Showing posts with label समयान्तर. Show all posts
Showing posts with label समयान्तर. Show all posts

Saturday, March 6, 2021

नीति हराएको सत्ता राजनीति

नीति हराएको सत्ता राजनीति


 

 

 

 

 

 

 

 

 

 

ओमप्रकाश खनाल

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको सरकारको कदमलाई अमान्य ठहर गरेपछि यतिखेर मुलुकको राजनीति सत्तामा एकोहोरिएको छ। यसो त, विघटनदेखि पुनस्र्थापनाका लागि आन्दोलन र त्यसयताका राजनीतिक परिदृश्यहरूको मूल जड सत्ता सङ्घर्ष नै हो। सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला दिएपछि धेरैले प्रधानमन्त्री केपीशर्मा ओलीले राजीनामा अपेक्षा गरेका थिए। राजीनामा नदिने र अविश्वासको प्रस्ताव सामना गर्ने अडानले ओली अहिले पनि सकभर सत्तामा टाँसिने उपायको खोजीमा छन् भन्ने प्रस्ट भइसकेको छ। ओली प्रवृत्तिको विरोधमा उत्रिएको नेकपाकै अर्को समूह ओलीलाई सत्ताबाट झार्न आतुर छ। ओलीले सत्तामैं रहनका लागि विधि र प्रक्रिया मिचेर चालेको कदमको विरोधमा उत्रिएका नेकपाजनहरूको ध्येय पनि सत्ताबाहेक अन्य होइन भन्ने बुझ्न धेरै माथापच्ची आवश्यक छैन। ओली आचरण लोकतन्त्र र पद्धतिको प्रतिकूल थियो भन्नेमा विवाद भएन, विधिको पक्षमा उत्रिएकाहरूको साध्य पनि सत्ताप्राप्तिबाहेक अन्य केही होइन। लोकतन्त्र, जनहित र लोककल्याण त सत्तासम्म पुग्ने देखावटी आलाप मात्रै हुन्।
सत्तासीन दल कानूनीरूपमा अझै एक भएपनि व्यावहारिकरूपमा दुई भइसकेको छ। एकले अर्कोलाई कारबाही गर्ने र पार्टीबाट निकाल्ने सिलसिला जारी छ। मध्यमार्गी धारमा देखा परेका नेकपाका केही नेता यसलाई जोड्ने प्रयत्नमा छन्। यस्ता प्रयास सार्थक हुने सम्भावना कमै मात्र प्रकट भइराखेको छ। ओलीले पदबाट राजीनामा नदिएपछि यतिखेर सत्ता राजनीतिको तानातान पुनस्र्थापित प्रतिनिधिसभामा पुग्ने निश्चित भइसकेको छ। निर्वाचन आयोगले नेकपाको आधिकारिता कुन समूहसित छ भनेर टुङ्गो लगाउन सकेको छैन। प्रचण्ड–माधव समूहले आफूहरूसित बहुमत केन्द्रीय सदस्य रहेकाले आधिकारिक रहेको दाबी कसेको छ। ओली पक्ष नेकपा कानूनीरूपमैं नफुटेको र प्रचण्ड–माधवहरूले फुटाउने प्रयत्नमा रहेको बताइराखेको छ। यी दुवैथरीका आफूअनुकूलका तर्कहरू मात्रै हुन्। एकथरी नेताहरू निर्वाचन आयोगले विवाद निरूपण गर्न नसके प्रतिनिधिसभामा हुने मतविभाजनका आधारमा यो विषयको निष्कर्ष निकाल्न सकिने बताइराखेका भेटिन्छन्। सत्य यो पनि हो कि यो प्रक्रियाबाट संसद्मा कुन समूहको संसदीय दलको नेता आधिकारिक हो भन्ने निर्णय हुन त सक्ला, दलको आधिकारिकता संसद्ले निर्धारण गर्न सक्दैन। संसदीय दल र राजनीतिक दल फरक विषय हुन्।
नेकपाको प्रचण्ड–माधव समूहले पुष्पकमल दाहाललाई संसदीय दलको नेता घोषणा गरेको छ। यो समूहका हरेकजसो कदममा वैधानिकताको प्रश्न उठाउँदै आएको ओली समूहको प्रतिक्रिया बाँकी छ। कानूनतः पार्टी विभाजन भइनसकेको र अहिले पनि संसदीय दलको नेताको हैसियतमा ओली प्रधानमन्त्री रहेकाले प्रचण्ड–माधव समूहको संसदीय दलको नेताको वैधानिक हैसियतमा प्रश्न उठ्दैन भनेर ढुक्क हुने आधार छैन। यसअघि पनि प्रचण्ड–माधव समूहले प्रचण्डलाई संसदीय दलको नेता बनाएकै हो। यो प्रक्रिया नेकपाको विधानसँग मेल नखाने र मान्य नहुने तर्क ओली समूहको छ। ओलीले आफूले बोलाउने संसदीय दलको बैठकबाट आफूलाई हटाउन चुनौती दिइसकेका छन्।
प्रतिवाद र तर्क जेजस्ता गरे पनि ओली यतिखेर रक्षात्मक कुनामा पुगिसकेका छन्। अविश्वासको प्रस्तावको सामना गर्ने अडान केही दिनकै लागि भएपनि सत्ता लम्ब्याउने उपाय भने बन्न सक्दछ। ओली अरू केही समय सत्तामा टाँसिनकै लागि आफैंले विघटन गरेको संसद्को सहारा लिने उद्देश्यमा एकोहोरिएका छन्। प्रतिनिधिसभा विघटनजस्तो असंवैधानिक र राजनीतिक पतनको बाटो रोजेका ओलीले सर्वोच्चको फैसलापछि राजीनामा दिएको भए कम्तीमा सहानुभूतिको स्थान हुन सक्थ्यो। राजीनामा नदिने र आफैंले विघटन गरेको संसद्मा अविश्वासको प्रस्ताव स्वीकार गर्ने हठले ओलीको राजनीति नैतिकरूपमा पनि विघटनकै बाटोमा दौडिएको छ। प्रस्ताव असफल बनाउने आधारहरू कमजोर प्रतीत भइराखेको दृश्यावलीमा ओलीको राजनीति नै धराशयी हुने जोखिम देखा परेको छ। जुन प्रतिनिधिसभाले कामै गर्न नदिएको आरोप लगाएर ओलीले विघटनको सिफारिश गरेका थिए, त्यही प्रतिनिधिसभासित समर्थन माग्नुपर्नेजस्तो दयनीय अवस्थामा पुगिसकेका छन्। प्रकारान्तरले कुर्सीमा टाँसिने ओलीको हठले उनी स्वयंको राजनीतिक उचाइलाई पुड्को मात्र बनाएको छैन, अब त्यो राजनीतिक ओजको पुनप्र्राप्ति असम्भव प्रायः छ।
ओलीसित कुनै पनि शर्तमा सहकार्य हुन नसक्ने प्रचण्ड–माधव समूहको अडान र अन्य विपक्षी दलको ओलीप्रतिको दृष्टिकोणले ओली अल्पमतमा पर्ने निश्चितजस्तै छ। यो अवस्थालाई बुझेका नेकपा सांसदहरू स्वयम् पनि प्रचण्ड–मावध समूहतिरै ढल्किएका सङ्केत संसदीय दलको नेता चयनका लागि राखिएको सांसदहरूको भेलाबाटै प्रमाणित भइसकेको छ। ओलीले आफूसित बहुमत सांसद भएको दाबी गरिराखेको अवस्थामा प्रचण्ड–माधव समूहको भेलामार्फत ११५ जना सांसदको समर्थनको अङ्कगणित बाहिरिएको छ। प्रतिनिधिसभामा १७४ जना सांसद रहेको नेकपाको संसदीय दलको नेता बन्न ८८ जना सांसद आवश्यक पर्छ। संसदीय दलबाट आफूलाई हटाउन चुनौती दिएका ओलीको दम्भका लागि यो गतिलो झापड पनि हो।
संसद्मा अविश्वासको प्रस्ताव पारित हुने अवस्था आएमा अर्को पक्षको सरकार बन्नै नदिने रणनीति ओली पक्षको देखिएको छ। ओलीको पक्षमा ५७ जना सांसद देखिएका छन्। प्रतिनिधिसभाका २७५ सदस्यमध्ये मतदान गर्न पाउने २६९ सांसद छन्। नेपाली काङ्ग्रेससँग ६१ र जनता समाजवादी पार्टीसँग ३२ मत छ। वामदेव गौतम समूह, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेमकिपासँग १/१ मत छ। एकजना स्वतन्त्र सांसद प्रचण्ड–माधव समूहको पक्षमा छन्। सभामुखले मतदान गर्दैनन्। यो अङ्कगणितमा सरकार बनाउन वा जोगाउन १३८ जनाको समर्थन चाहिन्छ। ओलीलाई आफ्नो रणनीतिमा सफल हुन काङ्ग्रेस र जनता समाजवादी पार्टीको साथ चाहिन्छ। उनको कदमलाई प्रतिगमन भनेका दलले ओलीलाई साथ दिने सम्भावना देखिन्न। हुनत सत्ताका लागि जस्तोसुकै अस्वाभाविक गठबन्धनमा अग्रसर हुने राजनीतिक दृश्यहरू समकालीन नेपाली राजनीतिको लागि नौलो होइन। भन्दा जे भनिए पनि संसद्मा बहुमत देखाउन नसक्ने भयले नै ओलीले चुनावमा जान खोजेका थिए। त्यो विकल्प बन्द भइसकेको छ। प्रचण्ड–माधव समूहलाई ओलीको सत्ता ढलाउन वा आफ्नो सरकार बनाउन दुवै सत्ताखेल सहज देखिएको छ।
अहिले सत्ता राजनीतिमा प्रमुख विपक्षी नेपाली काङ्ग्रेस केन्द्रीय भूमिकामा देखा परे पनि ओलीको असंवैधानिक कदमको प्रतिवादमा जुन भूमिका निभाउनुपर्ने थियो, त्यसमा पूर्ण असफल भएको छ। आफूलाई लोकतन्त्रको एकल अभियन्ता ठान्ने काङ्ग्रेसले ओलीको कदमको विरोधमा एकाध कर्मकाण्डी वक्तव्यबाजी र प्रदर्शनबाहेक रचनात्मक काम गर्न सकेन। चुनाव र सत्ता साझेदारी दुवैतिर खुट्टा राखेको काङ्ग्रेसको मूल नेतृत्वले ओली कदमको विरोधमा सच्चा प्रतिपक्षको भूमिका निभाउनु कर्तव्य थियो। सभापति शेरबहादुर देउवाको सत्तालक्षित राजनीति अहिलेको प्रकरणमा काङ्गे्रसले प्राप्त गर्न सक्ने राजनीतिक उचाइको अवरोध बनेकोमा द्विविधा छैन। ओलीको कदमबारे काङ्ग्रेस नेतृत्वमा देखिएको ध्रुवीकरणले यसको पुष्टि गरिसकेको छ।
अहिले ‘ढोकामा आइसकेको प्रधानमन्त्रीको पदलाई झ्यालबाट हेरिरहेको’ काङ्ग्रेसभित्रै पनि सत्ता साझेदारीका सन्दर्भमा एकमत छैन। काङ्ग्रेस सभापतिमा सत्ता नेतृत्वको लालसा पलाइराखेको छ। राजनीतिमा सत्ता निर्माण र विघटन स्वाभाविक प्रक्रिया भएपनि काङ्ग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने मतादेश दिएको तथ्यलाई बिर्सिएर सत्ता नेतृत्वको लालच राख्नु चाहिं अस्वाभाविक हो। प्रकारान्तरले यो जनमतको अपमान हो। सत्ता स्वार्थका लागि जस्तोसुकै अस्वाभाविक गठबन्धन सम्भव हुने नेपाली राजनीतिमा काङ्ग्रेसले सत्ताको डाडुपन्यूँ समात्यो भने पनि त्यो आश्चर्य हुनेछैन। नेकपाजनको रडाकोको रहस्य के हो ? प्रचण्ड–माधव समूहले ओलीलाई धारे हात लगाउनुको अन्तर्य के हो ? घरायसी लफडामा केपी ओलीले प्रतिनिधिसभा विघटनजस्तो आत्मघाती काम किन गरे ? यो विशुद्ध स्वार्थ टकरावको परिणाम हो। जसले जतिसुकै जनता र लोकतन्त्रको दुहाइ दिए पनि ती सबै सत्ताको दुनो सोझ्याउने उपक्रमबाहेक अन्य केही होइन।

Saturday, February 27, 2021

 दम्भको दुर्गति

दम्भको दुर्गति


 

 

 

 

 ओमप्रकाश खनाल

प्रतिनिधिसभा भङ्ग गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि राजनीतिले नयाँ मोड लिएको छ। सर्वोच्चको यो फैसलाले राजनीतिक अन्योललाई चिर्ने काम त गरेको छ नै प्रधानमन्त्री केपीशर्मा ओलीमा देखिएको अहङ्कारलाई पनि ठेगान लगाएको छ। ओलीमा खतरनाक तरीकाले हावी भइराखेको ‘मै मात्र जान्ने, बाँकी सबै अज्ञानी’ ठान्ने मनोविज्ञानलाई पनि यो निर्णयले लगाम कस्ने काम गरेको छ।
ओलीले विपक्षीको अवरोधका कारण नभएर आफ्नै दलभित्रको घरझगडाको झोंकमा प्रतिनिधिसभा विघटनजस्तो असंवैधानिक र आत्मघाती काम गरे। सर्वोच्च अदालतले ओलीको कदमलाई लगाएको लगामले राजनीतिक गतिरोधलाई निकास दिएको छ। यो निर्णयले अब भविष्यमा कुनै शासकको सनकका भरमा जननिर्वाचित संस्था भङ्ग हुने विडम्बनाको समेत अन्त्य गरिदिएको छ। कुनै सन्की शासकले यस्तो दुस्साहस गरेमा न्यायालयको यो नजीरले अमान्य ठहर हुनेछ।
आफ्नो इच्छा र स्वार्थमा धक्का लाग्ने बित्तिकै कार्यकारी प्रमुखले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई चुनावमा लैजाने र अस्थिरताको भारी बोकाउने शैलीलाई न्यायालयको निर्णयले अमान्य भनेको छ। यो नजीरले भविष्यमा कुनै पनि शासकलाई स्वेच्छाचारी बन्ने बाटो रोक्नेछ। संसद् विघटनको संवैधानिक व्यवस्थालाई आफूखुशी व्याख्या गर्ने र अस्थिरता उत्पादन गर्ने प्रवृत्तिलाई सर्वोच्चको आदेशले रोक लगाएको छ।
अब भविष्यमा पनि शासकहरू संवैधानिक सीमाभित्र रहेर सत्ता चलाउनुपर्ने सन्देश दिएको छ। यो फैसलाले संविधानवादको सर्वोच्चतालाई पुनः एकपटक दरिलोसँग स्थापित गरेको छ। यस अर्थमा सर्वोच्चको यो निर्णयले देशमा राजनीतिक स्थायित्वलाई दीर्घकालसम्म कायम राख्ने आधारसमेत निर्माण गरिदिएको छ।
सर्वोच्चको फैसलाले तत्कालीन र दीर्घकालका लागि प्रधानमन्त्रीको वैयक्तिक महत्वाकाङ्क्षाका भरमा संसद्को अवसान गर्ने दुस्साहसलाई रोकेको छ। दुई तिहाइ बहुमतको सत्ताको नेतृत्व सम्हालेदेखि नै प्रधानमन्त्री ओलीमा सवार दम्भको अवसान भएको छ। सँगै यो फैसलाले प्रधानमन्त्री ओलीलाई मात्र होइन, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि आफ्नो भूमिकामा थप जिम्मेवार बन्न नैतिक पाठ दिएको छ।
राष्ट्रपति संविधानको संरक्षक हुनुका कारण कार्यकारी प्रमुखले संविधानमैं नभएको अधिकार सृजना गर्न खोज्दा त्यस्तो प्रयासलाई सच्याउन लगाएर संविधानको मर्मलाई रक्षा गर्नु दायित्व हो। अधिनायकवादी सोच भएका शासकहरू संविधानको आफूखुशी व्याख्या र हुँदै नभएको अधिकार सृजना गर्न खोज्दछन्। ओलीमा त्यही आचरणको पुनरावृत्ति भएको हो। राष्ट्रपतिबाट ओलीको यो महत्वाकाङ्क्षालाई नै प्रवद्र्धन गर्ने काम भयो। सर्वोच्चको निर्णयले त्यसलाई अवैधानिक ठहर गरेर प्रक्रिया मात्र होइन, प्रवृत्तिलाई पनि सच्चिन बाध्य बनाएको छ।

