Showing posts with label बाटिका. Show all posts
Showing posts with label बाटिका. Show all posts

Friday, July 24, 2020

छिनाझपटी

छिनाझपटी

-कुमार रुपाखेती
    नेपाली राजनीतिमा अब अंशबन्डा, भागबन्डाको राजनीतिक समय समाप्त भएको छ, राजनीतिक स्तर खस्केर अब छिनाझपटीको युगमा प्रवेश गरेको बुझिन्छ। विश्वासको सङ्कट आएकोले आलोपालो प्रणाली उहिल्यै ध्वस्त भएको हामीलाई थाहै छ। मुलुकमा लाखौं कुर्सी छन्, बिचरा विरम्त्या (बिरामी) ओलीले मुखै फाडेर दुईवटा मात्र मागेका छन्, एउटा प्रधानमन्त्रीको, अर्को पार्टी अध्यक्ष। अब सोच्नुस् त हिजो सैकडौं महत्वपूर्ण कुर्सी र पद अरूलाई बाँड्ने हैसियतका ओली एकाएक आफ्नैलागि कुर्सी रिजर्भ गर्न असमर्थ देखिन्छन्। तर सोच्ने कुरा के छ भने एउटा दुर्दान्त अपराधीलाई त फाँसी चढाउनुअघि उसको अन्तिम इच्छा सोधिन्छ तर नेपाली राजनीतिक जल्लादहरू उनलाई सोझै घोक्रेठ्याक लगाउने चक्करमा छन्। तर म अझै पनि ओलीलाई बूढो, बिमार र अशक्त अनि कमजोर मान्दिनँ, जसले यस्तो लाचारीको हालतमा समेत प्रचण्ड एन्ड कम्पनीलाई आच्छु–आच्छु पारेका छन्। जत्तिकै जोर लगाके हैसा भने पनि ओलीको दुवै कुर्सी टसमस भएको छैन। रावणका लागि हनुमानको पुच्छर भारी भएझैं प्रचण्डका लागि ओलीको कुर्सी सङ्कट साबित भइरहेको छ। सबैखाले जादु, टोना, टोडका नाकाम भइरहेछन्। कुर्सीकै लागि बिचरा पटक–पटक आफ्ना चेलीबेटीसँग किडनी दान पाए। यतिमात्र कहाँ हो र राष्ट्रको बेहिसाब लगानी छ ओलीमा, उपचारको नाममा सालाना करोडौं राष्ट्रिय खजाना देशी–विदेशी अस्पतालमा स्वाहा गरिएको छ। यत्रो लगानीलाई खरानी कसरी बनाउने तर उमर पचपन्नका भएपनि ओली ओस्तादको दिल बचपनको छ। नत्र एउटा कुर्सीको भार थेग्न नसक्नेले, मगन्तेझैं दुईवटा कुर्सी किन ताक्थे ? नेकपामा ओलीका राजनीतिक लालाबाला (सन्तान) थुप्रै छन्, हठात् उनी चितवनमा गणेशमान सिंह कुर्सीबाट उठ्नै नसक्ने गरी लडेझैं लड्ने हो भने नेकपामा एकमुस्ट होलसेलमा थुप्रै टुहुरा हुनेछन्। गिरिजाप्रसादले हेलिकप्टर दुर्घटनाबाट बालबाल बचेका मनमोहन अधिकारीलाई तेलाबेला गरेर पदच्यूत गर्ने चान्स पनि छैन प्रचण्डलाई। लिख लोरा, पढ पत्थर भएपनि ओलीले रामपुर कृषि क्याम्पसका प्रोडक्ट प्रचण्डलाई कुर्सीको छिनाझपटीमा मूच्र्छा पर्ने गरी मात दिने पक्कापक्की देखिन्छ। उनलाई खाने बाघले राष्ट्रपतिलाई समेत खान्छ भन्ने चिन्ता पनि छ, ओलीलाई। एमाले काङ्ग्रेसमा विलय हुन्छ भन्ने प्रचण्ड स्वयम् एमालेमा विलीन हुँदा एउटा पुराना नेताले– लइका से यारी गदाहा मे सवारी भन्दै व्यङ्ग्य गरेको मलाई झलझली याद आउँछ। एक अनार सौ बिमार भएपछि छिनाझपटी हुने नै भयो। 

