत्रिका निकाल्ने यहींको वीरगंज हो । त्यो सम्भवतः साहित्यिक पत्रिका थियो । तर अहिले वीरगंज साहित्यिक पत्रिकाविहीन छ ।
    यस प्रदेशमा नेपाली साहित्यको सबै विधाले फल्ने–फुल्ने मौका पाएको छ । समग्र नेपाली साहित्यको विशिष्ट सेवा गरेको छ । अनेक मापनहरूले यसलाई पुष्टि गरेका छन् । यस प्रदेशको साहित्य सिर्जना स्तरीय छ र त नेपाली मानक साहित्यिक पत्रिका, साहित्यकार तथा भाषासेवामा यो प्रदेशले अग्रणी भूमिका खेल्दै आएको छ । ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ – प्रज्ञा आधुनिक नेपाली गजल कृतिलाई ।
    नेपाल प्रज्ञा प्रतिष्ठानले हालै यो कृति प्रकाशन गरेको छ । यस कृतिका दुई सम्पादक छन् – डा. घनश्याम न्यौपाने परिश्रमी र गोपाल अश्क । डा. परिश्रमी वीरगंजमा नौ वर्ष बसेर प्राध्यापनसँगै साहित्य सेवा गर्ने व्यक्तित्व हुन् भने अश्क वीरगंजकै हुन् अर्थात् यस कृतिको सम्पादन यस प्रदेशले गर्ने मौका पाएको हो भनी दाबी गर्दा हुने देखिन्छ ।
    प्रज्ञा प्रतिष्ठानले आधुनिक नेपाली गजल भनेर प्रकाशन गरेको यस कृतिको आरम्भमा गजलको परिचय र आधुनिक नेपाली गजलका प्रवृत्ति दिइएको छ । यस अन्तर्गत गजलको वण्र्य विषय, गजलको उद्भव र विस्तार, गजल संरचनाका मूल तŒव, नेपाली गजलको परम्परा, आधुनिक नेपाली गजल र निष्कर्ष प्रस्तुत गरिएको छ । कृतिको दोस्रो परिच्छेदमा आधुनिक नेपाली गजलहरू प्रस्तुत गरिएका छन् । कृतिभित्र हरेक रचनाकारका दुई गजल राखिएका छन् । कृतिमा एक सय असीजनाको गजल समेटिएको छ । कृतिभित्र मधेसका दर्जनौं गजलकारका रचना सङ्कलित छन् ।
    नेपाली वर्णानुक्रमानुसार गजलहरू प्रस्तुत गरिएका छन् । यस कृतिमा समाविष्ट मधेसका गजलकारहरूमध्ये सबैभन्दा पहिले अमर त्यागी, त्यसपछि किसान प्रेमीको गजल परेका छन् । यसपछि कृष्ण कुसुम अनि कृष्ण दाहालका गजल छन् । कृतिका दुई सम्पादकमध्ये एक गोपाल अश्कको गजल पनि रहेको छ । गजलको शास्त्रीय मान्यतानुरूप लेखिएको अश्कको प्रस्तुत गजलको आरम्भ यस्तो छ –
झरेको पात हुँ मेरो कहानी के सुनाउँ
बितेको रात हुँ मेरो कहानी के सुनाउँ पृ.१०९)
    आधुनिक नेपाली गजलमा जुनू क्षेत्रीको गजल छ । धीरेन्द्र प्रेमर्षि तथा चर्चित युवा गजलकार नारायण निराशीको गजल परेको छ । कृतिमा बागियान शर्मा र भक्ति रिजाल आजादको गजल रहेको छ । कृतिमा भीम विरागको गजल पनि परेको छ । मनु ब्राजाकीको गजलको यो टुक्रा यस्तो छ –
जाँड खाने देवता छन् हाम्रा धेरै भन्ने ठानी
पूजा गर्न आफ्नो फोटो तखतामा राख्दो रहेछु । (पृ.२५९)
    दशकौंसम्म रौतहटमा रही भाषा र साहित्यको सेवा गरेका रमेश समर्थन अहिले रूपन्देही जिल्लाको सेवामा तल्लीन छन् । समर्थनको गजल पनि यस कृतिमा सङ्गृहित छ । आशावादी विचार अभिव्यक्त गर्ने गजलमा समर्थन भन्छन्–
पर्खी बसें फर्की दिन आउँछ कि भनी
कोइलीले नयाँ गीत गाउँछ कि भनी ।
(पृ.२७७)
    रामप्रसाद साहको गजल यसमा समेटिएको छ । यसमा लीलाराज दाहालको गजल पनि छ । यस कृतिका सम्पादक डा. परिश्रमीको गजल यसमा समेटिएको छ । डा.परिश्रमीको गजल आप्mनो मूल प्रवृत्ति अनुरूप प्रगतिशील रहेको छ । उनका दुई गजलमध्ये पहिलो गजलको अग्रभाग यस्तो छ –
मजदुर हुँ एउटा म, बोझा उठाउँदै छु
बिक्री गरेर निद्रा, पसिना बगाउँदै छु ।
(पृ.१२१)
    नेपाली गजलको यस विशाल कृतिमा मधेसका स्तरीय गजलहरू समेटिएका छन् । यस कृतिमा परेका नेपाली गजलहरूको विषयवस्तुमा समाज, प्रेम, विश्वास, आशा र जीवनका विविध पक्ष रहेका छन् । गजलको शास्त्रीय मान्यता र आधुनिक चलन दुवै प्रकृतिलाई कृतिले आत्मसात् गरेको छ । साथै मधेसका गजलहरूले पनि यी दुवै प्रकृतिलाई पाठकसमक्ष प्रस्तुत गरेको छ ।
    आधुनिक नेपाली गजलको अध्ययन तथा आस्वादन गर्न चाहने हरेकको लागि प्रज्ञा आधुनिक नेपाली गजल एउटा महŒवपूर्ण प्राप्ति रहेको छ । मधेसमा रहेका नेपाली साहित्यको पाठकका लागि यो कृति सङ्ग्रहणीय छ ।

Friday, January 31, 2020

आठ जिल्लामा गजलकारहरूको खोजी

आठ जिल्लामा गजलकारहरूको खोजी

सञ्जय साह मित्र
    नेपालका सात प्रदेशमध्ये प्रदेश नम्बर २ मा धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सप्तरी, सर्लाही र सिराहा जिल्ला रहेका छन् । यस प्रदेशका प्रमुख तीन भाषामा बज्जिका, भोजपुरी र मैथिली छन् । देशकै प्रमुख भाषा नेपाली यस प्रदेशको प्रमुख तीन भाषामा परेको छैन तर पनि नेपाली भाषाको साहित्य समृद्ध छ । नेपाली भाषाका साहित्यमध्ये गजलको विशिष्ट स्थान रहेको छ । आठ जिल्ला अर्थात् प्रदेश २ मा गजलकारहरूको पनि खोजी हुनुपर्दछ । यसैको प्रयासस्वरूप यो आलेख तयार पारिएको हो ।
    गजलकार अमर त्यागी (बारा)को ‘बाँसुरीमा आँसुको गीत’ गजलकृति प्रकाशित छ । अर्जुन थापा, कमल नेपाल, कवि सुवेदी, कृष्ण दाहाल, कुमार दाहाल, चण्डिका मैनाली, पवन कार्की, प्रमिला पोखरेल, मनीषा भट्टराई, मिलन कोइराला, वसन्त पौडेल, विवश पौडेल, लीलाराज दाहाल र सुमित्रा आचार्य (सर्लाही)को ‘अध्याय संयुक्त’ गजलकृति प्रकाशित छ । खेमप्रसाद बोलखे (रौतहट)को ‘उद्वेग’ कृति प्रकाशित छ । यसैगरी, गोपाल अश्क (पर्सा)को ‘जीवनको लेक र बेंसी’ गजलसङ्ग्रह तथा प्रेमान्तर गजल महाकाव्य प्रकाशित छ । धीरेन्द्र प्रेमर्षि (धनुषा)को ‘सलाम’ प्रकाशित छ । यसैगरी, धु्रवराज गिरी र रमेश अजिव रश्मि (महोत्तरी)को संयुक्त गजलकृति ‘एक अँगालो सपना’ प्रकाशित छ । नारायण निराशी (सर्लाही)को ‘तुषारोमा फुलेका पूmलहरू’ प्रकाशित छ । प्रकाश तिमल्सिना (रौतहट)को ‘केही पूmल केही काँडा’, भक्ति रिजाल (सर्लाही)को ‘बगान’ र भीम विराग (पर्सा)को ‘भीम विरागका गीत–गजल’ कृति प्रकाशित छन् । यसैगरी, महोत्तरीका मनु ब्राजाकीका ‘गजलगङ्गा’, ‘काँडाका पूmलहरू’ र ‘के हेरेको ए जिन्दगी’ गरी तीन गजलकृति प्रकाशित छन् । रमेश समर्थन (रौतहट)को ‘पर्खी बसें’, रामप्रसाद साह (बारा)को ‘अश्रुपुरित आँखा’, वागियान शर्मा (बारा)को ‘चुपचाप चुपचाप’ र सुरेश वाग्ले (सर्लाही)को पनि एउटा गजलकृति प्रकाशित भएको छ ।
    पुस्तकाकार कृति प्रकाशन गर्ने कृतिकारको सङ्ख्या धेरै नदेखिए पनि कृति सङ्ख्याको आधारले प्रदेश २ को अवस्था सन्तोषजनक रहेको छ । पुस्तकाकार कृति प्रकाशन गर्नेहरूमध्ये अधिकांश अहिले पनि गजलसिर्जनामा सक्रिय छन् । कृतिकारबाहेक सयौं गजलकारहरू सिर्जनामा तल्लीन छन् । साहित्यिक तथा गैरसाहित्यिक पत्रिकामा निरन्तर गजल प्रकाशन गर्ने सर्जकहरूले गर्दा प्रदेश २ मा गजलले उच्च सम्मान पाएको देखिन्छ ।
    प्रदेश राजधानी जनकपुर र धनुषामा तोयानाथ घिमिरे, दिनेश पौडेल ‘गरीब’, दिल पौडेल, राजाराम सिंह, रामभरोस कापडी ‘भ्रमर’, नीला घिमिरे, श्यामसुन्दर शशीलगायतले गजल सिर्जनकर्मलाई अगाडि बढाएको पाइन्छ ।
    पर्सामा रहँदा नेपाली गजलको ठूलो सेवा गरेका डा घनश्याम न्यौपाने ‘परिश्रमी’बाट प्रेरित भएर दर्जनौंले गजल सिर्जनाको अभ्यास पनि गरेका थिए । डा परिश्रमीको योगदानलाई प्रदेश २ ले बिर्सन सक्दैन । डा रामभक्त ठाकुर, लक्ष्मी श्रेष्ठ (दिवङ्गत), डा विश्वम्भर शर्मा पर्साका राम्रा गजलकार हुन् । डा शर्माले भोजपुरी गजलको विश्लेषणात्मक अध्ययन पनि गरेका छन् ।
    बारामा गजल साहित्यले निकै माया पाएको छ । अच्युत खनाल, इशहाक हुसैन, जुनु क्षेत्री, नवराज रिजाल, प्रगति गुप्ता, पृथ्वीराज पाण्डे, भोला चौलागाईं, राम खनाल, राम पराजुली, शिव सन्देशले गजलमा आआप्mनो पसिना बगाएका छन् ।
    महोत्तरीमा किशोर अधिकारी, केदार गौतम, जीवनस्पर्शी, तोयानाथ घिमिरे, दीपचन्द्र मण्डल, निर्मल पौडेल, मीना आले, यशोदा श्रेष्ठ, रामगोपाल यादव, सुभद्रा भुजेललगायतका गजलकारहरू सक्रिय छन् । महोत्तरीले स्थानीय पत्रिकामा गजललाई पर्याप्त स्थान दिएको देखिन्छ ।
    धेरैपटक गजलको प्रशिक्षण सञ्चालन गरिसकेको रौतहटमा दीपक खड्का, रमेशमोहन अधिकारी, रामउदित आचार्य, रेणु गुप्ता, रेणुका जिसी खतिवडा, लक्ष्मण आचार्य, विक्रान्त शर्मा, सञ्जय मित्र, समीर पाण्डे, सुमी कोइराला, सोनु थापा, सौगात विश्वकर्माबाट नेपाली गजलले माया पाएका छन् । मदन आले तथा शीतल गिरीले पनि रौतहटेली गजलको सेवा गरेका छन् ।
    कृति प्रकाशन भएको नपाइए पनि सप्तरीमा गजललेखनले महŒव पाएको छ । यहाँका दर्जनौं सर्जकहरू गजल लेखिरहेका छन् । अशोक अमन, करुणा झा, डा केशव उपाध्याय, कुन्दनकुमार कर्ण, गजेन्द्र गजुर, देवकरण माझी, देवेन्द्र मिश्र, देवेन्द्र साह, धमला भट्टराई, नन्दलाल आचार्य, पार्वती राउत, पूनम ठाकुर, मनोहर पोखरेल, रवेन्द्र रवि, रामप्रसाद गौतम, ललिता साह ‘प्रतिज्ञा’, विद्यानन्द वेदर्दी, श्यामप्रीत मण्डल, शम्भुश्री, सागरवीर कडारी, साधना झालगायतकाले नेपाली गजलको सेवा गरेका छन् ।
    सर्लाही चाहिं गजलको उर्वरभूमि हो । पन्ध्रजनाको संयुक्त गजलकृति प्रकाशन गर्ने सर्लाहीमा एकल गजलकृति प्रकाशन हुन नसके पनि जीवन आचार्य, रामदरश यादव, रामनारायण चौधरी, डा वसी मिकरानी, सञ्जय सुदामा, सुमन घिमिरेले स्तरीय गजल लेखेका छन् । विवश पौडेलले सर्लाहीका गजलहरूको प्रवृत्तिगत अध्ययन पनि गरेका छन् ।
    सिराहाको गजलको बारेमा खासै जानकारी प्रकाशमा आउन सकेन । रोहित न्यौपाने राम्रा गजलकार हुन् । अर्जुन गुप्ता, गायत्री सिंह, यमुना खनाल, रामरिझन यादवलगायतकाले पनि गजल लेखेका छन् ।
    प्रदेश २ का सक्रिय गजलकारहरूको नाम समेट्न खोज्दाखोज्दै पनि छुटेका हुन सक्छन् । कृतिको सङ्ख्या केही कमजस्तो बुझिए पनि प्रदेश २ ले नेपाली गजललाई स्थापित गराउन इतिहासमैं ठूलो भूमिका खेलेको छ भने वर्तमानमा पनि गजल प्रवाहमा सयौं नवसर्जकहरूले आपूmलाई अभ्यस्त बनाइरहेका देखिन्छन् ।
    गजल विधालाई नेपाली साहित्यमा स्थापित वा पुनस्र्थापित गराउने तीन नु (घनु, मनु, ज्ञानु)मध्ये दुईजनाको सान्निध्य प्रदेश २ ले पाउनु आपैंmमा गर्वोपलब्धि हो । डा घनश्याम परिश्रमी पर्सामा लामो समय बसेर गलजसाधना गरेका थिए । परिश्रमीलाई गजलमा विद्यावारिधि दिलाउन प्रदेश २ को अहम् भूमिका छ । मनु ब्राजाकी महोत्तरीकै हुन् ।
    नेपालमैं गजलको पहिलो औपचारिक गोष्ठी गर्ने श्रेय प्रदेश २ लाई छ । शीतल गिरीको संयोजनमा रौतहट (गौर)मा २०५७ मा पहिलो औपचारिक गजल गोष्ठी आयोजन भएको थियो ।
    नेपाली गजललाई पहिलो र सम्भवतः एकमात्र महाकाव्य दिने प्रदेश २ नै हो । पर्साका गोपाल अश्कको कृति (प्रेमान्तर) पहिलो गजल महाकाव्य हो । यस कृतिलाई त्रिभुवन विश्वविद्यालयले मानविकी तथा समाजशास्त्रतर्पm स्नातक तहमा राखेको छ । पर्सामा रामप्रसाद पाण्डेले नारायणी अञ्चलका प्रतिनिधि गजलकारका गजलको विश्लेषणात्मक अध्ययन गरेका छन् । बाराबाट अमर त्यागी र नवराज रिजालले मूच्र्छना गजलप्रधान त्रैमासिक पत्रिकाकै प्रकाशन गरेका थिए । जुन सम्भवतः १७ अङ्कसम्म प्रकाशन भएको थियो । हाल यसको प्रकाशन स्थगन भएको छ । पर्साबाट प्रकाशित (हाल स्थगित) सगर साहित्यिक त्रैमासिकले गजल विशेषाङ्क निकालेको थियो । अन्य पत्रपत्रिकाहरूले पनि गजल विशेषाङ्क निकालेका छन्।
    प्रदेश २ मा अन्य धेरै गजलकार सक्रिय हुन सक्छन् । सम्भव भएसम्म खोजी गरिनुपर्छ र खोजी गर्नेलाई सहयोग पनि गर्नुपर्दछ ।
स्रोत ः गोपाल अश्क (पर्सा), नवराज रिजाल (बारा), रेणुका जिसी खतिवडा (रौतहट) लीलाराज दाहाल (सर्लाही), सुमन गौतम (सर्लाही), रमेश अजीव रश्मि (महोत्तरी), राजेश्वर नेपाली (धनुषा), उपेन्द्र भगत नागवंशी (धनुषा), अर्जुन गुप्ता  (सिराहा), रोहित न्यौपाने (सिराहा), ललिता साह (सप्तरी), विद्यानन्द वेदर्दी (सप्तरी) र विभिन्न पत्रपत्रिका ।

