Showing posts with label सम्पादकीय. Show all posts
Showing posts with label सम्पादकीय. Show all posts

Monday, August 10, 2020

किंकर्तव्यविमूढता

किंकर्तव्यविमूढता

    अत्यासमा मानिसको होश हराउँछ। हामीले देखेका छौं, कहीं आगलागी भयो भने घरधनी छाती ठटाइठटाइ
रोइरहेको हुन्छ, अरू सहानुभूतिका शब्द ओकल्दै आगलागी नियालिरहन्छन् । यस्तोमा कोही होश भएको व्यक्तिले दन्किरहेको आगोमा पानी हाल्यो भने सबैको चेत फिर्छ र सबै पानी ओसार्न दौडन्छन् । अहिले कोरोनारूपी आगलागीले पनि त्यस्तै दृश्य उपस्थित गरेको छ । घरधनी बनेको सरकारलाई अहिलेकै बेला आप्mनो कुर्सी जोगाउने चटारो परेको छ । सत्ता रहे न भोलि कमाउँला-खाउँला भन्ने सरकार पक्ष्ँधर कर्मचारीतन्त्र पनि त्यही रन्कोमा जेलिन पुगेको छ । न सरकारलाई पानी (औषधि) ओसार्ने होश छ, न प्रशासनमा भएको साधनको उपयोग गरेर तात्कालिक राहत पु-याउने विवेक कायम छ । कोरोना सङ्क्रमित त आफ्नो गतिले कालको गालमा परि नै रहेका छन्, स्वार्थी–लोभी र व्यापारी बुद्धिका निजी अस्पतालका सञ्चालकहरूको अति गैरजिम्मेवार कामले कोरोनाइतर अन्य रोगीहरू पनि उपचार नपाएर कालको गालमा परिरहेका छन् । नेपालमा कोरोना भित्रिएको आज पुग नपुग पाँच महीना हुन लाग्यो तर अहिलेसम्म यसमा प्रभावकारी देखिएको रेम्डेसिविर औषधि आयातमा सरकारले प्रतिबन्ध हटाउन सकेको छैन ।
    आपत्का बेला निवारणको तत्काल उपाय नसुझ्नु बुझिने कुरा हो, तर देखेको उपाय लागू गर्न निस्चेष्ट बस्नु महामूर्खताको निशानी हो । यो त त्यस्तै भयो, जुन घरधनीको घरमा आगलागी भएको छ, उसले आप्mनै कुवाँको मुखमा भारी चट्टान राखेको होओस् । सरकार र प्रशासनले निरोधात्मक उपाय–लकडाउन र निषेधाज्ञाबाहेक अहिलेसम्म केही गर्न सकेको छैन । गण्डक अस्पताल र वीरगंज हेल्थकेयर अस्पताल नागरिकको सदाशयतामा कोभिड बिरामीको उपचारका लागि प्रदान गरिएको हो । तर ती अस्पतालको क्ष्ँमताले अब बिरामीको चाप सहन सकिरहेको छैन । न सरकार, न प्रशासन, उपचारका लागि थप अस्पतालको निर्धारण गर्न सकिरहेका छैनन् । ती अस्पताल जसले सामान्य रोगीको पनि उपचार गरिरहेका छैनन्, तिनलाई प्रशासनले कोरोना उपचारको लागि नियुक्त गर्न केको छेकबार ? रोगीको उपचार नगर्ने अस्पतालको लाइसेन्स सरकारले खारेज गर्न किन नसकेको ? यस्तोमा यदि उपचार नपाएर कसैको मृत्यु हुन्छ र नागरिक आक्रोशित हुन्छ भने किन आपत्ति ? हो आक्रोशको तारो जो हुनुपर्थ्यो, त्यो नभएर काम गर्ने ठाउँ पर्न जानु दुःखद हो ।
    यस्तो किंकर्तव्यविमूढता किन ? किंकर्तव्यविमूढताको क्षण तात्कालिक हुन्छ । केही बेरपछि त्यो स्वतः निख्रेर जान्छ । तर पाँच महीनासम्म यो अवस्था रहनुलाई सरकार कोमामा पुगेको नै ठान्नुपर्छ । बल्ल प्रदेश २ सरकारको पहलमा केन्द्र सरकारका एकजना मन्त्रीले वीरगंजमा एउटा निजी अस्पताललाई कोभिड अस्पताल बनाउने वाचा गरेका छन् । त्यति पनि भइदिए कोरोना पीडितहरूले जीवन र मृत्युको दोसाँध घरमैं बसेर बिताउनुपर्ने थिएन । त्यसैगरी, सरकारले ती निजी अस्पतालहरू जसले सामान्य रोगीको पनि उपचार गरिरहेका छैनन्, तिनकै उपयुक्त उपचार गर्न अघि सर्ने हो भने मानिसमा बा“च्ने मनोबलको विकास हुने थियो । यसै पनि कुनै रोगविरुद्ध औषधिभन्दा बढी मनोबलले असर गर्छ भन्ने विज्ञानसिद्ध प्रमाण छंदैछ। यस्तो उपाय गर्न सके सरकार र प्रशासनको किंकर्तव्यविमूढता छर्लङ्गिएर जनकल्याणको काममा पनि चासो उत्पन्न भएको ठहर्नेछ ।

