Showing posts with label स्थानीय समाचार. Show all posts
Showing posts with label स्थानीय समाचार. Show all posts

Thursday, March 4, 2021

हरिवनका चारवटा पसललाई जरिवाना

हरिवनका चारवटा पसललाई जरिवाना

प्रस, वीरगंज, २० फागुन/
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले बिहीवार हरिवनको सर्लाही बजारको अनुगमन गर्ने क्रममा चारवटा पसललाई १ लाख ७० हजार रुपैयाँ जरिवाना तिराएको छ।
निमित्त कार्यालय प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा इलाका प्रहरी कार्यालय हरिवन, इलाका प्रशासन कार्यालय हरिवन, हरिवन नगरपालिका, नगर उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू सहभागी भएको टोलीले मूल्यसूची नराख्ने चारवटा पसललाई जरिवाना गरेको हो।

हरिवन–९ स्थित मोहन किरानापसल, न्यू दीपक वस्त्रालय र सुयोग टे«डर्सलाई ५०/५० हजार र निशा हार्डवेयरलाई उपभोक्ता संरक्षण ऐन बमोजिम २० हजार रुपैयाँ जरिवाना गरिएको आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलीपखङ्ग खत्वेले जानकारी दिए।

Wednesday, March 3, 2021

१ कट्ठा जग्गा मन्दिरलाई दान

१ कट्ठा जग्गा मन्दिरलाई दान

प्रस, पर्सागढी, १९ फागुन/
पर्सागढी नगरपालिका–४ बर्वाटाँडीका भीमबहादुर खड्काले मन्दिरलाई एक कट्ठा (करीब ३५ लाख मूल्यबराबरको) जग्गा दान गरेका छन्।

बर्वाटाँडी सडकखण्डमा रहेको एक कट्ठा जग्गा बुधवार खड्काले पर्सागढी शिवपार्वती मन्दिर व्यवस्थापन समितिको नाममा भूमिसुधार तथा मालपोत कार्यालय, पर्सामा नामसारी गरी दान गरेका हुन्। सो जग्गामा छठपूजा हुँदै आएको थियो। जग्गादान कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रप्रसाद यादव, सल्लाहकार अच्छेलाल यादव, समाजसेवी नागेन्द्र सिंह, जयकिशोर चौरसियालगायतको सहभागिता रहेको सचिव नरेश यादवले बताए।

भारतीय पक्षले ओरिया खोलामा उत्खनन गर्न नपाउने

भारतीय पक्षले ओरिया खोलामा उत्खनन गर्न नपाउने

 प्रस, सेढवा, १९ फागुन/
जगरनाथपुर गाउँपालिका–१ पिपडाढीस्थित ओरिया खोलामा भारतीय पक्षबाट हुने अवैध उत्खनन रोकिएको छ।
गत माघ ३० गते भारतीय पक्षले अवैध उत्खनन गर्दा स्थानीय र सशस्त्र प्रहरीले रोक्न खोज्दा दुईजना सशस्त्र प्रहरी घाइते भएपछि स्थानीय प्रशासनले भारतीय पक्षसँग सहकार्य गरेर उत्खनन रोक्न सफल भएको हो।
जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाड्ढो पहलमा भारतीय पक्षबाट पूर्वी चम्पारणका एसडिएम साइला हर र एसएसबीका अधिकारीहरूसँग बैठक गरी ओरिया खोलामा भारतीय पक्षबाट भइरहेको अवैध उत्खनन रोकिएको हो।
दुईजना सीमा अधिकारीबीचको बैठकले नेपाली भूमिमा अवैध उत्खनन गर्ने र सिमाना कायमका लागि दुई देशका नापी विभागसँग पहल गर्ने प्रस्ताव राखिएको र सोमा सहमति भएको प्रजिअ तामाङले बताए। प्रजिअ तामाङले सो कार्य सम्पन्न नहुन्जेल तत्काल भारतीय पक्षबाट भइरहेको उत्खनन रोक्न भारतीय एसडिएमले सहमति जनाएको कारण अहिले रोकिएको बताए। ओरिया नदीमा रहेको सीमास्तम्भ निर्माणका लागि नापी विभागका अधिकारीहरूले स्थलगत निरीक्ष्Fण गर्ने र सीमा निर्धारण गरेपछि आआफ्नो सीमामा वैध तरीकाबाट उत्खनन हुन दिने सहमति भएको छ।

यसअघि भारतीय पक्षले नेपाली भूमिमा प्रवेश गरी अनधिकृतरूपमा ओरिया नदीको उत्खनन गर्दै आएको थियो। वर्षौंदेखि भारतीय पक्षले सो कार्य गरेको र अहिले प्रशासनको प्रयासमा अवैध उत्खनन रोकिएपछि स्थानीय नेपाली खुशी भएका छन्। ओरिया नदीमा निजी आबादी जग्गा रहेका नेपालीहरू अहिले भारतीय पक्षबाट उत्खनन रोकिएपछि राहत महसूस गरिरहेका छन्। भारतीय पक्षले सो नदीमा बालुवा उत्खनन गरी बलजफ्ती लैजाने गरेको थियो। यस क्रममा लामो समयदेखि भारतीय पक्षको स्थानीय नेपाली र सुरक्षाकर्मीहरूसित झडप पनि हुँदै आएको थियो।
जगरनाथपुरका शिक्षक कारी चौधरीले निजी आबादी जग्गामा भारतीय पक्षबाट बलजफ्ती हुने गरेको उत्खनन रोकिएकोमा खुशी व्यक्त गरे। उनले प्रशासनको प्रयासको सराहना पनि गरे। शिक्षक चौधरीले भारतीय पक्षले आफ्नो भूमिबाट उत्खनन गर्ने वातावरण सृजना भए लामो समयदेखिको विवाद साम्य हुने बताए।
दुवै पक्षबीच सीमा निर्धारण गरेर उत्खनन हुनुपर्नेमा अहिलेसम्म सीमा विवादको कारण भारतीय पक्षले नेपाली भूमिमा प्रवेश गरेर नदीजन्य पदार्थको उत्खनन गर्दै आएको थियो।