Friday, January 17, 2020

जङ्गबहादुर राणासित रौतहटको पर्यटन

जङ्गबहादुर राणासित रौतहटको पर्यटन

सञ्जय साह मित्र
    नेपालको इतिहासमा जङ्गबहादुर राणाको आप्mनै महŒव र इतिहास रहेको छ । देशलाई एक सय चार वर्षे आप्mनो पारिवारिक शासनमा राख्न सफल जङ्गबहादुरको नाम देशको इतिहासले कदापि बिर्सन सक्दैन । आप्mनो युगको अत्यन्त शक्तिशाली शासकको रूपमा चिनिएका जङ्गबहादुर राणाबाटै राणाशासनको आरम्भ भएको थियो । कतिपय इतिहासकारले नेपालका प्रमुख तीन शासकमा पृथ्वीनारायण साह, भीमसेन थापा र जङ्गबहादुर राणालाई मान्ने गरेका छन् । देशको राजनीतिले निकै कोल्टो फेरिसकेको छ तर पनि जङ्गबहादुर राणालाई देशको राजनीतिले बेलाबेलामा सम्झिने गरेको छ ।
    अहिले नेपाल पर्यटन वर्षको समय छ र नेपालमा आन्तरिक तथा बाह्य दुवै किसिमका पर्यटकलाई देशको कुनाकुनामा पु¥याउन विभिन्न किसिमले प्रयास गरिंदैछ । यसैक्रममा रौतहटको पर्यटनमा जङ्गबहादुर राणाको करिडोरलाई समेट्न खोजिएको छ ।
    जङ्गबहादुर राणाको इतिहास धेरै पुरानो छैन । राणा प्रधानमन्त्रीको बारेमा धेरै कुरा ज्ञात छ । यसैले उनीसित सम्बन्धित धेरै कुरा अहिले पनि साक्ष्य छन् । उनै जङ्गबहादुर राणाको सम्बन्ध रौतहटसित रहेको छ । रौतहटसित उनको सम्बन्ध गहिरो रहेको छ र उनको आत्मीय र हार्दिक सम्बन्ध रहेको विभिन्न दृष्टान्तहरूले देखाएका छन् । उनले आप्mनो अन्तिम सास यहीको हावामा पिंmजाए र उनको शरीरलाई यहीको काठले भस्म बनायो, यहीको हावामा उनको शरीरको धूवाँलाई पचायो, उनको शरीरको अस्तु यहीको माटोमा मिल्यो ।
    तत्कालीन श्री ३ राणा बारम्बार रौतहट आउने, लामो समय रौतहट बस्ने, शिकार गर्ने र कतिपय अवस्थामा देश सञ्चालनका लागि आवश्यक निर्देश र आदेश जारी गर्ने गरेको उल्लेख पनि पाइन्छ । रौतहटको बसाइँमा उनीसित सम्बन्धित केही स्थानहरू अहिले रौतहटको पर्यटनको विकासका लागि सकारात्मक योगदान दिन सकिने सम्भावनाका क्षेत्र बनेका छन् ।
   
राणाशासनप्रति सम्पूर्णतः नकारात्मक दृष्टिकोण वर्तमान समाजले राखेको भएपनि जङ्गबहादुरले गर्मी महीनामा नुहाउने गरेको ठाउँलाई आज स्थानीयले जङ्गे झरना भनी नामकरण गरेका छन् । यो झरना सम्भवतः प्रदेशको सबैभन्दा ठूलो झरना पनि हो ।
    नेपाल भ्रमण वर्षको अवसरमा प्रदेशमा कतै झरना नै छैन कि भन्ने भ्रम रहेको बेला चन्द्रपुर नगरपालिकाको झरना अत्यन्त चित्ताकर्षक रहेको छ । चन्द्रपुर नगरपालिका अन्तर्गत पर्ने यो प्राकृतिक झरना पूर्व–पश्चिम राजमार्गभन्दा १२/१४ किलोमिटर उत्तरमा चुरे पहाडमा रहेको छ ।
    के मान्यता रहेको छ भने जङ्गबहादुर रौतहटको जङ्गलमा पुगेको समय यही झरनामा पुगेर नुहाउने गरेका थिए । जङ्गलमा ठूलो हात्तीमा घुम्ने गरेका जङ्गबहादुरले चढ्ने हात्ती बाँध्ने ठाउँ वा हात्तीसार पनि त्यहाँ नजीकै थियो र अवशेष अहिले पनि छ । पूर्णतया प्राकृतिक वातावरणमा नुहाएपछि जङ्गबहादुर राणा पौराईमा अवस्थित ब्रह्मस्थानमा पूजा गर्दथे ।
    दर्जनौं जिल्ला तथा भारतमा समेत प्रख्यात पौराईको ब्रह्मबाबाको बारेमा किंवदन्ती यो पनि छ कि यसको स्थापना जङ्गबहादुरले नै गरेका थिए । एक दिन शिकार खेल्नेक्रममा आप्mना सैनिकहरूबाट बिछोड भई एक्लै र एकान्त जङ्गलमा परेको बेला थकानले निदाएका जङ्गबहादुरले सपनामा देखेछन् कि बिहान नुहाएर यस ठाउँमा पूजा गरेपछि हराएका सबै सैनिकसित भेट हुनेछ । जङ्गबहादुरले त्यसै गरेछन् र भोलिपल्ट सपनामा देखेजस्तै सबै सेनासित भेट भएछ । पौराईको ब्रह्मस्थानको इतिहासको खोजी गर्दा अहिले पनि जानकारहरू जङ्गबहादुर राणासित यसको सम्बन्धलाई जोड्न पुग्छन् ।
    नेपाल भ्रमण वर्षमा रौतहटका पर्यटकीय गन्तव्यमा जङ्गे झरना र पौराईको ब्रह्मस्थानलाई पनि समेटिएको छ । पौराईको ब्रह्मस्थानको महŒव यसरी पनि बढेको देखिन्छ कि पौराईको ब्रह्मस्थान भनी अन्य ठाउँमा मन्दिर स्थापना गरिएको र पूजा गर्ने गरिएको पाइन्छ । बर्सेनि हजारौं मानिस पौराईमा पूजा गर्न पुग्छन् तर जङ्गे झरना भने बिरान बन्न पुगेको छ । पूजा भन्ने कुरो आस्थासित सम्बन्धित रहेकोले यसको विस्तार भएको हुनुपर्छ र विभिन्न कारणले जङ्गे झरना बिरानो बन्दै गएकोमा अहिले पर्यटन वर्षको अवसरमा जङ्गे झरनाले पनि प्रचारको अवसर पाएको छ । जङ्गे झरना बिरानो बन्न पाउँदैन र यसको प्रचार हुन थालेपछि यहाँ फेरि मानिसहरू पुग्न थालेका छन् ।
    जङ्गबहादुरले नुहाउने गरेको ठाउँ भएकोेले जङ्गे झरना भनिएको तथा पौराईको ब्रह्मस्थानलाई स्थापना गरेको, पूजा गरेको सन्दर्भसित जोडिएको हुनाले पर्यटनसँग जोडिएको छ । पर्यटनमा एक किसिमले जङ्गबहादुर करिडोर बन्न पुगेको छ ।
    जङ्गबहादुरसित जोडिएको राजघाट पनि हो । जङ्गबहादुरले मृत्युवरण गरेको स्थान पनि छ । जङ्गबहादुर राणाले अन्तिम सासलाई हावामा मिलाएको ठाउँ वृन्दावन नपाको बागमती किनारलाई मानिन्छ । उनको समाधिस्थल बागमतीको बगरमा आज पनि कतै हुनुपर्छ । जङ्गबहादुरको स्मृतिमा एउटा गेट पनि निर्माण गरिएको छ । बागमती नदीतिर जाने बाटोमा निर्माण गरिएको जङ्गबहादुर द्वारले उनीसितको सम्बन्धलाई सम्झाउँछ । अहिलेसम्म राजघाट र अन्येष्टिस्थललाई पर्यटनसित जोड्न सकिएको छैन तर अहिले यो पनि आवश्यक भइसकेको छ कि वृन्दावनको विश्रामपुरनजीक रहेको बलेरीनजीक रहेको जङ्गबहादुर स्मृतिद्वारलाई पनि जङ्गबहादुर पर्यटन करिडोरमा समावेश गरियोस् ।
    इतिहासमा धेरै कुरो प्रस्ट छ । यदि इतिहासको राम्ररी अध्ययन गर्ने हो र रौतहटमा जङ्गबहादुरको पहिलो आगमनको मिति, स्थान तथा अन्य आगमनहरूको पनि तिथिमितिसहितको एउटा विवरण सम्बन्धित स्थानहरूमा राख्ने हो भने पर्यटकलाई एकातिर इतिहासमा रुचि जगाउने र अर्कोतिर अन्य पर्यटकलाई तान्ने उपाय हुने देखिन्छ । हरेक पर्यटकीय गन्तव्यहरूमा हरेक पर्यटकीय गन्तव्यको बारेमा ऐतिहासिकतासहितको जानकारी दिनुपर्छ । पर्यटन वर्षको दृष्टिकोणले यो सर्वथा उचित देखिन्छ ।
    रौतहटमा ऐतिहासिक पर्यटनको सम्भावनाबारे धेरै खोजी जरुरी छ । पर्यटकलाई प्राचीनतासित जोड्ने हो भने अनेक प्राचीन इतिहास बोकेका महŒवपूर्ण स्थानहरू रहेका छन् । यस्ता ठाउँहरूको खोजी पनि भइरहेको छ तर स्थानीयलाई खासै मतलब छैन । आप्mनो ठाउँको ऐतिहासिक, पौराणिक तथा धार्मिक र पर्यटकीय स्थानहरूको बारेमा केही विशिष्ट मानिसहरूको चासो मात्र रहेको छ । चिन्ता कसैलाई पनि रहेको छैन । अबको समयमा यस्ता कुरालाई पर्यटनसित जोडेर सार्वजनिक महŒवको बनाइनुपर्छ ।

Friday, January 10, 2020

सीमाको यात्रा

सीमाको यात्रा


सञ्जय साह मित्र
 
   देश भन्नु प्राविधिकरूपमा सीमाभित्र समेटिएको भूगोल पनि हो । एउटा नक्शाले भुइँलाई छुट्याएको भौगोलिक परिवेश हो । तर सीमा क्षेत्रहरूमा राजनीतिक भूगोल विभाजनको उति धेरै प्रभाव परेको पाइन्न । दुई देशका ठूला शहरबाट अर्को देशमा पुग्नुपर्ने अवस्थामा हुने औपचारिक ग्रामीण क्षेत्रमा हुँदैन । खुला सिमाना भएको कारणले एउटा चरो स्वच्छन्दरूपमा उडेर एउटा देशको रूखबाट अर्को देशको देशको रूखमा उडेर सजिलै पुग्दछ । कतै यस्तो पनि छ कि एउटा देशको गाई अर्को देशको बाली चर्छ र फेरि फर्केर आउँछ । कसैको बाख्रा अर्को देशको बाली चरेर आप्mनो देश फर्किन्छ । सिमानाको आसपासमा रहेका बस्तीहरूलाई सार्वभौमसत्ता सम्पन्न दुई अलग–अलग देश हुन् भन्ने यथार्थ थाहा छ तर सामाजिक व्यवहारमा भने फरक देशको अनुभूति हुँदैन ।
 सीमा क्षेत्रभन्दा टाढा बस्ने सर्वसाधारणलाई सीमा क्षेत्र जहिले पनि उत्सुकताको विषय हुन्छ । मौका मिल्नासाथ सीमा क्षेत्रको स्थलगत अवलोकन गर्न र त्यहाँको जनजीवनबारे बुभ्mन पुग्छु । सीमा क्षेत्रमा जतिपटक पुग्छु, सधैं लाग्ने गर्दछ कि मेरो देश यहाँभन्दा यता छ । म आप्mनो देशको सिमाना अहिले नाघ्दैछु वा अब म आप्mनो देशको सिमानामा प्रवेश गर्दैछु । आप्mनो देशको सिमानालाई छाडेर भारततिर जाँदा देश छाडेको र अर्को देशमा प्रवेश गरेको स्वानुभूति हुने गरेको छ ।
    अहिले भ्रमण वर्ष चलिरहेको छ । विभिन्न समयमा देशका विभिन्न कुनामा डुलेका यादहरू झल्झली याद आइरहेका छन् । कुनै भ्रमण वर्ष नहुँदाको समयमा पनि भ्रमणको महŒव उत्तिकै हुन्छ । मौका पाउनासाथ कतै भ्रमणमा निस्किने आप्mनो पनि बानी भएकोले एक दिन दुई देशका सिमानामा कैयौं किलोमिटर घुम्ने मौका पाएँ । घुम्ने सवालमा मलाई के लाग्छ भने आप्mनो जिल्लाको सीमान्त क्षेत्रलाई राम्ररी चिन्नु आवश्यक छ । आप्mनै जिल्लाको सीमान्त क्षेत्रलाई बेवास्ता गरेर बाहिर मात्र घुमेको छु भन्ने गर्व गर्नु पनि खोक्रो गर्व हो ।
    देशलाई भूगोलको रूपमा मात्र सीमा क्षेत्रले चिन्दैन । कतिपय सामाजिक विवाद दुई देशका मानिस मिलेर समाधान गर्दछन् । यहाँ सामाजिक समस्या भन्नुको अर्थ गाई, बाख्रा, जातभात, विवाह, भोज तथा यस्तै समस्याहरू हुन् । साँच्चै भन्ने हो भने सीमासँगै रहेका दुई गाउँका बासिन्दा दुई देशका जस्ता हुँदैनन्, एकै समाजका जस्ता मिलेर बसेका पनि छन् । एउटाको दुःख र सुखमा अर्कोले साथ दिन्छन् । उत्सवहरू उत्साहका साथ मिलेर मनाउँछन् ।
    सीमा क्षेत्रका बासिन्दाहरूसित आत्मीय गन्थनमा यस प्रकारका कुराहरू सामान्यरूपमा सुन्न पाउँछन् । एक देशको पीडितप्रति अर्को देशको नागरिकमा सामान्य किसिमको समवेदना पाइन्छ । रातको समयमा छठियारमा गीत गाउन, सत्यनारायण भगवान्को पूजाको प्रसाद खान, अन्य सामाजिक तथा सांस्कृतिक र पारिवारिक जमघटहरूमा एकअर्काका परिपूरकजस्तै सहभागी हुन्छन् । एकअर्काको मलामी जान्छन् । एकअर्काको परिवारको लमी बन्दछन् । कुनै गा¥होसा¥हो पर्दा हृदयदेखि नै सहयोग गर्दछन् । यतिसम्म कि नजीक विद्यालय जुन देशमा हुन्छ, त्यहीं भर्ना हुन्छन्, पढ्छन् । नजीकै हुँदा पनि जुन विद्यालयमा स्तरीय पढाइ हुन्छ, त्यहीं पढ्न जान्छन् । एउटा देशमा एउटा कक्षा र अर्को देशमा अर्को कक्षा पढ्ने कैयौं विद्यार्थीहरू छन् । घरायसी प्रयोगका सरसामानलगायतका वस्तु ल्याउने र लैजाने तथा अन्य व्यवहार गर्ने कुरा पनि एउटा परिवारको जस्तो हुन्छ । सम्भवतः यस्तै र यिनै कारणहरूले स्थानीय राजनीतिकर्मीहरूले बारम्बार भन्दै आएका छन् कि बेटीरोटीको सम्बन्ध छ ।
    साँच्चै सीमा क्षेत्रमा यात्रा गर्दा मनमा कहिले आप्mनो देशमा छु र कहिले आप्mनो देशमा छुइनँ भन्ने भइरहन्छ । कुनै बेला कतै सिमाना छुट्याउने आधार अलि साँघुरिएको जस्तो लाग्न पुग्छ त कुनै बेला दशगजा अलि फराकिलो भएजस्तो लाग्छ । कहीं यदि बाङ्गिएको दशगजा छ भने, कतै दशगजामा ठडिएको जङ्गे पिलर ठीक बीचबाट यताउति देखिएको भ्रम पर्छ भने यी अवस्थाका अनुभूतिहरूको स्वादमा बेजोड फरक हुन्छ ।
    साँच्चै मलाई के लाग्दछ भने हामी जतिसुकै देश विदेश यात्रा गरौं तर अलिकति सीमामा पनि समय दिनुपर्छ । सीमालाई पनि बुभ्mनुपर्छ । सीमामा बस्ने नागरिकलाई पनि चिन्नुपर्दछ । आप्mनै देश र आप्mनै देशको नितान्त छिमेकको जनजीवनलाई बुभ्mनुपर्छ । जनजीवनको अन्तर्य बुभ्mनुपर्छ । अझ वास्तविक जीवनको दर्शन त त्यत्तिखेर हुन्छ, जतिखेर नितान्त सर्वसाधारण बनेर हामी सीमा क्षेत्रमा स्वच्छन्द हुन्छौं । त्यहीं चरीजस्तो यायावर बनेर जो घरी यताको रूखबाट उडेर उताको रूखमा जान्छ र घरी उताको रूखबाट उडेर यताको रूखमा बस्छ । उसलाई दुई देशका रूख, सिमाना र नागरिक भन्ने केही मतलब हुँदैन । हो, यस प्रकारको अनुभूति लिन नितान्त यायावर बन्नु जरूरी छ । साँचो यायावर बनेर आप्mना सीमा क्षेत्रमा घुम्ने चाहना पनि अरूमा उमारौं । अवसर मिलाएर, समय मिलाएर र सम्भव भएसम्म सन्दर्भ मिलाएर यस प्रकारको यात्रा गरौं, जहाँ सुविधाको खोजी नहोओस् र आत्मीय हृदयले जनजीवनको स्पर्श होओस् । मलाई के विश्वास छ भने हरेकले एउटा यस्तो फरक अनुभूति पाउनेछन्, जुन साथमा रहेका अन्य साथीले पाएको नहोओस् । यात्रामा यायावरलाई तत्काल जे जस्तो अनुभूति होला तर कम्तीमा एक महीनापछि त्यहाँको आनन्दले अलग्गै किसिमले हृदयको स्पर्श गर्नेछ ।