Sunday, August 9, 2020

अमानवीयताको पराकाष्ठा

अमानवीयताको पराकाष्ठा

    रोगमा, शोकमा, भोकमा मानवीय भावना उच्चतम अवस्थामा विद्यमान हुन्छ। यो शास्त्रोक्त वचन हो। तर आज हाम्रो समुदाय यस उच्चतम भावनाबाट च्युत भएको छ। आज कोभिड रोगको प्रकोपले विश्व आक्रान्त छ। सर्वत्र, के सरकार, के नागरिक सदाशयतापूर्ण देखिएको छ। तर हाम्रो समाजमा सरकार कुर्सीको खेलको अन्धो मानिस बनेको छ भने नागरिक समाज भावनाशून्य बनेको छ। आज रोगीको उपचार अस्पतालहरूले गरिरहेका छैनन्। जुन पनि रोगीलाई कोभिड रोग लागेको देख्ने पहेंलपुरे आँखा भएका केही अस्पतालका सञ्चालकहरूको द्रव्यपिशाच प्रवृत्ति यतिबेला उत्कर्षमा पुगेको छ। देशभरि नै आफ्नो अस्पतालको सञ्जाल बनाउने सपना देख्ने वीरगंजकै एउटा अस्पतालको अहिलेको बेला रोगीहरूप्रति असहिष्णु व्यवहार देख्दा मानिस यतिसम्म निर्घृणी हुन सक्छ ? उदेक लागेर आउँछ। हो, अहिलेको बेला अति संवेदनशील छ। कोभिड सङ्क्रमितको सम्पर्कमा आउने जो कोहीलाई यो रोगले छुन सक्छ। एउटा अस्पताल सञ्चालक र सबैभन्दा पहिले त्यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी यो जोखिममा पर्न सक्छ। यस कुरामा कुनै सन्देह छैन।
    तर आजको युगमा सबैले आआफ्नो पेशा रोजेको हुन्छ। एउटा सैनिकले जीवनभरि जागीर खाएर युद्धको बेला लड्दिनँ भन्न पाउँदैन। त्यसैगरी, उपचार पेशा अँगालेको व्यक्तिले, उपचारसेवा सञ्चालन गरेर अकूत सम्पत्ति कमाएको व्यक्तिले कुनै रोगीको उपचार गर्दिनँ भन्न पाउँदैन। यस्तोलाई राज्यले, राज्यको जिम्मेदार निकायले सजायको भागीदार बनाउनुपर्छ। हामीले बितेका दिनमा यस्ता थुप्रै आपत्हरू देखेका छौं, जहाँ सरोकार नभएको निकायले समेत सक्दो सहयोग जुटाएको छ। बढी–पहिरोमा सैनिक, अति उग्र आन्दोलन होस् वा कस्तै अप्ठ्यारो र असामान्य परिस्थितिमा पत्रकार, दङ्गा–फसादको बेला प्रहरी, के ज्यान जोखिममा पर्छ भनेर आफ्नो कर्तव्यबाट पछि हटेको छ ? के यति उदाहरण पर्याप्त छैन कि रोग, शोक, भोकमा मानिसले मानिसलाई भरथेग गर्दछ ? चिकित्सकलाई रोग सर्छ भन्ने सम्भावनाको कुरै छाडौं, स्पष्टतः सङ्क्रमित व्यक्तिको उपचारमा के चिकित्सकहरू संलग्न छैनन् ? के केही अस्पतालले सबै लाभ त्यागेर यस महामारीका बेला आफ्नो अस्पताल राज्यको जिम्मा लगाएका छैनन् ?
    आज समाजमा कोही कसूरदार देखिएको छ भने त्यो हो राज्य र अस्पताल। सरकारले शुरूमैं नागरिक अस्पताललाई कोभिड अस्पताल बनाइदिएपछि आज उपचार नपाएर जनताको बिल्लिबाँठ भइरहेको छ। निजी अस्पतालहरूले उपचार नगरिदिंदा जवान मानिससमेत मरिरहेका छन्। यी मर्नेहरू कोभिड सङ्क्रमित भइदिएको भए, एउटा कुरा थियो, निजी अस्पतालहरूले अन्य रोगबाट ग्रस्त मानिसको पनि उपचार नगरिदिंदा अकाल मृत्यु भएको छ। यस्ताहरूलाई ज्यानमारा भन्न के आपत्ति ? सद्दे अवस्थामा लकडाउन लगाएर नागरिकको ढाड सेक्ने प्रशासन यस्ता अस्पतालहरूको पक्ष्Fपोषण गर्दैछ। नागरिकमाथि लाठो बर्साउने र धनी अस्पतालका सञ्चालकको हकमा आदेश टेरेन भनेर दाँत ङिच्याउने ? स्वार्थी सरकार, अक्षम प्रशासन र लोभी अस्पताल भएपछि उपचारको अभावमा पर्सेली जनता घिटीघिटी गरिरहेको छ। राज्य यसैगरी लाछी बन्यो भने नागरिक समाज उठ्नेछ र त्यस्ताको अस्तित्व नाश गरिदिनेछ।

