Showing posts with label वाटिका. Show all posts
Showing posts with label वाटिका. Show all posts

Friday, August 7, 2020

बुबाको शब्दले मुटुभित्र तरङ्ग उत्पन्न भयो

बुबाको शब्दले मुटुभित्र तरङ्ग उत्पन्न भयो

- राजेश मिश्र
    ‘मेरो आदर्श व्यक्तित्व मेरा आमाबुबा हुनुहुन्छ’ भनिरहँदा उनको आँखा रसाएको थियो। उनी हुन् पोखरिया नगरपालिका वडा नं. १ वनकटवाका सेवानिवृत ६६ वर्षीय डा जगतनारायण गिरी अर्थात् जे.एन. गिरी। अग्लो कदकाठी, गोरो र सरल स्वभावका धनी उनी दुई सन्तानका पिता हुन्। बाल्यकालदेखि नै खेतखलियानसँग अपनत्व कति छ ? भन्ने कुरा उनको भावनाबाट प्रस्ट झल्किन्छ। उनले भने– “हर, फार र कुदार आदि कृषिऔजार मात्र होइनन्, अपितु हाम्रो उन्नतिका सारथि पनि हुन्।” आफ्नो जीवनयात्रा खेतखलियानबाट प्रारम्भ भएको उनले बताए। सेवानिवृत्त भएपछि छोराबुहारीसँगै उनी वीरगंज बस्दै आएका छन्। हालै वीरगंजमा बढ्दो कोरोनाको सङ्क्रमणलाई मध्यनजर गरी प्रशासनले दोस्रो निषेधाज्ञाको सूचना जारी गरेपछि उनी जन्मथलो वनकटवा हानिए। गाउँदेहातको शुद्ध हावापानीमा पत्नीसँगै दिनचर्या राम्ररी बितिरहेको उनले बताए।

    विसं २०११ मा पाँचजना दाजुभाइ र एकजना बहिनीमध्ये परिवारमा तेस्रो सन्तानको रूपमा उनको जन्म भयो। परिवारका अन्य बालबालिका जस्तै उनको पनि शारीरिक वृत्तिविकास हुँदै गयो। ६ वर्षीय बालकलाई एक दिन बुबाले भने, “भोलिदेखि तिमी पढ्न जानुपर्छ।” बुबाको मुखबाट यति कुरा सुनेपछि ठूल्दाइ जस्तै अब मैले पनि पढ्न जानुपर्छ भनेर उनलाई असाध्यै रमाइलो लाग्यो। तर बालपन स्वभाव अनुसार उनले सोचे कि पढाइ भनेको चिनियाबेदाम (देहाती एक प्रकारको खेल) जस्तै त होला नि। गाउँबाट झन्डै आधा कोस उत्तर लमरिया भन्ने गाउँदेहातबाट उनको शैक्षिक यात्रा शुरू भयो। भारतको तिरहुतबाट आएका शिक्षक गाउँमा बास बस्दथे र पढाउँथे। ती शिक्षकहरूले कखरा र पहाडा (टेबल)लगायतका अनौपचारिक शिक्षा मात्र दिन्थे। शुल्कको रूपमा शनिचरा/बिफैया अर्थात् प्रत्येक शनिवार/बिहीवार सिधा (चामल र पैसा) दिनुपथ्र्यो। गाउँका साथीहरूसँगै उनी पनि जान थाले। बाल्यकालको अनिवार्य नियम अनुसार पढ्न जान मन नभएको बेला दाइहरूले जबरजस्ती पिठ्यूँमा बोकेर पठनस्थल पु–याइदिएकोे सम्झना उनलाई अति रोमाञ्चक लाग्छ।
    अनौपचारिक शिक्षापछि गाउँदेखि करीब ३ कोस दक्षिण–पूर्व रानीगंजको महोवनी निम्न माध्यमिक विद्यालयको यात्रा कक्षा २ बाट प्रारम्भ भयो। राजेन्द्रप्रसाद चौहान, सदानन्द कुर्मी, अनिरुद्ध गिरी, चन्द्रदेव ठाकुरलगायत गाउँका करीब २० जना विद्यार्थीसँगै उनी पनि विद्यालय जान थाले। उक्त विद्यालयमा कक्षा ७ सम्मको शिक्षा पूरा गरे।

    विसं २०२४ सालमा तत्कालीन जिल्ला उचाङ्गल मावि पोखरियामा कक्षा ८ मा नामाङ्कन भयो। फुसको विद्यालय निर्माण हुने क्रममा रहेकोले चौर र रूखको छहारीमुनि पढाइ हुन्थ्यो। त्यस बेला ठूलोदाइ बाबुनन्द गिरी सोही विद्यालयमा अङ्गे्रजी शिक्षक थिए। शुरूदेखि नै दाइको प्रभावले अङ्ग्रेजी विषयमा उनको रुचि र पढाइप्रति लगनशीलता बढ्दै गयो। दुर्भाग्यवश कक्षा ८ को अन्त्यतिर जीवनको सबैभन्दा ठूलो दुःखद घटना घट्यो। जसको कारण परिवारको शैक्षिक प्रगति हुन थालेको थियो, सोही बाबुनन्द दाइको देहावसान भयो।
    दाइको बिहे भइसकेको थियो र एक छोरा थियो। उनले भने, त्योभन्दा मर्माहत क्षण जीवनमा कहिल्यै आएन। दाइको अभावमा दिनको उज्यालो पनि रातको अँध्यारो समान लाग्थ्यो। बुबा मानसिकरूपले विक्षिप्त हुनुभयो। तथापि आफूलाई नियन्त्रण गर्दै आमासँगै हामी सबैलाई सान्त्वना दिनुहुन्थ्यो। सबैले एक दिन भूलोक त्याग्नुपर्छ भन्दै सम्झाउनुहुन्थ्यो। तर एक्लै हुँदा कसैले नदेख्ने गरी भक्कानो छाडी रुनुहुन्थ्यो। धेरैपटक मैले बुबाको सिरानीमा पानी जस्तै द्रव्य महसूस गरेको छु। मलाई यकीन भइसकेको थियो कि उक्त पानी जस्तो द्रव्य दाइको वियोगमा बुबाको आँखाबाट निस्केको अश्रुधारा हो।
    पढाइलगायत घरसारको काममा मन लाग्न छाड्यो। न त कक्षा ८ को परीक्षा राम्रोसँग दिएँ, न त परीक्षाफल राम्रो आयो। कक्षा ९ मा पनि उत्साहजनक शैक्षिक प्रगति भएन। आफन्त, छिमेकी, गाउँसमाज र बुबाका इष्टमित्रहरूको सान्त्वना र अपनत्वले पारिवारिक जीवन बिस्तारै सहज हुन थाल्यो। बुबा र माहिलो दाइको मिहिनेतले खेतीपातीबाट आर्जित कृषिउपज नै परिवारको प्रमुख आयस्रोत थियो।
    बुबा तथा माहिलो दाइलाई सघाउनुपर्छ र सानाहरूलाई पढाउनुपर्छ भन्ने विचार उत्पन्न भयो। माई
(आमा)सँग विचार व्यक्त गरें। अभिभावकसँग हतपत कुनै प्रसङ्ग राख्न त्यति सजिलो हुँदैनथियो। मैले भनेको कुरा माईले बुबालाई भन्दिनुभयो। एक/दुई दिनपछि हामी खेतमा हुँदा बुबाले भन्नुभयो, “तिमीले जेठोे (स्व. बाबुनन्द) दाइ जस्तो योग्यता हासिल गर्नुपर्छ, अनिमात्र उसको आत्मालाई शान्ति प्राप्त हुनेछ, उसले तिमीलाई धेरै माया गथ्र्यो, पारिवारिक चिन्ता न गर, पढाइतर्फ ध्यान देऊ।” यति भन्दै खेतमा सोहनी गरिरहेका माहिलो दाइलाई ठूलो स्वरमा आवाज दिंदै बुबाले भन्नुभयोे, “साँझके खाद छिटेके परी बवुओ।
    बुबाको शब्दले मुटुभित्र तरङ्ग उत्पन्न भयो। म कक्षा १० मा थिएँ। उक्त विद्यालयको पहिलो ब्याचको एसएलसी परीक्षामा पास हुने दुईजनामध्ये एकजना म पनि थिएँ। त्यसपछि ठाकुर राम क्याम्पसमा नामाङ्कन भयो। जीवनमा के बन्छु ? भन्ने कुरा यतिबेलासम्म मनमा अङ्कुरित भएको थिएन। यतिमात्र कर्तव्यबोध थियो कि म विद्यार्थी हुँ र पढ्नुपर्छ।
    जीवनमा अर्को मोड आयो। माधोपुरका बिकाउ गिरी जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा कार्यरत हुनुहुन्थ्यो। उहाँबाट हेल्थ असिस्टेन्टको लागि विज्ञापन खुलेको कुरा जानकारीमा आयो। बुबाबाट पनि हौसला प्राप्त भयो। पहिलोपटक काठमाडौंको यात्रा गर्नुपर्ने कुराले उकालो–ओरालो बाटो, खोलानाला र पहाड आदिको काल्पनिक ख्यालले प्रत्यक्ष अवलोकन गर्ने कौतुहलता बढ्दै गइरहेको थियो।
    एक दिन बिहान हामी विद्यार्थी साथीहरू चढेको बस काठमाडौंको लागि गुड्यो। हाँस्दै उनी भन्छन्, “बसको साइलेन्सरबाट निस्किने धूवाँ बसभित्रै आइरहेको थियो। आँखा मिच्दामिच्दै रातो भइसकेको थियो।” गाउँका अग्रजहरूले भन्नुभएको थियो, “नौबीसेको उकालो कट्ने बित्तिकै काठमाडौं उपत्यका पोखरी जस्तो देखिन्छ रे।” र उकालो आयो पनि। साथीले कन्डक्टरलाई भन्यो, “दाइ हामीलाई सुन्धारा झारिदिनुहोला, है।” कन्डक्टरले उत्तर दियो, “अन्तिम बिसौनी नै सुन्धारा हो, पुगेपछि थाहा भइहाल्छ नि।” उकालो कट्ने बित्तिकै दाइहरूले भनेझैं शहर देखिएन। करीब आधा घण्टा बस गुडेपछि मात्र शहर देखियोे। बस बिसौनीमा बस रोकियो। हामी झोला लिएर झर्न थाल्यौं। कन्डक्टरले भन्यो, “टाढा नजानू, बस बढी समय रोकिंदैन।” हामीले टोलाउँदै सोध्यौं, “दाइ यो सुन्धारा होइन र ?” रातोपिरो हुँदै कन्डक्टरले भन्यो, “यति चाँडै सुन्धारा आइपुग्छ र। यो हेटौंडा हो।” हामी झस्कियौं। एकजना यात्रीबाट थाहा भयो, अघि कटेको त चुरे पहाड थियो।
    प्राकृतिक र अद्भुत दृश्यावलोकन गर्दै करीब १४ घण्टाको यात्रापछि सुन्धारा पुगियो। रातिको ८ बजिसकेको थियो। धेरैबेर भौंतारिएपछि एउटा कोठा मात्र खाली रहेको लज भेटायौं। एउटै कोठामा झन्डै ८/१० जना हामी बसेका थियौं। कोठाले हाम्रो सङ्ख्यालाई धान्न नसक्ने भएपनि दिनभरिको थकाइले कतिखेर निद्रा लाग्यो, पत्तो भएन। भोलिपल्ट फर्म भर्ने काम भयो। रोमाञ्चक र शिक्षाप्रद काठमाडौंको उक्त पहिलो यात्रा आजीवन बिर्सन सकिन्न।
    रसिया जाने मौका पनि पाएको थिएँ। जीवनको गोरेटोमा शायद उक्त बिन्दु थिएन र पछूतो पनि लाग्दैन। किनभने जीवनमा कतिबेला कुन भाग्यबिन्दु आउँछ, कसैलाई पत्तो हुँदैन। हेल्थ असिस्टेन्टमा छनोट भइसकेपछि जीवनमा पुनः अर्को बिन्दु आयोे। एकजना विवाहको प्रस्ताव लिएर घरमा आए। आगन्तुकलाई बुबाले भन्नुभयो, “पहिले खाना खाऊ, विवाहको कुरा पछि गरौंला।” केटीपक्षले अडि कसे, पहिले वचन दिनुस्, त्यसपछि मात्रै खाउँला। दुवैजनाबीच धेरैबेर खाने विषयमा जुहारी चल्यो। वचन नदिएसम्म खान्नँ भन्दै केटीपक्ष अडानबाट टसमस भएन। हामीकहाँ मान्यता छ, अतिथि देवो भवः। हाम्रो संस्कृतिमा अतिथिलाई देवतुल्य मानिन्छ। अनादर गर्नुहुँदैन। तर आज कोरोनाकालमा अतिथिबाट डराउनुपर्ने अवस्था आइसकेको भन्दै हास्यमय माहोल हुँदै प्रसङ्ग अघि बढ्यो, बुबाले वचन दिनुभयो। विवाह पक्का भयो। विसं २०३० सालमा हेल्थ असिस्टेन्टको कक्षा शुरू हुनुअगावै विवाह सम्पन्न भयो। विवाहमा पालकी र रेल चढेर बेहुलीको घर भारतको बगहासम्म गएको क्षण ताजै छ उनलाई।
    विसं २०३३ सालमा हेल्थ असिस्टेन्ट पदमा सरकारी सेवाको शुभारम्भ भयो। विसं २०३६ सालमा छात्रवृत्ति कोटाबाट महाराजगंज मेडिकल क्याम्पसमा एमबिबिएस पढ्ने अवसर पाएँ। एमबिबिएस सकिएलगत्तै जिल्ला जनस्वास्थ्य प्रमुखको रूपमा काठमाडौंमा पदभार ग्रहण गरे। भरतपुर, नवलपरासीलगायत अन्य जिल्लामा पनि जिम्मेवारीपूर्वक काम गरें। स्वास्थ्य सेवासँग सम्बन्धित विदेशी अनुभव प्राप्त गर्न धेरैपटक र धेरैजसो विदेशको यात्रा गर्ने अवसर पनि पाएँ।
    विसं २०६१ सालमा सरकारी सेवाबाट अवकाश लिएपछि आंशिकरूपमा काम गर्दै आइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)मा पूर्णकालीन आबद्ध भए। नेपालको लागि पोलियो उन्मूलन कार्यक्रम अन्तर्गत खोप संयोजकको रूपमा २० वर्ष काम गरी सन् २०१८ मा डब्ल्युएचओबाट सेवानिवृत्त भएँ। एक जिज्ञासामा उनले भने, “अन्यत्र काम गर्नुभन्दा पनि चिकित्सक जेठो छोराले वीरगंजमा सञ्चालन गर्न लागेको अस्पतालमा सहयोग गर्ने चाहना छ।” वर्तमान अवस्थामा एक अभिभावकको रूपमा सेवानिवृत्त जीवन खुशियालीपूर्वक पत्नी, छोरा, बुहारी, नातिनातिनी र भाइभतिजाहरूसँग व्यतीत भइरहेको छ। सबैले एक दिन भूलोक त्याग्नुपर्छ भन्दै हामीलाई सम्झाउने बुबाका साथै आमा र दुई ठूला दाइ भूलोकको नियम अनुसार परलोकगमन भइसकेको भन्दै आजीवन स्मरणमा रहिरहने बताए।
    कोरोना महामारीको प्रसङ्गमा भने, विश्वव्यापीरूपमा उदयीमान कोरोनाको सङ्क्रमणबाट बच्न ज्येष्ठ नागरिक, बच्चा, बिरामी र गर्भवती महिलाले विशेष सतर्कता अपनाउनुपर्छ र लापरवाही कसैले पनि गर्नुहुँदैन। अनिवार्यरूपमा मास्कको प्रयोग, घरबाहिर जाँदा भौतिक दूरी कायम राख्ने, बारम्बार साबुनपानीले हातधुने लगायतका बानीलाई दिनचर्याको अनिवार्य शर्तको रूपमा निर्विकल्प अवलम्बन गर्नुपर्दछ। अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको मनोबल उच्च राख्ने सवालमा समग्र समाजलाई दायित्वबोध हुनुपर्दछ।
    एक प्रसङ्गमा उनले भने, “छुट्टीमा घर आउँदा बुबाले गाउँदेहातका बिरामीहरूलाई उपचार गरिदेऊ भन्नुहुन्थ्यो, म घरमा रहुन्जेलसम्म उपचार गर्थें र आफूसँग उपलब्ध रहेको औषधि पनि दिन्थें, बुबालाई असाध्यै खुशी लाग्थ्यो।”
यस्तो पनि हुन्छ

यस्तो पनि हुन्छ

- मुकुन्द आचार्य
    कोरोनाजस्तै सङ्क्रामक रोग हो, खेलप्रति पागलपन। कुनै पनि खेलका लागि कुनै पनि प्रेमीको आकर्षण यद्यपि साधारणतया राम्रै मानिन्छ। तर त्यै प्रेम उपद्रोसँग उर्लियो भने त्यस अवस्थालाई हामी जनजिब्रोमा पागलपन भन्छौं। र त्यसका पात्रपात्रालाई बौलाहाको पगरी गुथाइदिन्छौं। ‘बेहुद्दा प्यार में पगला गइल बा’ भन्छन्।
    अचेल क्रिकेटको लोकप्रियता ह्वात्तै बढेको अवस्था छ। क्रिकेटका पागलपन, दिवाना, मस्ताना, परवाना पनि ल्वात्तै बढे। पागल प्रेमी पनि उत्तिकै छन्। जेहोस्, क्रिकेटले र फूटबलले बाँकी अरू सबै खेललाई नराम्ररी पाखा लगाइदियो। अहिले विश्वमा क्रिकेट र फूटबलको दादागिरी चलेको छ। जस्तोसुकै भुच्चड खेलप्रेमीलाई पनि यो सत्यतथ्य थाहा छ। अचेल लाखौं करोडौं कमाउँछन् खेलाडी।
    नेपालको प्रवेशद्वार वीरगंज भएपछि यस द्वारबाट राम्रा–नराम्रा सबैथोक भित्रिन्छन्। क्रिकेट फिभर पनि यतैबाट छिरिहाल्यो। क्रिकेटका परवाना, दिवाना, मस्ताना पनि सोही मात्रामा बढे। क्रिकेट म्याच धमाधम हुन थाले। हाम्रा क्रिकेट खेलाडी पनि देश–विदेश चहार्न थाले, खेल्न–हार्न–जित्न। नाम र पैसा कमाउन। क्रिकेट हीरो बन्न कतिपय होनहार विद्यार्थीले स्कूल क्याम्पसलाई सदाका लागि बाइबाइ–टाटा गरिदिए, क्रिकेटर बन्न। क्रिकेट स्टार बन्न।
    गार्जियनहरूलाई पनि आनन्दै भयो। हाई सञ्चो, चर्को शुल्क तिर्दातिर्दै हैरान भएका गार्जियनले आरामको अनुभूति गरे। साला पिण्ड छुट्यो १ फटिचर विद्यार्थीको फी तिर्दातिर्दा हैरानै...!
    शहरमा भयानक ठूलो विजयी जुलुस निकालियो, खेलप्रेमीहरूले फुर्सतमा भएकाहरूले जुलुसमा सहभागिता जनाए। नगरपरिक्रमा पछि ठूलो सभाको आयोजन भयो। एक सय रन बनाएर आफ्नो टीमलाई जिताउने क्रिकेटर रामकृष्ण हरिजनको भव्य सम्मान गरियो। नगद पुरस्कार दिएर हौंस्याउने त कति थिए कति। रामकृष्ण हरिजन मख्ख नहुने त कुरै भएन। यस्तो गर्मीमा कोट लॉको रामकृष्ण हरिजनका साथीले पनि भव्य खाओ, पियो पार्टीको आयोजना गरे। सो पार्टीमा रामकृष्णले एउटा अचम्मको खुलासा गरे।
    उनले भने, मैले आजसम्म बढीमा दश रन मात्र बनाएको छु। तर यस टुर्नामेन्टमा मैले सेन्चुरी ठोकें र मेरै सेन्चुरीले मेरो टीम विजयी भयो।
    यो कसरी भयो होला भन्ने प्रश्नले तपाईंहरूलाई पक्कै पनि पिरोलिरहेको होला। तपाईंहरूको त्यो पीडा हटाउन म यसबारेमा केही प्रकाश पार्छु। अनि आफैं बुझ्नुस्।
    मैले आजसम्म राम्रो खेल खेल्न सकिनँ। दश रनभन्दा बढी मैले कहिल्यै बनाउन सकिनँ। तर यस म्याचमा मैले सय रन बनाएँ। किनभने आजको म्याच हेर्न मेरो गर्लफ्रेन्ड आएकी थिइन्। म उनलाई राम्ररी इम्पे्रशन दिन चाहन्थें। त्यो मैले सफलतापूर्वक पूरा गरें।
    मेरो गर्लफ्रेन्डलाई मैले एक सेन्चुरी रनको शानदार उपहार दिएँ। अब मेरी गर्लफ्रेन्डसँग म उडेर अमेरिका जाने कुरो निश्चित छ। उनलाई मैले एक सय रनको उपहार दिएबापतमा उनले आफूसँगै मलाई विदेश लाने कुरा पक्का छ। म लाज नमानीकन भन्छु, मेरी उनी त आफ्नो वचनमा सा–है पक्का पो छिन् त। प्राण जाय पर वचन न जाइ।
    नयाँ युवा खेलाडीहरूलाई म के सल्लाह दिन्छु भने, पढाइ लेखाइले आजको युगमा क्यै नाप्दैन। खेलखेलमा नाम र दाम हात पार्न सकिन्छ भने यो पढ्ने र नोकरी गर्ने लठारो किन गरिराख्ने ? राजनीतिमा र खेलकूदमा शैक्षिक योग्ताको कुनै आवश्यकता छैन। ल्याप्चे लाएर पनि डलरको वर्षा गराउन सकिन्छ।
    सबेले धेरै बेरसम्म ताली बजाइरहे।

