Showing posts with label वाटिका. Show all posts
Showing posts with label वाटिका. Show all posts

Friday, February 5, 2021

थाहै नदिई सङ्घर्षको परिणामनजीक आइरहेको हुन्छ

थाहै नदिई सङ्घर्षको परिणामनजीक आइरहेको हुन्छ


राजेश मिश्र

“सङ्घर्ष हो जीवन
जीवन सङ्घर्ष हो
जीवनदेखि थाकेर बस्छु नभन
जीवनदेखि हारेर मर्छु नभन।”

श्याम तमोटको उपरोक्त गीत सबैले मनन गर्नुपर्छ। जीवनमा सङ्घर्ष गरेर लक्ष्य हासिल गरेका थुप्रै व्यक्तित्व पहिले पनि थिए र आज पनि छन्। कुनै पनि व्यक्ति जीवनमा कति सफल वा असफल हुन्छ भन्ने कुरा ऊ बाल्यावस्था र किशोरावस्थामा कसरी हुर्किएको छ भन्नेमा निर्भर गर्छ। ‘सङ्घर्ष’ शब्दले के जनाउँछ ? यसको भावार्थ अपवादबाहेक सबैलाई अवगत हुनुपर्छ। हो, अठोटसहितको अथक सङ्घर्ष सफलताको संवाहक हो।
आज यस स्तम्भमा एक महिलाको सङ्घर्षको कथा प्रस्तुत छ। एक महिलाको लगनशीलता र सङ्घर्षले लक्ष्य हासिल गरेको कथा सबैका लागि प्रेरणादायी हुन सक्छ। विसं २०३८ सालमा बाआमाको दोस्रो सन्तानको रूपमा उनको जन्म रौतहट जिल्लाको वनबहुअरीमा भएको थियो। अहिले उक्त गाउँ रौतहटको चन्द्रपुर नगरपालिका–७ मा पर्छ।
बुबा गोविन्द अधिकारी र आमा भैरवी अधिकारी निकै खुशी थिए। पुरोहितसँग छोरीको ग्रहगोचर आदि देखाए। पुरोहित बाजेको सल्लाह अनुसार बाआमाले छोरीको औपचारिक नाम नर्मदा अधिकारी राखिदिए। अहिले उनी ३९ वर्षकी भइन्। उनी बैंकको शाखा प्रबन्धकको जिम्मेवारी मात्र होइन एक बुहारी, पत्नी र आमाको जिम्मेवारीप्रति पनि उत्तिकै कर्तव्यनिष्ठ छिन्। बाल्यकालदेखि अहिलेसम्मको उनको जीवनयात्रा केलाउँदा उनी अठोटपूर्ण लगनशीलताले लक्ष्य हासिल गरेकी छोरी हुन् भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला। बाआमा चाहन्थे उनी नर्सिङ पढून्। नर्स बनून्। तर उनलाई वाणिज्यशास्त्रमा बढी रुचि थियो। वाणिज्य विषयमा उनी स्नातकोत्तर धारक हुन्। उनको बाल्यकालीन जीवन, शिक्षादीक्षा, लोकसेवाको तयारी र सरकारी जागीरलगायतका विषयमा उनीसँग भएको कुराकानीको संक्षिप्त अंश प्रस्तुत छ।
माध्यमिक तहसम्म गाउँमा
बाआमाको काँखमा खेल्दै, डुल्दै र हुर्कंदै उनी विद्यायल जाने उमेरकी भइन्। छोरीलाई पढाउनुपर्छ भन्दै गाउँकै कालिका माध्यमिक विद्यालय वनबहुअरीमा बाआमाले कक्षा १ मा उनको नामाङ्कन गराइदिए। कहिले बुबा त कहिले आमाको औंला समातेर उनी विद्यालय जान थालिन्। बिस्तारै उनलाई विद्यालय जाने बानी पर्न थाल्यो। विद्यालय पनि घरजस्तै लाग्न थाल्यो। उनी नियमित विद्यालय जान्थिन्। पढाइमा उनको रुचि दिन प्रतिदिन प्रगतिउन्मुख हुँदै गयो। समयसँगै उनको उमेर र चेतनाको विकाससँगै कक्षागत स्तरोन्नति हुँदै गयो। कक्षा ७ उत्तीर्ण भइन्। उनका निकटतम आफन्तहरूका अनुसार बाआमा र दाइले मात्र होइन, छिमेकीहरू पनि उनको लगनशीलताको सराहना गर्थे। उनको प्रशंसा गर्नेहरूमा शिक्षकहरू पनि थिए। आफन्तहरूको बुझाइमा अभिभावक र शिक्षकहरूको प्रशंसाले उनी ऊर्जाशील भएको हुन सक्छिन्। उनी विसं २०५४ सालमा एसएलसी उत्र्तीण भइन्।
दोस्रो गन्तव्य ठाकुर राम बहुमुखी क्याम्पस, वीरगंज
एसएलसीपछि कहाँ पढ्ने भन्ने तनाव थियो। अघिल्लो कक्षाको पढाइको लागि घरपायक सुविधा सम्बन्धमा एकमात्र चन्द्रनिगाहपुर (अहिलेको चन्द्रपुर) थियो। गाउँकी दिदीहरू ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा अध्ययनरत थिए। दिदीहरूले क्याम्पसमा राम्रो पढाइका साथै छात्रावासको पनि सुविधा रहेको बताए। बाआमाले वीरगंज पढ्न जाने अनुमति दिएपछि उनी वीरगंज पुगिन्। प्रवीणता प्रमाणपत्रमा भर्ना भइन्। छात्रावासको बसाइसहित पढाइ शुरू भयो। त्यति बेला ठाराब क्याम्पस विद्यार्थीहरूको आकर्षणको केन्द्र थियो। उच्च शिक्षाको लागि वीरगंज भरपर्दो गन्तव्य थियो। पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर र चितवनसम्मका विद्यार्थीहरू शिक्षा आर्जनको लागि वीरगंज आउने गरेको उनले बताइन्।
भनिन्छ, मानवमा शारीरिक वृत्ति विकाससँगै चेतनाको विकास र अरूको दृष्टिकोण मूल्याङ्कन गर्ने क्षमता पनि क्रमशः बढ्दै जान्छ। जसले आमाबुबाको पसिनाको कमाइलाई महत्व दिन्छन्, तिनीहरू पढाइलाई सबैथोक ठान्छन्। उनीहरूले आफूसँगै बाआमा, गुरुवर्ग र शैक्षिक संस्थाको नाम उचाइमा पु–याउँछन्। उनका विगतकालीन स्मरण अनुसार जो विद्यार्थीले क्याम्पसलाई मनोरञ्जन स्थलको रूपमा ठान्थे, तिनीहरू रमाइलो गर्नमा व्यस्त रहन्थे। छात्राहरूप्रति केटाहरूको मनोविज्ञान उनीहरूको चालचलनले प्रस्ट झल्किन्थ्यो। केही छात्राले छात्रहरूको अवाञ्छित गतिविधिको कडारूपमा प्रतिवाद पनि गर्थे।
दुई वर्षको अध्ययनपश्चात् उनी विसं २०५६ सालमा प्रवीणता प्रमाणपत्र उत्तीर्ण भइन्। उत्तीर्ण हुनेमा उनी आफ्नो ब्याचमा एक्ली थिइन्। प्रायःजसो एक/दुई वा सोभन्दा बढी विषयमा अनुत्तीर्ण भएका थिए। त्यस बेला उनले अध्यापक, बाआमा र दाइभाइसँगै अध्ययनरत साथीहरूबाट बधाई पाएकी थिइन्।

तेस्रो गन्तव्य पद्म कन्या क्याम्पस
आईकम सकेपछि दाइको आदेशानुसार उनी काठमाडौं गइन्। दाइ नारायण अधिकारी पहिलेदेखि काठमाडौंमा बस्थे र पढ्थे। एसएलसीपछि भाइ निरञ्जन अधिकारी पनि काठमाडौं हानिए। तीनैजना भाइबहिनीको बसाइ र पढाइ काठमाडौंको शिक्षण संस्थामा हुन थाल्यो। पद्म कन्या क्याम्पसमा वाणिज्यशास्त्र स्नातक तहमा उनको नामाङ्कन भयो। उनी भन्छिन्, “परिवारको आर्थिक अवस्था राम्रो थिएन। हामी तीनजना सन्तानलाई काठमाडौंमा राखेर पढाउनु बाआमाको लागि धेरै चुनौतीपूर्ण थियो। कोठा भाडा, क्याम्पसको शुल्क, किताब, कापी, खाद्यान्न, लत्ताकपडालगायत सबैथोक पूर्ति गर्नु पारिवारिक आर्थिक अवस्थाभन्दा धेरै माथि थियो।” उनका शब्दहरूले उनलाई बाआमाको आर्थिक पीडाको अनुभूति थियो भन्ने कुरा ठम्याउन कठिन परेन। विभिन्न आरोह–अवरोहका बावजूद उनले स्नातक तह पनि उत्तीर्ण गरिन्।
दुःखसुखका साथै अघिल्लो कक्षा स्नातकोत्तर तहमा भर्ना भइन्। उनलाई शुरूदेखि नै जीवनमा केही गर्नुपर्छ भन्ने अठोट थियो। सँगैका प्रायः साथीसङ्गीहरू वैवाहिक सूत्रमा बाँधिएर सुदूर हुँदै गइरहेका थिए। पछि छुट्दै गए। यिनी अघि बढ्दै गइन्। शिक्षा आर्जनको सवालमा उनको सङ्घर्ष अहिलेसम्म जारी थियो। थाकेकी थिइनन्। गाउँका काका पर्ने एकजना आफन्त नेपाल विद्युत् प्राधिकरण काठमाडौंमा जागीरे थिए। उनले पढाइसँगै लोकसेवा आयोगको तयारीसमेत गर्न सुझाए। उनले भनिन्, “स्नातकोत्तर तहको अन्तिम परीक्षा सकेपछि लोकसेवा आयोगको तयारीमा पूर्णरूपेण सक्रिय हुने मनोकाङ्क्षा थियोे।” उनले लोकसेवा आयोगमा नाम निकाल्नुपर्छ भन्दै मनमा दृढ सङ्कल्प लिइन्।
दाम्पत्य जीवनको शुभारम्भ
कठ्याङ्ग्रिदो जाडोको महीना थियो। उनी स्नातकोत्तर तहको अन्तिम परीक्षाको तयारीमा जुटेकी थिइन्। बुबासँग एकजना आफन्तले एकजना राम्रो केटा छ, छोरीको बिहे गर्नुपर्छ भनेका रहेछन्। उनले भनिन्, “बिहेको प्रस्ताव सुनेर म अक्क न बक्क भएकी थिएँ। मलाई केही बन्नु थियो। त्यसैले, मैले लिएको लक्ष्य अब स्वाहा होला कि भन्ने चिन्ता बढ्यो।” उता उनका बुबालाई के पीर थियो भने छोरीको लागि प्रस्ताव आएको केटा सभ्य, सुशील र योग्य भएकाले अवसर गुमाउन चाहन्थेनन्। अर्कोतर्फ सुयोग्य वर फेरि पाइला कि नपाइएला भन्ने चिन्तामा बुबा थिए। अन्ततः उनी स्नातकोत्तर तहको परीक्षा सकेर मात्र बिहे गर्ने भन्दै बिहेको लागि समर्थन जनाइन्। अन्ततोगत्वा २०६२  माघ १० गते वीरगंज निवासी समीर भट्टराईसँग उनी परिणय सूत्रमा बाँधिइन्।
सफलतामा पतिको योगदान
दाम्पत्य जीवनमा बाँधिएपछि पनि उनको लक्ष्यप्राप्त गर्ने मनोकाङ्क्षामा –हास आएन। यद्यपि विवाहपछि सबै सपना चकनाचुर होला भन्ने चिन्ता थियो। तर पतिको साथले चिन्ता खुशीमा परिणत भयोे। किनभने उनका पति बैंकमा जागीरे थिए। अहिले उनका पति समीर भट्टराई वीरगंजको एक निजी बैंकमा वरिष्ठ अधिकारीको रूपमा कार्यरत छन्। पतिको साथ पाएपछि लोकसेवा आयोगको उनको तयारी झन् तीव्र भयो।
यसै साथ वीरगंजको एक निजी विद्यालयमा अध्यापन गराउन थालिन्। एक अर्को संस्थामा समेत आबद्ध भई काम गर्न थालिन्। लोकसेवा आयोगमा नाम निकाल्न नसकिएला कि भन्ने भावसमेत कहिलेकाहीं मनमा उत्पन्न हुन्थ्यो। यहाँ केही गर्न सकिन्न। अब विदेश जानुपर्छ भन्ने विचार पनि मनमा आउँथ्यो। त्यो बेला पतिको हौसलापूर्ण लवजले ऊर्जा प्राप्त भएको उनी बताउँछिन्।
हरेक निकायको लागि लोकसेवा आयोगको फाराम भर्न थालिन्। परीक्षा दिन थालिन्। अन्ततः विसं २०६८ मा प्रथमतः नेपाल विद्युत् प्राधिकरणमा नाम निस्कियो। लगत्तै कृषि विकास बैंकमा पनि नाम निस्कियो। दुवैमा पाँचौं तहको लागि परीक्षा दिएकी थिइन्। नाम निकाल्न सफल भएकी थिइन्। अब कुन जागीर रोज्ने भन्ने कुरा आयो। पतिको सल्लाह अनुसार उनले बैंकको जागीर रोजिन्। उनको पहिलो पोस्टिङ वीरगंजको घण्टाघरस्थित कृषि विकास बैंकमा भएको थियो। दुई वर्षअघि विसं २०७५ मा छैटौं तहको आन्तरिक प्रतिस्पर्धामा पनि नाम निकाल्न सफल भइन्। प्रतिस्पर्धीहरूमध्ये उनको नाम दोस्रो नम्बरमा थियो। अहिले उनी कृषि विकास बैंक, श्रीपुर शाखामा प्रबन्धक छिन्।
अन्त्यमा,
पति–पत्नी बिहान सँगै उठ्छन्। घर व्यवहारको काम मिलेर गर्छन्। बिहान घर बढार्ने, नुहाउने, खाना पकाउने, बच्चालाई विद्यालय पठाउनेलगायतका काम गर्दागर्दै समय कति छिटो बित्छ पत्तै हुँदैन। हतारहतार खाना खाएर कार्यालयको लागि निस्कनुपर्छ। उनी जीवनमा सबैभन्दा बढी खुशी भएको क्षण विद्युत् प्राधिकरणमा नाम निस्केको बेला र सबैभन्दा दुःखको क्षण ससुराबा दिवङ्गत भएको बेला बताउँछिन्। अहिले सासूआमा, पति, एक छोरी र एक छोरा गरी पाँचजनाको परिवार छ। बच्चाहरूलाई हुर्काउने कार्यमा सबैभन्दा बढी सासूआमाको योगदान रहेको बताउँछिन्।
उनका अनुसार नवपुस्ताले गन्तव्य निर्धारण गरेर अठोटका साथ अघि बढ्दा लक्ष्य हासिल गर्न कठिन छैन। यद्यपि लक्ष्यप्रति केन्द्रित हुनुपर्छ। दीर्घकालीन सोच्नुपर्छ। अहिलेको परिवेशमा अवसर धेरै छन्। प्रथमतः आफ्नो रुचि र क्षमताको क्षेत्र आफैं पहिचान गर्नुपर्छ। सोही क्षेत्रमा सङ्घर्ष गर्दै जानुपर्छ। हामी सङ्घर्ष गर्छौं तर छिट्टै आतिन्छौं। थकित हुन्छौं। धैर्यता पनि एक प्रकारको परीक्षा नै हो। आत्मविश्वास राख्नुपर्छ। हामीलाई थाहै नदिई सङ्घर्षको परिणाम हाम्रोनजीक आइरहेको हुन्छ। त्यसैले आत्तिनुहुँदैन। परिणामको पछि लाग्नुहुँदैन। जिम्मेवारी र कर्तव्यप्रति बढी केन्द्रित रहनुपर्छ। ढिलो–चाँडो सफलता अवश्य नै प्राप्त हुनेछ।

गरुडादेखि गुजरा

गरुडादेखि गुजरा



सञ्जय मित्र

आसपासका पर्यटकीय क्षेत्रहरूबारे पनि सामाजिक सञ्जालमा हेरेपछि पुग्न रहरलाग्दो रहेछ। अझ नजीकका कोही चिनेजानेका मानिसले मनमोहक शब्दशैलीमा पोस्ट गरेपछि अझ खुल्दुली बढ्ने रहेछ।
एक दिन यस्तै भएको थियो। एकजना अग्रजले फोटो हालेको देखेपछि वास्तवमा त्यो ठाउँ हेर्ने रहरले नै गुजरा फन पार्क पुगेका हौं।
१७ माघ २०७७ का दिन निकै जाडो थियो तर पूर्वनिर्धारित कार्यक्रम अनुसार पुग्नुपर्ने थियो। रौतहटको गरुडा बजारमा बिहानको ११ बजे जम्मा हुनुपर्ने थियो र झन्डै सवा एघार बजेसम्म पुग्नुपर्ने जति आइपुगिसकेका पनि थिए। गरुडाबाट बालचनपुर पुगेर अनि पश्चिमतिर लाग्ने हो भने पिचैपिच झन्डै फन पार्कसम्म पुग्नलाई बढीमा दुई किलोमिटर गिट्टीवाला सडक पर्ने रहेछ तर पिचको बाटो त सधैं हिंडेकै हौं। ठाउँ हेर्ने उद्देश्य हो भने हेर्दै जाँदा झन् राम्रो भन्ने मेरै प्रस्तावमा सहमत भई सबैजना महम्मदपुर गाउँ भएर नहर हुँदै जङ्गलको बाटो भएर जान अगाडि बढ्छौं।
हामी आठजना छौं। मैले चलाएको स्कुटरमा धर्मपत्नी रेणु गुप्ता र छोरो गरी तीनजना छौं। किशुनदयाल यादव श्रीकृष्णले चलाएको मोटरसाइकलमा विश्वनाथ सञ्जेल र श्रीकृष्णपुत्र आदित्य गरी तीनजना छन्। यसैगरी, केदार यादवले चलाएको स्कुटरमा राजेन्द्रप्रसाद साह गरी दुईजना छन्।
उद्देश्य हो गुजरा फन पार्कमा साहित्य गोष्ठी। बज्जिका साहित्य सङ्गम रौतहटमा नयाँ नेतृत्व आएदेखि साहित्य गोष्ठी नै हुन सकेको छैन। गत असोजको शुक्ल पञ्चमीका दिन सङ्गमले नयाँ नेतृत्व पाएको हो। अघिल्लो नेतृत्वले पाँच वर्षमा चालीसवटा साहित्यिक कार्यक्रम गरेका थिए। गत कात्तिकमा नै एकचालीसौं हुनुपर्ने हो तर नयाँ नेतृत्व आएपछि प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा गर्दै गर्दा ढिलो भइसक्यो।
पहिलेदेखि नै मेरो सुझाव हुने गरेको छ कि हरेक महीना एउटा कार्यक्रम कम्तीमा हुनुपर्छ। जहाँसम्म मलाई सम्झना छ– सङ्गमको गठनमा मेरो अहम् भूमिका छ। मेरै अध्यक्षतामा बज्जिका साहित्यप्रेमीहरूको बैठकले पाँच वर्षअघि सङ्गमको जन्म भएको हो। सोही बैठकले श्याम सहनी चन्द्रांशुको अध्यक्षतामा बज्जिका साहित्य सङ्गम रौतहट गठन गरेको हो। संस्थाको नाम पनि मैले नै जुराएको हुँ। सङ्गमका चालीसवटा कार्यक्रममध्ये कुनै पनि कार्यक्रम नछुटाउने म मात्रै हुँ। चार महीना विलम्ब गरेर पाँचौं महीनामा कार्यक्रम हुन थालेको छ। र यस नयाँ कार्यसमितिको पहिलो कार्यक्रम म आफ्नो खर्चमा गर्छु नामचाहिं संस्थाको होओस्। संयोजन संस्थाले गरोस्, आर्थिक पाटो म सम्हाल्छु भन्ने प्रतिबद्धता व्यक्त गरेको थिएँ। मेरो तयारी पनि यस्तै छ। सामान्य चियाखाजामा जे खर्च लाग्छ, त्यो म बेहोर्न तयार छु।