    कम्युनिस्टहरूलाई जुट्न र फुट्न समय लाग्दैन, जुट्यो भने फेविकोल, फुट्यो भने माटोको हाँडीजस्तै। एमाले र माओवादी मिल्दा चम्चाहरूले “मितज्यू, मितज्यू भेट भयो, घ्याम्पो जत्रो पेट भयो” भन्थे। पेट फुट्ने व्यथाले च्याप्दा के भन्ने हुन्। प्रचण्डहरूमा शून्य सहनशीलता देखिन्छ, अब ओलीले अमृतपान त गरेका छैनन्, किडनीपीडित हुन् बेचरा। रहमको भीख मागिराख्या छन्। कब क्या होगा किसको पता। बालहठभन्दा वृद्धहठ खतरनाक हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। विगतमा प्रचण्ड, माधव, झलनाथ जस्ता स्वस्थ र निरोगीहरू प्रधानमन्त्री हुँदा के नै लछारपाटो लगाए, अनि बिरामी ओलीसँग केको आस। अचम्म छ, पार्टी सभापतिको कुर्सी धरापमा परेका देउवासमेत नेकपाको घरझगडा देखेर मुख मिठ्याउन थालेका छन् रे। यस्तै रहेछ यहाँको चलन...। सीसाको घरमा बसेर ढुङ्गा हान्ने तरखरमा छन् देउवा। बिचरा प्रचण्डको पनि मजबुरी छ। मान्छे मरुवा भन्छन्। त्यसैले त जनयुद्ध थाती राखेर सत्तायुद्धमा होमिए। बाबूरामझैं ओलीलाई पाखा लगाउन सकेका छैनन्, प्रयत्नशील छन्। तर भारतमा लुकीछिपी बसेर जनयुद्ध गरेको जस्तो हलुका हुँदैन सत्तायुद्ध। यहाँ त नेपालमैं आमने–सामने बसेर मुकाबिला गर्नुपर्छ। यो युद्धमा गुरिल्ला युद्ध पनि काम लाग्दैन। भारतको भूमिगत सहयोग लिन सक्छन्। आफन्त, नातेदार, ससुराली खलका समेतलाई विभिन्न महत्वपूर्ण पद र कुर्सी वितरण गर्न सफल प्रचण्ड आफू भने प्रधानमन्त्रीको कुर्सीबाट धेरै टाढा देखिन्छन्। हतास, निराश र हडबडीमा छन्। एकताका रूक्माङ्गत कटुवालले प्रधानमन्त्री पदबाट नङ्गेझार गरेर खेदिदिए। बिचराले त्यै कुर्सीका खातिर देशी–विदेशी दुश्मनहरूसँग समेत उत्ताउलो र मित्रवत् व्यवहार गर्दैछन्। कुर्सी छिनाझपटीको दौरमा मेन हिरो (मूल नायक) ओली र प्रचण्ड हुन् भने साइड हिरो (दोस्रो दर्जाका नायक) माधव र झलनाथ पनि कुछ कुछ होता है भन्दै लागिरहेका छन्। कुर्सी उछिट्टिएर आफूतिर आइहाल्छ कि भन्ने आशामा यी दुवै सहनायकसमेत धुपौरो पारामा ओलीको पिछा गर्दैछन्। छिनाझपटीको खेल हो यिनको तालुमा पनि आलु फल्न सक्छ। त्यसो त लोकतन्त्रलाई अल्पमत र बहुमतको खेल भनिन्छ। तर हाम्रोमा पद, पैसा र कुर्सीको चमकदमकले अल्पमतलाई एकै छिनमा बहुमत बनाइदिने हैसियत राख्छ। बहुमतले धूलो चाटेको देखेकै छौं। कुर्सी छिनाझपटीको खेल दिनानुदिन रोमाञ्चक हुँदैछ, खेलाडीहरू पक्ष–विपक्षमा ताल ठोक्दैछन्। अर्थात् कित्ता छुट्टिदैछ भन्ने गाइँगुइँ पनि छ। हिजो दरबारले प्रधानमन्त्री खोज्दथ्यो, अचेल विदेशीले रोज्छन् रे। ओली भन्दछन् भारतले उनलाई हटाउन खोज्दैछ, प्रचण्ड भन्दछन् भारत भनेको हामी हौं। जनता भन्छ, सधैंको टन्टा हटाऔं बरु सिंहदरबारलाई नै दिल्लीतिर सारौं। बिचरा उताकालाई यता धाउनै परेन। पाठकहरूले बन्दर बाँटको किस्सा सुन्नु भॉछ कि छैन। छिनाझपटीको यो खेल अन्त्यमा बन्दर बाँटको हबिगतमा परिणत हुने लक्षण पनि देखा पर्दैछ। आफ्ना राजदूतलाई चलायमान बनाएर बदनामी कमाएको भारतले अचेल गोप्यरूपमा विशेषदूतहरू पठाएर दूधको साक्षी बिरालो बन्न थालेको छ। विशेषदूतहरू ज्वाइँ जस्तै होटलमा विराजमान र सक्रिय छन्। ज्वाइँ, भानिजलाई धेरै गाली बेइज्जती गर्नुहुँदैन भन्ने नेपाली संस्कार पनि छ। देख्नुभएन, सडकमा आन्दोलन गर्नेहरूले लाठी, बन्दूक बोकेर आएका प्रहरीलाई मामा सम्बोधन गरेको। पुर्खाहरूले भन्थे चिन्ता से चतुराइ घटे, बाल न बच्चा निंद परे अच्छा, तर यी सब बेकारका उखानटुक्का हुन्। ओली र प्रचण्डको छिनाझपटी देख्दा त यस्तै अनुभव हुँदैछ। विनाटिकट निश्शुल्क चलिरहेको छिनाझपटी हेर्न हामी बाध्य छौं, रमिते हौं। निर्णायकहरू त छद्मभेषमा शकुनि पासा फाल्दै होलान्।

Friday, July 17, 2020

सफेदझूट

सफेदझूट

 - कुमार रुपाखेती
    पृथ्वी गोलो छ भनेर पछि प्रमाणित भयो। त्यसअघि त पृथ्वी चेप्टो छ भन्ने धारणा थियो। पृथ्वी चेप्टो छ भन्ने मान्यता यति विकराल थियो कि पृथ्वी गोलो छ भनी पत्ता लगाउनेको ज्यान नै जोखिममा थियो। बिचराले लुकेर ज्यान बचाउँदै पृथ्वीको गोलो रूप प्रमाणित गरे, जुन आजसम्म कायम छ। सत्य प्रमाणित गर्न त्यो बेला र अहिले पनि सङ्घर्ष गर्नुपर्छ। घुमिफिरी रूम्जाटार भनेझैं भानु जयन्तीमा हाम्रा प्रधानमन्त्रीले भगवान् राम नेपालको पूर्वी भाग वीरगंजदेखि अलि पर ठोरीतिर जन्मेको भनेर भारतको कान रातो पारिदिएका छन्। “भारतको अयोध्या कृत्रिम, राम नेपाली नागरिक” भन्ने सुन्नासाथ भारतका शासक अनि सन्तमहन्त एकैचोटि जागिहाले। रिसले आगबबुला भएका भारतीय नेता करण सिंहले ओलीको यस्तो दाबीले संसारभरिकै हिन्दूहरूको आस्थामा चोट पुगेको र नेपाल–भारतको सम्बन्धमा थप सङ्कट आउन सक्ने चेतावनी दिए। केही मठाधीश र जोगी बाबाहरूले करण सिंहलाई उछिन्दै ओलीले माफी माग्नुपर्ने, अन्यथा धार्मिक आन्दोलन गर्ने घुर्की लगाए। 