Friday, January 3, 2020

यात्राका डोबहरूको पुनर्कथन

यात्राका डोबहरूको पुनर्कथन

सञ्जय साह मित्र
    अहिले नेपालले भ्रमण वर्ष मनाइरहेको छ ।
    हरेकले जीवनमा यात्रा गरेका छन् । यात्रा त जीवनको पुनर्ताजगी हो । कुनै कारणवश अहिले यात्रा गर्न समर्थ नभएका व्यक्तिहरूसित पनि यात्राका रमाइला कथाहरू छन् । यात्राका सुन्दर यादहरू छन् । अब त्यहीं यात्राका डोबहरूलाई एकचोटि पछ्याउने बेला आएको छ । यात्राको पुनर्कथनको आवश्यकता भएको छ ।
    समाजका दोस्रो र तेस्रो पुस्ताले कमसेकम हरेक दिन आपूmले विगतमा कहाँ यात्रा गरेको भन्ने कुरा आपूmभन्दा अनुजलाई सुनाउनुपरेको छ । पहिलेको यात्रावर्णन र अहिलेको यात्रावर्णनमा आउने भिन्नता र मिठासबारे सामाजिक बहस चलाउनु आवश्यक भएको छ । यस प्रकारको बहसको औचित्य कहाँनेर गएर पुष्टि हुन्छ भने सुन्नेलाई उत्प्रेरणा हुन्छ । उत्प्रेरित भएर त्यो ठाउँ पुग्ने, डुल्ने र कथनेसित एकचोटि फेरि यात्रावर्णन कथ्ने रहर जाग्दछ । हो, यही रहर त हरेक नेपालीमा जगाउनुपरेको छ ।
    यात्रा त हरेकले गर्नुपर्दछ । यात्राको आनन्द लिनुपर्दछ । हुनत कतिपयलाई यात्रामा निकै कठिनाइ हुन्छ । कतिपयलाई बसमा बान्ता हुन्छ भने कतिपयले आपूmलाई सानो गाडीमा ‘एडजस्ट’ गर्न सक्दैनन् । तर गन्तव्यमा पुगेपछि भने सबै रमाउँछन् । सवारीसाधनमा भएको कठिनाइलाई बिर्सेर पुगेको ठाउँ हेरेर आनन्दित हुने बानी चाहिं साँच्चै राम्रो हो । साँच्चै यात्रालाई आनन्दमयी बनाउने कुराको खोजी गर्ने र यात्राको कठिनाइलाई बिर्सने हाम्रो राम्रो बानीले आप्mनो यात्रालाई मात्र नभएर अरूको यात्रालाई पनि रमाइलो बनाउने गर्दछ ।
    एउटा उखान छ– थोर करे राम बेसी कविजी । अर्थात् रामको वर्णन रामले भन्दा कविले गर्न सक्छन् । यसको तात्पर्य यो पनि हो कि यात्राको वर्णन यात्रा भोगाइको आनन्दभन्दा यात्राको वर्णनले दिन सक्छ । यात्राबारे वर्णन गर्नु यात्राको भन्दा पनि आनन्ददायक हुने कुरो धेरैले बुझेका छन् । यस कारण कम्तीमा हरेक यात्राको वर्णन अनुजसित गर्नु आवश्यक छ ।
    अझ लेख्न सक्नेले यात्राको वर्णन लेख्नु पनि पर्दछ । यात्राको वर्णन लेख्दा सकेसम्म यथार्थ झल्किने सरल तर कलात्मक बनाएर लेख्नु राम्रो हुन्छ । यात्राका सम्पूर्ण पात्रहरूको नाम अटाउने गरी यात्राको डोबलाई पछ्याउनुपर्दछ शब्दमा ।
यात्रामा पुगेका स्थान तथा भेटेका पात्रहरूको बारेमा पनि थोरबहुत चर्चा गर्दै जानुपर्दछ किनभने ती पात्रहरूको पनि संलग्नता बढोस् । अझ सम्भव भएसम्म ऐतिहासिकता तथा तथ्य र बुझिएको सत्य पनि खोतल्ने प्रयास गरिनुपर्दछ ।
    लेखकहरूले आप्mना अभिव्यक्ति कुनै पत्रिका वा अनलाइनका लागि मात्र लेख्ने होइन । वर्तमान परिवेशमा सामाजिक सञ्जालको भूमिका पनि निकै ठूलो रहेको छ । सम्पूर्ण लेख, संस्मरण, नियात्रा वा यात्रावर्णनलाई सामाजिक सञ्जालमा जस्ताको त्यस्तै राख्नुपर्दछ भन्ने होइन तर कम्तीमा जुन ठाउँको यात्रा गरिएको हो, त्यस ठाउँको भ्रमण गर्ने उत्साह जगाउने कुरा भने अवश्य राख्नुपर्दछ । कम्तीमा एउटा तस्वीर अवश्य राख्नुपर्दछ । सामान्यतया के मान्यता छ भने कैयौं शब्दले बोल्ने कुरो एउटा फोटोले नै बोल्दछ । कुनै शब्दभन्दा पहिले फोटोमा सर्वसाधारणको आँखा पुग्ने गर्दछ । यस कारण वर्तमान परिवेशले सामाजिक सञ्जालमा पनि फोटोका साथै भ्रमणको उत्प्रेरणा जगाउने सामग्रीको अपेक्षा गर्दछ । यसलाई पारिस्थितिक धर्म वा कर्तव्य पनि मान्न सकिन्छ ।
    नेपाल भ्रमण वर्ष चलिरहेको वर्तमान अवस्थामा यसलाई प्रोत्साहन गर्न लेखकहरूले मात्र नभएर पत्रिका, अनलाइन, टेलिभिजन तथा रेडियो–एफएमका सञ्चालक वा प्रमुखहरूले पनि नेपाल भ्रमण वर्षसँग सम्बन्धित सामग्रीलाई प्राथमिकता दिनुपरेको छ । सम्भव भएसम्म हरेक दिन एउटा पठनीय सामग्री र कम्तीमा एउटा समाचार अवश्य प्रकाशित गर्नुपर्दछ । अझ आप्mना लेखक, स्तम्भकार तथा सहयोगी र संवाददाताहरूलाई यस प्रकारको सामग्री पठाउन प्रोत्साहित गर्नुपर्दछ । अझ सम्बन्धित सञ्चारमाध्यमका प्रमुखले आप्mना यात्राका डोबहरूलाई शब्दमा रूपान्तरण गरी सार्वजनिक गर्नुपर्दछ । यसले गर्दा सञ्चारमाध्यमका लेखक, पाठक तथा अन्य प्राविधिक पक्षका मानिसहरूलाई पनि आप्mनो यात्राको वर्णन, देशदर्शन तथा स्मृतिहरूलाई सार्वजनिक गर्न प्रोत्साहन होओस्, सजिलो होओस् ।
    नेपाल भ्रमण वर्षमा नेपालभित्रैका यात्राहरूलाई प्राथमिकता दिइनुपर्दछ । यात्राका विविधताहरूलाई पस्कनुपर्दछ । यात्रालेखनलाई प्रोत्साहन र प्रवद्र्धन गर्नुपर्दछ । एउटा यात्राले अर्को यात्रालाई जन्माउने हुन्छ । यात्रा गर्ने, गराउने तथा यात्राको गन्तव्य निर्धारण गर्नेजस्तो सम्पूर्ण पक्षमा यस प्रकारको सामग्रीले सहयोग गर्दछन् । अहिलेको आवश्यकता भनेको यात्रालाई प्रोत्साहन गर्नु पनि हो ।
    थोरै भएपनि नेपालीहरू यात्रामा निस्कन थालेका छन् । नेपाली देशबाहिर पनि जान थालेका छन्, यात्राकै क्रममा । हो, विदेशमा यात्राको क्रममा पुगेका नेपालीले सकेसम्म आपूmले जोसित जसरी विदेशमा कुरा गर्न सकिन्छ वा प्रचारप्रसार गर्न सकिन्छ, त्यसरी नेपाल घुम्न आउने प्रस्ताव गर्नुपर्दछ । नेपालका प्रमुख पर्यटकीय स्थानको बारेमा त धेरैलाई जानकारी छँदैछ, अझ सानातिना पर्यटकीय स्थान तथा आप्mनो गाउँघर र शहरवरिपरिका प्राकृतिक तथा जैविक सम्पदाको बारेमा पनि बताउनुपरेको छ ।
    अहिले कतिसम्म बुझिएको छ भने धेरैलाई आप्mनै जिल्लाका पर्यटकीय स्थानहरूको बारेमा जानकारी रहेको छैन । जानकारीको अभावमा कतिपय पर्यटकीय सम्पदाको संरक्षण र संवद्र्धन हुन सकेको छैन । आप्mनै पर्यटकीय सम्पदाहरू उदास र निराश बनेका छन् । गुल्जार हुनुपर्नेमा उजाड बनेका छन् । हो, अब आप्mनै गाउँठाउँका यात्रा गर्न सकिने वा आपूmले गरे गराएको यात्राको वर्णन सार्वजनिक गर्नुपरेको छ । आप्mनै गाउँठाउँले पनि पर्यटकीय गन्तव्य पाउनुपरेको छ ।
    शायदै कुनै स्थानीय तह होला, जहाँ पर्यटकीय दृष्टिकोणले विकास गर्न सकिने ठाउँको अभाव होला । हो, भ्रमण वर्षमा कम्तीमा त्यस्ता सम्भावनाहरूको खोजी गरी सम्बन्धित निकायलाई घच्घच्याउन सकिन्छ । यस्तो कम्तीमा वातावरण बनाउन सकिन्छ, जसले गर्दा अन्य गाउँठाउँका मानिस त्यस्ता ठाउँमा पुगेर त्यस ठाउँको बारेमा कतै लेख्न सकून् र त्यसले सम्बन्धित निकायको कानमा पर्यटकीय महŒवको गुञ्ज पुगोस् । यात्राका डोबहरूको पुनर्कथनले यात्राका अन्य डोबहरूको निर्माण गरोस् ।

Friday, December 6, 2019

एक रात लङ्कामा

एक रात लङ्कामा


सञ्जय मित्र
    यात्राको कहिलेकाहीं मिल्दोजुल्दो नामले रोमाञ्च सिर्जना गर्ने गर्दछ । नामप्रति रूढ मानसिकतालाई अलिकति असमञ्जस सिर्जना गर्दछ ।
    यात्रामा एक रातको लागि डेरा खोज्नु र सस्तो डेरा खोज्नु कहिलेकाहीं ज्यादै फरक विषय बन्न पुग्दछ । एकचोटि भारतको पश्चिम बङ्गालको दानकुने शहरमा भाषाले धेरै अप्ठ्यारो पारेर करीब तीन घण्टापछि लज भेटिंदा ज्यादै ठूलो उपलब्धि हासिल भएको अनुभूति भएको थियो । प्रायः ठूलो शहरमा सस्तोमा बसाइँको लागि धेरै बरालिनुपर्ने हुन्छ । उत्तर प्रदेशको वाराणसी अर्थात् बनारसमा पनि बिस्तारै साँझ पर्दै गएपछि डेराको समस्या होला कि जस्तो भएको थियो तर विश्वप्रसिद्ध धार्मिक नगरी भएको हुनाले अन्तर्मनमा विश्वास थियो कि हाम्रोअनुकूल डेरा पाउन त्यत्ति गा¥हो हुनेछैन ।
    बनारस हिन्दू विश्वविद्यालय परिसरमा नै सस्तो र सजिलो डेराको लागि केहीलाई हाम्रो टोलीले सोधपुछ गरेको थियो । साउन २०७५ को अन्तिम हप्ता हुँदै थियो । बिहारबाट झारखण्ड हुँदै फेरि बिहार भएर उत्तर प्रदेशको बनारस घुम्ने मुख्य अभिलासा लिएर घरबाट हिंडेको पाँचौं दिनमा बनारस आइपुगेका थियौं । बनारस प्राचीनता र आधुनिकताको सुन्दर सङ्गम शहर हो । अनेक हिन्दी सिनेमामा देखिएका विभिन्न तस्वीरहरूसित प्रत्यक्षमा साक्षात्कार गर्दै गर्दा कहिलेकाहीं सिनेमामा नै छौं भन्नेजस्तो पनि भएको हुन्छ । हामीले सानैदेखि सुन्दै आएको कुरो पनि बिर्सेका छैनौं– बनारसमा साँढे, एकल महिला र पण्डापुजारीबाट जोगिनुपर्दछ । त्यहाँको इटली भन्ने परिकार पनि खानुपर्दछ ।  गङ्गा आरती त हेर्नै पर्दछ । बनारसको विश्वविद्यालयमा नपुगी एउटा शिक्षितको लागि यात्रा अधूरै हुन्छ । काशी विश्वनाथ पनि दर्शन नगरी हुँदैन ।
    कहिलेकाहीं असमञ्जस हुन्थ्यो कि काशी हिन्दू विश्वविद्यालय हो कि बनारस हिन्दू विश्वविद्यालय । त्यहाँ अधिकांश ठाउँमा देवनागरीमा काशी हिन्दू विश्वविद्यालय र रोमनमा वाराणसी हिन्दू विश्वविद्यालय लेखिएको पाएपछि बिएयुको नामसम्बन्धी असमञ्जसपूर्ण सम्पूर्ण भ्रम हट्दछ । अझ वाराणसी वा बनारस भन्ने ठाउँ एउटै हो कि फरक भन्ने दोधार पनि त्यहाँ पुगेपछि सदाको लागि अन्त्य भएको छ । वास्तवमा भ्रमण र प्रयोगात्मक गतिविधिमा सहभागी हुँदा स्थायी ज्ञान प्राप्ति हुँदो रहेछ ।
    ठूला शहरमा बसोबासको समस्या हुने कुराले विदित हामीले सस्तो र राम्रो डेरा तथा आरामदायी र आपैंmले खाना बनाएर खान हुने ठाउँको सोधीखोजी गर्दै जाँदा अधिकांशको सल्लाह हुन्थ्यो लङ्कामा बस्नु राम्रो हुन्छ । बनारसमा लङ्का भन्ने ठाउँ भनेर पहिलोपटक सुनेको भने त्यहीं विश्वविद्यालय परिसरमा नै हो । यहाँ लङ्का भन्ने ठाउँ पनि छ भनेर पूरै विस्मित भएका थियौं । सबैजना एकसाथ विस्मित भएर लङ्का शब्द सुन्दा उही रामायणमा वर्णित लङ्कालाई नै बुभ्mन पुगेका थियौं । सबैलाई राम्ररी जानकारी छ कि यहाँ लङ्का छैन । दक्षिणी भारतभन्दा अझ दक्षिण समुद्रभन्दा पारि रहेको श्रीलङ्कामा रामायणकालीन धेरै अवशेष तथा प्रमाण भेटिएको तथ्य सार्वजनिक भइरहेको हामीले नबुझेका होइनौं । बनारसमा रहेको लङ्का शहरभित्रै हो कि अलि टाढा वा कुनै टापूजस्तो ठाउँ पो हो कि भन्ने जिज्ञासा सार्वजनिक हुुनु अस्वाभाविक होइन । मनमा फेरि शङ्काको बेमौसमी बादलले यस कारण ढाक्न पुग्दछ कि कतै लङ्का भन्ने ठाउँका मानिसको आचरण र व्यवहार अन्यत्रको सामान्य व्यवहारभन्दा फरक पो हो कि ? कतै असामान्य व्यवहार भएर नै प्रवृत्तिगत किसिमले यस ठाउँको नाम लङ्का रहन गएको पो हो कि ?
    काशी हिन्दू विश्वविद्यालयको उत्तरी मुख्यद्वारबाट निस्केर सीधैं बजारतिर जाँदा बीच बजारमैं छ लङ्का । लङ्का एउटा टोलजस्तोको नाम हो । त्यहाँ एउटा संस्कृत क्याम्पस छ । मुमुक्षु भवन भनेर सबैले चिन्दछन् । यो मुमुक्षु भवनभित्र बास बस्न पनि पाइन्छ । सामान्यतया तीन/चार सय मानिस त्यहाँ बस्न सक्छन् । सबै किसिमका सुविधा त्यहाँ उपलब्ध छन् । सेवामूलक संस्था भएकोले मानवीय सुविधाहरू पनि सबै उपलब्ध छन् । बाहिरबाट आउने सर्वसाधारणले निकै मन पराउने ठाउँ हो । वाराणसीका अटोरिक्शाचालकले पनि सजिलै बताइदिन सक्ने यो ठाउँमा असुविधा छैन । बनारस घुम्न जहाँ पनि सजिलो हुन्छ यहाँबाट । सबैभन्दा असल पक्ष वाराणसीका मुख्य आकर्षणहरू भनेर चिनिने गङ्गा आरती र काशी विश्वनाथ मन्दिर त्यहाँबाट पैदलै हिंडेर जान सकिन्छ । त्यहाँ गाडीको पार्किड्ढो लागि पनि पर्याप्त सुविधा रहेको छ ।
    लङ्काको बारेमा जान्ने जिज्ञासाहरू विभिन्न ठाउँमा पोख्दै जाँदा यत्तिका जानकारी उपलब्ध हुन्छन्, जसले गर्दा लङ्काको मुमुक्षु भवनमा बस्न हाम्रोलागि उपयुक्त हुने भनी ठान्दछौं तर समस्या हुन्छ समयको । बिस्तारै सन्ध्याको अवतरण हुने समय नजीकिंदै छ । कहिलेकाहीं त्यहाँ मान्छे भरिएपछि ठाउँको अभाव पनि हुन्छ किनभने कोठाहरू बूक गराएर मानिसहरू घुम्न निस्कन्छन् । सकेसम्म छिटो पुग्न पाए राम्रो सुझावहरूले बास बस्न ढुक्क भइसकेको मनमा हल्का चिसो बतासले छोएजस्तो हुन्छ । यद्यपि खोज्दै, सोध्दै र अगाडि बढ्दै हरेक पल दूरी घटाइरहेका छौं लङ्काको । मनमा एउटा लङ्का हेर्ने गरी । आजै सुनेको लङ्काको स्पर्श आजै गर्ने गरी गन्तव्यतिरको बाटो छोट्याइरहेका छौं ।
    लङ्काकै निकटमा हँुदा अलि आपैंmमा अलि फरक अनुभूति भएकोजस्तो हुन्छ । अनि मुमुक्षु भवनको नजीक पुग्दा एउटा सुखद आश्चर्यले मनको कुनालाई स्पर्श गर्छ । एकै छिनमा लङ्कामा पाइला टेक्छौं । यो लङ्का नक्कली होइन । पाइला टेकेको चाहिं लङ्का नै हो । सधैंको मानसिकता लङ्का भनेको श्रीलङ्का हो तर अहिले टेकेको भूमि पनि लङ्का नै हो । यो पनि सक्कली लङ्का नै हो । लङ्काको मुमुक्षु भवनभित्र छिर्छौं ।
    साँच्चै लङ्कासित नाम जोडिएकै कारण मुमुक्षुजस्तो पवित्र भवनभित्र पस्दै गर्दा कतै लङ्काकै कुनै भवनमा पसेको अनुभूति भइरहेको छ । यो अनुभूति आपैंmमा दुर्लभ छ । एउटा तिर्सनाको तुष्टि पनि हो कि ?
    हल्का पानी परिरहेको छ । यसले घुम्नलाई रोक्ने अवस्था छैन । बनारस, काशी वा वाराणसीको सबैभन्दा प्रसिद्ध बताइएको गङ्गाघाटमा डुङ्गामा बसेर हल्का रुझ्दै आरती हेर्छौं । पर्याप्त विदेशीहरू पनि हुन्छन् । फर्केर रातको बसाइँ उही लङ्कामा अवस्थित मुमुक्षु भवनमा हुन्छ ।
    त्यस भवनको उद्देश्य, त्यसमा सञ्चालित महाविद्यालयको उद्देश्य र त्यस ठाउँको पवित्रता सबै बुझेका छौं । अझ हामीले यस प्रकारको उद्देश्यको समर्थन पनि गर्दछौं तर राति सुत्नेबेलासम्म हामी लङ्कामा छौं भन्ने अनुभूति भइरहन्छ । यात्रामा बिताइएका अन्य रातहरूभन्दा यस ठाउँको नामले पनि अलिकति विशेष बनाइदिन्छ । लामो समयसम्म सम्झनाको कुनामा आप्mनो स्थान जमाइरहन सफल हुन्छ ।
    कहिलेकाहीं साथीहरूको बीचमा लङ्का पुगेको र लङ्कामा एक रात बसेको भन्ने भइरहन्छ । अझसम्म त्यो सामान्य बसाइँ नामकै कारण विशेष बन्न पुगेको छ ।