अपेक्षाकृत सहभागिता कम छ। सहभागिता कम हुने अनेक कारण छन्। मानिसका निजी व्यस्तता पनि हुन्छन् र प्रकृतिले साथ दिएको पनि हुनुपर्छ। आजको मौसम अत्यन्त खराब छ। हिजो र अस्ति दुई दिन दिउँसो घाम लागेको पनि थियो तर आज भने घाम लाग्ने कुनै लक्षण देखिंदैन। कुहिरोले आकाशलाई ढपक्कै छोपेको छ र पश्चिमी हावाले जनजीवनलाई कक्रक्क पारिराखेको छ। झन् सञ्जेल सरलाई हल्का ज्वरो तीन दिनदेखि आइरहेको छ। उनको भनाइ यो पनि छ कि एक्लै कोठामा बसिरहनुभन्दा बरु घुम्न गएकै बेस। तर आफूले भने मोटरसाइकल नचलाउने, कोही साथीको पछाडि बसेर जाने। आफैंले चलाउँदा चीसो हावाले झन् खराब असर गर्ला भन्ने सोचाइ सही नै हो। यसैले सङ्गमका वर्तमान अध्यक्ष श्रीकृष्णका पछाडि बसेका छन् उनी।
उद्देश्य नै घुम्ने र ठाउँ हेर्ने किसिमको भएपछि सोझो बाटो किन जाने ? अझ गएकै बाटो किन फर्किने ? मेरो यही प्रश्न र यही जिज्ञासामा सबै सहमत भएका छन्। यद्यपि मेरोलागि नयाँ भन्ने यसमा केही पनि हुनेछैन। यदि हुन्छ भने गोष्ठी मात्र हो, जसको नयाँ शृङ्खला जोडिंदैछ।
यसैले गुजरा जाने पनि अर्को बाटो र फर्किने पनि अर्कै। मूर्तरूपमा भन्नुपर्दा गरुडाबाट पश्चिम महम्मदपुर भएर उत्तर निस्कने र केही किलोमिटर ग्रामीण बाटो तय गरेर नहरको बाटो समातेर नहरै नहर जङ्गलमा पुग्ने तथा जङ्गलबाट फेरि नहरकै अर्को बाटो गुजरा फन पार्क पुग्ने। त्यहाँ कार्यक्रम सकेर उतैबाट कटहरियाको बाटो समात्ने र गरुडा आउने। यसरी पूर्वयोजना बनाएर गरुडा चोकबाट पश्चिमतिर सबै सवारीसाधन सोझ्याउँदा दिउँसोको बा–ह बज्न केही मिनेट मात्र बाँकी छ।
गरुडाका अग्ला भवनहरू नछिचोल्दै लमाहा खोला आइपुग्छ। खोलामा करीब सात दशक पुरानो बैरेज छ। सर्वसाधारणले बैरेज भनेर यसलाई चिन्दछन्। वास्तवमा यहाँबाट नहर निकालिएको छ र पुल बनाइएको छ। साँघुरो पुल छ। निकै पुरानो भइसकेको छ। के सुनिएको छ भने देशमा प्रजातन्त्र आइसकेपछि विपी कोइराला गृहमन्त्री भएको समयमा स्वीकृत भएको हो रे। वास्तविकता के हो थाहा छैन तर दिनानुदिन जीर्ण भइरहेको यस बैरेजमा कहिलेकाहीं दुर्घटना पनि हुन्छ। जतिखेर अहिलेको गरुडाको कल्पना पनि थिएन, त्यतिखेरदेखि यस पुलले वारिका मानिसलाई पारि र पारिका मानिसलाई वारि लगिरहेको छ। युगले फड्को मारिसकेको छ तर यस पुलले भने काँचुली फेर्ने अवसर पाउन सकेको छैन।
मलाई सम्झना आउँछ, बैरेजको माथिल्लो भागमा चढेर कतिपटक झ्वाम्म हाम फालेको छु चीसो पानीमा। गर्मीको महीनामा। अहिले त आफैं यतिधेरै चीसो वातावरण छ कि नुहाउने कल्पनै गर्न सकिन्न यस खोलामा।
पुल नाघेर नदीको किनारै किनार उत्तरतिर बढ्दछौं। बाटो नै त छैन तर बाटो छैन नै भन्न पनि नसकिने। नदी किनारमा हिंड्नलायकको भने छ। खोलामा झन्डै भरी पानी छ। परसम्म सुन्दर दृश्य देखिन्छ। कतै कतै चरा उडिरहेका छन्। मलाई कहिलेकाहीं घरमा एक्लै काम गर्दा गर्दा थकान लागेपछि यही किनारमा आएर सुस्ताउने गरेको छु। गरुडास्थित घरबाट दशदेखि पन्ध्र मिनेट पैदल हिंडेपछि यो रमणीय र एकान्त प्राकृतिक ठाउँमा आइपुग्छु। धेरैपटक तरोताजा हुन साथीहरूसित पनि आएको छु। यसलाई जलपर्यटनसित जोड्न सकिन्छ, बोटिड्ढो व्यवस्था गर्ने हो भने दुई किलोमिटरसम्म मानिसले पानीमा मज्जाले बोटिङ गर्न पाउँछन्। जलविहार गर्न पाउँछन्। केहीले रोजगार पाउँछन् भन्ने कुरा धेरै ठाउँमा गरेको छु। तर सुन्नेले कुरा नसुनिदिएपछि... बुझ्नेले कुरा नबुझिदिएपछि... कसको के लाग्छ।
तीनवटा सवारीसाधनमध्ये सबैभन्दा पछाडि मेरो रहेको छ। सबैजना अगाडि बढिरहेका छौं। नदीको किनारै किनार, कहिले अलिक घुमाउरो बाटो भएर फेरि किनारलाई समात्दै अगाडि बढ्दैछौं। चराको चिरबिराहट, फूलबारीको सौन्दर्य र नदीको किनार सबै लोभ्याउने नै छन्। जाडोले पनि हात कठ्याङ्ग्रिएर रोक्न खोजिरहेको छ तर सबैलाई छिचोल्दै अगाडि बढिरहेका छौं। कोही कोही खेत, खलिहान वा फूलबारीतिर घुम्न आएका, घाँस काटिरहेका मानिसहरूले एकैचोटि तीनवटा सवारीसाधनमा आठजनालाई देखेर कता गएका होलान् ? भन्ने जिज्ञासासूचक दृष्टिले हेर्दछन्, हाम्रो यात्रा गन्तव्यतिर निरन्तर अगाडि बढ्दैछ।

Friday, January 29, 2021

गाली शब्दकोष बजारमा !

गाली शब्दकोष बजारमा !


मुकुन्द आचार्य

बजारमा हजार ! भन्सारमा संसार ! व्यापारमा अपार ! तैपनि यो संसार असार ! एक दिन सधैं छोडेर जानु छ। कालले खटाएको मानु खानु छ। तैपनि सर्वत्र सधैं हाहाकार। थुक्क साला संसार !! यस्तो बेथितिको संसार कुन चै भँडुवाले बनाएको होला। फेला त परोस्, मैले जान्या छ !
प्रिय पाठकवर्ग ! माथिल्लो पाराग्राफ पढेर तपाईंहरूलाई लाग्न सक्छ, यो बूढोले पक्कै पनि आज नीमको दतिउन गरेर करैलाको भुटुवा खाएर लेख्न बसेछन्। कति गाली गर्न सक्या हो। त्यो पनि संसारलाई नै। यो त अचाक्ली नै भयो। अति गर्नु अतिसार नगर्नु भन्या यै हो।
गाली गर्नु पनि यौटा कला हो। सबैलाई गाली गर्न आउँदैन। जसरी राम्रो, मीठो, स्वादिलो, पौष्टिक, हेर्दै खाउँ–खाउँ लाग्ने भोजन तयार गर्नु स्वयंमा एक कला हो। त्यसैगरी, विपक्षीलाई सत्तोसराप गर्नु पनि यौटा सुन्दर आकर्षक ललितकला हो।
तँलाई हरियो बाँस, तँलाई छेरौटीले लगोस्, तेरो घरमा काङ्ग्रेस पसोस्, तलाई कोरोना लागोस्, तेरो वंश मासियोस्, तैंले भीख मागेर खान परोस, तँलाई नर्कमा पनि ठाउँ नपाइयोस्, जुनी–जुनी नर्कमा बास होस्, तेरो घरमा दरिद्रा देवीले बास गरून्। आदि सबै गाली, श्राप, कुभलो चिताइएका अभिशाप हुन्। गरीबको आँसुले पिर्छ भनेको यस्तै त होला नि !
हरेक समाजका गालीहरू बेग्लाबेग्लै हुन्छन् र ती कुवचनका नालीबेली, कुरोको चुरो, गाँठी कुरा जति सोही समाजका रैथाने र बूढापाकाहरूले राम्ररी ठम्याउन सक्छन्। लरखरो मान्छेको यसमा क्यै सीप लाग्दैन। पक्क परेर सुन्नुबाहेक !
हाम्रो तराईको ग्रामीण क्ष्Fेत्र पनि गालीको उत्पादन र प्रयोगमा प्राचीनकालदेखि प्रसिद्ध रहिआएको छ। गाली पनि यस्ता–यस्ता हुन्छन्, जसको मिठास, स्वाद, पिरो, तीतो, टर्रोको अलौकिक सम्मिश्रणले सुन्नेहरू आफ्ना सबै काम थाती राखेर पनि घण्टौं गालीरसको रसस्वादन गरिरहन्छन्। र आआफ्नै पारामा टीका–टिप्पणी गरिरहन्छन्। कुनै एक पक्षलाई अथवा दुवै पक्षलाई दोषी पनि ठोकुवा गरिहाल्छन्।
हाम्रा ग्रामीण भेगमा प्रयोग भइरहने गालीहरू प्रशस्तै छन्। यहाँ केही उदाहरण मात्र हेरौं। जस्तै– रे मुँहझौंसी अथवा रे मुँहझौंसा, तोहरा बज्जर परो, तोहरा रोटी में नून ना जुरो, तोहर कुत्ता दशा होखे, तोहरा पानी देवेवाला केहु ना होखो, तोहरा देह में कोर फुटो, तोहरा आदी लेखा कूचम, तोहरा आगी देवेवाला केहु ना होखो आदि इत्यादि (धेरैले बुझिहाल्ने हुनाले यसको नेपालीकरण गरिरहनुपरोइन्)।
आफ्ना दुश्मनलाई, विपक्षीलाई व्यङ्ग्यका तीखा–तीखा बाण बनाइ हानेर आनन्दित हुने हाम्रा राजनीतिक नेताहरू अचेल निकै गाली दिने–लिने काममा रौसिएका छन्। मञ्चमा माइकका सामु उभिएर विपक्षी नेताहरूका सारा कमीकमजोरी केलाइ–केलाइ कराउँदा कस्तो काइदाको आनन्द लिन्छन्– हाम्रा बैगुनी नेताहरू। जनताले आफ्नो अमूल्य मत दिएर जिताएर सांसद बनाएर नेताजीको पगरी गुथाएर देश लुट्न पठाएको जस्तै भयो। दलका कार्यकर्ता, शुभचिन्तक, समर्थकजनले नेतालाई हौंस्याउन–रौंस्याउन बेला–बेलामा ताली बजाएर पर्रपर्रर आवाज आउँदा नेताजीहरूको नाकमुखमा स्वर्गीय चमकदमक परिलक्षित हुन्छ र यसको तीतो–मीठो अनुभव त सबैले गरेकै छन्।
यिनीहरूको मन, वचनको क्षुद्रता हेर्दा गाली शब्दकोश चाँडै नै नेपाली बजारमा आइपुग्ने कुरामा हामी ढुक्क भए हुन्छ। बरु यसो गरे कसो होला र गाली शब्दकोश निर्माणमा यसरी होस्टेमा हैंसे गरौं–
हामी नेपालीले जे जति गाली–अपशब्द जानेका सुनेका छौं, ती सबैलाई चाँडोभन्दा चाँडो शीर्ष नेताहरूको पहुँचमा पठाइदिए गाली शब्दकोशको शोभा झन् बढ्ने थियो। हाम्रF भावी सन्ततिले पनि गाली शब्दकोश पैतृक सम्पत्तिका रूपमा पाउने थिए, धन्य हुन्थे उनीहरू पनि। यो अमूल्य धरोहर हुने थियो पुर्खाको !
खास गरेर देश–विदेशमा बस्ने सारा नेपालीले खोजी–खोजी, रोजी–रोजी राम्रा–राम्रा, तीखा–तीखा गालीहरू शब्दबाण सङ्कलन गरेर उपलब्ध गराइदिए नेताजीहरूलाई शब्दकोश छपाउन अलि सजिलो हुन्थ्यो कि ? सबैले मिलेर ग–यो भने गाली शब्दकोश चाँडै छापिनेछ र देशको विकास हुनेछ।

द्रोण पर्व–२९

द्रोण पर्व–२९


उमाशङ्कर द्विवेदी

उनले छत्तीस योजन लामो र तीस योजन चौडाइको चौबीसवटा सुवर्णमयी वेदीहरू बनाएका थिए। वेदीहरू पूर्वदेखि पश्चिमको क्रममा बनाइएको थियो। वेदीहरूमाथि मोती र हीराहरू ओछ्याइएको थियो। ती जम्मै रत्न र हीरा वस्त्र र आभूषणको साथ ब्राह्मणहरूलाई दान दिइएको थियो। यज्ञको अन्तमा भोजनबाट उबे्रको अन्नको २५ पर्वत शेष रहेका थिए। यज्ञमा रसको खोलो बगेको थियो। सुगन्धित पदार्थको थुप्रो पनि देखिन्थ्यो। त्यस यज्ञको प्रभावबाट राजा गय तीनै लोकमा प्रसिद्ध हुन पुगेका थिए। साथै पुण्यलाई अक्षय गर्ने ‘अक्षय वट’ तथा पवित्र तीर्थ ‘ब्रह्मसर’ पनि उनकै नामले प्रसिद्ध हुन पुगेको थियो। (यी दुवै स्थान गया भन्ने तीर्थस्थलमा अद्यावधि पनि विद्यमान छन्)। सृञ्जय, उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू मरेपछि पनि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहुँदैन।
सुनिन्छ, संस्कृतिका पुत्र रन्तिदेव पनि जीवित रहन सकेनन्। उनको घरमा दुई लाख भान्से थिए, जसले उनको घरमा आएका पाहुना तथा ब्राह्मणहरूलाई अमृत समान मीठो, कच्ची र पक्की खाना पकाइ ख्वाउँदथे। राजा रन्तिदेव प्रत्येक पक्षमा स्वर्णको साथ हजारौं गोरु दान गर्दथे। एक/एक गोरुका साथ एक/एक सय गाई हुन्थे, साथै आठ/आठ सय स्वर्ण मुद्रा पनि दानमा दिइन्थ्यो। यसका साथै यज्ञ र अग्निहोत्रका सरजाम पनि हुन्थे। यस्तो नियम उनले एक सय वर्षसम्म चलाएका थिए। उनले ऋषिहरूलाई कमण्डलु, घैंटा, कसौडी, शøया, आसन, सवारी, महल, वृक्ष तथा अन्न–धन दानमा दिन्थे। ती जम्मै वस्तु सुनले निर्मित भएका हुन्थे। रन्तिदेवको त्यो अलौकिक वैभव, समृद्धि हेरेर पुराणवेत्ताहरूले यस प्रकार यशोगान गरेका थिए– हामीले कुबेरको घरमा पनि रन्तिदेवको समान धनको भण्डार हेरेका छैनौं, अनि त मानिसको घरमा हुने त कुरै उठ्दैन। रन्तिदेवको घरमा भएका समस्त सामग्री सुनकै थिए। त्यसलाई पनि उनले ब्राह्मणहरूलाई दानमा दिइहाले। उनले दिएको हव्य र कव्यहरूलाई देउता र पितरहरूले प्रत्यक्ष भएर ग्रहण गर्दथे। ब्राह्मणहरूको सम्पूर्ण इच्छा राजा रन्तिदेवको दरबारमा पूर्ण हुन्थ्यो। सृञ्जय, उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू मरेपछि पनि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहुँदैन।
सुनिन्छ, राजा दुष्यन्तका पुत्र भरतको पनि मृत्यु भएको थियो। भरतले वनमा रहेर बाल्यकालमैं यस्तो पराक्रमको प्रदर्शन गरेका थिए, जुन अन्यको लागि कठिन थियो। उनी बालक रहेको बेला बडो–बडो सिंहका बच्चालाई बाँधेर घिसार्दै हिंड्दथे। विशाल अजिङ्गरहरूको दाँत भाँचिदिन्थे तथा वेगले दौड्दै गरेका हात्तीको दा–हा समातेर वशमा पार्दथे। एक/एक सय डरलाग्दा सिंहलाई समातेर घिसार्दथे। उनलाई सबै जीवलाई यस प्रकारले दमन गरिरहेको हेरेर ब्राह्मणहरूले उनको नाम ‘सर्वदमन’ राखेका थिए। राजा भरतले यमुनाको तीरमा एक/सय, सरस्वतीको तीरमा तीन सय तथा गङ्गाको तीरमा चार सय अश्वमेध यज्ञ गरेका थिए। तदन्तर उनले एक हजार अश्वमेध यज्ञ र एक सयवटा राजसूय यज्ञ गरेका थिए। अनि अग्निहष्टोम, अतिरात्र र विश्वजीत यज्ञ गरेर दश लाख वाजपेय यज्ञहरूको अनुष्ठान गरेका थिए। शकुन्तलानन्दन (राजा भरतकी आमाको नाम शकुन्तला थियो)ले यी जम्मै यज्ञमा ब्राह्मणहरूलाई निकै प्रचुर धन दानमा दिएर सन्तुष्ट पारेका थिए। सृञ्जय, उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू मरेपछि पनि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहुँदैन।
महर्षिहरूले राजसूय यज्ञमा जसलाई ‘सम्राट’ पदमा अभिसिक्त गरेका थिए, ती राजा पृथुलाई पनि मृत्युलाई अँगाल्नुपरेको थियो। उनले बडो यत्नका साथ यस पृथ्वीलाई खेतीयोग्य बनाएर प्रथित (प्रसिद्ध) भएका थिए, त्यसैले उनको नाम पृथु रहन गएको थियो। पृथुको लागि यो पृथ्वी कामधेनु बन्न पुगेकी थिइन्, यसलाई खनजोत नगरेर नै खेती हुने गर्दथ्यो। त्यति बेला जम्मै गाई पनि कामधेनुको समान थिए। पात–पातबाट मधुको वर्षा हुन्थ्यो। कुशा, तृण पनि सुवर्णमय हुन्थे, साथै सुखद र कोमल पनि। त्यसैले जम्मै प्रजा त्यसकै वस्त्र सिएर धारण गर्दथे र त्यसैमाथि सुत्दथे पनि। वृक्षका फलहरू अमृतको समान मधुर र स्वादिष्ट हुन्थ्यो। प्रजा ती फलहरूलाई नै भक्षण गर्दथे। कोही पनि भोको बस्न पर्दैनथ्यो, सबै निरोगी थिए। सबैको सम्पूर्ण इच्छा पूर्ण हुन्थ्यो र कसैलाई कुनै पनि कुराको भय थिएन। त्यसैले मानिसहरू आफ्नो रुचि अनुसार रूखमुनि वा ओडारमा बास गर्दथे। त्यति बेला कुनै राष्ट्र वा नगरको विभाग थिएन। सबै मानिस सुखी, सन्तुष्ट र प्रसन्न थिए।
राजा पृथु समुद्रमा यात्रा गर्दा पानी थामिन्थ्यो र पर्वतले उनको लागि बाटो दिन्थे। उनको रथको ध्वजा कहिले पनि भाँचिदैनथ्यो। एकचोटि उनको छेउमा वनस्पति, पर्वत, देउता, असुर, मानिस, सर्प, सप्तर्षि, यक्ष, गन्धर्व, अप्सरा तथा पितरहरूले गएर भने– महाराज, तपाईं नै हाम्रो सम्राट हो, तपाईंले नै हामीलाई कष्टबाट बचाउनुहुन्छ तथा तपाईं नै हाम्रो राजा, रक्षक र पिता हो। तपाईंले हामीलाई अभीष्ट वरदान दिनुहोस्, जसबाट अनन्तकालसम्म हामीहरूले तृप्ति र सुखको अनुभव गरौं। उनीहरूको यस्तो कुरा सुनेर राजाले भने– यस्तै हुनेछ। क्रमश...

