Showing posts with label बाटिका. Show all posts
Showing posts with label बाटिका. Show all posts

Friday, December 11, 2020

ब्रह्म

ब्रह्म


 

 

 

 

 

 

शीतल गिरी

“ब्रह्म” शब्द उपनिषद् प्रतिपादित परमसत्ताको द्योतक बन्यो, यस प्रश्नको उत्तर फरक–फरक विद्वान्हरूले फरक–फरक किसिमबाट दिएका छन् । हौगको मतमा ब्रह्मको अर्थ हो प्रार्थना, जुन “बृह्” धातुबाट बनेको छ, जसको अर्थ हो बढ्नु अथवा उत्पन्न हुनु । यो त्यो सत्ता हो, जुन बढ्दछ अथवा उत्पन्न हुन्छ ।   
वृहदारण्यक उपनिषद्, १ः३, ९० अनुसार छोरा निश्चय नै जीवन प्रकृतिभन्दा पृथक किसिमको व्यवस्थामा आउँदछ । यद्यपि प्राण शरीरको सारभूत तŒव हो । तर प्राणलाई समस्याको समाधान मान्दा पनि ऊ असन्तुष्ट नै रहन्छ, किनभने प्राणीजगत्मा जुन चेतनात्मक घटना हाम्रो सम्मुख आउँदछ, त्यसको व्याख्या जीवनतŒवसँग हुन सक्दैन । मानव अथवा प्रत्यक्ष ज्ञानात्मक चेतना एउटा यस्तो पदार्थ हो, जुन जीवन एवं प्रकृतिभन्दा एकदम विलक्षणस्वरूप छ र जो समस्त प्राणधारक प्रक्रियाको मूर्धन्य प्रतीत लाग्दछ ।
“यो त्यो पुरातन वृक्ष हो, जसको जरो माथितिर छ र जसका हाँगाहरू तलतिर जान्छ । ऊ प्रकाशको पुञ्ज उज्ज्वल ब्रह्म हो, जो अमर छ, सबै लोक उसैभित्र निहित छ र यसको बाहिर केही पनि छैन ।” (कठोपनिषद्, २ः६,१) 