वनकर्मीको मिलेमतोमा अवैध फर्निचर उद्योग

वनकर्मीको मिलेमतोमा अवैध फर्निचर उद्योग

 प्रस, पर्सागढी, १९ फागुन/
पर्सागढी नगरपालिका–३ पकडियामा अवैध तरीकाबाट फर्निचर उद्योग सञ्चालन भएको र उनीहरूसँग वनकर्मीको मिलेमतो भएको घटना सार्वजनिक भएको छ।
फागुन १८ गते मङ्गलवार एउटा फर्निचर उद्योगमा सबडिभिजन वन कार्यालय मधुवन मथवल, बढनिहारले छापामारी गर्दा वनकर्मीको संलग्नता पुष्टि भएको हो। स्थानीय वनकर्मीको संलग्नतामा फर्निचर उद्योगमा तस्करहरूले काठ पु–याउने गरेको र उनीहरूबाट वनकर्मीले पटके रकम लिने गरेको प्रमाण फेला परेको छ। प्रतिटिप रु ३ हजार स्थानीय वनकर्मीले लिने गरेको प्रमाण फेला परेको हो। वनकर्मीले फर्निचर उद्योगबाट पटकेरूपमा रु ३ हजार लिने गरेको अडियो अहिले सार्वजनिक भएको छ।

लामो समयदेखि वन कार्यालयमा कार्यरत स्थानीय वनकर्मीहरूले यस्तो कार्य गर्दै आएको देखिएको छ। हिजो एउटा फर्निचर उद्योगबाट ७ फिटको गोलिया र १५ थान चिर्पट सबडिभिजन वन कार्यालय मधुवन मथवल बढनिहारले छापामारी बरामद गरेको थियो। स्थानीय एक घरमा वीरगंजका मानिसले फर्निचर उद्योग सञ्चालन गरेको वन कार्यालयले जनाएको छ। अहिले घरधनी र सञ्चालकको नाम खुलिसकेको छैन। सो ठाउँमा पलङ, कुर्सी, दराज बनाउने र बिक्री हुँदै आइरहेको थियो।
पर्सागढीमा यसरी ९ वटाभन्दा बढी फर्निचर उद्योग अवैधरूपमा सञ्चालित छन्। उनीहरू कहींकतै दर्ता पनि छैनन् र विनाबिलको कारोबार गर्दै आएका छन्।
अहिले वन कार्यालयले सोविरुद्ध अभियान चलाएपछि फर्निचर उद्योगबाट लाभ लिंदै आएका स्थानीय वनकर्मीहरूले युवाहरूलाई उक्साएर अभियान रोक्न दबाब सृजना गराएका छन्।
एकजना वन अधिकृतले छापामारीपछि स्थानीय वनकर्मीको उक्साहटमा युवाहरूले डर–धाक, धम्की दिन शुरू गरेको बताए। उनले स्थानीय वनकर्मीको संलग्नतामा अवैध फर्निचर उद्योग फस्टाएको र सोविरुद्ध अभियान शुरू गरेपछि यस प्रकारको कार्य भएको बताए।

रक्सौलमा पेट्रोलियम पदार्थको चोरी बढ्यो

रक्सौलमा पेट्रोलियम पदार्थको चोरी बढ्यो

प्रस, रक्सौल, १९ फागुन/
रक्सौल बाइपास सडक र आइसिपी वरपरको क्षेत्रमा पेट्रोलियम पदार्थको चोरी बढेको छ। भारतका विभिन्न स्थानबाट लामो दूरी तय गरी नेपाल आउने मालवाहक भारतीय ट्रकहरूबाट अहिले डिजेल चोरी बढेको छ।
बाइपास र आइसिपी क्षेत्रमा हुने डिजेलको चोरीविरुद्ध चालकहरूले रक्सौलमा प्रदर्शन गरेका छन्। उनीहरूले भारतका विभिन्न क्षेत्रबाट लामो दूरी तय गरेर आउँदा कहींकतै ट्रकबाट डिजेलको चोरी नहुने तर रक्सौलमा आएपछि डिजेलको चोरी बढेको भन्दै प्रशासनविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरूले चोरीमा संलग्नहरूलाई पक्राउ गरी कारबाईको माग पनि गरे।

एकजना ट्रकचालकले सडकखण्डमा लामबद्ध ट्रकहरूबाट दैनिक हजारौं लिटर डिजेल चोरी भइरहेको बताए। उनीहरूले आफ्नो गाडीबाट पनि अढाइसय लिटर डिजल चोरी भएको बताए। प्रदर्शनकारी चालकमध्ये जयकान्तले एकाबिहानैदेखि चोरी हुने गरेको बताए। चालकहरू सडकखण्डमा ट्रक राखेर बिहान नित्यक्रम गर्न गएको बेला चोरहरूले मौका छोपेर सो कार्य गरेको बताए। उनले ट्रक लामबद्ध रहने स्थानमा सुरक्षा व्यवस्था फितलो भएकोले चोरहरूले चोरी गर्न सकेको भन्दै सो स्थानमा सुरक्षा व्यवस्था कडा गर्न माग पनि गरे। चालक जयकान्तले डिजेल चोरीविरूद्ध आवाज उठाउँदा चोरहरूबाट कतिपय चालकहरू कुटपीटको शिकार भएको र त्यसमा प्रशासन मौन देखिएको भन्दै प्रदर्शनमा उत्रिनुपरेको बताए।
ट्रकचालक मनोहर पासवानले ट्रक सञ्चालकहरूले किलोमिटरको हिसाबले डिजेल उपलब्ध गराउने र चोरी हुँदा आफ्नो तलबभत्ताबाट कट्टा गर्ने हुँदा चालकहरू मर्कामा परेको बताए। उनले आफ्नो ट्रकबाट २ सय लिटर डिजेल चोरी भएको र थप डिजेल खरीद गर्ने पैसा नहुँदा समस्यामा परेको बताए। यस्तो समस्यामा पर्नेहरू थुप्रै चालकहरू भएको उनको बुझाइ छ। ट्रकचालकहरूले बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा सडक अवरूद्ध गरेका थिए। प्रदर्शनको क्रममा पनि प्रहरीहरू परिचालित भएनन्। अनुमण्डल प्रहरी अधिकारी आइपिएस सागर कुमारले डिजेल चोरीबारेमा आफूलाई भर्खरै थाहा भएको बताए। उनले अबका दिनमा चोरीका घटना हुन नदिन सम्बन्धित थाना अधिकारीहरूलाई निर्देशन गरेको र यसविरूद्ध प्रहरीले कडा कदम चाल्ने आश्वासन दिए।