विघटनको मुद्दा सर्वोच्चमा पुगेदेखि संवैधानिक इजलास गठनलाई लिएर हुर्किएका आशङ्का र बहसका क्रममा न्यायाधीशका प्रश्नलगायतले अनेक सन्देह/अड्कलबाजी जन्माएका थिए। यो फैसलाले शक्तिपृथकीकरण र न्यायपालिकाको स्वतन्त्रताको उच्चतम उदाहरण स्थापित भएको छ। व्यवस्थापिका, कार्यपालिका र स्वतन्त्र न्यायपालिका लोकतन्त्रका आधार हुन्। यी आधारहरूबीच स्वतन्त्र सन्तुलन र नियन्त्रणको असल लोकतान्त्रिक अभ्यास हो। यतिखेर सर्वोच्च अदालतको निर्णयले न्यायपालिकाप्रति नागरिकको विश्वासलाई प्रगाढ बनाउने काम गरेको छ।
सर्वोच्चको यो निर्णयले नेपालको संसदीय व्यवस्था प्रधानमन्त्रीको मनोमानी चल्ने परम्परागत संसदीय व्यवस्था होइन, सुधारिएको उन्नत व्यवस्था हो भन्ने पनि परिभाषित भएको छ। संविधानले सरकार गठन भएको दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने व्यवस्था गरेर सत्तालाई मात्र बलियो बनाएको होइन। बहुमतीय प्रक्रियाबाट सरकार बन्न नसकेको अवस्थामा मात्रै संसद् विघटन हुने व्यवस्था गरेर प्रधानमन्त्रीको स्वार्थ र सनकको भरमा प्रतिनिधिसभा विघटन हुन नसक्ने गरी जननिर्वाचित संसद्लाई शक्तिशाली बनाएको तथ्यलाई सर्वोच्चको आदेशबाट थप व्याख्या गरिदिएको छ।
संसद् विघटनको बचाउमा प्रधानमन्त्रीले गरेका सबै तर्कलाई न्यायालयको आदेशले खारेज गरिदिएको छ। यस अर्थमा प्रधानमन्त्रीले अब सत्तामा टाँसिइराख्ने नैतिक अधिकार गुमाइसकेका छन्। प्रधानमन्त्री ओलीले बचेखुचेको राजनीतिक आचरण र साख जोगाउने हो भने पदबाट राजीनामा दिएर मार्ग सहज गरिदिंदा उत्तम हुन्छ। ओलीले आफ्नो तीन वर्षे समयमा दुई वर्ष त दुई तिहाइ बहुमतको सुविधामा सत्ता चलाए। ओलीको कार्यकालमा स्थायित्व र आर्थिक समृद्धिको अपेक्षा पनि अस्वाभाविक थिएन। तर ओलीको यो कालखण्ड कटाक्ष र हावादारी तर्कको पर्यायभन्दा बढी केही हुन सकेन।
समृद्ध नेपाल, सुखी नेपालीको उद्देश्य सुन्नमा जति कर्णप्रिय छ, यसको पूर्णतामा सरकारको शैली नै बाधक बनेकोमा द्विविधा आवश्यक छैन। यथार्थमा राष्ट्रवादको आवरणको ब्याजमा पाएको जनमतलाई ओलीले चरम दुरुपयोग गरे, यस निम्ति उनले आत्मसमीक्षा गरेर जनतासमक्ष माफी माग्नुपर्दछ। प्रधानमन्त्रीलाई आफ्नै दम्भले पतनको बाटोतिर डो–याएकोमा अब किन्तुपरन्तु आवश्यक छैन। राजनीतिकरूपमा दल विभाजनको अभिप्रायले अध्यादेश ल्याउने, अख्तियार र न्यायालयलाई धम्क्याउनेजस्ता हर्कत ओली चरित्रका उपज नै हुन्। तर नागरिकको चर्को प्रतिवाद र न्यायालयको निर्भीकताका अगाडि ओलीका तमाम तिकडम खेर गए।
सर्वोच्चको फैसलाले प्रधानमन्त्रीको सनकलाई ठेगान लगाए पनि दुई तिहाइनजीकको बलियो बहुमत पाएको नेकपा गठबन्धनको अदूरदर्शिता र आन्तरिक कहलले सत्ता राजनीतिलाई अस्थिरतातिर धकेलिसकेको छ। अहिले प्रतिनिधिसभा पुनस्र्थापना भएर गतिरोधले निकास लिए पनि राजनीतिक स्थायित्वको आधार भने भत्किएको अवस्था छ। अब संसद्मा कुनै एक दलको बहुमत नरहने र बहुमत जुटाउन विगतमा जस्तै गलत अभ्यासको सम्भावना बढेर गएको छ।
सत्तारूढ दलभित्रको किचलोले यो अवस्था आए पनि वैधानिकरूपमा यो दल फुटेको छैन। सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिश गरेको छ। यतिखेर सङ्ख्यामा तेस्रो स्थानमा खुम्चिएको नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बनाउने तानाबाना बाहिर आएका छन्। नेकपाको ओली समूह र प्रचण्ड–माधव समूहले नेपाली काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका समाचार सञ्चारमाध्यममा आएका छन्।
ओली समूहले प्रचण्ड–माधव समूह र प्रचण्ड–माधवहरूले ओली समूहलाई सत्ताबाट वञ्चित गर्ने खेलले सत्ता राजनीति अस्थिर हुने सम्भावना बढेर गएको छ। पाँच वर्षका लागि सत्ताबाहिर रहेर सत्तालाई खबरदारी गर्ने जनादेश पाएको काङ्ग्रेसको भूमिका सत्ता निर्माणमा बढेर जाने अवस्था छ। यो नेपाली राजनितिमा हुर्किएको सत्ता गणितको पुनरावृत्ति हो।
हुनत सत्ता समीकरण लोकतान्त्रिक अभ्यास हो। करीब दुई तिहाइ मत पाएको गठबन्धनको झगडाले तेस्रो हैसियतको दल सत्ताको नाइके बन्ने अवस्था भनेको जनमतको घोर अपमान हो। जनताले नेपाली काङ्ग्रेसलाई प्रभावकारी प्रतिपक्षको भूमिकामा पठाएको हो। प्रतिपक्षी भूमिकामा लाचार, तर सत्ता सञ्चालनमा अग्रसर हुनु जनमतको उल्लङ्घन हो। नेकपा गठबन्धन नै यो बेथितिमा सबैभन्दा बढी दोषी छ। यो राजनीतिक दलहरूको असफलताको पराकाष्ठा हो।
नेकपा गठबन्धनले करीब दुई तिहाइ बहुमत पाएपछि जुन स्थायित्व र यसका बलमा आर्थिक विकासको अपेक्षा पालिएको थियो, त्यो धराशयी भइसकेको छ। दुई तिहाइ मतले देशलाई पाँच वर्षसम्म स्थायित्व, विकास र सुशासनतर्फ डो–याउने अपेक्षामा अवरोध खडा भएको छ। अस्थिर सत्ता आर्थिक विकासको अवरोध मात्र होइन, भ्रष्टाचार र बेथितिको जड पनि हो। यही बेथितिको अन्त्यको लागि जनताले नेकपा गठबन्धनलाई अत्यधिक बहुमत दिएको थियो। समयान्तरमा यो गठबन्धन पार्टी एकतामा रूपान्तरण भयो। यो राजनीतिक घटनाक्रमले राजनीतिक अस्थिरता अन्त्य भई विकास निर्माणले गति लिने अपेक्षा हुर्किएको थियो। नेकपा नेतृत्वको व्यक्तिगत महत्वाकाङ्क्षाले जनताको यो अपेक्षामा तुषारपात भएको छ। यो सरकारले विकासका खास आवश्यकताभन्दा अनपेक्षित महत्वाकाङ्क्षालाई बढी प्रचारबाजी मात्र गरेको हो। स्थिर सरकारका तीन वर्षमा विकास, सुशासन, लगानी प्रवद्र्धनमा उत्साह देख्न पाइएन। केपी ओलीको प्रतिगामी कदम पराजित भएको अहिलेको अवस्थामा मुलुकको अबको बाटोलाई सहज बनाउने जिम्मेवारी यतिखेर प्रतिनिधिसभा र ओलीको प्रतिगामी कदमको विरोधमा उत्रिएका दलहरूको हुनेछ।

Saturday, February 20, 2021

चन्दाको अर्थराजनीति

चन्दाको अर्थराजनीति


ओमप्रकाश खनाल

राजनीतिक स्थायित्व र यसको जगमा अर्थ–सामाजिक विकासको अपेक्षा हुर्किइराखेका बेला सत्ता सञ्चालकको सनकले मुलुकलाई फेरि अस्थिरताको खाडलतिर डो–याउने काम भएको छ। राजनीतिक अन्योल राजनीतिका खेलाडीका लागि खेलको विषय हुन सक्छ, तर आम जनताको आशामा भने यसले तुषारापात गरेको छ। जनहितमुखी शासन व्यवस्थाको नाममा जनतालाई पटकपटक मूर्ख बनाउने उपक्रमको पुनरावृत्ति भएको छ। यो निरन्तरता राजनीतिक चलाखीबाहेक केही पनि होइन। जनतालाई सधैं अन्योल, अस्थिरता, अविकास, असहजतामा राखेर राजनीतिक स्वार्थको रोटी सेक्ने यो निकृष्ट चतु–याइँको जति निन्दा गरे पनि कम नै हुन्छ। तर यही राजनीतिक चलाखीलाई जनताले जानीनजानी दुरुत्साहन गरिराखेको पनि हुन्छ। छनोटको सही विकल्प प्रकट नभएर पनि राजनीतिमा स्वार्थी प्रवृत्तिको बोलाबाला स्थापित भएको छ।
अहिले राजनीतिक अस्थिरता र आन्दोलनको माहोल छ। एकथरी सत्तामा टाँसिइराख्न अन्योल उत्पादन गरिराखेका छन्, अर्काथरी सत्तामा पुग्नकै निम्ति आन्दोलनबाट बल लगाएका भेटिन्छन्। दुवैको मुखमा जनअधिकार प्रकट भएपनि अन्तरमा सत्ता लिप्सा, शक्ति र सत्ता सङ्घर्षबाहेक केही छैन। सत्ता र सडक दुवैतिर एकै राजनीतिक समूहको बिगबिगी प्रकट भइराखेको छ। सत्तापक्षीय नेकपा र सडकपक्षीय नेकपाको दन्तबझान र त्यसमा च्याखे थापिराखेका अन्य राजनीतिक दलहरूको यो प्रहसनमा सबैभन्दा बढी प्रभावित हुने भनेको गरिखाने वर्ग नै हो। यो त्यही वर्ग हो, जो देशको अर्थतन्त्रको चालक पनि हो। स्वदेशमा उद्यम व्यवसाय चलाउनेदेखि विदेशमा पसिना बगाएर प्रत्यक्ष आफ्नो घर चलाउने, तर परोक्षरूपमा देश चलाउने लाखौं श्रमिक यसै वर्गमा पर्दछन्। जन्मेदेखि मृत्यु संस्कारसम्म करको भारीले थिचिएर शासकका लागि सुविधाको प्रबन्ध मिलाइदिने जनताको अपेक्षालाई नबुझ्ने राजनीति कसरी जनताको नाममा गरिएको राजनीति कहलाउँछ ? किन्तुपरन्तु नजोडी यो प्रश्नको वस्तुनिष्ठ जवाफ खोज्न कठिन छ।
आफूलाई दुई तिहाइ मतको बताउने प्रधानमन्त्रीले नै त्यो स्थायित्वको आधार भत्काएको अवस्थामा चौतर्फी अस्थिरता र अन्योल सृजना हुनु अस्वाभाविक होइन। यही अन्योलबीच आन्दोलन र सरकारको बचाउको पक्षमा प्रदर्शनको माहोल छ। यसमा गरिखाने वर्ग प्रताडित त भएको छ नै, राजनीतिक अस्थिरताका आयामहरूलाई उल्टै सहयोगको दबाब पनि झेल्नुपरेको विडम्बनापूर्ण अवस्था छ। अहिले कोरोना महामारीको असरबाट तङ्ग्रिने प्रयासमैं रहेका बेला उद्यम व्यवसायमाथि राजनीतिक आन्दोलन र पक्ष–विपक्षमा भइराखेका प्रदर्शनका निम्ति चन्दाको दबाब थपिएको छ। प्रकारान्तरले चुनाव भएछ भने पनि त्यसको सीधा प्रभाव चन्दादातामा पर्ने नै हो। चन्दाको घुमाउरो भार वस्तु तथा सेवाको मूल्यको बुई चढेर गरीब जनताको टाउकोमा थोपरिने हो। राजनीतिक अस्थिरता यस्तो अवस्था हो, जहाँ गरिखाने इमानदार वर्गलाई सकस हुन्छ, ठगिखाने बेइमानहरूको बोलावाला स्थापित हुन्छ। केही समयदेखि प्रधानमन्त्रीको कदमविरुद्धको आन्दोलन र समर्थन दुवैथरी प्रदर्शनका लागि चन्दा अभियान नै चलेको सन्दर्भ समाचारमाध्यममा आएका छन्।
कोरोनाको महामारीबाट प्रभावित मुलुकको निजी क्षेत्र अझै लयमा फर्किन सकेको छैन। जसोतसो लय समात्ने प्रयास जारी राखेकै बेला राजनीतिक अन्योल निम्त्याइनु र तिनै कुपात्रहरूको लज्जाजनक प्रहसनका निम्ति खर्चको जोहो गरिदिनुपर्ने विडम्बनाको पुनरावृत्ति भइराखेको छ। ‘प्रजातन्त्र र जनताको शासनका निम्ति अन्तिम लडाइँ’ भन्दै साथ र समर्थन बटुलेका राजनीतिकर्मी व्यक्तिगत महत्वाकाङ्क्षाका अगाडि जनताका आम अपेक्षाको अवसान भइराखेको छ। राणा र पञ्चायतकाल त परको कुरा भयो, २०६२/६३ को आन्दोलनलाई पनि राजनीतिले लोकतन्त्रको लागि अन्तिम लडाइँ भनेकै हो। राजनीतिक विडम्बना कस्तो भने हाम्रो तीन पुस्ताको समय राजनीतिक स्थिरताकै खोजीमा सकियो। यो राजनीतिक नेतृत्वको चरम असफलता हो। तिनै असफलहरूले अहिले पनि राजनीति गिजोलिराखेका छन्।

कोरोना सङ्कटको मारमा बन्द भएका कतिपय उद्योग–व्यवसाय अझै सुचारु हुन सकेका छैनन्। जसोतसो सञ्चालनमा आएकालाई पनि पूर्ण क्षमतामा चल्न कठिन भइराखेको छ। सरकारले कोरोना महामारीको सङ्कट समाधानमा गतिलो काम गर्न सकेन। उद्यम व्यवसायको उत्थानका निम्ति उल्लेख्य काम भएको जानकारी छैन, भएका पनि कामचलाउ र कर्मकाण्डीबाहेक केही छैनन्। तुलनात्मकरूपमा महामारी सामान्यीकरण भइराख्दा उद्योग व्यवसायले आफैं गति लिने प्रयास गरिराखेको छ। उद्यम व्यापार पुरानो लयमा फर्किने आशाकै बीच राजनीतिक अन्योलले निराशा उत्पादन गरेको छ। देशमा बलियो बहुमतको सरकार बनेपछि औद्योगिक तथा व्यावसायिक वातावरण बन्ने अपेक्षा थियो। राजनीतिले राजनीतिक स्थायित्व र ढुक्कसँग काम गर्न सक्ने खालको व्यावसायिक वातावरण त दिएन नै चौतर्फी अराजकता उत्पादन गरिराखेको छ।
यस्तोमा निजी क्षेत्र मात्र होइन, आम जनता सशङ्कित बनेको अवस्था छ। आन्दोलनमा उत्रिएका पक्ष त भए नै, स्वयम् सरकारी पक्षले प्रदर्शनका नाममा मोटो रकम उठाउन थालेको छ। औद्योगिक र व्यापारिक केन्द्र मानिएको वीरगंजमा सत्तापक्षीय राजनीतिक पार्टीले पत्र काटेरै उद्योगी–व्यवसायीहरूसित रकम माग गरेको छ। राजनीतिक दलका नाममा हुने प्रदर्शन र बन्द–हडतालले उद्योग–व्यवसाय गर्न नपाएका उद्योगी–व्यापारी यतिखेर बन्द–हडतालका आयोजकलाई चन्दा बुझाउन बाध्य भएका छन्।
सामान्य अवस्थामैं पनि सरकारले ल्याएका नीति र नियमको विरोधाभासबाट त्रसित भएको निजी क्षेत्र अहिले चन्दाबाट आतङ्कित छ। ढुक्कसँग काम गर्न पाउने वातावरण बनाइदिनु सरकार, राजनीतिक दललगायतको दायित्व हो। यस्तो जिम्मेवारीमा बस्नेहरू मूल जिम्मेवारीमा दरिन नसक्ने, तर चन्दाका निम्ति सधैं अगाडिको मोर्चामा उभिने परिपाटीको अन्त्य आवश्यक छ। चन्दाले राजनीतिक दलहरूलाई अपारदर्शी र भ्रष्ट बनाएको छ। राजनीतिमा पारदर्शिता हराएको छ। चन्दालाई खर्चमा लेख्न पाउनुपर्ने निजी क्षेत्रको मागमा सरकार उदासीन छ। विगतमा चन्दालाई पारदर्शी बनाउन चेकबाट चन्दा दिने/लिने अभ्यास भएको पनि हो। तर यस्तो खर्चलाई सरकारी निकायले स्वीकार नगर्दा यसको औचित्य पुष्टि हुन सकेको छैन। भ्रष्टाचारविरोधी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनले केही समयअघि गरेको एउटा अध्ययनले सबैभन्दा बढी अपारदर्शिता र भ्रष्टाचार राजनीतिमैं रहेको औंल्याएको थियो। चन्दालाई व्यवस्थित बनाउन नीतिगत व्यवस्था गर्नुपर्ने माग उठ्दै आए पनि आज सत्तामा रहेका/नरहेका सबै दल चन्दाको अपारदर्शी आहालमा चुर्लुम्म डुबेकाले सुधारमा उदासीन देखिनु अस्वाभाविक पनि होइन।
कुनै पनि मुलुकको अर्थतन्त्रको विकासमा निजी क्षेत्र आधारस्तम्भ मानिन्छ। सरकारी दस्तावेजहरूमा निजी क्षेत्रलाई अर्थतन्त्रको एउटा बलियो खम्बा भनिएको छ। सरकारले लक्ष्यमा राखेको विकासमा यो क्षेत्रबाट ठूलो परिमाणमा लगानीको अपेक्षा पालेर बसेको छ। तर लगानीको वातावरण निर्माणमा सधैं उदासीनता, तर चन्दा अभियानमा निरन्तर अग्रसरताले निजी क्षेत्र आहत भइराखेको छ। यथार्थमा निजी क्षेत्रप्रति राजनीतिक दृष्टिकोण कहिल्यै पनि सकारात्मक छैन। आग्रहबाट ओतप्रोत सोचले निजी क्षेत्रलाई विकास र समृद्धिको संवाहक होइन, केवल चन्दादाता मात्रै ठानेको भान हुन्छ। यसो त निजी क्षेत्रका सीमित घरानाहरू केही राजनीतिक शीर्षस्थको निकट रहेर राज्यको स्रोतसाधनमा लुट मच्चाउन माहिर छन्। त्यस्ताका लागि राजनीतिक गतिरोध र चन्दाको दबाबले फरक पर्दैन। तर जो काम गरिखाने र आफ्नो उद्यमशीलताको बलमा केही मानिसको जीविकोपार्जनको आधार निर्माण गरिराखेको वर्ग छ, त्यसलाई यस्तो अराजकताको असर बढी पर्दछ। राजनीतिक अन्योलको दुरुपयोग गरेर कमाउन पल्किएकाहरूको चलाखीको परोक्ष मारमा पनि यही वर्ग बढी पिल्सिएको हुन्छ। राजनीति सीमित माफियाहरूको पक्षपोषक मात्रै बन्ने र औसत सरोकारप्रति पूर्वाग्रह मात्र हुर्काउने हो भने निजी क्षेत्रलाई विकासका आधार भन्ने कुरा कागजमैं सीमित हुनेमा आशङ्का छैन। राजनीतिले निजी क्षेत्रलाई यथार्थमैं विकास र समृद्धिको सहयात्री बनाउन चाहेको हो भने स्थिरता र सहकार्यको भरपर्दो आधार निर्माण गर्नुपर्दछ। चन्दादाता मात्रै ठान्ने मानोविज्ञानले समृद्धिको सार्थक सहकार्य कदापि सम्भव हुनेछैन।