निम्नस्तरका पदार्थ विशुद्ध ब्रह्मभन्दा उच्चतर स्तरका पदार्थहरूका अपेक्षा धेरै दूरवर्ती छन्, कतिसम्म भने उपनिषद्का आनन्दमय, रामानुजको समवेत ब्रह्म र शङ्करको ईश्वर यी सबै त्यस विशुद्ध परमसत्ताको निकटतम हो । यसबाट अरू धेरै सामीप्य विचारमा आउन सक्दैन । सर्वोपरि ब्रह्म अथवा आनन्द, विज्ञानको स्तरमा अथवा आत्मचैतन्यको स्तरमा, व्यक्तिरूप ईश्वर बन्ने गर्दछ, जो स्वेच्छाले मर्यादासम्पन्न छ । ईश्वर अथवा आत्मा एकत्वको आधार स्तम्भ हो र प्रकृति अथवा अनात्म द्वैत अथवा बहुत्वरूपी तŒव बन्न जान्छ । (तैतिरीय उपनिषद्, १ः५)
समस्त विषयात्मक ब्रह्माण्ड हिरण्यगर्भ प्रमाता विषयीद्वारा धारण गर्ने गरिन्छ । जबकि व्यक्तिरूप विषयी विलुप्त हुन्छ, त्यो त्यसै समय पनि अर्थात् प्रलयकालमा पनि, नयाँ सृष्टिको विषयमा सङ्कल्प गर्ने चाहिं विद्यमान रहनेछ । जब हामी आत्मालाई आफ्नो शरीरसँग तादात्म्य गर्दछौं, ब्रह्म विश्वमय अर्थात् विराटरूप हुने गर्छ । विराट नै सबै थोक हो अर्थात् समस्त विश्वको एकत्र सारवस्तु दैवीय शरीरको रूपमा छ । यी वस्तुहरूको समुच्चय अर्थात् समस्त सत्यपदार्थहरू एकत्रित पुञ्ज हो । “यो त्यो हो, समस्त उत्पन्न पदार्थहरूका आभ्यन्तर आत्मा, अग्नि जसको शिर हो, सूर्य र चन्द्रमा जसका आँखा हुन्, चारै दिशा जसका कान हुन्, वेद जसको वाणी हो र ती वेदहरूका प्रादुर्भाव पनि त्यसैबाट भएको हो, वायु जसको श्वसित हो, समस्त ब्रह्माण्ड जसको हृदय हो र जसको चरणबाट पृथ्वी प्रादुर्भाव भयो ।”
(मुण्डक उपनिषद्, ४ः४, ११)
ईश उपनिषद्ले हामीलाई ब्रह्मको उपासना दुई किसिमले अर्थात् अभिव्यक्त र अव्यक्त अवस्थाहरूमा गर्ने आदेश दिन्छ । उपनिषद्ले जुन एकेश्वरवादको प्रतिपादन गर्दछ, त्यो भावनात्मक रूप मात्र होइन । त्यसमा पृथक्त्व छ तर तादात्म्य पनि छ । ब्रह्म अनन्त छ, यी अर्थहरूमा होइन बरु शान्त पदार्थ त्यसभन्दा बाहिर छ, तर यी अर्थहरूमा छन् किनभने यी समस्त शान्त पदार्थहरूको आधारस्तम्भ हो ।  
“दृष्टि त्यहाँ पुग्न सक्दैन, न त वाणी र मन नै पुग्न सक्दछ । हामीलाई थाहा छैन । हामी यो पनि थाहा पाउँदैनौं, कसरी यसको विषयमा शिक्षा दिन सकिन्छ ।” (केन उपनिषद्, २ः३) परमसत्ताको यस किसिमको प्रमेय पदार्थको रूपमा पनि उपस्थित गर्न सकिंदैन किनभने बुद्धिले त्यसलाई ग्रहण गर्न सक्दैन । “उसले यसलाई कसरी जानोस् जसको शक्तिले उसले सबैलाई चिनोस् ? हे प्रिय १ यो आफू आपैंm, जो ज्ञाता हो, कसरी जानोस् ।” (वृहदारण्यक उपनिषद्, २ः४, १३) विषयीलाई विषयको रूपमा ज्ञान गर्नु असम्भव छ । “यो हेर्न सकिंदैन तर हेर्नेवाला छ, सुन्न सकिंदैन तर सुन्नेवाला छ, प्रत्यक्ष ज्ञानको विषय होइन तर प्रत्यक्ष ज्ञान दिलाउने वाला छ, अर्थात् छ तर जान्नेवाला छ ।” (वृहदारण्यक उपनिषद्, ३ः७, २३ र ३ः८, ११) आत्माको अभाव यस कारण मात्र छ किनभने ऊ प्रमेय बन्न सक्दैन, भन्न सकिन्न । यद्यपि मानवको बौद्धिक योग्यता यसलाई प्रत्यक्षरूपले थाहा पाउन सक्दैन, तब पनि ती सबैका सत्ता पनि हुँदैन यदि आत्माको सत्ता हुँदैन भने । (वृहदारण्यक उपनिषद्, ३ः८, ११/२ः४, १४/४ः५, १५)
कालको मर्यादाभन्दा ब्रह्म स्वतन्त्र छ, अर्थात् यो नित्य हो, जसको न आदि छ, न त अन्त छ अथवा एउटा तात्कालिक अवधि हो, जसलाई एउटा नियमित काल, व्यवधानको आवश्यकता पर्दैन । त्यो भूत र भविष्यत्को विचारभन्दा मुक्त छ । (कठ उपनिषद्, २ः१४) र सबैको मालिक (प्रभु) हो ।
(वृहदारण्यक उपनिषद्, ४ः१५) जसको पाउँमा काल लुटुपुटु गर्छ । (वृहदारण्यक उपनिषद् ४ः४, १६–१७) कारणसम्बन्धी सम्बन्धहरूभन्दा सर्वथा स्वतन्त्रतामा जोड दिंदै ब्रह्मलाई एउटा अचल सत्ताको निरूपण गरिएको छ, जुन प्रादुर्भाव हुनुको समस्त नियमहरूभन्दा पूर्ण स्वतन्त्र छ, किन कारण कार्यभावको व्यापक नियम त्यहीं लागू हुने गर्दछ ।  
“अध्ययनबाट आत्मा प्राप्ति हुँदैन । मेघाबाट पनि हँुदैन र पुस्तकहरूका व्यापक ज्ञानबाट पनि हँुदैन ।” (कठोपनिषद्, २ः२३) यसलाई योगीहरूले आभ्यन्तर ज्योतिको प्रकाशको क्षणमा मात्र प्राप्त गर्दछन् । यो अव्यवहित ज्ञान अथवा निकटतम तात्कालिक अन्तर्दृष्टि हो । योगीहरूका अनुभवमा आत्मा आफूलाई सर्वोपरि सत्ताको सान्निध्यमा उपस्थित पाउँदछ । अभिज्ञता चिन्तन र परमसत्ताको सुखमा मग्न हुने गर्दछ ।  
राजा वाष्कलिले जब आफ्ना गुरुसँग भन्यो, ब्रह्मको स्वरूपको व्याख्या गर्नुस्, तब उनी मौन भए । जब राजाले आफ्नो निवेदन फेरि दोह¥यायो, तब त्यस महात्माले उत्तर दियो, “म तिमीलाई यसबारे बताउँछु तर तिमीले बुझ्दैनौं, “शान्तोऽयमात्माः” यो आत्माशान्तिको स्वरूप हो, निश्चल ।” (शङ्कर भाष्य ३ः२, १७)  
बुद्धिद्वारा प्रस्तुत कुनै पनि परिभाषाको लागि हामी उत्तरमा यतिमात्र भन्दछौं, यो उपयुक्त छैन ।
(वृहदारण्यक उपनिषद्, ३ः९, २६) नकारात्मक परिभाषाहरू प्रकट गर्दछ, कसोगरी सकारात्मक गुण, जुन हामीलाई ज्ञात छ, उच्चतम सत्ताको विषयमा अपर्याप्त ठहर्दछ । “यसको मापन गर्नु गा¥हो छ, जसको गौरव वस्तुतः महान् छ ।” (यजुर्वेद)
ब्रह्मको साथमा परस्पर विरोधी गुणहरूको प्रयोगले यस्तो प्रकट गर्दछ, जबसम्म हामी बुद्धिमा सम्बन्धित तर्कशास्त्रको प्रयोग गर्दछौं, तबसम्म हामी नकारात्मक भावहरूको प्रयोग गर्नको लागि विवश हुन्छौं । यद्यपि ब्रह्मको साक्षात् जब अन्तर्दृष्टिद्वारा हुन्छ, तब कतिपय सकारात्मक लक्षण अभिव्यक्त हुने गर्छन् ।  
“यो सूक्ष्मभन्दा पनि महत्तर छ ।”
(श्वेताश्वतर उपनिषद्, ३ः२०) “यो गति गर्दछ, यो गति गर्दैन पनि, यो टाढा पनि छ र नजीक पनि छ, यो यी सबैको अन्तर्निविष्ट हो, र यो सबैभन्दा बाहिर पनि छ ।” (ईशोपनिषद्, अध्याय ५)
असङ्गत प्रतीत हुने यी परिभाषाहरू विचारको कुनै अस्तव्यस्तताको लक्षण होइन ।
प्रत्येक प्रकारको आनुभविक ज्ञानमा परमसत्ताको सङ्केत पाइन्छ, किनभने संसारका प्रत्येक भौतिक पदार्थ त्यस परमसत्तामा आश्रित छ, यद्यपि कुनै पनि पदार्थ पूर्णरूपले उसको अभिव्यक्ति गर्दैन । यस प्रकार ती मानिस जो ठान्दछ, परमसत्तालाई चिन्दिनँ, उसले चिन्छ । यद्यपि अपूर्णरूपले र ती मानिस जो ठान्दछ ऊ परमसत्तालाई चिन्दछु उसले अलिकति पनि चिनेको हुँदैन ।   
यो एक किसिमको आधा ज्ञान र आधा अज्ञान हो । केन उपनिषद् (२ः३) मा भनिएको छ, “यो ती मानिसहरूका लागि अज्ञात छ, जो जान्दछ र उनको लागि ज्ञात छ, जसले जान्दैन ।” उपनिषद्हरूका अभिप्राय यस्तो होइन कि बुद्धि एउटा अनुपयोगी पथ प्रदर्शक हो । बुद्धिद्वारा प्राप्त यथार्थसत्ताको विवरण असत्य होइन । बुद्धि त्यहीं असफल हुन्छ, जहाँ उक्त सत्तालाई उसको पूर्णरूपमा ग्रहण गर्ने प्रयत्न गर्दछ । अरू प्रत्येक स्थानमा यसले असफलता नै प्राप्त गर्दछ । बुद्धि जुन वस्तुको घोषणा गर्दछ, त्यो मिथ्या होइन, यद्यपि यो परमरूपले यथार्थ सत होइन ।
संसारका प्रत्येक वस्तु, व्यक्तिगतरूपमा मनुष्य मात्र होइन, तŒवरूपमा स्वयम् यथार्थसत्ताको स्वरूप पनि हो । विकासको तात्पर्य वस्तुहरूको अन्तर्गत क्षमताहरूको अभिव्यक्ति हो, जो बाधक शक्तिहरू हटनाले प्रकट हुने गर्दछ । वैज्ञानिक दृष्टिकोणले हामी सांसारिक पदार्थहरूमा विकासका अलग–अलग श्रेणीहरूलाई लिखत गर्दछौं । दार्शनिकको लक्ष्य त्यसभित्र एकत्व खोज्नु हो । संसारको गुणनावस्थाको आधार त्यही एउटा आत्मा हो । “निस्सन्देह यदि यो आनन्द आकाशमा हुँदैनथ्यो भने त कसरी जीवन धारण गर्न सक्दछ, अथवा श्वास लिन सक्दछ ?” (तैत्तिरीय उपनिषद्, बल्ली २) क्रमशः