    नेपालको कपिलवस्तुमा जन्मिएका बुद्ध, राजा शुद्धोधनका छोरा भएको अकाट्य साँचो कुरा थाहा पाउँदा–पाउँदै जोरजबरजस्ती ‘सफेदझूट’स्वरूप बुद्धलाई भारतमा जन्मेको ढिंढोरा पिट्ने अनि खोजतलाश र ठोकपिट गरेर ओलीले रामलाई नेपाली घोषित गरेर के गुनाह गरे ? ‘छोटा बच्चा समझ के हमसे ना टकराना रे’ भन्ने सन्देश पनि हो यो। गोद लिएको भएपनि सुहाउँथ्यो, भारतले बुद्धलाई गोद लिएको इतिहास पनि छैन। म त भन्छु भारतले नेपालको गौतम बुद्धलाई अपहरण गरेको छ। इतिहास बिगार्ने अपहरणकारी हो भारत। ओलीले एकाएक राम नाम जप्नुले कम्युनिस्टहरूले भगवान्मा आस्था राख्छन् भन्ने पुख्ता प्रमाण पनि भेटिएको छ। थुप्रै भारतीय नेपाली नागरिकता लिएर भारुबाट नेरुमा परिणत हुँदा खुशी हुने अनि राम एकजनालाई नेपाली नागरिकता प्रदान गर्दा भारत किन आत्तिएको होला ?
    गौतम बुद्धझैं रामलाई समेत भारतले मागीखाने भाँडो बनाएको प्रस्ट देखिन्छ। बरु गौतम बुद्धलाई भारतबाट कैदमुक्त गर्न हम्मेहम्मे परेको हामीलाई ओलीले अब रामको नैया पार लगाउने दोहोरो जिम्मेवारी थपिदिएका छन्। कालापानीबारे बहिरो बनेको भारत रामको नाम सुन्ने बित्तिकै कालोनीलो, रातोपीरो भएको छ, चोरको खुट्टा काट भन्दा चोरले खुट्टा ताने झैं। ओली अब माक्र्सवादी नेता मात्र नभएर आध्यात्मिक नेतासमेत भएका छन्। एउटा म्यानमा दुईवटा तलवार अट्दैन, एउटै  महापुरुष दुई देशको धरोहर बन्न सक्दैन भन्ने कुरा भारतले किन नबुझेको होला ? ओलीको रामबाणलाई भारतले आधुनिक क्षेप्यास्त्रभन्दा खतरनाक महसूस गरेको छ। रामबाण मिसाइल हो यो। रामलाई स्मरण गर्दै नेपालीहरूले रामनवमी, दशैंमा दशमीको टीका लगाउने, सीताजयन्ती मनाउने अनि भारतले राम मेरो भन्न मिल्छ ? राम नेपाली भएकाले नै उतिबेला भानुभक्त आचार्यले नेपालीमा रामायणको उल्था गरे। शकुनिहरू भारतीय भएकाले उनले (भानुले) महाभारतबारे मौन बस्नु उचित ठाने।
    कुनै बेला नेपाल संसारकै एकमात्र हिन्दू राष्ट्र थियो, यस हिसाबले पनि मर्यादापालक राम नेपालकै हुनुपर्छ। राम, गौतम बुद्ध, भानुभक्त आफ्ना समयका ऐतिहासिक धरोहर हुन्। हाम्रा ओलीको बोली पनि बन्दूकको गोली हो रे १ जय श्रीराम भन्नेहरूको जमात नेपालमा अनगिन्ती छ। लुम्बिनीमा राजा शुद्धोधनको दरबार उत्खनन गर्दा निस्किएका ऐतिहासिक शाक्यकालीन थुप्रै इँटा, पत्थर र अन्य सामग्री बटुलेर भारतले नक्कली लुम्बिनीसमेत निर्माण गर्ने दुष्प्रयास गर्दै आएको छ। बोधगयामा बुद्धलाई ज्ञान प्राप्त भएझैं भारतलाई कहिले ज्ञान प्राप्त हुने हो ? कहिले हामीले ‘मेरा पडोसी भारत महान्’ भन्न पाउने हो ? भारतले बुद्ध भन्छ तर सधैं युद्धको तयारी गर्छ। ‘उसै त बुहारी भटमास खाएकी’ भनेझैं राईको पहाड बनाउने भारतीयहरूलाई ओलीले झटकास्वरूप रामको गरममसाला हालेर रन्काइदिएका छन्। अब दाबी विरोध चलिरहन्छ, रामको खिंचडी धिमा आँचमा पाकिरहन्छ। सौतेनी आमा कैकेयीको कर्कस बोली, व्यवहार, छलकपटबारे त रामायणमा समेत उल्लेख छ। उनकै कारणले रामले चौध वर्ष वनवास भोगे। राजा दशरथसमेत कैकेयीका सामुन्ने निश्शब्द भएका थिए। त्यसैले पारिवारिक कलहका कारण सीता विवाहपछि नेपालमैं घरज्वाइँ बसे कि ?
    किनकि रामको युवाकालमा भारतमैं भारतका राजा रजवाडाहरूका एक से एक राम्रा कन्याकुमारी राजकुमारीहरू हुँदाहुँदै नेपाल प्रेमका चल्ते टाढा आएर धनुष भाँच्ने जोखिम मोलेर सीतासँग विवाह रचाए। त्रिवेणी वाल्मीकि आश्रम नेपालतर्फ सीता बसेको कुटी, लवकुश खेलेको स्थान, घोडा बाँध्ने तबेला, सीताले मसाला पिस्ने सिलौटो आदि मैले २०३६ सालमा त्यता जाँदा आपंैmले देखेर आएको हो। अब पत्नी सीता, छोराहरू लव र कुश नेपालमा अनि पत्नीव्रता राम भारतमा बस्ने सवाल नै पैदा हुँदैन। सीताकै खातिर बिचरा रामले जरजण्ड रावण र लङ्कालाई मटियामेट गरेको रामायणले भन्छ। अब योभन्दा बलियो प्रमाण के चाहियो ? १४ वर्ष वनवासमा बसेका राम, त्यतिखेरको ‘हरियो वन नेपालको धन’ देखेर लोभिएर यतै बसाइँसराइ गर्न पनि सक्छन्।