Friday, November 29, 2019

संस्कृतिको रूपमा विस्तार हुँदै गढीमाई मेला

संस्कृतिको रूपमा विस्तार हुँदै गढीमाई मेला


सञ्जय मित्र
    संस्कृतिको अर्थ उत्तम वा सुध्रेको स्थिति हो । कुनै भावना वा विचारबाट संस्कृत हुनु र यसले कार्यरूप लिनु संस्कृति हो । सभ्यताले मनुष्यको भौतिक क्षेत्रको प्रगति सूचित गर्दछ भने संस्कृतिले भौतिकताभन्दा बढी मानसिक क्षेत्रको प्रगतिलाई सङ्केत गर्दछ । सभ्यता र संस्कृति पूरै एकापसमा पृथक नभए पनि पूर्णरूपमा एउटै पनि होइन । वास्तवमा संस्कृति कुनै समाजमा गहिराइसम्म व्याप्त समग्र स्थिति हो । समाजको सोच्ने, विचार गर्ने, अभिव्यक्त गर्ने, कार्य गर्ने, खाने, पिउने, बोल्ने, नृत्य गर्ने, गाउने, चित्र बनाउने, घर बनाउने, मूर्ति बनाउने, साहित्य सिर्जना गर्ने आदिको सम्पूर्णतालाई संस्कृति भन्न सकिन्छ । संस्कृति भन्नु नै व्यापक जीवनशैली वा जीवनपद्धति होभन्दा अत्युक्ति नहोला कि ? यसैले दीर्घकालदेखि चलिआएको वा अपनाइएको पद्धतिहरूको समष्टिलाई संस्कृति भनिएको पाइन्छ ।
    कुनै निश्चित ठाउँको आप्mनो अस्तित्व उसको संस्कृतिले नै दर्शाउँछ । दीर्घकालको जीवनपद्धति मानिएकोले यसले आपूmमा इतिहास पनि ओगटेको हुन्छ । तर इतिहास मात्र चाहिं संस्कृति होइन वा हुन सक्दैन । सामान्य दृष्टिमा इतिहास भनेको विगतका घटनाहरूको पुनर्अध्ययन हो । यहाँ घटनाको अर्थगत सम्बन्ध कुनै राजनीतिक घटना नभएर समाजमा देखा पर्ने प्रभावपूर्ण हरेक सानातिना परिवर्तन हो । यसले संस्कृतिको विगतलाई पनि समेट्छ ।
    सन्दर्भ गढीमाई मेलाको हो । गढीमाई मेला भन्नेबित्तिकै नेपालको बारा जिल्लाको वर्तमान महागढीमाई नगरपालिकाको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा लाग्ने मेलालाई बुझिएको पाइन्छ । एकै ठाउँको बुभ्mने संस्कृति बनिसकेको छ तर यस बुझाइमा अब स्थानीयरूपमा बिस्तारै परिवर्तन भइरहेको छ । बुझाइमा भएको एउटा हस्तक्षेपले एकचोटि राजनीतिक तरङ्ग ल्याएको थियो । वर्तमान जीतपुरसिमरा उपमहानगरपालिका बन्नुभन्दा पहिले जीतपुरमा रहेको गढीमाई मन्दिरको नामबाट त्यस स्थानीय तहकै नामकरण गढीमाई गरिएको थियो । अनि बरियारपुरको नेतृत्वमा नामसँग अस्तित्व वा संस्कृति जोडेर एउटा तरङ्ग सिर्जना गरिएको थियो । पछि पुनर्संरचनामा बरियारपुरसमेतको स्थानीय तहलाई महागढीमाई नामकरण गरियो, जसले सर्वस्वीकार्यता प्राप्त ग¥यो । यससँगै रौतहटमा पनि एउटा स्थानीय तहको नाम गढीमाई राख्ने काम भयो । बरियारपुरको गढीमाईको मन्दिर र पूजा सबैतिरको दृष्टिमा ठूलो मानिन्छ ।
    माथिको प्रसङ्गले गढीमाई मन्दिर तथा मेला लाग्ने स्थान अन्यत्र पनि छ भन्ने पुष्टि गर्दछ । बारामैं महागढीमाई नपाको बरियारपुर र मधुरीगढी, जीतपुरसिमरा, कलैया उपमहानपाको सिहासनी र पचानपुर, कोल्हवी नपाको बेल्वा, बारागढी गापाको दौर्वाविशुनपुर्वा लगायतको स्थानमा कतै मन्दिर बनाइ र कतै यत्तिकै स्थान बनाएर मेला लगाइ पूजा गर्ने गरिन्छ । यसैगरी, रौतहटको गढीमाई नपाको सुन्दरपुर, हर्दिया र बलुवामदनपुर गरी तीन ठाउँमा, कटहरिया नपाको दुधियाभार, गुजरा नपाको कनकपुर, वृन्दावन नपाको गढीटोल, गरुडा नपाको गेडहीगुठी र गम्हरिया, माधवनारायण नपाको माधोपुरका साथै सर्लाही जिल्लाको बलरा नपाको मिर्जापुर, रामनगर गापाको छोटौल र खैर्वा, कविलासी नपाको जमुनियालगायतका स्थानमा कतै मन्दिर स्थापना गरी र कतै स्थान बनाइ पूजा गर्ने र मेला लगाउने हुँदै आएको छ ।
    बारा, रौतहट तथा सर्लाहीको विभिन्न स्थानमा स्थापित गढीमाई मन्दिरमा पूजा गर्न पुग्ने श्रद्धालुहरूले गर्दा मेलाको विस्तार हुँदै गइरहेको छ । मेलाको विस्तार हुँदै गएर बरियारपुरको गढीमाई मेला अन्तर्राष्ट्रियस्तरको बन्न पुगेको छ । ज्यादै व्यापक क्षेत्र ओगट्ने, लाखौं मानिस मेला भर्न आउने, लाखौंको सङ्ख्यामा बलि चढाइने हुनु मेलाको स्थापित विशेषता भइसकेको छ । यिनै कुराले यसलाई विश्वमा चिनाउँदै लगेको छ ।
    अघिल्लो मेलाको वर्ष गढीमाई मेलामा आउने भारतीय श्रद्धालुले आपूmसित बलिको लागि ल्याउने पशुमाथि यस वर्षभैंm रोक लागेको थियो । अहिलेसम्म बारा, रौतहट र सर्लाहीका विभिन्न ठाउँमा गढीमाई मन्दिरको स्थापना भएको र पूजा भइरहेको पाइएको छ र सिमाना जोडिएको भारतको कुनै पनि स्थानमा गढीमाई मन्दिर स्थापनाको जानकारी आएको छैन तर सबैतिरको स्थानीयमा बढ्दो श्रद्धा तथा नजीकमा नै पूजा गर्ने प्रवृत्तिको विकासले निकट भविष्यमा पनि भारतीय सीमावर्ती जिल्लामा गढीमाई मन्दिर स्थापना र पूजाको साथै मेलाको खबर आउन सकिने आधार अनुमान गर्न सकिन्छ ।
    बरियारपुरमा हरेक दिन गढीमाई मन्दिरमा पूजा गर्ने चलन भइसकेको छ । मुख्यगरी शनिवार त भीडभाड नै हुने गरेको छ । अन्य स्थानका मन्दिरमा पनि अन्य दिन पूजा हुने गरेको र शनिवार अलिक बढी मानिसको आवागमन हुने गरेको देखिन्छ । मन्दिरमा पूजासँगै विवाह गर्ने चलनको पनि विकास हुन थालेको छ । मुख्य पूजाको समयमा अनेक पशुबलि दिने गरिएको भएपनि अन्य दिनमा मुख्य बलि भने नरिवल हो । सामान्यतया हरेक दिन नरिवल चढाइन्छ ।
    पाँच वर्षमा विशेष मेला लाग्नु एउटा विशेष संस्कृति बनिसकेको छ । दिनहुँ पूजा गर्ने र नरिवल तथा अन्य मिष्ठान्न चढाउने कामले एक किसिमको जीवनपद्धतिको रूप लिंदैछ । मन्दिरमा विवाह गर्ने चलन बढ्नु तथा अन्य सांस्कृतिक उत्सवमा मन्दिरलाई सम्झिनुले शुभकार्यमा गढीमाई मन्दिर वा पूजाको संस्कृतिको नवमान्यता स्थापित हुँदैछ ।
    गढीमाई मेलासित जोडिने एउटा राजनीतिक व्यङ्ग्य छ । यस व्यङ्ग्यले यति रूढता प्राप्त गरिसकेको छ कि लोकले सजिलै पचाएको छ र राजनीतिकर्मीहरूलाई झटारो हान्न पुगेको छ । त्यो व्यङ्ग्य के हो भने जो राजनीतिकर्मी चुनाव जितेर गाउँ वा आप्mनो क्षेत्र फर्किंदैनन् उनलाई चुनावमा देखेपछि गढीमाई भन्दछन् । अर्थात् पाँच वर्षमा गाउँ फर्किने नेता भनेका गढीमाई हुन् । गढीमाई मेला पाँच वर्षमा लाग्ने गर्दछन् र गढीमाईको दर्शन गर्ने संस्कृति चाहिं पाँच वर्षमा हो । यसले संस्कृतिमा गढीमाईको साङ्केतिक संस्कृतिलाई दर्शाएको छ ।
    पहिले खासै गीत–सङ्गीत प्रचलनमा रहेको नपाइए पनि आजभोलि आधुनिक गीतमा यस स्थान, पूजा र मेलाले विशेष स्थान पाउँदै गएको छ । एलबमको निर्माण हुन थालेको छ । यस मेलाको संस्कृति र यसको सांस्कृतिक प्रभावको प्राज्ञिक क्षेत्रमा चर्चा हुन थालेको छ । पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालमा अन्य ठूला सांस्कृतिक उत्सवजस्तै यसले स्थान पाउन थालेको छ र विशिष्ट व्यक्तित्वहरूको सहानुभूति पनि मेलाले पाउन थालेको छ । यी कारणहरूले गर्दा यसको सांस्कृतिक जरो निरन्तर बलियो हुँदै गइरहेको स्पष्ट हुन्छ ।
    यसले संस्कृतिको रूपमा कसरी स्थान बनाउँदै लगेको छ भने सबै ठाउँमा एकै दिन र एकै किसिमले पूजा हुन्छ । मेला लाग्छ । पूजाको विधिमा खासै कुनै भिन्नता छैन । पूजाको मान्यतामा पनि कुनै पार्थक्य रहेको पाइन्न ।
    अन्य संस्कृतिले जस्तै गढीमाईको मेला, पूजा, मन्दिर निर्माण तथा भाकल र सपनाका अनेक लोकोक्ति, किंवदन्ती तथा मिथकहरू बिस्तारै प्रचलनमा आइरहेका छन् । फलिफापका अनगिन्ती कथाहरू यत्रतत्र सर्वत्र सुन्न सकिन्छ । यसले साँच्चै गढीमाईले यस क्षेत्रको सामाजिक संस्कृतिको रूपमा आप्mनो स्थान सुरक्षित गर्न पुगेको स्पष्ट हुन्छ ।