गहुँबालीमा लाही कीराको प्रकोप

गहुँबालीमा लाही कीराको प्रकोप

प्रस, पोखरिया, १९ फागुन/
पर्सा जिल्लामा गहुँखेती गरेका किसानहरू अहिले लाही कीराका कारण समस्यामा परेका छन्।
खासगरी गहुँबाली हुर्केर बाला लाग्ने बेलामा लाही कीरा लाग्न शुरू भएको हो। पर्सा जिल्लाभरिका गहुँखेतमा अहिले लाहीको आतङ्क छ। लाही कीरा गहुँबालीका साथै तरकारीखेतीमा पनि देखा परेको छ। कालिकामाई गाउँपालिका–१ मुर्लीका किसान सुदीप चौरसियाले गहुँबालीका साथै काउलीखेतीमा पनि लाही कीराले समस्यामा पारेको बताए। उनले हाल कटान हुन बाँकी केही तोरीखेतीमा पनि लाही कीराले दुःख दिएको बताए।

पकाहामैनपुर गापाका कृषि प्राविधिक हरिनारायण चौधरीले गहुँको बाला लाग्ने बेलामा लाही कीराले बर्सेनि दुःख दिने गरेको र यसको निदानका लागि मित्रुखप्टे औषधि प्रयोग गर्नुपर्ने बताए। यसैगरी, उनले डायमेथोएट ३० प्रतिशत एक लिटर पानीमा मिसाएर छर्दा पनि लाही कीराको समस्याबाट निजात पाउने बताए। यसअलावा प्राकृतिक उपचारमा गाईको मूत्र पानीमा मिसाएर छर्कनाले पनि लाही कीरा हराउने बताए। प्राविधिक चौरसियाले पर्सा जिल्लाभरिका गहुँखेती गरेका किसानले यो समस्या झेलिरहेको बताउँदै उपचार विधि अपनाएको खण्डमा समस्याको समाधान हुने सुझाए।

हेमनारायण चौधरीको निधन

हेमनारायण चौधरीको निधन


प्रस, पंचगावाँ, १९ फागुन/
    थारू कल्याणकारिणी समिति, पर्साका अध्यक्ष हेमनारायण चौधरीको बुधवार बिहान निधन भएको छ। वीरगंज–२३ स्थित वयोधा अस्पतालमा चौधरीको निधन भएको हो।
    ७८ वर्षीय चौधरी केही समयदेखि मुटु र दम रोगबाट पीडित थिए। पटेर्वासुगौली गापास्थित घरमा अस्वस्थ भएपछि उनलाई वयोधा अस्पतालमा भर्ना गरिएको र आज बिहान तीन बजे निधन भएको हो।
    स्व चौधरी पटेर्वासुगौली गापाका अध्यक्ष हरिनारायण चौधरीका पिता हुन्। लामो समय राजनीतिमा सक्रिय रहेका चौधरी एक दशकदेखि थारू कल्याणकारिणी समितिका अध्यक्ष रहेर समाजसेवामा लागेका थिए।

तीनवटा सम्पदा पुनस्र्थापना तथा पुनर्निमाणको लागि सम्झौता

तीनवटा सम्पदा पुनस्र्थापना तथा पुनर्निमाणको लागि सम्झौता

प्रस, वीरगंज, १९ फागुन/
भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन एकाइका परियोजना निर्देशकले बुधवार थप तीनवटा सम्पदाको पुनस्र्थापना तथा पुनर्निर्माणको लागि सम्झौतापत्र र ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन्।

भारतीय दूतावासले जनाए अनुसार सम्झौता भएका तीन सांस्कृतिक सम्पदा परियोजनामा ललितपुरस्थित ज्येष्ठ वर्ण महाबिहार तथा सिन्धुपाल्चोकस्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा पुनस्र्थापना तथा पुनर्निर्माणका लागि हस्ताक्षर भएको छ। यी सम्पदाहरू २०७२ सालको विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएका थिए।
भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत २४ करोड ६० लाख लागतमा तीनवटै सम्पदाको पुनर्निर्माण गरिने बताइएको छ। भारतले नेपालका ८ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण, पुनर्निर्माणका लागि नेरु ५ अर्ब ८० करोड सहयोग गर्ने प्रतिबद्धता गरे अनुसार यो काम भएको भारतीय दूतावासले जनाएको छ। २८ वटा सांस्कृतिक परियोजनामध्ये योसहित ६ वटा परियोजनाको ठेक्का हस्तान्तरण भइसकेको छ।
यसअघि पनि तीनवटा परियोजनाको ठेक्का हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।