    ओलीको मुखमा सरस्वतीको बास छ रे ? ‘प्रधानमन्त्रीबाट हट्दिनँ’ भने, नहटेरै बसे, ‘पार्टी अध्यक्ष छोड्दिनँ’ भने त्यो पनि पूरा गरे, कालापानी हाम्रै हो भनेर नक्शा पास गरेरै छाडे। अब रामलाई नेपाली बनाउने तरखरमा छन्, बाँचिराखे भने यो वाचा पनि पूरा गर्छन् कि कसो ? तर मलाई डर छ कतै रामपछि ओलीले महाभारतका कृष्णलाई पनि दाबी नगरून् ? राम–रावण युद्धका समयमा पुष्पक विमान, पानीमा नडुब्ने पत्थर, हनुमानको पुच्छर, बाली, सुग्रीवको झगडा, कुम्भकर्णको निद्रा, रामलक्ष्मणको धनुषबाण, रावणको सय टाउको, बाँदर र दानवको युद्ध, हनुमानको लङ्का प्रवेश, लङ्काको तबाही, लक्ष्मणरेखा, लक्ष्मणबुटी, जटायुको वफादारी, विभीषणको गद्दारी, सीताको सकुशल वापसी आदि रोमाञ्चक घटना लाग्छन्। सुनमा सुहागा भनेझैं ओलीले यसमा सुगन्ध थप्दै– भारतको अयोध्या नक्कली, राम नेपाली भनिदिए। ओलीको नेतृत्वमा शायद हामी दोहोरो असम्भव युद्ध जित्दैछौं। एउटा कालापानी र अर्को रामको। तर स्मरणीय कुरा के छ भने– ‘राम नाम जपना, पराया माल अपना’ भन्ने भारतीय नीति हो, हाम्रो होइन। वाल्मीकि आश्रम नेपालमा छ। सरयू नदी भनेको माडी, नारायणी अथवा राप्ती नदी हो, माडीलाई पहिले अयोध्यापुरी भनिन्थ्यो, त्यहाँ एउटा गाविसको नाम नै अयोध्यापुरी थियो। विश्वास नलागे ठोरीतिरका भाइ प्रतीकका सम्पादक प्रतापजीलाई सोधे हुन्छ। रामजन्मभूमि नेपालको ठोरीमा अचेल खुशियालीको वातावरण छ। जय श्रीराम, जयराम, जयजय राम गुञ्जायमान छ।
    सन् २००० मा भारतका प्रसिद्ध साहित्यकार, उपन्यासकार स्व कमलेश्वरले ‘कितने पाकिस्तान’ भन्ने आफ्नो ख्यातिप्राप्त उपन्यासमा अयोध्या रामको जन्मभूमि नभएको लेखेका छन्। नपत्याउनेहरूले स्व कमलेश्वरको ‘कितने पाकिस्तान’ भन्ने खोजमूलक किताब पढ्न सक्नुहुन्छ। भारतका अन्य ख्यातिप्राप्त लेखक, साहित्यकारहरू अमृता प्रीतम, हिमांशु जोशी, विष्णु प्रभाकर, नामवर सिंहहरूले यो कुराको जोडदार समर्थन गरेका थिए। त्यतिखेर पनि भारतीय मिडियाले यिनको खेदो खनेको थियो। मुसलमानहरूको आस्थाको केन्द्र बाबरी मस्जिदलाई काउन्टर दिन उतिबेलादेखि नै तानाबाना बुनेर अयोध्यालाई रामजन्मभूमि बनाउने चलखेल भएको इतिहासले बताउँछ। रामजन्मभूमि भन्दै त्यहाँ रहेको बाबरी मस्जिदको मदर्सा सबैलाई थाहा नै छ। सफेदझूट ओलीको कि मोदीको पर्दाफास हुँदैछ। रामजन्मभूमि ठोरी, माडीतिरै हो यकीन मान्नुस्। असम्भव र अज्ञात कुराहरूलाई अझै पनि ‘राम जाने’ भन्ने उखान नै छ। अब रामलाई लिएर नेपाल र भारतबीच कस्तो व्यवहार हुन्छ, राम जाने। भन्नेहरू त भन्छन्, न लक्ष्मणले रावणकी बहिनी सुपर्णखाको नाक काट्थे, न रावणले सीताहरण गथ्र्यो। त्यस्तै, न भारतले बुद्धको अपहरण गथ्र्यो, न ओलीले राम हाम्रो भन्ने प्रमाण सार्वजनिक गर्थे ? जैसाको तैसा जस्तै लाग्छ।
    ओली र भारतलाई म यही भन्छु, ‘देखो ओ दिवाने तूम ये काम ना करो, रामका नाम बदनाम ना करो।’ सफेदझूट धेरै दिन टिक्दैन, भारतले जति तिकडम गरे पनि विश्वले बुद्धलाई नेपालमैं जन्मेको मानेको छ, नत्र लुम्बिनीको यत्रो ठूलो विकास सम्भव नै थिएन। राम नेपाली भन्ने कुरा अहिले यत्तिकै थाती राख्ने अनुमति चाहन्छु। हाम्रा ओली बा भारतको गुरुबा बन्न खोजेकोमा धन्यवाद दिन चाहन्छु। अस्तु।
केवल हाँसोको लागि मात्रः
    वीरगंजको छपकैयामा भरत र शत्रुघ्न भन्ने दुई सहोदर दाजुभाइ रहेछन्। भारतको आचरणबाट तर्सेर चलाख यी दुई भाइले आफ्नो नामको पछाडि नेपाल जोडेर भरत नेपाल र शत्रुघ्न नेपालमा परिणत भएछन्। नेपाल भन्ने बित्तिकै भारतले वास्ता गर्दैन भन्ने यिनलाई ज्ञान रहेछ।
भ्रम पनि कस्ता कस्ता