Friday, July 31, 2020

प्रवासी नेपालीहरूको ह्दयस्पर्शी कामना

प्रवासी नेपालीहरूको ह्दयस्पर्शी कामना


-राजेश मिश्र
    तीन–चार दशकअघिसम्म विदेश र हवाईजहाजको यात्रा सबैको पहँुचमा थिएन। नजीकबाट प्रत्यक्षरूपमा हवाईजहाज हेरेका आँखाहरू नगन्य थिए। पछाडि पल्टिने गरी मुन्टो उठाएर आकाशमा चराको आकारमा मात्र हवाईजहाज हेर्न पाइन्थ्यो। उतिबेला हवाईजहाज कति ठूलो हुन्छ ? कति मानिस सवार हुन्छन् ? कसरी आकाशमा उड्छ ? लगायतका प्रश्नहरूबाट आमजन अनुत्तरित थिए। पुर्खाहरूबाट सुनेका उडनतस्तरीको कथा जस्तै मनोविज्ञान थियो, वैज्ञानिकद्वारा निर्मित हवाईजहाजप्रति। आँखाबाट ओझेल नभएसम्म आकाशमा जहाज निहारेर नथाक्ने उही पिताका सन्तानहरू खेत बिक्री/बन्धक राखेर हवाईजहाजबाट उड्न बाध्य छन्। विदेशमा श्रम गर्न बाध्य छन्।

    पर्साको पोखरिया नगरपालिका वडा नं ६ का एैनुलहक कामको सिलसिलामा साउदी अरबमा छन्। उनले उक्त देशले गरेको कोभिडको व्यवस्थापकीय भूमिकाबारेमा अवगत गराए। यस महामारीको बेला साउदी सरकारको जनउत्तरदायी व्यवस्थापन, काम गर्ने संस्थाको उचित प्रबन्धन र मानिसहरूको स्वसतर्कताका कारण कोरोनाको जोखिम न्यूनीकरण हँुदै गइरहेको बताए। बन्दाबन्दी र निषेधाज्ञा क्रमिकरूपमा हट्दै जनजीवन सामान्य हुँदै गएको छ। उनका अनुुुुसार कोभिड–१९ को महामारीबाट उनी सुरक्षित छन्। साउदी सरकारको नारा हो, “हामी सबै उत्तरदायी।”
    वाणिज्य सङ्कायमा स्नातक गरेका पर्साको पोखरिया नपा–४ का २६ वर्षीय चन्दन रौनियार दुई वर्षदेखि दुबईको एक बैंकमा कार्यरत छन्। दुबईको सरकारले शुरूदेखि नै कोरोनालाई चुनौतीको रूपमा लियो। व्यवस्थापन र कार्यान्वयनको योजना बनायो र सोहीअनुरूप काम थाल्यो। सरकारले भुइँतहसम्म महसूस हुने गरी सराहनीय कदम चालेको बताए। अहिले यहाँ कोरोना सङ्क्रमित घट्दो क्रममा छ र युएईका केही प्रान्त पूर्णरूपमा कोरोनामुक्त भइसकेको अवस्था छ। फलस्वरूप दुबईको जनजीवन सहज हुन थालेको छ। तथापि हाटबजार, सरकारी/निजी कार्यालयलगायत भीडभाड हुने स्थानमा कोरोनासँग सम्बन्धित सुरक्षा व्यवस्था सतर्कतापूर्ण छ। यहाँको सरकार व्यवस्थापनमा पूर्ण सक्रिय छ भने आममानिसको साथ र सहयोग पनि सराहनीय छ।
    उनले आफू सुरक्षित रहेको तथा आवतजावत गर्दा मास्क, पञ्जा र सेनिटाइजरलगायतका सुरक्षा सामग्री अनिवार्यरूपमा प्रयोेग गर्ने गरेकोे बताए। कोरोनाको कारण व्यापारिक कारोबारमा असर देखिए पनि जनजीवन खासै प्रभावित भएको छैन। चन्दनका अनुसार कतिपय उद्योगधन्दा बन्द हुने अवस्थामा छन् र केही उद्योग बन्द भएकाले नेपाली कामदारहरू बिचल्लीमा परेका छन्। धेरैले काम गुमाउनुपरेको छ। दुबईमा झन्डै ३० हजार नेपालीले काम गुमाउनुपरेको उनको अनुमान छ।
    स्तम्भकारसँग धेरैजना प्रवासी/अप्रवासी नेपालीहरूसँग दुःख–सुखका विषयमा कुराकानी भयो। नेपालको आम जनजीवन सामान्य हुनुको सट्टा सङ्क्रमणको त्रास बढ्दै जानुले चिन्तामुक्त काम गर्न नसकिएको सबैजसोको दुःखेसो छ। कोरोना कहरबाट जन्मभूमिले कसरी उन्मुक्ति पाउने हो ? सबैलाई चिन्ता छ। ड्युटी सकिने बित्तिकै नास्ता र खानाभन्दा पनि नेपालको ताजा सामाचारको आतुरता रहन्छ। कोरोना महामारी समुदायमा फैलिइसकेकोप्रति सबैको गहिरो चिन्ता छ। मन दुखिरहेको छ। उनीहरूले नेपालको अवस्था भगवान् भरोसेभन्दा फरक नरहेको भन्दै पीडा पोखे। नेपालको समाचार सुनेर मन दुख्ने गरेको बताए। नेपालको व्यवस्थापन भद्रगोल छ, नीतिनियम राम्रो भएपनि तत्परता र दूरदर्शिता नागरिकमुखी नभएसम्म आममानिसको कठिनाइ कम नहुने प्रवासी नेपालीहरूको चिन्ता छ।
    स्वदेशमा रोजगार नपाएर विदेश हानिएका युवकहरूको सङ्ख्या लाखौंमा छ। थोरैले राम्रो कम्पनी र काम पाए पनि धेरैजसो नेपाली समस्यामा छन्। वैदेशिक रोजगारमा जाने कामदारको कुल सङ्ख्यामा सबैभन्दा बढी प्रदेश नं १ र २ को हिस्सा करीब ५० प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ। सामान्य साक्षरदेखि उच्च शिक्षा हासिल गर्ने युवापीढी विदेशमा श्रम बेचिरहेका छन्। अपवादबाहेक झन्डै तीन–चार दशकअघि दैनिक ३ किलो धान/गहँुमा ज्यालादारी गरेका नागरिकका नवपुस्ताहरू परिवारको भरणपोषणको लागि परदेशमा पसिना बगाइरहेका छन्। प्रवासी नेपालीहरूले परिवारलाई मात्र सुख दिएका छैनन्, अपितु देशलाई पनि विप्रेषणमार्फत् आर्थिक सहयोग पु–याइरहेका छन्। आर्थिक वर्ष २०६५/६६ मा २०९ अर्ब विप्रेषण आएकोमा वृद्धि हुँदै आर्थिक वर्ष २०७५/७६ मा करीब ८७९ अर्ब रुपैयाँ विप्रेषण आएको देखिन्छ।
    प्रदेश २ लगायत नेपालको चिन्तनीय अवस्था, वीरगंज तथा आसपासका जिल्लामा सङ्क्रमितको बढ्दो सङ्ख्या र वीरगंज महानगरमा दोस्रो निषेधाज्ञालगायतका जानकारी सबैलाई छ। नारायणी अस्पताल अन्तर्गतको अस्थायी कोभिड अस्पताल सङ्क्रमितको सङ्ख्या थेग्ने अवस्थामा नरहेको तथा वीरगंजको अवस्था गम्भीर हुँदै गएको विषय प्रवासी नागरिकहरूलाई समेत अवगत छ। त्यतिमात्र होइन, शव व्यवस्थापनमा हालै देखिएको असामाजिक क्रियाकलाप सुनेर प्रवासी नेपालीहरू झन् दुःिखत छन्।
    प्रवासी/अप्रवासी नेपालीहरूका अनुसार कोभिड–१९ को विषम परिस्थितिमा आमनागरिकको उत्तरदायित्व पनि उत्तिकै महत्वपूर्ण छ। जनस्तरमा पनि जिम्मेवारीबोध हुनु नितान्त आवश्यक छ। यो महामारीको नियन्त्रण कुनै पनि एकल पक्षबाट समाधान हुने होइन भन्ने कुरा सबैले आत्मसात् गरी सहयोग गर्नुपर्दछ। तर सरकारीस्तरबाट मात्र सम्भव रहेको कोरोना अस्पताललगायतको व्यवस्थापन नियामक निकायले बोध गर्नु पहिलो आवश्यकता हो।  
    भोजपुरीमा कहावत छ, ‘आग लागी त कुँवा खोदाई।’ कोरोनाको आगो दन्किदो छ तर वीरगंजमा अहिलेसम्म कुँवा (कोभिड अस्पताल) खोद्ने स्थान निर्धारण भइनसकेको अवस्था सञ्चारमाध्यमबाट सुनेर प्रवासी/अप्रवासी नेपाली पनि तनावमा छन्। देश, समाज र परिवारको कुशलता सुनेर आफूहरूलाई ऊर्जा प्राप्त हुँदो रहेछ भने प्रतिकूल परिस्थिति सुनेर मन खिन्न हुन्छ, चिन्ता बढ्छ, काम गर्न मन लाग्दैन। कहिलेकाहीं त नूनरोटी खाएर पनि स्वदेशमैं बसौं भन्ने पनि लाग्छ तर फेरि मनमा अर्को विचार आउँछ, कहिलेसम्म ? तसर्थ आपसी द्वन्द्व त्यागेर देशलाई समृद्ध बनाउतेतर्फ सबैको ध्यानकेन्द्रित हुनुको विकल्प छैन।
    देश, समाज र परिवार नै कठिन परिस्थितिमा रहने हो भने आफूहरू कसको लागि प्रवासनमा ? भन्ने उनीहरूको सरोकार समग्र पक्षसँग छ। कोरोना अस्पताल ठड्याउन एकअर्काप्रति दोष थोपार्ने प्रवृत्तिप्रति उनीहरूको घोर आपत्ति छ। सबैले आफूलाई मात्र चोखो साबित गर्दै समय खेर फाल्ने प्रवृत्ति काम गरिरहेको देशमा नरहेको उनीहरूको भनाइ छ। जटिल परिस्थितिमा एकजुटताले मात्र सहज निकास पाउनेछ भन्ने कुरा मनन गर्न सत्ताधारीलगायत समग्र राजनीतिक दललाई प्रवासी/अप्रवासी नेपालीहरूको अनुरोध छ।
    आफू सुरक्षित रहेको जति बताउँदा पनि परिवारका सदस्यहरूको चित्त नबुझ्ने गरेको महसूस हुन्छ, यद्यपि सान्त्वना दिनुबाहेक विकल्प नरहेको पर्साका एक युवकको भावना लेखेर साध्य छैन। स्वदेशमा काम छैन। काम पाएपनि पेट भर्ने दाम छैन। वृद्ध आमाबुबाको औषधि, बालबच्चाको शिक्षालगायतका खर्च नेपालको आम्दानीले धान्ने नदेखेर विदेशमा काम गर्न आएका हौं। उनीहरूको एउटै लक्ष्य हो, अर्थोपार्जन र परिवारको उत्तम पालनपोषण। देश समृद्ध भए अरूको देशमा काम गर्न आउनै पर्दैन। तसर्थ देशमा अमनचैन कायम गर्न सबैले सोच्नुपर्दछ। रोजगार सृजना भए आफ्नै देशमा सम्मानपूर्वक काम गर्नुको आनन्द भिन्दै हुन्छ।
    प्रवासी/अप्रवासी नेपालीहरूको देशप्रतिको प्रगाढ ममत्व लेखेर साध्य छैन। कोरोनाको यस महाविपत्तिमा देशप्रति चिन्तित छन्। परिवारप्रति चिन्तित छन्। एकबद्ध भई कोरोनालाई पराजित गर्ने जिम्मेवारीप्रति कसैले कन्जुस्याइँ गर्नुहुँदैन भन्ने चाहना छ। प्रवासी नेपालीको तन विदेशमा र मन स्वदेशमा छ। आफ्नो देशको उन्नति होस्, प्रगति होस्, समग्रको एकजुटता होस्, कोरोनाको कहरबाट देशले उन्मुक्ति पाओेस् भन्ने प्रवासी नेपालीहरूको ह्दयस्पर्शी कामना र प्रार्थनाले सत्तालाई सद्मार्ग प्राप्त होस्, देश कोरोनामुक्त होस्।
कर्फ्यू

कर्फ्यू

- मुकुन्द आचार्य
    शब्दकोश लेखन्तेहरूले अपार खुशी व्यक्त गर्दै पार्टी गरे। त्यहाँ घोषणा गरियो– हामी डिक्सनरी तयार पार्ने लेखन्तेहरूले यौटा नयाँ शब्द फेला पा–यौं। त्यो हो– ‘कोरोना’। यो पार्टी त्यै उपलक्ष्यमा हो।
    शब्दकोशमा यसको अर्थमा हामीले लेख्नुपर्छ– यो एकदमै नयाँ खाले रोग हो। सङ्क्रामक बिमारी हो। चाँडै सर्छ तर चाँडै छुट्दैन। लाखौंलाई सोत्तर पार्न सक्छ। मान्छेको घमण्डलाई चकनाचूर पार्न सक्छ।
    त्यसमा थप गर्नुपर्छ– यस सरुवा रोगलाई अलि–अलि जेनतेन रोक्ने प्रयास भएपनि निर्मूल गर्न त गा–है पर्छ।
    यसै क्रममा कतै लकडाउन, कतै कर्फ्यू, कतै आइसोलेशन, कतै सोसल डिस्टेन्स, कतै इम्युनिटी, कतै योग, कतै घरेलु औषधि, कतै स्वाब टेस्ट, कतै दाहसंस्कारको समस्या आदि इत्यादि थुप्रै कर्म कुकर्म हुन थाल्छन्। लोभीपापीले यस्तोमा पनि कमाउँछन्।
    यस बिमारीको रोकथामको क्रममा मान्छेले आफ्नो अल्पबुद्धि प्रयोग गरी शहर, गाउँ, बस्तीमा ‘कफ्र्यू’ लगाएर कोरोनाको कहरभन्दा पनि ठूलो आतङ्क फैलाउनेछन्।
    सकल खाद्य पदार्थको भाउ ह्वात्तै बढेर रेकर्ड कायम हुने गरी महँगी बढ्नेछ। बेच्नेले ग्राहक पाउनेछैनन् र ग्राहकले वस्तु किन्न पाउनेछैनन्।
    देशको अर्थव्यवस्था भताभुङ्ग हुन्छ भन्ने चेत भएका देशका टाउकेहरू आफ्ना लाउकेहरूका साथ कुर्सीका लागि झैंझगडा र महाभारत गर्नमैं रमाउनेछन्। देशमा बज्रै परोस्, देश भड्खालोमा परोस्, उनीहरूलाई त्यस कुराको कुनै चिन्ता रहनेछैन। कोरोनाको निहुँमा जतिसुकै जेसुकै गरे पनि त्यो क्षम्य मानिनेछैन। अरर्बौंको घोटाला हुनेछ।
    हेर्दै जानू, कोरोनाबाट बचेकाहरू लकडाउन र कफ्र्यूले मर्नेछन्। देशमा आतङ्क र त्रास बढाउनेहरूले जहाँ जो मरे पनि त्यसको दोष कोरोनाको थाप्लोमा बजार्नेछन्। तराईतिर यौटा उखान पनि छ– ‘कलवार के बेटा भूख के मारे ढिमलियात होइ त लोग कही जे दारू पिके ढिमलियात बा।’ अर्कै कुनै कारणले, अर्कै कुनै रोगले कोही कतै मरेछ भने पनि कोरोनाले नै म–यो भन्ने दुष्प्रचार गरिनेछ।
    कफ्र्यू र लकडाउनको डन्डाले जनतालाई चुट्ने र आफूहरू चैं नयाँ–नयाँ तरीकाले लुट्ने चोर फटाहाहरू सक्रिय भएर घरी–घरी लकडाउन र कफ्र्यूको प्रयोग गर्नमा अग्रसर रहनेछन्।
    तर सर्वसाधारण जनताले कसरी दिन बिताउलान्, के खालान्, आफ्ना लालाबालाको मुखमा कसरी माड लगाउलान्। त्यतातिर प्रशासन र नेतृत्ववर्गको ध्यान जानेछैन। उनीहरूले कहाँ गएर कसका सामु आफ्नो बह पोख्ने त्यो ठाउँ पनि कतै देखिनेछैन।
   कर्फ्यू र कोरोना दुवैमा रोटीबेटीको सम्बन्ध छ, भनेर पनि कतिपय नेताहरूले जनतालाई मूर्ख बनाउनेछन्।
    समाजमा अनेक असल भेष धारण गरेर नीच काम गर्नेहरू आचीका मूलाझैं मौलाउनेछन्। लकडाउन र कफ्र्यूको अवधिमा। यस्तो मौकालाई उनीहरू गोल्डेन चान्स (स्वर्णिम अवसर) भनेर झन्झन् लुँड्याउन अग्रसर हुनेछन्। राति राति हुने तस्करी, खुला सीमाको सदुपयोग भनेर गरिने तस्करी, पद र प्रतिष्ठाको आधारमा हुने तस्करीलाई कोरोना र लकडाउनले रोक्न सक्लान् ? असम्भव छ।
    यो सब प्रभुको लीला हो भनेर चुपचाप आँखा चिम्लिनेहरूको पनि जय होस्।
    कोही कोही अति ज्ञानीहरू भन्छन्, सरकारसँग मौका पनि थियो, सामथ्र्य पनि थियो, साधनको पनि बेलैमा जोहो गर्न सकिन्थ्यो तर सबै कुर्सीका चार चरणमा सम्झाउनमा व्यस्त भए। अनि जनताको सुरक्षा कसरी सम्भव हुन्छ।