Friday, August 7, 2020

उपचार नपाएरै ज्यान जाँदै

उपचार नपाएरै ज्यान जाँदै

    उपचारै नपाएर मानिसको ज्यान गइरहेको छ। सामान्य ज्वरोलाई पनि समयमा सही औषधि र स्वास्थ्य सल्लाह पाएन भने गम्भीर रूप लिन सक्छ। बितेको महीना प्रदेश २ को राजधानी जनकपुरमा पखाला लागेको युवकले समयमा उपचार नपाउँदा तड्पेर ज्यान गुमाए। यो कारुणिक घटनापछि पनि उपचारै नपाएर ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ। यही साता उपचार नपाएर वीरगंजमा दुईजनाको मृत्यु भएको पीडित पक्षले बाहिर ल्याएको छ। अहिले कुनै पनि रोगका बिरामी अस्पताल तथा स्वास्थ्य केन्द्रसम्म पुग्नै गा–हो छ। बिरामी बोक्न एम्बुलेन्स वा अस्पतालसम्म पुग्ने सवारीसाधन पाइँदैन। जेनतेन अस्पताल पुगेका बिरामीहरूले पनि समयमा उपचार नपाएर ज्यान गुमाइरहेका छन्।
    उच्च ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्ने, बान्ता हुने, दम फुल्ने वा श्वासप्रश्वासमा समस्या आउनेलगायतका लक्षणहरू कोरोना सङ्क्रमणले मात्रै हुँदैन। अन्य धेरै प्रकृतिका बिमारीमा पनि यस किसिमको लक्षण देखिन सक्छ। आजभोलि कुनै एक लक्षण देखिनेबित्तिकै कोरोना सङ्क्रमणको आशङ्कामा स्वास्थ्य संस्थाको ढोका बन्द हुने गरेको छ। बिरामीको अवस्था हेर्नुभन्दा पहिले पिसिआर परीक्षणको रिपोर्ट माग हुन्छ। कसैको सिफारिशको आधारमा तीन घण्टामैं, तर सर्वसाधारणको पिसिआर रिपोर्ट आउन ८–१० दिनसम्म लाग्छ।  सामान्य बिरामी पिसिआरको रिपोर्ट आउन्जेल गम्भीर बनिसकेका हुन्छन् भने गम्भीर प्रकृतिका बिरामीको ज्यान गइसकेको हुन्छ। अधिकांशको मृत्युपछि पिसिआर रिपोर्ट आउनुको कारण यही हो। अस्पतालको ढोका चहार्दाचहार्दै धेरैजनाको ज्यान गइसकेको छ। कोरोना सङ्क्रमित नै रहेछ भने पनि उसले समयमैं सही उपचार पाउने हो भने बाँच्न सक्छ। अस्पताल र चिकित्सकको लागि पनि सजिलो पक्कै छैन। पछिल्लोपटक प्रदेश नं २ मा चिकित्सक तथा स्वास्थ्यकर्मीमा सङ्क्रमणदर उच्च छ। यसैगरी, सङ्क्रमण हुँदै जाने हो भने केही दिनभित्रै यहाँका सबै अस्पतालमा ताला लाग्न सक्छ। भएका सीमित स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि अन्यत्रबाट बोलाउन सक्ने अवस्था छैन।
    विभिन्न सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मीहरूमा सङ्क्रमण भइरहनुले त्यहाँ सावधानी तथा सुरक्षाका उपायहरू कम प्रयोग भएको छ भन्ने प्रस्ट हुन्छ। कोरोनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्ने नै हो भने सबै स्वास्थ्य संस्थामा कोरोना अस्पतालमा अपनाइने स्वास्थ्य सतर्कता अपनाउनुपर्छ। त्यसैगरी, हरेक अस्पतालमा अस्थायी आइसोलेशन शय्या अनिवार्य गरिनुपर्छ। यसो भएमा कोरोनाको लक्षण देखिएका बिरामीहरू कुनै पनि अस्पतालमा पुग्नेबित्तिकै उपचार पाउन सक्छन्। जनरल वार्डका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पनि कोभिड अस्पतालको जत्तिकै पिपिईका साथै स्वास्थ्य मापदण्ड अनिवार्य हुनुपर्छ। त्यसैगरी, चिकित्सकको प्रत्यक्ष सम्पर्कमा रहेर गरिने उपचारभन्दा पनि अनलाइन स्वास्थ्य सेवालाई बढावा दिनु जरुरी छ।  यसो भएमा चिकित्सकबाट बिरामीमा र बिरामीबाट चिकित्सकमा सङ्क्रमण हुने क्रम भङ्ग हुन्छ। निश्शुल्क र सशुल्क दुवै किसिमका अनलाइन सेवालाई मान्यता दिइने र सङ्क्रमित भई आइसोलेशनमा बसेका चिकित्सकहरूलाई यस सेवामा सक्रिय गराउने हो भने उपचारै नपाई मृत्यु हुने दर न्यूनीकरण गर्न सकिन्छ।