म पनि बुहारी

म पनि बुहारी

– समीर पाख्रिन

भाइटीकाको दिन बिहानै सासूआमाका दुई भाइ आइपुगे। घरकी बुहारी रोशनीकी नन्द, आमाजू दशैंदेखि यतै भएकाले काकाका छोराहरू पनि भाइटीका लगाउन यतै आए।
भाइटीकाको दिन ठूलै जमघट र रमझम भयो। सबैजना भेला भएको मौका छोपी मज्जाले खाए, पिए, फोटो खिचेर रमाइलो गरे। माइतीमा सूतक परेकोले रोशनीको मात्र तिहार छेकियो। रोशनी तिहार छेकिएकोमा दुःिखत थिइन् तर उसले आफ्नो खिन्नता कसैलाई देखाउन चाहिनन्। पाहुनाहरूको सेवा सत्कारमा ऊ बिहानैदेखि व्यस्त थिइन्।
साँझसम्म पाहुनाहरू खानपिन गरी फर्किसकेका थिए। दुई छोरीमध्ये कान्छी चाहिं आमासित बसेर ससुरालीको कुरा काट्न व्यस्त थिइन् तर जेठी भने बुहारी रोशनीलाई कतै नदेखेपछि खोज्दै भान्सासम्म पुगिन्।
रोशनीलाई भान्सामा जूठो भाँडा अघिल्तिर थुपारेर बसेके देखेपछि उनलाई आफू बिहे गरेर गएपछिका दिनहरूको याद झलझली आयो। सासूको खटन र शासनमा बितेका कठिनाइपूर्ण दिनहरू उनको आँखामा नाँच्न थाले। भाँडा माझ्न व्यस्त रोशनीले आमाजू ऊनजीकै आएर उभिएकी पनि पत्तै पाइनन्।
“खै, अलिक पर सर बुहारी। म मस्काउँछु तिमी पखाल,” उनी यति भनी फरियाको सप्को कम्मरमा घुसारेर रोशनीनजीकै बसिन्।
“ल दिदी के गर्नुभएको ? अँह हुन्न। आमाले देख्नुभयो भने मलाई कराउनुहुन्छ। हजुर गएर आराम गर्नोस्। यति काम त म गरिहाल्छु नि,” रोशनीले भनी।
“चुप लाग १ बिहानदेखि एक क्षण आराम गर्न पाएकी छैनौं। म मस्काउँछु तिमी पखाल,” उनले यति भनी कुकर र थाल सबै मस्काउन थालिन्। पहिले त रोशनी हेरेको हेरेकै भइन्।
“ल, के हेरेकी ट्वाल्ल परेर ? म पनि तिमी जस्तै बुहारी हुँ। मलाई बुहारीको पीडा थाहा छ। अप्ठेरो मान्नै पर्दैन,” आमाजूको कुरा सुनेपछि रोशनी चुप भइन् र आफ्नो काममा लागिन्।
यता निकै बेरसम्म पनि जेठी छोरी सुत्न नआएपछि बूढीआमालाई खुल्दुली भयो र उनी चोटा–कोठा खोज्दै भान्सासम्म पुगिन्।
जेठीलाई भान्सामा बुहारीसँगै धमाधम जूठो भाँडा मस्काउँदै गरेको देखेपछि बूढीलाई रन्को छुटेछ कि क्या हो कराइन्, “ए, नकचरी १ दुई दिन माइत आएर बसेकी मेरी छोरीलाई जूठो भाँडा माझ्न लगाएकी तैले ?”
“आमा, मलाई रोशनीले अ–हाएकी होइन। भाँडाको थुप्रो देखेर मैले नै बुहारीलाई सघाएकी। आखिर म पनि त ऊजस्तै कसैकी बुहारी हुँ।” बूढीले कुरा बुझी कि कसो थप कुरा गरिनन्।
“ल ल घरधन्धा सकेर सुत्न आऔं दुवैजना,” यति भनी बूढी लुरुलुरु आफ्नो कोठातिर लागी।
हालः ललितपुर, काठमाडौं

‘लकसी र झाटाहा’को चोट खाइरहेको ‘लोकतन्त्र’

‘लकसी र झाटाहा’को चोट खाइरहेको ‘लोकतन्त्र’


राजेश मिश्र

बच्चाः बाबुजी गाछी (रूख)में से एगो रूनी (अम्बा) तुर दीं ना (बुबा रूखबाट एउटा अम्बा टिपिदिनुस् न)।
बुबाः देखतार केतना उपर बा, रूक लकसी से तुर दे तानी (हेर न, कति माथि छ। पख ‘लकसी’ ले टिपिदिन्छु)।
लकसी सानो भएकोले बुबाको प्रयास विफल भयो। उता बच्चा भने जिद्दी गर्न थाल्यो। रुन कराउन थाल्यो।
बच्चाः बाबुजी जैसे भी तुर दीं, नात हम पढे ना जाएम  (बुबा जसरी भएपनि टिपिदिनुस् नत्र म पढ्न जादिनँ)।
बुबाः बडी तङ्ग कैलख इ लइका हो (बडो जिद्दी ग–यो यो केटाले त)। रूक झाटाहा से मार के तुर दे तानी (पख ‘झाटाहा’ ले हानेर झारिरहेको छु) बुबाको लामो सङ्घर्षपछि अन्ततः अम्बा भुइँमा झ–यो।   
‘लकसी’ र ‘झाटाहा’ देहातमा रूखबाट फल झार्ने प्रचलित उपक्रम हो। लकसी र झाटाहा भनेको के हो ? विस्तारमा बुझाउने प्रयास गर्दैछु। अग्ला–अग्ला रूखका हाँगामा लटरम्म फलेको आँप र अम्बालगायतका फल हातले टिप्न सकिंदैन। लक्ष्यसम्म हात पुग्दैन। त्यसैले देहातीजनहरू ‘लकसी’को सहयोगले फल टिप्छन्। केटाकेटीहरू ‘झाटाहा’ हानेर फल झार्छन्। बाँसको लामो कोइन
(बाँसको हाँगा)मा एकातर्फ सामान्यतया १० वा १२ इन्चको कोइनको टुक्रा तेर्सो पारी डोरीले कोइनको एकातर्फ बाँधिन्छ, त्यो हो ‘लकसी’। त्यस्तै, करीब एक हात लामो बाँसको कोइन वा अन्य सानो आकारका हाँगाबिंगालाई ‘झाटाहा’ भनिन्छ। गाउँदेहातमा केटाकेटीहरूले झाटाहाले हानेर रूखबाट आँप, अम्बा र जामुन झार्ने गरेको दृश्य देख्न सकिन्छ।
‘झाटाहा’ र ‘लकसी’को प्रयोग समान कार्यको लागि उपयोग गरिए पनि दुवैबीच फरक छ। के फरक छ त ? लकसीबाट लकसीको लम्बाइभन्दा माथिको फल टिप्न सकिंदैन। तर लकसीमा फल सजिलैसँग फस्छ। फसिसकेपछि भुइँमा नझर्ने कुरै हुँदैन। तर झाटाहा आकारमा सानो भएकोले शक्ति र सामथ्र्य अनुसार माथिसम्म उचाल्न सकिन्छ। फल झार्न सकिन्छ। तर झाटाहाले एकैपटकमा फल झार्न असम्भव प्रायः हुन्छ। झाटाहाको धेरैपटकको प्रहारपछि कथङ्कदाचित् निशाना सार्थक हुन्छ। अचेल नेपाली राजनीतिमा लकसी र झाटाहाकै स्वरूपमा ‘लोकतन्त्र’ उपर प्रहार गर्ने क्रम जारी छ। छताछुल्ल छ। दलपतिहरूको एकमात्र लक्ष्य सत्ता प्राप्त गर्नु हो र विभिन्न शैलीमा प्रहार भइरहेको छ। हामफालेर सिंहासनमा आसीन हुने मनोकाङ्क्षाले गर्दा लोकतन्त्र धरापमा परेको छ। आमजनको सपना चकनाचुर हुन थालेको छ।
लोकतन्त्रले राजनीतिको लकसी र झाटाहाको प्रहार खेपिरहेको छ। संविधान स्वार्थपरक राजनीतिको शिकार हुन पुगेको छ। एकले लकसीमा फसाउन खोजिरहेको छ भने अर्कोले झाटाहाले प्रहार गर्न खोजिरहेको छ। शिकारीले शिकारलाई चारैतिरबाट घेरे जस्तै लोकतन्त्र राजनीतिक स्वार्थमा घेरिएको महसूस हुन थालेको छ। हमला भइरहेको छ। संविधान यतिबेला घाइते भएको अवस्थामा छ। लोकतन्त्र ‘शिकारी’को चङ्गुलमा फसेको भान सर्वत्र हुन थालेको। प्रश्न यो होइन कि कस्तो संविधान बनाए स्थायित्व आउँछ, प्रश्न यो हो कि कस्तो राजनीतिक चरित्र र संस्कारले स्थायित्व दिन सक्छ।

पञ्चायती व्यवस्था फालेपछि हामी पनि विकसित देश जस्तै समृद्ध हुन्छौं भन्ने लाग्थ्यो। आशा र भरोेसामा २०४६ सालको जनआन्दोलनमा नागरिकको उल्लेख्य सहभागिता थियो। त्यसपछि पनि पटक–पटक आन्दोलन भयो। द्वन्द्वकालमा हजारौं मानिस मारिए। २०६२ देखि २०७२ सम्मको आन्दोलनमा सयौं नागरिक शहीद भए। पुरानो व्यवस्था फालियो। गणतन्त्र आयो। तर हाम्रो अवस्थामा खासै परिवर्तन भएको देखिंदैन। २०४६ देखि २०७४ सालसम्मको अवस्था मात्र कोट्याउने हो भने हामीले राजनीतिक अस्थिरता र अन्योलता मात्र भोग्यौं। अस्थिरता र अन्योलताको क्रमभङ्ग गणतन्त्रमा प्रवेश गरिसक्दा पनि भएन ? सुशासन किन महसूस हुन सकिरहेको छैन ? यसका कारण के हुन् ? यी आम प्रश्नहरूको उत्तर जनताले खोजिरहेको छ।    
हाल राज्यमा देखिएको राजनीतिक परकम्प राजनीतिक भूकम्पपछिका परकम्पहरू हुन् भन्ने बुझ्न कठिन छैन। राजनीतिक परकम्पले अहिलेको विश्वमा निर्वाचित भएपछि, जसो पनि गर्न पाइन्छ भन्ने धारणा बलियो हुँदै गएको छ।
त्यस कारण जसरी भएपनि निर्वाचनमा विजयी हुन पाएपछि बाँकी काममा मनलाग्दो गर्ने प्रवृत्ति बढेको हो। राजनीति मूलभूतरूपमा सामाजिक रूपान्तरणको विधा मात्र हो। राजनीतिशास्त्रको अनुसार सामाजिक सरोकारसँग अर्थपूर्ण लयबद्धता नै राजनीतिको मूल उद्देश्य हो।
प्राकृतिकरूपमा ठूलो भूकम्पपछि ससाना परकम्पहरू आउँछन्। तर ठीक उल्टो, राजनीतिमा विभिन्न परकम्पपछि राजनीतिक भूकम्प आउँछ। राजनीतिक परकम्पहरू यसै भने आउँदैनन्। आआप््mनै स्वार्थसिद्धप्रति लालायित मानसिकताले दलहरूभित्र परकम्प उत्पन्न हुन्छन्। क्षतिको सवालमा प्राकृतिक भूकम्पले कहिल्यै पनि काखा र पाखा गर्दैन। यो राजा हो र त्यो रैती हो भनेर विभेद गर्दैन। यो धनी हो र त्यो गरीब हो भनेर छुट्याउँदैन। झुपडी वा महल जे भएपनि प्राकृतिक भूकम्पको दायरामा आउने सबै प्रभावित हुन्छन्। स्वस्थ मानिस वा रोगी मानिस हो भनेर चिन्दैन। भूकम्पको दायरामा आउने जोकोही किन नहोस् सबैले क्षति बेहोर्नुपर्छ। तर राजनीतिक भूकम्पमा आफू नपर्ने गरी भूकम्पको रेक्टर तय गरिन्छ। राजनीतिक भूकम्प विभिन्न कालखण्डमा आएकै हो। राजनीतिक भूकम्प अहिले संसद् विघटनको रूपमा आएको छ। अहिले प्रतिदिन एकले अर्को उपर लकसी र झाटाहाको प्रहार गरिरहेको समाचार सुन्न र पढ्न बाध्य छौं।  
शिक्षाको विकाससँगै एक व्यक्तिले अर्काे व्यक्तिको मनोविज्ञान आकलन गर्ने क्षमता विगतभन्दा बढेको छ। अबुझ कोही छैनन्। देशमा के भइरहेको छ ? सरकार के गरिरहेको छ ? राजनीतिक दलहरूको मनोविज्ञान कस्तो छ ? लगायतका विमर्शहरू कठ्याङ्ग्रिदो जाडोमा घुर ताप्दै देहातमा चर्चा हुन थालेका छन्। जनस्तरमा चेत छैन भन्ने होइन। बाहिरी आवरणमा राजनीतिक कर्तव्य जति स्वच्छन्द देखाइन्छ, भित्री आवरणमा ठीक त्यसको विपरीत दृष्टिकोणबाट सञ्चालित हुन्छ। यो कटु सत्य हो। राज्यलाई सामाजिक र आर्थिकरूपले थला पार्ने दिशामा हिंड्ने पात्रप्रति नागरिकस्तरमा वितृष्णा उत्पन्न हुनु अस्वाभाविक होइन। राजनीतिको मूलभूत उद्देश्य भनेकै राष्ट्रलाई समृद्धिको बाटोतर्फ डो–याउनु हो। तर विडम्बना त्यसको ठीकविपरीत दलपतिहरू सत्ताउन्मुख केन्द्रित रहेका पाइन्छन्। नकारात्मकताबाट सकारात्मकतातर्फ उन्मुख चिन्तन नै अहिलेकोे अपरिहार्यता हो, जसले घाँटी रेटिएको संविधानको बचाउ गर्न सकोस्। लकसी र झाटाहाको चोट खाइरहेको लोकतन्त्र जीवन्त हुन सकोस्।

चोरीको सासमाथि जीवनको धाक

चोरीको सासमाथि जीवनको धाक


सञ्जय मित्र

आजीवन मानिसले पाउने सास कहाँबाट लिएको हो ? के सास निश्शुल्क पाइन्छ ? निश्शुल्क नै यदि पाइँदो हो त निश्शुल्क पाइने जति कुरा जहाँ पनि र जुनसुकै परिस्थितिमा पनि सजिलै लिने ? यो लिएको हो भने दयामा हो कि अधिकारमा ? कि आफ्नो आर्जन हो ? कि दयामा केही कुरा लिन नचाहने अर्थात् कसैले ममाथि दया नगरोस् भन्ने भावना मनभित्र रहेको छ ? वास्तवमा दया त दीनहीन वा कमजोरमाथि गरिन्छ, यसैले कसैले दया गरेर दिएको वस्तु म किन लिन्थें भन्ने भावना मनभित्र रहेको छ भने यो भावना सा–है राम्रो छ, यसलाई सम्मान गर्छु र यस किसिमको भावना मनमा लिनेहरूलाई शब्दले अभिनन्दन गर्दछु।
सास लिएर जीवन बाँचेको देखाउँछौं। सामान्य दृष्टिमा त यही हो कि जसले सास लिइरहेको छ र लिएको सास फालिरहेको छ, ऊ जीवित हो। हामी सास लिइरहेका छौं तर कहाँबाट लिइरहेका छौं र सास फालिरहेका छौं तर कहाँ फालिरहेका छौं ? हामीले लिने सास कहाँबाट आउँछ र हामीले फालेको सास कहाँ जान्छ ? जसरी अर्काको कुरा केही पनि नलिने अवधारणा मनभित्र छ, त्यसैगरी अर्काको ठाउँमा नसोधी त्यत्तिकै आफ्ना कुरा मिल्काउनुहुन्न भन्ने पनि बुझेका छौं। यस अर्थमा हामीले फालेको सास वातावरणमैं जान्छ अर्थात् हामीले जानेर वा नजानेर तथा चाहेर पनि नचाहेर पनि वातावरणलाई हाम्रो प्रदूषित सास फाल्ने कन्टेनर ठानेका रहेछौं। वातावरण त सबैको हो र यसबाट सबैले लाभान्वित हुन पाउनुपर्छ भन्नुहोला भने यो सत्विचार हो तर यसको संरक्षण पनि सबैले गर्नुपर्छ भन्ने विचार मस्तिष्कमा उम्रँदैन भने त्यो सत्विचार अपूरो छ।
वातावरणबाट लिन मात्र जान्ने र वातावरणलाई दिन चाहिं केही पनि नदिनेहरूले देखिसकेका छन्– काठमाडौं निस्सासिन सक्छ। हेर्दाहेर्दै एक दिन त झन्डै विश्वकै प्रदूषित शहरको ताज शिरमा लगाउन पुगेको थियो राजधानी काठमाडौंले। वातावरणले स्पष्ट शब्दमा भनिसकेको छ– मलाई पनि सास फेर्न देऊ। सबैलाई प्राणवायु दिने र सबैले फालेको सासको कन्टेनर बनेर म आफैं निस्सासिइसकेको छु। अलकत्रा, कङ्क्रिट र सिमेन्ट जताततै बिछ्याइएका छन् र अग्ला घरहरू उम्रिरहेका छन्। वाहनहरूले फाल्ने धूवाँसँगै उद्योगहरूबाट निस्कने मुस्लोले वातावरणमाथि निर्घात आक्रमण गरिरहेको छ। सडकको धूलोले निरन्तर प्रहार गरिरहेको छ। प्लास्टिकजन्य पदार्थले वातावरणको मर्ममा हानिरहेको छ। कीटनाशक औषधि तथा अन्य रसायन र रासायनिक पदार्थले वातावरणको फोक्सोका नलिकाहरूमा जाम गरिरहेका छन्। वनक्षेत्रमा कहिले वैज्ञानिक व्यवस्थापन त कहिले चोरी निकासीको कहर हुन्छ, जसले अन्ततः वातावरणलाई नै लघारीलघारी कुटेको छ। नदीजन्य पदार्थको दोहनको नाउँमा वन र पहाड क्षेत्रको धरतीको मुटु लुछेर विकास भएको होओस् वा सडक सञ्जालको नाममा पर्वत तथा पाखाहरूलाई थर्काएर तिनीहरूको जीवनमा हस्तक्षेप गरेर होओस्, सबैतिरबाट त्यही सासदायिनी वातावरणमाथि वज्र प्रहार गरेर विजयको दुन्दुभि बजाएका छौं। प्रकृतिमाथि विजयको दम्भमुनि दबिंदै गएको सासलाई बचाउने कि सासलाई पनि दुर्घटना हुन कान्ले भीरतिर धकेल्ने ?
प्रकृतिमाथि जतिसुकै विजयको धाक लगाए पनि सास भने अझै पनि उही प्रकृतिबाट सुटुक्क चोरेकै हौं। चोरीको सासले जीवन धानेको छ। यही अवस्थामा बाँचेको धाक छ हामीसित, जीवित रहेको गर्व पनि छ र जीवनमाथि गौरव पनि गरिरहेका छौं। फालेको सासको गन्ती नै गर्दैनौं। के फालेको सास मूल्यहीन छ त ?
वास्तवमा जसले आफूले लगाएको बिरुवाबाट दिनभरिको सास धान्छन्, उनैले चोरेको सास लिएका छैनन्। सास पैतृक हुन सक्दैन। यस कारण पितापुर्खाले लगाइदिएको बिरुवाबाट पाएको सास पनि उही दानमा पाएको वा दयामा प्राप्त गरेको सास हो। कसैले दया गरेको मन नपराउने स्वाभिमानी पुरुषले आफ्नो जीवनमा कति बिरुवा लगाए ? कति बिरुवा सखाप पारे ? कतिपय जीवन त यस्ता पनि छन्, जो अरूको भागको सास खोसेर लिइरहेका छन्। दिनभरमा हजारौंपटक लिने सासमा एक मुठी पनि आफ्नो आर्जनको हुँदैन। यदि एक मुठी सास आफनो आर्जनको छैन भने फालेको सास पनि कहाँ राख्ने ? सास बिसाउने ठाउँ पनि चोरीकै हो कि ? यसरी चोरीको मान्न अप्ठ्यारो हुन्छ भने उधारो त मान्न सकिएला।