Friday, July 24, 2020

द्रोण पर्व–२०

द्रोण पर्व–२०


 - उमाशङ्कर   िद्ववेदी
    त्यो बाण लाग्ने बित्तिकै कोशलनरेशको ह्दय च्यातियो र उनी रणभूमिमैं लडिहाले, साथै अभिमन्युले त्यहाँ उभिएर अमङ्गलसूचक जयकारा घन्काउँदै गरेका ती दश हजार राजाहरूको पनि वध गरिदिए। यस प्रकार सुभद्रा र अर्जुनकुमार अभिमन्युले बाणहरूको वर्षा गरेर तपाईंका योद्धाहरूको गतिलाई रोकेर रणभूमिमा निर्भय भई विचरण गर्न थाले।
    सञ्जय भन्छन्– तदन्तर कर्ण र अभिमन्यु दुवै युद्ध गर्दागर्दै रक्ताम्यै हुन पुगे। यसपछि कर्णका छजना मन्त्री सामुने आए। ती जम्मैजना विचित्र प्रकारले युद्ध गर्ने खालका थिए तर वीर अभिमन्युले उनीहरूलाई घोडा र सारथिसहित नष्ट पारिदिए तथा अन्य धनुर्धारीहरूलाई पनि दश/दश वटा बाण हानेर घाइते तुल्याइदिए, उनको यो कर्म अद्भुत प्रकारको थियो। यसपछि उनले मगधराजका पुत्रलाई छवटा बाण हानेर मृत्युको मुखमा पु–याइदिएर घोडा र सारथिसहित अश्वकेतुलाई पनि मारिदिए। अनि मर्तिकावतक देशका राजा भोजलाई क्षुरप्र नामक बाणबाट मारेर बाण वर्षा गर्दै सिंहनाद गरे। यत्तिकैमा दुःशासनको छोरा आएर चारवटा बाण हानेर चारैवटा घोडालाई, एउटा बाण हानेर सारथिलाई तथा दशवटा बाण हानेर अभिमन्युलाई घाइते पारिदियो। अनि सातवटा बाण हानेर दुःशासनपुत्रलाई घाइते पार्दै भने– अरे, तेरो बाउ त काँतरझै युद्धभूमि छाडेर भागिहाले, अब तिमी युद्ध गर्न आएका रहेछौ ? सौभाग्यले तिमीले पनि लड्न जान्दो रहेछौ, तर तिमीलाई मैले जीवित छाडनेछैन। यति भनेर उनले दुःशासनपुत्रमाथि एउटा तीखो बाण हाने तर अश्वत्थामाले आप्mनो तीनवटा बाण हानेर त्यसलाई काटिदिए। अनि अभिमन्युले अश्वत्थामाको ध्वजा काटेर तीनवटा बाण हानी शल्यलाई घाइते पारे। शल्यले पनि उनको छातीमा नौवटा बाण हाने। अभिमन्युले शल्यको ध्वजा काटेर उनको पाश्र्वरक्षक र सारथिलाई मारिदिए। फेरि छवटा बाण हानेर शल्यलाई व्यथित बनाइदिए। शल्य त्यस रथबाट भागेर अर्को रथमा गएर बसे। यसपछि सुभद्राकुमारले शत्रुञ्जय, चन्द्रकेतु, मेघवेग, सुवर्चा र सूर्यभास–यी पाँच राजाको वध गरेर शकुनिलाई पनि बाण हानेर घाइते पारिदिए। शकुनिले पनि तीनवटा बाण हानेर अभिमन्युलाई घाइते पारी दुर्योधनसित भने– हेर, यसले पालैपालो गरी हामीहरूलाई मार्दै गइरहेको छ, अब हामी सबैजना मिलेर यसलाई मारिहालौं।

    तदन्तर कर्णले द्रोणाचार्यसित भने–अभिमन्युले पहिलेदेखि नै हामी जम्मैजनालाई कुल्चँदै गइरहेको छ, अब यसको वध गर्ने कुनै उपाय हामीलाई बताउनुहोस्। महान् धनुर्धर द्रोणाचार्यले सबैसित भने– यो पाण्डवनन्दनको फुर्ती त हेर, प्रत्यञ्चा चढाउने र बाण हान्ने बेला उसको केवल मण्डलाकार धनुष मात्र देखा पर्दछ, ए आपूm स्वयम् कहाँ छ, यसको पत्तो नै लाग्दैन। सुभद्रानन्दनले आप्mनो बाणबाट मलाई क्षतविक्षत पारिरहेको छ, मेरो प्राण मूर्छित भइरहेको छ, तापनि यसको पराक्रम हेरेर मलाई हर्ष भइरहेको छ। आप्mनो हातको फुर्तीबाट यसले समस्त दिशामा बाणवर्षा गरिरहेको छ। यतिबेला अर्जुन र यसमा कुनै खासै भिन्नता देखिइरहेको छैन। यो सुनेर कर्णले अभिमन्युको बाणले आहत भएर द्रोणाचार्यसित पुनः भने– आचार्य, अभिमन्युले मलाई बडो कष्ट दिइरहेको छ। मैले साहसपूर्वक युद्धभूमिमा उभिराख्नुपर्दछ यो सोचेर म उभिइरहेको छु। यस तेजस्वी कुमारका तीखा बाणहरूले मेरो ह्दयलाई च्यातिरहेको छ।
    कर्णको कुरा सुनेर आचार्य द्रोण हाँसे अनि फेरि बिस्तारै भने– एक त यो तरुण राजकुमार स्वयम् नै द्रुत पराक्रम देखाउने खालको छ, अर्को यसको कवच अभेद्य छ। यसबाहेक अर्जुनलाई मैले जुन कवच धारण गर्ने विद्या सिकाएको थिए, त्यसबारे निश्चय नै यसले त्यो विद्या पनि जान्दछ। अतः यदि यसको धनुष र प्रत्यञ्चा काट्न सके, बागडोर काटेर घोडा, पाश्र्वरक्षक र सारथिलाई मार्न सके मात्र काम फत्ते हुन सक्दछ। राधानन्दन, तिमी उच्चकोटिको धनुर्धर हौ, यदि तिमीले गर्न सके यतिको गर। सबै प्रकारले यसलाई असहाय पारेर यसलाई रणभूमिबाट भगाऊ र पछाडिबाट प्रहार गर। यसको हातमा धनुष रहुन्जेल यसलाई देउता वा असुरहरूले पनि जित्न सक्दैनन्।
    आचार्यको कुरा सुनेर कर्णले आप्mनो बाणबाट अभिमन्युको धनुषलाई काटिदिए। कृतवर्माले उनको घोडा तथा कृपाचार्यले उनको पाश्र्वरक्षक र सारथिलाई मारि हाले। अभिमन्युलाई रथ र धनुषबाट हीन भएको हेरेर बाँकीका जम्मै महारथीले अभिमन्युमाथि बाणवर्षा गर्न थाले। एकातिर छवटा महारथीहरू थिए, अर्कोतिर असहाय अभिमन्यु, तापनि यी निर्दयी महावीरहरूले त्यस बालकमाथि बाणको ओइरो लगाउँदै थिए। धनुष काटियो, रथको साथ रहेन तापनि अभिमन्युले धर्मको पालन गरे। हातमा ढाल तरबार लिएर ती तेजस्वी बालक आकाशमा चम्किहाले। आप्mनो शक्तिबाट उनी गरुडझंै माथि कावा खाँदै थिए, तबसम्म द्रोणाचार्यले क्षुरप्र नामक अस्त्रबाट उनको तरबारको टुक्रा–टुक्रा पारिदिए तथा कर्णले उनको ढाललाई पनि नष्ट–भ्रष्ट पारिदिए।
    अब उनको हातमा ढाल तरबार पनि रहेन, सम्पूर्ण अङ्गमा बाण बिझेको थियो, त्यसै दशामा उनी आकाशबाट ओर्लेर क्रोधले मुर्मुरिएर हातमा चक्र धारण गरी द्रोणाचार्यतिर झम्टिए। त्यतिबेला उनी चक्रधारी भगवान् विष्णुझैं देखा परिरहेका थिए। उनलाई हेरेर राजाहरू अत्यन्त भयभीत भए तथा सबैजना मिलेर उनको चक्रलाई पनि टुक्रा–टुक्रा पारिदिए। क्रमशः...
- महाभारतबाट सङ्कलन तथा अनुवाद
बेरूजु रकमको महाकुण्डमा जनअपेक्षा स्वाहा

बेरूजु रकमको महाकुण्डमा जनअपेक्षा स्वाहा

- राजेश मिश्र
    ‘रामनाम जपना, राष्ट्रिय धन अपना’ भन्ने उखान अपवादबाहेक शीर्षस्थदेखि भुइँतहसम्मका ओहदाधारीमा फस्टाउँदै गइरहेकोे जनचर्चा व्याप्त छ। बेथिति र अनियमितता झाङ्गिदै जानु खेदपूर्ण हो। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७औं वार्षिक प्रतिवेदनरूपी सागरमा सत्तासीनहरूको कुनियत प्रस्टरूपमा प्रतिविम्बित भइरहेको छ। बदनियतको साक्षात् प्रमाण हेर्नको लागि मलेपकाको प्रतिवेदन सबैले एकपटक पढ्नै पर्ने हुन्छ। चुनावको बेला आफूलाई जनताको सेवक बताउने तर सत्तासीन भएपछि सरकारी ढुकुटी देखेर –याल चुहाउने कुनियतले राजनीतिप्रतिको आस्था र गणतन्त्रको मूलभूत सिद्धान्त ओरालोलाग्दो छ।
    बेरुजु भनेको के हो ? पढेलेखेका एक युवकले देहाती बुबालाई बुझाउने प्रयास ग–र्या। लङ्टुले ठग (कसैको नामसँग मेल खाएमा संयोग मात्र हुनेछ)लाई पाँच सय रुपैयाँ दिएर अढाई किलो आलु खरीद गरेर ल्याउन भन्यो। ठगले रु दुई सयमा अढाई किलो आलु खरीद गरेर ल्यायो। बिलमा भने चाउचाउको रु एक सय थपेर रु तीन सयको बिल पेश ग–यो। रु २ सय निजी काममा खर्च भयो भन्दै पछि दिन्छु भन्योे। लङ्टुले हिसाब मिलान गर्दा ठगले बजार मूल्यभन्दा बढीमा खरीद गरेर भ्रष्टाचार गरेको पायो। आलुमा रु पचास, आदेशविपरीत चाउचाउ रु एक सयको र फिर्ता पाउनुपर्ने रु दुई सय गरी ठगसँग असुलउपर गर्नुपर्ने कुल रकम ३ सय ५० बेरुजु देखियो। युवकले बुबालाई सम्झाउँदै भन्यो, “ठगले तीन प्रकारका अनियमितता गरेको देखियो, पहिलोे बजार मूल्यभन्दा बढीको बिल पेश ग–यो, दोस्रो निजी सुखको लागि अर्काको पैसामा चाउचाउको मजा लियो र तेस्रो बाँकी रकम फिर्ता दिएन।”

    बुबाले प्रश्न गरे, देशको यस्तो अवस्था छ भन्ने कुरा तिमीलाई कसरी थाहा भयो ? स्नातक तहको अन्तिम वर्षको परीक्षा कुरेर बसेका युवकले गत हप्ता मलेपकाको ५७औं वार्षिक प्रतिवेदन मोबाइलमा छ भन्दै पढिसकेको बताए। बुबाले भने, “त्यसमा के लेखेको छ ? पढेर सुनाऊ त।” युवक र बुबाबीच कुरा हुँदै गर्दा छिमेकीहरू पनि जम्मा भए। छिमेकीहरू पनि पढेर सुनाउन आग्रह गरे। हिलाम्य सडकछेउको युवकको गाईगोठमा एकअर्कासँग दूरी कायम राखेर सबैजना बसे।
    प्रथमतः युवकले प्रतिवेदन अनुसार देशैभरको बेरुजुको आकार संक्षिप्तमा सुनाए। स्थानीय तहमा ३८ अर्ब १२ करोड, प्रदेशमा ८ अर्ब १९ करोड र सङ्घीय सरकार मातहत ७० अर्ब ६९ करोड रुपैयाँ बेरुजु रहेको सुनाए। यीमध्ये असुलउपर गर्नुपर्ने करीब २४ अर्ब ३२ करोड रुपैयाँ बेरुजु छ, जुन बढी गम्भीर प्रकृतिको र प्रचलित ऐन–नियम उल्लङ्घन हुनेगरी गरिएको खर्च हो। यसबाहेक नियमित गर्नुपर्ने बेरुजु ६२ अर्ब १७ करोड र पेश्की बेरुजु ४६ अर्ब ४९ करोड रुपैयाँ छ। गत वर्षको मात्रै झन्डै १ खर्ब ३३ अर्ब रुपैयाँ पनि बेरुजु छ।
    यति सुनेपछि सबैजना आक्रोशित मुद्रामा एकअर्काको अनुहार नियाल्न थाले। पानी खाए। सन्तुलित भए। त्यसपछि युवकले ७२९ पेजको प्रतिवेदनमध्येबाट आफ्नो गृह प्रदेश २ अन्तर्गतका केही पालिकाकोे बुँदागत चर्तिकला पनि सुनाए। सबै आश्चर्यचकित मुद्रामा थिए।
    ८४ नं. बुँदाः बैठक भत्ता स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ को दफा ४ अनुसार पदाधिकारी र सभाका सदस्यले न्यायिक समिति वा कुनै पनि समितिको बैठकमा भाग लिएबापत अनुसूचीमा उल्लेख भए बमोजिमको बैठक भत्ता पाउने व्यवस्था छ। मासिक सुविधा पाउने पदाधिकारीबाहेकका सदस्यले मात्र भत्ता पाउने व्यवस्था रहेकोमा सोबाहेकका पदाधिकारीलाई समेत वडा बैठक, कार्यपालिका बैठक, विशेष बैठक, सभा बैठकलगायतका बैठकको भत्ता भुक्तानी दिई वीरगंज महानगरपालिकाले रु १ करोड १६ लाख ३१ हजार कानूनविपरीत खर्च गरेको छ।
    ९१ नं. बुँदाः वीरगंज महानगरपालिकाले नर्सिङ विद्यालय निर्माण कार्य निश्चित बजेट सम्झौताको आधारमा निर्माण गर्ने गरी एक निर्माण व्यवसायीसँग रु ६ करोडको खरीद सम्झौता गरेको छ। सम्झौतामा ड्रइङ, डिजाइन अनुसार निर्माण गर्ने र कामको प्रगतिको आधारमा निश्चित प्रतिशत भुक्तानी दिने उल्लेख छ। एकमुस्ट कार्य सम्पादन वा निश्चित बजेटको आधारमा खरीद सम्झौता भएकोमा मूल्य समायोजन गर्न नमिल्नेमा मूल्य समायोजनबापत रु ५९ लाख ८२ हजार भुक्तानी दिएको छ। ऐनविपरीत भुक्तानी दिएको उक्त रकम असुल गर्नुपर्दछ।
    ९३ नं. बुँदा ः वीरगंज महानगरपालिकाले आफ्नो कार्यक्षेत्रका विद्यालयलाई निकासा दिनुपर्ने सबै रकम निकासा दिइसकेको अवस्थामा पुनः १५ विद्यालयलाई एकमुस्ट अनुदान निकासा दिएको रु ४६ लाख ७ हजार, बूक कर्नर व्यवस्थापन गर्न विद्यार्थी सङ्ख्याको आधारमा गणना गरी निकासा दिइसकेको अवस्थामा पुनः सोही सङ्ख्यालाई आधार बनाइ सोही कामको लागि काठमाडौंको एक निजी कम्पनीलाई विद्यालयको सिफारिशको आधारमा भुक्तानी दिएको देखिएकोले एउटै कामको लागि दुईपटक निकासा भएको रु १३ लाख र अवकाश भइसकेका शिक्षकलाई अवकाशपछि समेत भुक्तानी दिएको तलब रु १६ लाख १२ हजारसमेत रु ७५ लाख १९ हजार असुल गरी सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्दछ।
    १२१.१ नं. बुँदाः बारा जिल्लाका ४ नगरपालिकाले रु ५ करोड ३९ लाख ५२ हजार, धनुषाका ५ नगरपालिकाले रु १ करोड ३५ लाख ४७ हजार, महोत्तरीका ३ नगरपालिकाले रु १३ करोड ८५ लाख ४८ हजार, सिरहाका ४ नगरपालिकाले रु ६ करोड ७५ लाख ४८ हजार, सप्तरीका ८ नगरपालिकाले रु ५ करोड ५३ लाख ६७ हजारसमेत रु ३२ करोड ८९ लाख ६२ हजार प्रदेश तथा सङ्घीय सञ्चित कोषमा दाखिला गरेका छैनन्। उक्त रकम सङ्घीय तथा प्रदेश सञ्चित कोषमा दाखिला हुनुपर्दछ।
    प्रतिवेदनभित्रका थोरै मात्र वास्तविकता सुनेर युवकका बुबालगायतका आमजन देशको भविष्यप्रति चिन्तित भए। सत्तासीनप्रति आक्रोशित भए। आर्थिक कार्यविधि ऐन अनुसार कानून बमोजिम रीत नपु–याइ, लेखा नराखी तथा अनियमित तरीकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औंल्याइएका कारोबारलाई बेरुजु भनिन्छ, जुन असुलउपर गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेश्की गरी तीन किसिमका हुन्छन्। महालेखापरीक्षकको कार्यालयलले सार्वजनिक गरेकोे प्रतिवेदनमा उल्लेख भएका अनियमितता अन्य सरोकारका विषयहरूभन्दा पनि गम्भीर प्रकृतिको छ। धमिराहरूबाट देशलाई बचाउनको लागि यस प्रकारको प्रवृत्ति दोहोरिन नदिनको लागि राष्ट्रव्यापीरूपमा बहस हुन जरुरी छ। जनआवाज उठ्नुपर्दछ। कानूनी प्रक्रिया अख्तियार हुनुपर्दछ।
    भ्रष्टाचार र बेथितिविरुद्ध शून्य सहनशीलतासमेत नरहेको सरकारको वक्तव्य हात्तीको खाने दाँत र देखाउने दाँतभन्दा फरक नरहेको आमबुझाइ छ। सार्वजनिक विकासको नाममा प्राप्त रकम चाँडबाड, मेला खर्च, कर्मचारी प्रोत्साहन, मोटरसाइकल चालक, चन्दा सहायता, पोशाक भत्ता, भ्रमण भत्तालगायतका थुप्रै नियमविपरीतका खर्चहरू भएका देखिन्छन्। सत्ता मूलभूत विषयबाट आमजनको ध्यान अन्यत्र मोड्ने
दाउमा अभ्यासरत रहनु आमअपेक्षा र देशप्रति घात हो भन्दा कुनै अतिशयोक्ति नहोला।     
    परिवारको ज्यान, गरीबको झुपडी, किसानको बालीनाली, विद्यार्थीको पढाइ, भोकमरी, कृषिजन्य सामग्रीको अभाव, हिलाम्य सडकलगायतका असामान्य क्षतिबाट देश आक्रान्त छ। तसर्थ समस्याहरूको जिम्मेवार प्राकृतिक आपदाभन्दा पनि बढी ती पात्रहरू हुन्, जो जनतामा आश्वासन बाँडेर देशको ढुकुटी स्वाहा पार्नमा व्यस्त छन्। माथि उल्लिखित गाउँदेहातका जनता जस्तै देशव्यापीरूपमा बेथितिविरुद्ध जनआक्रोश बढ्दो छ।
    मानवभित्र रहेको रावणको वध नहुन्जेलसम्म रामकथा सुन्नु/सुनाउनुको कुनै औचित्य हँुदैन। बेरुजु रकमको अङ्क भयावह छ। बेरुजु रकमको महाकुण्डमा जनअपेक्षा स्वाहा पार्ने काम अत्यन्तै चिन्तापूर्ण हो।  देश र जनताप्रति तीनै तहका जनउत्तरदायी सरोकार अपेक्षित थियो र छ पनि। राष्ट्र आत्मनिर्भर र जनजीवन सबल भए मात्र सरकारप्रति जनउत्तरदायित्व लयबद्ध हुन सक्छ। ओहोदाधारी ती रावणहरूलाई प्रचलित कानून बमोजिम राममा रूपान्तरित गर्र्नु पहिलो प्राथमिकतामा पर्नुपर्दछ।
अति गरे खति