लघुकथा बिजुलीको एक झिल्का हो ः प्रा.डा.लामिछाने

लघुकथा बिजुलीको एक झिल्का हो ः प्रा.डा.लामिछाने

प्रस, गरुडा, १९ फागुन/
नेपाली र भारतीय भूमिमा लघुकथा सशक्तरूपमा स्थापित भइसकेको आख्यान साहित्यको उपविधा भएको प्राडा कपिल लामिछानेले बताएका छन्। रौतहटको गरुडामा साहित्यकारसितको भेटघाटमा प्राडा लामिछानेले लघुकथालाई बादल लागेको आकाशमा गड्याङ्गुडुङ गर्ने बेलाको बिजुलीको झिल्कासित तुलना गरेका थिए। विराटनगरमा आयोजित लघुकथासम्बन्धी दुर्ई दिने कार्यक्रममा सहभागी भएर भैरहवातिर फर्कने क्रममा प्राडा लामिछानेले रौतहटका मुस्लिम समुदायमा प्रचलित संस्कार गीतको अध्ययनसम्बन्धी कामको सिलसिलामा गरुडा आएका थिए। सोही क्रममा प्राडा लामिछानेलाई मध्यरौतहटका लेखक तथा साहित्यकारहरूले स्वागत सम्मान गर्दै लघुकथाको विषयमा विशेष जानकारी प्राप्त गरेका थिए।
चार दर्जनभन्दा बढी मौलिक र करीब डेढ दर्जन सम्पादित कृति प्रकाशन भइसकेका प्राडा लामिछाने मोसफलमा रहेर साहित्य साधना गर्दै देशमा विशिष्ट पहिचान बनाउने निकै कम साहित्यसर्जकमा गनिन्छन्।

गरुडाका सञ्जय साह मित्रको संयोजनमा बज्जिका साहित्य सङ्गम रौतहटको आयोजनामा गरुडास्थित माध्यमिक विद्यालयमा भएको साहित्यिक भेटघाट तथा अन्तत्र्रिmयामा सङ्गमका अध्यक्ष किशुनदयाल श्रीकृष्ण, पूर्वअध्यक्ष श्याम सहनी चन्द्रांशु, उपाध्यक्ष रेणु गुप्ता, सहसचिव केदार राय यादव, सल्लाहकार रामअधार पासवान, विश्वनाथ सञ्जेल, जिसी हरि, सङ्गीताकुमारी सहनी, शेख चाँद अलि, कुमार चन्दन, सुरजनारायण झाले लघुकथा, कविता, गीत र मुक्तक वाचन गरेका थिए।
नेपाली र बज्जिका भाषामा वाचन गरिएका रचनाहरू सुनेपछि प्राडा लामिछानेले बहुभाषिक देश नेपालका धेरै भाषामा लघुकथाको विस्तार भएको र बज्जिकामा पनि लघुकथाहरू लेखिनु सुखद पक्ष भएको बताएका थिए।

वीरगंजका व्यवसायीद्वारा कर घटाउनुपर्ने माग

वीरगंजका व्यवसायीद्वारा कर घटाउनुपर्ने माग

प्रस, परवानीपुर, १९ फागुन/
आगामी आर्थिक वर्ष २०७८/७९ को लागि वीरगंजका उद्योगी–व्यवसायीहरूसँग सुझाव सङ्कलन गरिएको छ। नेपाल सरकारको नेपाल राजस्व परामर्श समितिले बुधवार आयोजना गरेको अन्तत्र्रिmया तथा छलफल कार्यक्रममा सरकारी अधिकारी तथा विज्ञहरूले सुझाव सङ्कलन गरेका हुन्। वीरगंजका उद्योगी–व्यवसायीले सुझाव सङ्कलन गर्ने परिपाटी पुरानो भए तापनि कहिल्यै वीरगंजका उद्योगी–व्यवसायीहरूको पीडा र मागलाई बजेटको रातो किताबमा नसमेट्ने गरिएको दुःखेसो पोखे।
केही व्यवसायीले छलफल कार्यक्रम कोरम पु–याउने चरण मात्र भएकोले धेरै समस्या भए तापनि थोरै कुरा बोल्ने गरेको बताए। वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले कर र राजस्वको दर घटाउनुपर्ने माग गर्दै उनले करको दायरा फराकिलो गर्नुपर्ने विचार राखे। उनले भने, “सामान आयात तथा उद्योग–व्यवसाय सञ्चालन गर्दा हरेक वर्ष राजस्व र करको दर बढ्दै गएको पाइन्छ, त्यो ट्रेन्डलाई तोड्नुपर्छ, कर घटाउनुपर्छ भने कर कसरी बढी सङ्कलन गर्ने र सोको क्षेत्र र दायरा पहिचान गरी सरकारले बजेट विनियोजन गर्दा नेपाली उद्योगी–व्यवसायीलाई सहुलियत हुनेछ।”
वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष उद्योगी अशोक बैधले सिमेन्ट तथा पेन्ट्सका कच्चा पदार्थ आयातमा उच्च दरमा भन्सार शुल्क राखिएकाले घटाउन माग गरे।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई उकास्ने गरी बजेट ल्याउन सङ्घीय सरकारलाई सुझाव दिएका छन्।
उद्योग–व्यवसाय फस्टाउँदै जान थालेपछि राज्यले अनेक किसिमका कर लिने गरेको भन्दै सरावगीले उद्योगी– व्यवसायीहरूलाई करको बोझले समस्या हुने गरेको बताए। खुला सीमाका कारण वस्तुको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा नेपाली उद्योगी–व्यवसायीहरू सधैं मर्कामा पर्ने गरेको र यस विषयमा राजस्व परामर्श समिति गठन गरेदेखि नै निरन्तर आवाज उठिरहेको भएपनि सुनुवाइ नभएको उनको भनाइ थियो। उद्योगी–व्यवसायीहरूलाई उद्योगको संरक्षण र करमैत्री वातावरणको प्रत्याभूति नभएसम्म अर्थतन्त्रको विकास हुन नसक्ने नगरप्रमुख सरावगीको बताए।
सङ्घका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश २ का अध्यक्ष गणेश लाठले मूल्य अभिवृद्धि कर सबै व्यवसायमा एकै खालको लाग्ने भएकोले त्यसलाई परिमार्जित गरी सेवा र कारोबारको आधारमा मुनाफा हेरेर मूअकको दर तोक्नुपर्ने सुझाव दिए। उनले कम आम्दानी हुने व्यवसाय र बढी आम्दानी हुने व्यवसाय सबैमा एक समान मूअक लिनु अन्याय भएको बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले तयारी वस्तु र कच्चा पदार्थबीचको भन्सार महसूलमा झिनो अन्तर राख्दा कतिपय खाद्यान्न उद्योग धराशयी भएको बताए। उनले चामल आयातमा भन्सार महसूल बढाउँदा नेपाली राइस मिलहरूको संरक्षण गर्न सकिने बताए। उनले नेपालको धान खरीद गर्ने वा अपुग भएको खण्डमा आयात गरी चामल प्रशोधन गरी व्यवसाय गर्ने वातावरणलाई पनि नेपाल सरकारकै नीतिको कारण बर्बाद पारेको आरोप लगाए। उनले धान र चामल आयातमा झिनो भन्सार महसूलको फरक रहेकोले धेरै नेपाली व्यवसायीले राइस मिल बन्द गरी चामल आयाततर्फ अग्रसर भएको बताए। उद्योग बन्द हुँदा रोजगार, बिजुली, राजस्व तथा अन्य सुविधा उपभोग नभएर उल्टै राज्यलाई नै चौतर्फी घाटा लागिरहेको बताए।
होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजका अध्यक्ष हरि पन्तले नेपालको ८० प्रतिशत होटल व्यवसाय भारतीय पर्यटकबाट चल्ने भएकोले पूर्णरूपमा नेपाल–भारत सीमा खोल्न सरकारलाई आग्रह गर्दै आगामी बजेटमा उद्योग–व्यवसायलाई जसरी बिजुलीको शुल्कमा कोरोनाको कारण सहुलियत दिइएको छ, त्यसरी नै होटल व्यवसायलाई पनि दिनुपर्ने सुझाव दिए।
ढुवानी व्यवसायीहरूले ढुवानी व्यवसायमा भिसिटिएस सुविधा प्रभावकारी नभएकोले सुधार गर्न आग्रह गरेका थिए। कहिले सर्भर नचल्ने त चले पनि नेटको सुविधा नभएको ठाउँबाट विवरण इन्ट्री गर्न र अपडेट गर्न समस्या हुने गरेको बताएका थिए। आयकरमा पनि सीमा बढाउनुपर्ने माग गरिएको थियो। व्यवसायीहरूले साढे ४ लाख रुपैयाँसम्म छुटको सुविधालाई कम्तीमा ८ लाखसम्म आयकर नलाग्नुपर्ने नियम ल्याउनुपर्ने बताएका थिए।
परामर्श समितिका अध्यक्ष महेशप्रसाद दहालको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख सुनीलकुमार यादवको सहजीकरणमा भएको कार्यक्रममा परामर्श समितिका सदस्य निर्मलहरि अधिकारी, आन्तरिक राजस्व विभागका निर्देशक झकप्रसाद आचार्य, वीरगंज भन्सारका प्रमुख भन्सार प्रशासक महेश आचार्य, नाडाका अध्यक्ष कृष्ण दुलाल, प्रदेश २ को आर्थिक योजना मन्त्रालयका सचिव काशीराज दहाल, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, यातायात व्यवस्था कार्यालय वीरगंज सवारी शाखाका प्रमुख कुशेश्वरप्रसाद साह, यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा वीरगंजका प्रमुख सुशील साहलगायत उद्योगी–व्यवसायीको सहभागिता थियो। परामर्श समितिका पदाधिकारीहरूले सङ्कलन गरिएको सुझाव जस्ताको त्यस्तै प्रतिवेदनमा उल्लेख गरी पठाउने आश्वासन दिएका थिए।