लिएको सासमाथि टेकेर उभिएको हुन्छ जीवन। जीवनले लिएको सास पचाउँदैन। लिएको सासको रूप परिवर्तन गरेर फाल्दछ। फालिएको सास रूखबिरुवाले लिन्छन्। यसरी रूखमाथि वातावरण र मानिसको जीवन निकै नजीकबाट गाँसिएको छ। वातावरणमा रूखको महत्व अत्यधिक रहेको छ। यस कारण फालिएको सास मूल्यहीन कदापि होइन। फालिएको भनिएको सासले अर्को सासलाई आउने ठाउँ दिएको हुन्छ त कसरी मूल्यहीन हुन सक्दछ। लिइएको सास केही गरी फोक्सोमैं अडिनुहुँदैन। यदि यसो हुन्छ भने जीवन त रहँदैन।
कुनै पनि मूल्यभन्दा मूल्यवान् छ जीवन। जीवन धान्न आफ्नै सासको जोहो आवश्यक छ। अर्काको दयाको भरमा वा चोरीको भरमा सास धान्नुहुँदैन। आफ्नो सासको लागि आफ्नै आर्जन हुनु आवश्यक छ। सास आर्जन गर्ने चेतना फैलाउनु पनि आवश्यक छ। हामीलाई स्वाभिमानी सास चाहिएको छ। स्वाभिमानको सासमा अडिएको गौरवमय जीवन चाहिएको छ। चोरीको सासमाथि जीवनको उल्लास त वास्तवमा सक्कलबमोजिमको नक्कल ठीक छ भनेजस्तै हो। दुवै हातका बूढी औंलाहरूले सहुँला बुझाउँला गरी सहीछाप गरेर उधारोमा लिएको सासमाथि जीवनको धाक लगाएका छौं। सासदायिनी वातावरणले आज नगद र भोलि उधारो भनी ट्याग झुन्ड्याउनुअघि अलिकति आफूले लिने सास र आफूले फाल्ने सासप्रति गम्भीर समीक्षा गर्नुपरेको छ।
कम्तीमा यस्तो जीवनको अपेक्षा राखौं कि आफूले लिएको सास आफ्नोलागि र आफ्नो आर्जनको होओस्। हैनभने देशमा वैदेशिक ऋण बढ्यो र प्रतिव्यक्ति ऋणको भार बढ्दै गएको भनी चिन्ता व्यक्त गर्ने बेपारी कालाबजारीको आरोपमा पक्राउ परेजस्तै सही अर्थमा जीवन सक्कली बन्न सकेको हुँदैन। ओठे देशभक्तिले सही जीवनको अर्थ बुझ्ने एउटा मार्ग स्वआर्जनको गौरवशाली सास पनि हो। दयाको भरमा बाँच्नेहरू पनि छन् तर दयामा बाँच्नुपर्ने विवशता पनि हुन सक्छ। विवशताबाहेकमा स्वाभिमान जागृत गर्नुपरेको छ।

Friday, January 22, 2021

कोरोना ‘काल’ र कर्तव्य

कोरोना ‘काल’ र कर्तव्य


राजेश मिश्र

सीमित शब्दमार्फत कोरोना अवधिभरिको वर्णन साध्य छैन। यद्यपि विपत्ति भोगाइका केही परिदृश्य पस्किने सानो प्रयास गरिएको छ। कोरोनाकालमा अन्य क्षेत्रहरूका साथै सञ्चारजगत् पनि प्रभावित थियो। वीरगंजमा प्रथमतः कोरोना सङ्क्रमित पुष्टि भएपछि जनजीवन निकै तनावग्रस्त भएको थियो। दिल्लीको जमातीबाट नेपाल आएका दुई भारतीय नागरिक र एक नेपालीसहित तीनजना सङ्क्रमित फेला परेपछि वीरगंज त्रसित भयो। त्यति बेला भारतमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको थियो। भारतीय सीमा नजीक भएकोले वीरगंज आसपासका नागरिक भयभीत थिए। यस भेगमा काम गरिरहेका सञ्चारकर्मीहरूको अवस्था अत्यन्तै चुनौतीपूर्ण थियो। जनसमुदाय त्रसित थियो। त्यति बेलासम्म कोरोना महाव्याधिको औषधिको विकास भई नसकेकोेले जनमानसमा त्रास उत्पन्न हुनु अस्वाभाविक थिएन।  
वीरगंजमा दुईजना सञ्चारकर्मी सङ्क्रमित भएपछि वातावरण झन् भयभीत भएको थियो। पत्रकारको लागि समाचार सङ्कलन गर्ने काम अत्यन्तै जोखिमयुक्त थियो। विषम परिस्थतिमा सञ्चारक्षेत्रको भूमिका र उत्तरदायित्व अझ थप हुन्छ भन्ने कुरा प्रतीक दैनिकका प्रधानसम्पादक आदरण्ीाय जगदीश (शर्मा) अङ्कल पटक–पटक भन्नुहुन्छ। आरम्भकालदेखि हालसम्म कठिन परिस्थितिमा पनि प्रतीक दैनिकको प्रकाशन र पत्रिका वितरणको कार्य कहिल्यै बन्द नभएको इतिहास छ। विसं २०४६ सालको प्रजातान्त्रिक आन्दोलन, माओवादी द्वन्द्वकाल, मधेस आन्दोलन, विस २०७२ को भुइँचालो, पर्सा–बारामा आएको हुन्डरीलगायत विभिन्न प्रतिकूल परिस्थितमा कर्तव्य निरन्तर निर्वाह हुँदै आयो। तर विगतको विपत्तिभन्दा कोरोनाकालले पृथक अनुभूति गराएकोे छ। एकलाई अर्कोसँग डर थियो र छ पनि। कोरोनाकालमा रत्तीभर असावधानीले आफैं सङ्क्रमित हुने डर थियो।
पेशागत कर्तव्य र मानसिक त्रासबीच पत्रिका प्रकाशनको निरन्तरता कम चुनौतीपूर्ण थिएन। यद्यपि विश्वव्यापी कोरोनाकालीन विषम परिस्थितिमा पनि सावधानीपूर्वक काम गर्दै प्रतीक दैनिक जनसेवामा लागिरह्यो। छपाइसम्बन्धी कागजलगायत आवश्यक सामग्रीको अभावमा ६ पेजको पत्रिकालाई ४ पेजमा सीमित गर्नुको विकल्प थिएन। मानवीय चहलपहच घरभित्र सीमित भयो। त्यसैले पत्रिकाको छपाइ सङ्ख्यात्मकरूपमा सामान्य अवस्थाको तुलनामा कम गर्नु बाध्यता थियो। यद्यपि पत्रिका छाप्ने कार्य कहिल्यै रोकिएन। सावधानीपूर्वक प्रतिदिन काम हुन्थ्यो। त्रासयुक्त वातावरणको कारण पत्रिका वितरण गर्ने सहकर्मीहरू पनि घरमा बस्न बाध्य भए। नितान्त आवश्यक कर्मचारी मात्र कार्यालयमा आउँथे। सेनिटाइजर, पञ्जा, मास्क र साबुनपानीले हात धुने प्रक्रिया अनिवार्य गरिएको थियो। कार्यालयको ढोका खोल्नेबित्तिकै विकास दाइको आवाज कानसम्म आइपुग्थ्यो, ‘साबुनपानीले हात धोएर र हातमा सेनिटाइजर लगाउन नबिर्सनु है।” यो शब्द दाइले सधैं भन्नुहुन्थ्यो।
कार्यालयमा सम्पादक विकाश (शर्मा) दाइ, शत्रुघ्न (नेपाल) दाइ, प्रताप (श्रेष्ठ) दाइ, सामाचार सम्पादक आरके पटेल, संवाददाता राधेश्याम पटेल, कम्युटर प्राविधिक मुकेश बस्नेत र म उपस्थित हुन्थ्यौं। छपाइ कार्यको लागि पनि सीमित कर्मचारी आउँथे। लगभग बिहान ११ बजेदेखि काम शुरू हुन्थ्यो। बेलुका ५ बजे काम सकाउनुपर्ने बाध्यता थियो। त्यसपछि एकातर्फ पत्रिका छपाइको कार्य आरम्भ हुन्थ्यो भने अर्कोतर्फ अनलाइनमा समाचार अद्यावधिक गर्ने काम हुन्थ्यो। पत्रिका छापिइसकेपछि हामी सबै पत्रिका लिएर घरको लागि प्रस्थान गथ्र्यौं। पत्रिका वितरण कार्यमा दीपक जैसवाल, रमेश जैसवाल, नैना (शीतल गौतम, विकाश दाइका ससुराहजुर) र मधुप दाइका कर्मचारी सतीश महर्जनलगायतको पनि सहयोग थियो।
गत वर्ष माघ १ गते मकर सङ्क्रान्ति र १६ गते सरस्वती पूजा मनाइरहँदा उत्तरी छिमेकी मुलुक चीनमा कोभिड–१९ ले आतङ्क मचाइरहेको थियोे। यता नेपालमा भने भ्रमण वर्ष २०२० को माहोल थियो। केही हप्ताभित्र संसारका अन्य मुलुकमा कोभिड–१९ पुगिसकेको थियो। छिमेकी मुलुक भारतमा समेत कोरोनाको उदय भइसकेपछि नेपालमा पनि सतर्कतासम्बन्धी सूचना प्रसारित हुन थालेको थियो। फागु पर्व मनाइरहँदासम्म राज्यमा लकडाउनको परिस्थिति उत्पन्न होला भन्ने अनुभूति कसैलाई थिएन।

अन्ततः नेपालमा पनि कोरोनाको सङ्क्रमण फैलिन थाल्यो। लकडाउन र निषेधाज्ञाको विकल्प थिएन। प्रहरी प्रशासन भीडभाड नहोस् र कोरोनाको जोखिम नहोस् भन्ने कुरामा सचेत थियो। प्रहरीलाई घरपरिवारको चिन्ता हुँदाहुँदै पनि कर्तव्य निर्वाह गर्नुपर्ने बाध्यता थियो। अर्कोतर्फ सामान्यजनलाई कोरोनाबाट मर्ने कि भोकबाट भन्ने चिन्ता थियो। बच्चालाई दूध चाहिएकोे थियो। रोगीलाई औषधि चाहिएको थियो। यस्तो अवस्थामा पीडितको आवाज नियामक निकाय र जनसमक्ष पु–याउने काममा सतर्कता अँगाल्दै प्रतीक दैनिक अघि बढिरहेको थियो।
प्रताप दाइको लकडाउन अनुभव यस्तो छ। उनी प्रत्येक दिन पत्रिका लिएर जान्थे। वीरगंजको मुडली चोकदेखि आफ्नो निवास श्रीपुर जाँदा पाठकलाई बाँड्दाबाँड्दै थोरै पत्रिका बच्दथ्यो। बचेको पत्रिका टोलछिमेकका मानिसहरू लिन आउँथे। दूरसञ्चारको क्षेत्रीय कार्यालय श्रीपुरको उत्तरतर्फको गल्लीको एक सम्झना छ उनीसँग। उनले भने– “चिनजानका एकजना साथीलाई पत्रिका दिइरहँदा अर्का अपरिचित एक अधबैंसे पुरुष एकसरो मेरो हातमा हेरिरहेका थिए, पत्रिकातर्फ उनको ध्यान थियो जस्तो लागेको थियो। मलाई लाग्यो उनी पत्रिका लिन चाहन्छन्। मैले एउटा पत्रिका उनीतिर बढाएँ, तर उनले पत्रिका हातले छोएनन् र फर्केर जान थाले।” एक अर्को रोचक प्रसङ्ग पनि सुनाए। एकजना ईरिक्शा चालक थिए। उनको व्यवसाय बन्द भइसकेको थियो। त्यसैले उनी तरकारी बेच्न थालेका थिए। एकपटक तीन/चारवटा पत्रिका तरकारी पसलेलाई उनले दिए। त्यसपछि नियमित दिन थाले। एक दिन अर्को बाटो गएकोले पत्रिका दिन सकेनन्। भोलिपल्ट पसलेले गुनासो पोख्दै भने, “धेरैजना त पत्रिकाकै लागि तरकारी खरीद गर्न आउँदा रहेछन्, कृपया दिनहुँ दिनुहोस्।”
प्रतीक दैनिकका सम्पादक शत्रुघ्न नेपाल दाइको निवास रहेको वीमनपा–३ छपकैया सिल भएपछि उनी घरबाटै भर्चुअल काम गरिरहेका थिए। आजसम्मको पत्रकारितामा विभिन्न प्रकृतिका आरोह–अवरोह पार गरेको अनुभव छ उनीसँग। उनी भन्छन्, “कोरोनाकालीन समयले मानवजीवनलाई घरभित्रै थन्काइदिएको थियो। यद्यपि यो परिस्थितिले जनमानसलाई र सरकारलाई पनि धेरै कुरा सिकाएको छ। प्रकोप कहिले आउँछ, कसैलाई थाहा हुँदैन तर भविष्यबारे सचेत हुनुपर्छ भन्ने कुरा सिकाएको छ।”
आरके पटेल आफ्नो अनुभव सुनाउँदै भन्छन्, “लकडाउनको समयावधिमा समाचार सङ्कलन कार्य धेरै जटिल थियो। यो जीवनको पहिलो अनुभव पनि हो। गाउँघरका पुरनियाहरूबाट हैजा र भूकम्पलगायत बितेका प्रकोपहरूबारे सुन्दा कथाझैं लाग्थ्यो। तर आफ्नै जीवनमा यस्तो पीडादायी क्षण महसूस गर्न पाइयो,” उनी भन्छन्, “फिल्डमा जाँदा डर लाग्थ्यो, यस्तो विपत्ति अब फेरि नदोहोरियोस्।”
घण्टाघरस्थित सङ्गीता मेडिकल हलका सञ्चालक प्रदीप साह लकडाउन अवधिभरि आफ्नो पसलबाट प्रतीक दैनिक वितरण गरिरहेका थिए। साँझपख म उनीकहाँ पत्रिका पु–याइदिन्थें। उनी भन्छन्, “बिहान औषधि किन्न आउने ग्राहक काउन्टरमा रहेको पत्रिका एउटा दिनुस् भन्थे, दिएपछि पैसा दिन्थे। पैसा लाग्दैन भनेपछि आश्चर्य मान्थे। औषधिसँगै निश्शुल्क पत्रिका पाएर खुशी हुन्थे। कतिपय यस्ता ग्राहक थिए, जसलाई यहाँ पत्रिका पाइन्छ भन्ने जानकारी भइसकेको थियो, उनीहरू नित्य दिन पत्रिकाको लागि आउँथे।”
गीता मन्दिरमा रहेको दूधपसलका सञ्चालक झाजीले एउटा प्रसङ्ग सुनाए। बिहान दूध किन्न आउने ग्राहक निश्शुल्क पत्रिका पाएर खुशी हुन्थे। एक दिन बिहान दूध लिन आएका वृद्धले सधैंझैं दुई पाकेट दूध लिए। काउन्टरमा पत्रिका देखेनन्। पत्रिका आएन ? सोधे। उनले भने सधैं बेलुकी आइपुग्ने पत्रिका खोई आज अहिलेसम्म किन आएन ? म बिहान करीब आठ बजे पत्रिका दिन गएको थिएँ। उनी मलाई परैबाट देखेर हाँसिरहेका थिए। म नजीक पुगेपछि गुनासो पोखे, “बिहानदेखि एकजना वृद्ध तेस्रोपटक आएर अहिले भर्खरै फर्केका छन्, उनी पहिलेदेखि मेरा ग्राहक होइनन्, पत्रिका आएदेखि मेरो पसलको ग्राहक बनेका हुन्।” मेनरोड निवासी सन्तोष रौनियार र पे्रmस कोल्ड स्टोरका सञ्चालक सुमन नेवा लकडाउनको असहज परिस्थितिमा प्रतिदिन प्रतीक दैनिकमार्फत समाचार पढेको बताउँछन्।
कोरोनाको भयले मानिसलाई एकबाट अर्को ठाउँमा जान मुश्किल थियो। अपवादबाहेक सुनसान सडकमा उभिरहेका प्रहरी रुचिपूर्वक पत्रिका लिन्थे। अहोरात्र ड्युटीमा खट्ने प्रहरीहरू पत्रिकामार्फत ताजा समाचार पढेर खुशी त हुन्थे नै, केही समयका लागि पत्रिका साथी जस्तै छ, भन्थे। कतिले कोरोना सङ्क्रमित भएर जीवन गुमाए। अन्य रोगीमध्ये कतिले उपचार नपाएर मृत्युवरण गरे। एकातर्फ केही पात्रको लागि कोरोनाकाल कमाइखाने भाँडो बन्यो। अर्कोतर्फ किसान, चिकित्सक, विद्यार्थी, व्यापारी, गरीब तथा विपन्न वर्ग सास्ती खेप्न बाध्य थियो। कोरोनाकालको पीडादायी अवस्था थोरै शब्दमा बयान गर्न कठिन छ। विगतझैं कोरोना ‘काल’मा पनि प्रतीक दैनिकले आफ्नो कर्तव्य निर्वाहमा ग–यो र भविष्यमा पनि गर्नेछ।

Friday, January 15, 2021

देश ठूलो कि कुर्सी ?

देश ठूलो कि कुर्सी ?


मुकुन्द आचार्य

देश ठूलो कि कुर्सी भनेर कसैले सोधे भने हामी ‘कुर्सी’ भन्छौं। देशभन्दा कुर्सी किन ठूलो भनी पुनः प्रश्न गर्दा जवाफ आउँछ– कुर्सी भनेको माहुते हो, जसले विशाल हात्ती (देश)लाई हाँक्दछ।
आज प्रश्न यस्तो किन ? किनभने हाम्रो नेपालमा अहिले कुर्सी महापुराणको अखण्ड पाठ, कुर्सी कीर्तन, कुर्सी जप, कुर्सी चिन्तन–मनन आदि राष्ट्रियस्तरमा अहोरात्र चलिरहेको छ।
कुर्सीका बारेमा चौबीसै घण्टा बोल्न सक्ने पण्डितहरू केपीशर्मा ओली, पुष्पकमल दाहाल, माधव नेपाल, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, झलनाथ खनाल, बाबुराम भट्टराई, वकीलहरू, भूतपूर्व न्यायाधीशहरू, सबै पार्टीका नेताहरू, झोलेहरू आदि इत्यादि तथाकथित नेताहरू र तिनका आफन्तजन कहलिने सबै भाग्यमानी पर्दछन्।
सबैको अर्जुनदृष्टि एकमात्र प्रधानमन्त्रीको कुर्सीमा टिकेको हुन्छ। अहिले प्रमको कुर्सीमा विराजमान ओलीलाई सो कुर्सीबाट तल झारी जसरी हुन्छ आफू वा आफ्नो मान्छेलाई बसाउन पाए देशलाई लुटेर खान सकिन्छ भन्ने दाउ सबैको छ।
यस्ताखाले लुटेराहरूलाई राजनीतिशास्त्रको भाषामा नेता, देशभक्त, जनसेवक, राष्ट्रनायक, जननेता आदि इत्यादि भव्य शब्दले सम्बोधन गरिन्छ। सोही अनुसार मानसम्मान, इज्जत–प्रतिष्ठा पनि पाउँछन्, यी देशमा राज गर्ने भाग्यमानीहरूले।
हामी सामान्यतया कुर्सीलाई निर्जीव भन्छौं। तर यो हाम्रो ठूलो भूल हो। ठूलठूला सजीवहरूले निर्जीव कुर्सीको पूजापाठ, भजन कीर्तन, श्रद्धा, भक्ति, प्रेम गरेको देख्दा कुर्सीलाई निर्जीव भन्न मिल्छ के ?
महर्षि वेदव्यासको पालामा कुर्सी त थिएन तर कुर्सीको हजुरबुबा त थियो नि। हजुरबुबालाई चै राजसिंहासन भन्थे। त्यै राजसिंहासन अहिले कुर्सीको रूप धारण गरेर प्रकट भएको छ। हुन पनि सक्छ। यो मोरो अचम्म उल्काको संसारमा हुन नसक्ने के नै छ र ?
कुर्सी प्राप्त गर्ने महान् अभियानमा लागिपरेका हाम्रा महान् नेताहरूलाई देश र देशवासीहरूका बारेमा सोच्ने फुर्सत नै कहाँ हुन्छ र १ फुर्सतै नभएपछि कसको के लाग्छ त ?
त्यसो त कुर्सीका लागि हानाथाप, तँछाड–मछाड, झैंझगडा, लडाइँ, युद्ध, सत्य, त्रेता र द्वापर युगमा पनि भएकै हो नि। राज्यकै लागि महाभारतको युद्ध भॉथियो। देवता र दानवहरूका बीचमा धेरैपटक युद्ध भएकै हो। स्वर्गको राज्य छोडेर देउताहरू कैयौंपटक भागेर, लुकेर बस्नुपरेको थियो। कुर्सीकै करामात त हो नि ?
मान्छेको भोकपन अनेक थरीका हुन्छन्। मान्छेलाई पावर (शक्ति) पनि चाहिन्छ। कुर्सीमा बसेपछि पावर बढ्छ। पावर, पैसा, पद यसैमा आजको मान्छे अलमलिएको छ। धेरै अलमल भएपछि काम चैं हुँदैन।
कुर्सीको महिमा जति गाए पनि नसकिने हुनाले अब यो गन्थन यतिमैं तुरौं कि ? जेहोस्, कुर्सीको लडाइँ कहिल्यै टुङ्गिएला जस्तो छैन। भगवान्ले सबैलाई सद्बुद्धि दिऊन्।
यौटाले भन्थ्यो, कुर्सी सुकेको हाड हो र हाम्रा कुर्सीप्रेमीहरू त्यो हाड चुसेर रमाउने चारखुट्टे पुच्छरवाला जन्तु हुन्।