अति गरे खति

- मुकुन्द आचार्य
    संस्कृतमा भनिन्छ– ‘अति सर्वत्र वर्जयेत्’ नेपालीमा त्यै कुरोलाई भनिन्छ– अति गरे खति हुन्छ; यसै कुरालाई अङ्ग्रेजीमा भन्छन्– टु मच अफ एभ्रिथिङ इज बैड। कुरोको चुरो चैं उही हो।
    यी सबै उखानले एउटै भाव बोकेका छन्– त्यो हो अति गरे खति हुन्छ। यै लर्कोमा जोर्न सक्नुहुन्छ– धेरै खाए चिनी पनि तीतो हुन्छ। धेरै खाए भात पनि विष हुन्छ। आदि इत्यादि...।
    मान्छे धेरै खाएर पनि मर्छन्, खानै नपाएर पनि मर्छन्। कसैकसैले आफ्नो ज्ञान उदारतापूर्वक यसरी बाँड्छन्– धेरै पढेपछि पनि मान्छे बौलाउँछ रे। यस भनाइमा पनि अतिले आफ्नो सीमा उल्लङ्घन गरेको देखिन्छ। अति जाडोले पनि अति गर्मीले पनि मर्छन्।
    राजनीतिमा धेरै इमानदार, धेरै दयालु, धेरै उदारहरूलाई आफ्नै दलका पापीहरूले पाखा लगाएर छाडिदिन्छन्। छट्टु स्यालहरू अघि–अघि आएर पद र प्रतिष्ठा, पैसा र शक्ति सबैमा कब्जा जमाएर बस्छन्। र एकपटक जमेर बसेपछि उनीहरू कुर्सीमैं टाँसिन्छन्। कसैले त्यो कुरा बलजफ्ती खोसेन भने नमरुन्जेल त्यसैमा बसिरहन खोज्छन्।
    अब यस समयको महाकाल त्यो कोरोनाकै कुरा गरौंं। कोरोनाको अति डरले कतिको ज्यान गयो। खेलखेलमैं लाखौं चट !
    शुरूमा यस कोरोनालाई अति तुच्छ सम्झने देशहरूलाई कोरोनाले नराम्रोसँग हल्लाइदियो। अमेरिका जसले स्वयम्लाई दादा भन्ठान्छ विश्वमा, सबैभन्दा बढी नागरिक उही दादाको दादागिरीमा चट् भए। इटाली, स्पेन, ब्रजील, फ्रान्स, ब्रिटेन, चीन, भारत, इजरायल, जापान, कोरिया सर्वत्र कोरोनाले आफ्नो ताण्डव नृत्य देखाएर लाखौंको ज्यान लियो। आफूलाई अति महान्, बलियो, बुद्धिमान् सम्झने मानवलाई अति सूक्ष्म, अति सानोखाले कीराले कति मजाले पछा–यो। अति अहङ्कारले खाइदिएन ?
        अति अहङ्कारले नै विश्वमा अनेकपटक युद्ध भए। अति कमजोरीले नेपाललाई मारेकै छ। दुईतिर अति बलिया दुई देश भारत र चीनस बीचमा अति गरीब हाम्रो नेपाल। अति गरीब र अति कमजोर भएपछि नेपाललाई अति दुःख भोग्नुपरेको छैन त ?! नेपालीको स्वाभिमान नै खतरामा छ।
    यो ‘अति’ले अति दुःख दिंदो रै‘छ। आफ्नै देशको कुरो कोट्याऔं। विश्वभरि कोरोनाको क्रूर चक्र चल्दा नेपालमा शान्ति थियो। तर त्यतिखेर सावधानी र व्यवस्था टन्न गर्न नसकेपछि अति दुःखद स्थिति आउँला जस्तो छ।
    सरकार भन्छ, जनताले अति लापर्बाही ग–यो। जनता भन्छ, सरकारले अति लापर्बाही ग–यो।
    अति भएरै अनेक अनेक समस्या जन्मने गर्छन्। अतिलाई अति हलुकारूपमा नलिने गरौं। तसर्थ अतिलाई अति हलुकारूपमा लिनै हुन्न।
    जननी जन्मभूमि स्वर्गादपि गरीयसी। यसमा जन्म दिने माता र जन्मभूमि दुवैको गरिमा गान गरिएको पाइन्छ।
    तर राष्ट्रप्रेम–देशभक्ति पनि अतिको घेराबन्दीमा प–यो भने नराम्रो परिणाम हुन्छ। हिटलर, नेपोलियन, मुसोलिनी जस्ता जन्मन सक्छन्।
    लकडाउन अति भयो भनेर लकडाउन खोल्नासाथ कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्यो भने फेरि अर्को अति हुन्छ।
    त्यसैले होला, बुद्धले मध्यमार्गको बाटो बताए। न धेरै तातो, न धेरै चिसो।
छिनाझपटी

छिनाझपटी

-कुमार रुपाखेती
    नेपाली राजनीतिमा अब अंशबन्डा, भागबन्डाको राजनीतिक समय समाप्त भएको छ, राजनीतिक स्तर खस्केर अब छिनाझपटीको युगमा प्रवेश गरेको बुझिन्छ। विश्वासको सङ्कट आएकोले आलोपालो प्रणाली उहिल्यै ध्वस्त भएको हामीलाई थाहै छ। मुलुकमा लाखौं कुर्सी छन्, बिचरा विरम्त्या (बिरामी) ओलीले मुखै फाडेर दुईवटा मात्र मागेका छन्, एउटा प्रधानमन्त्रीको, अर्को पार्टी अध्यक्ष। अब सोच्नुस् त हिजो सैकडौं महत्वपूर्ण कुर्सी र पद अरूलाई बाँड्ने हैसियतका ओली एकाएक आफ्नैलागि कुर्सी रिजर्भ गर्न असमर्थ देखिन्छन्। तर सोच्ने कुरा के छ भने एउटा दुर्दान्त अपराधीलाई त फाँसी चढाउनुअघि उसको अन्तिम इच्छा सोधिन्छ तर नेपाली राजनीतिक जल्लादहरू उनलाई सोझै घोक्रेठ्याक लगाउने चक्करमा छन्। तर म अझै पनि ओलीलाई बूढो, बिमार र अशक्त अनि कमजोर मान्दिनँ, जसले यस्तो लाचारीको हालतमा समेत प्रचण्ड एन्ड कम्पनीलाई आच्छु–आच्छु पारेका छन्। जत्तिकै जोर लगाके हैसा भने पनि ओलीको दुवै कुर्सी टसमस भएको छैन। रावणका लागि हनुमानको पुच्छर भारी भएझैं प्रचण्डका लागि ओलीको कुर्सी सङ्कट साबित भइरहेको छ। सबैखाले जादु, टोना, टोडका नाकाम भइरहेछन्। कुर्सीकै लागि बिचरा पटक–पटक आफ्ना चेलीबेटीसँग किडनी दान पाए। यतिमात्र कहाँ हो र राष्ट्रको बेहिसाब लगानी छ ओलीमा, उपचारको नाममा सालाना करोडौं राष्ट्रिय खजाना देशी–विदेशी अस्पतालमा स्वाहा गरिएको छ। यत्रो लगानीलाई खरानी कसरी बनाउने तर उमर पचपन्नका भएपनि ओली ओस्तादको दिल बचपनको छ। नत्र एउटा कुर्सीको भार थेग्न नसक्नेले, मगन्तेझैं दुईवटा कुर्सी किन ताक्थे ? नेकपामा ओलीका राजनीतिक लालाबाला (सन्तान) थुप्रै छन्, हठात् उनी चितवनमा गणेशमान सिंह कुर्सीबाट उठ्नै नसक्ने गरी लडेझैं लड्ने हो भने नेकपामा एकमुस्ट होलसेलमा थुप्रै टुहुरा हुनेछन्। गिरिजाप्रसादले हेलिकप्टर दुर्घटनाबाट बालबाल बचेका मनमोहन अधिकारीलाई तेलाबेला गरेर पदच्यूत गर्ने चान्स पनि छैन प्रचण्डलाई। लिख लोरा, पढ पत्थर भएपनि ओलीले रामपुर कृषि क्याम्पसका प्रोडक्ट प्रचण्डलाई कुर्सीको छिनाझपटीमा मूच्र्छा पर्ने गरी मात दिने पक्कापक्की देखिन्छ। उनलाई खाने बाघले राष्ट्रपतिलाई समेत खान्छ भन्ने चिन्ता पनि छ, ओलीलाई। एमाले काङ्ग्रेसमा विलय हुन्छ भन्ने प्रचण्ड स्वयम् एमालेमा विलीन हुँदा एउटा पुराना नेताले– लइका से यारी गदाहा मे सवारी भन्दै व्यङ्ग्य गरेको मलाई झलझली याद आउँछ। एक अनार सौ बिमार भएपछि छिनाझपटी हुने नै भयो। 

    कम्युनिस्टहरूलाई जुट्न र फुट्न समय लाग्दैन, जुट्यो भने फेविकोल, फुट्यो भने माटोको हाँडीजस्तै। एमाले र माओवादी मिल्दा चम्चाहरूले “मितज्यू, मितज्यू भेट भयो, घ्याम्पो जत्रो पेट भयो” भन्थे। पेट फुट्ने व्यथाले च्याप्दा के भन्ने हुन्। प्रचण्डहरूमा शून्य सहनशीलता देखिन्छ, अब ओलीले अमृतपान त गरेका छैनन्, किडनीपीडित हुन् बेचरा। रहमको भीख मागिराख्या छन्। कब क्या होगा किसको पता। बालहठभन्दा वृद्धहठ खतरनाक हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। विगतमा प्रचण्ड, माधव, झलनाथ जस्ता स्वस्थ र निरोगीहरू प्रधानमन्त्री हुँदा के नै लछारपाटो लगाए, अनि बिरामी ओलीसँग केको आस। अचम्म छ, पार्टी सभापतिको कुर्सी धरापमा परेका देउवासमेत नेकपाको घरझगडा देखेर मुख मिठ्याउन थालेका छन् रे। यस्तै रहेछ यहाँको चलन...। सीसाको घरमा बसेर ढुङ्गा हान्ने तरखरमा छन् देउवा। बिचरा प्रचण्डको पनि मजबुरी छ। मान्छे मरुवा भन्छन्। त्यसैले त जनयुद्ध थाती राखेर सत्तायुद्धमा होमिए। बाबूरामझैं ओलीलाई पाखा लगाउन सकेका छैनन्, प्रयत्नशील छन्। तर भारतमा लुकीछिपी बसेर जनयुद्ध गरेको जस्तो हलुका हुँदैन सत्तायुद्ध। यहाँ त नेपालमैं आमने–सामने बसेर मुकाबिला गर्नुपर्छ। यो युद्धमा गुरिल्ला युद्ध पनि काम लाग्दैन। भारतको भूमिगत सहयोग लिन सक्छन्। आफन्त, नातेदार, ससुराली खलका समेतलाई विभिन्न महत्वपूर्ण पद र कुर्सी वितरण गर्न सफल प्रचण्ड आफू भने प्रधानमन्त्रीको कुर्सीबाट धेरै टाढा देखिन्छन्। हतास, निराश र हडबडीमा छन्। एकताका रूक्माङ्गत कटुवालले प्रधानमन्त्री पदबाट नङ्गेझार गरेर खेदिदिए। बिचराले त्यै कुर्सीका खातिर देशी–विदेशी दुश्मनहरूसँग समेत उत्ताउलो र मित्रवत् व्यवहार गर्दैछन्। कुर्सी छिनाझपटीको दौरमा मेन हिरो (मूल नायक) ओली र प्रचण्ड हुन् भने साइड हिरो (दोस्रो दर्जाका नायक) माधव र झलनाथ पनि कुछ कुछ होता है भन्दै लागिरहेका छन्। कुर्सी उछिट्टिएर आफूतिर आइहाल्छ कि भन्ने आशामा यी दुवै सहनायकसमेत धुपौरो पारामा ओलीको पिछा गर्दैछन्। छिनाझपटीको खेल हो यिनको तालुमा पनि आलु फल्न सक्छ। त्यसो त लोकतन्त्रलाई अल्पमत र बहुमतको खेल भनिन्छ। तर हाम्रोमा पद, पैसा र कुर्सीको चमकदमकले अल्पमतलाई एकै छिनमा बहुमत बनाइदिने हैसियत राख्छ। बहुमतले धूलो चाटेको देखेकै छौं। कुर्सी छिनाझपटीको खेल दिनानुदिन रोमाञ्चक हुँदैछ, खेलाडीहरू पक्ष–विपक्षमा ताल ठोक्दैछन्। अर्थात् कित्ता छुट्टिदैछ भन्ने गाइँगुइँ पनि छ। हिजो दरबारले प्रधानमन्त्री खोज्दथ्यो, अचेल विदेशीले रोज्छन् रे। ओली भन्दछन् भारतले उनलाई हटाउन खोज्दैछ, प्रचण्ड भन्दछन् भारत भनेको हामी हौं। जनता भन्छ, सधैंको टन्टा हटाऔं बरु सिंहदरबारलाई नै दिल्लीतिर सारौं। बिचरा उताकालाई यता धाउनै परेन। पाठकहरूले बन्दर बाँटको किस्सा सुन्नु भॉछ कि छैन। छिनाझपटीको यो खेल अन्त्यमा बन्दर बाँटको हबिगतमा परिणत हुने लक्षण पनि देखा पर्दैछ। आफ्ना राजदूतलाई चलायमान बनाएर बदनामी कमाएको भारतले अचेल गोप्यरूपमा विशेषदूतहरू पठाएर दूधको साक्षी बिरालो बन्न थालेको छ। विशेषदूतहरू ज्वाइँ जस्तै होटलमा विराजमान र सक्रिय छन्। ज्वाइँ, भानिजलाई धेरै गाली बेइज्जती गर्नुहुँदैन भन्ने नेपाली संस्कार पनि छ। देख्नुभएन, सडकमा आन्दोलन गर्नेहरूले लाठी, बन्दूक बोकेर आएका प्रहरीलाई मामा सम्बोधन गरेको। पुर्खाहरूले भन्थे चिन्ता से चतुराइ घटे, बाल न बच्चा निंद परे अच्छा, तर यी सब बेकारका उखानटुक्का हुन्। ओली र प्रचण्डको छिनाझपटी देख्दा त यस्तै अनुभव हुँदैछ। विनाटिकट निश्शुल्क चलिरहेको छिनाझपटी हेर्न हामी बाध्य छौं, रमिते हौं। निर्णायकहरू त छद्मभेषमा शकुनि पासा फाल्दै होलान्।

Friday, July 17, 2020

सफेदझूट

सफेदझूट

 - कुमार रुपाखेती
    पृथ्वी गोलो छ भनेर पछि प्रमाणित भयो। त्यसअघि त पृथ्वी चेप्टो छ भन्ने धारणा थियो। पृथ्वी चेप्टो छ भन्ने मान्यता यति विकराल थियो कि पृथ्वी गोलो छ भनी पत्ता लगाउनेको ज्यान नै जोखिममा थियो। बिचराले लुकेर ज्यान बचाउँदै पृथ्वीको गोलो रूप प्रमाणित गरे, जुन आजसम्म कायम छ। सत्य प्रमाणित गर्न त्यो बेला र अहिले पनि सङ्घर्ष गर्नुपर्छ। घुमिफिरी रूम्जाटार भनेझैं भानु जयन्तीमा हाम्रा प्रधानमन्त्रीले भगवान् राम नेपालको पूर्वी भाग वीरगंजदेखि अलि पर ठोरीतिर जन्मेको भनेर भारतको कान रातो पारिदिएका छन्। “भारतको अयोध्या कृत्रिम, राम नेपाली नागरिक” भन्ने सुन्नासाथ भारतका शासक अनि सन्तमहन्त एकैचोटि जागिहाले। रिसले आगबबुला भएका भारतीय नेता करण सिंहले ओलीको यस्तो दाबीले संसारभरिकै हिन्दूहरूको आस्थामा चोट पुगेको र नेपाल–भारतको सम्बन्धमा थप सङ्कट आउन सक्ने चेतावनी दिए। केही मठाधीश र जोगी बाबाहरूले करण सिंहलाई उछिन्दै ओलीले माफी माग्नुपर्ने, अन्यथा धार्मिक आन्दोलन गर्ने घुर्की लगाए। 