भ्रम पनि कस्ता कस्ता


मुकुन्द आचार्य
    मान्छेले जसरी गाईभैंसी, भेंडा, बाख्रा, हात्ती, घोडा, सुङ्गुर, कुकुर पाल्छन्, त्यसैगरी भ्रमहरू पनि पाल्छन्। भ्रमको त्यसमा पनि उन्नत जातको भ्रमको खेती निकै फस्टाएको छ। यो खेती एकदमै दामी नगदेबाली हो।
    यस्तो भ्रमको खेती हाम्रो देशमा मात्रै हुन्छ भन्यो भने त्यो महान् असत्य र घोर पाप कहलिन्छ। हरेक देशका शासक वर्गले आआफ्नो देशमा भ्रमको आधुनिक वैज्ञानिक खेती गरेको पाइन्छ। देशमा खपत हुन सकेन भने अन्य देशमा यसको निर्यात पनि गरिन्छ।
    यसको खेती गर्न धेरै सजिलो छ। यौटा मञ्च, यौटा माइक र सोझासाझा जनताको एक बथान भए पुग्छ। केही मुठीभर मान्छेलाई जिन्दाबादको नारा लाउन, बेलाबेलामा ताली बजाउन दैनिक ज्यालादारीमा सजिलै राख्न सकिन्छ। अनि सिङ्गो विश्वले सुन्ने गरी भ्रमको सुनौलो सुखद, आकर्षक खेती मज्जाले गर्न सकिन्छ। यो खेती सफल भयो भने चकाचक भइहाल्यो।
    यस प्रकारको खेती संसारभरि भइरहेको छ। यस खेतीको अर्को नाउँ राजनीति पनि हो। त्यसैले हाम्रा गाउँघरमा अझ पनि अलिकति जान्ने बुझ्नेहरू भन्ने गर्छन्, “देख भाइ, राजनीति में पोलिटिक्स मत मिलाव।” अर्थात् धेरै जालझेल न गर !अथवा हामीलाई ठग्ने काम न गर !
    भ्रमको खेती यो राजनीतिकर्मीले मात्रै गर्छन् भन्ने क्यै छैन। सबैखाले जनता जनार्दनले भ्रमको खेती आआफ्नो बुद्धि बर्कतले भ्याएसम्म गरिरहेका हुन्छन्।
    यो पार्टीले चुनाउ जितेर सत्तामा पुग्न पायो भने अनि त देश स्वर्ग भइहाल्यो नि! भन्ने भ्रम जनताले पालेका हुन्छन्। यस्तो भ्रम कहिल्यै पनि मेटिन्न। नमरुन्जेल भ्रमको खेती पनि मेटिन्न।
    त्यसैले देशमा नयाँ–नयाँ राजनीतिक दलहरू जन्मिरहन्छन्। कुनै कुनै दल त भ्रमको खेती राम्ररी गर्न नजानेर होला, अकालमैं मर्छन्। कोही अर्को दलमा पस्न दलाली गर्न थाल्छन्।
    भ्रमको खेती गर्नेहरू भ्यागुताजस्ता हुन्छन्। वर्षायाममा भ्यागुताहरू कताकताबाट आइपुग्छन्। टर्र टर्र टर्र गरेर सङ्गीतमय वातावरण बनाउँछन्। चुनाउको सिङ्गो अवधि वर्षा ऋतु हो। जता हे–यो उतै टर्र टर्र गर्दै प्रचारको बाजागाजा चलिरहन्छ। यो खेतीको रमाइलो घडी भनेकै निर्वाचन हो। असारको पन्ध्रमा धान रोप्नेले दही–च्युरा खाएजस्तै हो।
    खेतीको समयमा त जतासुकै पनि मारामार रहन्छ। कसैलाई बोल्ने फुर्सत हुँदैन। कसैलाई खानेपिउने फुर्सत हुँदैन। कसैलाई मर्ने फुर्सत हुँदैन। भाषण दिनुछ, कतै कार्यकर्तालाई तालीम दिनु छ, कतै दादा भनाउँदाहरूलाई मालपानीको व्यवस्था गर्नु छ। मालपानीका लागि धनीमानी, सेठ साहुकारलाई सम्झाइबुझाइ गर्नु छ। विभिन्न दूतावासमा धाउनु छ, आर्थिक मदतका लागि। खेती भ्रमकै भएपनि काम त कति हुन्छन् कति। सास लिने फुर्सत हुन्न।
    कति त मञ्चमा बसेको बस्यै परलोकगमन गर्छन्। हृदयघात भएर नेताजी चिलिम भए रे ! जस्ता समाचार पनि सुनिन्छ। चुनाउको परिणाम सुन्नासाथ जित्ने र हार्ने दुवैको मुटुले काम गर्नै छोड्यो रे !
    भ्रमको खेती नगदेबाली भॉहुनाले यसमा ज्यानको खतरा पनि हुन्छ। आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई मार्न लगाउनु अथवा उसद्वारा आफू मारिनु जस्ता दुर्घटनाहरू प्रायः भइरहन्छन्। विभिन्न दलहरूबीच पनि मारकाट हुने राम्रो परम्परा छ। धान, गहुँ, मकै, उखुको जस्तो सजिलो खेती हुँदैनस भ्रमको खेती।
द्रोण पर्व–१९