द्रोण पर्व–२७

द्रोण पर्व–२७


उमाशङ्कर द्विवेदी

ती सत्यवादी तथा उदार नरेशको जसले दर्शन गर्न पाउँथ्यो, ऊ पनि स्वर्गलोकको अधिकारी हुन पुग्थ्यो। खटवाङ्ग (दिलीप)को घरमा यी पाँच प्रकारका शब्द कहिले पनि बन्द हुँदैनथे–स्वाध्यायको आवाज, धनुषको टङ्कार, अतिथिहरूको लागि खाऊ, पिऊ अनि मोज गर। ती राजा र उनका पुत्र तिमी र तिम्रा पुत्रभन्दा श्रेष्ठ थिए, तर तिनीहरू पनि जीवित रहन सकेनन्, अनि तिमी आफ्नो पुत्रको लागि किन शोक गरिरहेका छौ।
नारदजीले पुनः भने– युवनाश्यका पुत्र मान्धाताको पनि मृत्युबारे सुनिन्छ। उनी देउता, असुर र मानिस तीनै लोकमा विजयी थिए। एक समयको कुरा हो, राजा युवनाश्व वनमा शिकार खेल्न भनी गए। त्यहाँ उनको घोडा थाक्यो तथा उनलाई पनि तिर्खा लाग्यो। यत्तिकैमा उनले टाढैबाट धूवाँ रुमलिंदै गरेको देखे, त्यसैलाई लक्ष्य गरी हिंड्दै जाँदा उनी एउटा यज्ञमण्डपमा पुगे। त्यहाँ एउटा भाँडोमा धृतमिश्रित जल राखेको फेला प–यो, राजाले त्यस जललाई पिए। त्यो मन्त्रपूत जल भुँडीमा जानेबित्तिकै बालकको रूपमा परिणित भइहाल्यो। यसको लागि अब वैद्यशिरोमणि अश्विनीकुमारलाई बोलाइयो। उनले वैद्यक विधिबाट गर्भमा अवस्थित त्यो बालकलाई बाहिर झिके। बालक देउताको समान तेजस्वी थियो। उसलाई आफ्नो पिताको काँखमा सुतिरहेको देखेर देउताहरूले विचार गरे– हरे, यो बालकले दूध कसको खाने ? यो सुनेर इन्द्रले भने– ‘मां धाता’ यसले मेरो दूध खानेछ।
उत्ति नै खेर इन्द्रको औंलाबाट घ्यू र दूधको धारा ओइरिन थाल्यो। हुनत इन्द्रले दयावशीभूत भएर– ‘मां धाता’ भनेका थिए, त्यसैले त्यस बालकको नाम मान्धाता रहन गयो। इन्द्रको औंलाबाट ओइरो लागेको घ्यू र दूध खाएर त्यो बालक प्रतिदिन बढ्न थाल्यो। बा–ह दिनमैं त्यो बालक बा–ह वर्षझैंको जस्तो भइहाल्यो। राजा भएपछि मान्धाताले सम्पूर्ण पृथ्वीलाई एकै दिनमा जितिहाल्यो। उनी धर्मात्मा, जितेन्द्रिय, वीर, सत्यप्रतिज्ञ र जितेन्द्रिय थिए। उनले जनमेजय, सुधन्वा, गय, पुरु, बृहद्रथ, असित र नृगलाई पनि जितेका थिए। सूर्य जहाँबाट उदित हुन्थे र जहाँ गएर अस्त हुन्थे, ती जम्मै क्षेत्र युवनाश्वका पुत्र मान्धाताकै राज्यभित्र पर्दथ्यो।
मान्धाताले एक सयवटा अश्वमेध र एक सयवटा राजसूय यज्ञ गरेका थिए। उनले एक सय योजनको विस्तारवाला मत्स्यप्रदेश ब्राह्मणहरूलाई दानमा दिएका थिए। उनको यज्ञमा मधु तथा दूध बग्ने नदी अन्नको पर्वतहरूलाई चारैतिरबाट घेरेर बग्दथे। ती नदीहरूको भित्र घ्यूका कैंयन कुण्ड थिए। दही त्यसको तर जस्तो देखिन्थ्यो। उखुको रस नै ती नदीहरूमा बग्ने जल थियो। त्यस राजाको यज्ञमा देउता, असुर, ममानिस, यक्ष, गन्धर्व, सर्प, चरा, ऋषि तथा श्रेष्ठ ब्राह्मण आएका थिए। मूर्ख त त्यहाँ एउटै पनि आएका थिएनन्। उनले धानधान्यले परिपूर्ण समुद्रसम्मको पृथ्वी ब्राह्मणहरूको अधीनमा गरिदिएका थिए र समय आएपछि उनी स्वयम् पनि यस लोकबाट अस्त हुन पुगेका थिए। सृञ्जय, उनी पनि तिमी र तिम्रा पुत्र जस्तै श्रेष्ठ थिए। जब उनी पनि मृत्युबाट बच्न सकेनन् भने अरूको त के कुरा ? अतः तिमीले आफ्नो पुत्रको लागि शोक गर्नुहँुदैन।
नहुष नन्दन ययातिको पनि मृत्युको बारेमा सुनिन्छ। उनले एक सयवटा राजसूय यज्ञ, एक सयवटा अश्वमेध यज्ञ, एक हजार पुण्डरीक याग, एक सयवटा वाजपेय यज्ञ, एक हजारवटा अतिरात्र याग तथा चातुर्मास्य र अग्निष्टोम आदि नानाथरीका यज्ञ गरेका थिए तथा ती यज्ञहरूमा ब्राह्मणहरूलाई निकै दान दिएका थिए। परमपवित्र सरस्वती नदीले, समुद्रले तथा पर्वतहरूसहित अन्यान्य सरिताहरूले ययातिलाई दूध तथा घ्यू प्रदान गरेका थिए। नाना प्रकारका यज्ञहरूले परमात्माको पूजन गरेर उनले पृथ्वीको चार भाग गरेर उनले ऋत्विज, अध्वर्यु, होता र उद्गाता–यी चारलाई बाँडिदिएका थिए। अनि देवयानी र सर्मिष्ठाबाट उत्तम सन्तानहरू उत्पन्न गरे। अनि सांसारिक भोगहरूबाट उनलाई नमिलेपछि निम्नाङ्कित गाथाको गायन गरेर उनले आफ्नी धर्मपत्नीको साथ वानप्रस्थमा प्रवेश गरे। त्यो गाथा निम्नानुसार छ–यस पृथ्वीमाथि जति पनि धन–धान्य, जौ, सुवर्ण, पशु र स्त्री आदि भोग पदार्थहरू छन्, ती एउटै मनुवाको सन्तोषको लागि पर्याप्त छैनन्–यस्तो विचार गरेर मनलाई शान्त पारिराख्नुपर्दछ।
यस प्रकार राजा ययातिले धैर्यको साथ कामनाहरूको त्याग गरेर आफ्नो पुत्रलाई राज्यसिंहासनमाथि बसालेर आफू वनमा गइहाले। उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू मरेपछि पनि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहँुदैन। क्रमशः...

प्रेसकी आमा

प्रेसकी आमा


सञ्जय मित्र

“मेरो काँखमैं आमाले आँखा चिम्लनुभएको हो,” कठोरतालाई सहजतामा जस्तो अनुभूति गराउन अझ अलिक बल गर्दै प्रेसले थप्नुभयो, “आमाले पानी माग्नुभयो, मैले आफ्नै हातले कपासलाई भिजाएर मुखमा पानी हालेको हुँ। देख्दादेख्दै आँखा चिम्लनुभयो।” भन्दाभन्दै प्रेसको गला अवरुद्ध भएको छ।
लमहा खोलामा चिता सजाइएको छ। पुसको जाडो साँझ छ। अब आँखाले टाढा देखिन छाडिसक्यो। मलामी जानेहरू सयौं छन्। कुहिरोले घेर्दै आएको छ। कठ्याङ्ग्रिंदो जाडोमा आमाको अन्तिम संस्कार गर्न बाँकी छ। प्रेससित म छु र मिल्ने साथीहरू पनि छन्। खासमा यतिबेलासम्म लाशलाई जलाएर मलामीहरू फर्किसक्नुपर्ने हो तर प्रेसका एक भाइ हेटौंडाबाट आउनुपर्ने। जङ्गलमा निकै बेर जाममा परेर अब केही मिनेटमा आइपुग्ने सुनिंदैछ।
उता आगोको मोलमोलाइ भइरहेको छ।
प्रेस उनको लाक्षणिक नाम हो। वास्तवमा कतिपय शब्दमा अत्यधिक बलाघात गर्ने बानीलाई कुनै शिक्षकले प्रेस दिएर बोल्ने उपनाम दिएका थिए विद्यालय पढ्दा। प्रेस दिएर बोल्ने मान्छे भनेर प्रेस उपनाम लक्षणको आधारमा राखिंदा पनि बिस्तारै स्वाभाविक नामजस्तै भएको थियो। यस उपनामले कहिलेकाहीं फाइदा पनि दिएको छ उनलाई। प्रेस भनेर स्वाभाविकरूपमा कसैले बोलाउँदा कतिपयले प्रेसको मान्छे वा पत्रकार भनी बुझ्दा छिटो काम भएको पनि अनुभव छ।
अलिक हलुँगो महसूस गरेपछि प्रेसको कथन अगाडि बढ्छ– “मेरी आफ्नै आमा त होइन तर आफ्नी आमाजस्तै हुनुहुन्थ्यो। चार दिन भयो अन्न न पानी भएको, ओछ्यानमा कोल्टो फेर्न पनि सक्नुहुन्थेन। मैले दुई दिन आमाको लुगा फेरिदिएँ। आज बिहानदेखि मलाई कस्तो कस्तो लागिरहेको थियो, शायद मैले कुरो बुझिसकेको थिएँ। मैले खाना नै खाइनँ, खानै मन लागेन। दिउँसो इशाराले मलाई आमाले बोलाउँदा म पुगेको हुँ। आमानजीक स्वाभाविकरूपमा बसें र आमाको टाउकोलाई आफ्नो तिघ्रामा राखेर छोरीलाई पानी ल्याउन अ–हाएँ।” केही सेकेन्ड रोकिएर प्रेसले थप्नुभयो, “अरू दिनभन्दा आमाको अनुहार उज्यालोजस्तो लाग्यो र अन्तर्हृदयबाट केही हराउन लागेको अनुभूति भयो। आमाको अनुहारमा सन्तोषको एउटा आभा देखेजस्तो भएको थियो। आमाले मलाई हेर्दै हुनुहुन्थ्यो। अनुहारमा हेर्दाहेर्दै नै आँखा चिम्लनुभयो।”
प्रेसको मोबाइल साइलेन्ट मोडमा छ। खल्तीमा उज्यालो बलेपछि झिकेर काननजीक लैजाँदै, “सोझे घाटेपर आबा, हमनी इँहमे तोहर पैंडा तकैछी” भन्नुभयो र मोबाइल फेरि खल्तीमा हाल्दै “उहाँका आफ्नै छोराहरूभन्दा म आफूलाई भाग्यमानी ठान्दछु। आज म सौताको छोरा होइन, आफ्नै कोखको छोराजस्तै भएको छु। आमाले पनि मलाई सोही दर्जा जाँदाजाँदै दिनुभयो।”
यति भन्दै प्रेसले अगाडि पाइला सार्दै फेरि थप्नुभयो, “भाइको फोन थियो। अब पाँच–सात मिनेटमा आइपुग्छ। हामी आगोको झन्झट सल्टाऔं अब।”
शेषअघि र शेषपछि अरूभन्दा बढी जिम्मेवार देखिएका छन् प्रेस। कोही पनि आमाबुबाका सबै सन्तान एकैनासले जिम्मेवारी वहन गर्न सक्दैनन्। कोही अलिक बढी व्यावहारिक भएर काम गर्ने हुन्छन् र कोही अ–हाए–खटाएको गर्ने पनि हुन्छन्। प्रेसमा आफैं अगाडि बढेर काम गर्ने क्षमता छ।
एउटा डोम परिवारले आगोको दुई कट्ठा खेत र पचास हजार रुपैयाँ मागिरहेको छ।
उतैतिर हाम्रा पाइलाहरू अगाडि सर्छन्।
प्रेसका दुई आमा। जन्म दिने आमा अलिक पहिल्यै परलोक जानुभएको हो र सौतेनी आमाले पनि आँखा चिम्लनुभयो आज। आमाविहीनताको सम्पूर्णतः अनुभूति अझै हुन बाँकी छ। “कात्रोमा बेरिएर चितामा सजिएको लाश मेरी आमा हुन्” अभ्यन्तरबाट अनायास बाहिर फुत्कन्छ प्रेसको।
प्रेस दुई दाजुभाइ। दुवै आमाका दुई/दुई। खासमा हेटौंडामा जागीर खाने भाइकी आमा अहिले चितामा सजाइएकी। तर प्रेसलाई कहिल्यै सौतेनी आमाको अनुभूति भएन र आमालाई पनि सौताको छोरा प्रेस नभएको जीवनको अन्तिम घडीमा पनि प्रमाणित भयो।
“हम कम्तीमे एक कट्ठा खेत लेहम न त आगी ओहिना लेजाऊ” डोमको नवयुवक छोरोले अलिक झोक्किएर बोलेपछि सबै एकछिन शान्त हुन्छन्। एकदम मुर्दा शान्ति।
उनको तर्क छ– मैले भर्खर गाउँ किनेको छु, आफ्नो मौसाबाट। एक लाख रुपैयाँ र दश जोडा सुङ्गुर तिर्नुपरेको छ गाउँ किन्न। अझ मेरो पुरानो खरपुरबा गाउँलाई पनि दिनुप–यो। म अलिकति पढेलेखेको छु भनेर न यति लगानी गरेको छु गाउँमा। अनि यति ठूलो महाजनको घरमा मरनहरन हुँदा पनि मैले केही पाउन सकिन भने नगरपालिकाको फोहोर बहारेर मेरो गुजर जान्छ ?
उनको प्रश्न पनि जायज छ, आफ्नो ठाउँमा। जायज छ भन्दैमा लाश जलाउने आगो किन्न कसैले एक कट्ठा खेत दिन्छ ? आजसम्म कतै कसैले दिएको छ ?