Tuesday, March 2, 2021

फागुलाई लक्षित गरेर धमाधम मदिराभट्टी सञ्चालन

फागुलाई लक्षित गरेर धमाधम मदिराभट्टी सञ्चालन

प्रस, सिम्रौनगढ, १८ फागुन/
सिम्रौनगढ नगरपालिका र आसपासका क्षेत्रमा अहिले अवैध घरेलु मदिरा उत्पादन गर्ने नयाँ भट्टीहरू सञ्चालनमा आएका छन्।
फागु पूर्णिमालाई लक्षित गरेर सिम्रौनगढ नगरपालिका र आसपासमा सञ्चालित अवैध घरेलु मदिराभट्टीहरूमा उत्पादन बढाइँदैछ भने त्योसँगै नयाँ भट्टीहरू पनि सञ्चालनमा आएको स्थानीयले बताए। उनीहरूले सिम्रौनगढ नगरपालिकाको कचोर्वा, सिम्रौनगढ, खजानी, ठूलो इँटवाल र भारतीय सीमासँग जोडिएका क्षेत्र तथा जङ्गल क्षेत्रमा अहिले धमाधम नयाँ मदिराभट्टी सञ्चालनमा आएको बताए। खासगरी भारतमा मदिरा प्रतिबन्ध रहेको र फागु पूर्णिमामा यसको माग बढी हुने भएकोले अहिले सिम्रौनगढ क्षेत्रमा अवैध घरेलु मदिराभट्टी सञ्चालनमा आएर उत्पादन बढ्दैछ।
अवैध घरेलु मदिराभट्टी नियन्त्रणका लागि यो क्षेत्रमा प्रहरीले सक्रियता देखाउन सकेको छैन। यसै कारण यहाँबाट मदिरा तस्करीको माध्यमबाट भारत पु–याउने कार्य भइरहेको छ र बेलाबखत नेपाली मदिरा तस्करहरू पक्राउ पर्ने गरेका छन्।
पर्सा, बारामा स्वच्छता र राहत सामग्री वितरण

पर्सा, बारामा स्वच्छता र राहत सामग्री वितरण

प्रस, वीरगंज, १८ फागुन/
युके एड र स्ट्रीट चाइल्ड नेपालको आर्थिक सहयोगमा आसमान नेपाल र जवात संस्थाले पर्सा, बारामा स्वच्छता तथा महीनावारी स्वच्छता सामग्रीसहित राहत वितरण गरेको आसमान नेपालका इमर्जेन्सी रेस्पोन्स अफिसर धर्मेन्द्र चौरसियाले बताए।
पर्सा, बारा, रौतहट र सर्लाही गरी प्रदेश २ का चार जिल्लामा तत्वा, मुसहर, डोम समुदायका मानिसहरूलाई लकडाउनपछि सो सामग्री उपलब्ध गराउने नीतिअनुरूप पर्सा र बारामा सामग्री वितरण गरिएको हो। रौतहट र सर्लाहीमा कार्यक्रम जारी रहेको अफिसर चौरसियाले बताए।