माई बेस्ट फादर...

माई बेस्ट फादर...


 

 

 

 

 

 

सञ्जय मित्र

मेरो गाउँमा एकजनाका धेरै सन्तान छन् । दुई/चार जना हुँदासम्म त सबैको नाम कण्ठस्थ हुन्थ्यो तर सन्तान बढ्दै गएपछि नाम जन्मदर्तामा सीमित हुन पुग्छ । अनि बोलाउन शुरू हुन्छ जन्मक्रमको आधारमा एक, दुई, तीन... उन्नाइस ।
संयोगले जेठो छोरा र त्यसपछि छोरी छे । छोरो बदमाश, उसको नाम भएको एक नम्बर । छोरी भलाद्मी तर नाम चाहिं दुई नम्बर ।
कहिलेकाहीं त आफ्नै सन्तान चिन्न गा¥हो हुन्छ । हो, म तपैंकै छोरो हुँ भनेपछि मान्नुपर्ने । कहिलेकाहीं त मेरा हुन् कि छिमेकीका छुट्याउन नसकेर नाम सोध्नुपर्छ । हरेकलाई नाम त थाहा छ तर जन्मदर्ताको नाम बतायो भने छिमेकीको छोराछोरी भन्ठान्लान् भनेर छोराछोरीले पनि आफ्नो रोलक्रम नै बताउँछन् । धेरै सन्तान हुनेले मात्र यस्तो आनन्द प्राप्त गर्न सक्छन् ।