Thursday, August 6, 2020

समयको प्रतीक्षा

समयको प्रतीक्षा

    विश्वलाई कोरोनाले गाँज्न थालेको सात महीना पूरा भएको छ । अहिलेसम्म यस महामारीबाट प्रतिमहीना हाराहारी एक लाख मानिसको मृत्यु भएको छ । यो औसतमात्र हो । पछिल्ला महीनाहरूमा हताहत सङ्ख्या पहिलो महीनाको दाँजोमा हजारौं गुणा बढेको छ । पछिल्लो समयमा नेपाल प्रवेश गरेको कोरोनाबाट महीनामा फाट्टफुट्ट ज्यान गइरहेको थियो भने अब दिनको दुई–चारको दरमा मृत्यु भइरहेको छ । सरकार कोरोना सङ्क्रमण रोक्न झाराटराइ दायित्व निर्वाह गरिरहेको छ । पर्याप्त सूचना र चेतावनीको खबर प्रसारित भइरहे पनि जनता लापरवाह छ । यो त्यही जनता हो, जो अतिशय सावधान भएर लाशको अन्तिम संस्कार गर्दा पनि भाइरसको प्रसार हुन्छ भनेर थोकको भाउमा विरोध जनाउँछ, तर शारीरिक दूरी कायम गर्ने सामान्य नियम पालन गर्दैन । हो, अब जति पनि ज्यानको क्षति हुन्छ, त्यसमा सरकारलाई दोष लगाउनुको साटो नागरिक आफैले जिम्मेदारी लिनुपर्छ । ज्यान आफ्नो हो, सरकारको होइन, सरकार पनि आफ्नो ज्यान जोगाउन लागिपरेको छ, यस अवस्थामा सरकारले होइन, नागरिक आफैंले आफ्नो ज्यान जोगाउने व्यवस्था गर्नुपर्छ ।
    हो, सरकारको ज्यानलाई पनि जोखिम बढेको छ । त्यो जोखिम कोरोनाबाट होइन, सत्ताका लागि अहर्निश हुने सङ्घर्षले गर्दा हो । सत्ताशीर्षमा बस्न चाहनेले केन्द्रीय समितिको बैठकको माग गरेको छ, सत्तामा बस्नेले चाहिं कोरोना सङ्कटका कारण धेरै मानिस एक ठाउँमा बस्न नहुने अत्तो थापेर समितिको बैठक हुन नदिने दाउ रोजेको छ । अर्थात् कोरोनाको अवस्था जति भयावह हुँदै जान्छ, सत्तामा बस्नेले त्यति बढी समय पाउँछ । अनि किन सरकारले कोरोना रोकथामको उपाय गर्छ ? कोरोना जति भयावह बन्दै जान्छ, सत्ता त्यति नै सुरक्षित हुन्छ । पर्सा जिल्लाका केही पालिकामा युवा तथा बुद्धिजीवीले शायद यस तथ्यलाई बुझेर सुरक्षाकर्मीका साथ मिलेर समुदायमा सङ्क्रमण फैलन नदिन काम गर्न थालेका छन् । ठोरी गापाको सुवर्णपुरमा अब नागरिक नै सुरक्षाकर्मीको दायित्व निर्वाह गर्न अघि सरेको छ । यो क्रम जिल्लाभरि र प्रदेश हुँदै समग्र मुलुकमा फैलने हो भने कोरोनाको आधा लडाइँ जित्न सकिन्छ । अबको सबैभन्दा प्रभावकारी सतर्कता भनेको आवश्यक शारीरिक दूरी हो । भीडभाड हुन नदिने हो भने दूरी कायम हुन्छ । यसमा नागरिक समाज नै प्रभावकारी हुन सक्दछ ।
    हुनत रूसले कोरोनाविरुद्ध प्रभावकारी खोप विकास गरिसकेको दाबी गरेको छ । यदि खोप तयार हुन्छ भने भोलिको दिन कोरोनाबाट निरापद हुन्छ । तर यो एकतर्फी दाबी हो । विश्व स्वास्थ्य सङ्गठनले यस खोपलाई अनुमोदन गरिसकेको छैन । खोप पनि अहिले रूसमा मात्र सीमित छ । यो प्रभावकारी ठहर भयो र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभित्र पर्न सक्यो भने कोरोनामाथि मानवको विजय हुनेछ । तर पहिले औषधिले मान्यता पाउनुप-यो, अनि त्यसको व्यापकस्तरमा उत्पादन हुनुप-यो र हामीसम्म आइपुग्नुप-यो । त्यसमा समय लाग्छ । तबसम्म नागरिक समाज सक्रिय हुनुको विकल्प छैन । आफू सुरक्षित रहँदै समाजलाई सुरक्षित राख्ने सोच चारैतिर विकसित हुनु आवश्यक छ । अहिले चञ्चलताले होइन, कुनै पनि समस्या गम्भीर भएर समाधान गर्ने बेला हो । आफूमात्र होइन, अरूले पनि बाँच्न पाउनुपर्छ भन्ने भावना विकसित गर्नुपर्ने बेला हो ।