बगरको बालुवामा एक जोडी स्याल हो कि फ्याउरो ? मैले छुट्याउन सकिनँ तर सन्नाटालाई चिर्दै सम्झाउने पाराले संवादलाई अगाडि बढाएँ– “आगीके राजा तू त गाँओके ही राजा। राजा होके अपना प्रजासे एतना कर लेबहू त केना होतई ? कुछ कम करहू न त मरेके बेर लोग दोसरा गाँओमे जाए लगतई।”
अरूलाई पनि अलिक बल मिलेछ क्यारे। नवयुवक डोमलाई त गाउँको राजा भएर प्रजालाई लाश जलाउने आगोको मूल्य धेरै लिनुहुँदैन, प्रजा दुःखी हुन्छन् भनेर फकाउन शुरू गरेछन्। आखिरमा उनले सबैको कुरा मान्न बाध्य हुनुपरेछ। पाँच हजार रुपैयाँ नगद, चार जोडी बाँस र दुई जोर साडी दिन तयार भएपछि खुशी भएछन्। “राम नाम सत हए, सबके इहे गत हए” भन्दै मुखाग्नि दिने बाटो खोलिदिएछन्।
अलिक अप्ठ्यारो भएपनि भाइ बाइक लिएर घाटैसम्म पुगेछ। बाइकको साउन्ड रोकिंदा उनको कण्ठको रोदनले वातावरणलाई फेरि अर्कै बनाइदिन्छ। प्रेसको गला पनि अवरुद्ध हुन्छ। दाजुभाइ एकअर्कालाई अँगालोमा बाँधेर केहीबेर ह्वाँ–ह्वाँ रुन्छन्। सजाएर राखिएको चितामा चिर निद्रामा रहेको आमातिर दाजुभाइका पाइला बढ्छन्।
चारै दाजुभाइ सम्भवतः धेरै वर्षपछि यसरी एकसाथ आमाको मुख हेर्दैछन्। हुनत ग्यास सिलिन्डरको मिन्टलको ठूलो प्रकाश छँदैछ तर छेउमा उभिएका एकजनाले आमाको अनुहार देखाउन मोबाइल बाल्छन्। आमाको अनुहार अन्तिम उज्यालो यही भइदिन्छ। यही अनुहार हेर्न छोरो हेटौंडाबाट फर्किन पाँच घण्टा लगाएको हो। छोरो आएपछि अन्य कर्म अगाडि बढाउनुपर्छ भन्दै सबै लमहामा पर्खेर बसेका हुन्।
नवयुवक डोमले मुख खोलेको सुनिन्छ– “अभी अएलन ह से हाकिम साहे छथिन, हमरा त आउरो चाहिं।” भर्खर आएको मानिस हाकिम हुनुहुन्छ। मलाई त अझै पनि चाहिन्छ। म ठगिएँ। प्रेसको मात्र आमा भन्ने ठानेको थिएँ। अहिलेसम्म त आगोको राजा म छु र यस गाउँको राजा पनि मै हुँ। एकजनाको आमाको मात्र मैले पाएको छु, अर्काको आमाको मलाई अझै चाहिन्छ।
बढ्यो लफडा। सन्तुष्ट भइसकेको नवयुवकले फेरि कताबाट के थाहा पाए र अत्तो थापिहाले।
हाकिम भनाउँदो युवकको प्रश्न आउँछ– “के भनेको ? कसरी राजा हुन्छ कोही ? आमा बित्नुभएको छ मेरो र कोही लाशको राजा कसरी हुन्छ ?”
एक बुजुर्गको सान्त्वना आउँछ प्रत्युत्तरमा– “संस्कार र संस्कृति ठूलो कुरो हो। मृत्यु संस्कारमा गरिने मुखाग्निको आगोमाथि डोम जातिकै हक लाग्छ। उनीहरूले आगो नदिएसम्म मुखाग्नि कर्म हुँदैन। यो हाम्रो सनातन चलन हो र यसलाई नमान्ने हो भने हामी यसरी यहाँ आउनुको कुनै अर्थ रहँदैन। बौआ, अहिले उनको हक लाग्छ। उनलाई सन्तुष्ट नपारी खुशी नतुल्याइ आमाको मुखमा आगो लगाउने हो भने आमाको आत्माले शान्ति पाउँदैन।”
नवयुवक अलिक तर्केर बोलेको छ– “प्रेस त हामीलाई अँध्यारो–उज्यालोमा पनि काम लाग्छन् तर हाकिमसित हाम्रो कुनै कामै पर्दैन। हाम्रो समाजको सदस्य नै होइन। अब उनकै आमा हो भने हामी आगो दिन्नौं र उनलाई जसरी कर्म गर्नु छ गरून्।”
नवयुवकमा नयाँ जोश हुन्छ। तर्क गर्ने क्षमता हुन्छ। उनको तर्कअगाडि सबै अवाक्। आखिर संस्कृति र संस्कारलाई नाघ्न सजिलो छैन नि। नवयुवकले भनेको पनि सत्य हो– समाजमा सहयोगको लेनदेन भइरहन्छ। जो समाजसित जस्तो सम्बन्ध राख्न सक्छ, समाजले पनि ऊसित त्यस्तै सम्बन्ध राख्न सक्छ।
हाकिमले केही बोल्न चाहेका हुन्छन् तर बूढापाकाहरूको प्रेमपूर्ण हप्काइले मुखले केही निकाल्न सक्दैनन्।
युवकको जीत भएको मानिन्छ। युवकलाई थप एक हजार थपिन्छ– हाकिमले अनावश्यक प्रतिवाद गरेको जरिवानास्वरूप। राजाको मुखमुखै लाग्नुहुँदैन, यद्यपि तर्क र बहस आफ्नै किसिमले गर्न सकिन्छ। राजा हो, सबै कुरा माफ पनि गर्न सक्छन्।
चारजना प्रेस दाजुभाइ र काकाको एक छोरा गरी पाँच दाजुभाइ मिली मुखाग्नि गर्दै परिक्रमा गर्दछन्। हरेकपटक एकचोटि अलिक ढलेजस्तो गर्नुपर्छ। पाँचौंचोटिमा प्रेस साँच्चै ढल्दछन्। सबैलाई कर्म गरेको जस्तो लाग्दछ र पाँच–सात सेकेन्डसम्म नउठ्दा भने शङ्का लाग्छ। पहिलेदेखि नै अलिक गम्भीर प्रकृतिका मान्छे, अति समवेदित भएर मूर्छित भएछन्। एक मिनेटजतिमा होश खुल्छ, सबै आत्तिइसकेका हुन्छन्। वातावरण शान्त हुन्छ।
म सान्त्वना दिन्छु।
प्रेसको मुखबाट निस्कन्छ– “आमालाई जलाउँदैछु। यो कुरो मनमा उम्रनासाथ एकैचोटि भूकम्प आएजस्तो ठूलो रिङ्टा चल्यो अनि म ढलें।”
अरूलाई सम्झाउन र बुझाउन सजिलो जस्तो लाग्छ तर आफैंलाई परेपछि भने आफैंलाई बुझाउन निकै कठिन हुँदो रहेछ।
केही मिनेटपछि आगो ह्वार्रह्वार्ती बल्न थाल्छ। चिताको आगोको लप्काले लमहा नदीको किनारलाई उछिनेको छ। उज्यालोले टाढाको उखु पनि देखिन्छ। अघि स्यालजस्तो देखिएको ठाउँतिर शून्यताबाहेक केही देखिंदैन।
जलिरहेको चिताभन्दा अलिक टाढा उज्यालोमा कोही सेल्फी लिइरहेका छन्। हामी करीब एक दर्जन जतिले प्रेस दाजुभाइलाई घेरेको जस्तै गरेर एकातिर बसेका छौं। किरिया बोक्ने हाकिम नै हुन्। किरिया कि त कान्छोले कि त जेठोले बोक्नुपर्छ। हाकिम भने अघिदेखि मौन छन्।
“अब मैले कसलाई आमा भनेर बोलाउने होला ? मैले खाएको र नखाएको कसले विचार गर्ने होला ?” प्रेसका प्रश्नहरू निस्कँदा आवाजमा चिन्ताको गहिरो आभास छ कि आमाप्रतिको अनुराग बुझ्न सजिलो लाग्दैन। करीब साठी वर्षका प्रेसका यी प्रश्नको उत्तर कसले दिने ? घरको पूर्णतः अभिभावकलाई मर्यादाको अभिभावक गुमेको अनुभूति झल्कन्छ।
“आमाले अब यस्ता सबै जिम्मेवारी तपाईंको काँधमा हस्तान्तरण गर्नुभएको छ, अनि त तपाईंको काखमा अन्तिम सास बिसाउनुभयो ?”
अँध्यारोबाट अपरिचितको स्वरप्रति सकारात्मक टाउको हल्लाउँछन् प्रेस।
लकडीको टुक्राटाक्री बाँड्दै एकजना आउँछन्। सबैका हातमा पाँच/पाँच वटा थमाउँछन्। मुठीमा सजिलै अटाउने पाँचवटै लकडीमध्ये दायाँ हातमा तीनवटा र बायाँ हातमा दुईवटा राख्ने कि बायाँमा तीन र दायाँमा दुई ? यस विषयमा अलिक कुरो चल्छ। महिलाको मृत्यु भएकोले बायाँ हातमा तीनवटा राख्नुपर्ने संस्कार छ भनेपछि त्यहाँका सबैले त्यसै गर्दछन्।
अब आगो जसरी पनि निभ्दैन। एकै छिनमा खरानी भइहाल्ला सबै। यस्तो भएपछि किरिया बोक्नेलाई अगाडि सार्दै खोलामैं अलिक माथि नुहाउनलाई अगाडि बढ्छन् सबै। हातको लकडीको टुक्रो पछाडितिर फाल्दै सबैले बोल्छन्– “राम नाम सत हए, सबके इहे गत हए...।”
रात छिप्पिइसकेको छ। हतारहतार डुबुल्की मार्दै निस्कन्छन् सबै। खोलाको पानी चीसो न चीसो छ। झन् अलिक हावा पनि चलेको अनुभूति हुन्छ। जाडोले मुटु काम्दैछ सबैको।
खोलाबाट निस्कँदै गर्दा सबैलाई विचित्र हतार छ। कोहीकोही किनारबाटै घरमा फोन गर्दछन्– टोक्नुपर्ने रातो खुर्सानी र एक लोटा पानी लिएर ढोकामा उभिराख, आइहालें।
जाडो भएको छ कि छैन, प्रेसलाई कुनै अनुभूति छैन। कुनै हतार छैन। उल्टो बन्चरो काँधमा बोकेर पहिले आएको बाटो काट्दै प्रेस घरतिर अगाडि बढ्छन्। किरिया बोकेको भाइ सबैभन्दा अगाडि छ। लस्कर पछाडि हिंड्दैछ मानिसको। कसैले पनि पछाडि फर्केर हेर्नुहुँदैन।
मित्रनगर, गरुडा नगरपालिका–४, रौतहट
लेखक परिचयः सञ्जय मित्र बज्जिका र नेपालीमा लेख्ने गर्दछन्। मध्यरौतहट बहुमुखी क्याम्पसमा स्नातक तहमा नेपाली विषय अध्यापनरत मित्र कविता, लघुकथा, कथा, समालोचना र संस्कृति तथा इतिहासपरक अनुसन्धानमूलक लेख पनि लेख्छन्। पत्रकारितामा रुचि राख्ने मित्रका विभिन्न विधाका गरी १२ कृति प्रकाशित छन्।

Friday, January 8, 2021

मधेससँग अन्तरङ्ग सम्बन्ध–पद्मा नेपाल

मधेससँग अन्तरङ्ग सम्बन्ध–पद्मा नेपाल


राजेश मिश्र

“आइल साल फुलल गाल, भादो महिनवा उहे हाल” अर्थात् अन्नबाली भिœयाइसकेको केही महीनासम्म मीठोमसिनो खान पाइन्थ्यो। वर्षात्को समयमा खाद्यान्न सकिन्थ्यो। खानाको लागि पुनः समस्या झेल्नुपथ्र्यो। उपरोक्त देहाती कहावत ९० वर्षीया वृद्धाको आवाजमा सुनूँ–सुनूँ जस्तो लाग्छ। मधेसको परिवेशसँग जन्मजात उनको अन्तरङ्ग सम्बन्ध छ। सामुदायिकरूपमा मात्र उनी पहाडी हुन्। पर्सा जिल्लाको देहात उनको जन्मधर्ती हो। ७५ वर्षअघि वीरगंज शहरमा विवाह भयो। जीवनको ९ दशक व्यतीत गरिसकेकी वीरगंज मनपा–२ की उनी हुन्– वृद्धा पद्मा नेपाल। संयोग नै भन्नुपर्छ, वृद्धाको नाम पद्मा नेपाल त हो नै उनको सासूको नाम पनि पद्मा नेपाल थियो। अहिले बुहारीको नाम पनि पद्मा नेपाल नै हो। तीन पुस्तासम्म एउटै नामको निरन्तरता आश्चर्यजनक संयोग भन्नुपर्छ।
म बिहान करीब नौ बजे पुगें। मौसम चीसो थियो। उनी सिरकले जीउदेखि अनुहारसम्म छोपेर ओछ्यानमा पल्टिरहेकी थिइन्। निद्रामा थिइनन्। नजीक उभिएर मैले भनें, “आमा प्रणाम, तबियत कैसन बा ? उनले सिरकभित्रैबाट उत्तर फर्काइन्, “खुशी रह, तबियत ठीक बाटे।” यति भन्दै उनले प्रश्न गरिन्, “के ह ? कथि नाम ह ? कहाँ घर ह ?” योभन्दा पहिले उनीसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको थिएन। त्यसैले होला शायद यति धेरै प्रश्न् गरेकी हुन्। मैले भने, “हमर नाम राजेश ह आमा।” यतिमात्र भनें। केहीबेर चुप रहें। घर बताउन अलि ढिलो गरें।
म उनको माइतीको नाम लिएर माइतीप्रतिको उनको भावनात्मक प्रतिक्रिया जान्न आतुर थिएँ। उनले सिरकभित्रबाटै पुनः प्रश्न गरिन्, “घरवा (घर) ना बाताव कहाँ ह ?” उनी पत्रकार शत्रुघ्न नेपालकी आमा हुन्। त्यसैले उनको माइती पर्साको धर्मपुर हो भनेर मलाई पूर्वजानकारी थियो। वीरगंजदेखि करीब २० किलोमिटर पश्चिम–उत्तर झखरा मसिहानीनजीक धर्मपुर गाउँ पर्छ। मैले भनें, “आमा हम सुननी हँ– कादून अपने के तबियत खाराब बा ? ओहीसे आइल बानी अपने के धर्मपुर लेजाए ला।” यति सुनेपछि उनी सिरकसहित जुरुक्क उठिन्।
अपवादबाहेक महिलाहरूको लागि सन्तानपछि संसारको सबैभन्दा प्यारो केही छ भने ‘आमा र माइती’ नै हो। अस्वस्थ वा विषम परिस्थितिमा रहेको भएपनि ‘माइती’ शब्दले महिलाहरूलाई ओखतीको रूपमा शान्ति प्रदान गर्दो रहेछ। माइतीको नाम सुन्नेबित्तिकै महिलाहरूको अनुहारमा मुस्कान र मनमा शान्ति न छाउने कुरै हुँदैन।
उनी चिहाएर मेरो अनुहार हेर्न थालिन्। वास्तवमा यसअघि उनको आँखाले मेरो अनुहार कहिल्यै देखेको थिएन। उनको कानले मेरो स्वर कहिल्यै सुनेको थिएन। त्यसैले मेरो अनुहार र स्वर उनको लागि नौलो थियो। उनको लागि म बिल्कुल अपरिचित थिएँ। त्यत्तिकैमा शत्रुघ्न दाइ आए र आमालाई मेरो परिचय बताइदिए। शत्रुघ्न दाइकी पत्नी मेरी भाउजू (पद्मा नेपाल)ले मलाई गर्मागरम चिया ल्याइदिइन्। भाउजू भान्सामा र दाइ कम्प्युटरतिर लागे। म र आमाबीच ठेट भोजपुरीमा कुराकानी हुन थाल्यो।

नौ दशकअघि पर्सा जिल्लाको झखरा मसिहानीनजिकै रहेको धर्मपुर गाउँमा उनको जन्म भएको थियो। दुई दिदीबहिनी र दुई भाइमध्ये उनी जेठी हुन्। बुबा र आमाको पहिलो सन्तानको रूपमा उनको जन्म भएपछि परिवार त खुशी थियो नै गाउँलेसमेत हर्षित थिए। आमा (उमादेवी ढुङ्गाना)ले भनेको कुरा उनलाई झल्झल्ती याद छ। गाउँका मानिसहरू एकले अर्कोलाई भन्दै थिए, “हो, थाह बा तोहरा ? उमा काकी के बेटी नु भइल खिय।” एक कान दुई कान हुँदै वरिपरिका गाउँहरू झबराहा, मसिहानी, सन्ठी, मनिअर्वा तथा निचुटाका आफन्तजनसम्म उनको जन्मोत्सवको खबर पुग्यो।
वृद्धाको माइती गाउँ धर्मपुरमा ६ घर पहाडी परिवारको बसोबास रहेको थियो। यसअलावा झखरा, मसिहानी, सन्ठी र लमरियामा पनि पहाडी समुदायको बसोबास थियो। गाउँघरका मानिससँग कुराकानी गर्ने माध्यम भोजपुरी भाषा नै थियो। अपवादबाहेक परिवारमा समेत भोजपुरी भाषा नै चलनमा थियो। यद्यपि कुटुम्बहरूसँग नेपाली भाषामा कुराकानी गरिन्थ्यो।
१५ वर्षको उमेरमा उनको बिहे वीरगंजको छपकैया निवासी धुनप्रसाद शर्मासँग भएको थियो। असार महीनामा भएको बिहेमा दुलहा पालकी चढेर आएका थिए। ‘बाराती’ (जन्ती)हरू बैलगाडामा र केही पैदल पुगेका थिए। आजको जस्तो विभिन्न परिकार वा माछा/मासुको चलन थिएन। आम्दानी र खाद्यान्न सामग्रीको उपलब्धता आजको जस्तो थिएन। बारातीलाई दाल–भात वा दही–चिउरा खुवाइन्थ्यो। राति बिहे भयो। एकाबिहान ‘बरियात’ फर्कियो। मोहरफा (मेहना)मा दुलहीको शृङ्गारमा सजिएर पतिको घर आएको कुरा उनको सम्झनामा ताजै छ।
उनी आफ्नो जीवनकालका तीता–मीठा पलहरू पार गर्दै बाँचिरहेकी छन्। उनी भन्छिन्, “जीवनमा पीडादायी समयको सामना नगर्ने कोही पनि नहोला। दुःख र सुख भनेको जीवनका अभिन्न साथी जस्तै हुन्।” एक छोरा र एक छोरीको सानैमा अवसान भयो। दुई छोरा र दुई छोरी बाँचे। पति पनि परमधाम गइसकेको धेरै भयो। पछिल्लो समय नाति (शत्रुघ्न दाइको कान्छो छोरा) गुमाएको गहिरो पीडा मनमा बिझिरहन्छ। छोरा–बुहारी, छोरी–ज्वाइँ र नाति पनातिहरूलाई देखेर विगतका पीडा कम हुने बताउँछिन्। पहाडी समुदायका उनी फर्रर भोजपुरी भाषामा कुरा गर्दा पहाडी हुन् कि मधेसी ठम्याउन मुश्किल पर्छ।
विगतमा सुत्केरी महिलाको प्रसूति सम्बन्धमा उनको अनुभव यस्तो छ, “उतिबेला गाउँ–गाउँमा स्वास्थ्य केन्द्र थिएन, एकमात्र वीरगंजमा स्वास्थ्य सेवा उपलब्ध थियो। वीरगंज आउनलाई सडक र सवारीको उपलब्धता आजको जस्तो थिएन। सुत्केरी महिलाको प्रसूतिको लागि ‘चमइन’ नै चिकित्सक सरह सहयोगी थिइन् भन्नुपर्छ,” उनले भनिन्, “गाउँमा एउटा भनाइ नै प्रचलित थियो– जे जराइ पेटा, ऊ खेलाइ बेटा।” यसको भावार्थ के हो भने पेटमा बच्चा रहेदेखि जन्मेपछिको केही महीनासम्म गरिष्ठ वा अपाच्य भोजन सुत्केरीले गर्नुहुँदैन। जिब्रोले मागे अनुसारको भोजन गर्नुहुँदैन। जुन सुत्केरीले सुपाच्य भोजन गर्छिन्, उसले आफू र बच्चालाई स्वस्थ राख्छिन्।
माइतीमा उनले नजरबन्दको तमाशा देखेको कुरा आजसम्म याद छ। खलियानीमा सोहोरेको धानले दुलदुल घोडाको खेल, भालु र बाँदरको खेल, नजरबन्दको खेल आदि हेर्न पाइन्थ्यो। एक प्रसङ्गमा उनले भनिन्, “रहिला (चना), खेंसारी आ काँच गहुँके ‘होरहा’ (आगोमा पोलेको) खाए में बडी स्वादिष्ट लागे।” अहिले थरीथरीका खाद्य सामग्री उपलब्ध छन् तर हाम्रो बेलाको पारम्परिक खाद्यान्न विषादीरहित थियो। अचेल विषादीरहित पाउन मुश्किल छ। देहातको छानामा फलेको कोंहडा (फर्सी)को तरकारी र भथुवा (कोभिन्डो)को अदौरी (मस्यौरा) उनलाई धेरै मन पर्छ।
वीरगंजदेखि माइती धर्मपुरसम्म धेरैपटक पैदल यात्रा गरेको स्मरण छ उनलाई। माइतीको यात्राबारे उनी भन्छिन्, “तीन घण्टा हिंडेर पोखरिया पुगें, एकजनाको ठाटीको घर थियो, कसको थियो नाम याद छैन, एक बूढी आमाले भन्थिइन्– बबी सुस्ता ल, खा ल त जइह (नानी आराम गर, खाऊ अनि जानु), केही बेर आराम गरिन्थ्यो, खाना खाइन्थ्यो, त्यसपछि धर्मपुरको यात्रा गरिन्थ्यो।”
यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिक सङ्घ पर्साले सम्मान गरेकोमा उनी हर्षित छिन्। जन्मदेखि आजसम्मको जीवनयात्रा फर्केर हेर्दा लामो यात्रा गरेझैं अनुभूति हुँदो रहेछ, उनलाई। हिजो बुबाआमाको काखमा हुर्कियो। सखी सहेलीसँग रमाइलो गरियो। बिहे भयो। पतिसँग जीवन बिताइयो। आमा भइयो। छोराछोरी हुर्काइयो। सासू भइयो। जीवनमा नातिनातिना आए। हजुरआमा भइयो। स्मरण् गर्दा, सगरमाथाको शिखरमा पुगे जस्तै नौ दशक लामो जीवनयात्रा हिजोको कुरा जस्तो लाग्छ उनलाई। छोरा र बुहारीले ‘आज के खाने आमा ?’ भनी सधैं सोधिरहने कुराले आत्मसन्तुष्टि हुँदोरहेछ उनलाई। चीसो भएकोले आज उनलाई चम्सुरको साग र भन्टाको तरकारी खान मन छ र उनले छोरा शत्रुघ्नलाई बताइसकेकी छन्। आमाको जीवनयात्रा सुखशान्तिसँग बितोस्, हाम्रो यही कामना छ।