बीसौं प्रसवभन्दा पहिले सारै सहयोग गर्ने छोरीलाई आमाले प्रशंसा गर्छिन्– बेस्ट छोरी । हेर्दा सबैभन्दा मरन्च्याँसी र फोहोरीको नामै भयो बेस्ट छोरी । ऊभन्दा कैयौं क्रम पछाडिकाले पनि उसलाई बेस्ट छोरी नै भन्छन् । भाइबहिनीका पनि बेस्ट छोरी ।
म बोर्डिङमा पढ्दा एकजना मास्टर साहेबले निबन्ध लेख्नलाई भनेका थिए । शीर्षक थियो– माई बेस्ट पे्रmन्ड ।
बुद्धिमा सुद्धि खासै नपसेको उमेर न हुन्छ स्कूले जीवन । पे्रmन्ड भनेको साथी र बेस्ट भनेको सबैभन्दा राम्रो । मलाई लागेको थियो, सबैभन्दा राम्रो साथी त जीवनसाथी हुन्छ । हाम्रो बोर्डिड्ढा धेरैले मन पराउने केटीसँग मेरो बोलचाल थिएन तर निबन्ध चैं उसको नामै तोकेर लेखें । ऊसित कसरी जीवन कटाउने भनेर । मास्टर साहेबले त मलाई लाइफकै बेस्ट कुटाइ कुटेका थिए । कसैले बेस्टभन्दा म आफ्नो भेस्टभन्दा पहिले त्यैं दिन सम्झन्छु ।
त्यहीं बोर्डिङ स्कूलमा पढ्ने आधुनिक भलाद्मीहरूको एक दिन आन्तरिक प्रतियोगिता थियो । अलिकपछि मात्र मैले थाहा पाएँ हैन भने सहभागी हुन्थें । भलाद्मीहरूको प्रतियोगिताको नाम थियो– बेस्ट लभर कम्पिटिशन । एउटै केटीलाई धेरै केटाले र एउटै केटालाई धेरै केटीले मन पराउने भएर त्यस्तो कम्पिटिशन राखेका रै‘छन् । त्यत्ति बेलासम्म कस्तो ‘टेन्डेन्सी’ थियो भने पढाइमा राम्रो केटालाई धेरै केटीले मन पराउँथे र अनुहारमा राम्री केटीलाई धेरै केटाले मन पराउँथे । हो, कम्पिटिशन चैं यस्तै मन पराउनेहरूबीचको थियो आन्तरिक ।
हामीले निकै पछि थाहा पायौं । धेरैमध्ये तीन/तीन जना छानेका रै‘छन् । तत्काललाई सबैको हैसियत बराबर तर एक हप्तामा गुड, बेटर अनि बेस्ट लभर हुने रे । एक हप्तासम्म तीनजनाले आफूलाई बेस्ट साबित गर्नुपर्ने ।
कतिपयको त यो वर्षको मेरो बेस्ट लभर फलानो रह्यो भन्ने घोषणा गरेको पनि सुनियो । साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक बेस्ट लभर हुन थाल्यो ।
एउटीले यसरी घोषणा गरेकी रहिछन्– फलानो मेरो गुड लभर, फलानो मेरो बेटर लभर, फलानो मेरो बेस्ट लभर । वर्षभरिको बेस्ट लभरमध्ये फलानो मेरो बेस्टर लभर र फलानो मेरो बेस्टेस्ट लभर । अङ्ग्रेजी व्याकरणमा डिग्री पढाउने टिचरले डिग्रीको विभाजन यहींबाट सिकेर नयाँ अङ्ग्रेजी व्याकरणमा डिग्रीको आविष्कार गरेका थिए– सुपरलेटिभ डिग्री, कम्प्यारेटिभ सुपरलेटिभ र सुपरेस्ट सुपरलेटिभ डिग्री । न्यू इन्भेन्ट गरेपछि त्यो वर्षको बेस्टमध्येको पनि बेस्ट अर्थात् बेस्टेस्ट (सुपरेस्ट सुपरलेटिभ) टिचरको प्राइज जितेका थिए ।
मेरो बुद्धिले भ्यागुतो छलाङ मार्दै गयो । स्कूलमा त कछुवा गतिमा पढाइ हुन्छ । स्कूलबाट छलाङ मारें । स्कूल छाड्नुपर्ने कारणमध्ये यो पनि थियो कि जत्ति पनि केटी थिई, कसैले कुनै आवधिक कम्पिटिशनमा मलाई गुड, बेटर वा बेस्टमा कहिल्यै पनि राखिन ।
अहिले यो किन सम्झन्छु भने अस्ति पत्नी दिवसको दिन मैले मेरी पूर्णाङ्गिनीलाई भनेको थिएँ– माई बेस्ट श्रीमती ।
शायद उसको पनि सरकारी स्कूलमा पनि त्यस्तो कम्पिटिशन हुन्थ्यो क्यारे । तत्कालै जवाफ फर्काइन्– अनि बेटर को ? गुड श्रीमती को होली ?
म न नाजवाफ । मलाई मेरी श्रीमती लाजवाब लागेर खुशी पार्न उपमा दिएको थिएँ । फसें ।
पति दिवसका दिन बिहानै शुभकामना पाउँछु घरमा– मेरा प्रथम पति ।
म त ट्वाँ परूँ कि नपरूँ भन्ने दोधारमा पर्छु । प्रथम हुनुको खुशीमा मिठाइ बाँडूँ कि ? प्रथम भनेपछि द्वितीय, तृतीय... पनि हुन सक्ने देखिन्छ ।
अलमलको उत्कर्षमा रहेर कुनै प्रतिक्रिया नपाएको उपलक्ष्यमा अलिक फुरुङ्गिदै गरेको स्वर मेरो कानको जालीमा ठोक्किन्छ– ह्याप्पी हसबैन्ड डे, माई बेस्ट हसबैन्ड ।
मेरो त ब्यान्ड बजिरहेछ, भित्रभित्रै । पत्नी दिवसको दिन पत्नीले फर्काएको प्रश्न दोहो¥याउँ भने आफ्नै इज्जत जाने । अपच भएपनि सहनै पर्छ, पचाउनै पर्छ । प्रतिक्रिया दिन्छु– थ्याङ्क्स । बेस्टेस्ट हसबैन्ड भनेकी छैनन् । अझ पनि मेरो इज्जत बाँकी छ भनेर म अनुशासित किसिमले चित्त बुझाउँछु ।
केही बोल्ने पनि कसरी । बाहिर पो जे मन लाग्यो बोलिन्छ वा धाक लगाइन्छ । घरमा अलिकति चित्त नबुझ्ने कुरो बोल्नुहुँदैन । झाेंकतन्त्र देखिन शुरू हुन्छ । त्यसपछि ब्यान्ड बज्ने डर पनि हुन्छ आफ्नै ।
सन्तान दिवसको दिन हामीजस्ता सोझालाई गा¥हो हुन्छ । सबै सन्तानलाई माई बेस्ट सन्तान भनूँ भने पनि असन्तुष्टि हुने र कोही एकलाई भनूँ भने अन्य सबै रिसाउने ।
स्कूल भनेको बोर्डिङ हो र विद्यालय भनेको सरकारी स्कूल हो भन्ने बुझाइ थियो हाम्रो जमानामा । स्कूल पढ्नेहरू आफूलाई ठूलो ठान्थे र विद्यालय पढाउने मास्टरहरू आफूलाई ठूलो मान्थे । हामी प्योर इङ्गलिश बोल्थ्यौं र तिनीहरू शुद्ध नेपाली । माइनसमा प्लस जोड्दा जुन बढी हुन्छ उत्तर त्यत्तैतिर फर्केझैं स्कूल राम्रो कि विद्यालय र टिचर राम्रो कि मास्टर भन्ने विवादको अन्तिम निष्कर्ष हुने गथ्र्यो । अहिले कस्तो छ कुन्नि थाहा भएन ।
केटाकेटीले स्कूलमैं हो धेरै कुरा सिक्ने । विद्यालयमा त पढाइ नै हुँदैन भन्छन् त कहाँबाट धेरै कुरा सिक्नु । समाजमा सर्भे गर्ने हो भने विद्यालय पढेकाभन्दा स्कूल पढेका भलाद्मीहरू बढी भेटिन्छन् ।
यस्तै भलाद्मीमध्ये मेरो गाउँका एकजना मेरै छिमेकमा छन् । ‘फादर्स डे’का दिन बिहान म बाहिर आँगनमा चिया खाँदैछु । हातमा अखबारको बच्चो छ । भलाद्मीका जन्मदाता र म कुराकानी गरिरहेका छौं । कतैबाट आएर उनले आफ्नो जन्मदातालाई च्याप्प समात्छन् र मुखबाट ओकल्छन्– ह्याप्पी फादर्स डे, माई बेस्ट फादर ।
भलाद्मीले यस्तो भन्दा बाबालाई अँगालेर मतिर हेर्दै मुस्कुराइरहेका छन् । भलाद्मीले मतिर हेर्दै गर्दा उनकी जन्मदात्री कर्के नजरले मतिर हेर्दै प्राकृतिक मुस्कान छर्दैछिन् ।
फुच्चे अखबार र चियाको कप त्यहीं छाडेर छिमेकी आमा–छोराको मुस्कान मनभरि भरेर म घरमा छिर्छु । मनमनै गुन्दै पनि छु– गुड र बेटर फादर पनि हुन्छन् र ? बेस्ट फादर भन्नुपर्ने किन ? घरमा खै कुन समयदेखि कसरी तयारी गरेका रै‘छन्, मैले त थाहा नै पाइनँ । भए भरका मेरा कहलिएका सन्तानहरूले एकै स्वरमा सुन्दर मुस्कानका साथ बोल्छन्– ह्याप्पी फादर्स डे, माई बेस्ट फादर... ।
विचलित होउँ कि नहोउँ । होउँ भने आफ्नै बेइज्जत र नहोउँ भने मनभित्र चोटको खोट । पूर्णाङ्गिनीजीतिर दृष्टि पुग्छ । उनी आँखा सन्काउँछिन् र कुटिल मुस्कान छर्छिन् । म छरिएको मुस्कानमा कुनै बदलाको आगो बलेको देख्छु । भर्खर बाहिर मनभरिको मुस्कान प्राप्त गरेको छु ।
थ्याङ्कू ।
मुखबाट फुस्काउनै पर्छ । फुस्काउँछु ।
अब म शङ्का कसमाथि गरूँ । म त एक्लै छु । घरमा अरू कोही साना बा, ठूला बा वा अरू कोही बा भएको थाहा छैन । घरमूला वा घरमूली जे भने पनि मै हुँ तर तर बेस्ट फादर... । माई बेस्ट फादर... । शङ्काको सुई फनफनी घुम्न थालेको छ ।