Saturday, February 13, 2021

नाकामा बेतुकको सवारी प्रतिबन्ध

नाकामा बेतुकको सवारी प्रतिबन्ध


ओमप्रकाश खनाल

कोरोना महामारीलाई नियन्त्रणमा लिन उपचार र पूर्वाधारमा अपेक्षित काम गर्न नसकेर आलोचना खेपेको सरकारले महामारी नियन्त्रणकै लागि बन्द गरेको भारतीय सिमानामा भने अहिले पनि कडाइ अपनाएको छ। महामारी नियन्त्रणका निम्ति बन्द गरिएका सिमाना क्रमिकरूपमा खुलाइएको त छ, तर धरातलीय यथार्थलाई बेवास्ता गरिएकाले यो सकसको अर्कोे अध्याय बनेको अवस्था छ। सिमाना खोल्न व्यवस्था गरिएको मापदण्डको पालना भएको पाइएको छैन। हुनैपर्ने काम भएका छैनन्, अनावश्यक प्रावधान राखेर सास्ती दिने काम भने पर्याप्तै भएका छन्। सरकारले कोरोना नियन्त्रणका लागि लगाएको बन्दाबन्दीमा आगमन रोकेका नाका यतिखेर खुलाए पनि त्यसले सीमाञ्चलमा बासिन्दाका समस्याहरूलाई सहज तरीकाले सम्बोधन गरेको छैन।
बन्दाबन्दीको बेलामा मालसामानको आयात मात्र खुला गरेको सरकारले बन्दाबन्दी हटेयता चरणबद्धरूपमा ३० वटा नाकाबाट मानिसको आवागमन खुलाएको छ। तर सवारीसाधनलाई प्रवेश अनुमति नदिएपछि यसले सर्वसाधारणलाई अन्योल मात्र होइन, यो अत्यावश्यकीय कामले आउजाउ गर्नेलाई सास्तीको कारण बनेको छ। त्यतिमात्र होइन, यसका कारण पर्यटक नआएपछि सीमावर्ती क्षेत्रमा खुलेका होटल व्यवसाय र पर्यटनले लय समात्न सकेको छैन। सीमाञ्चलमा खुलेका अधिकांश होटल र पर्यटकीय गन्तव्य भारतीय पर्यटकमा आधारित छन्। भारतबाट पर्यटक नआएपछि सीमाञ्चलका होटल र पर्यटकीय गन्तव्यहरू करीब सुनसान छन्। कोरोना महामारीका कारण बन्द भएका होटल व्यवसाय बन्दाबन्दी खुलेसँगै सामान्य अवस्थाउन्मुख हुने अपेक्षा स्वाभाविकै थियो। तर सवारीसाधनको आवागमन हुन नसक्दा भारतबाट पर्यटक भित्रिएका छैनन्। सिमानामा सवारीसाधनको आउजाउ रोकेपछि नेपाल–भारत सिमाना भएर भित्रिने पर्यटकले असहज महसूस गर्नु पनि अस्वाभाविक होइन। कुनै पनि पर्यटक उत्तम समय बिताउन आउँछन्, असहजता झेल्नका लागि आउँदैनन्।
भारतले कात्तिक ६ गतेदेखि नै आफ्नोतर्फका नाका एकतर्फीरूपमा खोलिसकेको छ। भारतले नाका खोलेसँगै सिमानामा मानिसहरूको आवागमन पहिलाकै अवस्थामा पुगिसकेको छ। मानिसको आउजाउ सामान्य भइसकेकोले नाका बन्द राख्नुको औचित्य नभएको भन्दै पूर्णरूपमा खुलाउन दबाब बढेको थियो। वीरगंजलगायतका नाकाहरूमा सरोकारका स्थानीय पक्षले नाका खोल्दा दबाबका लागि धर्नासमेत दिएका थिए। बन्दाबन्दीअघि भारतीय सवारीसाधनले सिमानामा रहेका भन्सार कार्यालयबाट अस्थायी अनुमति लिएर भित्रिन्थे। कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले सवारीसाधनलाई अनुमति नदिइएको तर्क सरकारको छ। अत्यावश्यकीय प्रयोजनका लागि भारतबाट हुने आवागमनलाई सहजीकरण गरिए पनि सरकारले नियन्त्रणकै नीति लिएको छ। भारत हुँदै भित्रिने तेस्रो मुलुकका मानिसलाई पनि प्रवेशमा रोक लगाइएको छ। सवारीसाधनलाई अनुमति दिंदा टाढाबाट मानिसहरूको आवागमन बढ्ने र त्यसबाट कोरोनाको सङ्क्रमण फैलिने सम्भावना पनि बढ्ने सरकारको तर्क छ। भारतबाट नेपाल आउनेले अनलाइन फाराम भरेर अनुमति लिनुपर्ने, अनुमति लिएपछि ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट चाहिनेजस्ता मापदण्ड तोकिएको छ।
सिमानामा मापदण्ड पालनाको अवस्था भने दयनीय छ। सिमानाबाट भइराखेको आवागमन हेर्दा कोरोना महामारी र सङ्क्रमणको त्रास छ भन्ने सङ्केतसमेत देखिंदैन। मानिसको आवागमनका कुनै मापदण्ड र पालनाको नियमन छैन। सरकारले टाढाका भारतीय शहरबाट मानिसको आवागमनलाई निरुत्साहित गर्न सवारीसाधनलाई अनुमति नदिइएको बताए पनि त्यस्तो आउजाउ रोकिएको छैन। सवारीसाधन आवागमनमा प्रतिबन्धका नाममा सिमानामा अपनाइएको कडाइ आम मानिस र अत्यावश्यकीय काम परेर आउजाउ गर्नेहरूका लागि सकसको कारण मात्र बनेको छ। स्मरण हुन्छ, एउटा कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले भनेका थिए–मानिसको आवागमन भइरहेकै छ। तर सरकारले गाडीमा कोराना भरिएर आउँछ झैं गरी गाडीलाई रोक लगाइरहेको छ। हुन पनि सरकारको यो नीतिमा कुनै दम छैन। अनियन्त्रित आवागमन कायम रहेसम्म सवारीसाधनलाई रोकेर कोरोना रोकिंदैन।

सीमा व्यवस्थापन र नियमनमा नेपाल र भारतबीचको अर्थ–सामाजिक सम्बन्धका आधारहरूलाई पनि केन्द्र भागमा राखियो भने मात्रै त्यो व्यावहारिक र नागरिकमैत्री हुन सक्छ। नेपाल–भारत सिमाना केवल राजनीतिक, भौगोलिक र व्यापारिक सरोकारसँग मात्रै सम्बन्धित छैन। बङ्गाल, बिहार र उत्तर प्रदेशजस्ता घना आबादी भएका भारतीय राज्यसित सिमाना जोडिएको नेपालको भाषा, संस्कृति, पारिवारिक सम्बन्धसमेत आपसमा जोडिएको छ। भौगोलिकरूपमा असहज हुनुका कारण उत्तर छिमेक चीनसितको व्यापार सम्बन्धको पूर्णताका लागि पनि प्रायः भारतीय भूमि प्रयोग नगरी हुँदैन। चीनबाट आउने सामान समुद्री मार्गबाट भारतीय बन्दरगाह हुँदै नेपालसम्म आइपुग्छन्। उत्तर छिमेकतिरको पहुँचमा जटिल भूगोल र भाषा, संस्कृतिको बेमेलका कारण त्यति सहज छैन। अहिले दक्षिणतिरका ३० वटा नाकाबाट आवागमन भइराखेको विषय त माथि नै उल्लेख भइसक्यो। उत्तरतिर दुईवटा नाका सञ्चालनमा छन्, त्यो पनि मालसामानको ओसारपसारका लागि मात्रै उपयोग गरिएको छ। मानिसको आउजाउ छैन। भौगोलिक सहजताकै कारण नेपालको अधिकांश व्यापार र आर्थिक सम्बन्ध भारतसितै छ। नेपालको करीब ६५ प्रतिशत व्यापार भारतसित छ। कुल पारवहनको ९० प्रतिशत अंश भारतीय भूमिबाटै हुन्छ। यो भारतको नेपालप्रतिको उपकार नभएर नेपालको भौगोलिक विशिष्टता हो कि हामी आर्थिक र सामाजिक सम्बन्धमा भारतसित बढी जोडिएका छौं। यो भारतका लागि व्यापारिक अवसर पनि हो। नेपाल भारतको लागि मुख्य निर्यात गन्तव्यसमेत हो। नेपाल र भारतबीचको सम्बन्ध सन् १९५० को मैत्री सन्धिको जगमा उभिएको छ। सन्धिको अन्तर्वस्तुमा पर्याप्तै विरोधाभास छन्। तर यसले सम्बन्धमा सहजता पनि नथपेको होइन। यो सन्दर्भको तात्पर्य, कोरोना महामारी नियन्त्रणका लागि होओस् वा अन्य प्रयोजनका निम्ति भारतसितको सिमाना व्यवस्थापनको कूटनीति राजनीतिक दृष्टिकोणका आधारमा मात्र तय गरिनुहुँदैन।
अहिले शर्तसहित खोलिएका सिमाना प्रकारान्तरले असहजता र जनमानसमा आशङ्काको कारण बनेको छ। हो, महामारी नियन्त्रणका लागि सीमामा नियन्त्रणको नीति लिइएको हो। तर यसको प्रभावकारिता कति छ भन्नेले पनि औचित्य देखाउँछ। वीरगंज र आसपासका क्षेत्रमा कोरोना महामारी उत्कर्षमा रहँदा पनि सीमा बन्द गरिएको हो। तर त्यस बेला पनि आउजाउ रोकिएन। सीमा बन्दबाट सीमाञ्चलका क्षेत्रमा नेपाल र भारततर्फ रोजगारका लागि आउजाउ गर्नुपर्ने वर्ग प्रभावित भएको छ। यस्तोमा दैनिक काम गरेर खाने वर्ग र मध्यम आयको रोजगारमा आबद्ध मानिस बढी प्रभावित भए। उद्योग, व्यापार, आवागमन ठप्प हुँदा रोजगार गुमेर पलायन हुनेमा पनि यस्तै वर्ग बढी देखिएको छ। तर लुकीछिपी र सिमानामा खटिएका नियन्त्रणका निकायका कर्मचारीको मिलेमतोमा भित्रिनेको सङ्ख्या पनि सानो थिएन। छोटै समयान्तरमा सीमा बन्द सिमानामा खटिएका सुरक्षाकर्मीका लागि अवैध आर्जनको साधन बन्यो। अहिले पनि यो उपक्रम रोकिएको छैन। यस्तो सीमा नियन्त्रणको आवरणमा मौलाएको यस्तो असङ्गतिले एकताका वीरगंजमा कडा सङ्क्रमण भित्रिएको आशङ्का त्यस बेला प्रहरी प्रशासनले गरेको थियो। वीरगंज–पथलैया औद्योगिक कोरिडोरका उद्योग प्रतिष्ठानहरूमा असारको अन्तिम साता भारतबाट आएका कामदारले कोरोना भि–याएको दाबी स्थानीय प्रशासनले गरेको थियो। कोरिडोरका दर्जन बढी उद्योगमा कोरोना सङ्क्रमण फैलिएपछि केही दिन त्यस्ता उद्योगलाई सञ्चालनमैं रोक लगाइएको थियो। त्यस बेला समुदायमा फैलिएको कोरोनाको स्रोत उद्योगमा भित्रिएका भारतीय कामदार नै भएको दाबी प्रशासनको थियो। वीरगंजमा दोस्रो चरणको कोरोना फैलिनुमा सिमानाबाट मापदण्डविहीन आवागमन मुख्य कारण भएको मानिएको छ। सन्दर्भको तात्पर्य, त्यस बेला पनि सीमा बन्द र मापदण्ड प्रभावकारी थिएन। अहिले बन्दाबन्दी हटिसकेको र सीमानाकामा निर्बाध आवागमन भइराखेको अवस्थामा सवारीसाधनलाई रोक लगाउनुको अर्थ छैन भन्ने नै हो। मापदण्डका नाममा सर्वसाधारणलाई सास्ती दिने काम मात्र हुने हो भने त्यस्तो नीति बेथितिको कारणबाहेक अन्य केही साबित हुँदैन।

Saturday, February 6, 2021

ओलीको कदम घातक कि बन्द–हडताल ?

ओलीको कदम घातक कि बन्द–हडताल ?


ओमप्रकाश खनाल

प्रधानमन्त्री केपीशर्मा ओलीको सिफारिशमा प्रतिनिधिसभा विघटन र प्रावधान मिचेर संवैधानिक निकायहरूमा नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले विरोध जारी राखेको छ। जसरी पनि सत्ताको आयु लम्ब्याउने प्रधानमन्त्रीको तिकडम र सत्तासीन दलका शीर्षस्थ आसनमा आसीनहरूबीच भागबन्डाको बखेडा नमिल्दा उत्पन्न असहजताको मार आम दैनिकीले खेप्नुपरिराखेको छ। आफ्नो कदम सही थियो भन्ने देखाउन प्रधानमन्त्रीले दिएका अभिव्यक्ति र विरोधी खेमाका आलोचनालाई मिहीनरूपमा केलाउने हो भने कुनै पनि समूहमा देश र जनताप्रतिको हित र जवाफदेहिता प्रकट हुँदैन। दुईतर्फी प्रतिवादका पहेलीहरूको सोझो अर्थ स्वार्थ सङ्घर्षबाहेक अन्य केही लाग्दैनन्। दोषको ओजका बारेमा यसै स्तम्भमा यसअघि चर्चा भइसकेकै छ।
राजनीतिमा सत्ता र प्रतिपक्षबीच तानातानको अवस्था हुन्छ। संसदीय व्यवस्थाको यो औसत अभ्यासविपरीत हामीकहाँ सत्तारूढ दलबीचकै झगडाको कारण बहुमतको सरकार भएर पनि मुलुकमा राजनीतिक अस्थिरताको माहोल छ। यो नीति हराएको राजनीतिको परिणति हो। राजनीतिको आवरणमा जनता तर अन्तर्यमा शक्ति आर्जनको लालसा र स्वार्थको बेमेल हुनुका कारण आजको राजनीति जनताको अपेक्षाविपरीत अघि बढेको छ। लामो सङ्क्रमणलाई चिर्दै संविधान र बलियो बहुमतसहितको सरकार बनेपछि अर्थ–राजनीतिक स्थायित्वको अपेक्षा पालिएको थियो। यो अपेक्षा अरूका कारण नभएर स्वयम् सत्तासीन दलका शीर्षस्थको अहङ्कारका कारण अवशान भएको छ।
अहिले सत्ता र सडक दुवैतिर सत्तारूढ दलले अराजकता मच्चाइराखेको अवस्था छ। नेकपाको ओली र प्रचण्ड–माधव समूहको सङ्घर्षमा गरिखाने आम वर्ग पिल्सिएको छ। प्रचण्ड–माधव समूहले यसबीचमा आम हडताल गरायो। बन्दका क्रममा केही तोडफोडसमेत भए। सत्ता चलाइराखेको ओली समूहले पनि आफ्नो शक्ति देखाउन थालेको छ। प्रचण्ड–माधव समूहको आम हडतालको भोलिपल्टै ओली समूहले देशभरिबाट कार्यकर्ता ओसारेर काठमाडौंमा प्रदर्शन ग–यो। अहिले मुख्य प्रतिपक्षी नेपाली काङ्ग्रेस औसत मौन देखिएको छ। न्यायालयको निर्णय पर्खिएको काङ्ग्रेसले चुवावलाई रणनीतिक लाभको औजार बनाउन खोजेको देखिन्छ। काङ्ग्रेसलगायतका अन्य दलहरूले फाटफुट प्रदर्शन गरिराखेका छन्।
मुलुक राजनीतिक द्वन्द्वमा फस्न लागेको भन्दै उद्यमी–व्यवसायीका प्रमुख सङ्गठनहरूले चिन्ता प्रकट गरिसकेका छन्। बन्द–हडतालप्रति पनि यी संस्थाहरूले गम्भीर चासो र चिन्ता जाहेर गरेका छन्। राजनीतिक दलहरूले विरोधका कार्यक्रम गर्दा आर्थिक गतिविधि प्रभावित नहुने प्रत्याभूति गर्नुपर्दछ। कोरोनाबाट थलिएको अर्थतन्त्रलाई उकास्ने मामिलामा राजनीति असफल भइराखेको बेला आफ्नै बलबुतामा बौरिन लागेका आर्थिक आयामहरूमाथि पुनः समस्या थप्ने काम कदापि शोभनीय हुन सक्दैन। आर्थिक विकासका लागि राजनीतिक स्थायित्वको खाँचो पर्दछ। त्यसमाथि अहिलेको सत्ता राजनीतिको सार्वजनिक छवि निजी क्षेत्र र विकासमैत्री साबित हुन सकेको छैन। सर्वहारा वर्गको वकालत गरेर नथाक्ने कम्युनिस्ट सरकार सीमित दलाल पूँजीपति र भ्रष्टहरूको संरक्षकको रूपमा उभिएका उदाहरणहरूको कमी छैन। यस्तो प्रवृत्तिले औसत र स्वाभाविक आर्थिक सरोकारहरू समस्यामा पर्नेमा पनि आशङ्का आवश्यक पर्दैन।
जसले जसरी जे उद्देश्यका लागि प्रदर्शनलाई जारी राखे पनि यसबाट गरिखाने वर्ग प्रभावित भएका छन्। लगानीकर्ताको मनोविज्ञान अन्योलले घेरिएको छ। कारण र दोषको ओजको हिसावकिताबबारे यसअघि नै पर्याप्तै चर्चा भइसकेको छ। राजनीतिक विग्रहले आर्थिक र सामाजिक थितिलाई बिथोल्ने काम गर्दछ भन्नेमा चाहिं विवाद आवश्यक छैन। राजनीतिक विवादलाई सडकमा ल्याउँदा अर्थतन्त्रमा गम्भीर असर पर्ने र गरिखाने विपन्न वर्ग नै अत्यधिक प्रताडित हुन्छ। राजनीतिक नेतृत्व यसमा कति पनि गम्भीर देखिएको छै्रन। अहिले सडकमा उत्रिएका नेकपाजनमा पूर्वमाओवादीको सङ्ख्या अधिक छ। हामीलाई थाहा छ, माओवादीको सशस्त्र द्वन्द्व र त्यसपछिका समयमा भएका बन्द–हडतालका कारण नेपालको आर्थिक अभिवृद्धि तहसनहस भएको थियो।

नेपाल राष्ट्र बैंकले सन् २००८ देखि २०१३ सम्मको ५ वर्षमा भएका बन्द–हडतालको अध्ययन गरी तयार पारेको प्रतिवेदनले एक दिनको बन्दले अर्थतन्त्रमा औसत १ अर्ब ८० करोड रुपैयाँबराबरको क्षति पुग्ने देखाएको थियो। त्यति बेला बन्दका कारण कुल गार्हस्थ उत्पादनमा १ दशमलव ४ प्रतिशतले कमी आएको देखाइएको थियो। बन्द–हडतालका कारण ती ५ वर्षमा १ खर्ब १६ अर्ब रुपैयाँबराबरको क्षति पुगेको अध्ययनले देखायो। नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको एक अर्को अध्ययनले बन्द–हडतालबाट दैनिक ३ अर्ब रुपैयाँबराबरको क्षति पुग्ने देखाएको थियो। तत्कालीन मधेसवादी दलले २०७२ सालमा संविधानको विरोधमा गरेको ६ महीने बन्द र नाकाबन्दीका कारण त्यस वर्ष आर्थिक वृद्धि ऋणात्मक भएको थियो। बन्द–हडतालजस्तो घातक गतिविधिमा राजनीतिक दलहरू नै सबैभन्दा अग्रपङ्क्तिमा प्रकट भइआएका छन्।
सत्तारूढ दलभित्रको किचलोका कारण प्रतिनिधिसभा भङ्ग भएर आगामी वैशाखमा निर्वाचन गर्ने तयारी भइरहे पनि ढुक्क हुने आधार फेला पार्न सकिएको छैन। चुनाव घोषणा भइसकेको अवस्थामा ओली नेतृत्वको सरकार स्वतः कामचलाउ हैसियतमा पुगिसकेको छ। यस्तो सरकारले दैनिक प्रशासनिक कार्य सञ्चालनबाहेक ठूला निर्णय गर्न पाउँदैन। ओली सरकारले संवैधानिक नियुक्तिका लागि सुनुवाइसमेत नगराइ पदभार सुम्पिएको छ। यो गम्भीर आपत्तिको विषय हो। प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन छ। सडकमा पनि यसको विरोध भइरहेको छ। तर देशभरिको आवातजावत ठप्प पारेर र आम दैनिकीलाई अस्तव्यस्त बनाएर गरिने विरोध घातक छ।
कोरोना महामारीका कारण गरिखाने वर्ग नै बढी मारमा परेको छ। यस्तोमा ससाना व्यापार–व्यवसाय चलाउनेहरू बढी प्रभावित छन्। निजी क्षेत्रमा काम गर्ने ठूलो जनशक्तिले रोजगार गुमाएको छ। सरकारले महामारीमा ज्यान जोगाउन विदेशबाट फर्किएकाहरूलाई रोजगार दिने दाबी गरेको थियो। अहिले यस्तो शक्ति बाहिरिने क्रम रोकिएको छैन। देशभित्रै रोजगार गुमाउनेहरूको सङ्ख्या पनि सानो छैन। सरकार अब विरोधको सामना र चुनावको तयारीमा लागेकाले रोजगार सृजना हुने खालका विकास निर्माणका काम र योजनाहरूमा शायदै केन्द्रित हुनेछ। सरकारले रोजगार दिने खालका कुनै पनि कार्यक्रम कार्यान्वयनमा लैजान सकेको छैन। सरकारले वैदेशिक रोजगारबाट फर्किएका युवालाई कामका लागि चालू आर्थिक वर्ष २०७७/७८ को बजेटमा १५ वटा कार्यक्रमका लागि ४६ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। ८ लाखजनालाई रोजगार दिने सरकारको योजना थियो। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थप २ लाखजनालाई रोजगार दिन ११ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको थियो। यस्ता कार्यक्रमका लागि सरकारले विश्व बैंकसित १४ अर्ब रुपैयाँबराबरको ऋण सम्झौता पनि गरिसकेको छ। तर राजनीतिक खिंचातानीमा रुमलिएको सरकार र यसका संयन्त्रबाट यसको अपेक्षित कार्यान्वयन असम्भव नै छ। निर्माण क्षेत्र रोजगारको एउटा मुख्य आधार हो। कोरोना महामारीका कारण यो क्षेत्र पनि प्रभावित छ। पटक–पटक म्याद थप्दा पनि योजना पूरा हुन सकेका छैनन्। सरकारले पुनः ६ महीनाका लागि समय थपिदिएको छ। यो समयमा पनि काम पूरा हुनेमा ढुक्क हुने आधार निर्माण व्यवसायीको शैलीले देखाएको छैन। यो क्षेत्रका बेथितिमा निर्माण व्यवसायी मात्र नभएर सरकारी प्रक्रिया र कर्मचारीको मनोविज्ञानमा पनि समस्या छ। यस्ता समग्र समस्याहरूले रोजगार नै खुम्चिएको छ। यस्तो अवस्थामा आह्वान हुने बन्द–हडतालले तिनै विपन्न वर्ग बढी प्रताडित हुने तथ्यप्रति विरोधकर्ता संवेदनशील हुन जरुरी छ।
प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदम जति आलोचनायोग्य छ, त्यसको विरोधमा हुने गैरमानवीय शैली पनि उति नै निन्दायोग्य छ। गरिखाने वर्ग नै प्रभावित हुने र दैनिक ज्यालादारीमा काम गर्नेहरूको आय मर्ने गरी बन्द–हडताल गराउनु सरकारको असंवैधानिक कदमभन्दा पनि बढी आपत्तिजनक छ। यसले विरोधी खेमाप्रति समर्थन होइन, पाइआएको समर्थनको ओजलाई पनि हलुका तुल्याउनेमा राजनीति सचेत हुन सकेको छैन। अब बन्द–हडतालजस्ता विरोधका अराजक र घातक शैलीको सट्टा शान्तिपूर्ण र अहिंसात्मक आन्दोलनको सान्दर्भिकता बढेर गएको छ। गरिखाने वर्गको दिनचर्या नबिथोलिने विरोधका स्वरूप र शैलीप्रति मात्रै सहयोग, सद्भाव र सहानुभूतिको सम्भावना हुनेछ।

Saturday, January 30, 2021

 को हुन् असली शहीद ?