पर्सा जिल्लाका पकाहामैनपुर, कालिकामाई गाउँपालिका र पर्सागढी तथा पोखरिया नगरपालिकामा ७ सय २२ जनालाई स्वास्थ्य स्वच्छता तथा महीनावारी सामग्री वितरण गरिएको थियो भने ५ सयजनालाई राहत सामग्री वितरण गरिएको थियो। २५ किलो चामल, ५ किलो दाल, ३ किलो नून, ३ लिटर तेल र २ किलो चना राहतमा वितरण गरिएको अफिसर चौरसियाले बताए। लकडाउनमा दैनिक ज्यालादारी गरेर कमाउने यो समुदाय रोजगारविहीन भएको र उनीहरूलाई खानसमेत समस्या भएकोले उनीहरूको स्वास्थ्यसमेतलाई ध्यानमा राखेर स्वास्थ्य स्वच्छता सामग्री र राहत वितरण गरिएको अफिसर चौरसियाले बताए।
बारा जिल्लाका प्रसौनी, आदर्शकोतवाल, फेटा, सुवर्ण, पचरौता, देवताल र विश्रामपुर गाउँपालिकालगायत ६ स्थानमा कार्यक्रम सञ्चालन भएको थियो र त्यहाँ ५५४ जनालाई स्वच्छता सामग्री र ४ सय ४१ जनालाई राहत सामग्री वितरण गरिएको अफिसर चौरसियाले बताए।
रौतहटको राजदेवी नगरपालिका, दुर्गाभगवती, यमुनामाई गाउँपालिकामा ५७५ र सर्लाहीको हरिपुर, लालबन्दी, हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा ६०२ जनालाई स्वास्थ्य तथा महीनावारी स्वच्छता सामग्री वितरण गरिएको थियो भने राहत वितरण कार्य जारी रहेको कार्यक्रम संयोजक जमुना श्रेष्ठले बताइन्। उनले सामग्री वितरण कार्यक्रम सामाजिक दूरी कायम गरेर गरिएको र सो क्रममा स्वास्थ्य सामग्री तथा राहत नपाएकाहरूको गुनासो पनि सङ्कलन गरिएको बताइन्।

ग्रामीण नाकाबाट इन्धनको निर्बाध तस्करी

ग्रामीण नाकाबाट इन्धनको निर्बाध तस्करी

प्रस, सेढवा, १८ फागुन/
पर्साको ग्रामीण क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करी जारी छ।
भारतमा पेट्रोलियम पदार्थ नेपालको तुलनामा महँगो भएकोले केही महीनादेखि पेट्रोलियम पदार्थको तस्करी बढेको हो।

विजयबस्ती, सुवर्णपुर, सेढवा, महादेवपट्टि, पिडरीगुठी, पाँडेपुर, जानकीटोला, आसवारी, मिर्जापुर, बुढगाइँ, भिस्वामा नेपाल प्रहरीको एकाइ कार्यालय छ भने सुवर्णपुर, महादेवपट्टि, पिडरीगुठी, भिखमपुर, बन्जारी र भिस्वामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट छन् तर पनि पेट्रोलियम पदार्थको तस्करी निर्बाधरूपमा हुँदैछ।
भारतीय सीमा इनर्वा, भङ्गाहा, मैनाटार, डुमाटारलगायतका स्थानमा ग्रामीण क्षेत्रमा रहेका पेट्रोलपम्पबाट ड्रम, ग्यालेनमा भरेर पेट्रोल, डिजेल, मोटरसाइकल, साइकल र ट्याक्टरबाट लैजाने गरिएको छ।
भारतमा पेट्रोल भारु ८७.३० र डिजेल भारु ७९.५० प्रतिलिटर छ। सोको तुलनामा नेपालमा अहिले लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा पनि प्रतिलिटर पेट्रोल रु ११६ र डिजेल रु ९६ पुगेको छ। नेपालमा भारतभन्दा पेट्रोलमा अहिले पनि प्रतिलिटर रु २४ र डिजेलमा रु ३१ कम छ। यसैले अहिले पनि पेट्रोलियम पदार्थको तस्करी निर्बाधरूपमा भइरहेको छ।

सयवटा फर्मबाट ३० लाख जरिवाना असुल

सयवटा फर्मबाट ३० लाख जरिवाना असुल

प्रस, वीरगंज, १८ फागुन/
चालू आर्थिक वर्षमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजले आफ्नो क्षेत्रमा कानूनविपरीत सञ्चालित एक सयवटाभन्दा बढी फर्मलाई कारबाई गरेको छ। यसरी कारबाई गर्दा ३० लाख रुपैयाँभन्दा बढी दण्ड जरिवाना असुल भएको सो कार्यालयले जनाएको छ।
बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरूको ब्रान्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगर्नेलगायतका १०५ वटा व्यापारिक प्रतिष्ठानलाई कारबाई गरी रु ३० लाख २३ हजार जरिवाना गरेको हो।

यही फागुन १७ गते सोमवारसम्ममा २०५ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गर्दा सोमध्ये १०५ वटा फर्म कारबाईमा परेको कार्यालयको रेकर्डमा उल्लेख छ। दण्ड जरिवानामा परेकामध्ये पर्सामा एसआर रेडिमेड उद्योग वीरगंजलाई सबैभन्दा बढी रु ३ लाख जरिवाना भएको छ। उक्त उद्योगले बहुराष्ट्रिय कम्पनीको लोगो आफ्नो उत्पादनमा लगाउने गरेको पाइएको थियो। यसैगरी, वीरगंजकै जय अम्बे ट्रेड एन्ड जेनेरल अर्डर सप्लायर्सलाई रु दुई लाख ५१ हजार, गगन ट्रेडिङ हाउसलाई रु दुर्ई लाख जरिवाना गरिएको थियो।
त्यसैगरी, मकवानपुरतर्फ हेटौंडा उपमहानगरपालिका–३ स्थित घरसंसार पसललाई रु तीन लाख जरिवाना गरिएको थियो। सो व्यापारिक फर्मले बढी मूल्य लिएर उपभोक्ता ठग्दै पाइएको निमित्त कार्यालय प्रमुख जीतबहादुर भण्डारीले सञ्चारकर्मीलाई जानकारी गराए। कार्यालयले चालू आर्थिक वर्षको फागुन १७ गतेसम्मको अवधिमा सप्तरी जिल्लामा ११ वटा फर्मको अनुगमन गरेको छ। त्यसैगरी, धनुषामा २०, महोत्तरीमा ६, सर्लाहीमा ३, रौतहटमा १७, बारामा ३, पर्सामा ७६, मकवानपुरमा १५ र चितवनमा २७ वटा गरी जम्मा २०५ फर्मको अनुगमन गरिसकेको जनाएको छ।