Friday, December 4, 2020

सीमा वारि र पारिका बेहुला–बेहुली चिन्तामा

सीमा वारि र पारिका बेहुला–बेहुली चिन्तामा


 

 

 

राजेश मिश्र

“लइका देखे जातानी लोगन का हो काका ?” गाउँका एक अधवैंसे पुरुषले यात्रामा निस्किरहेका पडोसिया (छिमेकी)सँग प्रश्न गरे। पडोसियाको उत्तर थियो, “पिछला साल सब तय हो गइल रहे, लकडाउन के कारण पिछला साल बियाह ना हो सकल, जातानीसन एही महीना में दिन उतारे, कहियाले बेटीके बियाह टारल जाँव ? जेतरे होई कइल जाई।” गाउँदेहातका बुजुर्गहरूको मान्यता अनुसार विवाह तय भइसकेपछि बढी समयसम्म रोक्नुहुँदैन। विवाह नभएसम्म दुवै परिवारको एकापसमा अन्तरङ्ग घुलमिल भएको हुँदैन। एकअर्काको पारिवारिक दुःख–सुख पनि बुझेका हुँदैनन्। वैवाहिक प्रक्रिया टुङ्ग्याइसकेपछि धेरै ढिलो भयो भने विभिन्न प्रकृतिका बाधा–व्यवधान उत्पन्न हुन सक्ने सम्भावना हुन्छ। त्यसैले पुरनियाहरू भन्छन्, “विवाह गर्नेबारे टुङ्गो लागिसकेपछि ढिलो गर्नुहुँदैन।”

मधेसमा केटाकेटी ‘देखसुन’को प्रक्रियादेखि लिएर ‘दिन उतार्ने’ काम दीपावलीको तेस्रो दिन मनाइने गोवर्धन पूजा अर्थात् बजडी/भाइटीकाको दिनदेखि प्रारम्भ हुन्छ। यद्यपि वर्तमान समयमा विगतको लोकमान्यता समयको गतिसँगै परिवर्तनशील पनि हुँदै गएको देखिन्छ। पहिले ‘बजडी’को दिनदेखि विवाहको लागि कुरा अघि बढाउने वा पहिलेदेखि कुरा भइसकेकाहरूले पुरोहितसँग वैवाहिक लगन अनुसार विवाहको लागि ‘दिन उतार्ने’ अर्थात् दिन निश्चित गर्ने परम्परा अब ‘दिन उतार्ने’ काममा मात्र सीमित भइसकेको छ। केटाकेटी ‘देखसुन’ गर्ने प्रक्रिया अचेल वर्षैभरि भइरहेको छ। समयको गतिसँगै पारम्परिक संस्कृति आधुनिकतासहित परिस्थितिजन्य अवस्थामा परिवर्तनशील पनि भइरहेको छ। कोरोनाकालमा समेत परम्परागत लोकमान्यता र संस्कृतिको मूल स्वरूपमा परिवर्तन देखा पर्नु आधुनिकताको प्रकोप नै भन्नुपर्छ।