को हुन् असली शहीद ?

ओमप्रकाश खनाल

    विश्लेषक चन्द्रकिशोरले यही माघ १६ गते आफ्नो फेसबूक पेजमा लेखे–असली शहीदहरूलाई सलाम। शहीदजस्तो सम्मान र श्रद्धाले ओतप्रोत शब्दको उच्चारण गर्दा पनि निकै नापतौल र लेखाजोखा गर्नुपर्ने अवस्था किन आइप–यो ? वर्षमा एकपटक शहीदहरूको स्मरणका लागि अन्य शब्द टेको लिनुपर्ने अवस्थाको कारण के हो ? नेपाली बृहत् शब्दकोशले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति आफ्नो बलिदान दिएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई शहीद भनेको छ। सरकारले गठन गरेको कार्यदलले तीन महीना लगाएर तयार पारेको प्रतिवेदनले पनि ‘फरक विचार राखेर आन्दोलनमा उत्रेकालाई सत्तापक्षले नै मा–यो भने मात्र त्यसलाई शहीद भन्न सकिने’ निष्कर्ष निकालेको थियो। तर यो मापदण्डमा मारिएका आफ्ना कार्यकर्ता नपर्ने भएपछि तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले मापदण्ड नै फेर्ने यत्न गरेको थियो। उल्लिखित परिभाषा र निचोडको मर्म अनुसार शहीद घोषणा गरिएको छ त ? छैन, सत्तासीन दलहरूको आग्रह अनुसार शहीदको सूची लम्ब्याउने प्रवृत्तिले आज शहीद शब्दकै हुर्मत लिने काम गरेको छ। र चन्द्रकिशोरजस्ता सचेत जो कोहीलाई शहीदप्रति सम्मान प्रकट गर्न पनि अनेक शब्दको सहारा लिनुपरेको छ।
    देश र जनताको हितका लागि प्राण उत्सर्ग गर्ने व्यक्ति नै शहीद हुन्। कवि भूपी शेरचनले लेखेका थिए, “हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई/चार सपूत मरेर नगए।” आज शहीदको सूची २/४ सय होइन, हजारमा छ। यो बलिदानीको जगमा देश बन्यो कि बनेन ? त्यो उल्लेख गरिराख्नुपर्दैन। शहीदको सूची हजारौंमा पुगे पनि देशको मुहार फेरिएको छैन, शहीदको सपनालाई मन्त्र बनाउने शीर्षस्थ नेताहरूको जीवन र सुखसयलमा भने अकल्पनीय उन्नति देखिएको छ। शहीदहरूले शासन व्यवस्था र सत्तामा पात्रहरूको परिवर्तनका लागि जीवन उत्सर्ग गरेका थिएनन्। शहीदको सपनाको कुरा गर्ने हो भने यो दुर्गति होला भनेर ती शहीदले सपनामा पनि सोचेका थिएनन् होला।
    विगतमा सरकार फेरिएपिच्छे शहीदको वर्गीकरणसहित शहीदको सूची लम्ब्याउने कामले शहीद शब्दको विशिष्टताप्रति स्वाभाविक चिन्ता जागृत भएको हो। शहीद त देशको हुन्छ। समग्र देशले शहीदलाई श्रद्धा र सम्मानले स्मरण गर्दछ। हामीकहाँको राजनीतिले शहीदलाई पनि मधेस, पहाड, हिमाल, विभिन्न जातजाति, भाषा, समुदाय र सम्प्रदायका आधारमा विभक्त गरेर शहीद शब्दको उचाइलाई पुड्को बनाउने काम गरेको छ। यो राजनीतिक हर्कत अत्यन्तै आपत्तिजक छ।


    खासगरी, दोस्रो जनआन्दोलन २०६२/६३ यता राजनीतिक आग्रहका आधारमा शहीद घोषणा गर्ने प्रतिस्पर्धा नै चल्यो। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा हजारौंलाई शहीद घोषणा गरियो। अपराधमा संलग्न भएर ज्यान गुमाएकालाई पनि राजनीतिक आस्थाकै आधारमा शहीद घोषणा गरियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले द्वन्द्वकालमा मारिएका ८ हजार ४ सय कार्यकर्ता र लडाकूलाई ‘जनयुद्धका शहीद’ घोषणा गरेका थिए। तीमध्ये २ हजार ४ सयजनाको विवरण बुझाउन नसकेपछि त्यो सङ्ख्या ६ हजारमा झारिएको लज्जाजनक सन्दर्भ विस्मृत भइसकेको छैन। २०६२/६३ यता अज्ञात समूहको आक्रमणमा मारिएकादेखि आपराधिक भिडन्तमा मरेकासमेत शहीदको सूचीमा राखिए। शहीद शब्दको ओजलाई वर्गीकरणले खुल्याउने काम गरेको छ। विभिन्न आन्दोलनका शहीद, कर्मचारी शहीद, वित्तीय कर्मचारी शहीद, शिक्षक शहीद, धार्मिक शहीदलगायतमा विभक्त गरिनु शहीदप्रति सम्मान होइन, राजनीतिक रोटी सेक्ने उपाय मात्रै हो। शहीदको गरिमाप्रति निर्मम प्रहार हो। शहीद घोषणा सत्तासीनका लागि आफ्ना कार्यकर्ता खुशी पार्ने फगत औजार मात्र बनेको छ।
    कुनै समूहलाई राजनीतिक स्वार्थ मिलाउन परे पनि यो उपायलाई सहमतिको औजार बनाइयो। तर द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार हननका मुद्दा आज पनि उत्तिकै पेचिलो बन्दैछ। पीडितले न्याय माग्दै ज्यान फालेका छन्। तर विभिन्न कालखण्डका सरकारले कतिपय अवस्थाका पीडकलाई नै संरक्षण दिएका उदाहरण खोज्न टाढा जानुपर्दैन। शहीदलाई क्षेत्रीयता र समुदायका आधारमा बाँडेर राजनीतिक दुनो सोझ्याउने उपक्रम अहिले पनि रोकिएको छैन। शहीदको मूल्य लगाउनेजस्तोे निकृष्ट काम राजनीतिबाट भयो। पछिल्लो मधेस आन्दोलनताका राजेन्द्र महतोले मधेस आन्दोलनमा शहीद हुनेलाई ५० लाख रुपैयाँ दिने भन्दै देखाएको प्रलोभन अहिले पनि बेलाबेलामा चर्चामा आउँछ। मधेसमा आफ्नो सरकार बनेमा शहीदका परिवारलाई दिने भनिएको यो रकम कुनै शहीद परिवारले पाएको थाहा छैन। जबकि अन्य ६ वटा प्रदेशमा वामपन्थीको सरकार बन्दा प्रदेश २ मा मधेसवादी गठबन्धनले सत्ता चलाइराखेको छ। ५० लाख रुपैयाँको आस लगाइराखेका परिवारलाई प्रदेश सरकारले भैंसी उपहार दिएको सन्दर्भ पुरानो भइसकेको छैन। प्रकारान्तरले मधेस आन्दोलनमा कार्यकर्ता र समर्थकलाई ज्यान फाल्न उकास्नेहरूले यतिखेर आफ्नो दलको नामबाट मधेस शब्द नै हटाइसकेका छन्। शहीद वा बलिदानी दिवस, जे जसरी भएपनि स्मरणको कर्मकाण्ड पूरा गर्ने मात्र प्रवृत्ति छ। अघिपछि शहीद परिवारको दिनचर्या कसरी चलेको छ भन्नेमा राजनीतिलाई कुनै चासो छैन।
    मुलुकको राजनीतिक नेतृत्व शहीदको उत्सर्गको बलमा प्राप्त उपलब्धिलाई संस्थागत गर्ने अभिभारामा भने निरन्तर चुक्दै आएको छ। २००७ सालदेखि अहिले विभिन्न कालखण्डमा भएका सच्चा उत्सर्गका नायकहरूको मानमर्दन भइराखेको छ। अहिले त जो सत्तामा छ, उसका कार्यकर्ता आपसी झगडामा मारिए भने पनि शहीद घोषणा हुन्छ। भर्खरै मात्र पर्सा जिल्लामैं सत्तासीन दलका कार्यकर्ताको आपसी भिडन्तमा मारिएका व्यक्तिलाई शहीद घोषणा गरिनुपर्ने माग उठेको थियो। शहीद घोषणाको सम्मानजनक मापदण्ड र परिभाषा नहुँदा शहीद शब्दकै उपहास भइराखेको छ। शहीदका नाममा दिइने रकम तिनका परिवारलाई राहत पुगोस् भन्नका लागि हो। रकमले क्षतिको पूरण त सम्भव छैन। तर हामीकहाँ यो प्रावधानको व्यापक दुरुपयोग भइराखेको छ। मारिएका आफ्ना कार्यकर्ताका परिवारलाई रिझाएर आफ्नो राजनीतिक दुनो सोझ्याउन सत्तामा भएकाहरूले यो मापदण्डको चरम  दुरुपयोग गरेका छन्। १० लाख रुपैयाँको लागि जथाभावी शहीद घोषणा गर्दा टोले झगडामा मारिएकालाई पनि शहीदको सूचीमा राखेर असली शहीदको घोर अपमान भइराखेको छ। यस्ता कति सन्दर्भ हेर्दा शहीदको नाममा राज्यकोषको चरम दुरुपयोग भएको भान हुन्छ। त्यो रकम नेताको खल्तीबाट होइन, गरीब नेपालीले खाइनखाइ आफ्नो गास काटेर दिएको तिरोबाट गएको छ।
    राजनीतिको यो प्रवृत्तिले शहीद शब्दको हुर्मत लिएको छ। असली शहीदका परिवारलाई आज आपूmलाई शहीद परिवारका सदस्य भनेर चिनाउन सङ्कोच मान्नुपर्ने भएको छ। सरकार फेरिएपिच्छे शहीदको सूची लम्बिए पनि अहिलेसम्म राज्यसँग शहीदको यकीन सङ्ख्या छैन। शाब्दिक श्रद्धाञ्जलिका लागि समेत ज्ञात–अज्ञातको सहारा लिनुपर्ने अवस्था छँदैछ। परिवर्तनको उद्देश्य र उपलब्धिलाई संस्थागत गर्ने काममा च्युत भएको राजनीतिले यतिबेला शहीद शब्दलाई नै सङ्कुचित तुल्याइराखेको छ। परिवर्तनका लागि जीवन आहुति दिनेहरूको सपना कुल्चिंदै सत्ता र शक्तिको आसपास रुमलिएका नेताहरूले मुलुकको गन्तव्यलाई नै दिशाविहीन तुल्याएको अवस्था छ। अहिलेसम्मका राजनीतिक उपलब्धि शक्ति सङ्घर्षकै शिकार भएका छन्।
    दोस्रो आन्दोलनयता दलहरूले शहीद घोषणाको होड र शहीदको उत्सर्गमा प्राप्त उपलब्धिको व्यवस्थापनमा देखाएको चरम गैरजिम्मेवारीकै कारण शहीद शब्दको ओज हलुका भएकोमा किन्तुपरन्तु आवश्यक पर्दैन। दुई दशक लामो राजनीतिक सङ्क्रमणले निकास पाएकाले अब जनताको दिन आउनेमा पलाएको आशामा पुनः राजनीतिकै कारण पानी पोखिएको छ। राजनीतिक स्थायित्व र त्यसका आधारमा आर्थिक विकासको अपेक्षा यतिखेर अन्योलले जेलिएको छ। यथार्थमा अहिले सत्तासीन दलको आन्तरिक कलहले स्थायित्वको आधार मानिएको संविधानको मर्म नै धरापमा परेको छ। पुनः राजनीतिक अस्थिरता र विग्रहले ठाउँ पाएको छ। सरकार र सडक दुवैतिर देखिएका आरोप–प्रत्यारोपको केन्द्रमा जनहित नभएर केही नेताको स्वार्थ सङ्घर्ष मात्रै प्रतीत हुन्छ। सत्तासीन दलका शीर्षस्थहरूको स्वार्थको लडाइँमा शहीदको सपना र जनताको अपेक्षा दुवै शहीद भइराखकोमा द्विविधा छैन।

Saturday, January 23, 2021

राजनीतिक गतिरोध र विकासको गति

राजनीतिक गतिरोध र विकासको गति


ओमप्रकाश खनाल

अहिले कृषिमा वैदेशिक लगानीको चौतर्फी आलोचना भइरहेको छ। संसद् नभएको र कामचलाउ हैसियतमा भएको सरकारले यो चलखेल गरेको भन्दै यसको चर्को विरोध भइरहेको छ। नेपालमा वैदेशिक लगानीको खाँचो औंल्याइँदा ६५ प्रतिशत नेपालीको जीविकोपार्जन र कुल गार्हस्थ उत्पादनको २७ प्रतिशत हिस्सा ओगटेको कृषि क्षेत्रमा बाहिरको लगानी ल्याउन हुने कि नल्याउने भन्नेमा विवाद छ। यसो त सरकारले लक्षित विकासका लागि वैदेशिक लगानी आह्वान गर्दै आए पनि कुन क्षेत्रमा ल्याउने र कुन क्षेत्रमा आवश्यक छैन भनेर यकीन गर्न आवश्यक ठानेको छैन। यसमा गम्भीर र वस्तुनिष्ठ छलफलसमेत हुन सकेको छैन। सरकारले कुनै पनि नीतिमा सरोकारका पक्षसित पर्याप्त छलफल नै गरी निर्णय गर्दा प्रत्युपाद मात्र होइन, विवादको कारण बनेको छ।
सरकारले पुस २० गते राजपत्रमा सूचना प्रकाशन गरेर वैदेशिक लगानी खुला गरेपछि यसको प्रतिवाद शुरू भएको छ। औद्योगिक व्यवसाय ऐन–२०७५ ले परिभाषित गरेका ठूला उद्योग (५० करोड रुपैयाँभन्दा बढी लगानीका ठूला उद्योग) पशुपक्षीपालन, माछापालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनसँग सम्बद्ध उद्योगमा विदेशी लगानी आउने भएको छ। यस्ता उद्योगले ७५ प्रतिशत निर्यात गर्नुपर्ने भनिए पनि स्वदेशी बजार धरापमा पर्ने यो क्षेत्रका स्वदेशी लगानीकर्ताको दाबी छ। यसबाट कृषि क्षेत्रमा भएको ८५ अर्ब रुपैयाँ लगानी जोखिममा पर्ने स्वदेशी उद्यमीहरूले बताएका छन्।
कृषिमा विदेशी लगानीका बारेमा अध्ययन र छलफलपछि मात्र कार्यान्वयन गर्न निजी क्षेत्रले सरकारलाई सुझाएको छ। वैदेशिक लगानीबाट भित्रिने प्रविधि र उपयोग गरिने कच्चा पदार्थ तथा निर्यातको अवस्था हेरेर मात्र निर्णय कार्यान्वयन गर्नुपर्ने राय निजी क्षेत्रका संस्थाहरूको छ। अहिले कतिपय स्वदेशी लगानीकर्ता व्यावसायिक कृषिका क्षेत्रमा अगाडि बढेका छन्। बाहिरबाट आउने लगानीले यस्तो लगानी अप्ठेरोमा पर्न सक्दछ। यस्ता उपक्रमलाई स्वदेशी उद्यमसित जोड्न सकियो भने दक्षता र प्रविधिमा सहयोग पुग्न सक्दछ। सरकारले अहिले ल्याएको भूमि बैंक, करार र सहकारी खेतीमा बाहिरका लगानीकर्ताले खेल्ने जाखिम पनि छ। यस्तोमा नेपाली कृषकहरू भूमिहीन हुने अवस्था पनि आउन सक्छ। यस्तो जोखिमप्रति पनि सतर्क हुनु अपरिहार्य छ।
दुई वर्षअघि संसद्बाटै बाहिरको लगानी ल्याउन हुँदैन भनेर निर्णय भएको थियो। दक्षिण छिमेकी भारतमा पनि कृषिका सबै क्षेत्रमा लगानी खुला गरिएको छैन। त्यहाँ त कृषक र कृषिमा आधारित उद्योगको संरक्षणका लागि त्यहाँको सरकारले त्यस्ता वस्तुको आयातमैं प्रतिबन्ध लगाउने गरेको छ। जस्तो कि मरिच, केराउ, सुपारी, छोहोडा लगायतका वस्तुको आयातमा लगाइएको उच्च दरको राजस्व यसैका उदाहरण हुन्। हालै त्यहाँको सरकारले पाम आयलमा लगाएको प्रतिबन्ध यसैको ताजा उदाहरण हो। भारतको प्रतिबन्धका कारण नेपालका तेल उद्योग सङ्कटमा छन्। भारत निकासीमा आधारित उद्यम जहिले पनि तरबारमुनि उभिएको अवस्था हुन्छ। यो भारतले आफ्ना उद्योग बचाउन लिने नीतिको परिणति हो। तात्पर्य, हामीले पनि आफ्ना उद्योग संरक्षणलाई ध्यानमा राखेर नीति तय गर्नुपर्दछ।