    नेपालको कपिलवस्तुमा जन्मिएका बुद्ध, राजा शुद्धोधनका छोरा भएको अकाट्य साँचो कुरा थाहा पाउँदा–पाउँदै जोरजबरजस्ती ‘सफेदझूट’स्वरूप बुद्धलाई भारतमा जन्मेको ढिंढोरा पिट्ने अनि खोजतलाश र ठोकपिट गरेर ओलीले रामलाई नेपाली घोषित गरेर के गुनाह गरे ? ‘छोटा बच्चा समझ के हमसे ना टकराना रे’ भन्ने सन्देश पनि हो यो। गोद लिएको भएपनि सुहाउँथ्यो, भारतले बुद्धलाई गोद लिएको इतिहास पनि छैन। म त भन्छु भारतले नेपालको गौतम बुद्धलाई अपहरण गरेको छ। इतिहास बिगार्ने अपहरणकारी हो भारत। ओलीले एकाएक राम नाम जप्नुले कम्युनिस्टहरूले भगवान्मा आस्था राख्छन् भन्ने पुख्ता प्रमाण पनि भेटिएको छ। थुप्रै भारतीय नेपाली नागरिकता लिएर भारुबाट नेरुमा परिणत हुँदा खुशी हुने अनि राम एकजनालाई नेपाली नागरिकता प्रदान गर्दा भारत किन आत्तिएको होला ?
    गौतम बुद्धझैं रामलाई समेत भारतले मागीखाने भाँडो बनाएको प्रस्ट देखिन्छ। बरु गौतम बुद्धलाई भारतबाट कैदमुक्त गर्न हम्मेहम्मे परेको हामीलाई ओलीले अब रामको नैया पार लगाउने दोहोरो जिम्मेवारी थपिदिएका छन्। कालापानीबारे बहिरो बनेको भारत रामको नाम सुन्ने बित्तिकै कालोनीलो, रातोपीरो भएको छ, चोरको खुट्टा काट भन्दा चोरले खुट्टा ताने झैं। ओली अब माक्र्सवादी नेता मात्र नभएर आध्यात्मिक नेतासमेत भएका छन्। एउटा म्यानमा दुईवटा तलवार अट्दैन, एउटै  महापुरुष दुई देशको धरोहर बन्न सक्दैन भन्ने कुरा भारतले किन नबुझेको होला ? ओलीको रामबाणलाई भारतले आधुनिक क्षेप्यास्त्रभन्दा खतरनाक महसूस गरेको छ। रामबाण मिसाइल हो यो। रामलाई स्मरण गर्दै नेपालीहरूले रामनवमी, दशैंमा दशमीको टीका लगाउने, सीताजयन्ती मनाउने अनि भारतले राम मेरो भन्न मिल्छ ? राम नेपाली भएकाले नै उतिबेला भानुभक्त आचार्यले नेपालीमा रामायणको उल्था गरे। शकुनिहरू भारतीय भएकाले उनले (भानुले) महाभारतबारे मौन बस्नु उचित ठाने।
    कुनै बेला नेपाल संसारकै एकमात्र हिन्दू राष्ट्र थियो, यस हिसाबले पनि मर्यादापालक राम नेपालकै हुनुपर्छ। राम, गौतम बुद्ध, भानुभक्त आफ्ना समयका ऐतिहासिक धरोहर हुन्। हाम्रा ओलीको बोली पनि बन्दूकको गोली हो रे १ जय श्रीराम भन्नेहरूको जमात नेपालमा अनगिन्ती छ। लुम्बिनीमा राजा शुद्धोधनको दरबार उत्खनन गर्दा निस्किएका ऐतिहासिक शाक्यकालीन थुप्रै इँटा, पत्थर र अन्य सामग्री बटुलेर भारतले नक्कली लुम्बिनीसमेत निर्माण गर्ने दुष्प्रयास गर्दै आएको छ। बोधगयामा बुद्धलाई ज्ञान प्राप्त भएझैं भारतलाई कहिले ज्ञान प्राप्त हुने हो ? कहिले हामीले ‘मेरा पडोसी भारत महान्’ भन्न पाउने हो ? भारतले बुद्ध भन्छ तर सधैं युद्धको तयारी गर्छ। ‘उसै त बुहारी भटमास खाएकी’ भनेझैं राईको पहाड बनाउने भारतीयहरूलाई ओलीले झटकास्वरूप रामको गरममसाला हालेर रन्काइदिएका छन्। अब दाबी विरोध चलिरहन्छ, रामको खिंचडी धिमा आँचमा पाकिरहन्छ। सौतेनी आमा कैकेयीको कर्कस बोली, व्यवहार, छलकपटबारे त रामायणमा समेत उल्लेख छ। उनकै कारणले रामले चौध वर्ष वनवास भोगे। राजा दशरथसमेत कैकेयीका सामुन्ने निश्शब्द भएका थिए। त्यसैले पारिवारिक कलहका कारण सीता विवाहपछि नेपालमैं घरज्वाइँ बसे कि ?
    किनकि रामको युवाकालमा भारतमैं भारतका राजा रजवाडाहरूका एक से एक राम्रा कन्याकुमारी राजकुमारीहरू हुँदाहुँदै नेपाल प्रेमका चल्ते टाढा आएर धनुष भाँच्ने जोखिम मोलेर सीतासँग विवाह रचाए। त्रिवेणी वाल्मीकि आश्रम नेपालतर्फ सीता बसेको कुटी, लवकुश खेलेको स्थान, घोडा बाँध्ने तबेला, सीताले मसाला पिस्ने सिलौटो आदि मैले २०३६ सालमा त्यता जाँदा आपंैmले देखेर आएको हो। अब पत्नी सीता, छोराहरू लव र कुश नेपालमा अनि पत्नीव्रता राम भारतमा बस्ने सवाल नै पैदा हुँदैन। सीताकै खातिर बिचरा रामले जरजण्ड रावण र लङ्कालाई मटियामेट गरेको रामायणले भन्छ। अब योभन्दा बलियो प्रमाण के चाहियो ? १४ वर्ष वनवासमा बसेका राम, त्यतिखेरको ‘हरियो वन नेपालको धन’ देखेर लोभिएर यतै बसाइँसराइ गर्न पनि सक्छन्।
    ओलीको मुखमा सरस्वतीको बास छ रे ? ‘प्रधानमन्त्रीबाट हट्दिनँ’ भने, नहटेरै बसे, ‘पार्टी अध्यक्ष छोड्दिनँ’ भने त्यो पनि पूरा गरे, कालापानी हाम्रै हो भनेर नक्शा पास गरेरै छाडे। अब रामलाई नेपाली बनाउने तरखरमा छन्, बाँचिराखे भने यो वाचा पनि पूरा गर्छन् कि कसो ? तर मलाई डर छ कतै रामपछि ओलीले महाभारतका कृष्णलाई पनि दाबी नगरून् ? राम–रावण युद्धका समयमा पुष्पक विमान, पानीमा नडुब्ने पत्थर, हनुमानको पुच्छर, बाली, सुग्रीवको झगडा, कुम्भकर्णको निद्रा, रामलक्ष्मणको धनुषबाण, रावणको सय टाउको, बाँदर र दानवको युद्ध, हनुमानको लङ्का प्रवेश, लङ्काको तबाही, लक्ष्मणरेखा, लक्ष्मणबुटी, जटायुको वफादारी, विभीषणको गद्दारी, सीताको सकुशल वापसी आदि रोमाञ्चक घटना लाग्छन्। सुनमा सुहागा भनेझैं ओलीले यसमा सुगन्ध थप्दै– भारतको अयोध्या नक्कली, राम नेपाली भनिदिए। ओलीको नेतृत्वमा शायद हामी दोहोरो असम्भव युद्ध जित्दैछौं। एउटा कालापानी र अर्को रामको। तर स्मरणीय कुरा के छ भने– ‘राम नाम जपना, पराया माल अपना’ भन्ने भारतीय नीति हो, हाम्रो होइन। वाल्मीकि आश्रम नेपालमा छ। सरयू नदी भनेको माडी, नारायणी अथवा राप्ती नदी हो, माडीलाई पहिले अयोध्यापुरी भनिन्थ्यो, त्यहाँ एउटा गाविसको नाम नै अयोध्यापुरी थियो। विश्वास नलागे ठोरीतिरका भाइ प्रतीकका सम्पादक प्रतापजीलाई सोधे हुन्छ। रामजन्मभूमि नेपालको ठोरीमा अचेल खुशियालीको वातावरण छ। जय श्रीराम, जयराम, जयजय राम गुञ्जायमान छ।
    सन् २००० मा भारतका प्रसिद्ध साहित्यकार, उपन्यासकार स्व कमलेश्वरले ‘कितने पाकिस्तान’ भन्ने आफ्नो ख्यातिप्राप्त उपन्यासमा अयोध्या रामको जन्मभूमि नभएको लेखेका छन्। नपत्याउनेहरूले स्व कमलेश्वरको ‘कितने पाकिस्तान’ भन्ने खोजमूलक किताब पढ्न सक्नुहुन्छ। भारतका अन्य ख्यातिप्राप्त लेखक, साहित्यकारहरू अमृता प्रीतम, हिमांशु जोशी, विष्णु प्रभाकर, नामवर सिंहहरूले यो कुराको जोडदार समर्थन गरेका थिए। त्यतिखेर पनि भारतीय मिडियाले यिनको खेदो खनेको थियो। मुसलमानहरूको आस्थाको केन्द्र बाबरी मस्जिदलाई काउन्टर दिन उतिबेलादेखि नै तानाबाना बुनेर अयोध्यालाई रामजन्मभूमि बनाउने चलखेल भएको इतिहासले बताउँछ। रामजन्मभूमि भन्दै त्यहाँ रहेको बाबरी मस्जिदको मदर्सा सबैलाई थाहा नै छ। सफेदझूट ओलीको कि मोदीको पर्दाफास हुँदैछ। रामजन्मभूमि ठोरी, माडीतिरै हो यकीन मान्नुस्। असम्भव र अज्ञात कुराहरूलाई अझै पनि ‘राम जाने’ भन्ने उखान नै छ। अब रामलाई लिएर नेपाल र भारतबीच कस्तो व्यवहार हुन्छ, राम जाने। भन्नेहरू त भन्छन्, न लक्ष्मणले रावणकी बहिनी सुपर्णखाको नाक काट्थे, न रावणले सीताहरण गथ्र्यो। त्यस्तै, न भारतले बुद्धको अपहरण गथ्र्यो, न ओलीले राम हाम्रो भन्ने प्रमाण सार्वजनिक गर्थे ? जैसाको तैसा जस्तै लाग्छ।
    ओली र भारतलाई म यही भन्छु, ‘देखो ओ दिवाने तूम ये काम ना करो, रामका नाम बदनाम ना करो।’ सफेदझूट धेरै दिन टिक्दैन, भारतले जति तिकडम गरे पनि विश्वले बुद्धलाई नेपालमैं जन्मेको मानेको छ, नत्र लुम्बिनीको यत्रो ठूलो विकास सम्भव नै थिएन। राम नेपाली भन्ने कुरा अहिले यत्तिकै थाती राख्ने अनुमति चाहन्छु। हाम्रा ओली बा भारतको गुरुबा बन्न खोजेकोमा धन्यवाद दिन चाहन्छु। अस्तु।
केवल हाँसोको लागि मात्रः
    वीरगंजको छपकैयामा भरत र शत्रुघ्न भन्ने दुई सहोदर दाजुभाइ रहेछन्। भारतको आचरणबाट तर्सेर चलाख यी दुई भाइले आफ्नो नामको पछाडि नेपाल जोडेर भरत नेपाल र शत्रुघ्न नेपालमा परिणत भएछन्। नेपाल भन्ने बित्तिकै भारतले वास्ता गर्दैन भन्ने यिनलाई ज्ञान रहेछ।
भ्रम पनि कस्ता कस्ता

भ्रम पनि कस्ता कस्ता


मुकुन्द आचार्य
    मान्छेले जसरी गाईभैंसी, भेंडा, बाख्रा, हात्ती, घोडा, सुङ्गुर, कुकुर पाल्छन्, त्यसैगरी भ्रमहरू पनि पाल्छन्। भ्रमको त्यसमा पनि उन्नत जातको भ्रमको खेती निकै फस्टाएको छ। यो खेती एकदमै दामी नगदेबाली हो।
    यस्तो भ्रमको खेती हाम्रो देशमा मात्रै हुन्छ भन्यो भने त्यो महान् असत्य र घोर पाप कहलिन्छ। हरेक देशका शासक वर्गले आआफ्नो देशमा भ्रमको आधुनिक वैज्ञानिक खेती गरेको पाइन्छ। देशमा खपत हुन सकेन भने अन्य देशमा यसको निर्यात पनि गरिन्छ।
    यसको खेती गर्न धेरै सजिलो छ। यौटा मञ्च, यौटा माइक र सोझासाझा जनताको एक बथान भए पुग्छ। केही मुठीभर मान्छेलाई जिन्दाबादको नारा लाउन, बेलाबेलामा ताली बजाउन दैनिक ज्यालादारीमा सजिलै राख्न सकिन्छ। अनि सिङ्गो विश्वले सुन्ने गरी भ्रमको सुनौलो सुखद, आकर्षक खेती मज्जाले गर्न सकिन्छ। यो खेती सफल भयो भने चकाचक भइहाल्यो।
    यस प्रकारको खेती संसारभरि भइरहेको छ। यस खेतीको अर्को नाउँ राजनीति पनि हो। त्यसैले हाम्रा गाउँघरमा अझ पनि अलिकति जान्ने बुझ्नेहरू भन्ने गर्छन्, “देख भाइ, राजनीति में पोलिटिक्स मत मिलाव।” अर्थात् धेरै जालझेल न गर !अथवा हामीलाई ठग्ने काम न गर !
    भ्रमको खेती यो राजनीतिकर्मीले मात्रै गर्छन् भन्ने क्यै छैन। सबैखाले जनता जनार्दनले भ्रमको खेती आआफ्नो बुद्धि बर्कतले भ्याएसम्म गरिरहेका हुन्छन्।
    यो पार्टीले चुनाउ जितेर सत्तामा पुग्न पायो भने अनि त देश स्वर्ग भइहाल्यो नि! भन्ने भ्रम जनताले पालेका हुन्छन्। यस्तो भ्रम कहिल्यै पनि मेटिन्न। नमरुन्जेल भ्रमको खेती पनि मेटिन्न।
    त्यसैले देशमा नयाँ–नयाँ राजनीतिक दलहरू जन्मिरहन्छन्। कुनै कुनै दल त भ्रमको खेती राम्ररी गर्न नजानेर होला, अकालमैं मर्छन्। कोही अर्को दलमा पस्न दलाली गर्न थाल्छन्।
    भ्रमको खेती गर्नेहरू भ्यागुताजस्ता हुन्छन्। वर्षायाममा भ्यागुताहरू कताकताबाट आइपुग्छन्। टर्र टर्र टर्र गरेर सङ्गीतमय वातावरण बनाउँछन्। चुनाउको सिङ्गो अवधि वर्षा ऋतु हो। जता हे–यो उतै टर्र टर्र गर्दै प्रचारको बाजागाजा चलिरहन्छ। यो खेतीको रमाइलो घडी भनेकै निर्वाचन हो। असारको पन्ध्रमा धान रोप्नेले दही–च्युरा खाएजस्तै हो।
    खेतीको समयमा त जतासुकै पनि मारामार रहन्छ। कसैलाई बोल्ने फुर्सत हुँदैन। कसैलाई खानेपिउने फुर्सत हुँदैन। कसैलाई मर्ने फुर्सत हुँदैन। भाषण दिनुछ, कतै कार्यकर्तालाई तालीम दिनु छ, कतै दादा भनाउँदाहरूलाई मालपानीको व्यवस्था गर्नु छ। मालपानीका लागि धनीमानी, सेठ साहुकारलाई सम्झाइबुझाइ गर्नु छ। विभिन्न दूतावासमा धाउनु छ, आर्थिक मदतका लागि। खेती भ्रमकै भएपनि काम त कति हुन्छन् कति। सास लिने फुर्सत हुन्न।
    कति त मञ्चमा बसेको बस्यै परलोकगमन गर्छन्। हृदयघात भएर नेताजी चिलिम भए रे ! जस्ता समाचार पनि सुनिन्छ। चुनाउको परिणाम सुन्नासाथ जित्ने र हार्ने दुवैको मुटुले काम गर्नै छोड्यो रे !
    भ्रमको खेती नगदेबाली भॉहुनाले यसमा ज्यानको खतरा पनि हुन्छ। आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई मार्न लगाउनु अथवा उसद्वारा आफू मारिनु जस्ता दुर्घटनाहरू प्रायः भइरहन्छन्। विभिन्न दलहरूबीच पनि मारकाट हुने राम्रो परम्परा छ। धान, गहुँ, मकै, उखुको जस्तो सजिलो खेती हुँदैनस भ्रमको खेती।
द्रोण पर्व–१९

द्रोण पर्व–१९

उमाशङ्कर द्विवेदी
     भाग्दै गरेको सेनालाई रुक्मरथले भने– सन्देह न गर, म यसलाई जिउँदै समातिहाल्नेछु। यति भनेर उनी अभिमन्युतिर दगुरे अनि उनको छाती तथा दुवै भुजामा तीन–तीन बाण हानेर गर्जन थाले। अनि अभिमन्युले उनको धनुषलाई काटिदिए र शीघ्र नै उनको दुवै भुजा तथा मस्तक काटेर भुइँमा खसालिदिए।
    राजकुमार रुक्मरथका कैयौं मित्र थिए, उनीहरू पनि रणमा उन्मत्त भएर लड्नेवाला थिए। उनीहरू आफ्नो धनुष तानेर बाणवर्षा गर्दै अभिमन्युलाई लगभग ढाकिदिए। यो हेरेर दुर्योधनलाई बडो हर्ष भयो। उनले ठाने, अब त अभिमन्यु निश्चिय नै यमलोकको यात्रा गर्नेछ तर अभिमन्युले त्यस्तो अवस्थामा गन्धर्वास्त्रको प्रयोग गरे। त्यो अस्त्र बाणवृष्टि गर्दै घरी एउटा, घरी सयवटा त घरी हजारौंवटा देखा पर्दथ्यो। अभिमन्युले रथ सञ्चालनको कला तथा गन्धर्वास्त्रको मायाले ती राजकुमारहरूलाई मोहित पार्दै उनीहरूको शरीरको टुक्रा–टुक्रा पारिदिए। कैयौंका धनुष, ध्वजा, घोडा, सारथि, भुजा तथा मस्तक छप्काइदिए। एउटा अभिमन्युद्वारा यतिका राजकुमारहरू मारिएको दृश्य हेरेर दुर्योधन भयभीत हुन पुगे। रथी, हात्ती, घोडा र पैदल सैनिकहरूलाई युद्धभूमिमा लडेको हेरेर उनी क्रोधले मुर्मुरिएर अभिमन्युको छेउमा आए। एक क्षण पनि पूरा भएको थिएन कि अभिमन्युद्वारा सयकडौं बाणबाट आहत भएर दुर्योधन युद्धभूमिबाट भागिहाले।
    धृतराष्ट्रले भने– सञ्जय, तिमीले भनेझैं एक्लै अभिमन्युको धेरै महारथीहरूसित युद्ध भयो तथा त्यसमा विजय पनि उसकै भयो, यसमा हतपत विश्वास भइरहेको छैन। वास्तवमा सुभद्राकुमार अभिमन्युको यो पराक्रम आश्चर्यजनक छ तर जसको धर्ममाथि भरोसा छ, त्यसको लागि यो कुनै अद्भुत कुरा भने होइन। सञ्जय, दुर्योधन भागेर गइसकेपछि तथा सयकडौं राजकुमारहरू मारिए, त्यतिबेला मेरा पुत्रहरूले अभिमन्युको लागि के गरे ?
    सञ्जयले भने– महाराज, त्यतिबेला तपाईंका शत्रुहरूका हातमुख सुकेको थियो, आँखा भयातुर भएका थिए, शरीर रोमाञ्चित भएको थियो तथा खल्खल्ती पसिना चुहिरहेको थियो। शत्रुलाई जित्ने उत्साह बाँकी रहेको थिएन, सबै भाग्ने तरखरमा थिए। मरेका भाइ, पिता, पुत्र, सुह्द, सम्बन्धी तथा बन्धु–बान्धवहरूलाई छाडेर हात्ती–घोडालाई द्रुत गतिमा हाँकेर रणभूमिबाट टाढा गइहाले। उनीहरूलाई यस प्रकार हतोत्साहित भएर भागिरहेको हेरेर द्रोणाचार्य, अश्वत्थामा, बृहद्वल, कृपाचार्य, दुर्योधन, कर्ण, कृतवर्मा र शकुनि–यी सबै महारथी क्रोधले मुर्मुरिएर समरविजयी अभिमन्युतिर दगुरे तर अभिमन्युले यिनीहरूलाई फेरि अनेकौंपल्ट रणभूमिबाट विमुख पारिदिए। केवल दुर्योधनपुत्र लक्ष्मण मात्र सामुन्ने डटिरहे। पुत्रको स्नेहबाट उनको पछि दुर्योधन पनि फर्किआए, अनि त दुर्योधनको पछिपछि अन्य महारथी पनि फर्किआए। अब सबैले मिलेर अभिमन्युमाथि बाणवर्षा गर्न थाले तर अभिमन्युले ती जम्मै महारथीलाई परास्त गरी लक्ष्मणको सामु गई उनको छाती र भुजाहरूलाई ताकेर तीक्ष्ण बाण हाने। अनि लक्ष्मणसित भने– भाइ, एकपल्ट यस संसारलाई राम्रोसित हेरिलेऊ किनकि तिमीलाई तत्कालै परलोकको यात्रा गर्नुपर्नेछ। आज तिमीलाई तिम्रा बन्धु–बान्धवहरूले हेर्दाहेर्दै यमलोक पठाउँदै छु। यति भनेर सुभद्राकुमारले लक्ष्मणतिर एउटा भल्ल नामक अस्त्र हानेर उनको सुन्दर नासिका, मनोहर भ्रुकुटि तथा घुम्रिएको कपाल भएको मस्तकलाई गिडिदिए।
    दुर्योधनपुत्र लक्ष्मण मारिएको हेरेर मानिसहरूमा हाहाकार मच्चियो। आफ्नो प्यारो पुत्रलाई लडेको हेरेर दुर्योधनको क्रोधको सीमा नै रहेन। उनले समस्त क्षत्रियहरूलाई डाँक्दै भने– यसलाई मारिहाल। अनि द्रोणाचार्य, बृहद्वल, कृपाचार्य, दुर्योधन, कर्ण, कृतवर्मा–यी छवटा महारथीले अभिमन्युलाई चारैतिरबाट घेरामा हाले तर अर्जुनकुमारले आफ्नो तीखो बाणबाट घाइते पारेर ती जम्मैलाई पुनः धपाइदिए र बडो वेगले जयद्रथको सेनातिर धावा गर्न हानिए। यो हेरेर कलिङ्ग र निषाद वीरहरूको साथ क्राथपुत्रले आएर हात्तीसेनाबाट अभिमन्युको बाटो रोकिदिए, अनि त उनीहरूबीच बडो भयानक युद्ध भयो। अभिमन्युले त्यस गजसेनाको संहार गरिदिए। यत्तिकैमा अगि भागेर गएका द्रोणादि महारथीहरू पनि फर्केर आफ्नो धनुषको टङ्कार गर्दै अभिमन्युमाथि धावा बोले तर आफ्नो बाणबाट अभिमन्युले ती सबै महारथीलाई रोकेर क्राथपुत्रलाई नराम्ररी पीडित पारे, अनि असङ्ख्य बाणको वर्षा गरेर उनीहरूको धनुष, बाण, केयूर, बाहु, मुकुट, छत्र, ध्वजा, सारथि र घोडाहरूलाई पनि मारेर रणभूमिमा खसाले। क्राथपुत्र लड्दैमा सेनाका अधिकांश योद्धाहरू विमुख भएर भाग्न थाले।
    अनि द्रोणदि छवटा महारथीले पुनः अभिमन्युलाई घेरामा हाले। यो हेरेर अभिमन्युले द्रोणमाथि पचासवटा, बृहद्वलमाथि बीसवटा, कृतवर्मामाथि असीवटा, कृपाचार्यमाथि साठीवटा र अश्वत्थामामाथि दशवटा बाण हानेर घाइते पारिदिए। तदन्तर उनले कौरवहरूको कीर्ति बढाउने वीर वृन्दारकलाई तपाईंका पुत्रहरूले हेर्दाहेर्दै मारिदिए अनि अभिमन्युलाई द्रोणले एक सयवटा, अश्वत्थामाले आठवटा, कर्णले बाइसवटा, कृतवर्माले बीसवटा, बृहद्वलले पचासवटा र कृपाचार्यले दशवटा बाण हाने। यस प्रकार उनीहरूद्वारा चारैतिरबाट पीडित भएर पनि अभिमन्युले ती सबै महारथीमाथि दश/दश वटा बाण हानेर घाइते पारिदिए। यसपछि कौशल नरेशले अभिमन्युको छातीलाई ताकेर एउटा बाण हाने। अभिमन्युले पनि उनको घोडा, ध्वजा, धनुष र सारथिलाई काटेर पृथ्वीमा खसालिदिए। रथबाट हीन भएर कौशल नरेशले ढाल–तरबार हातमा लिएर अभिमन्युको कुण्डलयुक्त मस्तकलाई काट्ने विचार गरे, यत्तिकैमा अभिमन्युले उनको छातीमा एउटा तीखो बाण हाने। त्यो बाण लाग्ने बित्तिकै कौशल नरेशको ह्दय च्यातियो र उनी रणभूमिमैं लडिहाले, साथै अभिमन्युले त्यहाँ उभिएर अमङ्गलसूचक जयकारा घन्काउँदै गरेका ती दश हजार राजाहरूको पनि वध गरिदिए। यस प्रकार सुभद्रा र अर्जुनकुमार अभिमन्युले बाणहरूको वर्षा गरेर तपाईंका योद्धाहरूको गतिलाई रोकेर रणभूमिमा निर्भय भई विचरण गर्न थाले। क्रमशः...
महाभारतबाट सङ्कलन तथा अनुवाद
जनभरोसे जनप्रतिनिधि, दैवभरोसे जनता