Wednesday, August 5, 2020

सङ्क्रमणको परिणाम देखिंदैछ

सङ्क्रमणको परिणाम देखिंदैछ

    कोभिड–१९ माथि सहज जीत हासिल हुने अतिउत्साहमा सरकारले समयपूर्व गरेको लकडाउनले यस महामारीलाई रोक्न त सकेन, सङ्क्रमणको विस्तार हुन नागरिक समाजले पनि यथेष्ट योगदान दियो। अब घरमा घुस्रेर, न नागरिकले  त्राण पाउँछ, न निषेधाज्ञा वा कफ्र्यू नै लगाएर सरकारले सफलता पाउँछ। कोरोना सङ्क्रमण समुदायमा फैलिइसकेको छ। यसको प्रसार तीव्र गतिमा हुन थालेको छ। कतिसम्म भने अब मानिसमा परीक्ष्Fण गराउने साहसको अभाव हुन थालेको छ। जोकोही सङ्क्रमित देखिंदा आफूमा पनि सङ्क्रमण भएको भय मानिसको अन्तर्मनमा बस्न थालेको छ। यो भावनाले मानिसको मनोबललाई धराशयी पार्न थालेको छ।  यो अति चिन्तनीय अवस्था हो। हिजो लकडाउन खुकुलो पार्दा वातावरणमा केही छैन, कोरोना केही होइन भन्ने मनोविज्ञानले अति उत्साहपूर्ण भीडभाड र महामारीसम्बद्ध सबै नियन्त्रण चुँडाउँदा सुकेको झिंगटोमा आगो सल्केजस्तै आज समाजमा कोभिड–१९ सल्किसकेको छ। यसको व्यवस्थापनमा  राज्यको विमुखताले हिजोसम्म डटेर कर्तव्य निर्वाह गरिरहेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीमा पनि दायित्वविहीनता उत्पन्न हुन थालेको छ। अवस्था जतिजति जटिल हुँदै जान्छ, नियन्त्रण त्यतिकै कसिकसाउ हुनुपर्नेमा फितलोपन देखिन थालेको छ।
    राज्यले गर्ने गलती गरिसकेको छ। त्यसको सुधार सम्भव छैन, अब सबै दायित्व नागरिकमाथि अवलम्बित हुन पुगेको छ। अब प्रतिकार गर्न सकिने अवस्था सिद्धिसकेको छ। यो प्रतिरोध गर्ने अवस्था हो। तर यस महामारीविरुद्ध प्रतिरोधको कुनै सामल उपलब्ध छैन। अब जोगिन मात्र सकिन्छ। कुनै पनि उपायले सङ्क्रमण