द्रोण पर्व–१९

उमाशङ्कर द्विवेदी
     भाग्दै गरेको सेनालाई रुक्मरथले भने– सन्देह न गर, म यसलाई जिउँदै समातिहाल्नेछु। यति भनेर उनी अभिमन्युतिर दगुरे अनि उनको छाती तथा दुवै भुजामा तीन–तीन बाण हानेर गर्जन थाले। अनि अभिमन्युले उनको धनुषलाई काटिदिए र शीघ्र नै उनको दुवै भुजा तथा मस्तक काटेर भुइँमा खसालिदिए।
    राजकुमार रुक्मरथका कैयौं मित्र थिए, उनीहरू पनि रणमा उन्मत्त भएर लड्नेवाला थिए। उनीहरू आफ्नो धनुष तानेर बाणवर्षा गर्दै अभिमन्युलाई लगभग ढाकिदिए। यो हेरेर दुर्योधनलाई बडो हर्ष भयो। उनले ठाने, अब त अभिमन्यु निश्चिय नै यमलोकको यात्रा गर्नेछ तर अभिमन्युले त्यस्तो अवस्थामा गन्धर्वास्त्रको प्रयोग गरे। त्यो अस्त्र बाणवृष्टि गर्दै घरी एउटा, घरी सयवटा त घरी हजारौंवटा देखा पर्दथ्यो। अभिमन्युले रथ सञ्चालनको कला तथा गन्धर्वास्त्रको मायाले ती राजकुमारहरूलाई मोहित पार्दै उनीहरूको शरीरको टुक्रा–टुक्रा पारिदिए। कैयौंका धनुष, ध्वजा, घोडा, सारथि, भुजा तथा मस्तक छप्काइदिए। एउटा अभिमन्युद्वारा यतिका राजकुमारहरू मारिएको दृश्य हेरेर दुर्योधन भयभीत हुन पुगे। रथी, हात्ती, घोडा र पैदल सैनिकहरूलाई युद्धभूमिमा लडेको हेरेर उनी क्रोधले मुर्मुरिएर अभिमन्युको छेउमा आए। एक क्षण पनि पूरा भएको थिएन कि अभिमन्युद्वारा सयकडौं बाणबाट आहत भएर दुर्योधन युद्धभूमिबाट भागिहाले।
    धृतराष्ट्रले भने– सञ्जय, तिमीले भनेझैं एक्लै अभिमन्युको धेरै महारथीहरूसित युद्ध भयो तथा त्यसमा विजय पनि उसकै भयो, यसमा हतपत विश्वास भइरहेको छैन। वास्तवमा सुभद्राकुमार अभिमन्युको यो पराक्रम आश्चर्यजनक छ तर जसको धर्ममाथि भरोसा छ, त्यसको लागि यो कुनै अद्भुत कुरा भने होइन। सञ्जय, दुर्योधन भागेर गइसकेपछि तथा सयकडौं राजकुमारहरू मारिए, त्यतिबेला मेरा पुत्रहरूले अभिमन्युको लागि के गरे ?
    सञ्जयले भने– महाराज, त्यतिबेला तपाईंका शत्रुहरूका हातमुख सुकेको थियो, आँखा भयातुर भएका थिए, शरीर रोमाञ्चित भएको थियो तथा खल्खल्ती पसिना चुहिरहेको थियो। शत्रुलाई जित्ने उत्साह बाँकी रहेको थिएन, सबै भाग्ने तरखरमा थिए। मरेका भाइ, पिता, पुत्र, सुह्द, सम्बन्धी तथा बन्धु–बान्धवहरूलाई छाडेर हात्ती–घोडालाई द्रुत गतिमा हाँकेर रणभूमिबाट टाढा गइहाले। उनीहरूलाई यस प्रकार हतोत्साहित भएर भागिरहेको हेरेर द्रोणाचार्य, अश्वत्थामा, बृहद्वल, कृपाचार्य, दुर्योधन, कर्ण, कृतवर्मा र शकुनि–यी सबै महारथी क्रोधले मुर्मुरिएर समरविजयी अभिमन्युतिर दगुरे तर अभिमन्युले यिनीहरूलाई फेरि अनेकौंपल्ट रणभूमिबाट विमुख पारिदिए। केवल दुर्योधनपुत्र लक्ष्मण मात्र सामुन्ने डटिरहे। पुत्रको स्नेहबाट उनको पछि दुर्योधन पनि फर्किआए, अनि त दुर्योधनको पछिपछि अन्य महारथी पनि फर्किआए। अब सबैले मिलेर अभिमन्युमाथि बाणवर्षा गर्न थाले तर अभिमन्युले ती जम्मै महारथीलाई परास्त गरी लक्ष्मणको सामु गई उनको छाती र भुजाहरूलाई ताकेर तीक्ष्ण बाण हाने। अनि लक्ष्मणसित भने– भाइ, एकपल्ट यस संसारलाई राम्रोसित हेरिलेऊ किनकि तिमीलाई तत्कालै परलोकको यात्रा गर्नुपर्नेछ। आज तिमीलाई तिम्रा बन्धु–बान्धवहरूले हेर्दाहेर्दै यमलोक पठाउँदै छु। यति भनेर सुभद्राकुमारले लक्ष्मणतिर एउटा भल्ल नामक अस्त्र हानेर उनको सुन्दर नासिका, मनोहर भ्रुकुटि तथा घुम्रिएको कपाल भएको मस्तकलाई गिडिदिए।
    दुर्योधनपुत्र लक्ष्मण मारिएको हेरेर मानिसहरूमा हाहाकार मच्चियो। आफ्नो प्यारो पुत्रलाई लडेको हेरेर दुर्योधनको क्रोधको सीमा नै रहेन। उनले समस्त क्षत्रियहरूलाई डाँक्दै भने– यसलाई मारिहाल। अनि द्रोणाचार्य, बृहद्वल, कृपाचार्य, दुर्योधन, कर्ण, कृतवर्मा–यी छवटा महारथीले अभिमन्युलाई चारैतिरबाट घेरामा हाले तर अर्जुनकुमारले आफ्नो तीखो बाणबाट घाइते पारेर ती जम्मैलाई पुनः धपाइदिए र बडो वेगले जयद्रथको सेनातिर धावा गर्न हानिए। यो हेरेर कलिङ्ग र निषाद वीरहरूको साथ क्राथपुत्रले आएर हात्तीसेनाबाट अभिमन्युको बाटो रोकिदिए, अनि त उनीहरूबीच बडो भयानक युद्ध भयो। अभिमन्युले त्यस गजसेनाको संहार गरिदिए। यत्तिकैमा अगि भागेर गएका द्रोणादि महारथीहरू पनि फर्केर आफ्नो धनुषको टङ्कार गर्दै अभिमन्युमाथि धावा बोले तर आफ्नो बाणबाट अभिमन्युले ती सबै महारथीलाई रोकेर क्राथपुत्रलाई नराम्ररी पीडित पारे, अनि असङ्ख्य बाणको वर्षा गरेर उनीहरूको धनुष, बाण, केयूर, बाहु, मुकुट, छत्र, ध्वजा, सारथि र घोडाहरूलाई पनि मारेर रणभूमिमा खसाले। क्राथपुत्र लड्दैमा सेनाका अधिकांश योद्धाहरू विमुख भएर भाग्न थाले।
    अनि द्रोणदि छवटा महारथीले पुनः अभिमन्युलाई घेरामा हाले। यो हेरेर अभिमन्युले द्रोणमाथि पचासवटा, बृहद्वलमाथि बीसवटा, कृतवर्मामाथि असीवटा, कृपाचार्यमाथि साठीवटा र अश्वत्थामामाथि दशवटा बाण हानेर घाइते पारिदिए। तदन्तर उनले कौरवहरूको कीर्ति बढाउने वीर वृन्दारकलाई तपाईंका पुत्रहरूले हेर्दाहेर्दै मारिदिए अनि अभिमन्युलाई द्रोणले एक सयवटा, अश्वत्थामाले आठवटा, कर्णले बाइसवटा, कृतवर्माले बीसवटा, बृहद्वलले पचासवटा र कृपाचार्यले दशवटा बाण हाने। यस प्रकार उनीहरूद्वारा चारैतिरबाट पीडित भएर पनि अभिमन्युले ती सबै महारथीमाथि दश/दश वटा बाण हानेर घाइते पारिदिए। यसपछि कौशल नरेशले अभिमन्युको छातीलाई ताकेर एउटा बाण हाने। अभिमन्युले पनि उनको घोडा, ध्वजा, धनुष र सारथिलाई काटेर पृथ्वीमा खसालिदिए। रथबाट हीन भएर कौशल नरेशले ढाल–तरबार हातमा लिएर अभिमन्युको कुण्डलयुक्त मस्तकलाई काट्ने विचार गरे, यत्तिकैमा अभिमन्युले उनको छातीमा एउटा तीखो बाण हाने। त्यो बाण लाग्ने बित्तिकै कौशल नरेशको ह्दय च्यातियो र उनी रणभूमिमैं लडिहाले, साथै अभिमन्युले त्यहाँ उभिएर अमङ्गलसूचक जयकारा घन्काउँदै गरेका ती दश हजार राजाहरूको पनि वध गरिदिए। यस प्रकार सुभद्रा र अर्जुनकुमार अभिमन्युले बाणहरूको वर्षा गरेर तपाईंका योद्धाहरूको गतिलाई रोकेर रणभूमिमा निर्भय भई विचरण गर्न थाले। क्रमशः...
महाभारतबाट सङ्कलन तथा अनुवाद
जनभरोसे जनप्रतिनिधि, दैवभरोसे जनता