बाहिरको लगानीले विदेशी लगानी खुला गर्दा स्वदेशी कच्चा पदार्थ नै प्रयोग हुने निश्चित हुनुपर्दछ। यसो गर्दा कच्चा पदार्थको उत्पादनमा हुने लगानीबाट स्थानीयस्तरमा मूल्य अभिवृद्धिका आयाम फराकिलो हुन सक्छ। स्वदेशी कच्चा पदार्थको उत्पादनमा यस्तो लगानी ल्याउनु उपयुक्त हुन्छ। अहिले आत्मनिर्भर भनिएका अधिकांश उद्योगको कच्चा पदार्थ आयातको भरमा चलेको छ। आधारभूत खाद्यान्न चामलको कच्चा पदार्थ धानको कुल आपूर्तिमध्ये ६० प्रतिशत भारतबाट आयात हुन्छ। मकै, तेलहन, दलहनजस्ता कच्चा पदार्थ पनि आयातको भरमा छ।
नेपालमा कुखुरापालन निकै फस्टाएको छ। कुखुराको दानाको कच्चा पदार्थको आयातमा मात्रै वार्षिक ३२ अर्ब रुपैयाँभन्दा बढी बाहिरिने गरेको छ। यो भारत र तेस्रो मुलुकबाट आयात हुन्छ। दानामा ७० प्रतिशत मकै र भटमासको पिना नेपालमा नै उत्पादन गर्न सकिन्छ। मकै ३५ प्रतिशत स्वदेशी उत्पादनले धानेको भएपनि भटमासको पिना पूर्णरूपमा विदेशमा निर्भर हुनुपरेको उद्यमीले बताएका छन्। नेपालमा एक सयभन्दा बढी यस्ता उद्योग छन्। ४० अर्ब रुपैयाँभन्दा बढी लगानी पुगिसकेको यो क्षेत्रमा चीन र भारतबाट समेत लगानी भित्रिएको छ। मौरीपालन क्षेत्रमा ४ अर्ब, माछापालनमा करीब ११ अर्ब, डेरी उद्योगमा ३० अर्ब रुपैयाँ लगानी छ। बाहिरको लगानी आएमा स्वदेशी लगानी धरापमा पर्ने दाबी गरिएको छ।
कतिपय लगानीकर्ताले यो भारतीय दुग्ध कम्पनीलाई पोस्ने र नेपाली उद्योगलाई धराशयी बनाउने राष्ट्रघाती नियतकेन्द्रित पनि भनेका छन्। तत्कालीन कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले तीन महीनामा चारपटक मन्त्रिपरिषद्मा आएको यो विषयमा आफूले पटक–पटक प्रतिवाद गरेको खुलासा गरेका छन्। यसलाई पत्याउने हो भने यसमा ठूलै स्वार्थ समूह लागिपरेको आशङ्का बलियो हुन्छ। ऐनको मस्यौदा बनाउँदा भएका छलफलमा सहभागी पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशी पनि नेपालीले आत्मनिर्भर बनाएको क्षेत्रमा विदेशी लगानी आवश्यक नहुने निष्कर्षमा पुगिएको बताउँछन्। निर्यातको सम्भावना भएको र नयाँ प्रकारको लगानी ल्याए पनि आफ्नै लगानीमा निर्माण भएको रोजीरोटीको आधार खोसिने गरी लगानी ल्याउन नहुने उनको भनाइमा असहमत हुनुपर्ने कारण छैन।
कृषिमा विदेशी लगानी साना किसान र उद्यमीलाई पासो हुने दाबी सरोकारका पक्षले गरेका छन्। स्वदेशी लगानीको तुलनामा बाहिरको लगानीकर्तालाई बढी प्रोत्साहन र सहुलियत दिएको आरोप लागिराखेका बेला यस्तो लगानीले ससानो लगानीमा खुलेका उद्योगमा ताला लगाउनुपर्ने चिन्ता उनीहरूको छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ लाई प्रतिस्थापन गर्न २०७५ सालमा बनेको नयाँ ऐनमा मुलुकको आर्थिक समृद्धिका लागि उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी, सुदृढ र रोजगार उन्मुख बनाउने उल्लेख भएको भन्दै सरकार त्यसको विपरीत चलेको आरोप स्वदेशी लगानीकर्ताले लगाएका छन्।
लगानीका नामका स्वदेशी स्रोत र श्रमको शोषण मात्र हुने गरी लगानी ल्याउनुहुँदैन। यस्तो लगानीमा स्वदेशी लगानीको निश्चित हिस्सा सुरक्षित गर्न सकियो भने नेपाली लगानीको दक्षता अभिवृद्धि हुन सक्दछ। यसबाट प्रविधिको हस्तान्तरण भएर अर्थतन्त्रलाई फाइदा पुग्दछ। स्वदेशी उद्यमशीलताको प्रवद्र्धनमा सहयोग पुग्न सक्दछ। विदेशी लगानी गर्दा पैसा मात्र आउँदैन। पैसासँगै दक्षता र प्रविधि पनि आउने हुँदा यसले सम्भावनाको ढोका पनि खुल्छ। अहिले पर्याप्त भइरहेको क्षेत्रमा यस्तो लगानी ल्याउँदा स्वदेशको लगानी धरापमा पर्न सक्दछ। अहिले चामल र तेल उत्पादनमा नेपाल आत्मनिर्भर भइसकेको छ। यसमा कच्चा पदार्थको उत्पादनमा नयाँ प्रविधि ल्याउन सकिन्छ। तर उत्पादनकै क्षेत्रमा लगानी ल्याउँदा भइरहेको लगानी डुब्न सक्दछ। जस्तो कि अहिले सिमेन्ट उद्योगमा आएको लगानीले सानो आकारमा भएको लगानीलाई सङ्कट परेको छ। उद्योग संरक्षणको नाममा उपभोक्तामाथि शोषणको उपक्रम भने रोकिनुपर्दछ। यस्तो प्रवृत्तिमा प्रभावकारी नियमनको भने खाँचो छ।

Saturday, January 16, 2021

राजनीतिक गतिरोध र विकासको गति

राजनीतिक गतिरोध र विकासको गति


ओमप्रकाश खनाल

सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महीनामा विकास निर्माणका कामलाई गति दिन नसकेको तथ्य बाहिर आएको छ। चालू आर्थिक वर्षको ६ महीनाको अवधिमा विकासको गति अति कमजोर देखिएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विकास बजेटको करीब १५ प्रतिशत मात्र खर्च भएको छ। ३ खर्ब ५२ अर्ब रुपैयाँ पूँजीगत बजेटमध्ये चालू वर्षको पुस मसान्तसम्ममा ५० अर्ब ८१ करोड रुपैयाँ मात्रै खर्च भएको सरकारी आँकडा छ। यसो त सरकारले यो अवधिमा १८ प्रतिशत रकम खर्चको अनुमान गरेको थियो। ६ महीनामा विकास खर्चको यो लक्ष्य आफैंमा उत्साहजनक होइन।
अधिकांश बजेट आर्थिक वर्षको अन्तिम महीना अर्थात् असारमा खर्चिने परिपाटी यसैको उत्पादन हो। गत वर्ष २०७६/७७ मा समेत समीक्षा अवधिमा १६ प्रतिशत मात्रै बजेट खर्च भएको थियो। विकास बजेट पूरै खर्च भएको उदाहरण हामीसित उपलब्ध छैन। असारे विकासका बेथितिलाई नयाँ व्यवस्थाले पनि निकास दिन सकेको छैन। यसो त सरकारले बनाएको विकास बजेट कतिको यथार्थमा आधारित छ भन्ने पनि मुख्य प्रश्न हो। राष्ट्रिय आयले सामान्य खर्च पनि धान्न नपुग्ने यथार्थतामा ऋण र सहायताको भरमा बनाइएको विकास बजेट कसरी पूरा खर्च होला ? ढुकुटीमा भएको रकम त व्यवस्थापन गर्न नजान्ने सरकारबाट दाताको निगाहमा बनाइएका योजना, स्रोत व्यवस्थापन र कार्यान्वयनको प्रभावकारितामा भरपर्ने आधार फेला पार्न सकिएको छैन।
विकास निर्माणका कामले गति लिऊन् भनेरै संविधानमा बजेट ल्याउने दिन तोकिएको छ। यही संवैधानिक अभ्यासमा सरकारले बजेट ल्याउन थालेको पाँच वर्ष बितिसकेको छ। तर सरकारको खर्च गर्ने शैलीमा सुधार आउन सकेको छैन। बलियो बहुमतसहितको सरकारले सत्ता चलाउँदा विकास निर्माणका कामले तीव्र गति समात्ने आशा अब अस्वाभाविक तरीकाले निराशामा परिणत हुँदै गएको छ। संवैधानिक व्यवस्था अनुसार आर्थिक वर्ष शुरू हुनुभन्दा डेढ महीनाअघि बजेट ल्याउने अभ्यासले पनि खर्चमा सुधार आउन सकेको छैन। हुनत खर्चभन्दा पनि त्यसको प्रभावकारिता र प्रतिफल मुख्य कुरा हो। हामीकहाँ विकास निर्माणको कमजोर गति र त्यसमाथि यस्ता काममा व्याप्त भ्रष्टाचारका कारण प्रतिफल पनि अत्यन्तै नाजुक देखिएको छ।

राजनीतिक स्थिरताको अपेक्षा र त्यसका आधारमा विकास निर्माणले अपेक्षित अग्रगति लिने विश्वास लिइएकोमा यो विश्वास यतिखेर धर्मराएको छ। देश विकासको अगुवाइ गर्ने सरकारको कदमका कारण यो अपेक्षामा कुठाराघात भएको छ। यसमाथि प्रतिनिधिसभा विघटनपछिको राजनीतिक परिदृश्यले थप अन्योल उत्पादन गरेको छ।
जतिखेर जनताले स्थिरता र विकासको अपेक्षा पालेका हुन्छन्, त्यति बेलै कुनै न कुनै राजनीतिक उथलपुथलले अपेक्षामाथि पानी खन्याउने काम गरेको हुन्छ। प्रत्येक राजनीतिक परिवर्तनपछि जनतामा पलाएका अपेक्षा र परिणतिले यसलाई पुष्टि गरेको छ। लामो राजनीतिक सङ्क्रमणको समाधानपश्चात् मुलुक राजनीतिक स्थायित्वतर्फ अघि बढेको अवस्थामा अचानक सत्ता राजनीतिमा प्रकट भएको रडाकोले स्थायित्वको आधारलाई नै धराशयी बनाइदिएको छ।
संविधान निर्माणपश्चात् जनताले करीब दुई तिहाइ बहुमतसहित सत्ता चलाउन दिएको जिम्मेवारीलाई सत्ता राजनीतिले शक्ति सङ्घर्षको स्वार्थमा अवसानको मुखमा धकेलिदिएको छ। नेकपाभित्रको कलहमा कसको दोष कति यो लेखाजोखाको अलग विषय हो। तर जनताका अपेक्षा सरकारसित जोडिएका हुनाले वर्तमान अन्योल र अवरोधमा सत्ता हाँक्ने जिम्मेवारीमा बसेकाहरू नै बढी दोषी मानिनेछन्। सत्ता राजनीतिका अगुवाहरू आफूलाई पानीमाथिको ओभानो देखाउन तर्क र कुतर्कको सहारा लिन तम्तयार देखिए पनि कुनै पनि मूल्यमा त्यसको मूल्याङ्कन सकारात्मक हुनेछैन। जनताबाट पाएको मत उपयोगमा इमानदार नदेखिएको राजनीति र त्यसका सञ्चालकहरू त सजायको भागीदार हुनै पर्दछ। यो गैरजिम्मेवारीबापत सजाय दिने पनि जानताले नै हो।
सरकारले पूरा आयु सत्ता नचलाएर प्रतिनिधिसभा विघटन गरेको छ। तोकिएको समयमा चुनाव होला कि नहोला भन्नेमा पर्याप्तै संशय छ। जे जसरी भएपनि यसबाट विकास र सुशासनका अपेक्षाहरू भने कुण्ठित भएका छन्। अब सत्ता राजनीति चुनावको लहडमा र असन्तुष्ट राजनीति आन्दोलनमा उत्रिंदा यसको नकारात्मक प्रभाव पर्ने भनेको विकास र जनहितमाथि नै हो।
राजनीतिक स्थायित्व र विकास एकअर्काका पूरक हुन्। राजनीतिक व्यवस्था असहज भएका देशमा विकासको गति पनि सहज छैन। राजनीतिक सङ्क्रमण र गतिरोधमा रुमलिएका देश सधैं अविकास र अभावको दैनिकीले थिचिएका उदाहरणहरूको पनि कमी छैन। हाम्रो अर्थतन्त्र यसको एउटा ताजा नमूना मात्रै हो। २०४६ सालको राजनीतिक परिवर्तनपछि जुन खालको समृद्धिको आधार र आशा विस्तार भएको थियो, राजनीतिक नेतृत्वको सत्तालिप्सा र लालसाका कारण बारम्बार यो आधार बिथोलिएको छ। अहिले सत्तासीन नेकपाको आन्तरिक झगडा र प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनपछि विकसित अन्योल यो प्रवृत्तिको पुनरावृत्ति मात्रै न हो।
समृद्ध नेपाल सुखी नेपालीको नारा दिंदै करीब तीन वर्षअघि गठन भएको केपीशर्मा ओली नेतृत्वको वर्तमान सरकार विकासका काममा भन्दा लामो समयदेखि दलभित्रको आन्तरिक किचलोमा रुमलिंदा त्यसको असर विकास निर्माणमा परेकोमा विवाद आवश्यक छैन। नेकपा विभाजनदेखि प्रतिनिधिसभा भङ्गसम्मका घटनाले अन्योल मात्र बढाएको छैन, अब सरकारको ध्यान विकास निर्माणभन्दा पनि कसरी सत्ताको आयु तन्काउने भन्नेमा एकोहोरिने निश्चित छ।
पूँजीगत खर्च कमजोर भएपनि चालू बजेटतर्फ भने अनपेक्षितरूपमा खर्च बढेको सरकारी तथ्याङ्कले देखाउँछ। साधारण खर्चमा ९ खर्ब ४८ अर्ब रुपैयाँ बजेट छुट्याइएकोमा ३ खर्ब ४२ अर्ब रुपैयाँ खर्च भइसकेको छ। यो खर्च साधारण खर्चको ३७ प्रतिशत हो। विकास खर्च बढाउन अपेक्षित काम गर्न नसकेको सरकार र यसका संयन्त्र सुविधा उपयोगमा भने अगाडि देखिएको छ। यो सरकार र प्रशासनिक संयन्त्रका लागि नैतिकताको प्रश्न पनि हो। तर राजनीति र सत्ता सञ्चालकमैं नैतिकताको खडेरी परेका बेला यो नैतिक प्रतिबद्धता र कर्मको खोजी असान्दर्भिक लाग्न सक्दछ।
बेलैमा बजेट ल्याएर यसको प्रभावकारिता बढाउने प्रयास भएपनि नीतिगत अवरोध हटाउनेदेखि विकासको गतिलाई तीव्रता दिन थप कार्ययोजनाको अभाव देखिएको छ। विकासको गतिलाई तीव्रता दिन यो सरकारलाई स्वर्णिम अवसर उपलब्ध थियो। सत्तारूढ दल आन्तरिक कलहमा रुमलिंदा विकासको काम प्रभावित भएको छ। सरकार विभिन्न बहानामा जनतामाथि आर्थिक भार थप्ने ध्याउन्न र कर्ममा लागेको छ। जनआकाङ्क्षा विकास, स्थिरता र सुशासनमा छ। तर सरकारमा बस्नेहरूको कार्यशैली हेर्दा जनअपेक्षाको सम्बोधनमा सिन्को भाँचिएको छैन। बरु भ्रष्टाचारका काण्डैकाण्डमा सरकार पुरिएको भान हुन्छ। सरकार जनताको विकासको अपेक्षा पूर्तिका लागि सत्ताको आडमा माफिया र सीमित नेताको स्वार्थको वातावरण बनाउन उद्यत् देखिएको घटनावलीहरूले पुष्टि गरेको छ। विकासको गति सुस्त हुनुमा सरकारी निकाय, निर्णय र नेतृत्व नै मूलरूपमा दोषी छन्, यसमा किन्तुपरन्तु जोडिराख्न आवश्यक छैन।
संविधानमा बजेट ल्याउने दिन त तोकियो, तर पूँजीगत खर्चले गति लिन नसक्नुको कारण पत्ता लगाएर समयमैं समाधान गर्नेतर्फ विगतदेखि नै प्रयास हुन सकेको छैन। यसमा सरकार र यसको नेतृत्व निरन्तर चुकिरहेकोले समस्याको पुनरावृत्ति भएको देखिन्छ। समयमैं बजेट आए पनि सरकारी निकायले समयमैं बजेट खर्चको पूर्वतयारी नगर्दा पनि समस्या दोहोरिएको छ। सार्वजनिक खरीद प्रक्रियादेखि विकासका लागि चाहिने निर्माण सामग्रीसम्मको व्यवस्थापनका बेथिति नै विकासका अवरोध हुन भन्न अप्ठेरो मान्नुपर्दैन। बरु सार्वजनिक खरीदका नीति, नियम र छिद्रमा खेलेर निर्णयकर्ता र माफियाहरू मालामाल हुने प्रपञ्चका स्वरूपहरू पर्याप्तै प्रकट भइआएका छन्। यसमा सत्ता राजनीति र कर्मचारीतन्त्रको मिलेमतो देखिन्छ। सुशासनको प्रतिबद्धता र आवरणमा जनतालाई ठग्ने अपराध भइराखेको छ। नीति, योजना, कार्यान्वयन र त्यसको निगरानीका सबै निकायबीच देखिएको विचित्रको मिलेमतोले बेथितिले जरा गाडेको मात्र छैन, निरन्तर जरा फैलाइराखेको आभास हुन्छ।

Saturday, January 9, 2021

ओली प्रवृत्तिका मतियार

ओली प्रवृत्तिका मतियार


ओमप्रकाश खनाल

प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अहिले त्यसको चौतर्फी चर्को विरोध भइराखेको छ। प्रतिपक्षीमात्र होइन, एक समय ओलीका सत्ता सहयात्री पनि विरोधमा उत्रेका छन्। कानूनका जानकार र सिङ्गो नागरिक समाजले ओलीको कदमलाई असंवैधानिक भनिराखेको छ। स्वयं ओली र मन्त्रिपरिषद्का सदस्यहरू ओलीको कदमको बचाउमा लागेका छन्। तर उनीहरूका बोली निरीहमात्र होइन, कुतर्क लाग्छ।
प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ। ओलीको कदमलाई सर्वोच्चले असंवैधानिक भनिदियो भने राजनीतिले नयाँ मोड लिनेमा विवाद आवश्यक छैन। यस अर्थमा यतिखेर सबैका आँखा न्यायालयतिर छन्। यति नै बेला यो संस्थाको नेतृत्व गरिसकेका चारजना पूर्व प्रधानन्यायाधीशहरूले ओलीको कदमलाई असंवैधानिक भनेका छन्। पूर्व प्रधानन्यायाधीसहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्यमार्फत संविधानको धारा ७६ मार्फत प्रतिनिधिसभा विघटन हुनै नसक्ने बताएका छन्। प्रधानमन्त्रीले यही धारा टेकेर विघटनको सिफारिश गरेका छन्। यही सिफारिशका आधारमा राष्ट्रपतिबाट गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो। पूर्व प्रधानन्यायाधीशहरूको अभिमत असंवैधानिक कदमको विरोधमात्र होइन, राजनीतिक सङ्कट र संविधानको मर्मसित जोडिएको विषय न्यायालयमा विचाराधीन भए पनि विधिका पक्षमा बोल्नुपर्दछ भन्ने सन्देश पनि हो।
संविधानका ज्ञाताहरूका अनुसार संविधानको धारा ७६ मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनका लागि मात्रै हो। संविधानले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलाबाहेक अर्को अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नै नदिएको बताइराख्दा प्रधानमन्त्री भने आफ्नो कदम संवैधानिक भएको ढिपी कसिराखेका छन्। यो धाराले प्रतिनिधिसभामा बहुमत साबित हुन नसकेर मन्त्रिपरिषद् निर्माणका अवरोध भएको अवस्थामा मात्रै नयाँ जनादेशका लागि व्यवस्था गरेको स्पष्ट छ। विगतका संविधानले जसरी यो संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको विशेषाधिकार दिएको छैन। विगतमा प्रधानमन्त्रीको लडह र स्वार्थमा विघटनको अभ्यासले उत्पन्न अस्थिरतालाई निकास दिन संविधानले आत्मसात् गरेको हो। बहुमत प्रमाणित गर्न नसक्दाको अवस्थाबाहेक प्रतिनिधिसभा विघटनलाई संविधानले कल्पना गरेको छैन। स्वयं प्रधानमन्त्रीले आफूलाई ६४ प्रतिशत मतको प्रधानमन्त्री भएको दाबी गरिराख्दा संविधानको धारा ७६ अनुसार कसरी प्रतिनिधिसभा विघटन हुन सक्छ ? प्रश्न अनुत्तरित छ।