Friday, November 15, 2019

कर्म गर्दागर्दै मृत्युवरण गर्ने कलाकारप्रति

कर्म गर्दागर्दै मृत्युवरण गर्ने कलाकारप्रति

सञ्जय मित्र
    एउटा कलाकार कर्म गर्दागर्दै मर्दछ र समाजले त्यसलाई सामान्य दुर्घटना ठानेर बिस्तारै बिर्सन्छ । असामान्य मृत्यु हुँदा घरपरिवारमा जे पीडा पुग्दछ, त्यसको कल्पना अन्यले गर्नै सक्दैन । अरूले त औपचारिकतावश आपूm पनि पीडित बनेको सहानुभूति दर्शाउन सक्छ । पीडाको प्रकटीकरण त मुख्य पीडितले गर्न सक्दैन । पीडाको अनुवाद शब्दमा हुन सक्दैन, कुनै दृश्यमा देखाउन सकिंदैन । हो, सिनेमाको कुरो फरक होला । त्यहाँ त कलाकारले कल्पनालाई पनि वास्तविकजस्तो प्रस्तुत गरेका हुन्छन्, जसलाई हेरेर दर्शकले क्षणिक पीडा, दुःख, क्षोभ, ग्लानि र पश्चात्ताप व्यक्त गर्दछन् । कतिपय अवस्थामा त साहित्यले भनेको करुण रसभन्दा पनि अत्युक्ति हुँदैन । कहिलेकाहीं समाजले फिल्मी दुर्घटनाभन्दा ठूलो अकल्पनीयतालाई पनि साहित्यको करुण रसले भैंm सामान्य लिइदिन्छ । समाजको वास्तविक घटनालाई कलाकारले एक किसिमले प्रस्तुत गर्दछन्, तर जब कलाकारमाथि नै त्यस्तै दुर्घटना पर्दछ, तब पनि समाजले सामान्य लिन्छ । अझ कलाको अन्य क्षेत्रमा कार्यरतहरूले कसरी एकजना कलाकारको कर्म क्षेत्रमैं मृत्युलाई सामान्यरूपमा लिन सक्छन् ?
    आजभोलि नाचको प्रचलन कम हुँदै गएको र डिजेको प्रचलन बढ्दै गएको छ । हिजो नाचमा मनोरञ्जन गराउने कलाकारहरूले अब नाचको क्षेत्र परिवर्तन गर्दै डिजेतिर गएका छन् । डिजेको प्रचलनले एकातिर भारतीय कलाकारमाथिको निर्भरतालाई केही कम गरेको छ भने अर्कोतिर गाउँघरतिर नै डिजे कलाकारहरूले दर्शकलाई छोटो अवधिको मनोरञ्जन दिन सफल भएका छन् । स्थानीय कलाकारले आप्mनो प्रतिभाको निखार गर्न पाएका छन् र केही हदसम्म भएपनि आप्mनो प्रतिभाको विस्तार गर्न पाएका छन् । डिजे कलाकारबाट आप्mनो हौसलाको वृद्धि गर्दै स्टेज कलाकारको रूपमा आपूmलाई विस्तार गर्दै गएका उदाहरणहरू कति छन् कति । तर जब कुनै कलाकारको मृत्यु हुन्छ, तब भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा काम गर्नेहरूले यसरी बिर्सन उचित हुन्छ त ?
    केही दिन पहिले रौतहटको शिवनगरमा एकजना डिजे कलाकारको नाच्दानाच्दै मृत्यु भयो । डिजे त मोटरमा हुन्छ र मोटरमा नै नाच्दानाच्दै कलाकारको मृत्यु भयो । मृत्युको कारणको रूपमा लड्नुभएको भनियो । जतिखेर कलाकार आप्mनो नृत्यावस्थाको उत्कर्षमा थिए, त्यत्तिखेर एक्कासि गाडी अगाडि हुइँकियो । गाडी अगाडि हुइँकिएपछि चरमोत्कर्षको अवस्थामा रहेका कलाकारले आपूmलाई सम्हाल्न नपाउँदै रूखको हाँगामा ठोक्किएर एक्कासि जोडले बजारिन पुग्छन् । भुइँमा पछारिन पुग्छन् । यति असन्तुलित भइदिन्छन् कि भुइँमा बजारिनासाथ उनको मृत्यु हुन्छ ।
    एकछिनअघिसम्म आपैंm नृत्यमा यति मग्न थिए कि आपैंmलाई नै होस थिएन र एकैछिनमा पूरै बेहोस भइदिन्छन् । केही निमेषअघि आप्mना सम्पूर्ण शरीरलाई गीतको तालमा यन्त्रवत् चलाइरहेका कलाकार एक निमेषमैं अचल भइदिन्छन्, भुइँमा लडेर । कैयौंलाई मनोरञ्जन दिएर उत्साह दिइरहेको एक कलाकारको शरीर आपैंm भुइँमा एकछिन छटपटिएर शान्त भयो ।
    दुर्घटनामा मृत्यु हुने कलाकार थिए, रौतहटको माधवनारायण नगरपालिका वडा नं ३ सखुअवाको । कलाकार थिए २० वर्षका रूपन सहनी ।
    रूपन सहनी कलाकारिता क्षेत्रका नवयुवक थिए तर कलाकारिता क्षेत्रमा उनको मृत्युले कुनै हलचल ल्याएको देखिएन । केही मिडियाले नाच्दानाच्दै डिजे कलाकारको मृत्यु भनेर समाचार लेखे । कलाकारको मृत्युको समाचार आएपछि पनि भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा काम गर्नेहरूले अन्य कुनै कार्यक्रम गर्न सकेनन् । यस प्रकारका व्यक्ति वा संस्थाबाट औपचारिकरूपमा शोक वक्तव्य पनि निकालेको देखिएन । यस प्रकार एक कलाकारको मृत्यु गुमनाम बन्यो । आखिर कलाकारको मृत्यु गुमनाम किन ?
    वास्तवमा नाचमा काम गर्न तथा डिजेमा काम गर्ने कलाकारहरू सङ्गठित छैनन् । कलाकारहरूको सङ्गठन नहुनु आपैंmमा दुर्भाग्यपूर्ण कुरा हो । डिजे कलाकारहरूको पनि सङ्गठन हुनु आवश्यक छ । डिजे कलाकारहरूलाई पनि सङ्गठित बनाउनुपर्ने आवश्यकता रहेको छ । सामान्यतया डिजे कलाकारहरू त्यत्ति पढेका हुन्नन् । अधिकांश नवयुवा हुन्छन् । नवयुवा कलाकारहरूमा सङ्गठनको ज्ञान उति धेरै हुँदैन । सङ्गठित नभएकाले को को कलाकार हुन् भन्ने कुरो कलाकारहरूलाई पनि थाहा हुँदैन । कुन कलाकारले कति पारिश्रमिक पाउँछन् भन्ने पनि थाहा हुन्न । कलाको क्षेत्रमा अझ के कति परिष्कार गर्नुपर्दछ भन्ने विषयमा प्रशिक्षण दिने तथा आप्mनो व्यवसायलाई अझ धेरै मर्यादित बनाउन के कसरी गर्नुपर्दछ भन्ने पनि थाहा छैन । यस विषयमा ज्ञान दिन भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा काम गर्नेहरूले डिजे कलाकारहरूलाई पनि सङ्गठित बनाइदिने प्रयास गर्नु आवश्यक छ ।
    डिजे कलाकारको जीवनबारे धेरैले चासो लिन चाहँदैनन् । कलाकारहरू विभिन्न गीतमा नाचुन्जेल सबैको आकर्षण रहन्छन् तर डिजे कलाकारहरूको नृत्यभन्दा अघि तथा पछिको जीवनबारे धेरै अनभिज्ञ हुन्छन् । वास्तवमा यस्ता कलाकारको पनि उचित सम्मान हुनु आवश्यक छ । कलाकारहरूले आपूmलाई कसैले सम्मान पनि गर्न सक्छन् वा आप्mनो काम समाजको लागि राम्रो पनि छ वा आप्mनो कामले समाजको सेवा गरेको छ भन्ने कुरो बुझेका छैनन् । कतिपय कलाकारले आप्mनो कर्म कला हो भन्ने पनि बुभ्mन बाँकी छ ।
    कलाकारको मृत्यु निकै संवेदनशील विषय हो र अझ कलाकारको मृत्युबारे कलाकारिताको विभिन्न क्षेत्रका व्यक्तिहरूले थाहै नपाउनु आपैंmमा थप संवेदनशील विषय हो । कलाकार र कलाकारिताप्रति हाम्रो समाज कति संवेदनशील छ भनेर पनि देखाउँछ ।
    साक्षरतामा देशको सबैभन्दा पछाडि रहेको रौतहटमा एक कलाकारको असमयमैं मृत्यु हुनु र ती नवयुवा कलाकारको मृत्युपछि समवेदना पनि गुमनाम रहनुलाई सामान्य अस्वाभाविक होइन । कला प्रदर्शन गर्दागर्दै मृत्युवरण गर्ने कलाकारप्रति श्रद्धासुमन अर्पण गर्न कन्जुस्याइँ नगर्ने कि ?

Friday, November 8, 2019

नकारात्मकता नै वर्तमान साहित्यको बीजतŒव हो ?

नकारात्मकता नै वर्तमान साहित्यको बीजतŒव हो ?

सञ्जय मित्र
    साहित्यको उत्पत्तिको कारणको विषयमा पूर्वीय साहित्यशास्त्रहरूले व्यक्तिभित्र निहित प्रतिभा हो । प्रतिभापछि साहित्य जन्मिने कारण व्युत्पत्ति र तेस्रो कारण अभ्यास मानेका छन् । पाश्चात्य साहित्यशास्त्रीहरूले भने अनुकरणलाई पनि साहित्य जन्मिने कारण मानेका छन् । अनुकरणले जीवनको अनुकरणलाई भनेका छन् । आत्मीय चेतना र सामाजिक परिवेश पनि साहित्यहेतु हुन्, पाश्चात्य साहित्य सिद्धान्तकारको दृष्टिकोणमा ।
    साहित्यको प्रयोजन वा साहित्यको उद्देश्यको विषयमा व्यापक विवाद रहेको छ । पूर्वीय काव्यशास्त्र अर्थात् साहित्यशास्त्रमा धर्म, अर्थ, काम र मोक्षलाई साहित्यको प्रयोजन मानिएको छ । यसैगरी, यश, आयु, कल्याण, बुद्धिविलास र लोकलाई उपदेश दिनु पनि साहित्यको प्रयोजनको रूपमा स्वीकारिएको छ । व्यवहारज्ञान, अमङ्गलनाश, परमानन्द, कान्तासम्मित, अन्तश्चमत्कारलाई पनि पूर्वीय साहित्यमा साहित्यको प्रयोजन स्वीकारिएको छ । बहुजन हितायलाई पनि पाश्चात्य साहित्यमा साहित्यको प्रयोजन थपिएको छ । नैतिक सन्तुष्टि, अहम्को प्रकाशन, धार्मिक दृष्टिले सुधारमुखी उपदेश, आत्मसन्तुष्टि, उदात्तता, सामाजिक उत्थान, सौन्दर्यको अभिव्यक्तिलाई साहित्यको प्रयोजन मानिएको देखिन्छ ।
    साहित्यको उद्देश्य यदि यति नै हो भने अहिले साहित्य लेखिन्छ किन ? पूर्वीय तथा पाश्चात्य साहित्यका विद्वान्हरूले तोकेबमोजिम तथा देखाएबमोजिमका उद्देश्यहरूमा आधारित साहित्यको सिर्जना यति धेरै गरिएका छन् कि यिनीहरूबारे अब साहित्य लेखिनु औचित्यहीन छ । आत्मप्रकाशन वा आत्मसन्तुष्टिलाई यदि छोड्ने हो भने अन्य उद्देश्य वा प्रयोजनसँग सम्बन्धित यदि धेरै साहित्य लेखिसकिएका छन् कि लेखिनुको औचित्य छैन । साहित्यका अनेक विधामा विश्वभरि यति धेरै साहित्य लेखिएका छन् कि सबैको अध्ययन र पठनले साहित्यको उद्देश्य पूरा गर्न सक्छ । साहित्यको अध्ययन र पठनको संस्कृति पहिलेअनुरूप नै छ त ?
    शिक्षा र चेतना बढेको मानिन्छ किनभने प्रमाणपत्रधारीको सङ्ख्या बढेको छ । शैक्षिक योग्यताका वैयक्तिक विवरणहरू बढ्दै जाँदा साहित्यको पठन र अध्ययन बढ्न सकेको छैन । शिक्षाले चेतना बढाउँछ भन्ने कुरा सत्य हो तर साहित्यको चेतना वा अध्ययनको चेतनामा वृद्धि गर्दछ भन्ने कुरो होइन । हरेक जिल्लामा यति धेरै कलेजहरू खुलेका छन् तर कुनै पनि जिल्लामा साहित्यका कृति कति बिक्री भएका छन् भन्ने तथ्यबाट पनि प्रस्ट छ ।
    साहित्यको लेखनमा कमी आएको छैन । साहित्यको पठनमा पनि तुलनात्मकरूपमा वृद्धि नै भएको हो । जनसङ्ख्या अत्यधिक बढेको कारण साहित्यसिर्जनामा केही वृद्धि भएको हो । साथै साहित्यसिर्जनामा केही मानिसहरू निकै तल्लीन भएर लागेका छन् । भाषा र साहित्यको सेवा गर्ने निष्काम व्यक्तिहरूको निरन्तरको प्रयासले आपूmलाई र अरूलाई पनि साहित्यको सेवामा लगाउने गरेका छन् ।
    साहित्य लेख्नेहरूले लेखिरहेका छन् । निरन्तर लेखिरहेका छन् । लेख्नेहरूलाई विषयवस्तुको कहिल्यै कमी हुने गरेको छैन । साहित्य लेख्नेहरूले विषयवस्तुलाई नयाँ रूपमा प्रस्तुत गर्ने गरेका छन् । नयाँ विषयवस्तु पनि पस्किने गरेका छन् । पुरानालाई नयाँ रूपमा पनि प्रस्तुत गर्ने गरेका छन् ।
    वास्तवमा साहित्यमा के लेखिने गरेको छ ?
    साहित्यमा लेखिनुपर्ने सबै कुरा पहिले नै लेखिसकेका छन् र अब केही पनि लेखिनलाई बाँकी छैन भन्नेहरूले पनि साहित्य लेख्ने गरेका छन् । साहित्यको मूल विषयवस्तुमा नकारात्मकता हुनुपर्छ वा हुनैपर्छ । जतिसुकै सानो वा लघुरचना भएपनि त्यसमा दुई प्रकृति हुनु अनिवार्य छ । साहित्यमा विरोधाभास हुनैपर्छ । हो, आत्मप्रकाशन वा आत्मसन्तुष्टि यदि सार्वजनिक प्रकाशनका लागि होइन भने द्वन्द्व हुनुपर्दछ । त्यो द्वन्द्व भनेको विरोधाभास पनि हो । साहित्यमा विरोधाभासको ठूलो महŒव छ । नकारात्मकता नै साहित्यलाई दिने जीवनमार्ग हो । के नकारात्मकता नै वर्तमान साहित्यको बीजतŒव हो त ?
    यात्रासाहित्य वा नियात्रा लेख्नेहरूले आपूmले देखेको र आपूmले भोगेको संसार देखाएर दुई परिवेशको आन्तरिक सङ्घर्षलाई उजागर गरेका हुन्छन् । कतैको मोहकतालाई प्रस्तुत गर्दा पढ्नेको मोहकतालाई अझ आकर्षित गरेको हुन्छ, जसले गर्दा पाठकमा साहित्यप्रति अभिरुचि वृद्धि हुन्छ । साहित्यको लेखनमा आप्mनो अभिरुचिको जति महŒव हुन्छ, अरूको अभिरुचिको पनि उत्तिकै महŒव हुन्छ । आत्मप्रकाशनले पनि अरूलाई प्रभावित पार्नुपर्दछ, यदि यो प्रकाशनयोग्य छ भने । हो, आत्मप्रकाशन वा सन्तुष्टिको लागि गरिने लेखनमा प्रकाशनतŒव रहन्छ भने अरूले पढ्ने के वा अरूले किन पढ्ने भन्ने पक्ष उत्तिकै बलियो भएर आउँछ ।
उसो भए साहित्यको वर्तमान बीजतŒव नकारात्मकता नै हो त ?
    एकजना साहित्यकारले के पनि भनेका छन् भने साहित्यको मुख्य विषयवस्तु अहिले भ्रष्टाचार हुन पुगेको छ । नैतिक भ्रष्टाचारलाई वर्तमान साहित्यबाट झिकिदिने हो भने लेख्न र पढ्नलाई शायदै साहित्य रहन्छ वर्तमानका । जताततै मान्छेका नैतिकतामाथि प्रश्न उठाइएका छन्, द्वैध चरित्रको पर्दाफास गरिएको छ, आचरणको घाम र छाया गरी दुई पाटोलाई देखाएका छन्, उज्यालोको अनुहार र अँध्यारोको चरित्रलाई रेखाङ्कन गरिएका छन्, सिद्धान्त र व्यवहारको विपरीतताप्रति प्रश्न उठाइएका छन्, जीवनको लक्ष्य र बाटोप्रति कटाक्ष गरिएका छन् । वास्तवमा यी कुराहरूलाई विचार गर्दा ती साहित्यकारका कुरामा विश्वास गर्न मन लाग्छ ।
    उसो भए साहित्य लेख्न बन्द गर्नु राम्रो हुन्छ त ? कदापि होइन । जसरी हरेक बालकलाई कुनै पनि शिक्षा प्रारम्भदेखि नै सिकाइन्छ वा सुरुआत गरिन्छ । त्यसैगरी, साहित्यमा लेखिएका कुराहरू पनि समयानुकूल फेरिफेरि र फेरि लेखिंदै जानुपर्दछ । हरेक वर्तमानले साहित्यमा आप्mनो भूमिकाको खोजी गर्नुपर्दछ । हरेक नकारात्मकतामाथि नकारात्मक साहित्य लेखिनुपर्दछ, जसमा सकारात्मकताको उज्यालो आशा होओस् । जबसम्म सबै किसिमका अँध्याराहरू हट्दैनन्, तबसम्म साहित्यमा पनि नकारात्मकता प्रमुख भएर आउनुलाई अस्वाभाविक मानिनुहुन्न । हो, अत्यधिक अँध्यारो समयमा अत्यधिक उज्यालोको आवश्यकता पर्दछ । कहिलेकाहीं उज्यालोलाई पनि उज्यालोको आवश्यकता पर्दछ । हो, सकारात्मक गन्तव्यलाई पनि सकारात्मक बाटो चाहिन्छ । सकारात्मक बाटोलाई पनि सकारात्मक विचार भएका बटुवा चाहिन्छ । सकारात्मक बटुवालाई सकारात्मक वातावरण चाहिन्छ । यस प्रकार सर्वत्र क्षेत्रमा सकारात्मकता भएपनि साहित्यले अझ सकारात्मकता किन खोज्छ भने फेरि कतै नकारात्मकताको बीउ वा अंश त बाँकी छैन ?
    यस अर्थमा नकारात्मकता नहुँदो हो त साहित्य नै जन्मिने थिएन भन्नु साहित्यमाथि अन्याय हो । साहित्यमाथि अन्याय हुँदा पनि साहित्य रमाउँछ । साहित्य किन आप्mनै अन्यायमाथि रमाउँछ भने यसमा त्यो सामथ्र्य रहेको छ । साहित्यका नौ रसमध्ये एक करुण रस पनि हो । करुण रसले रुवाउँछ । हो, यसले सम्पूर्ण क्षेत्रलाई ओगट्दछ भन्नुको कारण यही हो । यसको क्षेत्र विशाल छ वा यो विशालताभन्दा पनि विशाल छ भन्नुको कारण यही हो । जसरी विकासको चाहनाको सीमा हुँदैन, उसैगरी साहित्यको सीमा पनि सीमाविहीन छ । यसले नकारात्मकता मात्र बोक्दैन । नकारात्मकतालाई पनि चिनाउन नकारात्मकता बोकेको हो । जसरी अँध्यारोलाई पनि आप्mनो अनुहार देखाउन उज्यालो चाहिन्छ अर्थात् अँध्यारोको फोटो खिच्न पनि उज्यालो त चाहिन्छ नि । वर्तमान साहित्यमा देखिएको समाज सुधारको घनीभूत चाहनाले समाजमा चेतनाको एउटा नवीन प्रवाह
ल्याइरहेको छ, जसको प्रवाहमा आपैंm समाज हेलिएको थाहा पाएको छैन । कहिलेकाहीं आपूm गतिशील भएको थाहै हुँदैन र अरूलाई देखेपछि उही
गतिशील लाग्दछ, आकाशमा कहिलेकाहीं चन्द्रमा हिंडेको र बादल स्थिर
बनेकोजस्तै । आपूm बसेको र रेलबाहिरको सबै दृश्य गतिमान बनेको जस्तै भ्रम साहित्यमा नकारात्मकताको सन्दर्भ पनि हो कि ?