जनभरोसे जनप्रतिनिधि, दैवभरोसे जनता

 -राजेश मिश्र

    जिन्दाबाद, जिन्दाबादको नारा र ढोल, नाल, झाल र बाजागाजाका ध्वनिहरू शहरदेखि गाउँसम्मका सडक र गल्लीहरूमा गुञ्जायमान भएका थिए। गणतन्त्र आगमनपछि तीन तहको पहिलोे निर्वाचनमा प्रतिस्पर्धीहरूले आश्वासनका ठूलाठूला पोकाहरू जनतामा बाँडेका थिए। निर्वाचनमा विजयी भएपछि नारा–जुलुस निकालेर खुब खुशियाली मनाए। विजय जुलुसको खुशियाली जनजनसम्म प्रवाहित भएको देखिन्थ्योे। प्रगतिशील देश र उत्साही जनजीवनको सपना आमजनमा अङ्कुरित भएको थियो। अबिरले सडक तथा गल्लीहरू महीनौंसम्म रङ्गीन देखिइरहे। नागरिकले तीन तहका सरकारको अभिभावकत्व पायो। गाउँगाउँमा सिंहदरबारको स्थापना भयो। योभन्दा हर्ष के हुन सक्थ्यो। उल्लिखित दृश्य अदृश्य भएको करीब तीन वर्ष भयो।
    प्रसङ्ग शुरू गर्छु कथाबाट। एक राजा थिए। राजाले प्रत्येक हप्ता आफ्ना मन्त्रीहरूसँग राज्यको भ्रमण गर्ने निधो गरे। राजाले भ्रमणको क्रममा जनताको गुनासो सुन्ने र ठाउँमैं समाधान गर्ने गर्दथे। जटिल समस्या भएमा छलफल र समाधानको लागि भोलिपल्ट सभामा आउन आदेश दिएर अघि बढ्थे।
    दम्भमा रहेका राजाले जनतालाई सभामा बोलाउँथे तर कार्य व्यस्तता देखाएर न सभाको आयोजन हुन्थ्यो, न त समस्याको समाधान। एक दिन राजाका मित्रको दरबारमा आगमन भयो। राजाले मित्रलाई केही समय अतिथिको रूपमा दरबारमा बस्न आग्रह गरे। मित्रले स्वीकार गरे।