प्रधानमन्त्रीले आफूलाई काम गर्न अहसज भएकोले ताजा जनादेशका लागि चुनावमा जानुपरेको तर्क गरेका त छन्, तर ६४ प्रतिशत बहुमत लिएर सत्तामा उक्लिएका प्रधानमन्त्रीलाई काम गर्न कसले र किन रोक्यो, यसको समीक्षा हुनु पर्छ कि पर्दैन ? प्रधानमन्त्रीको आफ्नै दम्भ र कामकारबाईले उनी अप्ठेरोमा परेका हुन् भन्न किन्तु–परन्तुको सहारा लिइराख्नुपर्दैन। संविधानको धारा ७६ अनुसार ओलीले बहुमत प्रमाणित गर्न नसकेर प्रतिनिधिसभा विघटन भएको होइन भन्ने त उनकै शब्दमा ‘६४ प्रतिशतको बहुमत’ले स्थापित गरिसकेको छ। ओलीको शासकीय रवैया र उनी नेतृत्वको दलीय झमेलाको पीडा जनताले किन उठाउने ? आफ्नो दलको आन्तरिक झगडा मिलाउन नसक्ने अनि संविधानले दिंदै नदिएको व्यवस्था देखाएर प्रतिनिधिसभा विघटन गर्ने कदम आपत्तिजनकमात्र होइन, दण्डनीय छ। प्रतिनिधिसभा पुनस्र्थापना गरेरमात्र हुँदैन, यस कर्मका निम्ति ओलीलाई जनताले कारबाईको कठघरामा उभ्याउनुपर्दछ।
ओलीको करीब ३ वर्षको कार्यकाललाई फर्केर हेरौं– ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई लोकप्रियताको औजार बनाएका प्रधानमन्त्रीले जनताको समृद्धि र सुखका लागि कति काम गरे वा सुख समृद्धिको आधार बनाए ? यो समयान्तरमा हुनैपर्ने र सामान्य प्रयासमा हुन सक्ने काम भएन, तर नहुनुपर्ने काम चाहिं पर्याप्त भयो। कोरोना महामारीमा जनताको भरोसा बन्न नसक्ने ओली सरकारले आफूलाई दलाल पूँजीपति, माफिया र भ्रष्टाचारीको संरक्षकको रूपमा उभ्यायो। यतिमात्र होइन, स्वयं प्रधानमन्त्री नै भ्रष्टाचारको आरोप लागेकाहरूको प्रतिरक्षामा उभिएका लज्जाजनक दृश्य देख्न नेपाली अभिशप्त भए।
लोकतन्त्रमा शासकको आलोचना त सामान्य कुरा हो। जनताको मत लिएर सत्तामा पुगेका ओली सीमित माफियातन्त्रको पक्षपोषणमा उभिंदा उनको जयजयकार कसले गर्ला ? ओलीका अरिङ्गाल जत्थाबाहेक सामान्य चेत भएका जोकोहीका लागि ओलीको आचरण आलोचनामात्र होइन, खेदजनक हुनु स्वाभाविक हो। मैले जे सोच्छु, गर्छु अरू सबै त्यसमै सहमत हुनुपर्दछ भन्ने मनोविज्ञान ओलीमा नराम्ररी स्थापित भएको छ। यसमा सामान्य अवरोध आउनेबित्तिकै त्यसलाई काम गर्ने वातावरण नभएको देख्ने प्रधानमन्त्रीको दृष्टिमैं दोष छ।
नेकपाको घर झगडामा दलका नेताबाहेक आम जनता र कार्यकतालाई खासै चासो छैन। जनताको एकमात्र चाहना भनेको स्थायित्व र विकास हो। लामो राजनीतिक सङ्क्रमण र अन्योललाई पार गरेर स्थिरताको अपेक्षा हुर्काएर बसेको अर्थ–सामाजिक दैनिकीलाई राजनीतिक घटनाक्रमले बिथोलिदिएको छ। सुशासन र विधिको शासनको अपेक्षामा घात भएको छ। यो समग्र घटनाक्रमको केन्द्रीय भागमा ओलीको दम्भ र स्वार्थ नै स्थापित भएकोमा द्विविधा छैन। प्रधानमन्त्रीले संविधानले नदिएको अधिकार स्थापित गर्न खोजेका छन्। संविधानले नदिएको अधिकार प्रयोग गर्नु जनमतविरुद्ध अपराध हो। जनताले बनाएको संविधान उल्लङ्घन गर्ने अधिकार शासकलाई कसले दियो ?
कुनै पनि राजनीतिक घटनाक्रमबाट उत्पन्न परिस्थितिको निकासका निम्ति संविधान मिच्ने छुट कसैले पाउनुहुँदैन। संविधानवाद भन्छ, संविधानभन्दा माथि कोही हुँदैन। यसो हो भने प्रधानमन्त्रीले संविधान मिचेर अपराध गरेका छन्। शक्ति र स्वार्थ सङ्घर्षले काम गर्ने वातावरण दिएन भनेर देशलाई अस्थिरतातिर धकेल्ने काम देश र जनतामाथि अपराध हो। यो अपराध कर्ममा दोषी जोकोहीलाई दण्डको भागीदार बनाइनुपर्दछ, भविष्यमा कुनै शासकले वैयक्तिक स्वार्थ र लडहमा संविधान मिच्ने दुस्साहस नगरोस्। ओलीलाई कस्तो दण्ड दिने ? असंवैधानिक कदमका लागि अवैधानिक दण्डको पैरवी मिल्दैन। उनी यतिखेर ताजा जनमत आफ्नो पक्षमा आउने स्वप्न देखिराखेका छन्। प्रकारान्तरले उनलाई कारबाई गर्ने भनेको त जनताले आफ्नो मतबाटै हो।
अहिले यो विषय सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा अदालती आदेशबाटै ओलीको प्रतिगामी र गैरसंवैधानिक कदमको निरूपण हुने अपेक्षा गर्न सकिन्छ। अदालतबाट ओलीको कदमलाई अमान्य घोषणा भयो र प्रतिनिधिसभा पुनस्र्थापना भयो भने राजनीतिले नयाँ मोड लिनेछ। यसो भएमा ओली पक्षधर सडकमा नउत्रिएलान् भन्न सकिन्न। विगतमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको प्रतिनिधिसभा विघटन सर्वोच्चले अमान्य ठह–याएपछि सडकमा रेलिङ भाँच्नेहरूमध्ये अधिकांश यही समूहमा भएकाले यो अभ्यासको पुनरावृत्ति नहोला भन्न सकिन्न।
ओलीको कदमविरुद्ध सडक सङ्घर्ष नै गर्नुपर्ने अवस्था आयो भने त्यो अस्थिरताको अर्को कारण बन्नेछ। अहिले नै सडकमा प्रदर्शनहरू भइराखेका छन्। आन्दोलनका आयामहरू कदापि सुखद र सुविधाजनक हुँदैनन्। यसले आर्थिक–सामाजिक सरोकार र स्वाभाविक अपेक्षाहरूलाई कुण्ठित गर्दछ। ओलीको गैरसंवैधानिक कदम लोकतन्त्रमाथिकै हमला हो। तर, आफूलाई लोकतन्त्रको पहरेदार ठान्ने मुख्य प्रतिपक्षी नेपाली काङ्ग्रेस अहिले ओलीको कदमलाई प्रतिगामी भन्दै चुनावको तयारीमा लागेको छ। बितेको चुनावमा नराम्रो हार चाखेको काङ्ग्रेसका लागि नेकपामा देखिएको चुनाव आफ्नो पक्षमा पार्ने औजार त बन्न सक्दछ, तर पहिलो प्राथमिकता भनेको गैरसंवैधानिक कदमको सशक्त प्रतिवाद नै हो। अहिले ओलीको कदम अनुसार चुनावमा जाँदा लोकतन्त्र र शासकीय पद्धतिमाथि खराब नजीरको रूपमा स्थापित हुनेछ।
हामीले हेक्का राख्नुपर्ने सत्य के पनि हो भने अहिले ओलीको असंवैधानिक कदमको विरोधको अग्रमोर्चामा प्रकट भएका उनका तत्कालीन सहकर्मीहरू दूधले नुहाएका भने होइनन्। केन्द्रीय पात्रमा ओली प्रकट भए पनि वर्तमान राजनीतिक सङ्कटमा उनीहरूको भूमिका छैन भन्ने चाहिं होइन। नेकपाको आन्तरिक शक्ति सङ्घर्ष केका लागि थियो ? ओली र प्रचण्ड–माधव समूहबीचको टकरावमा सुदूरसम्म जनहित र सरोकारका विषय छैनन्। स्वार्थको बेमेल र वर्चस्वको होड नै उनीहरूबीच मनमुटावको कारण हो। उनीहरूको स्वार्थसित आम सरोकारको कुनै नाता छैन। अहिले ओलीको कदमविरुद्ध देखिएको अभिमतलाई उनीहरूले आफ्नो पक्षमा प्रकट भएको मत ठान्नु आलोकाँचो बुझाइ  हो। प्रबुद्ध नागरिक समाजले ख्याल गनुपर्ने तथ्य यो हो कि ओलीको स्वेच्छाचारको प्रतिवाद गर्दा प्रचण्ड–माधवहरूको स्वार्थको गोटी बनिने सम्भावनाबाट सचेत रहनुपर्दछ। विगतमा पनि नागरिक समाज बारम्बार राजनीतिक दलहरूका लागि सत्तामा जाने भ–याङ बनेकै हो। अहिले ओलीमा देखिएको प्रवृत्ति भोलिका दिनमा प्रचण्ड–माधवहरूमा देखिन्न भनेर ढुक्क हुने आधार छैन। ओलीको दम्भ र उखान टुक्काको भरमा कटुतामात्र ओकल्ने शैलीलाई वाहवाही गर्ने जमात पनि अहिलेको सकसमा जिम्मेवार छ। ओलीले ओढेको राष्ट्रवादको आवरण र हठलाई अनुमोदन गर्दै जाने जनता र उनमा देवत्वकरण गर्न खोज्नेहरू पनि यो परिस्थितिका मतियार हुन्। अब ओली प्रवृत्तिको असली पहिचान र त्यसलाई उचित समय र ठाउँमा ठेगान लगाउने जिम्मा पनि जनताकै हुनेछ।

Saturday, December 26, 2020

लज्जाजनक राजनीतिक परिदृश्य

लज्जाजनक राजनीतिक परिदृश्य


ओमप्रकाश खनाल

गत आइतवार यसै स्तम्भमा मैले लेखेको थिएँ ‘प्रधानमन्त्री केपीशर्मा ओली संसदीय दलमैं अप्ठेरोमा पर्नेछन्। इतिहासकै शक्तिशाली प्रधानमन्त्रीका अगाडि यति रक्षात्मक मोडमा उभिनुपर्ने अवस्था किन बन्यो ? ओली स्वयंले आत्मसमीक्षा गरून्।’ त्यसै दिन प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको सिफारिश गरे। उनले समीक्षा त गरे, तर निर्णय गलत गरे। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति घोषणा भइसकेको छ। पाँच वर्ष सत्ता चलाउन करीब दुई तिहाइको बहुमत पाएको नेकपाको आन्तरिक स्वार्थ सङ्घर्षले देशलाई पुनः अस्थिरताको बाटोतर्फ धकेलिएको छ। विकसित राजनीतिक परिदृश्यलाई झगडिया नेताहरूले जे जसरी अथ्र्याए पनि मुलुक अनपेक्षित सङ्कटतिर उन्मुख भएको छ।
केन्द्रीय सत्तामा देखिएको झगडा अब प्रदेश सरकार मात्र होइन वडा तहसम्म पुगिसकेको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रचण्ड–नेपाल पक्षका प्रदेशसभा सदस्यहरूले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेपछि शक्ति सङ्घर्षको बादल प्रदेशतिर पनि मडारिन थालेको स्पष्ट भएको छ। यसले अब राजनीतिक दाउपेच चर्किंदै जाने र जनसरोकारका बचेखुचेको ध्यान पनि मोडिने खतरा बढेको छ। नेकपा सरकार प्रतिपक्षका कारण नभएर आफ्नै कारणले असफल र धराशयी बनेको छ। प्रधानमन्त्रीको कदमविरुद्ध सरकारका मन्त्रीले नै राजीनामा दिएपछि प्रधानमन्त्रीले नयाँ मन्त्री थपेका छन्। यतिसम्म कि प्रधानमन्त्रीको कदमविरुद्ध अभिव्यक्ति दिएका पूर्व सांसदहरू नै मन्त्रिमण्डलमा परेका छन्।
प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरिराख्दा प्रचण्ड–नेपाल पक्षका नेकपाहरूले छिट्टै आफूहरूको समूहबाट प्रधानमन्त्री चयन दाबी गरेका छन्। संसद् पुनस्र्थापना र बालुवाटारमा आफ्नो पक्षको प्रधानमन्त्री नबस्दासम्म सडक नछाड्ने अडान उनीहरूको छ। अहिले सत्ता र प्रतिपक्ष दुवै ओलीको विपक्षमा उत्रिएको अवस्था छ। प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको सिफारिश गर्ने सुइँको पाएका नेकपा नेताहरूले संसद् सचिवालयमा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। राष्ट्रपतिबाट विघटन हुनुभन्दा अगाडि दर्ता भएको प्रस्तावलाई प्रतिनिधिसभा ब्यूँताउने आधार मानिएको छ। यसो त प्रधानमन्त्रीको कदम नै गैरसंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट परिसकेको छ। अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि सरकारलाई कारण देखाउन भनिसकेको छ। पुस २२ गतेदेखि निरन्तर सुनुवाइ हुने भएको छ। न्यायालयबाट प्रधानमन्त्रीको आदेश अमान्य भएको फैसला आएमा ओलीलाई हटाएर आफ्नो समूहको प्रधानमन्त्री बनाउने दाउ असन्तुष्ट पक्षको हो। प्रधानमन्त्रीले संविधानले कल्पनै नगरेको कदम चालेको दाबी गरिएको छ। यो प्रकरणमा सर्वोच्चको निर्णय के आउँछ, त्यसले मौजुदा राजनीनिको निरूपण र बाटो तय हुनेमा आशङ्का आवश्यक छैन।

यस अर्थमा पनि यतिखेर सबैका आँखा यतिखेर न्यायालयमाथि अडिएको छ। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेससमेत आन्दोलनका लागि सर्वोच्चको फैसला पर्खिने कि नपर्खिने भन्ने दुई धारमा विभाजित भइसकेको छ। काङ्ग्रेस सभापति शेरबहादुर देउवा सर्वोच्चको निर्णय कुर्ने पक्षमा देखिएका छन् भने केही युवा नेता तत्काल सडक आन्दोलनको मुडमा प्रकट भइसकेका छन्। नेता गगन थापाले गत आइतवारै काठमाडौंको बानेश्वरमा सडकसभा तताइसकेका छन्।
स्मरणीय यो पनि छ कि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद् विघटन गर्दा सर्वोच्चले निर्णय उल्ट्याइदिएपछि सडकका रेलिङ भाँच्नेहरू अहिले पुनः न्यायालयप्रति आशावादी नजर डुलाइराखेका छन्। यो सन्दर्भ यस अर्थमा मात्र स्मरण गरिएको हो कि आफ्नो पक्षमा निर्णय आए मान्य अन्यथा आन्दोलनको मानसिकता राजनीतिक दलहरूको समस्या हो। अहिले पनि सर्वोच्चबाट प्रधानमन्त्रीको कदम अमान्य ठहर भएमा ओली पक्षका कार्यकर्ताहरू पुनः रेलिङ नष्ट गर्न ननिस्केलान भन्ने छैन।
नेकपाभित्र एकले अर्कोलाई अवैधानिक घोषणा र कारबाहीको सिलसिला जारी छ। देशमा कम्तीमा राजनीतिक स्थायित्वको अपेक्षा भइराखेको बेला सत्ता मात्र अस्थिर बनेको छैन, जनताले जुन एकतालाई मत दिएर सत्तामा पु–याएको थियो, त्यो राजनीतिक एकता भत्किएको अवस्था छ। नेकपा औपचारिकरूपमैं विभाजित भइसकेको छ। यतिखेर यो विवाद सडक, न्यायालयदेखि निर्वाचन आयोगसम्म विचरण गरिराखेको छ। देश राजनीतिक अस्थिरतातिर उन्मुख भएको छ। केही राजनीतिक दल सडक सङ्घर्षमा उत्रिइसकेका छन्। प्रचण्ड–नेपाल समूहले आन्दोलन घोषणा गरिसकेको छ। १४ गते देशभर प्रदर्शन आह्वान गरिएको छ। प्रचण्डले भयानक सङ्घर्षको चेतावनी दिएका छन्। नेताहरूको सत्ता र शक्ति स्वार्थका कारण हुने भयानक सङ्घर्षको स्वरूप कस्तो हुने हो र त्यसले देशको आर्थिक–सामाजिक सरोकारहरूलाई कुन तहसम्म तहसनहस पार्ने हो ? यो अहिले यसै अनुमान गर्न सकिने विषय होइन। राजनीतिक अस्थिरताले आर्थिक र सामाजिक क्षेत्र प्रभावित नहुने कुरै भएन। निजी क्षेत्रले राजनीतिलाई संयमित हुन आग्रह मात्र गरेको छैन, आर्थिक गतिविधिको गति अवरुद्ध हुनेमा चिन्ता प्रकट गरिसकेको छ।
नेताहरूबीच आरोप–प्रत्यारोपका सिलसिला सघन बन्दैछन्। प्रचण्डले प्रधानमन्त्री ओलीलाई कटाक्ष गर्दै भनेका छन्, “२०६२/६३ को जनआन्दोलनका बेला ओलीले बयलगाढा चढेर अमेरिका पुगिंदैन भनेको सबैलाई थाहा छ। आन्दोलनपछि म पनि स्वीकार गर्छु भन्नुभयो। हामीले सोच्यौं, साँच्चै स्वीकार गर्नुभयो होला भनेको त मौका परेपछि डसौंला भनेर बस्नुभएको रहेछ। उहाँको नक्कली रूप बुझ्न नसक्नु त्रुटि भयो।” प्रचण्डको यो भनाइ प्रधानमन्त्री ओली सङ्घीयता र गणतन्त्रविरोधी मनोविज्ञानका व्यक्ति हुन् भन्नेतर्फ लक्षित छ। ओलीलाई अहिले एकथरी नेताहरू २०६२/६३ यताको राजनीतिक परिवर्तनविरोधी र पश्चगामी चरित्रको रूपमा चिनाउन उद्यत् देखिन्छन्।
प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल पनि ओली गणतन्त्र र सङ्घीयता विरोधी भएको बताउन पछि परेका छैनन्। यतिसम्म कि नेपालले त ओलीलाई तत्कालीन सोभियन सङ्घका गोर्भाचोभसित तुलनासमेत गर्न भ्याए। ओलीले कम्युनिस्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप पनि लागेको छ। स्वयम् ओली भने आफ्नै दलका नेताहरूले सरकारलाई काम गर्न नदिएकाले ताजा जनमतका लागि चुनावमा जानुपरेको तर्क पेश गरिराखेका छन्। घोषणा गरिएको मध्यावधि चुनाव तोकिएको समयमा हुन्छ/हुँदैन, अन्योल छ। तर ओली जसरी पनि चुनाव जित्नैपर्ने ध्याउन्नमा छन्।
सत्ता राजनीतिले देशलाई नयाँ मुठभेडको बाटोमा अग्रसर गराइराखेको छ। ओलीको यो कदम जनमतको अपमान भने अवश्य हो। किन्तुपरन्तु नजोडी भन्ने हो भने अहिलेको राजनीतिक गतिरोधको कारण अरू केही नभएर नेकपाभित्रका केही थान शीर्षस्थहरूको स्वार्थ बेमेलको उपजबाहेक अन्य केही पनि होइन। एउटा राजनीतिक दलभित्रका लालची नेताहरूको लालच र लहडको मूल्य जनताले चुकाउनुपर्ने अवस्था विडम्बनाको परकाष्ठा हो।
प्रतिनिधिसभा विघटन राजनीतिक अस्थिरताको प्रस्थानबिन्दु भएकोमा विवाद आवश्यक छैन। आर्थिक र सामाजिक संरचनाको उत्थानका लागि भएको राजनीतिक परिवर्तन र स्थायित्वको आधार भत्काउने काम भएको छ। यो घटनाक्रमले नेपालका राजनीतिक शक्तिहरूलाई स्पष्ट बहुमत नपच्ने नै हो कि भन्ने आशङ्कालाई पुनः उब्जाइदिएको मात्र छैन, नेतृत्व बहुमत उपयोगमा पटक–पटक चुक्दा व्यवस्थाप्रति नै वितृष्णा बढेको छ। शासकीय पद्धतिप्रतिको अविश्वासको परिणति के हुन्छ भन्ने कुरा भनिराख्नुपर्दैन।
यतिखेर स्वयम् प्रतिगामी कदम चाल्नेहरू फरक आवरणमा सडकमा पोखिएको असन्तोषलाई प्रतिगमनको जामा लगाइदिन उद्यत् देखिन्छन्। अहिले सत्ता राजनीतिमा यो आत्मघाती मनोविज्ञानका परिणति प्रकट भइराखेको छ।
सत्ता र सडक दुवैतिर मूलतः नेकपा ब्रान्डको रमिता मञ्चन भइराखेको छ। सरकार र सडकको अन्योलले जनताका खास आवश्यकता र सरोकारहरू के होलान् ? यतातिर सोच्ने फुर्सद राजनीतिमा छैन। जनता कोरोनाको दोस्रो विश्वव्यापी लहरको आशङ्का र त्रासमा बाँचिराखेको छ। पहिलो लहरमैं सरकारी रमिताको कहर भोगिराखेको जनतामाथि अहिले राजनीतिक रमिताको मार थपिएको छ। जनता कोरोनाको खोप पर्खिराखेको अवस्थामा नेता कुर्सीको लडाइँमा देशलाई नै तहसनहस पार्दैछन्। यो लज्जाजनक परिदृश्य देख्ने जो कोहीलाई ग्लानि हुन्छ। तर नेतृत्वको आँखाबाट लाजनाशक चश्मा हट्ने सङ्केत देखिंदैन।