Friday, January 1, 2021

द्रोण पर्व–२५

द्रोण पर्व–२५


उमाशङ्कर द्विवेदी

राजा मरुतले तरुणावस्थामा रहेर प्रजा, मन्त्री, धर्मपत्नी, पुत्र र भाइहरूका साथ एक हजार वर्षसम्म राज्यको शासन गरे। सृञ्जय, यस्तो प्रतापी राजा पनि, जो तिमी तथा तिम्रा पुत्रहरूबाट धेरै बढी थिए, यदि उनी पनि मृत्युबाट बच्न सकेनन् भने तिमीले पनि आफ्नो पुत्रको शोक गर्नुहुँदैन।
नारदजीले पुनः भने– “राजा सुहोत्रको पनि मृत्युको बारेमा सुनिन्छ। उनी आफ्नो समयका अद्वितीय वीर थिए, देउताहरूसम्मले उनीतिर आँखा जुधाएर हेर्न सक्दैनथे। उनी प्रजाको पालन, धर्म, दान, यज्ञ र शत्रुहरूमाथि विजय पाउने–यी सबैलाई कल्याणकारी ठान्दथे। धर्मबाट देउताहरूको आराधना गर्दथे, बाणबाट शत्रुहरूमाथि विजय पाउँदथे र आफ्नो सद्गुणले समस्त प्रजालाई प्रसन्न राख्दथे। उनले म्लेच्छ र डाँकाहरूको नाश गरेर यस सम्पूर्ण पृथ्वीमाथि राज्य गरेका थिए। उनको प्रसन्नताको लागि बादलले अनेकौं वर्षसम्म उनको राज्यमा सुवर्णको वर्षा गरेका थिए। त्यहाँ सुवर्णको खोलो बग्दथ्यो। त्यसमा सुनका गोही र माछा रहन्थे। मेघबाट अभीष्ट वस्तुहरूको वर्षात् हुन्थ्यो। राज्यमा निकै ठूल्ठूला तलाउहरू थिए, जसमा पनि सुनका गोही, मकर, कछुवा र माछाहरू रहन्थे। ती जम्मैलाई हेरेर राजालाई अत्यन्त आश्चर्य हुन्थ्यो। उनले कुरुजाङ्गल देशमा ठूलो यज्ञ गरे र त्यो अपार सुवर्णराशि ब्राह्मणहरूमा बाँडिदिए। राजा सुहोत्रले एक हजार अश्वमेघ, एक सयवटा राजसूय तथा धेरै दान दक्षिणावाला अनेकौं यज्ञ गरे र नित्य–नैमित्तिक यज्ञहरूको अनुष्ठान गरे। हे सृञ्जय, ती सुहोत्र पनि तिमी र तिम्रो पुत्रभन्दा सर्वथा श्रेष्ठ थिए तर मृत्युले उनलाई पनि छाडेन। यस्तो विचार गरेर तिमीले पुत्रको निम्ति शोक गर्नुहुँदैन।”
नारदजीले फेरि भन्न थाले– “राजन्, जसले सम्पूर्ण पृथ्वीलाई छालाझैं आफ्नो जीउमा बेरेका थिए। ती उशिनरपुत्र राजा शिवि पनि मरेका थिए। उनले सम्पूर्ण पृथ्वीलाई जितेर अनेकौं राजसूय यज्ञ गरेका थिए। उनले दश अरब सुवर्णमुद्रा दान गरेका थिए। साथै हात्ती, घोडा, पशु, धान्य, मृग, गौ, बाख्रा, भेंडा आदिका साथै अनेकौं भूखण्ड ब्राह्मणहरूलाई दानमा दिएका थिए। वर्षंदै गरेको मेघमा जति पनि धाराहरू खस्दछन्, आकाशमा जति पनि ताराहरू देखिन्छन्, गङ्गाको बगरमा जति पनि बालुवाका कणहरू छन्, मेरुपर्वतमाथि जति पनि शिलाका टुक्राहरू छन् र समुद्रमा जति पनि रत्न र जलचरहरू छ, त्यत्ति नै गाई शिविले ब्राह्मणहरूलाई दानमा दिएका थिए। प्रजापतिले पनि शिविको समान महान् कार्यभारलाई वहन गर्ने कुनै अर्को महान् पुरुष भूत, भविष्य तथा वर्तमानमा हेरेका थिएनन्। उनले कैंयन यज्ञ गरे, जसमा प्रार्थीहरूको सम्पूर्ण कामना पूर्ण हुन्छ। ती यज्ञहरूमा यज्ञस्तम्भ, आसन, गृह, पर्खाल र बाहिरी ढोका जम्मै वस्तु सुनले बनेको थियो। यज्ञको भण्डारमा दूध–दहीको बडेमानका कुण्डहरू बनेका थिए तथा दूध–दहीको खोलो बगिरहेको थियो। शुद्ध अन्नको पर्वतको समान राश लागेको थियो। त्यहाँ सबै मानिसको लागि घोषणा गरिएको थियो– सज्जनहरू, नुहाइधुवाइ गरेर जसको जस्तो रुचि छ, त्यसको अनुसार खानुहोस्, पिउनुहोस्। भगवान् शिवले राजा शिविको पुण्यकर्मबाट प्रसन्न भएर यो वर दिएका थिए– राजन्, सधैं दान गरिरहँदा पनि तिम्रो धन क्षीण हुनेछैन। यसै प्रकार तिम्रो श्रद्धा, सुयश र पुण्यकर्म अक्षय रहनेछ। तिमीले भनेबमोजिम सबै प्राणी तिमीसित प्रेम गर्नेछन् र अन्तमा तिमीलाई उत्तम लोकको प्राप्ति हुनेछ। यस्ता उत्तम वर पाएर राजा शिवि पनि समय आएपछि दिव्यलोकमा गइसके। उनी तिमी र तिम्रो पुत्रभन्दा पनि बढी पुण्यात्मा थिए। जब उनी पनि मृत्युबाट बच्न सकेनन्, त्यसैले तिमीले पनि आफ्नो पुत्रको शोक गर्नुहुँदैन।
सृञ्जय, जसले प्रजामाथि पुत्रको समान प्रेमभाव राख्दथे, ती दशरथनन्दन राम पनि परमधाम गइसके। उनी अत्यन्त तेजस्वी थिए। आफ्नो पिताको आज्ञाबाट उनी धर्मपत्नी सीता र भाइ लक्ष्मणका साथ चौध वर्षसम्म वनवास गरेका थिए। जनस्थानमा रहेर तपस्वी, मुनिहरूको रक्षार्थ उनले चौध हजार राक्षसहरूको वध गरेका थिए। त्यहाँ बस्दा लक्ष्मणसहित रामलाई मोहमा पारेर रावण नामक राक्षसले उनकी पत्नीलाई हरण गरेर लग्यो। यद्यपि रावण र दैत्यहरूसित पनि अवध्य थियो, साथै ब्राह्मण र देउताहरूको लागि कण्टकरूपी थियो। रामले उसलाई उसका आफन्तहरूसहित मारेर सीतालाई फर्काए। देउताहरूले उनको स्तुति गरे, सम्पूर्ण संसारमा उनको कीर्ति फिजियो। देउता र ऋषिहरू उनको सेवामा रहन थाले। उनले विशाल साम्राज्य पाएर सम्पूर्ण प्राणीमाथि दया गरे। धर्मपूर्वक प्रजाको पालन गर्दै अश्वमेध नामक महायज्ञको अनुष्ठान गरे। क्रमशः...।

सांसदहरूको भाउ बढ्यो

सांसदहरूको भाउ बढ्यो


मुकुन्द आचार्य

मान्छे जतिखेर वस्तु बन्छ अनि उसको पनि बजारभाउ बढ्छ–घट्छ। चुनाउको मौसम आएपछि मतदाता (भोटर) र ती मतदातालाई खरीद–बिक्री गर्ने चतुर नेता (जसलाई सोटर भनी बोलचालको भाषामा सम्बोधन गरिन्छ) को पनि ह्वात्तै भाउ बढ्छ। कोरोनाभन्दा पनि छिटो र प्रभावशाली ढङ्गले बढ्छ।
व्यापारमा आजको विश्वमा यी शब्दहरू निकै प्रचलित भएका छन्– मार्केट, सप्लाई, सर्टेज, एक्सपोर्ट, इम्पोर्ट, बिजनेस, टे«ड, बैंकिङ, दलाली, नाफा, नोक्सान, कर (टैक्स) छली, परसेन्ट, एभरेज इत्यादि।
हामी हिन्दूहरू वर्षमा एक दिन कुकुरको पनि पूजा गर्छौं। अनि भन्छौं एक वर्षमा भएपनि एक दिन सबैको पालो आउँछ। यो हाम्रो मुलुकमा श्रीमान् नेताजीहरूका केही नेत्रीहरूको बजार भाउ निकै चर्को भएको छ। जेहोस्, खरीद–बिक्रीका लागि राजनीतिक बजारमा नेता र नेत्री भनाउँदाहरू बेच्न राखिएका शोकेशका जिनिस भएका छन्। विकास युग हैन, दासयुग आए जस्तो छ।
जता बढी मोल पाइन्छ, उतैतिर टाँसिने (बिक्री हुने) सुनौलो अवसर अहिले प्राप्त भएको छ। अर्थात् बजारमा राम्रो मोलमा खरीद–बिक्री भइरहेको छ, नेता भनाउँदो जिनिसको। दशैंमा भेंडा, खसी, बाख्रा, बोका बिकेझैं।
यस्ता जिनिस किन्ने पनि के कम। नाउँ चलेका पार्टीले खरीद–बिक्री गर्न थालेपछि बजारमा गर्मी त आइहाल्छ नि। पाँचोटा सांसद ल्यायो भने दुई मन्त्रालय पक्कापक्की पाइने। यो फिक्स प्राइस होइन। मोलतोल, बोलकबोल सबै गर्न मिल्छ। यो दाम र नाम कमाउने सुनौलो अवसर घरीघरी पटक–पटक पाइन्न भन्ने ज्ञान सबै दलका दलालहरूलाई दिलैदेखि थॉछ। यस्ता दलभङ्गक नेताहरूलाई सधैं दशैं सधैं फागु १
अब हेर्दै जानुस्, कसले कतिलाई कतिमा किन्छ, कतिले आफ्नो कति भाउ लाउँछ– कति रमाइलो छ, गरीब देशको महँगो बजार। बजारमा हजार यै हो।
पैसा कमाउन विदेश जाने लाटाहरूले अब खुरुक्क राजनीतिमा छिरेर, भ्रष्टाचार र अत्याचारको हतियार भिरेर, आफ्नो पुख्र्यौली गरीबीलाई चिरेर, बडे नेताजीलाई अलिकति रकम तिरेर आफ्नै देशमा बसी आफ्नै देशलाई मुसाले झैं अरूले चाल नपाउने गरी कुटकुट खाए त भइहाल्यो नि। खाडी मुलुकको गर्मी खानुभन्दा त आफ्नै देश खाएर बसे हुन्न र ? थोडा खाना बनारस रहना सुन्या छैन ?
यो राजनीतिको बजार कहिल्यै मत्थर हुँदैन। सबैलाई फोहरी खेल खेल्न रमाइलो लाग्छ। यो फोहरी खेलमा कमाएको कालो धनमा कुनै टेक्स लाग्दैन। टैक्स फ्री बिजनेस १
पहिले जस्तो बलियो देशले कमजोर निर्धो देशलाई आफ्नो उपनिवेश बनाउने चलन अब हराउन थाल्यो। अब त आर्थिक उपनिवेश बनाउने नीति धनी र बलिया देशहरूले अपनाएका छन्। नेपालकै बजारमा हेरौं भारतीय र चिनियाँ सामानले एकछत्र राज गरेको देखिन्छ। आर्थिकरूपले हाम्रो नेपाल चैं यी दुवै बाहुबली देशको उपनिवेश भएन त ?
प्रधानमन्त्रीको कुर्सी खोस्न खोज्ने एकथरी, हैन म त बहुमतको नेता–कुर्सी ता छाड्दैन है १ भन्ने अर्काथरी। यी दुई साँढेको जुधाइमा बिचरो नेपाली जनता बाछो मिचिएझैं मिचिने, चेपिने, मर्ने अवस्था आइसक्यो। अनि यो तानातान र हानाहानमा माननीय र माननीयहरूको मोल त आकाशिने नै भयो।
तर दुःखद कुरो त के चै छ भने नेपाली जनतालाई सधैं भेंडा बनाएर राख्ने प्रवृत्ति हाम्रै नेताज्यूहरूमा टन्न भरिएको छ। जनतालाई पनि उनीहरू किनबेच गरेर, आफ्नो दुनो सोझ्याउन सिपालु छन्।
विरोध जुलुसमा सहभागी गराएर विशाल जनसमुदाय देखाउन सोझासाझा, निमुखा, निरक्षरहरूलाई किनेर ल्याएको तथ्य यौटा टिभी च्यानलले हालसालै देखाएको थियो। यस्तै रहेछ, यहाँको चलन...१ भन्दै गीत गाए हुन्छ। रोइरहनुभन्दा गाइरहनु–राम्रो हैन र ? कसको समर्थन र कसको विरोध गर्न जुलुसमा सामेल भएको हो, त्योसमेत थाहा छैन भन्ने जुलुसे त पक्कै किनबेचमा परेकै हो।

महलमा विलासिता र झुपडीमा चोखा–भात

महलमा विलासिता र झुपडीमा चोखा–भात


राजेश मिश्र

‘नइखे कुछु त, भात–चोखा बना दीह, सुनलु।’ एक समय थियो, जतिबेला सामान्य नागरिकलाई खानाको लागि भात र चोखा मात्र सम्भव थियो। विगतकालका देहाती जीवनशैलीमा भात र चोखा निर्विकल्प भोजन थियो भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला। सम्पन्न परिवार वा राज्यका हुकुमाधिराजसँग आबद्ध पात्रजनबाहेक सामान्यवर्गको हैसियतमा थरीथरीका व्यञ्जन, मनोरञ्जन र विलासिता स्वप्न जस्तै थियो। उतिबेला रानीगंज दरबार, कलैया दरबार, सिम्रौनगढलगायत विभिन्न दरबारमा नृत्य र सङ्गीतको धुनमा मदिरापानसँगै राजा, महाराजाहरूको विलासिता उफानमा थियो। अर्कोतर्फ आमजन माटोको घरमा भात र सागपातको चोखा खाइरहेको हुन्थ्यो। अन्ततोगत्वा पुर्खाहरूको अश्रुजनित शापले विलासीजनहरूको पापकर्म ध्वस्त भयो र आज हामी गणतन्त्रात्मक व्यवस्थामा छौं।    
जीवनका कैयौं दशक पार गरिसकेका पुरनियाँहरूको विगतकालका तन्त्रको सम्झना ह्दयविदारक नै भन्नुपर्छ। उनीहरूका अनुसार राणाकालीन र शाहीकालीन शासन व्यवस्थाताका राज्यमा हुकुमत चलाइरहेका पात्रहरूले मद्यपान, नृत्य र गीत–सङ्गीतमा रमाइरहेका बेला हाम्रा पुर्खाहरू तरकारीको अभावमा भात र चोखा खाएर जीवन धानिरहेका थिए। गाउँदेहातमा पाइने सागपातको चोखा नै भात वा रोटीसँग उपभोग गरिन्थ्यो। खेंसारी, बथुवा वा अरुईलगायतका सागपात तरकारी वा चोखाको रूपमा उपभोग हुन्थ्यो। केही पनि उपलब्ध नभएको खण्डमा खुर्सानी, नून र तेलको मिश्रण भातसँग उपभोग गरिन्थ्यो।
आलु, भन्टा र खुर्सानीको चोखा जस्ता स्वादहरू विशुद्धरूपमा देहाती परिवेशका उत्पत्ति हुन् भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला। यो बेग्लै कुरा हो कि आज यो देहाती परिकार खानामा थप स्वादको रूपमा प्रचलनमा छ। चोखाको सम्झना भएमा मात्र पनि मुखमा पानी नआउने कोही नहोला। जाडोको महीनामा प्रायः उपभोग गरिने देहाती पारम्परिक खाजा ‘भुजा र चोखा’ देहातको पहिचान हो। घोन्सारमा भुजेको आनन्दी चामलको भुजा र घोन्सारको भट्टीमा पकाएको भन्टा वा आलुको चोखाको आनन्द लिनेहरूबाहेकलाई उक्त देहाती भोज्य पदार्थको स्वाद स्वप्न जस्तै हो। दिनभरि खेतमा काम गरी घर फर्किएका किसान खाजाको रूपमा भुजा र आलु वा भन्टाको चोखा खान्थे। पानी खाएपछि मुखबाट निस्कने ‘आह’ युक्त ध्वनिले मन कति प्रफुल्लित होला भन्ने कुरा प्रत्यक्ष अनुभूति गर्नेबाहेकलाई अनुमान गर्न कठिन छ। धानको नियारीले निर्मित ‘तरई’ वा बाँस र ‘साबे’को जोरले निर्मित ‘खटिया’ मा बसी ‘दौरी’ (डलिया) मा खाजा खाने देहाती शैली अपवादबाहेक लोपप्रायः छ।

आजका पुस्ताले खानामा ‘चोखा’लाई अपवादको रूपमा लिन्छन्, किनभने समयको गतिसँगै विभिन्न प्रकारका तरकारीको सहज उपलब्धता र सुधारोन्मुख आर्थिक अवस्थाको कारण खानामा ‘चोखा’ हुनैपर्छ भन्ने छैन। यद्यपि आजको परिवेशमा समेत भोजनको रूपमा चोखा र भातमा मात्र आश्रित समुदाय छैनन् भन्न सकिने अवस्था पनि छैन। खानाको सवालमा सम्पन्न वर्गको थालमा सागपातको ‘चोखा’ अतिरिक्त स्वादको रूपमा सामेल होला त्यो भिन्दै कुरा हो तर विपन्न परिवारको लागि भात र चोखा नै निर्विकल्प भोजनको रूपमा आज पनि विद्यमान छ।
पारम्परिक देहाती ‘चोखा’ समयको गतिसँगै शहरीया थालमा मात्र होइन, यसको लोकप्रियता विदेशसम्म पुग्नु देश र देहातको लागि गौरवको विषय हो। कामको खोजीमा विदेश पलायन हुने क्रम अत्यन्त दुःखद भएपनि श्रमिकमार्फत देहातका मूलभूत परिवेश विदेशसम्म प्रवाहित हुनु सुखद पक्ष हो। देहाती जीवनशैलीका विशेषता तथा यस क्षेत्रका प्राकृतिक आयामहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रवाहित गर्नु राज्यपक्षको नितान्त कर्तव्य हो। यद्यपि देहातको उत्थानको निमित्त यस क्षेत्रबाट प्रतिनिधित्व जनाइरहेका पात्रहरूको मानसपटलमा मुख्य सरोकार अङ्कुरित नहुनु स्वार्थी मानसिकताको पराकाष्ठा हो भन्ने भुइँतहको बुझाइ नकार्न सकिंदैन। किंकर्तव्यविमूढताका कारण मूलभूत सरोकार नारा, जुलुस, टिकट, मत र पदलगायतका स्वार्थअनुकूल मानसिकताले देहातको गरिमामय विषयवस्तुहरू ओझेलमा परेका छन् भन्ने जनस्तरको आरोप सो–ह आना जायज हो।
सत्तामा लिप्त पात्रहरूको ह्दयमा ‘जनमत’को अपेक्षाबाहेक स्थान नपाउने भुइँमान्छेको सपना सुख–शान्तिका साथ कम्तीमा पनि सामान्य भोजन र अतिरिक्त स्वादको रूपमा सागपातको चोखा प्राप्त गर्ने आकाङ्क्षा पूरा होला कि नहोला ? जो पुरनियाँहरू जीवनकालमा कैयौं परिवर्तन देखिसकेका छन्, उनीहरूलाई विगतका शासन व्यवस्था र गणतन्त्रीय शासन व्यवस्थाको बीचमा फरक छुट्टाउने सन्दर्भमा प्रायः पुरनियाँहरू निश्शब्द हुन्छन्, किन ? पुरनियाँहरूको अनुभवलाई मान्ने हो भने अचेलको प्रवृत्तिमा एक असल काम गरेर मुद्दती खाता जस्तै जीवनभरि लाभ लिइरहने मानसिकता बढ्दो छ। त्यसैले संविधानले अपेक्षा गरेको परिवर्तन अनपेक्षित क्रियाकलापको चाङभित्र लोप हुँदै गइरहेको छ।
हिजोको शासन व्यवस्थामा संविधानभन्दा पनि व्यक्तिको हुकुम नै सर्वोपरी थियो, जे हुकुम भयो त्यहीं कानून हुने। तर गणतन्त्रमा संविधान सर्वोपरी हो अर्थात् संविधानभन्दा माथि कोही हुँदैन। संविधानमा अङ्कित अक्षरहरू जनताबाट चुनिएका जनप्रतिनिधिहरूले बनाएका हुन्। संविधानको पानामा देश र जनताको मर्म कोरिएको छ। संविधानको मूलभूत परिकल्पनाभन्दा पनि आफूलाई सर्वेसर्वा मान्ने मनस्थिति फरक शैलीमा हिजोकै पुनरावृत्ति हो भन्ने आममानिसको बुझाइलाई नकार्न सकिंदैन।
धेरै यस्ता परिवार छन्, जो आर्थिक अभावको कारण खानामा प्रतिदिन भातसँग दाल र तरकारी उपभोग गर्न अक्षम छन्। उनीहरूको लागि भात वा रोटीसँग स्थानीयस्तरमा उपलब्ध सागपातको चोखाबाहेक अर्को विकल्प छैन। वृद्धभत्ता, एकल महिला भत्ता जस्ता असहायहरूले पाउने सुविधामा आँखा लगाउने बानीले भ्रष्टाचार र कुशासन कति व्याप्त छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ। विगतमा चोखा नै तरकारीको विकल्प थियो। आजको प्रचलनमा ‘चोखा’को महत्व त्यसरी छैन, जसरी हाम्रा पुर्खाहरूको लागि थियो।
केही दशकदेखि दाल र तरकारीको भरपूर उपलब्धताले ‘चोखा’ अपवादमा परेको बुझ्न सकिन्छ। पुर्खाहरूले भोगेको वृतान्त नै ‘स्वविकास’को अवधारणामा देहातीजनलाई उत्प्रेरणा प्रदान गरेको कतिपयको भनाइलाई मान्ने आधारहरू प्रशस्त छन्। जस्तै विदेशमा श्रम बेच्ने र परिवारलाई पाल्ने मनोविज्ञानले परिवारलाई मात्र सुखशान्ति प्रदान गरेको छैन। अपितु राज्यलाई पनि विप्रेषणमार्फत टेवा पु–याइरहेका छन्। देहातीजन सुखशान्ति र प्रगतिका साथै खानाको सवालमा परिस्थिति सुधारोन्मुख छ तर निर्मूल भइनसकेको अवस्था छ।
दिनभरि हलो कोदालो चलाएर पाँच सय रुपैयाँ ‘बनिहारी’ (ज्याला) आर्जन गर्ने नागरिकलाई खानामा विभिन्न परिकार र पुष्टिबर्धक व्यञ्जन कसरी सम्भव हुन सक्छ ? केही धुर घडेरीमा बनेको फुसको झुपडी र एक/दुई कट्ठा खेतमा आश्रित परिवारका पुर्खाहरू जसरी चोखा र भातमा सीमित थिए, उनीहरूका नवपुस्ता पनि त्यसैगरी जीवन बाँच्न बाध्य हुन्छन् भने हिजोका ‘राजा’ र आजका ‘जनप्रतिनिधि’बीच फरक के त ? यो देहातीजनहरूको प्रश्न हो र यसको जवाफ कुनै पात्रसँग छ भने जनताको घरमा पुगेर धुत्र्याइँरहित उत्तर फर्काउने साहस आफूभित्र ल्याउन सक्नुपर्छ।