तीनजना जुवाडे पक्राउ, प्रहरी हवल्दार घाइते

तीनजना जुवाडे पक्राउ, प्रहरी हवल्दार घाइते

प्रस, पोखरिया, १८ फागुन/
    इलाका प्रहरी कार्यालय, पोखरियाले १ लाख ७६ हजार नगदसहित तीनजना जुवाडेलाई पक्राउ गरेको छ। बहुदरमाई नगरपालिका–१ विश्रामपुरमा जुवा खेलिरहेका तीनजना जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले बताए।

    विश्रामपुरमा रहेको बगैंचामा ४०/५० जनाको समूहमा कौडा खेलिरहेको सूचनाको आधारमा प्रहरीले मङ्गलवार दिउँसो साढे तीन बजे छापामारी गरेको थियो। छापामारीको क्रममा खुला बगैंचा भएको कारण जुवाडेहरू भागेका र प्रहरीले समाउने क्रममा एकजना प्रहरी हवल्दार सरोजप्रसाद केसरी घाइते भएको प्रनि थापाले बताए। घाइते हवल्दारको औंला भाँचिएको उनले जानकारी गराए। भागदौडको क्रममा प्रहरीले तीनजना जुवाडेलाई पक्राउ गरेको र खालबाट १ लाख ७६ हजार नगद बरामद भएको उनले बताए। पक्राउ पर्नेमा बारा, कलैया उपमहानगर–२३ का जङ्गबहादुर साह, वडा नं १४ का राजेश मेहता र बहुदरमाई नपा–९ का गुर्देली साह रहेको प्रनि थापाले जानकारी गराए।
    पर्सा, बारा र छिमेकी भारतबाट जुवाडेहरू सो स्थानमा आएर कौडा खेल्ने गरेको स्थानीयको गुनासोपछि प्रहरीले छापामारी गरेको बताइएको छ।

लालबाबू शेख प्रेस काउन्सिलको सदस्यमा मनोनीत

लालबाबू शेख प्रेस काउन्सिलको सदस्यमा मनोनीत


 

 

 

 

 

 

प्रस, वीरगंज, १८ फागुन/
वीरगंजका पत्रकार लालबाबू शेख प्रेस काउन्सिल नेपालको सदस्यमा मनोनीत भएका छन्।
मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले शेखलाई प्रेस काउन्सिलको सदस्यमा चार वर्षको लागि मनोनीत गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्माले बताए।
प्रेस काउन्सिलको सदस्यमा मनोनीत भएका शेखलाई आजै सिंहदरबारस्थित मन्त्रालयमा मनोनयनपत्र हस्तान्तरण गरिएको छ।

हुलास स्टीलमा बम विष्फोट

हुलास स्टीलमा बम विष्फोट

प्रस, परवानीपुर, १८ फागुन/
गोल्छा समूहको पर्सा जिल्लाको विन्ध्यवासिनी गाउँपालिका–२ बहुअर्वाभाटास्थित निर्माणाधीन हुलास स्टील एन्ड इन्डस्ट्रिज प्रालिको भवनमा गएराति बम विष्फोट भएको थियो।
विष्फोटबाट उद्योग भवनको एउटा कोठाको झ्यालका सीसाहरू फुटेका छन् भने पर्खालमा क्षति पुगेको प्रहरीले जनाएको छ। पर्सा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले सोमवार राति १० बजे निर्माणाधीन उद्योगबाट विष्फोटको आवाज आएपछि प्रहरी त्यहाँ पुगेको बताए।

स्थानीयले उद्योगमा प्रेसर कुकर बम विष्फोट भएको बताए। प्रहरीले भने अनुसन्धान चलिरहेको र सम्पूर्ण जानकारी उपलब्ध गराउन नसकिने बताएको छ। केही दिनअगाडि विप्लव समूहले उद्योगका सञ्चालकसँग रु १५ लाख सहयोग माग गरेको र उद्योगका सञ्चालक शरद गोल्छाले सहयोग गर्न अस्वीकार गरेपछि विष्फोट भएकोले विप्लव समूहको संलग्नताको आशङ्का गरिएको छ। तर विप्लव समूहले यसको आधिकारिक स्वीकारोक्ति भने गरेको छैन।