    यसपटक राज्य भ्रमणको क्रममा राजासँगै मित्र पनि थिए। जटिल समस्याको समाधानका निम्ति राजाले सरोकारवाला जनतालाई सभामा आउन आदेश दिए। जनताप्रति राजाको यति विघ्न उदारता देखेर मित्र धेरै खुशी भए। यसपटक जनताहरूले राजासमक्ष जटिल समस्याहरूको समाधान गरिदिन आग्रह गरेका थिए। मित्र प्रत्यक्षरूपमा राजाद्वारा जनताको समस्या समाधान भएको देख्न चाहन्थे। धेरै उत्सुक पनि थिए।
    भोलिपल्ट मित्रले राजालाई सभामा जान र जनताको समस्या समाधान गर्नुपर्छ भनेर याद दिलाए। राजा मित्रसँग  सभामा गए। तर त्यहाँ जनताको उपस्थिति थिएन। सभाहल खाली थियो। दुवैजना धेरैबेर सभाहलमा बसिरहँदा पनि कोही आएनन्। राजा क्रोधित भए। उनी जनताले आफ्नो आदेश पालना नगरेको भन्दै झोंकिए। सिपाहीहरूलाई भने, “जाऊ, ती जनताहरूलाई समातेर ल्याऊ, जसलाई आज सभामा बोलाइएको थियो।”
    सिपाहीहरूले उनीहरूलाई समातेर ल्याए। “तिमीहरूले आदेश पालना किन गरेनौ ?” सभामा उपस्थित जनसमुदायसँग राजाले प्रश्न गरे। कोही बोलेनन्। शिर निहुराएर उभिरहेका थिए। राजा झन् क्रोधित भए। राजाले तिनीहरूलाई कठोर दण्ड दिने घोषणा गरे। यी सबैकुरा राजाका मित्र गम्भीरतापूर्वक सुनिरहेका थिए।
    मित्रले राजालाई भने, “अहिल्यै सजाय न सुनाउनुस्। म उनीहरूसँग एकपटक कुरा गर्न चाहन्छु।” मित्रले जनताहरूसँग प्रेमपूर्वक कुरा गरे। उनीहरूलाई जवाफ दिन आग्रह गरे। तीमध्ये एक वृद्धले भने, “यसअघि महाराजले धेरैपटक सभामा बोलाउनुभएको थियो। धेरैपटक हामी उपस्थित पनि भयौं। तर सभामा न कहिल्यै महाराजको सवारी भयो, न त समस्या समाधान। त्यसैले यसपटक कोही आएनौं।” यति भनिरहँदा ती वृद्ध मानिस डरले काँपिरहेका थिए। यति सुनेपछि मित्रले सबै कुरा बुझिहाले। मित्रले राजालाई उनको गलती रहेको महसूस गराए। राजाले पनि आफ्नो गलती स्वीकारे। त्यसपछि राजा र प्रजाबीचको घनिष्टता प्रगाढ बन्दै गयो र देश प्रगतिपथमा उँभो लाग्न थाल्यो। 
    उल्लिखित कथाको प्रजा जस्तै नेपाली जनताको अवस्था छ भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला। प्रदेश १, २ र ३ का चुरे तथा तराई भएर बग्ने नदीहरूमा ठूलो बाढीले प्रत्येक वर्ष ताण्डव मच्चाउने गर्दछ। यस क्षेत्रका बासिन्दा डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ। सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लाका समतल स्थानमा डुबानको प्रबल खतरा रहन्छ। रौतहट र सर्लाही जिल्लालाई छुट्टयाउने बागमतीको कहर कोरोनाभन्दा पनि विकराल छ।
    प्रदेश २ का प्रत्येक जिल्लामा साना–ठूला गरी सरदर ५ देखि ८ खोला बग्ने गरेको पाइन्छ। प्रदेश २ को दक्षिण सीमाञ्चल क्षेत्रका बासिन्दा बाढी र डुबानको समस्यासँग बढी प्रभावित रहेको पाइन्छ। प्रायः नदीहरूबाट कटान र डुबानको त्रास उत्पन्न हुने गर्दछ। पर्साका दक्षिणी र पश्चिमी भेगका बासिन्दाले बाढीको उच्च जोखिम खेप्दै आइरहेका छन्। जनजीवन प्रभावित हुनुका साथै धनमाल तथा कृषिजन्य उत्पादनमा पनि क्षति पु–याउँदै आएको छ। यथार्थपरक समस्याहरूको निकासविना विकासको परिकल्पना निरर्थक नै हो।
    बाढी, पहिरो, चट्याङलगायतका ताण्डव शुरू छ। बारा र पर्सासँगै प्रदेश र देशमा मानिस मृत्युवरण गरिरहेका छन्। कोरोनापछि वर्षात् र बाढीको कहरले मानिसको जनजीवन प्रभावित भएको छ। पहाडमा पहिरो र तराईमा बाढीको प्रकोपले धनजनका साथै मानवीय क्षति कोरोनाभन्दा पनि भयावह छ।
    राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले स्वीकृत गरेको कार्ययोजनामा सम्भावित मनसुनजन्य विपत्का घटनाको सङ्ख्या ३० लाख उल्लेख रहेको छ। यसमा बाढी तथा डुबान, कटान र पटानसँग सम्बन्धित १२ लाख ५० हजार, पहिरो २ लाख ५० हजार र पानीजन्य अन्य जोखिमसँग सम्बन्धित १५ लाख भनेर उल्लेख छ। प्रदेश २ मा बाढीको जोखिम अत्यधिक हुने आकलन छ। खासगरी तराईका क्षेत्र बाढी र डुबानको उच्च खतरामा रहेको उल्लेख छ। बाढी पहिरोकै बेला पानीजन्य रोगले कतिपय गाउँबस्तीलाई आक्रान्त पार्न सक्ने, मलेरिया, डेंगु, कालाज्वरो, इन्सेफ्लाइटिस, कमलपित्त, झाडापखाला र सर्पदंशका घटना जस्ता जोखिम पनि उच्च हुने प्रबल सम्भावना रहेको कार्ययोजनामा उल्लेख छ।
    बाढीको जोखिम र धनमालको क्षति न्यूनीकरणको लागि कागजमा कोरिएको सरकारको आकलन कर्तव्यनिष्ठ कार्यान्वयन भएमात्र समस्याबाट उन्मुक्ति मिल्न सक्छ। वास्तविकता हेर्दा पीडित समुदाय देवनाम जपेर त्रासमुक्त हुने भन्दा अर्को उपाय शून्य प्रायः छ। जनमानस वर्षात्भरि दैवभरोसे रहेको सत्यताप्रति यदि सत्ता अबुझ छ भने कथाको राजा जस्तै स्थलगत भ्रमण गरे अवस्थासँग तारतम्य हुन सकिन्छ। कार्ययोजना बनाए पनि कार्यान्वयनको सवालमा एक तहले अर्को तहको मुख ताक्ने/दोषारोपण गर्ने प्रवृत्ति बढ्दो छ। यी सबै विषय कागजमा मात्र सीमित रहने हुन् कि कार्यान्वयनको प्रक्रिया अनुभूति हुने हो भन्ने सवालमा उदीयमान बेथितिले जनआशङ्का बढाएको छ।
    गत हप्ताको वर्षात्ले देहातका सडकहरूमा नागरिकको दुर्दशा भोगाइले सत्तासीनहरूको चरित्र उजागर गरिदिएको छ। देहातको गल्लीहरूमा हिलोले एक घरबाट अर्को घर जान पनि समस्या छ। खाली खुट्टा हिंड्ने कतिपयको आंैला र छाला कुहिएको छ। नागरिकलाई मतदाताभन्दा बढी श्रेय दिने मानसिकता सत्तासीनहरूमा देखिंदैन। बाहिरी आवरणमा निस्स्वार्थी भावना व्यक्त गर्ने र भित्रभित्रै स्वार्थले जेलिएका जनप्रतिनिधिहरूले जनविश्वास गुमाउँदा आफैंप्रति घात हुने कुरा बुझ्नु जरुरी छ।
    पालिकाहरूमा विकासका निम्ति समुद्री लहरको उफान जस्तै रकम आएपनि कार्यप्रगति पानीको बुलबुलाभन्दा माथि उठ्न सकेको छैन। तीनै तहका सरकारले उ्रत्तरदायित्वभन्दा पनि एकअर्कामाथि दोष थोपार्ने प्रवृत्तिले आममानिसलाई निराश तुल्याइरहेको छ। तीन तहको सिंहदरबारसँग जनअपेक्षित विकासको सपना जनमनमा छ। जनमत पाएर शक्तिशाली भएका जनप्रतिनिधिहरूको आँखा अगाडि आमनागरिक दैवभरोसे बाँच्नु लज्जास्पद र हास्यास्पद अवस्था हो। उपरोक्त कथाका राजा जस्तो गलती स्वीकार्ने जनप्रतिनिधि र राजाका मित्र जस्तो उचित सल्लाह दिने व्यक्तिहरूको खाँचो छ। सत्तावरिपरिका मित्रहरूले स्वार्थपरक हुनुभन्दा पनि जनसरोकारका विषयमा अग्रणी भूमिका निर्वाह गर्नु अपरिहार्य छ। आमजनमा अङ्कुरण गरिएको प्रगतिशील देश र उत्साही जनताकोे सपना विपनामा परिणत होस्। जनअपेक्षाविपरीत कार्य गर्नेहरूलाई आउने समयले बाटो देखाउनेछ भन्ने विषयप्रति चेत होस्।

फरक समाचार

Find us