Friday, November 1, 2019

छठको विस्तार कसरी हुन पुग्यो विश्वव्यापी ?

छठको विस्तार कसरी हुन पुग्यो विश्वव्यापी ?


सञ्जय मित्र
    महाभारतको एउटा किंवदन्तीसित छठको सम्बन्ध रहेको सामाजिक मान्यता छ । कस्तो किंवदन्ती रहेको छ भने पाण्डवहरूले चौध वर्षको वनबास र एक वर्षको अज्ञातबास पाएकोमा अज्ञातबासको सफलताको लागि द्रौपदीले छठपूजा गरेकी थिइन् । एक वर्षको अज्ञातकालमा पाण्डवलाई कौरवपक्षले पत्ता लगाउन सकेको खण्डमा बा¥ह वर्षको वनबास पुनः प्रारम्भ हुने र त्यसको अन्त्यमा फेरि एक वर्ष अज्ञातबास बस्नुपर्ने हुन्थ्यो । अज्ञातबास शुरू हुनुभन्दा पहिले नै वनबास समाप्तिको अन्तिम समयमा पाण्डव तथा उनकी पत्नी द्रौपदीलाई अज्ञातबासको चिन्ताले सताउन थालेको थियो । कौरवका गोप्य दूतहरू जताततै थिए । अज्ञातबासको समयमा आपूmलाई कसरी जोगाउने भन्ने चिन्ता लागेको थियो । यसै समयमा एक रात द्रौपदीले देवी छठीको कठिन व्रत गरेमा अज्ञातबास सफल हुने सपना देखिन् । द्रौपदीले आपूmले देखेको सपना सबैलाई बताइन् । सबैजना धार्मिक प्रवृत्तिका थिए– सपनामा देखे अनुसार सबैको सल्लाहले द्रौपदीले कठिन छठव्रत गरिन् । व्रतको प्रभावले पाण्डवहरूको अज्ञातबास सफलतापूर्वक पूरा भएको देखिन्छ ।
कुन ठाउँमा भएको थियो पहिलो छठ
    मान्यताको आधारमा द्रौपदीले पहिलोपटक गरेको छठ वर्तमान रौतहटको समनपुर हो ।
    साक्ष्य ः प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा भुटनदेवी मन्दिर छ । यो मन्दिर निकै प्रसिद्ध छ । भुटनदेवीलाई हिडिम्बा भएको मानिन्छ । हिडिम्बाको विवाह महाभारतका प्रसिद्ध पात्र भीमसेनसित भएको पाइन्छ । भीमसेन र हिडिम्बाको संयोगबाट घटोत्कचको जन्म भएको थियो । त्यहीं हिडिम्बाको नामबाट कालान्तरमा यस बस्तीको नाम हेटौंडा भएको मानिन्छ ।
    गत वर्ष २८ कात्तिक २०७५ मा रवीन्द्र घिमिरे र राजन घिमिरेले ‘त्यो हेटौंडा, यो हेटौंडा’ शीर्षकमा अनलाइनमा लेखेको संयुक्त रिपोर्टमा पनि हेटौंडाको नामकरण हिडिम्बाको दाजु हिडिम्ब राक्षसको मृत्युपछि उनैको नाममा हेटौंडा बस्ती बस्न गएको किंवदन्ती रहेको उल्लेख गरेका छन् । यसबाट पनि महाभारतकालको वनबासको केही समय यस क्षेत्रमा बिताएको पुष्टि हुन्छ ।
    महाभारत युद्धमा भीमसेन र हिडिम्बाका छोरा घटोत्कचको मृत्यु कर्णको बाणबाट भएको थियो । महाभारत युद्ध सकिएपछि भीमसेन छोराको मृत्युको खबर पत्नी हिडिम्बालाई सुनाउन हतारिएका थिए । हिडिम्बा भएको ठाउँमा आउँदै गरेका भीमसेनले परैबाट आप्mनो हतियार गदा फालेका थिए । उनको गदा फालिएको ठाउँ नै हेटौंडा उपत्यका बनेको जनविश्वास रहेको छ । चुरे र महाभारत पर्वत शृङ्खलाको हेटौंडादेखि फुर्केचौरसम्मको पहाड उनले फालेको गदाले चकनाचुर भएको थियो । यो ठाउँको लम्बाइ करीब सो¥ह किलोमिटर रहेको छ ।
    रौतहटको गढीमाई नगरपालिकाको समनपुर ऐतिहासिक तथा पौराणिक घटनाहरूको आपैंmमा साक्षी छ । नेपाल–अङ्ग्रेज युद्धको समयमा स्थानीयवासीले नै तोप तथा अन्य अत्याधुनिक हातहतियारले सुसज्जित अङ्ग्रेजी फौजलाई हराएको ऐतिहासिक ठाउँ हो । यस बजारको सम्बन्ध प्राचीन इतिहाससित पनि रहेको छ । तत्कालीन नेपाल (काठमाडौं) र पाटलीपुत्र (पटना)को व्यापार बागमती नदीको किनारै किनार हुँदा समनपुर ठूलो व्यापारिकस्थलको रूपमा थियो । प्रसिद्ध विद्वान् प्राडा योगेन्द्रप्रसाद यादवले यहीं समनपुरमा केही समय प्रसिद्ध चिनियाँ यात्री हु–एन–साङ आएर बसेका थिए भन्ने उल्लेख गरेका छन्, एउटा अनुसन्धानमा । यसै बजारनजीक एउटा महादेव मन्दिर रहेको छ । महादेव मन्दिर स्थापनाको विषयमा प्रचलनमा रहेको किंवदन्ती पनि महाभारतसितै सम्बन्धित रहेको छ ।
    पाण्डवहरूले अज्ञातबासको सुरुआत यहींबाट गरेका थिए । द्रौपदीले बागमती नदीको किनारमा छठव्रत गरेपछि अज्ञातबासको लागि पाण्डव एउटा सुरुङमा पसेका थिए । सुरुङभित्र पसेपछि सुरुड्ढो प्वाल बाहिरबाट बन्द गर्न मुखैमा एउटा ढुङ्गा हालेका थिए । सुरुङभित्र चार दाजुभाइ, द्रौपदी र आमा पसिसकेपछि सबैभन्दा पछि पसेका भीमसेनले सुरुङ नदेखियोस् भन्ने उद्देश्यले सुरुड्ढो मुखमा ढुङ्गा हालेका थिए । आज पनि के विश्वास रहेको छ भने महादेवमाथि जतिसुकै जल चढाए पनि पानी कहाँ जान्छ भनेर थाहै हुँदैन । सुरुड्ढो मुखमाथि ढुङ्गा राखिएकोले पानीजति सुरुङम पस्दछ भन्ने विश्वास स्थानीयवासीको छ । सुरुङमा पसेर अज्ञातबास शुरू गरेका पाण्डवहरू बागमती नदीपारि गएर केही दिनको यात्रापछि विराटनगरका राजा विराटको दरबारमा भेष बदलेर पुगेका थिए, जहाँ उनीहरूले अज्ञातबास पूरा गरेका थिए ।
    महादेव भनेर पूजा भइरहेको ढुङ्गा भीमसेनले ल्याएको हो भन्ने विषयमा पनि स्थानीयवासीमा फरक विश्वास रहेको छ । हिडिम्बासित बिहे भएपछि केही समय हेटौंडाकै आसपासमा रहेको जङ्गल तथा पहाड र नदी किनारमा विहार गरेका थिए । यसैक्रममा चुरे पहाडमा पनि बागमतीको किनारमा गएका थिए । एक दिन भीमसेनले पहाडको टुप्पोमा पुगेर ख्यालख्यालमैं एउटा ढुङ्गा फालेका थिए । त्यहीं ढुङ्गा केही समयपछि उनलाई सुरुड्ढो मुखमा हाल्न काम लागेको थियो ।
    द्रौपदीले अज्ञातबासको सफलताको लागि छठ गरेको र अज्ञातबास प्रारम्भ भएको ठाउँ रौतहटको समनपुरमा रहेकोले छठको सुरुआत रौतहटको समनपुरबाटै भएको हो भन्न सकिन्छ ।
    छठपूजामा प्रयोग गरिने सम्पूर्ण सामग्री तथा विधिविधानलाई राम्ररी विचार गर्ने हो भने सम्पूर्ण सामग्री यस क्षेत्रकै किसानको घरखेतका नै रहेबाट पनि यसको पुष्टि हुन्छ ।
विश्वविस्तार
    बागमती नदी किनारमा रहेको समनपुर छठको उद्गमस्थल हो । नदी किनारमा छठको प्रारम्भ भएको र अज्ञातबासजस्तो कठिन कार्य सफल भएकोले छठपर्व नदी किनार र जलाशयमा नै हुन थालेको देखिन्छ । तत्कालीन समनपुरको सीधा सम्बन्ध पाटलीपुत्र र कान्तिपुरसित रहेको थियो । तत्कालीन अवस्थामा संसारको सबैभन्दा ठूलो युद्ध भएको र युद्धको कथाका साथै द्रौपदीप्रति सबैको सहानुभूति रहेकोले यस पर्वले विस्तार पाएको थियो । तर यसबारेमा कसैले उल्लेख किन गरेनन् भने यस पर्वमा कुनै शास्त्रीय देवदेवीको पूजा कुनै शास्त्रीय विधिअनुकूल गरिएको थिएन ।
    द्रौपदीले पहिलोचोटि छठव्रत गरेको कुरो बारम्बार विभिन्न मिडियाहरूले उल्लेख गर्ने गरेका छन् ।
    छठको विस्तार यसै क्षेत्रबाट भएको हो । सबैभन्दा प्रचलित क्षेत्र पनि यहीं नै हो । बिस्तारै यहाँबाट छठ पूर्व, पश्चिम, उत्तर र दक्षिणतिर पैmलँदो छ । यस क्षेत्रका बासिन्दा विभिन्न कारणले जताजता र जहाँजहाँ पुग्दैछन्, आप्mना अन्य संस्कृति बिर्से पनि छठलाई भने बिर्सेका छैनन् । छठपर्वको रूपमा मात्र नभई सांस्कृतिक जिनको रूपमा मन, मस्तिष्क तथा जीवनको एउटा अङ्गको रूपमा स्थापित भइसकेको छ । यस कारण यसको विस्तार विश्वव्यापी हुँदो छ ।