 १२४ वटा पक्की घर हस्तान्तरण

१२४ वटा पक्की घर हस्तान्तरण



प्रस, जनकपुरधाम, १७ फागुन/
    घरबारविहीन १२४ परिवारलाई सोमवार धनुषामा पक्की घर हस्तान्तरण गरिएको छ। जनता आवास कार्यक्रम अन्तर्गत दुर्ई कोठाको पक्की घर निर्माण गरेर हस्तान्तरण गरिएको हो।
    सङ्घीय सरकारको आर्थिक लगानीमा प्रदेश नंं २ सरकारले घर निर्माण गरी प्रदेश नंं २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जीतेन्द्र सोनलले हस्तान्तरण गरिएको हो।
    वर्षौंदेखि समस्यामा परेका जनकपुरधाम उपमहानगरपालिका वडा नंं २३ लादोवेला, विन्धी, बसहियाका अति दलित मुसहर जातिलाई घर हस्तान्तरण गरिएको हो। तयारी घर पाएपछि अति दलित समुदायले खुशी प्रकट गरे।
    प्रदेश नंं २ का डोम, हलखोर, मुसहर तथा मेस्तरका ४ हजार घर निर्माण गरेर हस्तान्तरण गरिसकेको मन्त्री सोनलले बताए।
    आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ दुर्ई आर्थिक वर्षमा धनुषा जिल्लामा ७ सय २४ जनासँग सम्झौता भएकोमा अहिलेसम्म २ सय ८१ वटा घरको निर्माण भएको र ४ सयवटा घर निर्माण जारी रहेको सो कार्यक्रममा  जनता आवास कार्यक्रम धनुषाका संयोजक तथा प्रदेशसभा सदस्य परमेश्वर साहले जानकारी दिए।
    धनुषाको बसहियामा निर्माणको क्रममा ३४ वटा घरमा अदालतमा मुद्दा परेकाले रोकिएको डिभिजन इन्जिनियर विनोद यादवले जानकारी दिए। आफूहरूको वर्र्षाैदेखिको पक्की घरमा बस्ने चाहना पूरा भएकोमा अत्यन्तै
खुशी भएको लादोवेलाका छटुट साले बताए।
    सङ्घीय सरकारको कार्ययोजनामा परिमार्जन गरेर प्रदेश नंं २ सरकारले छानामा भएको बाँसको ठाउँमा फलामको पाइन, भुइँमा माटोको साटो इँटाको सोलिङ्ग गर्ने गरेको मन्त्री सोनलले जानकारी दिए।

 शिक्षकहरूलाई असारसम्मको तलब अग्रिम भुक्तानी

शिक्षकहरूलाई असारसम्मको तलब अग्रिम भुक्तानी


प्रस, रौतहट, १७ फागुन/
    गढीमाई नगरपालिकाले शिक्षकहरूलाई आगामी असार महीनासम्मको अग्रिम तलब दिएको छ।
    नगरपालिकातर्फबाट स्वास्थ्य सेवा, पशु सेवा र आयुर्वेद सेवामा कार्यरत स्थायी कर्मचारीलाई फागुन मसान्तसम्मको र शिक्षकहरूलाई २०७८ असार महीनासम्मको एकमुस्ट तलब खातामैं राखिएको लेखापाल कामेश्वर सहनीले जानकारी दिए। उनले शिक्षकहरूको मनोबल बढाउन चार महीनाको तलब अग्रिम भुक्तानी गरिएको बताए। प्रत्येक महीना तलब दिनुपर्ने भएपनि नगरपालिकाले आफ्ना शिक्षकहरूलाई आगामी असार महीनासम्मको रकम अहिले नै खातामा पठाएको लेखापाल सहनीले बताए। स्थानीय सरकारको अभ्यास प्रारम्भ भएको बेला कर्मचारी र शिक्षकहरूलाई सरकारको अनुभूति गराउन यस्तो गरिएको उनले बताए।
    रौतहटमा निर्वाचित जनप्रतिनिधिहरूबीचको आन्तरिक विवादका कारण अधिकांश स्थानीय तहका कर्मचारीहरूले तलबभत्ता समयमैं पाउँदैनन्। गुजरा, फतुवाविजयपुर, राजदेवी नगरपालिकामा तलब लिन कर्मचारीहरूले आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको थियो। काम गर्ने तर तलब समयमैं नपाउने अवस्थाले  कर्मचारीहरूको मनोबल खस्किंदै गएको छ। यस्तो झन्झटबाट छुटकारा पाउन गढीमाई नगरपालिकाले अघिल्लो चार महीनाको शिक्षकहरूको तलब खातामा पठाएको लेखापाल सहनीले जानकारी गराए।

 प्रेस सङ्गठन पर्साको संयोजकमा बन्जारा

प्रेस सङ्गठन पर्साको संयोजकमा बन्जारा



प्रस, वीरगंज, १७ फागुन/
    नेकपा ओली पक्षीय प्रेस सङ्गठन पर्साको संयोजकमा श्याम बन्जाराले जिम्मेवारी पाएका छन्। महासङ्घ पर्साका अध्यक्ष र प्रेस चौतारी पर्साका पूर्वअध्यक्षसमेत रहेका बन्जारालाई प्रेस सङ्गठन प्रदेश २ ले जिल्लाको जिम्मेवारी सुम्पिएको हो।
    सङ्गठन प्रदेश २ का इन्चार्ज लालबाबू शेख र प्रदेश संयोजक फणि महतले सोमवार हस्ताक्षर गरेको पत्रमा सङ्गठनको पर्सा शाखा संयोजकको जिम्मेवारी बन्जारालाई दिएको उल्लेख छ। नेकपा विभाजनसँगै सो पार्टीनिकट सञ्चारकर्मीहरूको सङ्गठन प्रेस सङ्गठनमा पनि विभाजन शुरू भएको हो। तत्कालीन एमालेनिकट प्रेस चौतारी र नेकपा माओवादी केन्द्रनिकट क्रान्तिकारी पत्रकार सङ्घ मिलेर प्रेस सङ्गठन गठन भएको थियो। सङ्गठन पर्साको संयोजकमा नीरज पीठाकोटे मगरले जिम्मेवारी पाएकोमा हाल पार्टी विभाजनपछि पीठाकोटे प्रचण्ड–माधव समूहमा लागेको र आइतवार जनकपुरमा छुट्टै कार्यक्रमसमेत गरेपछि ओली पक्षले उनलाई सङ्गठनको संयोजकबाट हटाएको हो। सङ्गठन एकीकृत हुँदाको अवस्थामा प्रदेश २ इन्चार्ज रहेका शेख र प्रदेश संयोजक महत भने ओली पक्षमा क्रियाशील छन्।
    एक/दुई दिनभित्रै सङ्गठनको पर्सा जिल्ला कमिटी विस्तार गरिनुका साथै प्रदेशको रिक्त स्थानमा पनि पूर्ति गरिने पर्सा संयोजक बन्जाराले बताए।

फरक समाचार

Find us