जाडो र ग्रामीण विज्ञान

जाडो र ग्रामीण विज्ञान


सञ्जय मित्र

प्रकृतिले सबै थोक दिएको छ, मानिसलाई। प्रकृतिबाट मानिस निकै प्रभावित छ। मानिस जतिसुकै प्रकृतिबाट टाढा भाग्न खोजे पनि प्रकृतिले मानिसलाई भाग्न दिएको हुँदैन। अहिले पनि ज्ञान र विज्ञानले उत्कर्षता प्राप्त गरिरहेको समयमा पनि प्रकृतिको महत्व कम भएको कसैले भनिरहेको छैन। विज्ञानले विकास गर्नुपर्दछ तर प्रकृतिलाई हानिनोक्सानी पु–याउनुहुँदैन भन्ने मान्यतामा पनि कमी आएको छैन। बरु प्रकृतिको संरक्षणले मानवजीवनको सम्पन्नता सम्भव छ भन्न थालिएको छ।
परिवेश अनुसार पृथ्वीका विभिन्न ठाउँमा विभिन्न किसिमका मौसम रहेको देखिन्छ। नेपालकै उत्तरमा अधिकांश समय जाडो हुने हुँदा लगभग एकै किसिमको मौसम हुन्छ तर जाडो कम हुने र जाडो धेरै हुने दुई मौसम भन्न सकिन्छ। त्यहाँको शब्दावलीमा जाडो र गर्मी होला तर यही नेपालकै दक्षिणी क्षेत्रका मानिसका लागि त्यहाँ जेठमा पनि जाडो हुनु स्वाभाविक हो। हिमाली क्षेत्रमा वर्षाको मौसम हुँदैन भनिन्छ वा पानी निकै कम पर्ने तथा पानीको साटो हिउँ पर्ने हुन्छ। पहाडमा भने जाडो, गर्मी र वर्षा गरी तीन मौसम हुन्छन्। तराईमा कहिल्यै हिउँ पर्दैन। तर पनि जाडो भने हुन्छ। यहाँका बासिन्दाका लागि धेरै जाडो हुने समयमा पनि हिमाली क्षेत्रका मानिसका लागि खासै जाडो हुँदैन यहाँ। हिमालका केही मानिस जाडो छल्न यहाँ झर्ने गर्दछन् र यहाँका बासिन्दाले अत्यन्त धेरै जाडोको अनुभूति गरिरहेको समयलाई पनि जाडो त छैन है भन्दै कुरा गरेको सुनिन्छ। अनुभव बताएको सुनिन्छ।
तराई–मधेसमा वार, महीना, ६ ऋतु र तीन मौसम हुन्छन्। हरेक मौसमका आफ्नै विशेषता छन्। गर्मीमा मानिस घरबाहिर जहाँ पनि बस्न सक्ने हुन्छन्। गर्मी छलेर बस्नुपर्ने भएकोले कम कपडा भएका विपन्न समुदायलाई पनि केहीको अभाव अनुभव हुँदैन। वर्षामा भने छानो चुहिने नहुँदा राम्रो हुन्छ र बाढीले धेरै नसताउँदासम्म बाँच्न खासै असजिलो हुँदैन तर जाडोको मौसम भने निकै निर्दयी हुन्छ। जहाँ गए पनि जाडोले छोड्दैन। जाडोबाट सबैभन्दा प्रभावित हुने वर्ग त निम्न नै हुन्छ। जाडोको पारो जति धेरै चढ्दै जान्छ, सुविधाविहीनहरूमा चिन्ता र समस्या दुवै बढ्दै गएका हुन्छन्।

अहिले सुविधाको युग पनि हो। हुनेखानेको लागि अनेक सुविधा छन्, बजारमा। सुविधा र सुख किनेर पाइन्छ भन्ने भ्रम बढेको युग हो। बजारको चमकदमकले विपन्नलाई किन छुँदैन भने पहुँच हुँदैन। पहुँच नभएपछि जाडो त भोग्नुपर्छ। जाडोजस्तो कठिन समय गरीबको लागि केही पनि हुन्न। जाडोको समय विपन्नहरू आफ्नै किसिमले बिताउने गर्दछन्। सबैभन्दा बढी उपयोग आगोको गर्दछन्।
पहिले मानिस जाडोभरि परालको ओछ्यान लगाउँथे र परालबाटै बनेको सुकुल ओढ्ने गर्दथे। ओढ्ने र ओछ्याउने परालको भएपछि जाडो लाग्दैन भन्ने मान्यता थियो। यसै कारण अझै पनि कतिपय विपन्न परिवारमा प्लास्टिकको बोरालाई काटेर ठूलो बनाइ त्यसभित्र पराललाई टुक्राटुक्रा पारेर हालिन्छ र परालकै नरम ओछ्यान बनाएर सुतिन्छ। अब त सुकुल ओढ्ने चलन करीब–करीब हटिइसकेको छ तर अवशेष भने छँदैछ। अति अशक्त परिवारलाई कम्बल तथा सिरक कतैकतैबाट प्राप्त हुन्छ। यी दुई ओढ्नेलाई अन्य काममा त्यत्ति प्रयोग गरेको पाइँदैन।
न्यानो कपडा भनेकै एउटा ओढना हो गरीबको लागि। सम्भव भए सुइटर वा एउटा पूरा बाहुला भएको सर्ट लगाएर गाउँघरमा ओढना भनिने चादर ओढेर लगभग पूरा जीउलाई जाडोबाट जोगाउने प्रयत्न हुन्छ। ओढनाले टाउकोदेखि कम्मरसम्मको भागलाई सजिलै छोपेको हुन्छ। यसले गर्दा जाडो भगाउन सजिलो हुन्छ। ओढना ओढेर काम पनि गर्न मिल्ने भएको र काम गर्दा अलिकति गर्मी पनि महसूस हुने हुन्छ। भित्रैबाट गर्मी महसूस गराउन पनि कतिपयले जाडोमा अलिक बढी मिहिनेत गर्दछन्।
आगोको बहुमुखी प्रयोग विपन्न समुदायमा हुन्छ। आगोले विपन्न समुदायलाई सबै क्षेत्रमा सहयोग गर्दछ।
जाडोमा गाउँघरमा अहिले पनि के सोचाइ छ भने खाना तात्तातो खानुपर्दछ। तातो खाना खाँदा राम्ररी पच्छ र शरीरले ऊर्जा प्राप्त गर्दछ। अझ अति विपन्न समुदायका मानिस खाना खानेबेलामा सकेसम्म आगोको नजीक नै बसेर खाना खाना खोज्दछन्। घरमा चुलोमा खाना पकाएको अवस्था छ भने चुलोको आगोनेर नै खाना खान्छन् र यदि घरमा भाइबुहारी अथवा बुहारी छिन् भने घरबाहिर आँगनमा कतै घुर लगाएको ठाउँ वरपर खाना खान्छन्। बिहानको खाना हो भने सकेसम्म घाम नै रोज्ने गर्दछन्। खाना खाइसकेपछि अझै पनि धेरै मानिसले ज्वानो खाने गरेका छन्।
खाना खाने कलामात्र होइन, के खाने र कस्तो खाने भन्ने विषयमा पनि ग्रामीण समुदायमा आफ्नै किसिमको सचेतना रहेको छ। के खाँदा शरीरलाई चीसोबाट बचाउँछ र के खाँदा जाडो हुन्छ वा जाडोबाट शरीरलाई पार्ने दुष्प्रभावलाई अझ बढाउन सहयोग गर्दछ भन्ने विषयमा ग्राम्य विज्ञान परम्परागत दृष्टिकोणले नै सचेत छ। के कुरा खानै हुँदैन भन्ने कुरामा अहिले पनि ग्राम्य जीवनले नाघ्न सकेको छैन। सम्भवतः धेरै किसिमका चाडपर्वको प्रकृतिलाई अध्ययन गर्ने हो भने यस कुरालाई बुझ्न सकिन्छ। जाडो महीनामा मनाइने परम्परागत पर्वहरू आफ्नै किसिमका रहेका छन्। यस मौसममा मनाइने चाडपर्वहरूका खान्गी पनि मौसम सुहाउँदो र शरीरलाई ऊर्जा दिने किसिमका नै रहेका छन्।
घरमा कसैलाई रुघा लागेको वा खोकी लागेको अवस्था छ भने बिहान र बेलुकी तातो पानी खान्छन्। खाना पनि तातो, घाम वा आगोनजीक बसेर खाना खाने र तातो पानी खाएर जाडोलाई छल्ने र आफूलाई सकेसम्म स्वस्थ बनाइराख्ने कला ग्राम्य जीवनबाट अझै पनि हराइसकेको छैन।
ग्रामीण जीवनमा अझै पनि पराल, आगो, तातो पानी जाडोसित जोडिएका छन्। नवयुवक तथा भद्र पुरुषहरू घुरनजीक वा आसपासको ठाउँमा उभिएर वा बसेर सामाजिक गफगाफ वा छलफल गर्दा जाडो बितेको पत्तै पाउँदैनन्। ग्राम्य जीवनलाई बुझ्न अझै पनि गाउँ नै रहेको जनजीवनलाई बुझ्नुपर्ने हुन्छ।

Friday, December 25, 2020

राजनीतिक ‘ब्लैक होल’

राजनीतिक ‘ब्लैक होल’


राजेश मिश्र

‘सब काम ‘चोखा’ हो गइल’ अर्थात् सबै काम ‘खराब’ भयो। देहातमा खाना वा खाजासँग खाइने आलु वा भण्टाको चोखा स्वादिलो त हुन्छ नै यदि घोन्सारमा पकाएको रहेछ भने त स्वादको कुरा वर्णन गरेर साध्य छैन । कडा परिश्रम गरेर प्राप्त गरेको सफलता आफ्नै गलतीको कारणले असफलता उन्मुख भएको सन्दर्भमा काम ‘चोखा’ भयो भन्ने शब्द देहातमा प्रयोग गर्ने प्रचलन धेरै पुरानो हो । ज्योतिषशास्त्रका अनुसार ग्रहगोचरको अनुकूलता र प्रतिकूलताको प्रभाव मनुष्यमाथि मात्र होइन देशमाथि पनि पर्दछ । ग्रहगोचरकै प्रतिकूलताको असर होला, पार्टीभित्रको किंचलो अन्ततोगत्वा देशलाई आर्थिक भार पर्नेगरी उदीयमान भएको छ । कोरोनाबाट थलिएको देशको अर्थतन्त्र मध्यावधि चुनावले झन् थला पार्ने सम्भावनालाई नकार्न सकिन्न । सत्तापक्षबाट भएको पछिल्लो निर्णय देशहितको सवालमा शिशुकालीन गणतन्त्र ‘चोखा’ भएको छ भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला ।
देहाती एक कथा यस प्रकार छ । धोबीसँग एक घोडा र एक गधा थियो । एक दिन धोबीले गधामाथि लुगाको विशाल बोझ लादिदियो । घोडामाथि केही लादेन । गधाले ठूलो भार बोकिरहेको थियो । घोडाले गधालाई भन्यो, बोझमध्ये केही मलाई पनि देऊ । गधाले अस्वीकार ग¥यो । केही समयपछि गधाले बोझ सहन सकेन र लड्यो । वर्तमान राजनीतिक घटनाक्रम पनि देहाती कथा गधा र घोडाको कथासँग मेल खान्छ ।

सडकको धूलो, खेतको हिलो, हुस्सु र शीतलहरसँग पौंठेजोरी गर्ने आमजनको मत पाएर एसी गाडी र पाँच तारे होटलको वासनामा लिप्त पात्रहरूको लागि प्रत्येक वर्ष चुनाव आए पनि केही फरक नपर्ला । तर देशलाई फरक पर्छ । अर्थतन्त्रलाई फरक पर्छ । आममानिसलाई फरक पर्छ । देशको अर्थतन्त्रलाई धराशयी पार्ने काम कहिल्यै पनि भुइँतहबाट भएका उदाहरणहरू संसारमा पाइँदैनन् । सरकारको स्वामित्वधारी र शीर्षस्थजनबाट भएका त्रुटिको भर्पाइ अन्ततोगत्वा चर्को कर आदि विभिन्न स्वरूपमा नागरिकबाट असुल्ने विधि जनमनलाई चेतना छैन भन्ने होइन । यद्यपि विगतको निरङ्कुशतन्त्र होस् वा वर्तमानको गणतन्त्र होस्, राजनीतिक ‘ब्लैक होल’मा देश र जनताको आकाङ्क्षालाई स्वाहा पार्ने क्रम निरन्तर छ ।
चाँदीमा सुनको कैयौं तहको लेप लगाए पनि बाहिरी आवरणमा सुन जस्तै देखिने चाँदीलाई सुनको मूल्यमा बिक्री गर्न सकिंदैन । अर्थात् राजनीतिक चरित्र देखावटीभन्दा पनि देश र समाज अनुकूल हुनुपर्छ । त्यसो भएन भने सो¥ह शृङ्गार गरे पनि आमजनको मानसपटलमा सकारात्मक चित्र कोर्न असफलप्रायः नै हुन्छ । आफ्नै पार्टीभित्र गुटबाजी, निषेध र वञ्चितीकरणको पराकाष्ठाका साथै चरम अस्थिरता र सङ्कटमा सिङ्गो मुलुक फस्ने भएपछि अग्रगामी र समावेशी संविधानको दाबी गरिएको संविधान मिथ्या र भ्रामक हुन पुगेको अनुभव भएको छ । राजनीतिक चरित्र सत्तामोह र स्वार्थमोहमा आधारित रहेसम्म देशको कल्याण असम्भव प्रायः छ । राज्यको ढुकुटीमा स्वाहातन्त्रको शैली विद्यमान रहुन्जेलसम्म देशको विकास र प्रगतिपरक निकासको सवालमा निरङ्कुशतन्त्र र गणतन्त्रमा भिन्नता महसूस हुुनु दिवास्वप्न जस्तै हो । त्यसैले गणतन्त्रलाई ‘चोखा’ बनाउने कार्य जनस्तरलाई कुनै पनि पक्षबाट अपेक्षित छैन ।
मङ्सिर र पुस महीना हेमन्त ऋतु अर्थात् जाडोयाम भएपनि पछिल्लो राजनीतिक घटनाक्रमले राज्यमा गृष्मऋत उत्पन्न गरिदिएको छ । पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्रभाव घट्दै जान्छ र कहिलेकाहीं मात्र सूर्यको तप्त किरण पर्ने हुनाले यी महीनाहरूमा शीतलहर र कुहिरोका साथै अत्यधिक जाडो हुने गर्दछ । पुस महीनामा चाडपर्व र वैवाहिक क्रियाकलाप शून्यप्रायः हुने हँुदा सामाजिक व्यस्तता ठप्प नै भन्नुपर्छ । धानबाली भिœयाउने कार्यदेखि गहुँ/तेलहन बाली लगाउने कार्य सम्पन्न भई खेतीकिसानीमा समेत सामान्य सक्रियताबाहेकको गतिविधि पाइँदैन । यद्यपि शीतलहरको कारण गाउँदेहात सुस्त रहेको वर्तमान अवस्थामा सिंहदरबारको तापमान देशैभरि प्रवाहित भइरहेको अवस्था वर्तमान परिप्रेक्ष्य हो । सत्तारूढ नेकपा जुन कारणले गर्दा फुट्यो, ती कारणमा जनताको चासो र हितको कुनै मुद्दा छैन । सरकारलाई सधैं दबाब दिएका पक्षले आफ्नो पार्टीको चुनावी घोषणापत्र कार्यान्वयन गर्ने दबाब कहिल्यै दिएको सुनिन्नथ्यो । कोरोना महामारीको यति गम्भीर अवस्थामा जनता अभावले ग्रस्त भइरहेको र भविष्य खतरामा परेका छोराछोरी पाशविक कष्ट पाउँदा पनि नेकपाको नेतृत्वमण्डलीले नेता व्यवस्थापनको विवादमैं केन्द्रित भएर अमूल्य समय खेर फाल्यो ।
जाडोको महीनामा प्रायः उपभोग गरिने देहाती पारम्परिक खाजा ‘भुजा र चोखा’को स्वाद राजनीतिक घटनाक्रमले अस्वादिलो बनाइदिएको छ । आनन्दी चामलको भुजा जस्तै राष्ट्रमुखी राजनीतिक परिवेशसमेत लोपोन्मुख छ भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला । राष्ट्रिपति विद्यादेवी भण्डारीबाट आइतवारको दिन जारी सूचना अनुसार संविधानसभा विघटन भइसकेको अवस्था छ । यसर्थ संविधानसभाका सदस्यहरू यतिबेला निवर्तमान सभासद् भइसकेका छन् । केपीशर्मा ओलीको निर्णयप्रति उनको पार्टीमा मात्र होइन अन्य दललगायत जनस्तरसम्म समेत विरोधाभास देखिन थालेको छ । सङ्ख्यात्मकरूपमा राजनीति गर्नेहरू हजारौं छन् तर गुणात्मकरूपमा न्यून । त्यसैले जनतालाई किन्न सकिन्छ भन्ने दरिद्र सोचले धेरै राजनीतिकर्मी आक्रान्त छन् । राष्ट्र र जनतालाई तुच्छ अनि विदेशी शक्तिलाई उच्च मान्ने असन्तुलित मनस्थिति नेपाली राजनीतिको ठूलो रोग हो ।
देहातीजन ‘दाल रोटी खाओ, प्रभुका गुण गाओ’तर्पm आकृष्ट रहेको बेला सरकार भने ‘चित भी मेरा, पट भी मेरा’को अवस्थामा रहेको सन्दर्भले आमजनलाई चिन्तित बनाएको छ । शिशुकालीन गणतन्त्रलाई बचाउनेभन्दा पनि आआफ्नो स्वार्थसिद्धिप्रति लालायित राजनीतिक संस्कार विकसित हुनु किंमार्थ उचित होइन । संविधान र सोको मूल्यमान्यताको धज्जी कसैले पनि उडाउनुहुँदैन । नियत सर्व अनुकूलाय हुनुपर्छ । देश र नागरिकको दीर्घकालीन हितजन्य कर्तव्यदेखि विमुख हुनुहँुदैन भन्ने सरोकारप्रति शीर्षस्थजनलाई अन्तर्बोध हुनु जरूरी छ । राष्ट्र र राष्ट्रको अर्थतन्त्र जोगाउने सन्दर्भ र सर्व हितायको सवालमा इमानदारीपूर्ण कर्तव्य अपेक्षित छ ।

फरक समाचार

Find us