जनभरोसे जनप्रतिनिधि, दैवभरोसे जनता

 -राजेश मिश्र

    जिन्दाबाद, जिन्दाबादको नारा र ढोल, नाल, झाल र बाजागाजाका ध्वनिहरू शहरदेखि गाउँसम्मका सडक र गल्लीहरूमा गुञ्जायमान भएका थिए। गणतन्त्र आगमनपछि तीन तहको पहिलोे निर्वाचनमा प्रतिस्पर्धीहरूले आश्वासनका ठूलाठूला पोकाहरू जनतामा बाँडेका थिए। निर्वाचनमा विजयी भएपछि नारा–जुलुस निकालेर खुब खुशियाली मनाए। विजय जुलुसको खुशियाली जनजनसम्म प्रवाहित भएको देखिन्थ्योे। प्रगतिशील देश र उत्साही जनजीवनको सपना आमजनमा अङ्कुरित भएको थियो। अबिरले सडक तथा गल्लीहरू महीनौंसम्म रङ्गीन देखिइरहे। नागरिकले तीन तहका सरकारको अभिभावकत्व पायो। गाउँगाउँमा सिंहदरबारको स्थापना भयो। योभन्दा हर्ष के हुन सक्थ्यो। उल्लिखित दृश्य अदृश्य भएको करीब तीन वर्ष भयो।
    प्रसङ्ग शुरू गर्छु कथाबाट। एक राजा थिए। राजाले प्रत्येक हप्ता आफ्ना मन्त्रीहरूसँग राज्यको भ्रमण गर्ने निधो गरे। राजाले भ्रमणको क्रममा जनताको गुनासो सुन्ने र ठाउँमैं समाधान गर्ने गर्दथे। जटिल समस्या भएमा छलफल र समाधानको लागि भोलिपल्ट सभामा आउन आदेश दिएर अघि बढ्थे।
    दम्भमा रहेका राजाले जनतालाई सभामा बोलाउँथे तर कार्य व्यस्तता देखाएर न सभाको आयोजन हुन्थ्यो, न त समस्याको समाधान। एक दिन राजाका मित्रको दरबारमा आगमन भयो। राजाले मित्रलाई केही समय अतिथिको रूपमा दरबारमा बस्न आग्रह गरे। मित्रले स्वीकार गरे।

    यसपटक राज्य भ्रमणको क्रममा राजासँगै मित्र पनि थिए। जटिल समस्याको समाधानका निम्ति राजाले सरोकारवाला जनतालाई सभामा आउन आदेश दिए। जनताप्रति राजाको यति विघ्न उदारता देखेर मित्र धेरै खुशी भए। यसपटक जनताहरूले राजासमक्ष जटिल समस्याहरूको समाधान गरिदिन आग्रह गरेका थिए। मित्र प्रत्यक्षरूपमा राजाद्वारा जनताको समस्या समाधान भएको देख्न चाहन्थे। धेरै उत्सुक पनि थिए।
    भोलिपल्ट मित्रले राजालाई सभामा जान र जनताको समस्या समाधान गर्नुपर्छ भनेर याद दिलाए। राजा मित्रसँग  सभामा गए। तर त्यहाँ जनताको उपस्थिति थिएन। सभाहल खाली थियो। दुवैजना धेरैबेर सभाहलमा बसिरहँदा पनि कोही आएनन्। राजा क्रोधित भए। उनी जनताले आफ्नो आदेश पालना नगरेको भन्दै झोंकिए। सिपाहीहरूलाई भने, “जाऊ, ती जनताहरूलाई समातेर ल्याऊ, जसलाई आज सभामा बोलाइएको थियो।”
    सिपाहीहरूले उनीहरूलाई समातेर ल्याए। “तिमीहरूले आदेश पालना किन गरेनौ ?” सभामा उपस्थित जनसमुदायसँग राजाले प्रश्न गरे। कोही बोलेनन्। शिर निहुराएर उभिरहेका थिए। राजा झन् क्रोधित भए। राजाले तिनीहरूलाई कठोर दण्ड दिने घोषणा गरे। यी सबैकुरा राजाका मित्र गम्भीरतापूर्वक सुनिरहेका थिए।
    मित्रले राजालाई भने, “अहिल्यै सजाय न सुनाउनुस्। म उनीहरूसँग एकपटक कुरा गर्न चाहन्छु।” मित्रले जनताहरूसँग प्रेमपूर्वक कुरा गरे। उनीहरूलाई जवाफ दिन आग्रह गरे। तीमध्ये एक वृद्धले भने, “यसअघि महाराजले धेरैपटक सभामा बोलाउनुभएको थियो। धेरैपटक हामी उपस्थित पनि भयौं। तर सभामा न कहिल्यै महाराजको सवारी भयो, न त समस्या समाधान। त्यसैले यसपटक कोही आएनौं।” यति भनिरहँदा ती वृद्ध मानिस डरले काँपिरहेका थिए। यति सुनेपछि मित्रले सबै कुरा बुझिहाले। मित्रले राजालाई उनको गलती रहेको महसूस गराए। राजाले पनि आफ्नो गलती स्वीकारे। त्यसपछि राजा र प्रजाबीचको घनिष्टता प्रगाढ बन्दै गयो र देश प्रगतिपथमा उँभो लाग्न थाल्यो। 
    उल्लिखित कथाको प्रजा जस्तै नेपाली जनताको अवस्था छ भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला। प्रदेश १, २ र ३ का चुरे तथा तराई भएर बग्ने नदीहरूमा ठूलो बाढीले प्रत्येक वर्ष ताण्डव मच्चाउने गर्दछ। यस क्षेत्रका बासिन्दा डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ। सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लाका समतल स्थानमा डुबानको प्रबल खतरा रहन्छ। रौतहट र सर्लाही जिल्लालाई छुट्टयाउने बागमतीको कहर कोरोनाभन्दा पनि विकराल छ।
    प्रदेश २ का प्रत्येक जिल्लामा साना–ठूला गरी सरदर ५ देखि ८ खोला बग्ने गरेको पाइन्छ। प्रदेश २ को दक्षिण सीमाञ्चल क्षेत्रका बासिन्दा बाढी र डुबानको समस्यासँग बढी प्रभावित रहेको पाइन्छ। प्रायः नदीहरूबाट कटान र डुबानको त्रास उत्पन्न हुने गर्दछ। पर्साका दक्षिणी र पश्चिमी भेगका बासिन्दाले बाढीको उच्च जोखिम खेप्दै आइरहेका छन्। जनजीवन प्रभावित हुनुका साथै धनमाल तथा कृषिजन्य उत्पादनमा पनि क्षति पु–याउँदै आएको छ। यथार्थपरक समस्याहरूको निकासविना विकासको परिकल्पना निरर्थक नै हो।
    बाढी, पहिरो, चट्याङलगायतका ताण्डव शुरू छ। बारा र पर्सासँगै प्रदेश र देशमा मानिस मृत्युवरण गरिरहेका छन्। कोरोनापछि वर्षात् र बाढीको कहरले मानिसको जनजीवन प्रभावित भएको छ। पहाडमा पहिरो र तराईमा बाढीको प्रकोपले धनजनका साथै मानवीय क्षति कोरोनाभन्दा पनि भयावह छ।
    राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले स्वीकृत गरेको कार्ययोजनामा सम्भावित मनसुनजन्य विपत्का घटनाको सङ्ख्या ३० लाख उल्लेख रहेको छ। यसमा बाढी तथा डुबान, कटान र पटानसँग सम्बन्धित १२ लाख ५० हजार, पहिरो २ लाख ५० हजार र पानीजन्य अन्य जोखिमसँग सम्बन्धित १५ लाख भनेर उल्लेख छ। प्रदेश २ मा बाढीको जोखिम अत्यधिक हुने आकलन छ। खासगरी तराईका क्षेत्र बाढी र डुबानको उच्च खतरामा रहेको उल्लेख छ। बाढी पहिरोकै बेला पानीजन्य रोगले कतिपय गाउँबस्तीलाई आक्रान्त पार्न सक्ने, मलेरिया, डेंगु, कालाज्वरो, इन्सेफ्लाइटिस, कमलपित्त, झाडापखाला र सर्पदंशका घटना जस्ता जोखिम पनि उच्च हुने प्रबल सम्भावना रहेको कार्ययोजनामा उल्लेख छ।
    बाढीको जोखिम र धनमालको क्षति न्यूनीकरणको लागि कागजमा कोरिएको सरकारको आकलन कर्तव्यनिष्ठ कार्यान्वयन भएमात्र समस्याबाट उन्मुक्ति मिल्न सक्छ। वास्तविकता हेर्दा पीडित समुदाय देवनाम जपेर त्रासमुक्त हुने भन्दा अर्को उपाय शून्य प्रायः छ। जनमानस वर्षात्भरि दैवभरोसे रहेको सत्यताप्रति यदि सत्ता अबुझ छ भने कथाको राजा जस्तै स्थलगत भ्रमण गरे अवस्थासँग तारतम्य हुन सकिन्छ। कार्ययोजना बनाए पनि कार्यान्वयनको सवालमा एक तहले अर्को तहको मुख ताक्ने/दोषारोपण गर्ने प्रवृत्ति बढ्दो छ। यी सबै विषय कागजमा मात्र सीमित रहने हुन् कि कार्यान्वयनको प्रक्रिया अनुभूति हुने हो भन्ने सवालमा उदीयमान बेथितिले जनआशङ्का बढाएको छ।
    गत हप्ताको वर्षात्ले देहातका सडकहरूमा नागरिकको दुर्दशा भोगाइले सत्तासीनहरूको चरित्र उजागर गरिदिएको छ। देहातको गल्लीहरूमा हिलोले एक घरबाट अर्को घर जान पनि समस्या छ। खाली खुट्टा हिंड्ने कतिपयको आंैला र छाला कुहिएको छ। नागरिकलाई मतदाताभन्दा बढी श्रेय दिने मानसिकता सत्तासीनहरूमा देखिंदैन। बाहिरी आवरणमा निस्स्वार्थी भावना व्यक्त गर्ने र भित्रभित्रै स्वार्थले जेलिएका जनप्रतिनिधिहरूले जनविश्वास गुमाउँदा आफैंप्रति घात हुने कुरा बुझ्नु जरुरी छ।
    पालिकाहरूमा विकासका निम्ति समुद्री लहरको उफान जस्तै रकम आएपनि कार्यप्रगति पानीको बुलबुलाभन्दा माथि उठ्न सकेको छैन। तीनै तहका सरकारले उ्रत्तरदायित्वभन्दा पनि एकअर्कामाथि दोष थोपार्ने प्रवृत्तिले आममानिसलाई निराश तुल्याइरहेको छ। तीन तहको सिंहदरबारसँग जनअपेक्षित विकासको सपना जनमनमा छ। जनमत पाएर शक्तिशाली भएका जनप्रतिनिधिहरूको आँखा अगाडि आमनागरिक दैवभरोसे बाँच्नु लज्जास्पद र हास्यास्पद अवस्था हो। उपरोक्त कथाका राजा जस्तो गलती स्वीकार्ने जनप्रतिनिधि र राजाका मित्र जस्तो उचित सल्लाह दिने व्यक्तिहरूको खाँचो छ। सत्तावरिपरिका मित्रहरूले स्वार्थपरक हुनुभन्दा पनि जनसरोकारका विषयमा अग्रणी भूमिका निर्वाह गर्नु अपरिहार्य छ। आमजनमा अङ्कुरण गरिएको प्रगतिशील देश र उत्साही जनताकोे सपना विपनामा परिणत होस्। जनअपेक्षाविपरीत कार्य गर्नेहरूलाई आउने समयले बाटो देखाउनेछ भन्ने विषयप्रति चेत होस्।