Friday, October 25, 2019

साहित्यको सम्मान र महाकवि देवकोटा

साहित्यको सम्मान र महाकवि देवकोटा

सञ्जय मित्र
    नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मानिएको छ ।
    देवकोटाको जन्म २७ कात्तिक १९६६ मा काठमाडौंमा भएको हो । त्यो वर्ष त्यस दिन लक्ष्मीपूजा थियो । तराई मधेसमा दीपावली र अन्यत्र लक्ष्मीपूजा भनेर त्यत्ति बेला चिनिने यो पर्वकै दिन राति लक्ष्मीको पूजा गरिसकेपछि जन्म भएकोले लक्ष्मीको प्रसाद मानेर यिनको नाम नै लक्ष्मीप्रसाद राखिएको थियो । कालान्तरमा यिनी लक्ष्मीप्रसाद बन्नुभन्दा सरस्वतीप्रसाद बन्न पुगेका थिए ।
    देवकोटाको जीवन निकै उतारचढावपूर्ण रहेको थियो । धनको लागि कहिल्यै उनी मरिहत्ते गरेनन् । आप्mनो आदर्श बनाए लेखनको मर्मलाई । मानवतावादका उनी आपैंmमा उदाहरण थिए । मानिसलाई नै देवता मान्दथे । ईश्वरमाथि विश्वास थिएन भन्ने होइन । दुःखी र पीडितको भावमा ईश्वरको बोली हुन्छ भन्ने उनका रचना र जीवनदर्शन तथा व्यवहारले अन्य धेरैलाई पनि मानवतावादको बाटोमा डो¥याउन सफल भएका थिए ।
    देवकोटाले साहित्यका प्रायः सबैजसो विधामा कलम चलाएका छन् । उनको लेखनीको जादूले तत्कालीन विश्वका साहित्यकारहरू मोहित भएका थिए । एकजना प्रसिद्ध भारतीय साहित्यकारले देवकोटाको प्रतिभाको प्रशंसा गर्दै भनेका थिए– पन्त, प्रसाद, निरालाको समन्विति देवकोटा हो ।    त्यति बेला भारतमा छायावाद उत्कर्षमा थियो । बङ्गाली कवि रवीन्द्रनाथ टैगोरको छायावादले भारतमा निकै चर्चा पाएको थियो । पाश्चात्य साहित्यमा भने रोमान्टिज्मले केही दशकदेखि प्रभुत्व जमाएको थियो र भारतमा तत्कालीन अवस्थामा रहेको ईश्वरभक्तिको मूल भावनाबाट छायावाद केही हदसम्म प्रभावित थियो । त्यसैको थोरबहुत प्रभाव देवकोटामा पनि परेको देखिन्छ । देवकोटाको प्रभावमा छायावाद आइसकेपछि नेपालीमा स्वच्छन्दतावाद धारा कहलिएको हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको प्रारम्भकर्ता पनि देवकोटालाई नै मानिन्छ र उनी नै यस धाराका केन्द्रीय प्रतिभा पनि हुन् ।
    छायावादको अनुकरण हो स्वच्छन्दतावाद कि अनुवाद हो भन्ने विषयमा बहस गर्न सकिन्छ । कतिपयले छायावादकै नेपालीकरण अर्थात् नेपाली मौलिक विशेषतासहितको छायावाद नै स्वच्छन्दतावाद हो भनेका छन् ।
    मुक्तक गीति शैली अर्थात् वैयक्तिकता, भावात्मकता, साङ्गीतिकता, संक्षिप्तता, कोमलताका साथै प्रतीकात्मकता, प्राचीन एवं नवीन अलङ्कारहरूको प्रचुर मात्रामा प्रयोग, मानवीकरण, विरोधाभास तथा कोमलकान्त संस्कृतमय शब्दावलीलाई छायावादका विशेषता मानिएको पाइन्छ । छायावादको विषयमा त्यत्ति धेरै प्रकाश पारिएको पाइन्न जति धेरै स्वच्छन्दतावादको विषयमा चर्चा गरिएको पाइन्छ । नेपाली काव्यधारामा पनि स्वच्छन्दतावाद सबैभन्दा बढी चर्चा गरिएको साहित्यिकवाद हो ।
    हुनत देवकोटा कवि हुन् । अझ उनलाई सबैले कवि भनेर चिन्दछन् । तर उनी कवि नभएका भए के हुन्थे ? भनेर प्रश्नको जवाफ खोजी गर्ने हो भने निबन्धकार आउँछ उत्तरमा । हो, उनी निबन्धकार कहलाउँथे । अहिलेसम्म नेपाली साहित्यमा महानिबन्धकार कसैलाई किन भनिएको छैन भने देवकोटाको निबन्धात्मक उचाइ बराबरको निबन्ध अरू कसैले लेख्नै सकेनन् । हो, अमूर्त निबन्धलेखनमा शङ्कर लामिछानेले निकै ठूलो उचाइ प्राप्त गरेका छन्, यसमा कसैको विमति छैन तर देवकोटाको निबन्धको उचाइसित कसैको तुलना नै गर्न मिल्दैन भन्ने तर्क पनि कमजोर होइन । सर्वसाधारणले पनि देवकोटालाई महाकविको रूपमा स्वीकार गरेकोले पनि उनी महाकविमा सीमित भएका हुन् । हो, देवकोटालाई महाकविमा सीमित गरिएको पनि भन्छन् किनभने देवकोटा काव्य क्षेत्रका मात्र महान् सर्जक थिएनन् । उनको सिर्जनाको आयाम नेपाली साहित्यमा तत्कालीन अवस्थामा प्रचलनमा रहेका प्रायः सबैजसो विधासम्म पैmलिएको हुनाले उनलाई महासाहित्यकार किन नभन्ने ? भन्नेतर्पm यदाकदा उठ्ने गरेका छन् ।
    हुनत साहित्यको पर्यायको रूपमा कवितालाई पहिले नलिइएको होइन । काव्य भनेपछि कविता मात्र नबुझेर सम्पूर्ण साहित्य नै बुझिने युग पनि थियो । यस कारण कवि भनेपछि कविता लेख्ने मात्र नबुझेर साहित्यको जुनसुकै विधामा कलम चलाउने हुन् भनेर बुझिन्थ्यो । आजसम्म पनि यस धारणाबाट हाम्रो समाज पूर्णरूपमा मुक्त हुन सकेको छैन । कवि भनेर सम्पूर्ण साहित्यसर्जकलाई बुझाउनुलाई अस्वाभाविक पनि मानिन्न । साहित्यकारहरूले पनि यसलाई स्वीकार गरेको पाइन्छ । यस तर्कको आधारमा देवकोटालाई महाकवि भन्नु महासाहित्यकार मान्नु पनि हो ।
    यदि स्वच्छ शब्दको अर्थ सफा र मनमोहक हो भने देवकोटाको परिचय निरन्तर स्वच्छन्द विस्तार भइरहेको छ । देवकोटाको परिचयलाई कुनै छायाले छेक्न सकेको छैन । कसैले छेक्ने प्रयास पनि गरेको छैन । देवकोटाका समकालीनहरूमध्ये शायदै कसैले उनको आलोचना गरेका होलान् । यसको विपरीत देवकाटाका समकालीन तथा अग्रज साहित्यकारसमेतले उनको गर्नुसम्म प्रशंसा नै गरेका छन् । देवकोटाको प्रशंसाले देवकोटाको आयामलाई विस्तार गरेको हो जस्तो लाग्दैन । बाध्यतावश देवकोटाको प्रशंसा गरेका उदाहरणहरू पर्याप्त छन् । देवकोटाको आलोचना गर्न नसकेर पनि प्रशंसा गरेका हुन् ।
    वास्तवमा साहित्यको क्षेत्रमा भर्खर लागेकाहरूले अग्रजहरूलाई सोझो प्रश्न गर्दछन् कि मैले कुनै एकजनाको दुई/चार वटा कृति पढ्नु पर्दा पहिले कुन साहित्यकारको कृति पढूँ ? तब सजिलै जवाफ दिन बाध्यता हुन्छ कि देवकोटाको । हो, यदि प्रश्नमा अरू केही विशेषण थपिएको छ भने त्यसको उत्तर फरक आउन सक्ला तर देशको नेपाली भाषाको सबैभन्दा ठूलो साहित्यकार, देशको सर्वोत्कृष्ट साहित्यकार तथा सर्वोच्च साहित्यकारको रूपमा कसैले आपूmलाई वा देवकोटाबाहेक अन्यलाई चिनाउने हिम्मत गरिहाल्ने अवस्था आएको छैन ।
    देवकोटाको भौतिक देहावसान भएको पचासौं वर्ष बितिसकेको भएपनि उनको ठाउँमा, उनको साहित्यिक उचाइको ठाउँमा, उनलाई छायामा पार्ने गरी कोही आउन नसक्नुमा देवकोटाको समर्पण, त्याग र साहित्यमा भएको लगानी नै हो । देवकोटा अद्वितीय प्रतिभाका थिए । उनी नेपाली साहित्यका वरदान नै थिए । साहित्य उनको जीवन थियो । यसैले उनी आप्mनो जीवनजस्तै साहित्यमा पनि बग्दै गए । उनको प्रतिभाको विस्तार हुँदै गयो । साहित्यमा विचारको परिमार्जन हुँदै गयो । हुन सक्छ प्रारम्भमा देवकोटालाई साहित्यले चिनाएको होला तर नेपाली साहित्यलाई देवकोटाले चिनाएका हुन् । देवकोटाको लेखनको स्तरले नेपाली साहित्यको स्तरवृद्धि भएको हो । उनको लेखनीले नेपाली भाषाको स्तरमा पनि वृद्धि भएको हो । नेपाली साहित्यको मान र सम्मान विश्वमा वृद्धि भएको हो ।
    देवकोटाले धेरै कृति लेखे । धेरै कृति लेख्नु ठूलो कुरो होइन । कृतिको सङ्ख्या अन्य साहित्यकारको पनि धेरै हुन सक्छ । ती कृतिले नेपाली साहित्यमा दिएको योगदान तथा नेपाली समाजले प्राप्त गरेको उपलब्धिसमेतलाई पनि विचार गर्नुपर्छ । देवकोटाको मुनामदन कृति नेपाली साहित्यमा अहिलेसम्म सबैभन्दा बढी बिक्री हुने पुस्तकको रूपमा रहेको छ ।
    देवकोटाको जन्म केका लागि भएको थियो ? सम्भवतः अध्यात्मवादीहरूले यस प्रकारको पनि उत्तर दिन सक्लान्– उनी साहित्यकै लागि जन्मिएका थिए ।
    नेपाली साहित्यमा छायावादको प्रवेश, स्वच्छन्दतावादको उन्नयन तथा प्रगतिवादी साहित्यको प्रवद्र्धनमा देवकोटाको योगदान नेपाली साहित्यको अमूल्य सम्पत्तिको रूपमा रहेको छ ।

Friday, October 18, 2019

को हुन् सात बहिनी जगदम्बा ?

को हुन् सात बहिनी जगदम्बा ?


सञ्जय मित्र
    देहातको हरेक गाउँ जहाँ हिन्दूको बसोबास छ, त्यस गाउँमा ब्रह्म भगवतीको मन्दिर हुन्छ नै । गाउँमा ब्रह्म भगवती भनिए पनि सात बहिनी जगदम्बाको स्थान पनि भनिन्छ । सात बहिनी जगदम्बालाई कतिपय स्थानमा राम्रो मन्दिर बनाएर पूजा गरिएको पाइन्छ भने कतै परम्परागत गहबर शैलीको मन्दिरमा नै पूजा भइरहेको छ ।
    ब्रह्म भगवतीको महŒव कति छ भने आजसम्म कुनै पनि गाउँमा कतैबाट जन्ती आउँदा दुलहालाई दुलहीका पिताको घरमा लैजानुभन्दा पहिले ब्रह्म भगवतीमा अवश्य ढोग्न लगाउन लगिन्छ । यसैगरी, गाउँबाट जन्ती लिएर दुलहा निस्कँदा वा गाउँमा कोही केटीको बिहे हुँदा ब्रह्म भगवती पूजा अनिवार्य हुन्छ । यो आम संस्कृति हो । आजसम्म यसलाई जस्ताको त्यस्तै निर्वाह गरिंदै आएको छ देहात समाजले ।
    वर्षमा कमसेकम एकचोटि ब्रह्म भगवतीको गमाला (सार्वजनिक) पूजा अवश्य हुन्छ गाउँमा । वर्षभरि पूजा भइरहन्छ तर गमाला पूजा चाहिं दशैंको महानवमीको दिन हुन्छ अधिकांश गाउँमा । यसै दिन हुनुपर्छ भन्ने होइन तर अधिकांश गाउँमा गमाला पूजा दशैंमा नै गरिन्छ । हरेक शुभ कार्यमा ब्रह्म भगवतीको पूजा गरिन्छ नै । हरेक शुभ दिनमा ब्रह्म भगवतीलाई मानिसले पूजा नगरी हुँदैन । हरेक धार्मिक यात्राको शुभारम्भ गर्दा ब्रह्म भगवतीलाई पूजा गरेर मात्र बाहिरको यात्रा गर्ने आम चलन छ ।
    ब्रह्म भगवतीमा भगवती भनेका को हुन् त ? मनमा धेरै वर्षदेखि खुल्दुली रहेको थियो । भगवतीको गहबरमा सातवटा स्थान बनाइएको हुन्छ प्रायः । लोकव्यवहारमा पनि सात बहिनी जगदम्बाको कुरा आउँछ । जबकि दशैंमा दश रूपको पूजा हुन्छ । दशैंमा दुर्गा पूजामा दुर्गासमेत दशजनाको पूजा दश दिन हुने तर गाउँको गहबरमा भने सात बहिनी भनेर पूजा हुने । दुर्गा पूजाका दश देवीमध्ये सात देवी उनै हुन् कि फरक हुन्जस्ता जिज्ञासा पनि कहिलेकाहीं मनमा उठ्थ्यो । खुल्दुलीलाई शान्त पार्न सक्ने सामथ्र्य भएका तथा नझर्किने र जानेको कुरो बताइदिने व्यक्तिको खोजीमा थिएँ ।
    मध्य रौतहटको सम्भवतः सर्वप्राचीन गाउँ पुर्नीगेडही हो । त्यहाँको गहबरमा वर्षौंवर्ष पूजा गरेका एकजना भक्त छन्, जसले अहिले आप्mनो परम्परागत धार्मिक मत बदलेका छन् । हिन्दू धर्म परिवर्तन गरेका चाहिं होइनन् । हिन्दू धर्मकै एक सम्प्रदायसित बढी नजीक भएका छन् । उनी हुन् ५१ वर्षीय उचित मुखिया बिन । उनले मेरो जिज्ञासा शान्त पार्न सक्छन् र खुल्दुली मेटाउन सक्छन् भन्ने विश्वास थियो मलाई । उनले जे बताए विस्मित हुने गरी । लोकविश्वास, लोकमान्यता वा मिथक जे नाम दिएपनि उनको तर्कमा भने नवीनता छ ।
    सात बहिनी जगदम्बा भनेर गहबरमा स्थान भएकामा बुढियामाई, पूmलमत, राजल, शीतल, डकही, बगेसरी र जगदम्बा हुन् । यी सात बहिनी आजन्मा हुन् अर्थात् मातापिता छैनन् । बुढियामाई भनेका आदशक्ति (सम्भवतः आद्यशक्ति) हुन् । उनैबाट सृष्टिको सृजना भएको हो । ब्रह्मा, विष्णु र महेश बुढियामाईकै सन्तान हुन् । बुढियामाईकै नाभी (नाइटो)बाट ब्रह्मा, विष्णु र महेशको उत्पत्ति भएको हो । सरस्वती, लक्ष्मी र पार्वती तीनै बुढियामाईकै रूप हुन् । बुढियामाईको इच्छा अनुसार आप्mनै सन्तानसित सृष्टि चलाउन विभिन्न स्त्रीरूपमा ब्रह्मा, विष्णु र महेशसित बिहे भएको हो ।
    दशैंको अवधिमा पूजा गरिने देवीहरूमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री हुन् र यस अवधिमा महाकाली, महालक्ष्मी तथा महासरस्वतीको पनि आराधना गरिन्छ । हरेक दिन एक देवीको दिन मानिन्छ र दशमीको दिन दुर्गा भगवतीको पूजा गरिन्छ भन्ने मान्यता छ ।
    दशैंको अवधिमा गरिने देवीहरूको पूजा र देहातका सात बहिनी जगदम्बाको नाम हेर्दा मेल खाएको अवस्था देखिंदैन । दशैं जसरी औपचारिक र शास्त्रीय पर्व हो । दशैंमा पूजा गरिने देवीहरू पनि शास्त्रीय देवीहरू हुन् । यी देवीहरूको पूजाको विधान पनि छ तर देहातका गहबरमा पूजा गरिने देवीहरूको नाम हेर्दा शास्त्रीय देवीजस्तो देखिंदैन । हुन सक्छ मलाई नाम बताउनेलाई थाहा नभएको होला वा दशैंका शास्त्रीय देवीहरूको अर्को नाम नै बिनले बताएका नामहरू होलान् तर पूजाको विधिविधान पनि लोकमान्यताअनुरूपकै छ । देहातको गहबरमा पूजा गर्ने परम्परागत शैली रहेको छ । पूजा गराइदिन कोही अरू मान्छे नचाहिने रहेछ अर्थात् यसमा पण्डितजी र साधु महाराजको आवश्यकता नपर्ने देखिन्छ ।
    एक/दुई होइन, सैकडौं वा हुन सक्छ हजारौं गाउँमा ग्रामदेवीको रूपमा सर्वपूजित सात बहिनी जगदम्बा लोकदेवी हुन् कि ? ब्रह्मा, विष्णु र महेशलाई जन्माउने, जगत्को उद्धार गर्ने तथा सृष्टिमा मानवजीवनको सुरुआत गर्ने सम्बन्धमा रहेका लोकमान्यताहरूको पनि आप्mनो मूल्य हुनुपर्छ । यो लोकमान्यता निकै मूल्यवान् छ । भक्त बिनले जुन मिथक सुनाए, त्यसको लोकसांस्कृतिक मूल्य उच्च छ ।
    मध्य रौतहटको देहाती समाजको लोकमान्यता र अन्यत्रको लोकमान्यतामा पार्थक्य पनि पाइएला । यिनीहरूका पनि अध्ययन जरुरी छ । कुनै पनि कुराको अन्ध अनुकरण गर्नेहरू छन् तर त्यसपछाडिका कारणबारे जान्न चाहने निकै कम हुन्छन् । गहबरमा पूजा नगर्ने देहाती शायदै कोही होलान् तर मैले कसलाई पूजा गरें भनेर ठोस जानकारी नराखी परम्परागत लोकमान्यताप्रति अन्धविश्वास गरेर परम्पराको निर्वाह गर्दछन् । आपैंmलाई सन्तुष्ट बनाउने अर्थात् आत्मसन्तुष्टि वा मानसिक सन्तुष्टि लिने पूजा कतिपयको लागि देखावा मात्र पनि हुन्छ । कतिपयले अन्तर्हृदयदेखिको श्रद्धा पोख्तछन् ।
    हाम्रो समाजमा रहेका अनेक लोकमान्यता वा मिथकहरू हराइरहेका छन् । मिथकको वैज्ञानिक आधार हुँदैन, शास्त्रीय पुष्टि हुँदैन तर लोकमान्यतामूलक सम्पत्ति हुन्छ । यस प्रकारको सम्पत्तिको संरक्षण देश विदेशमा भइरहेको छ । समाज नै संरक्षणको लागि अगाडि सरेको छ । हामीकहाँ नेपाल प्रज्ञा प्रतिष्ठानले भने अलिकति काम गरेको देखिन्छ तर सीमित । आधुनिक युवाहरूको लागि मूल्यहीनजस्ता लाग्ने यस्ता सम्पदाहरू अत्यन्त तीव्र गतिमा क्षय भइरहेका छन् । क्षयीकरणबाट जोगाउने पो कसरी ?