कोरोनाको सङ्क्रमणकालीन परिस्थितिको कारण वर–वधू मात्र होइनन्, दुवै पक्षका परिवार पनि चिन्तित छन्, जसको बिहेवारी सीमा वारि र पारि हुने निश्चित भइसकेको छ।

वीरगंजका नीरज मिश्र र भारतीय राज्य उडिसाकी मीनाक्षी पाढीको अँगुठी कार्यक्रम गत वर्षको माघ महीनामा वाराणसीमा सम्पन्न भएको थियो। दुवै पक्षले मङ्सिर महीनामा विवाह गर्ने पक्का गरेका थिए। ढुक्क थिए। नीरजका बुबा जयकुमार मिश्रले भने, “जन्ती भारतीय राज्य उडिसाको भुवनेश्वर लैजानुपर्ने परिस्थिति छ। दिसम्बर महीनाको लागि रक्सौलदेखि कोलकातासम्म अग्रिम बुकिङ भइरहेको छैन। दुवैतर्फका सरकारहरूले वैवाहिक सम्बन्धलाई मध्यनजर गरी नागरिकको समस्या हल गर्नुपर्छ।” सरकारको निगाहमा कोरोनाको स्थिति मात्र बुझेर हुने होइन, आमजनको वैवाहिक परिस्थितिलाई समेत मध्यनजर गर्नुपर्ने खाँचो छ। यसप्रति सरकारको ध्यानाकर्षण हुनु नितान्त आवश्यक छ।

पकहामैनपुर गापाका एक युवकको विवाह वैशाखको लगनमा गर्ने भनेर गत वर्ष कात्तिकमा तय भएको थियो। जन्ती सीमापारि बिहार राज्यको बेतिया लैजानुपर्नेछ। नेपालतर्फबाट सीमानाका नखुलेकोले वर–वधू दुवै पक्ष समस्यामा छन्। लकडाउनको कारण सीमा वारि र पारिका विवाह अन्योलमा छ। सीमानाका कहिलेसम्म बन्द रहने हो भन्ने विषयले पनि सीमा वारि र पारिका विवाह प्रभावित भइरहेका छन्। टुङ्गो लागिसकेका कतिपय विवाह सीमानाका खुल्ने नखुल्ने अनिश्चितताको कारण भङ्ग भइसकेका छन् भने कतिपय भङ्ग हुने अवस्थामा रहेका कैयौं उदाहरण गाउँदेहातमा भेटिन्छन्। गाउँदेहातका मानिसहरूसँग बुझ्दा कतिपय बेहुला–बेहुली सीमानाका खुल्ने आसमा सन्तोष गरिरहेका पनि पाइन्छन्।

चालू वर्षको वैशाखदेखि मङ्सिरसम्मको लगनमा कैयौं परिवार विवाहको टुङ्गो गरिसकेका थिए। चैत ११ गतेदेखि लकडाउन भयो र लामो समयसम्म लकडाउन रहिरह्यो। वैशाखदेखि असारको लगनमा सम्पन्न हुन नसकेको विवाहको भार पनि मङ्सिरको लगनमा परेको देखिन्छ। लकडाउनको अवधिमा प्रभावित भएको स्वदेशी विवाह मङ्सिर महीनाको लगनमा धमाधम भइरहेका भएपनि ती स्थानीयस्तरमा मात्र सीमित छन्। धर्म, संस्कृति, रीतिरिवाजलगायतका विषयहरू सीमा वारि र पारि मिल्ने भएकाले वैवाहिक लगनगाँठो दुवैतर्फ हुने गर्दछ। सीमानाका बन्द हुनाले सीमा वारि र पारिका विवाह प्रभावित छन्। सीमानाका बन्द भएकोले सामान्यजन पीडा खेपिरहेका छन्। नेपालतर्फबाट पनि सीमानाका खोल्नुपर्छ भन्दै वीरगंज भन्सारमा धर्ना कार्यक्रम पनि चलिरहेको छ।

भारतले सीमानाका खुल्ला गरिसकेको छ। नेपाल सरकारले सीमानाका बन्द रहनेबारे पटक–पटक गरेको निर्णय पछिल्लो समय मङ्सिर मसान्तसम्म कायम रहने जनाएको छ। यो प्रक्रिया कहिलेसम्म जारी रहने हो भन्नेबारे अनिश्चित प्रायः छ। सरकारतर्फबाट सीमानाका बन्द रहेको जनाइए पनि दुई पाङ्ग्रे सवारी र पैदल यात्रुको ओहोरदोहोर सुचारु छ र वैवाहिकलगायतका परिस्थितिमा सामान्यजनको आवागमनमा सरकारको लचकता सबैतिर प्रशंसनीय रहे पनि वैवाहिक स्थितिसमेतलाई सुचारु गर्नु सरकारको दायित्व हो र नागरिकको समस्याप्रति विचार गर्नुपर्छ। वीरगंज भन्सारदेखि शङ्कराचार्य द्वारसम्म निजी सवारी चल्न दिइएको छैन। वैवाहिकलगायतका अवस्थालाई मध्यनजर गरी सरकारको ध्यानाकर्षण गर्नको निम्ति केही राजनीतिक दल तथा आमजनहरू सम्मिलित सरोकारवाला पक्ष सीमानाका खोल्नुपर्छ भन्दै वीरगंज सीमानाकामा धर्ना कार्यक्रमसमेत चलाइरहेका छन्।