Friday, July 10, 2020

कर्मको फलबाट कोही पनि जोगिंदैन

कर्मको फलबाट कोही पनि जोगिंदैन

    कौशाम्बीका राजा विजयप्रताप र उनकी महारानी सुनन्दाको जीवन निकै ऐशोआरामले बितिरहेको थियो। उनीहरूका कैयौं सन्तान थिए र ती सबै स्वस्थ र सुन्दर थिए तर यसपटक महारानी सुनन्दाको कोखबाट एउटा यस्तो बालकको जन्म भयो, जुन अङ्गविहीन मांसपिण्ड थियो। राजा र रानी निकै उदास र दुःखी भए। घरका सबै व्यक्ति त्यस अङ्गविहीन बालकलाई देखेर निकै दुःखी हुन थाले। त्यस बालकलाई देखेर सुनन्दा रात–दिन आँसु बगाइरहन्थिन्। राजाले उनलाई सम्झाउने प्रयास गर्दथे तर रानीमाथि यसको असर पर्दैनथ्यो। एकदिन राजाले भने, “सुनन्दा यो अङ्गविहीन बालक तिम्रो कोखबाट जन्मिएको हो र यो हाम्रो छोरा हो। यो जस्तोसुकै भएपनि हामीले यसलाई आफ्नो छोरा मान्नुपर्छ र यसको समुचित पालनपोषण पनि गर्नुपर्छ।”
    त्यस बालकको नाम मकराक्ष राखिएको थियो र उसलाई राजमहलको एउटा एकान्त कोठामा लुकाएर राखिएको थियो, जसले गर्दा बाहिरका मानिसले उनलाई हेर्न सक्दैनथिए। किनभने त्यसलाई हेरेर मान्छेले राजारानीको साथसाथै बालकको पनि उपहास गर्दथे। यस बालकको बारेमा हामीबाहेक अन्य कसैलाई कुनै जानकारी हुनुहुँदैन– यस्तो राजाले सुनन्दालाई भनेका थिए। यस प्रकार राजा र रानी आफ्नो भाग्यलाई सराप्दै त्यस बालकलाई राजमहलभित्रै पालनपोषण गर्न थाले। उसलाई राजमहलबाट कहिल्यै बाहिर ल्याइएन।
    संयोगले प्रव्रज्या गर्दै एक दिन तीर्थकर भगवान् महावीर त्यस शहरमा पधारे। त्यस शहरमा उनको सत्सङ्गको व्यवस्था गरिएको थियो। हजारौं व्यक्ति त्यहाँ सत्सङ्ग सुन्न पुगे। उनको दर्शन लाभ गरेर आए। महावीरको आगमनको जानकारी एकजना वृद्धले पनि पाए, जो दृष्टिहीन थिए, उनको पनि इच्छा महावीरको सत्सङ्गमा जाने भयो। उनी सदा आफ्नो भाग्यलाई निन्दा गर्दै ‘मेरो कुनै नराम्रो कर्म, अशुभ कर्म, पाप कर्मको कारणले नै म अन्धो भएँ’ भन्थे। उनको शरीरमा थुप्रै गहिरो घाउ थियो, जुन दुख्दा निकै पटक कराउँथे।
    आग्रह गरेपछि एक युवकले उनलाई महावीरको सत्सङ्गसम्म पु–याइदिए। उनी एउटा अग्लो थुम्कोमा बसेका थिए। महावीरको सत्सङ्ग चलिरहेको थियो। उनले महावीरलाई हेर्न सक्दैनथिए तर सोचिरहेका थिए कि महावीरले अवश्य मलाई हेर्न सक्छन् र उनको पावन दृष्टि ममाथि परेपछि निश्चित नै मेरो पाप मेटिन्छ र उनको सत्सङ्गको सात्विक वातावरणबाट मेरो चित्त पवित्र हुनेछ। त्यस अन्धा र पीडाले कराइरहेका व्यक्तिको करुण मौन पुकार अन्तर्यामी महावीरसम्म पुगिरहेको थियो र उनी बीच–बीचमा त्यस अन्धोमाथि करुणामयी दृष्टि पनि पारिरहेका थिए।
    भगवान् महावीर प्रवचनमा भनिरहेका थिए, “यस धर्तीमा जति पनि प्राणी छन्, ती सबै आआफ्नो सञ्चित कर्मको कारण नै संसारमा चक्कर लगाउँछन्। जीवन–मरणको चक्रव्यूहमा फस्छन्। आफूले गरेको राम्रा–नराम्रा, शुभ–अशुभ, पुण्यकर्मको कारण नै विभिन्न योनीमा जन्म लिन्छन्। आफ्नो कर्मको फल हरेक प्राणीले भोग्नुपर्छ। जसरी तुम्बीमा माटोको तह जमाएपछि त्यो ग–हुँगो हुन्छ र डुब्न थाल्छ, त्यसै प्रकार हिंसा, झूटो, चोरी, व्यभिचार र मूच्र्छा, मोहबाट युक्त कर्म गर्नाले आत्मामा कर्मरूपी माटोको तह जम्मा हुन्छ। र त्यो ग–हुँगो भएर अधोगति प्राप्त हुन्छ। यसको विपरीत यदि तुम्बीको माथिबाट माटोको तह हटाएपछि त्यो हलुका भएको कारण पानीमा उत्रिन्छ र तैरिन थाल्छ। त्यस्तै यो आत्मा पनि जब कर्मबन्धनबाट मुक्त हुन्छ, तब त्यो माथिको गति प्राप्त गरेर लोकाग्र भागमा पुग्छ र त्यहाँ स्थिर हुन्छ।”
    यता भगवान् महावीरको प्रवचन चलिरहेको थियो र उनको नजीक बसेका शिष्य गौतम स्वामी पटक–पटक थुम्कोमा बसेका त्यस अन्धो वृद्धलाई हेरिरहेका थिए। महावीरलाई आश्चर्य भयो कि मेरोतर्फ एकटक हेर्ने गौतम आज पटक–पटक फर्किएर के हेरिरहेका छन् ? जब सत्सङ्ग पूरा भयो, तब भगवान् महावीरले गौतम स्वामीसँग सोधे, “वत्स १ आज सत्सङ्गको समयमा तिमीले के हे–यौं, जसले गर्दा तिम्रो मन सत्सङ्गमा लागेन।”
    गौतम स्वामीले भने, “भगवन् १ आज म सत्सङ्गमा आएका त्यस वृद्ध व्यक्तिलाई हेरिरहेको थिएँ, उनी दृष्टिविहीन मात्र थिएनन्, शरीरभरि घाउ भएको कारण पीडाले कराइरहेका थिए। त्यो कति अभागी र दुःखी प्राणी छ। भगवन् के त्यसभन्दा पनि बढी दुःखी कोही हुन सक्छ ?” महावीरले भने, “वत्स १ त्यस अन्धोको त केही पुण्य पनि छ। आँखाबाहेक उसको शरीरका अन्य अङ्ग ठीक छ र ऊ हिंड्डुल पनि गर्न सक्छ तर राजा विजयप्रतापको बालक मकराक्ष हातखुट्टाविनाको मांसपिण्ड जस्तो छ। त्यो राजघरानामा एशोआरामको वस्तुबीच हुर्किरहेको छ तर पनि त्यो घोर दुःखमा छ, तर यो कुरा केवल राजारानीलाई मात्र थाहा छ।”
    गौतम स्वामीले सोधे, “भगवन् १ यदि तपाईंको आज्ञा हुन्छ भने म राजमहल पुगेर त्यसलाई हेरेर आऊ ?” भगवान् महावीरे अनुमति दिए र गौतम स्वामी राजमहलतर्फ लागे। उनी राजमहल पुगे। उनलाई हेरेर राजारानी आश्चर्यचकित भए र सोच्दै थिए अहिले भिक्षाको समय होइन र उनको हातमा भिक्षाको पात्र पनि छैन, त्यसो भए महावीरका यो शिष्य हाम्रो राजमहलमा यस समय किन आए ?”
    राजाले उनको स्वागत गरेर भने, “तपाईंको आगमनबाट हाम्रो राजमहल पवित्र भयो। भन्नुस् के सेवा गर्न सक्छौं ? हामीलाई आज्ञा दिनुहोस्।” गौतम स्वामीले सोधे, “राजन् १ के तपाईंको राजमहलमा यस्ता जीवको पालनपोषण भइरहेको छ, जो अङ्गविहीन मांसपिण्डसरह छ ?” यो सुनेर राजारानी आश्चर्यचकित भए। किनभने यो कुरा राजमहलभन्दा बाहिर कसैलाई थाहा थिएन। राजाले सोधे, “यसको जानकारी तपाईंले कसरी पाउनुभयो ?” गौतम स्वामीले भने, “राजन १ मलाई यो मेरा गुरुले बताएका हुन् र म उनको आदेशबाट नै तपाईंको पुत्र मकराक्षलाई हेर्न आएको हुँ।”
    राजाले उनलाई एकान्त कोठामा लगे, जहाँ मकराक्षलाई राखिएको थियो। अङ्गविहीन मकराक्ष त्यहाँ पल्टिएका थिए र दारुण पीडाले कराइरहेका थिए। गौतम स्वामी यी सबै हेरेर चकित भए। राजमहलबाट फर्किएर उनले महावीरसँग सोधे, “भगवन् १ त्यस अभागी जीवले कस्तो कर्म गरेको होला, जुन राजमहलमा जन्म लिएर पनि दारुण कष्ट झेलिरहेको छ।”
    महावीरले भने, “वत्स १ यी सबै जीवद्वारा गरिएको कर्मको खेल नै हो। मकराक्ष आफ्नो पूर्वजन्ममा यस क्षेत्रको सुकर्णपुर नगरका स्वामी थिए र उनको अधीन अन्य पाँच सय गाउँ पनि थियो। पूर्वजन्ममा उनको नाम इक्काई थियो। उनी अनित्य संसारलाई नित्य मानेर जीवन जिउँथे। लूटमार–व्यभिचार, अपहरण आदि नराम्रा कर्मबाट लिप्त हुन्थे। उनी आफ्नो प्रजामाथि घोर अत्याचार गरेर निकै दुःख दिन्थे। साधुसन्धको अपमान र सत्सङ्गलाई निरादर गर्दथे।”
    “पूर्वजन्मको नराम्रो कर्मको कारण नै उनी अङ्गविहीन मांसपिण्डको रूपमा जन्मिएका हुन् र राजमहलमा जन्म लिएर पनि राजसी सुखबाट वञ्चित छन् र दारुण दुःख झेलिरहेका छन्। यसैले जीवले आफ्नो कर्मप्रति सदैव सावधान रहनुपर्छ र शुभ र पुण्यकर्ममा निरत रहनुपर्छ। जसले जस्तो गर्छ, त्यस्तै फल प्राप्त गर्छ।”
जिजीविषा !

जिजीविषा !


-मुकुन्द आचार्य
    मान्छेको ज्यान हेर्दा पो सानो हुन्छ। उसको मन मगजमा त संसारै बसेको हुन्छ। बीस सिटे गाडीमा साठीजना चढेजस्तै ! मान्छेका चाहना कति–कति ! मान्छेलाई पहिले माम चाहिन्छ, मामका लागि दाम चाहिन्छ, दामका लागि काम चाहिन्छ। एक चाहिन्छ, अनेक चाहिन्छ। मान्छेलाई चाहियो भनेपछि, चाहियो ! चाहियो !! त्यसमाथि नाम पनि चाहिन्छ। नाम त झन् सदाका लागि चाहिन्छ।
    कुन चैं बौलाहाले आफ्नो पूरा बायोडाटा ढुङ्गामा कुँदेर भूमिभित्र लुकाएर स्थापित गर्न लाएको थियो रे। भारतका दुर्गम तीर्थहरूमा नेपाली शासकवर्गको दानशीलता उदारता दर्शाउने बेहोराका शिलालेखहरू प्रायः फेला पर्छन्। धन्य छ, नामको भोक।
    तागाधारी द्विजहरू आफ्ना पितृमातृ श्वसुर पक्षका थुप्रै पुस्तालाई तर्पण र श्राद्ध गर्दैछन्। फलानोले सात पुस्तालाई पुग्ने गरी कमाएको छ, भन्छन्। यो पनि घुमाउरो भोक नै हो।
    कुरोको चुरो चैं के भने आफ्नो अस्तित्व सदा सर्वदा रहिरहोस् भन्ने नामको भोक पनि नश्वर क्षणभङ्गुर शरीरधारी मानवमा अटेसमटेस भएर बसेको हुन्छ। तर बाहिर झट्ट देखिन्न।
    कसै–कसैमा त पागलपनको हदसम्मै यो नामभोक बसेको हुन्छ। लुकेर बसेको हुन्छ भन्दा बरु ठीक होला। कतिपय अवसरमा यस्तो प्रचण्ड भोक प्रस्टै देखिन्छ। कलैयाको सेरोफेरोमा हुने साहित्यिक कार्यक्रमहरूमा एक आदरणीय अग्रजको कवितावाचनमा सर्वप्रथम मेरै नाम हुनुपर्छ भन्ने ढिपीको सम्झना आउँछ। उनी अब स्वर्गीय भइसके। उनको आत्माले स्वर्ग वा नर्क, उनी जहाँ छन्, त्यहाँ हुने कवि सम्मेलनहरूमा सबैभन्दा पहिला कविता सुनाउने अवसर प्राप्त गरोस्।
    सत्सँग भवन, धर्मशाला, सभा भवनजस्ता दातव्य ठाउँमा पनि सिलिङ फैनका पत्रहरूमा समेत दाताको नाम लेखिएको भेटिन्छ। धु्रवलोकको हीरो धु्रवले धु्रव हुने राम्रै जोहो गरे। त्यसैले त हामी अझ पनि धु्रवसत्य भन्दैछौं।
    ‘बदनाम हुए तो क्या हुआ, चलो नाम तो हुआ !’– भन्ने महान् आत्माहरू पनि प्रशस्तै उपलब्ध हुन्छन्। यो मोरो नामको भोक पनि अचम्मै उल्काको हुन्छ। नेताहरूको कुर्सी प्रेमभन्दा पनि चर्को।
    विगत केही दिनदेखि ‘कुर्सी प्रेम’ नामक नाटकको राम्रो सफल मञ्चन नेपाली राजनीतिक रङ्गमञ्चमा भइरहेको छ। यो कुर्सी प्रेम पनि नाम, दाम, शक्ति, शासन आदिको सम्मिश्रित भोक नै हो। थरीथरीका भोक !
    एक आधुनिक सज्जनको नामभोक विचित्रको छ। विद्यालय, पुस्तकालय, शिक्षालय आदि जुनसुकै संस्थामा पनि उनलाई अध्यक्ष पद नै चाहिने। त्यो नपाए उनी सो संस्थामा बस्दै नबस्ने। पछिपछि त हुँदाहुँदा उनी झन्डै बीसवटा जति शौचालयका निर्विरोध सभापति भएछन्।
    पछि कसैले सुनाएको थियोस बीसोटा शौचालयको सुव्यवस्था मिलाउने मेलोमेसोमा उनको भोक नै मरेर गएछ। शौचालयको कच्चा पदार्थ नै उनको मगजमा दिनरात मडारिरहन्थे रे ! स्वादिष्ट व्यञ्जन खान जति बल गरे पनि हेर्दाहेर्दै त्यो भोजन त मानव मलजस्तो देखिन थालेछ उनलाई ! यसरी भोकै मरेर गएछ।
    कति थरी उपचार गर्दा नि उनको भोक गएको गयै भएछ। उनी मर्दा पनि बीस शौचालयका आजीवन अध्यक्ष थिए, भन्छन्। अध्यक्षको कुर्सी उनले प्राण गए पनि छोडेनन्।
    कुनै पुरानो हिन्दी फिलिममा अजीत भनिने कलाकारको संवाद थियो– ‘सारा शहर मुझे लायन के नाम से जानता है।’ यस्तै छ नामको भोक। यसैको अलिकति संस्कृतरूपलाई ‘जिजीविषा’ भन्छन्। सदा बाँचिरहने रहर !

द्रोण पर्व–१८

द्रोण पर्व–१८

-उमाशङ्कर द्विवेदी
    सञ्जयले भने– महाराज, युधिष्ठिर, भीमसेन, शिखण्डी, सात्यकि, नकुल, सहदेव, धृष्टद्युम्न, विराट, द्रुपद, केकय, धृष्टकेतु र मत्स्य आदि योद्धाहरू व्यूहाकारमा सङ्गठित भएर अभिमन्युको रक्षा गर्नको लागि उनको साथमा हिंडे। उनलाई धावा गरिरहेको हेरेर तपाईंका सैनिकहरू भाग्न लागेका थिए। अनि तपाईंका ज्वाइँ जयद्रथले दिव्यास्त्रको प्रयोग गरेर पाण्डवहरूलाई सेनासहित रोकिदिए।
    धृतराष्ट्रले भने– सञ्जय, मलाई लाग्दछ, जयद्रथमाथि ठूलो भार आइपरेको छ। उसले एक्लै हुँदा पनि कसरी क्रोधित पाण्डवहरूलाई रोक्नमा सफल भयो। उसले कुन यस्तो महान् तप गरेको छ, जसले गर्दा उसले पाण्डवहरूलाई रोक्न सफल हुन पुग्यो ?
    सञ्जयले भने– जयद्रथले वनमा द्रौपदीको हरण गरेको थियो, त्यतिबेला ऊ भीमसेनसित पराजित हुनुपरेको थियो। त्यस अपमानबाट दुःखी भएर उसले भगवान् शङ्करको आराधना गर्दै बडो कठोर तपस्या गरेको थियो। भक्तवत्सल भगवान्ले उसमाथि दया गरेर उसको स्वप्नमा दर्शन दिएर भनेका थिए– जयद्रथ, म तिमीमाथि अत्यन्त प्रसन्न भएको छु, तिमीले आफ्नो इच्छानुसार वर माग। उसले भगवान् शङ्करलाई प्रणाम गरेर भनेको थियो– म पाण्डवहरूलाई युद्धमा जित्न चाहन्छु। भगवान्ले भनेका थिए– सौम्य, तिमीले अर्जुनबाहेक शेष चारजना पाण्डवलाई युद्धमा जित्न सक्नेछौ। होस्, यस्तै होओस्–यति भन्दाभन्दै उसको निद्रा खुलेको थियो। त्यसै वरदानको प्रभाव र दिव्यास्त्रको बलको कारणले जयद्रथ एक्लैले पाण्डवसेनालाई अगि बढ्नबाट रोक्न समर्थ भएको थियो। उसको प्रत्यञ्चाको टङ्कार सुनेर शत्रुसेनाका वीरहरू भयभीत भई सुकेको पातझैं काम्न थाले तथा कौरव सैनिकहरूलाई बडो हर्ष भयो। त्यतिबेला सम्पूर्ण भार जयद्रथमाथि आइपरेको हेरेर कौरवपक्षका क्षत्रिय वीरहरू कोलाहल गर्दै युधिष्ठिरको सेनामाथि प्रबलरूपमा जाइलागे। अभिमन्युले व्यूहको जुन भागलाई भङ्ग गरिदिएका थिए, त्यसलाई जयद्रथले पुनः योद्धाहरूको तैनाथीले पुरिदियो। अनि उसले सात्यकिलाई तीन, भीमसेनलाई आठ, धृष्टद्युम्नलाइ साठी र विराटलाई दश बाण हान्यो। यसै प्रकार दु्रपदलाई पाँच, शिखण्डीलाई सात, केकय राजकुमारहरूलाई पच्चीस, द्रौपदीका प्रत्येक पुत्रलाई तीन–तीन र युधिष्ठिरलाई सत्तरीवटा बाण हानेर घाइते पारिदियो। साथै अन्य पाण्डववीरहरूमाथि पनि बाण प्रहार गरेर पछि हट्न बाध्य पारिदियो। उसको यो काम अद्भुत नै भएको थियो। अनि राजा युधिष्ठिरले हाँस्दाहाँस्दै एउटा तीक्ष्ण बाणबाट जयद्रथको धनुषको त्यान्द्रोलाई काटिदिए। जयद्रथले एकै निमेषमैं अर्को धनुष लिएर युधिष्ठिरमाथि दशवटा र अन्य योद्धाहरूलाई तीन/ तीन वटा बाण हानेर घाइते पारिदियो। उसको हातको फुर्ती हेरेर भीमसेनले तीनवटा बाण हानेर उसको धनुष, ध्वजा र छत्रलाई काटी खसाले। जयद्रथले पुनः अर्को धनुष उचालेर त्यसमाथि प्रत्यञ्चा चढाएर भीमसेनको धनुष, ध्वजा र घोडाहको संहार गरिदियो। घोडाहरू मारिएको हेरेर भीमसेन आफ्नो रथबाट हाम्फाल्दै सात्यकिको रथमाथि गई बसे। जयद्रथको यस्तो पराक्रम हेरेर तपाईंका सेनाहरूले उसलाई स्याबासी दिन थाले। यत्तिकैमा अभिमन्युले उत्तर दिशातिर युद्ध गरिरहेका हात्तीसवारहरूलाई मारेर पाण्डवसेनाको लागि मार्ग बनाए तर जयद्रथले त्यस मार्गलाई पनि रोकिदियो। मत्स्य, पाञ्चाल, केकय र पाण्डववीरहरूले धेरै प्रयत्न गरे तर उनीहरूले जयद्रथलाई त्यहाँबाट हटाउन भने सकेनन्। तपाईंका शत्रुहरूमध्ये जो कोहीले पनि द्रोण व्यूहलाई भङ्ग गर्ने प्रयत्न गर्दथ्यो, त्यसलाई जयद्रथले आफ्नो वरदानको प्रभावले रोकिदिन्थ्यो।
    सञ्जयले भने– तदन्तर दुद्धर्षवीर अभिमन्युले त्यस सेनाको व्यूहभित्र छिरेर यस प्रकारले ताण्डव मचाए, जसरी समुद्रको जलमा कुनै विशाल गोहीले हलचल मचाउँछ। तपाईंको सेनाका प्रधान वीरहरूले रथबाट अभिमन्युलाई घेरामा हालिराखेका थिए। तापनि उनले वृषसेनको सारथिलाई मारेर उनको धनुषलाई पनि काटिदिए। बलवान् वृषसेनले पनि अभिमन्युका घोडाहरूलाई मारेर खसाल्दै गइरहेका थिए। अभिमन्युका घोडाहरू उनको मारबाट आत्तिएर रथलाई लिई त्यहाँबाट कुलेलम ठोकिहाले। यस्तो विघ्न आइपरेको हेरेर सारथिले रथलाई त्यहाँबाट अन्यत्र लगिहाल्यो। अलिक बेरमैं अभिमन्युलाई शत्रुहरूको मर्दन गर्दै आइरहेको हेरेर बसातीय उनको सामना गर्न आइपुग्यो। उसले अभिमन्युलाई साठीवटा बाण हानेर घाइते पारिदियो। अनि अभिमन्युले बसातीयको छातीलाई ताकेर एउटै बाण हाने, जसको कारण ऊ त्यही लडेर प्राण त्यागी भुइँमैं सोत्तर हुन पुग्यो। यो घटना हेरेर तपाईंका कौरववीरहरूले क्रोधित भई अभिमन्युलाई मारिहाल्न भनेर उनलाई घेरामा हाले। उनीहरूको साथ अभिमन्युको बडो भयङ्कर युद्ध भयो। अभिमन्यु कुपित भएर उनीहरूको धनुष र बाणलाई टुक्रा–टुक्रा पारी कुण्डल र मालासहित उनीहरूको टाउको गिडिदिए।
    तत्पश्चात् मद्रराजको बलवान् पुत्र रूक्मरथ आई तर्सिएका सेनालाई आश्वासन दिंदै भन्यो– वीरहरू हो, न तर्स, म छउञ्जेलसम्म अभिमन्युको कुनै पनि पौरख काम लाग्दैन। सन्देह न गर, म यसलाई जिउँदै समातिहाल्नेछु। यति भनेर ऊ अभिमन्युतिर दगु–यो अनि उनको छाती तथा दुवै भुजामा तीन/तीन बाण हानेर गर्जना गर्न थाल्यो। अनि अभिमन्युले उसको धनुषलाई काटिदिए र शीघ्र नै उसको दुवै भुजा तथा मस्तक काटेर भुइँमा खसालिदिए। क्रमशः...महाभारतबाट
सङ्कलन तथा अनुवाद
असार भ्रष्टाचारको प्रजनन सङ्गम