हुन नदिइयोस् र सङ्क्रमण भइसकेको छ भने त्यो मारक नहोस्, अबको सचेतना यस दिशातिर हुनुपर्दछ। गा–हो देखिएको कुरा हो, महामारीलाई मारक बन्न नदिनु। यसमा राज्यको कस्तै पनि कानूनले सहयोग गर्न सक्दैन। सहयोग नागरिकले आफैंलाई गर्नुपर्छ। महामारी नियन्त्रणका सूत्रलाई मन्त्र बनाएर मात्र अब आइन्दा सङ्क्रमणको दर रोक्न सकिन्छ र समाजलाई  सुरक्ष्Fित बनाउन सकिन्छ। यो अभ्यास हो। हामी यसका अभ्यस्त छैनौं। हामीले हिजोसम्म सबै कारोबार सहयोगमा गर्ने अभ्यास गरेका छौं। त्यसैले हामीलाई एक्कासि लकडाउनले उत्प्रेरणा दिएको हो। अब भने चेत खुलेको हुनुपर्छ। अब नियन्त्रणात्मक सूत्र पालनामा कुनै द्विविधा नहुनुपर्ने हो। सबै काम धैर्यपूर्वक, संयमको लक्ष्मणरेखाभित्र रहेर गर्नुपर्छ। यस्तो पनि नहोस् कि अतिशय सावधानीले जीवनयापनका साधनबाट पनि विमुख हुनुपरोस्। यस्तो भयो भने भोलि फेरि अर्को खुकुलो लकडाउनको अभिशाप भोग्नुपर्छ।
    राज्यले अब लकडाउन जारी राख्न विशेष प्रयास गर्नुहुँदैन। यसलाई नागरिकको विवेकमा छाडिदिनुपर्छ। यसो भएन भने मानिसले स्वनियन्त्रण सिक्न सक्दैन। हो राज्य यस कुरामा सतर्क हुुनुपर्छ कि स्वनियन्त्रणको बहानामा कोही कसैले ज्यादती नगरोस्। अरूलाई उसको इच्छाविपरीत गर्न बाध्य नपारोस्। लकडाउनलाई निषेधाज्ञासम्म पु–याउँदा पनि हासिल के भयो ? त्यसको लेखाजोखा गरेर आगामी रणनीति तयार पार्नुपर्छ। राज्यको निषेधाज्ञाको अवधिमा पनि कसरी विदेशी कामदार र श्रमिकहरू भित्रिए, उद्योग कारखानासँग जवाफ लिनुपर्छ। आवश्यकता पूर्ति हुनुपर्छ, आवश्यकता पूर्ति गर्ने संसाधन आफैं रुग्ण बन्ने स्थितिको वर्जना गर्नुपर्छ। यो सरकारको दायित्व हो।

फरक समाचार

Find us