खचाखच भीडयुक्त अवस्थामा बजार खुलिरहेको छ। दशहरा, दीपावली र छठ पर्वको अवसरमा जमघटपूर्ण राजनीतिक कार्यक्रमहरू मनग्य भए। गत असोज र कात्तिक महीनामा भीडभाडयुक्त पार्टी प्रवेश कार्यक्रमहरू सामाजिक सञ्जालमा मात्र होइन, सञ्चारमाध्यममा पनि प्रशस्त पढ्न र सुन्न पाइयो। विद्यालयबाहेक सरकारी कार्यालय, निजी कार्यालय र उद्योगधन्दा आदि कोरोनाको सतर्कतासम्बन्धी सूचना जारी गरी सञ्चालनमा छन्। कागजी औपचारिकता पूरा गर्नेबाहेकको सतर्कता कहींकतै देखिंदैन। जिल्लास्थित सरकारका अङ्गहरू औपचारिकता निर्वाहसम्बन्धी कार्यमा चुस्त रहेको भुइँतहसमेतले बुझिरहेका छन्। तर जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष वैवाहिक प्रक्रियाको विषयमा सिंहदरबार र दिल्ली दरबारले बुझिरहे पनि आमजनको सहजताको लागि कमसेकम वैवाहिक लगनसम्म सीमानाका सुचारु गर्नुपर्छ।

भेषभूषा, भाषा, संस्कृतिलगायतका समानताका कारण वैवाहिक लगन शुरू भएपछि सीमाञ्चल क्षेत्रका वारि र पारिबाट जन्तीको आवागमन तीव्र हुन्छ। सीमा वारि र पारि प्रत्येक वर्ष असीमित सङ्ख्यामा बिहेवारी हुन्छ। ऐतिहासिक, सामाजिक, धार्मिक र सांस्कृतिकलगायतका सम्बन्धले नेपाल–भारत सम्बन्धलाई बेटीरोटीको सम्बन्धको रूपमा व्याख्या गरिन्छ।

कोरोेनाकालको सतर्कता अपनाएर दुलहासँग दुई/चार जना बाराती मोटरसाइकलमा गएर मोटरसाइकलमा दुलही ल्याउने काम पनि भएका प्रशस्त उदारहण छन्। तर यो स्थानीयस्तरमा मात्र सुहाउँदो छ। सीमापारि विवाह गर्नको लागि समेत कोरोनाको सतर्कता अपनाएर वैवाहिक कार्यक्रम गर्न सरकारतर्फबाट अवस्था खुकुलो गर्नुपर्ने भुइँतहको आवाज सबैले सुन्नुपर्छ। कोरोनाको कहरले विनाश मात्र ल्याएको छैन, यद्यपि मानवजीवनको लागि सकारात्मक सन्देशसमेत प्रदान गरेको छ। विवाहमा अत्यधिक खर्च गर्ने परिपाटीलाई कोरोनाले निरुत्साहित गरेको कुरालाई सकारात्मक लिनुपर्छ। कोरोनाकालले मानिसलाई धेरै प्रकारका सकारात्मक पक्ष पनि सिकाएको छ, जसको निरन्तरता हुनुपर्छ। जनमानसले कोरोनाकालको सकारात्मक पक्षलाई अनुसरण गर्नुपर्छ। जस्तै आर्थिक बचत गर्ने, थोरैमा आत्मसन्तुष्टि गर्नेलगायतका धेरै सकारात्मक पक्ष छन्। आमजनको मनसायप्रति सरकारको ध्यानाकर्षण हुनु नितान्त आवश्यक छ।

कहाँ गए ती दिन ?

कहाँ गए ती दिन ?


 

 

 

मुकुन्द आचार्य

सबैलाई थाहा छ, समय परिवर्तनशील छ। सम्भवतः समयको यसै विशेषतालाई ध्यानमा राख्दै कसैले पुकार गरेको थियो– समय बडा बलवान रे भैया, समय बडा बलवान !
यससम्बन्धी यस परम सत्यतथ्यलाई हाम्रो मानवीय तुजु्रकले झट्ट स्वीकार्दैन। मन आफ्नो मौजमा हिंड्ने हुनाले ‘मनमौजी’ शब्द बनेको होला। मान्छेका सकल इन्द्रियलाई काममा जोत्न यै मोरो मन त हो नि। मन एवं मनुष्याणां कारण बन्ध मोक्षयो अर्थात् मनकै कारणले मानिस बन्धनमा पर्छ वा मोक्ष हुन्छ। यो गीताको वचन हो। यसलाई सत्य नमाने त सकिगयो नि !
अब यै छठको पर्वलाई हेरौं न। पर्वको लम्बाइ–चौडाइ त बढ्यो, अर्थात् छठका श्रद्धालु भक्तजनहरू तराईदेखि पहाडसम्म सलहझैं फैलिए, तर यसको गहिराइतिर मान्छेले ध्यान दिनै छाडे। बाहिरी देखावटी तडकभडकले कुरोको चुरोलाई नै ओझेलमा पा–यो जस्तो लाग्दैन ? श्रद्धा भक्ति गायब, फेशन भो जायज !!
सजावट गर्ने बेपारीले आफूलाई नयाँ सृष्टि गर्ने विश्वामित्रको स्थानमा राखेर आफ्नो हैसियत ह्वात्तै बढाउँछ, साथसाथै आम्दानी पनि। त्यसैगरी, अर्को छट्टु टेन्टको सजावट भनेर मोटो रकम कुम्ल्याउन सफल हुन्छ। यसरी छठको ठेकुवा खाने थुप्रै छन्।
चतुर, चलाक, चुस्त यस्ता बेपारीको मुखमा केही वाक्य झुन्डिएका हुन्छन्– इ छठीमाईके सेवा ह, शृङ्गार ह १ एमे कन्जूसी मत करीं , ज्यादा मोलमोलाइ मत करीं। दिल खोल के खर्चा करीं। माई के कृपा होई त कवनो चीजके कमी ना रही १। अर्थात् छठीमाताको काम हो, टन्नै खर्च गर्नुस्, कञ्जुस्याइँ नगर्नुस् !
अर्कोले मौकामा चौका हान्छ– देदे बाबा, माई के नाम में देदे १ चारैतिरबाट यस्तो दबाब परेपछि छठ सजावट समितिको टाउके–लाउके अध्यक्ष भनाउँदोले मुठी अलिकति खुकुलो गर्नैपर्ने अवस्था आउँछ। अचेल छठघाटको सजावट मात्र हेरिन्छ।
कहाँ गयो छठपूजाको सुचिता (पवित्रता) ? चोखो रीति सबै हराए। भित्रको गुदी कता गयो कता १ बोक्रा र छोक्रामा अलमलिएर असली छठ, कतै चट नहोस्।
व्रतालु महिलाहरू केही दिनअघिदेखि गहुँ केलाएर, धोएर, सुकाएर, सके आफैं पिसेर, शुद्ध तेलमा छानेर बनाएको ठेकुवा र सम्बन्धित अन्य पवित्र प्रसादको स्वाद र सुगन्ध अर्कै हुन्थ्यो।
एक लहडीले त छठको समाप्तिका दिन (बिहनिया घाट) मजाले बाटोको छेउमैं चदर ओछ्याएर ‘छठको प्रसाद’ मागेर रमाइलो वातावरण बनाइदिन्थ्यो। यतिमात्र कहाँ हो र, व्रतालुहरूको प्रसाद घरघरै बाँडिन्थ्यो। यसरी प्रसाद पाउनेले पनि आफूलाई कृतकृत्य (धन्य) ठान्थे।
छठ बितेको पन्ध्र दिन भइसक्दा पनि ठेकुवालाई तताएर अर्थात् नवीकरण गरेर खानुको मज्जा नै बेग्लै हुन्थ्यो। कहाँ गए ती दिन ? छठको त्यो मिठास अब हराउँदैछ।
अचेल त कसैले ‘मलाई ठेकुवा, कसार मन पर्छ’ भन्यो भने उसलाई गाउँले, गँवार, पुरातनपन्थी, ओल्ड फेशनको मान्छे भनेर डेट सकिएको औषधिझैं हेरिन्छ। के चाडपर्वको रस, कोरोनाले चुसेर छोक्रा मात्र बाँकी रहेको हो त ? कोरोनाको नाउँमा सरकार र डाक्टरहरूले मात्र कमाउनु पनि त त्यति उचित हुँदैन होला।
कुनै पनि चाडपर्वको मूल उद्देश्य सुक्न नपाओस्, भन्नेतिर पनि अलिकति ध्यान दिए के नै बिग्रला र ?