Friday, October 11, 2019

दशैं ः एक सांस्कृतिक फ्युजन

दशैं ः एक सांस्कृतिक फ्युजन


सञ्जय मित्र
    सीमाञ्चल क्षेत्रको दशैंलाई आधार मान्ने हो भने जति पाइलो उत्तर वा दक्षिण बढ्छ, मान्ने प्रक्रियामा पार्थक्यको मात्रा बढ्दै जान्छ । उत्तरमा चुरे पहाडको फेदीसम्म पुग्दा सीमाको दशैंभन्दा धेरै भिन्न भइसक्छ । सीमालाई नाघेर दक्षिणतिर जाने हो भने चुरे पहाडको फेदभन्दा नितान्त फरक दशैंको स्वरूप देख्न पाइन्छ ।
    पर्व दशैं नै हो । मान्ने तरीका फरक छ । दशैं मुख्य पर्व भएपनि यसको मान्ने संस्कृतिमा भने भिन्नताले यसको स्वरूप अन्यत्र पनि फरक होला भन्ने अनुमान गर्न सजिलो हुन्छ । सञ्चारमाध्यमहरूले भारतमैं विजयादशमीको दिन कतै रावणको पूजा गरेको र कतै रावणलाई पूरै नकारात्मकरूपमा प्रस्तुत गरी मनाइएको देखिन्छ । दशैंको मान्यता फरक रहेको सन्दर्भ अन्य पनि छन् ।    दशैंमा सामान्यतया महिषासुरलाई दुर्गाले मारेको मूर्ति बनाइन्छ । दुर्गालाई भगवती र पृथ्वीको उद्धारकर्ता तथा सबै भक्तजनलाई मनोवाञ्छित फल दिने मानिन्छ । यसको विपरीत महिषासुरलाई संसारको सबैभन्दा ठूलो खलनायकको रूपमा प्रस्तुत गरिन्छ । विज्ञान र प्रविधिले यति धेरै विकास गरिसकेको छ तर अन्धविश्वासमाथिको विश्वास झन् बढेको छ । महिषासुर शब्दमा महिष र असुर गरी दुई शब्द छन् । महिषको अर्थ भैंसी हुन्छ र असुर भनेको सुर होइन । सुर भनेको देउता हो । देउता पनि एक जाति हो र देवताको जाति नहुनु असुर हुनु हो । अर्थात् असुर हुनु राक्षस हुनु होइन र पहिले पनि यसै स्तम्भमा लेखिसकेको छु कि राक्षस पनि एक जातको रूपमा अस्तित्वमा रहेको थियो । राक्षसको काल्पनिक चित्र वा मूर्ति अहिले देखाइएजस्तो होइन कि अन्य मानिसजस्तै हुन्थे । जातिगत विभेद विकराल थियो र राक्षसलाई सबैतिरबाट आक्रमण गरियो र उनीहरूले पनि आप्mनो जात लुकाए वा कालान्तरमा जात परिवर्तन गर्दै गए ।
    यसपालिको दशैंमा फेसबूकमा एउटा चित्र प्राप्त भयो । चित्रले यस कुरालाई पुष्टि गरेको छ । फेसबूकमा पाएको चित्र यहाँ प्रस्तुत छ । यस चित्रले कसैलाई नकारात्मक असर पु¥याउँछ भने क्षमायाचना गर्छु । कसैको भावनामाथि ठेस पु¥याउनु यसको उद्देश्य होइन । मैले यो चित्रको विषयमा कतिपय अग्रजसित सल्लाह गरेको छु र फेरि पनि क्षमायाचना गर्छु कि यसको भावले कसैलाई ठेस पु¥याउन पुग्छ भने । फेसबूकबाट लिइएको यो चित्रले महिषासुरलाई भैंसीपालकहरूको राजा स्वीकारिएको छ । नेपालको इतिहासलाई हेर्ने हो भने यहाँ पनि प्राचीनकालमा महिषपाल वंशको शासन रहेको थियो । नेपालका महिषपाल शासक र यस चित्रमा भनिएको वंशबीचको सम्बन्धबारे खोजीनिती गर्नु जरुरी छ । काठमाडौं उपत्यकामा लामो समय राज्य सञ्चालन गरेका महिषपाल वंश कहाँ गए र अहिले कता छन् तथा तिनका वंशका अहिले को को छन् भन्ने कुरो पनि खोजीको विषय हो र यहाँ चित्रमा भनिएको वंशको सम्बन्ध यहाँ आपूmलाई सोही जाति वा थरको जस्तो लाग्ने मानिसबीच सम्बन्ध हुन वा नहुन पनि सक्छ । कारण एउटै थर भएका मानिसका अनेक जात हुन्छन् र एउटै जातमा अनेक थर पनि हुन सक्छन् । एउटै पिताका अनेक सन्तानमध्ये सबैको रूप, रङ्ग, स्वभाव, शारीरिक बनावट, बुद्धि र बल, वृत्ति आदिमा फरक पर्दछ भन्ने कुरो पनि हामीले बुझेका छौं । साथै भूगोल, समयको अन्तराल र तत्कालीन समाजको प्रभाव पनि मानिसको व्यक्तित्वमा परेको हुन्छ । यस चित्रका सम्बन्धमा यी पक्षमाथि विचार पु¥याउनु पनि आवश्यक छ ।
    गाउँ, काँठ र शहरमा मनाइने दशैंमा भिन्नता छ । गाउँमा अभैm पनि दशैंको जुन रूप छ, काँठ र शहरको तुलनामा त्यहीं नै मौलिक हो । यद्यपि दशैंले वैश्विक परिवर्तनलाई निरन्तर स्वीकार गर्दै गएको छ । दशैंलाई कसरी मान्ने भन्ने विषयमा बालबालिका, त्यहीं समाजका युवा र बाहिर काम गर्ने युवा, प्रौढ र ज्येष्ठ नागरिकका मन बाझिएको पाइन्छ । यसको अर्थ यो पनि हो कि दशैं मनाउनेसम्बन्धी हाम्रो दृष्टिकोणमा पनि स्थिरता रहेको छैन । दशैंको मान्यतामा प्mयुजन त छ नै मान्ने तरीकामा पनि छ ।
    नयाँ लुगा किन्नै पर्ने, घरआँगन सफा गरी सकेसम्म रङ्गरोगन गर्नुपर्ने तथा वर्षभरिका सबै पर्वमध्ये ठूलो पर्वको रूपमा दशैंलाई मान्ने र सामान्य धार्मिक पर्वको रूपमा मान्दै भाकल गरिए अनुसार बलि प्रदान गर्ने गरी दुई किसिमका सांस्कृतिक अन्तर्घुलनले दशैंमा जीवन्तता थपेको छ । विजयादशमीको दिन निधारमा टीका लगाउने वा चन्दन लगाउने दुवै प्रवृत्ति हुँदा पनि अब उत्सुकता यस कारण कम भएको छ कि समाजले बिस्तारै बुभ्mदै गएको छ अधिकांश निधार रित्तै भएपनि । महानवमीका दिन बलि प्रदान गर्ने चलन चुरेको फेदीसम्म विस्तार भइसक्यो ।
    विदेशमा रहेका हिन्दू नेपालीले दशैंलाई जति उत्साहका साथ मनाउँछन्, उत्तिकै उत्साह होलीमा पनि देखाउँछन् । विदेशमा रहेका नेपालीको सामूहिक पहिचानमा दशैंले सहयोग गरेको छ । साथै सामुदायिक, जातिगत तथा प्रवृत्तिगत पहिचानको आधारलाई पनि दशैंले केही सहयोग गरेको छ । यद्यपि विदेशमा दशैंलाई जतिसुकै रमाइलो गरेर मनाइँदा पनि स्वदेशको जस्तो हुनै नसक्ने दाबीहरूसमेत आउँदा त्यस दाबीमा सांस्कृतिक गौरवको अनुभूतिको पक्ष पनि रहेको छ । विदेशमा लामो समय दशैं मानेकाहरूको मनलाई छुने प्रयास गर्दा अब यहाँ पनि आत्मीयताको रङ्गमा खल्लोपन आएको स्वीकार्दछन् । दशैं पहिलेजस्तो यहाँको गाउँमा समेत रहेन भन्ने गुनासो गर्दा मौलिकताप्रतिको चिन्ता हुन्छ कि परिवर्तन भएको पक्षमा सुधारको भन्ने छुट्याउन मुस्किल हुन्छ ।
    कतै खूब खाइन्छ भने कतै शुद्ध शाकाहारी मनाइन्छ । कोही त पहिलो दिनदेखि दशैं खान शुरू गर्छन् भने कोही महानवमीसम्म अन्न नै त्याग गर्दछन् । भएभरको मोज गर्ने यसैमा हो भने अनन्त साधनाको प्रयास पनि यसैमा गरिन्छ । दशैंलाई भेटघाटमा बिताउने कि घर छाडेर कतै जानै नमिल्ने गरी मनाउने गरी समाजका दुई विपरीत प्रकृति रहेका छन् ।


Friday, September 27, 2019

सीताको अपहरण रावणले गरेकै हो ?

सीताको अपहरण रावणले गरेकै हो ?

सञ्जय मित्र
    हाम्रो संस्कृतिमा सर्वाधिक चर्चित कथा नै रामकथा हो । यस संस्कृतिका अन्य धर्मावलम्बीहरूबीच पनि रामायण महाकाव्यको मूल कथा उत्तिकै श्रुत्य छ । वर्तमानमा रामकथाको मूल स्रोत वाल्मीकीय रामायण हो । वाल्मीकीय रामायणलाई नै मूल आधार मानेर अन्य रचनाकारहरूले पनि विभिन्न नाममा रामायण लेखेका छन् । रामायणको लेखनमा उद्देश्यगत भिन्नता पनि पाइन्छ । रामायण लेखिएको जमानामा प्रचलित अन्य आख्यानहरूका प्रवृत्ति वा पूर्वीय साहित्यको मान्यता सुखान्त रहेकाले रामायणलाई दुःखान्त नमानिएको र लवकुशकाण्ड पछि आएर थपिएको र लेखकहरूले आआप्mना तर्क, तथ्य र मिथकहरूलाई जोड्दै अनेक किसिम र कोणबाट विश्लेषण गरिएका रामकथा लेखे र अद्यपर्यन्त यो चलिरहेकै छ ।
    मिथकहरू आप्mनै महŒव राख्ने हुन्छन् र पूर्णतया निरर्थकै हुन्छ भन्ने होइन । कुनै युगको निश्चित तर्कको प्रतिनिधित्व मिथकहरूले गरेका हुन्छन् । मिथक र रामकथाका केही प्रसङ्गबारे अहिले दशैंको समय भएकोले चर्चा गर्दा सान्दर्भिक होला भनेर यो आलेख प्रस्तुत गरिएको छ ।
    अध्यात्ममा विश्वास गर्नेहरूले भन्छन्– सीताको अपहरण भएकै होइन ?
    कसरी ?
    सीताको अपहरण गर्ने हैसियत, सामथ्र्य र शक्ति रावणमा थिएन ।
    शिवलाई उठाएरै लैजान सक्ने सामथ्र्य भएका रावणचाहिं कसरी सीतालाई अपहरण गर्ने सामथ्र्य राख्दैनथे?
    सबैलाई थाहा छ कि एक दिन बिहान घर लिपपोत गर्नेक्रममा सीताले शिवधनुषलाई बायाँ हातले उठाएर लिपपोत गरी फेरि पुरानै ठाउँमा जस्ताको त्यस्तै राखेकी थिइन् । त्यो त्यही शिवधनुष हो, जसलाई विश्ववीरहरूले उठाउन त के हल्लाउनसमेत सकेनन् स्वयंवरमा । त्यहाँ रावणले पनि शिवधनुषलाई उठाउने प्रयास गरेका थिए । जब सीताले बायाँ हातले अति हलुँगो सामान्य वस्तुजस्तो गरी उठाएको शिवधनुषलाई रावणसमेतका विश्ववीरहरूले हल्लाउनसमेत सकेका थिएनन् भने सीता आपैंm परमवीर थिइन् भन्ने प्रमाणित हुँदैन ? अनि सीतालाई रावणले अपहरण गर्न सक्छ भन्ने सामथ्र्य रावणमा थियो भन्ने पत्याउने    अर्को पनि तर्क छ ।
    लामो समयसम्म सीतालाई लङ्काको अशोक वाटिका राखिएको थियो । रावण बारम्बार अनुनय विनय गर्थे । बारम्बार धम्की दिन लगाउँथे । अनेक त्रास देखाउँथे तर त्यसभन्दा अगाडि बढ्न सक्दैनथे । एक दिन उनले सीतालाई डरले नै थर्कमान बनाइ आप्mनो कुरा मान्न लगाउन हातहतियारले सम्पन्न राक्षस दल लिई पुगे । त्यहाँ पुगेर रावणले सबै कला लगाए, थर्काउनसम्म थर्काए तर सीताले एउटा तृण अर्थात् घाँस उठाएर थर्काइन् कि सबै हतियारभन्दा यो ठूलो हो, मेरो आह्वानमा यसले भस्म गरिदिन्छ । सीताको तृणको डरले रावण केवल धम्की दिएरै फर्के । यहाँनेर हातहतियारले सुसज्जित रावणसेना किन त्यत्तिकै फर्के ?
    तर्क त यस्तो पनि छ ।
    सीताले दुई सन्तानलाई जन्म दिएपछि वनमैं राम्ररी शिक्षा दिन्छिन् । त्यतिबेलाको चलन अनुसार धनुर्विद्या र तर्कशास्त्रमा पारङ्गत भएपछि रामको अश्वमेध यज्ञको समयमा पितापुत्रको मिलन हुन्छ । दुई पुत्रको भरणपोषण भइसकेको हुन्छ । रामले पनि कामकाजका विभिन्न फाँटमा सीताको आवश्यकता रामले महसूस गरिरहेका हुन्छन् । तर पनि आप््mनो प्रतीज्ञाको कारणले सीतालाई भिœयाउन सक्ने अवस्था हुँदैन । तर जब सीतालाई रामले आपूmसित अयोध्या फर्किनलाई आग्रह गर्दछन्, तब सीताचाहिं अस्वीकार गर्दछिन् । सीताको अस्वीकृतिपछि रामले अझ भावुक भएर घर फर्किन बल गरेपछि सीताले धरतीलाई फाट्न भन्छिन् । सीताको भनाइपछि धरती फाट्छिन्, जसमा सीता पस्छिन् ।
    विश्ववीरहरूले उठाउन नसकेको त्यतिबेलाको सर्वाधिक प्रचलित हतियारमा गणना हुने परम्परागत शिवधनुषलाई बायाँ हातले उठाउन सक्नु, जसको हातमा एउटा तृणले हतियारसम्पन्न सेनालाई फर्काउन सक्नु र जसको आदेशले धरती नै फाट्न सक्नुले सीताको शक्तिलाई दर्शाउँछन् । बायाँ हातमा सामान्य शक्ति कति थियो ? उनले तृणलाई नै शक्तिशाली हतियारहरूभन्दा पनि शक्तिशाली बनाउन सक्छिन् भने उनमा जुनसुकै कुरालाई हतियारमा परिणत गर्ने क्षमता थियो । यसैगरी जसको आदेशमा धरती फाट्न सक्छ भने उनको बोलीमा कति शक्ति छ भन्ने देखाउँछ । यति धेरै शक्तिशाली सीतालाई रावणले अपहरण गर्न सक्छ भन्ने कुरामा विश्वास छैन ।
    सीताको विषयमा यसो पनि भनिन्छ ।
    जब विवाहपश्चात् सीता अयोध्या पुगिन्, तब केही दिनपछि परम्परा अनुसार सीताले एक दिन घरमा खाना पकाउनुपर्ने भयो । उत्तर भारत र दक्षिण नेपालका हिन्दू समुदायमा यो प्रथाकै रूपमा रहेको छ कि विवाहपश्चात् भित्रिएकी बुहारीले घरमा पहिलो दिन खाना पकाउँदा विशेष मानिन्छ । त्यो भोजन नै विशेष मानिन्छ । सीताले पनि त्यो गर्नैपर्ने थियो र एक दिन त्यो गर्नुपर्ने भयो । सीताले पहिलो दिन आपूmले पकाएको खाना खाने मान्छेको योग्यता कस्तो हुनुपर्छ भन्ने कुरो बताइन् । आपूmले पकाएको खानाको पहिलो गाँस खाने मान्छेको लागि तोकिएको योग्यता भएको मानिस नभेटिंदासम्म खाना पकाउन उचित नहुने बताइन् । अयोध्या नरेश आपैंm विभिन्न शास्त्रका ज्ञाता थिए । तोकिएका सबै गुण केवल रावणमा मात्र भेटिन्थ्यो । रावणलाई खाना खाने निम्तो दिइयो र रावणले एक रात अयोध्यामा राजा दशरथको आतिथ्य ग्रहण गरेर सीताले पकाएको खानाको पहिलो गाँस खाए । त्यो पहिलो गाँस जुन ससुरोको नाता पर्नेले खानुपर्ने थियो, रावणले खाए । यस सन्दर्भले रावणचाहिं सीताको पितातुल्य थिए र उनले अपहरण गर्ने कुरै होइन । ससुरो र बुहारीको नाताले गर्दा सीतालाई रावणले अपहरण गर्ने हैसियत राख्दैन वा अपहरण गर्नै सक्दैन भन्ने तर्क गरिन्छ ।
    उसो भए अपहरणमा पर्ने को त ?
    आधुनिक भाषामा नाटक र परम्परागत भाषामा लीला ।
    अहिले पनि नाटक गर्दा मानिस झुम्मिन्छन् । कसैले भनेर नबुभ्mने तथा नसुन्ने हुन्छ तर गरेर देखाएपछि भने बढी शिक्षाप्रद भएको मानिन्छ । सीताको अपहरण पनि केवल नाटक वा लीला मात्र हो । वास्तविक होइन ।
    सीताको अपहरण हुने कुरा सीतालाई पहिले नै थाहा थियो । रामलाई पनि थाहा थियो । लक्ष्मणलाई थाहा थिएन । मायाको सीतालाई अपहरण गराइएको हो र वास्तविक सीता कुनै देवताकहाँ पठाइएको थियो । मायाको सीता वा सीताको प्रतिरूपलाई रावणले अपहरण गरेको देखाइएको छ । रावणमाथिको विजयपछि सीताको अग्निपरीक्षा भनेको अग्निको बहानामा वास्तविक सीतालाई रामको हातमा सुम्पन र मायाको सीतालाई आप्mनो ठाउँमा पठाउन अग्निपरीक्षाको आयोजन गरिएको थियो ।
    यस्ता प्रसङ्गहरूले रामकथामा अनेक किसिमले विचार गर्नुपर्ने बनाउँछ । रामायण वा रामकथा कुन लेखकको पढ्ने र कुन उद्देश्यले पढ्ने भन्ने पनि हेर्नुपर्छ ।

फरक समाचार

Find us