असार भ्रष्टाचारको प्रजनन सङ्गम

-राजेश मिश्र
    ‘जोड लगाके हइसा’ साइकल, मोटरसाइकल, ट्याक्टरलगायतका सवारीसाधनहरू ग्रामीण सडकको हिलोमा फसेपछि यो पङ्क्ति उच्चारण गर्दै सवारी ठेलिरहेको दृश्य आम भएको छ। खराब सडकको कारण गर्भवती महिला, सर्पदंशलगायतका सख्त बिरामी र व्यापारिक कारोबारको लागि सवारीसहित देहातदेखि वीरगंज पुग्न सजिलो छैन।
    पोखरिया नगरपालिका वडा नं ३ वसन्तपुरका राजेश गुप्ता साप्ताहिक बिदामा बाइकले घर जाँदै थिए। वीरगंजदेखि पोखरियासम्म सहज यात्रा गरे। तर पोखरियादेखि वसन्तपुरसम्म २ किलोमिटर को यात्रा सम्झेर उनको मन मलिनो हुन्छ। लङ्गडी–भिस्वातर्फ जाने मानिसलाई झन् कस्तो हुँदो होला र एक चौथाइ बाटो पार गरिसकेपछि गुप्ताको अवस्था ‘रुनु न हाँस्नु’ भएको थियो। बायाँ हातले बाइकको हैन्डल र दायाँ हातले बाइकको पछाडि समाएर बाइक ठेलिरहेका थिए। दुई दिनअघि किनेको जुत्ता हिलोमैं हरायो। मुकेश कुमार र अन्य बटुवाहरू पनि सवारीसाधनसहित हिलोमा फसेका थिए। यी त प्रतिनिधि उदाहरण मात्र हुन्। सास्ती भोगिरहेका आमनागरिकको भावना तीनै तहका सरकार र नियामक निकायप्रति कस्तो होला ? भन्ने सत्तासीनहरूले महसूस गर्नुपर्दछ।

    आर्थिक वर्ष २०७६/७७ को अन्तिम महीना असार सकिनै लागेको छ। पालिकाहरूले विकास निर्माणको रकम कहाँ र कति खर्च गरे भन्ने कुरामा सर्वसाधारण मानिसको खासै चासो हुँदैन। कथंकदाचित सूचनाको हक प्रयोग गरेर सर्वसाधारण नागरिकले जान्न चाहे पनि निवेदन दिएको महीनौंसम्म पनि सूचना प्राप्त हुँदैन। यस्तो अवस्थामा सूचनाको हक प्रयोग गरेर तथ्य बुझ्ने निम्नवर्गको प्रयास दिवा सपना जस्तै हो। सोधीखोजी गर्ने विपक्षी पनि किन सुस्त छन् ? जनस्तरमा चर्चाको विषय बन्दै गइरहेको छ। अपवादबाहेक आर्थिक प्रलोभनमा परेर विकृतिलाई नजरअन्दाज गर्ने प्रवृत्ति बढ्दो छ।
    हरेक वर्षजसो यस वर्ष पनि गाउँदेहातका सडकहरू हिलाम्य भएका छन्। पर्साको पोखरिया–भिस्वा सडकखण्डमा ग्रेभलमाथि माटो पुर्ने काम भयो। सरकारी ढुकुटी पानीमा बगाउने काम प्रायः पालिकामा भइरहेका छन्। केही दिनको वर्षात्ले सडकको बिजोग भएको छ। पैदल हिंड्नसमेत गा–हो छ। सवारी लिएर जानु–आउनु भनेको फलामको चिउरा चपाउनु सरह छ। प्रदेश २ का प्रायः गाउँबस्तीका कच्ची सडकहरू धान रोप्नको लागि तयार खेत जस्तै छन्। बाराको कलैया र पर्साको भिस्वाको सडकमा विरोधस्वरूप जनताद्वारा सडकमा भएको धान रोपाइँ सत्ताप्रतिको जनआक्रोश हो। यसलाई नजरअन्दाज गर्नु प्रत्युत्पादक हुन सक्छ।
    कोरोना कहरमा स्थानीय आवागमन खुकुलो भएसँगै यस वर्ष पनि सडकमा माटो पुर्ने काम हतार–हतारमा भइरहेको छ। वर्षा ऋतु भएकोले वर्षा नहुने कुरै भएन। सडकमा खसालेको माटोे वर्षाको कारण सडकबाट बगेर खेतमा जान थालेको छ। अधिकांश स्थानमा हिलोले आवतजावत अवरुद्ध भएको छ।
    ४ सङ्घीय सांसद, ८ प्रदेशसभा सदस्य र ५८५ स्थानीय तहका जनप्रतिनिधिको काँधमा पर्साको जिम्मेवारी छ। क्षेत्र विकास र स्थानीय तहमार्फत् प्रत्येक वर्ष अर्बौं रकम जिल्लामा आइरहेको छ। तर जिल्लाको अवस्थालाई हेर्ने हो भने तीन पुस्ताअघिको भन्दा कति प्रगति भएको छ भन्ने कुरा छर्लङ्ग हुन्छ।
    एउटा प्रसिद्ध उखान छ, ‘जति जोगी आए पनि कानै चिरिएका’। जनप्रतिनिधिहरू आफ्नो कार्यकालको तेस्रो आर्थिक वर्ष सकेर चौथो वर्षमा प्रारम्भ गर्न जाँदैछन्। तथापि गाउँदेहातको हालत विगतभन्दा पृथक देख्न पाइएन। असारे विकासको फलस्वरूप ग्रामीण कच्ची सडकको दयनीय अवस्था देखेर जनस्तरबाट विरोध उत्पन्न हुन थालेपछि अपवादबाहेक प्रायः जनप्रतिनिधिहरू गुप्तवासमा छन्।
    एउटा हिन्दी उखान छ, ‘सच्चाई छुप नहीं सकती बनावट की उसुलों से, कि खुश्बु आ नहीं सकती, कभी कागज के फूलों से’। कोरोना कहर र वर्षात्ले आमनागरिकलाई सास्ती भएपनि पालिकाहरूको लागि यो सुनौलो अवसर जस्तै भएको छ। केही पालिकामा गत वर्षको बेरुजु रकम हालसम्म पनि फछ्र्योट भएको छैन। यही मौकामा बेरुजु रकम गलहत्याउने कार्य द्रुत गतिमा होला भन्ने प्रबल आशङ्का छ। आममानिसको बुझाइमा कोरोना कहरलगायतका क्रियाकलापलाई मध्यनजर गर्दा भ्रष्टाचारजन्य क्रियाकलापमा गाँजिएको सत्तामाथि जनताको भरोसा ओरालोलाग्दो छ।
    असारे विकासको नाममा प्रत्येक वर्ष रकमको दुरुपयोग गर्ने चलन बढ्दो छ। असार महीनामा दैनिक पूँजीगत खर्च शतप्रतिशतले बढ्ने गरेको पाइन्छ। कस्तो चमत्कार ! पछिल्लो ११ महीनाको अनुपातमा असारमा औसत दैनिक पूँजीगत खर्च दोब्बरभन्दा बढी हुन जान्छ। जुन तन्त्र आए पनि विकासको मौलिक प्रकृतिमा खासै परिवर्तन देखिएन।
    यी विकासका लक्षणहरूले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नाराको धज्जी उडिरहेको छ। मानिस आधारभूत सेवाहरू उपभोग गर्न वञ्चित रहेका बेला सत्तासीनहरू राज्यको भत्ता र सेवाहरूको मज्जा लिइरहेका छन्। पद र हैसियतको नाममा नागरिकको करको पैसाले महँगो गाडी प्रयोग गरिरहेका छन्। निजी सुविधाको लागि करको रकम धूवाँमा उडिरहेको छ। के यही हो संविधानले कल्पना गरेको गणतन्त्र ?
    पर्सा जिल्लामा पक्की सडक सञ्जालको विषय चर्चा गर्न लायक देखिंदैन। वीरगंज–तिलावे–फजतवा, वीरगंज–तिलावे–पोखरिया, पर्साको रङपुरटाँडीदेखि बाराको जीतपुर, विन्दवासिनी–नगरदहासम्म पक्की सडक सीमित छ। कतै–कतै टुक्रे पक्की सडक देख्न सकिन्छ, जसको विषयमा खासै चर्चा गर्नुपर्ने औचित्य देखिंदैन। सुक्खा बन्दरगाह–परवानीपुर सडकखण्ड निर्माणाधीन अवस्थामा छ। वीरगंजदेखि ठोरीसम्मको हुलाकी सडकले हालसम्म पूर्णता पाउन सकेको छैन। पक्की सडक सञ्जालको अवस्था प्रदेश २ मा लज्जास्पद छ भन्नुपर्दा कुनै अतियुक्ति नहोला।
    पर्सा जिल्लाका एक महानगरपालिका र तीनवटा नगरपालिकाका वडाहरू केन्द्रसम्म पक्की सडक सञ्जालसँग जोडिएको अवस्था छैन। एघारवटा गाउँपालिकाको अवस्था पनि हास्यास्पद छ। महानगरपालिका, नगरपालिका र गाउँपालिकालाई करको दायरामा जोडिए पनि पक्की सडकलगायतका सुविधामा जोडेको पाइँदैनन्। पर्साका पालिकाहरूको चार वर्षे विकास योजना सराहना योग्य हुनुपर्ने हो। तर जनसरोकारका विषयमा उत्तरदायित्व वहन कहालीलाग्दो छ।
    आर्थिक वर्षको अन्तिम महीनामा विकासको द्रुत गति भनेको हाम्रो शासन प्रणालीमा अझ ठूलो विकृतिको लक्षण हो। तलदेखि माथिसम्म यस्ता विकासे भ्रष्टाचारजन्य क्रियाकलापले देश विकास अधोगतितर्फ उन्मुख हुँदैछ। आफ्नो आसेपासेको सहभागितामा उपभोक्ता समिति गठन गरेर विकासको नाममा भ्रष्टाचारको खेती हुँदैछ। आर्थिक वर्षको अन्त्यतिर काम गर्ने/गराउने र भुक्तानी लिने/दिने प्रचलन विगतकै कुनियतको निरन्तरता हो। गणतन्त्रको उपहास हो। सरकारले यो सिन्डीकेट समाप्त गर्न सकेको छैन, किनभने अपवादबाहेक सत्तामा रहेका सबैले यस भ्रष्ट प्रणालीबाट फाइदा लिइरहेका छन्।
    देशको उन्नति र प्रगतिमा सडक सञ्जालको प्रमुख भूमिका रहेको हुन्छ। आवागमन सहज भएमा वर्षैभरि गाउँदेहातको कारोबार शहरसँग जुडिरहन्छ। मौलिक परिवर्तनको आशामा जनताले गणतन्त्र स्थापना र जनप्रतिनिधिहरूको जीतमा हर्षबोध गरे। यद्यपि, आम सरोकारजन्य विकासका सङ्केतहरू उत्साहप्रद छैनन्। जनता परिवर्तन चाहन्छ। जनता सडकलगायतका पूर्वाधारहरूको विकास चाहन्छ। तर अझै पनि विकासतन्त्र असारेतन्त्रमा फसेको छ। भ्रष्टाचारको प्रजनन सङ्गम बनेको असारे विकासकोे अन्त्य कहिले हुने हो ?

Friday, July 3, 2020

द्रोण पर्व–१७

द्रोण पर्व–१७

उमाशङ्कर द्विवेदी
    अर्जुनकुमार अभिमन्युले बाणबाट शल्यका भाइको घोडा, छत्र, ध्वजा, सारथि, रथको पाङ्ग्रा, धुरी, धनुष, प्रत्यञ्चा, पताका, पाङ्ग्राको रक्षक एवं रथको सबै सामग्रीलाई खण्ड–खण्ड पारेर उनको हात, खुट्टा, घाँटी र टाउको पनि काटी खसाले । अनि त उनका अनुचरहरू अत्यन्त भयभीत भएर सबै दिशातिर भाग्न थाले । अभिमन्युको त्यस अद्भुत पराक्रमलाई हेरेर सबैजनाले स्याबासी दिन थाले । त्यतिबेला अभिमन्युले दिव्य अस्त्रहरूबाट शत्रु–सेनाको संहार गर्दै चारै दिशामा देखिन थाले । उनको यस्तो अलौकिक कर्मलाई हेरेर तपाईंका सैनिकहरू काम्न थाले । यसैबेला तपाईंको पुत्र दुःशासन बडो जोडले गर्जना गरेर क्रोधमा भरिई बाणवर्षा गर्दै सुभद्राकुमारमाथि आइलागे । आउने बित्तिकै उनलाई अभिमन्युले छब्बीसवटा बाण हाने । अभिमन्यु र दुःशासन दुवै रथ–शिक्षामा निपुण थिए । उनीहरूले देब्रे र दाहिने विचित्र मण्डलाकार गतिले हिंड्दै युद्ध गर्न थाले ।
    सञ्जयले भन्छन्– राजन्, त्यतिबेला अभिमन्युले दुःशासनसित हाँसेर भने–दुर्मते, तिमीले मेरो पितृवर्गको राज्य हरण ग¥यौ, त्यसको कारण तथा तेरो लोभ, अज्ञान, द्रोह र दुस्साहसको कारणले महात्मा पाण्डवहरू तिमीमाथि कुपित छन्, त्यसैले तिमीले आज यो दिन हेर्दैछौ । क्रोधमा भरिएकी माता द्रौपदी तथा  बदला फेर्ने पिता भीमसेनको इच्छा पूर्ण गरेर म आज उनको ऋणबाट उऋण भइहाल्नेछु । यदि तिमी युद्ध छाडेर भागेनौ भने आज तिमी मेरो हातबाट जिउँदो बाच्नेछैनौ– यति भनेर अभिमन्युले दुःशासनको छातीमा कालाग्निको समान तेजस्वी बाण हाने । त्यो बाण दुःशासनको छातीको करङ्गलाई छेड्दै बाहिर निस्कियो । यसपछि धनुषलाई कानसम्म तानेर पुनः दुःशासनमाथि पच्चीसवटा बाण हाने । यसबाट नराम्ररी घाइते भएर दुःशासन रथको पछिल्लो भागमा गई बसेर बेहोस भए । यो हेरेर सारथिले उनलाइ रणक्षेत्रबाट बाहिर लग्यो । त्यतिबेला युधिष्ठिर आदि पाण्डव, द्रौपदीका पुत्र, सात्यकि, चेकितान, धृष्टद्युम्न, शिखण्डी, केकय, धृष्टकेतु तथा मत्स्य, पाञ्चाल र सृञ्जय वीरहरू बडो प्रसन्नताको साथ द्रोणलाई नष्ट पार्ने इच्छाले अघि बढे । अनि त कौरव र पाण्डवका सेनाहरूबीच महान् युद्ध हुन थाल्यो । यता कर्ण अत्यन्त क्रोधित भई अभिमन्युमाथि बाणवर्षा गर्न थाले तथा उनको तिरस्कार गर्दै उनका अनुचरहरूलाई पनि बाणवर्षा गर्दै व्यथीत पार्न थाले । अभिमन्युले पनि तत्कालै त्रिहत्तरीवटा बाण हानेर उनलाई घाइते पारिदिए । त्यतिबेला उनको गतिलाई कसैले पनि रोक्न सकेन । तदन्तर, कर्णले आफ्नो उत्तम अस्त्रविद्याको प्रदर्शन गर्दै सयकडौं बाण हानेर अभिमन्युलाई घाइते पार्न थाले । कर्णद्वारा पीडित भएर पनि अभिमन्यु अलिकति पनि शिथिल भएनन्, उनले तीखा बाणहरूबाट शूरवीरहरूको धनुषलाई काटेर कर्णलाई पनि निकै घाइते पारिदिए । साथै कर्णको छत्र, ध्वजा, सारथि र घोडाहरूलाई पनि बिधिदिए । फेरि कर्णले पनि अभिमन्युमाथि कैंयन बाण हाने, तर अभिमन्युले अविचल भावले सबैलाई सजिलै सहन गरेर मुहूर्तभरिमैं एउटै बाणले कर्णको धनुष र ध्वजा काटेर पृथ्वीमाथि खसालिदिए । यस प्रकार कर्णलाई सङ्कटमा परेको हेरेर उनका भाइ सुदृढ धनुष लिएर अभिमन्युको सामना गर्न आइपुगे । उनी आउनेबित्तिकै दशवटा बाण हानेर अभिमन्युको ध्वजा, छत्र, सारथि र घोडासहित बिधिदिए । यो हेरेर तपाईंका पुत्रहरू अत्यन्त प्रसन्न भए । अनि अभिमन्युले मुस्काएर एउटै बाण हानेर उनको टाउको छप्काएर खसालिदिए ।
    भाइलाई मरेको हेरेर कर्ण अत्यन्त दुःखी भए । यता  सुभद्राकुमार अभिमन्यु कर्णलाई विमुख पारे, अन्य धनुर्धरहरूमाथि धावा गरे । क्रोधमा भरिएर उनी हात्ती, घोडा, रथ र पैदलहरूबाट युक्त त्यस विशाल सेनाको संहार गर्न थाले । कर्ण त उनका बाणहरूबाट अत्यन्त पीडित भइसकेका थिए, त्यसैले उनी शीघ्रगामी घोडाहरूलाई हाँकेर रणभूमिबाट भागिहाले । यसबाट व्यूह भङ्ग हुन पुग्यो । त्यतिबेला जलको धाराको समान अभिमन्युको बाणबाट आकाश आच्छादित हुन पुगेको कारण केही पनि देखिइरहेको थिएन । सिन्धुराज जयद्रथबाहेक रणभूमिमा अन्य कोही पनि वीर टिक्न सकेको थिएन । अभिमन्यु आफ्नो बाणबाट शत्रुसेनालाई दग्ध पार्दै व्यूहमा विचरण गर्न थाले । रथ, घोडा, हात्ती र मानिसहरूको भयङ्कर संहार हुन थाल्यो । पृथ्वीमाथि टाउकोविनाका गिंडहरूको बिस्कुन लागेको देखियो । कौरव योद्धाहरू अभिमन्युको बाणबाट क्षतविक्षत भई रणभूमिबाट भाग्न थाले । त्यतिबेला उनीहरू सामुन्ने उभिएका आफ्नै दलका सेनालाई मार्दै अघि बढ्दै थिए र अभिमन्यु तिनीहरूलाई लघार्दै मारिरहेका थिए । व्यूहको बीचमा तेजस्वी अभिमन्यु यस्तो देखिदै थिए, जसरी तृणको थुप्रोमा प्रज्वलित आगो दन्किरहेको होओस् ।
    धृतराष्ट्रले सोधे– सञ्जय, अभिमन्युले जतिबेला व्यूहमा प्रवेश गरेको थियो, त्यतिबेला उसको साथमा युधिष्ठिरको सेनाको कोही अरू पनि वीर गएको थियो कि थिएन ?
    सञ्जयले भने– महाराज, युधिष्ठिर, भीमसेन, शिखण्डी, सात्यकि, नकुल, सहदेव, धृष्टद्युम्न, विराट, द्रुपद, केकय, धृष्टकेतु र मत्स्य आदि योद्धाहरू व्यूहाकारमा सङ्गठित भएर अभिमन्युको रक्षा गर्नको लागि उनको साथमा हिडे । उनलाई धावा गरिरहेको हेरेर तपाईंका सैनिकहरू भाग्न लागेका थिए । अनि तपाईंका ज्वाइँ जयद्रथले दिव्यास्त्रको प्रयोग गरेर पाण्डवहरूलाई सेनासहित रोकिदिए । क्रमशः...
महाभारतबाट
सङ्कलन तथा अनुवाद

फरक समाचार

Find us