Saturday, December 19, 2020

ओलीको राजनीतिक अधोगति

ओलीको राजनीतिक अधोगति


ओमप्रकाश खनाल

सत्तासीन नेकपाको घरझगडाले जनताका सरोकार कुण्ठित बन्दैछन्। यो बेथितिको केन्द्रीय पात्रको रूपमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपीशर्मा ओली प्रकट भएका छन्। ओली यस अर्थमा कि, जनताका सरोकार सरकारसितै जोडिएका हुन्छन्। किचलो केको लागि ? यसमा जनताको सरोकार होइन, विशुद्ध नेताको स्वार्थ अग्रभागमा देखिएको छ। यो झमेलामा जोसुकैको पल्ला भारी होओस्, आमजनतालाई चिन्ता हुने कुरा पनि भएन। सत्ताबाट जनताका अपेक्षाहरू उपेक्षित हु“दा चिन्ता नभएर पनि चिन्ता भने हुने रहेछ।
नेकपाको आन्तरिक तानातानमा सत्ता र दलमा सर्वशक्तिमान ठानिएका ओली बारम्बार रक्षात्मक अवस्थामा पुग्नुपरेको छ। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले प्रधानमन्त्री ओलीलाई पुनः यही मोडमा ल्याइपु–याएको छ। उनले छलछाम र अडानको प्रवृत्ति छोडेको भान भने हु“दैन। यतिसम्म कि पार्टीभित्रको झगडामा सम्मानित राष्ट्रपतिलाई समेत विवादमा तान्ने काम हुनु आफैंमा विडम्बनाबाहेक अन्य केही होइन।
प्रधानमन्त्रीको त आफ्नो स्वार्थ होला, तर राष्ट्रपतिजस्तो पदमा आसीन व्यक्तिले पदीय गरिमाको ख्याल नगर्नु चाहिं आफ्नै खुट्टामा बन्चरो हान्ने कामको निरन्तरता हो। राष्ट्रपतिबाट पदीय गरिमा आफैं गुमाउने हर्कत बारम्बार देखाइएको छ। सत्तासीन दलको आपसी तानातानमा राष्ट्रपतिको भूमिका समग्र पद्धतिकै खराब परिदृश्य बनेर स्थापित भएको छ।
सत्तारूढ दलको जारी विवाद नया“ मोडमा पुगेको छ। सरकारले अध्यादेश फिर्ता लिने र असन्तुष्ट नेकपा सांसदहरू विशेष अधिवेशनको मागबाट पछि हट्ने समझदारी बनेपछि तत्कालका लागि झगडा मत्थर हुने सम्भावना देखिएकोमा त्यसमा पुनः आशड्ढा मडारिन थालेको छ। राजनीतिक वृत्तमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ताको समझदारीबाट पछि हट्ने चर्चा बाक्लिएको छ। प्रधानमन्त्री समझदारीप्रति इमानदार भएछन् भने पनि नेकपाभित्रको कलहको मूल कारण सम्बोधन नभएसम्म दीर्घकालीन मिलाप भने हुन सक्दैन।
दलभित्रको झैंझगडा र आरोप–प्रत्यारोपको कारण अध्यादेश नभएर शक्ति सङ्घर्ष र भागबन्डा मुख्य हो। मूल जरोमा गा“जिएको समस्या जस्ताको त्यस्तै राखेर हा“गाबिंगा का“टछा“ट गरेर मात्रै समाधान निकाल्न सम्भव छैन। करीब दुई तिहाइ बहुमतको सुविधा पाएको नेकपा विपक्षीका कारण नभएर आफूभित्रकै किचलोमा रुमलिएर कमजोर बन्दैछ। सत्ता सञ्चालकको ऊर्जा जनसरोकारका विषयमा होइन, आन्तरिक झगडा व्यवस्थापनमा खर्च भइराखेको छ। यसले आम अपेक्षा कुण्ठित मात्र होइन, व्यवस्थाप्रति नै वितृष्णा बढाएको छ।
संसद् अधिवेशन जारी नभएको अवस्थामा आकस्मिकरूपमा आइपर्ने कामको बाटो खोल्न अध्यादेश ल्याउने व्यवस्था संविधानमा छ। ६ महीनाभित्र संसद्बाट पारित गराउन नसके त्यस्ता अध्यादेश स्वतः निष्क्रिय हुन्छन्। तर यसपटकको अध्यादेशको विरोध विपक्षीले गरिदिनुपरेको छैन। स्वयम् सत्तासीन राजनीतिका खेलाडीहरू नै यसको चर्को आलोचनामा उत्रिएका छन्। यसका कारण अरू केही नभएर राजनीतिक स्वार्थ नै हो।
राजनीतिक दाउपेचबाट प्रेरित भएर ल्याइएको यो अध्यादेश मात्र होइन, विगतमा राजनीतिक दल विभाजनसम्बन्धी कानून संशोधन पनि चर्को आलोचनामा परेको थियो। त्यस बेला पनि सरकार चर्को आलोचनापछि पछि हटेको थियो। एक महीनापछि संसद्को नियमित बैठक बस्न गइरहेका बेला आएको अध्यादेशमा स्वार्थ हावी देखिएको छ। सत्तासीन दलभित्रको असन्तोषलाई छलेर स्वार्थ सोझ्याउनै अध्यादेश ल्याइएकोमा द्विविधा आवश्यक छैन। सरकार गठन भएको तीन वर्षसम्म खाली नै चलेका संवैधानिक पद एक महीना रिक्त रह“दा आकाशै खस्ने अवस्था थिएन।
नेपालको राजनीतिमा सत्तासीन दलभित्रको झगडाले जनहित र आवश्यकतामाथि अन्याय भएको यो पहिलोपटक होइन। सत्ता राजनीतिभित्रको फोहोरी खेलका कारण संसद् नै भ· गरेर देशलाई मध्यावधि चुनावको भार बोकाउने दुष्कर्म विगतमा भएकै हुन्। अन्ततः यस्ता अभ्यासहरूले देशलाई लामो समयसम्म अस्थिरताको शिकार बनाएको पनि सत्य हो। २००७ र २०४६ सालका राजनीतिक परिवर्तन र त्यसका उपलब्धिहरू प्रकारान्तरले सत्ता राजनीतिको झगडाले धरापमा परेका दृश्यावलीमा अहिले नेकपाभित्रको शक्ति सङ्घर्षले राजनीतिको सुखद भविष्यलाई सड्ढेत गरिराखेको छैन।
यतिखेरै सडकमा राजतन्त्रको पक्षमा नारा लाग्न थालेका छन्। यो दृश्य प्रायोजित हो वा स्वाभाविक यसको परख हु“दै जला। तर राजतन्त्रको पक्षमा नारा, जुलुस गर्नेमाथि कटाक्ष गर्ने गणतन्त्रवादीहरूले उनीहरूलाई गाली गर्न खर्चिएको समय आफ्नो आचरणको शुद्धीकरणमा लगाउन सके लाभदायी हुनेछ। गणतन्त्रको उत्तम विकल्प राजतन्त्र हुन सक्दैन। त्यसमाथि पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारसको छविलाई जनताले सहजै राजा स्वीकार्ने अवस्था पनि छैन। यसो हो भने किन राजतन्त्रका पक्षमा नारा लागिराखेका छन् ? यो दलीय बेथितिले उत्पादन गरेको असन्तोष सडकमा पोखिएको मात्र हो।
राजाप्रति मोहले जनतालाई सडकमा ल्याएको होइन। प्रतिगामी शक्तिले यही असन्तोषमा खेल्ने हो। अब आफू सच्चिने कि सडकमा उत्रिएको असन्तोषमाथि चिच्याएर आफ्नै पतनको बाटो खन्ने ? त्यो मौजुदा शासन व्यवस्थाका अगुवाहरूकै आचरणमा भर पर्ने कुरा हो।
अब आमजनताको नजरबाट हेरौं, जनता विपक्षी होइन, त्यसैले सधैं सरकारप्रति आशावादी नै हुन्छ। केही पनि नभएको ठाउ“मा राहत अनुभूति गर्न लायक एकाध काम पनि धेरै हुन सक्छ। यस्तो सहजतालाई उपयोग गर्न नसक्ने सरकार हदैसम्मको नालायक हो। सरकारले नगरेको पनि होइन। जनताको लागि भने होइन, दलाल र माफिया पोस्ने सवालमा सरकारले दिल खोलेर काम गरेका उदाहरणहरूको कमी छैन। बारम्बार यस्ता प्रकरण सार्वजनिक भइआएका छन्, यो सिलसिला अझै थामिएको छैन।
आफ्नै सहकर्मीलाई पेलेर भित्तामा पु–याउने ओली आचरणको मारमा नेकपा मात्र होइन, यो दल बलियो बहुमतसहित सत्तासीन हुनुको कारण आमजनता हो। एक समय थियो, नेकपा भनेकै ओली र ओली भनेकै पार्टी र सरकार भन्ने थियो। आफ्नै सहकर्मीहरूले उनलाई पार्टी नेतृत्व र प्रधानमन्त्री दुवै पद छोड्न दबाब किन दिए ? अहिले अध्यादेशमा रस्साकस्सी देखिए पनि झमेलाको चुरो यहींनिर अड्किएको छ। देश र जनताको हितका कामकारबाहीमा लाग्नुपर्ने प्रधानमन्त्री कहिले पार्टीको आन्तरिक कलह उत्पादन गर्दछन्, कहिले व्यापारी घराना र आसेपासेहरूको स्वार्थका लागि बदनामीको टीका लगाउन उद्यत् हुन्छ। त्यतिले नपुगेर भ्रष्टाचारका उपक्रम र आरोपितहरूको प्रतिरक्षामा कवज बनेर उभिन्छन्। भ्रष्टहरूको रक्षाकवजको रूपमा उभिने प्रधानमन्त्री आफैं यति कमजोर साबित हुन्छन्, पद जोगाउन आफ्नै सहयात्रीलाई प्रलोभन देखाएर फुटाउने र आफूतिर जुटाउने काममा लाग्ने अवस्था आइदिन्छ। यो उपायले उनलाई क्षणिक राहत भएपनि आफ्नै शैलीका कारण टिकाउ भने हुन सकेको छैन।
स्मरण हुन्छ, बलियो बहुमतसहित सत्तागमन गर्दा ओली प्रवृत्तिलाई देवत्वकरण गर्ने झुन्ड पनि थियो, अहिले पनि छ। परिणाम, ओलीमा म मात्र सर्वज्ञ अरू सबै अबुझ र मूर्ख ठान्ने खतरनाक मनोविज्ञान विस्तार भयो। आजपर्यन्त ओलीभित्र हुर्किएका यही सोचले स्वयंलाई रक्षात्मक कुनामा उभिनुपर्ने अवस्थामा ल्याइपु–याएकोमा किन्तुपरन्तु आवश्यक छैन। नेपाली जनताले वामपन्थी शक्तिलाई सत्ताको सा“चो सुम्पिएको हो। यो उत्तम छनोट भने होइन। हाम्रो वैधानिक प्रावधान नै यस्तो छ कि कमसलमध्ये कम कमसललाई चुन्नुपर्ने बाध्यता छ। राजनीतिमा जति नै बेथितिको खात लागे पनि त्यही राजनीति र त्यसभित्रका कम खराब पात्रहरूलाई सत्तामा पु–याउनुपर्ने विडम्बना छ।
नेकपाभित्रको झगडाले पा“च वर्षसम्म सत्ता चलाउने जनमत पाएको सरकारको भविष्यमाथि  यतिखेर आशड्ढा मडारिन थालेको छ। प्रकारान्तरले यो जनमतको अपमान र धोकाधडी हो। इतिहासकै शक्तिमान प्रधानमन्त्री मानिएका ओली आफ्नै सहकर्मीहरूसितको तिक्त सम्बन्धले पार्टी र संसदीय दलमा अल्पमतमा पर्ने सम्भावना बाक्लिएको छ। संसदीय दलमा बहुमतका लागि ८८ र सरकारमा कायम रहन १३८ सांसद चाहिनेमा ओलीसित ७८ जनामात्रै रहेका तथ्यहरू सार्वजनिक भएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षका ५३ र माधव नेपाल समूहका ४३ जना एक भएर प्रतिवाद गरे भने ओली संसदीय दलमैं अप्ठेरोमा पर्नेछन्। इतिहासकै शक्तिशाली प्रधानमन्त्रीका अगाडि यति रक्षात्मक मोडमा उभिनुपर्ने अवस्था किन बन्यो ? ओली स्वयंले आत्मसमीक्षा गरून्।

Saturday, December 12, 2020

ओली सरकार ः जनताको कि माफियाको ?

ओली सरकार ः जनताको कि माफियाको ?


 

 

 

 

 

 

ओमप्रकाश खनाल

प्रधानमन्त्री केपीशर्मा ओलीको अभिव्यक्तिमा भ्रष्टाचारविरुद्ध जति तीखो प्रहार पाइन्छ, सरकारको चरित्रले भ्रष्टाचारलाई त्यति नै संरक्षण दिएको भान हुन्छ। जनताबाट करीब दुई तिहाइको बहुमत लिएको बलियो सरकारले भ्रष्ट, दलाल र माफियाको स्वार्थका निम्ति आफ्नो बल रित्याइराखेको सन्दर्भ सामान्य लाग्न थालिसकेको छ। सामान्य लाग्ने यस्ता विकृत विषय जनजीविकाका निम्ति भने असामान्य पीडाका कारण बन्दैछन्। सरकारप्रतिको आक्रोश प्रकारान्तरले सडकमा पोखिन खोज्दैछ। सत्ता सञ्चालकहरू अनुहारको दाग पखाल्न छोडेर ऐना पुछ्न उद्यत् देखिन्छन्।
जनताको नाममा राजनीति गर्नेहरूको माफिया मोहले आम जनतामा यति वितृष्ण भरिएको छ कि, राज्य व्यवस्थाप्रति आशङ्का मात्र बढी छ, आशा किनारा लाग्न बाँकी छैन। बलियो बहुमतको सरकार बनेपछि देश राजनीतिक र आर्थिक स्थायित्वको मार्गमा अग्रसर हुने अपेक्षा थियो। तर यो आम आशामा पानी खनिएको छ। सरकार सीमित अवसरवादी र दलाल प्रवृत्तिको पृष्ठपोषकको रूपमा प्रकट भएको छ। सत्ता राजनीति जनहितको विषयलाई लत्याएर व्यक्तिगत शक्ति र स्वार्थ सङ्घर्षमा एकोहोरिंदा जनसरोकार ओझेलमा परेका छन्/पारिएका छन्।

राजनीतिमा सामान्य जानकारी राख्ने जो कोहीलाई राम्ररी हेक्का छ, ओली नेतृत्वमा अहिले उपलब्ध राजनीतिक सफलता नाकाबन्दीताका उनले देखाएको राष्ट्रवादी अडानको ब्याज हो। ओलीको राष्ट्रवाद कति सक्कली हो भन्ने त नाकाबन्दीदेखि नक्शा प्रकरणसम्म देखिएको अडान (त्यो पनि मिडियाले घटना उजागर गरेपछि) त्यही नक्शा छापिएको पाठ्यपुस्तक वितरण नगर्न उनले नै लगाएको रोकसम्म आइपुग्दा छरपस्ट भइसकेकै छ। देशको संविधानले अङ्गीकार गरिसकेको नापनक्शा पाठ्यक्रममा राख्न नसक्ने मनोविज्ञान राष्ट्रवादको कुन कोटिमा पर्ने हो ? जनता बेखबर छैन।
यथार्थ त यो हो कि जनताका अगाडि राष्ट्रवादको खोल ओडेर आफूलाई राष्ट्रवादी देखाउनु र यथार्थमैं राष्ट्रप्रेमी हुनु नितान्त फरक विषय हुन्। राष्ट्रवाद राजनीतिक लाभका लागि गरिने औसत तिकडमबाहेक अन्य केही होइन। राष्ट्रप्रेम मात्र देश र जनताको हितकेन्द्रित हुन्छ। जनताको सुख र खुशीका उपाय खोज्नु राष्ट्रप्रेमको प्रमुख चरित्र हो। अहिलेसम्म राष्ट्रवाद जनता झुक्याएर राजनीतिक लाभ सोझ्याउने बनावटी आवरणबाहेक अरू केही प्रमाणित हुन सकेको छैन।
ओली सरकार कति राष्ट्र र जन प्रेमी छ भन्ने बुझ्न धेरै टाढा जानुपर्दैन। सरकारको असली अनुहार त कोरोना महामारीमा प्रस्ट भएकै हो। सत्ता सञ्चालकहरूको जनताप्रेम जनता जीवन र मृत्युसित जुधिरहँदा स्वास्थ्य सामग्रीमा भ्रष्टाचारको प्रपञ्चले प्रमाणित गरिसकेको छैन र ? विश्वव्यापी महामारीलाई कमाउने मौका बनाउने र जनताको उपचार गर्न सक्दैनौं भनेर पन्छिने सरकारबाट जनताले कस्तो सामाजिक न्याय, सुरक्षा र सुशासनको अपेक्षा गर्न सक्छ ? अनुमान त्यति असहज पनि छैन।
चौतर्फी आलोचनापछि सरकार सच्चिए पनि निश्शुल्क भनिएको उपचारमा जनताले राहत पाएको छैन। संविधानले स्थास्थ्य उपचारलाई जनताको मौलिक हक मानेको छ। उपचार नपाएर जनताले मृत्युवरण गरेको समाचारले राज्य सञ्चालकलाई छुँदैन र आफ्नो उपचार आफैं गर भन्छ भने त्यस्तो निकृष्ट र निकम्मा नेतृत्वलाई कुन उपमा दिने ? उपयुक्त शब्द जुराउन कठिन छ।
संसदीय समितिले भ्रष्टाचार ठहर गरिसक्दा ‘भ्रष्टाचारीको मुख हेर्दिनँ’ भन्ने प्रधानमन्त्री उदासीन देखिनुको चुरो के हुन सक्छ ? प्रधानमन्त्रीका प्रतिबद्धता यस कारण हावादारी लाग्छन्, उनका खास मानिएका मानिसहरू भ्रष्टाचारको सेटिङमा लागेको रहस्य बाहिरिन्छ। त्यस्ता प्रकरणको निष्पक्ष छानबिनमा सहयोग गर्नुपर्ने प्रधानमन्त्री स्वयम् भ्रष्टाचार आरोपितको प्रतिरक्षामा उत्रिन्छन्। यस्तो अवस्थामा भ्रष्टाचार नियन्त्रणका निम्ति काम गर्ने अङ्गका अधिकारीहरूको मनोविज्ञान कस्तो होला र त्यस्ता व्यक्तिबाट कस्तो अनुसन्धान र कार्यसम्पादन होला ?
सत्ताले अनुसन्धान मात्र होइन, न्यायसमेत प्रभावित पार्न खोजेको उदाहरणहरूको कमी पनि छैन। स्वार्थ मिल्दा विवादित व्यक्तिलाई बुई बोकेरै भ्रष्टाचार नियन्त्रणका निकायको उच्च आसनमा पु–याउने र निहित स्वार्थमा तलमाथि परे विवादित अधिकारी मात्र होइन, निष्ठावान् व्यक्तिविरुद्ध संवैधानिक प्रावधान दुरुपयोग गर्न पछि नपर्ने प्रवृत्ति जो नेतृत्वमा छ। यस्तो नेतृत्वले फलाक्ने सुशासनको गफ जनताले पत्याइदिनुपर्दछ भन्ने छैन।
सुनकाण्ड, वाइडबडी, बालुवाटार जग्गा कब्जादेखि सेक्युरिटी प्रेस खरीदमा घूसको मोलमोलाइ जस्ता प्रकरणमा सार्वजनिक हुन बाँकी विषय केही पनि छैनन्। तर प्रधानमन्त्रीको निकट भएकै कारण भ्रष्टाचारमा मुछिएका केहीले उन्मुक्ति पाएको/पाउने अवस्था छ। यस्ता प्रकरण कतिका सन्दर्भमा विरोधका स्वर थुन्ने औजार बन्ने विडम्बनाको परिदृश्यमा सुशासनको फगत आलाप पत्याउनु भनेको अन्धविश्वासबाहेक केही पनि होइन। प्रकारान्तरले आरोप प्रमाणित नहुन सक्छ, तर सार्वजनिक भइसकेका तथ्यहरूमा लिपापोतको प्रयास क्षणिक आत्मरतिबाहेक अरू केही हुन सम्भव छैन।
प्रधानमन्त्री ओलीमाथि स्वयम् एउटा विवादित व्यापारिक घरानाको पृष्ठपोषक बनेर उभिएको आक्षेप लाग्दै आएको छ। तर सार्वजनिक चासो र चर्चाको यस्तो विषय जेजस्तो भएपनि सरकार ज्यान फालेर त्यही समूहको हित प्रवद्र्धनमा लागेको निर्णयहरूले देखाउँछन्। यती समूहका व्यापारिक स्वार्थ र उपक्रमप्रति अति उदारताले स्वयम् प्रधानमन्त्रीको छविमा बारम्बार दाग लागेको छ। प्रधानमन्त्रीलाई यसको कुनै प्रवाह छैन, समीक्षाको सट्टा उल्टै आलोचकप्रति कटाक्ष कस्न उद्यत् देखिन्छन्।
पछिल्लोपटक नेपाल वायुसेवा निगमको सञ्चालक समितिको रिक्त सदस्यमा यती समूह सम्बद्ध व्यक्तिलाई नियुक्ति दिइएको छ। सरकारले यसअघि यती समूहको मुख्य लगानी रहेको पाथीभारा केबुलकारलाई ८० वर्षका लागि ३७० रोपनी जग्गा सित्तैमा उपलब्ध गराएको थियो। यो प्रकरणमा मुख्य भूमिकामा रहेका व्यक्ति अहिले निगमको सदस्य मात्र भएका छैनन्, यसअघि यती समूहकै लगानी रहेको अर्को एक वायुसेवा प्रदायकका नेतृत्वकर्तालाई पनि निगम सञ्चालक समिति सदस्य बनाइएको थियो। सरकारको यो निर्णयले यसै पनि घाटामा गएको राष्ट्रिय ध्वजावाहक निगमको हित कुण्ठित हुने निश्चित छ। यस्ता कुराले सरकारको कान छोएको छैन।
प्रधानमन्त्री पदमा पुगेलगत्तै प्रधानमन्त्री ओलीले यती समूहको हिमालय एयर चढेर चीन भ्रमणमा निस्किएका थिए। त्यसयता यो व्यापारिक समूहसितको सामीप्यता र स्वार्थका लागि भए गरेका निर्णयहरू जति विवादमा परे पनि प्रधानमन्त्रीलाई कुनै प्रवाह नहुनुका पछाडिको कारण धेरै खोतलिराख्नुपर्दैन। गोकर्ण रिसोर्टको जग्गा लिजमा दिन नीति नियम संशोधनदेखि, दरबारमार्गको जमीन, स्पेनका लागि राजदूत नियुक्तिलगायतका काम यही समूहको हितमा भए। प्रधानमन्त्रीका विवादित विश्वासपात्र गोकुल बाँस्कोटा मुछिएको सेक्युरिटी प्रेसदेखि निजगढ विमानस्थलको स्वार्थ वृत्तमा यती समूह घुसेको तथ्य पनि सार्वजनिक हुन बाँकी रहेनन्।
एउटा व्यापारिक प्रतिष्ठानको स्वार्थका निम्ति प्रधानमन्त्री स्वयम् यति विवादित हुँदा समेत कानूनी प्रश्नबाट त जोगिन सकिएला, नैतिक प्रश्न भने बारम्बार तेर्सिइराखेका छन्। नीति र नैतिकता भएको राजनीतिमा मात्र नैतिक जिम्मेवारीको औचित्य रहन्छ। प्रश्न त यो पनि उठिराखेकै छ, दुई तिहाइ नजीकको बहुमत पाएको सरकारले कसका लागि काम गरिराखेको छ ? जनताका लागि कि माफिया र दलालहरूका निम्ति ?
आज देशका प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कारबाही हुन्छ भन्दा थोरै पनि समसामयिक चेतना भएको व्यक्तिले यस्तो अभिव्यक्तिलाई ठट्टाको विषय ठान्ने अवस्था छ। उखानटुक्का र छुद्र बोलीको भरमा जनता हसाउने कलामा निपुण प्रधानमन्त्री पाए पनि सुशासनका सवालमा जनताले देशको कार्यकारी प्रमुखको कुरा नपत्याउनु अवश्य ठट्टाको विषय होइन। यो राज्य संयन्त्र र व्यवस्थाप्रति चरम अविश्वास र वितृष्णाको सङ्केत हो। यसको परिमाण अहिल्यै अनुमान गर्न सकिन्न। सुशासन र समतामूलक समृद्धिको अवरोध ठानेर हटाइएको राजतन्त्रको पक्षमा यति छोटै समयान्तरमा किन नारा जुलुस प्रकट भइराखेका छन्। गणतन्त्रवादीहरूले आत्मसमीक्षा र आचरण सुधार्ने कि राजावादीलाई धारे हात लगाएर बर्बादीको बाटो फराकिलो पार्ने ? अहिलेको मूल समस्या, समाधान र अग्रगमन यहींनिर अल्मलिएको छ।

Saturday, December 5, 2020

विकासको बाधा ः स्रोत कि सोच ?

विकासको बाधा ः स्रोत कि सोच ?


 

 

 

 

 

 

ओमप्रकाश खनाल

राजनीतिक, आर्थिक वा सामाजिक विकासमा सोच र स्रोतको खाँचो पर्दछ। यी तीनै आयामहरूको अग्रगतिका निम्ति आर्थिक स्रोत मात्र भएर पुग्दैन, सोच र इमानदारी पनि चाहिन्छ। हाम्रा सरोकारहरूमा आर्थिक र नैतिक दुवै स्रोतको अभाव खट्किएको छ। राजनीतिक, आर्थिक र सामाजिक दिनचर्या पश्चगमनतिर उन्मुख भएको भान हुन्छ। हुनैपर्ने काम भएका छैनन्, नहुनुपर्ने काम बढी भएका छन्। कोरोना महामारीले अर्थ–सामाजिक दैनिकी अप्ठेरोमा पर्दा यो विडम्बना पीडा बनेर प्रकट भइदिएको छ।
राजनीति जनजीविकाको सरोकारको सट्टा व्यक्तिगत स्वार्थको पछाडि कुदिराखेको छ। अहिले सत्तासीन राजनीतिमा देखिएको किचलो विशुद्ध शक्ति सङ्घर्षबाहेक अन्य केही पनि होइन। अहिलेको यो शक्ति तानातानको विकृत आचरणका बारेमा यो स्तम्भमा यसअघि पनि चर्चा भइसकेको छ। आर्थिक विकासको गति कुन हदसम्म पछाडि फर्किएको छ भन्ने त यसका अवयवहरूको सतही अध्ययन मात्र पनि पर्याप्त हुन सक्छ। कतिसम्म भने उत्पादन र माग घटेर अर्थतन्त्रका केही सूचक सकारात्मक देखिंदा सरकार त्यसलाई आफ्नो सफलताको रूपमा प्रचार गर्न उद्यत देखिन्छ। सामाजिक विकासलाई प्रत्यक्ष र परोक्ष प्रभाव पारिरहेका योजनाहरूको कार्यान्वयन हेर्ने हो भने त्यस्ता योजनाको औचित्य नै सकिने बेलासम्म योजना कार्यान्वयन नै भएका हुँदैनन्। भइहाले पनि समयमा पूरा हुँदैनन्। यस्ता योजनाले आर्थिक–सामाजिक विकासका सघाउनुको सट्टा देशको स्रोतमा आर्थिक भार मात्र थपिरहेका हुन्छन्। यो आलेखको अभिप्राय पनि तिनै नमूना योजनाहरूको बेथिति खोतल्नु हो, जो विकासका नाममा वर्षौंदेखि आसको खेतीका औजार मात्र बनेका छन्। हास्यास्पद के भने बर्सेनि सार्वजनिक खर्चमा बोझ बनेका औसत यस्ता योजनालाई सरकारले गौरवको सूचीमा राखेको छ।
अहिलेको कोरोना महामारी विकास निर्माणमा नीतिगत र नियतवश अवरोधको अपजस लुकाउने हतियार बनेको छ। यो महामारीबाट विकास अवरुद्ध भएको छैन भन्ने होइन, तर महामारीअघि विकास योजनाहरूले अपेक्षित गति लिएको उदाहरण पनि हामीसित छैन। कोरोना महामारी ठेकेदारहरूलाई समय थप्ने र दृश्य/अदृश्य लाभ लेनदेनको उपयुक्त अवसर मात्र बनेको छ।

विकास योजनाका बेथिति राजनीतिबाटै शुरू हुने हो। राजनीतिक दलको चुनावी घोषणापत्रमा लोकप्रियताले प्रशस्त स्थान पाउँछन्। समस्याको सुरुआत यहीबाट हुन्छ। बजेट विकासको स्वरूप र गतिलाई निर्दिष्ट गर्ने मार्गनिर्देशक हो। तर बजेटमा राजनीतिक लोकप्रियतालाई घुसाउँदा यसको उपादेयता राजनीतिक पर्चाबाहेक अन्य भइरहेको छैन। राजनीतिक लोकप्रियता र माग असीमित हुन्छन्। तर बजेटले यथार्थलाई समेट्नुपर्ने हो। बजेटलाई लोकप्रियताको पुलिन्दा बनाउने परिपाटीको टेकोमा उभिएर अल्पकालीन विकास लक्ष्यमा पनि पुग्न सम्भव छैन। यो सपना देखाएर जनता अल्मल्याउने उपायबाहेक अन्य केही साबित हुँदैन।
देशको आर्थिक अवस्थालाई कुन नीतिबाट अघि बढाउने हो, त्यसको स्पष्ट चित्रण बजेटमा भेटिनुपर्दछ। तर बजेट आवश्यकताको सम्बोधन कम राजनीतिक लोकप्रियतामुखी योजनाको पुलिन्दा बढी हुने गरेको छ। परिणाम, बजेटमा आवश्यकताभन्दा नेताहरूका महत्वाकाङ्क्षा र कार्यकर्ता खुशी पार्ने खालका योजनाको आकार बढी हुन्छ। जनता बिहान–बेलुकाको जोहो कसरी गर्ने भन्ने चिन्ताले पिरोलिंदा शासकहरू भ्यू टावरबाट समृद्धि चियाउने ध्याउन्नमा प्रकट हुन्छन्।
कति योजना यस्ता पनि छन्, जो दशकौंदेखि चर्चाको चुलीमा त छन्, तर पूर्णता पाउनेमा आशावादी हुने आधारसमेत फेला पार्न सकिएको छैन। राष्ट्रिय गौरवको नाम दिइएका अधिकांश योजनाको दुर्गति यसको उदाहरणको रूपमा लिन सकिन्छ। सम्झना हुन्छ, केही वर्षअघि बाराको निजगढबाट राजधानी काठमाडौंलाई जोड्ने द्रुतमार्गको निर्माणमा दबाब दिन निजगढ सार्वजनिक सरोकार समितिले आन्दोलन नै गरेको थियो। द्रुतमार्गको लागि विनियोजित बजेट खर्च गर्न माग गर्दै शुरू भएको प्रदर्शनलाई थामथुम पार्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नै निजगढ झर्नुपरेको थियो। दाहालले द्रुतमार्गलाई द्रुतगति दिने आश्वासन दिएसँगै अनशन स्थगित त भयो। तर द्रुतमार्गको गति कसैबाट लुकेको छैन।
दुई दशकभन्दा लामो समयदेखि कागजी बन्दोबस्तीमा बढी सीमित द्रुतमार्ग निर्माण थालिएकै दशकभन्दा बढी भयो। पाँच वर्षमा काम सक्ने लक्ष्य राखेर २०६६ सालमा शुरू भएको योजना अहिलेसम्म अलमलमा छ। काम शुरू भएको ८ वर्षसम्म त योजनाको प्रगति ६ प्रतिशत मात्र थियो। त्यसयता चार वर्षमा निर्माण सक्ने भनेर नेपाली सेनालाई जिम्मा लगाइएको पनि समय घर्किने तरखरमा छ। यो मार्गको गति दुर्गतिमा परिणत भएको छ। कहिले पूरा हुने हो टुङ्गो छैन।
एउटा कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भनेका थिए, “यहाँ द्रुतमार्ग असफल पार्न सुरुङ मार्ग अघि सारिन्छ।” हेटौंडा–कुलेखानी हुँदै राजधानी जोड्ने अभिप्रायको अर्को प्रस्तावित सडक पूर्वाधार सुरुङ मार्गको योजना अहिले के हुँदैछ अत्तोपत्तो छैन। तर एकताका त्यो सडकको नाममा तहल्का पिटिएको थियो। पूर्वाधार विकास कम्पनीका नाममा सडक निर्माणका लागि उठेको पैसाको हिसाबकिताब के भयो ? स्वयम् लगानीकर्तालाई पनि थाहा नहोला।
यी निकट उदाहरण मात्रै हुन्। काठमाडौं उपत्यकावासीको प्यास मेटाउन यो दशैं र त्यो दशैंमा आउँछ भनिएको मेलम्ची खानेपानी आयोजना हेरौं, निर्माण शुरू भएकै दुई दशक पुगिसक्यो। यसका नाममा सतहमा आएका भ्रष्टाचारका पहेलीहरू सार्वजनिक सरोकारका अलग विषय हुन्। मेलम्चीको पानी काठमाडौं आएपछि पानीको छेलोखेलो हुने भनिएको थियो। यो दुई दशकमा काठमाडौंको जनसङ्ख्या कति बढ्यो ? अब मेलम्चीले काठमाडौंको एक तिहाइ बासिन्दाको पनि प्यास मेटाउन सक्दैन। कुनै समयमा सापेक्ष मानिएका योजनाहरू समयमैं पूरा नहुँदा उपादेयता कमजोर हुँदै जान्छन्।
विकासका योजना निर्धारित समयसीमामा पूरा नहुनु विकासको कुरूप दृश्य बनिसकेको छ। आवश्यकताभन्दा पनि आग्रहलाई योजना छनोटको आधार बनाउने परिपाटीले उपादेयतामा प्रश्न तेर्सिने गरेको छ। एकपटक महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले योजना घोषणाको मापदण्डको अभावलाई बेथितिको कारण भनेको थियो। योजनामा आवश्यकता र औचित्यभन्दा पनि नेतृत्वको लोकप्रिय हुने रहर हावी हुने गरेको छ।
चालू वर्ष २०७७/७८ का लागि तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले ल्याएको बजेट वक्तव्यमा पूर्वाधार विकास र वित्तीय अनुशासनलाई उच्च प्राथमिकता दिएको बताइए पनि नेताको लहड नै योजनाको प्राथमिकतामा परेको दखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा भ्यू टावरदेखि प्रभावशाली नेताका निर्वाचन क्षेत्रमा पारिएका योजनाहरूमा आवश्यकताभन्दा पनि प्रभावको झल्को बढी देखिन्छ। नीति र नियम बनाउनुपर्ने माननीयहरू विकासे योजना लिएर गाउँ–गाउँमा किन जान्छन् ? योजना बनाउने काम माननीयहरूको होइन।
हामीकहाँ योजनाको कार्यान्वयनमा अर्को समस्या भनेको दक्ष जनशक्तिको अभाव हो। प्रशासकीय जनशक्तिले योजना हाँक्ने गलत अभ्यास स्थापित भइराखेको छ। वैदेशिक सहायतामा सञ्चालित योजनाको ४७ प्रतिशत रकम परामर्शका नाममा बाहिरिएको तथ्याङ्क छ। योजना कार्यान्वयन र साधारण प्रशासन फरक विषय हुन्। हामीले गौरवका योजना घोषणा त ग–यौं, तर यस्ता योजना अघि बढाउन कस्तो जनशक्ति कति परिमाणमा चाहिन्छ भन्ने अनुमान पनि गर्न आवश्यक ठानेनौं, जनशक्ति निर्माण त परको कुरा भयो।
कुनै पनि योजनाले प्रतिफल दिन एउटा निश्चित स्तरसम्मको लगानी आवश्यक हुन्छ। योजना छर्ने परिपाटीले कुनै पनि योजनाका लागि यस्तो बजेट पुग्दैन। संसद्को विकास समितिले राष्ट्रिय गौरवका योजनाहरूमा ६ वर्षभन्दा बढी समय नलगाउन निर्देशन दिएको थियो। हामीकहाँ ३० वर्षदेखिका योजनालाई राष्ट्रिय गौरवमा राखिएको छ। सन्दर्भ र औचित्य नै समाप्त हुने अवस्थामा पुगेका आयोजनालाई गौरवको उपनाम दिएर आत्मरतिमा रमाउने काम मात्रै गरिरहेका छौं।

फरक समाचार

Find us