अवमूल्यनमा परेको मानिस

अवमूल्यनमा परेको मानिस


 

 

 

शीतल गिरी  

गताङ्कको बाँकी...
अमरसिंहको नेतृत्वमा सिपाहीहरू जन्मभूमिको रक्षा गर्न स्वाहा हुन तयार थिए। देशलाई बचाउन आफ्नो रगत बगाउन तयार थिए सिपाही। यदि लडाइँका हतियार तरबार, छुरी, भाला, खुकुरी, खुडा जस्ता मात्रै पर्याप्त हुँदा हुन् त निश्चय नै रणसङ्ग्राममा नेपाली सिपाहीले छप्काउने थिए।  
हिन्दूका राजा अङ्ग्रेजसित मिले, एशियावासीलाई हिमालका नेपालीको रित्तो अङ्कमाल स्वीकार्य नभएको हुँदा स्थिति बडो जटिल थियो। हिन्दुस्थान पराधीन बन्न तयार थियो, एशियाबाट अङ्ग्रेज धपाउने हिमालका नेपालीको प्रस्ताव स्वीकार्य नहुनु स्वाभाविक थियो। तर अमरसिंह हिमालको देश स्वतन्त्र राख्न चाहन्छन्। बहादुर शाहको पहिलो कदम भनेको रानीको समूहमा काम गरेको आशङ्कामा भारदारीबाट अमरसिंहलाई हटाइदिए। तर बहादुर शाहले उनको सैनिक योगदानको चाहिं चाहेर पनि उपेक्षा गर्न सकेनन्। शीघ्र नै उनलाई आफ्नो वृहत् पश्चिमी अभियानमा जीव शाहको सैनिक टोलीमा संलग्न गराइ पर्वत–प्यूठान हान्न पठाउने निर्णय गरे। यसैगरी। यसैताका शुरू भएको प्रथम नेपाल–तिब्बत युद्धमा पनि अमरसिंहको सक्रिय संलग्नता नै रह्यो र यस युद्धमा पनि उनले आफ्नो सैनिक योग्यता सिद्ध गर्न राम्रो अवसर पाए।

भेरी पश्चिमको डोटी, सल्यान, जाजरकोट, दैलेख, बझाङलगायतका शक्तिशाली राज्य विजय गर्ने क्रममा निश्चय नै आफ्नो बुद्धि लगाएर योग्यता सिद्ध गरे। त्यसमा पनि महाकालीपारिका कुमाउ–गढवालका युद्धहरूले त अमरसिंहलाई नेपाली सेनाको चम्किलो तारा नै बनाइदिए। तर नेपाली सेनानीहरू यस प्रकारका जीवन–मरणका युद्धहरूमा लिप्त रहँदा पनि विवाद र ऐयासमा डुबेको नेपाल दरबार भने आफ्नो घिनलाग्दो सत्ता कलहमैं संलग्न देखिंदा त्यसको दुष्प्रभावबाट नेपाली भारदारहरू जहाँ जसरी अघि बढ्दै गरेको शत्रु भेटिन्छन्, त्यही चट्टान बनी खड्गले छेक्ने निधोमा पुगे। देश खातिर मर्नु र मार्ने अठोट गरे।  
खलङ्गाको किल्लामा पूर्वजानकारी नगराएरै अङ्ग्रेजले तोपद्वारा आक्रमण ग–यो। विसं १८५२ ताका गद्दीनसीन राजा रणबहादुरको स्त्रीलम्पट चरित्रले गर्दा नेपालको दरबारिया राजनीति चरम गुटबन्दी र सत्ताकलहमा कहिल्यै नउक्सिने गरी डुबिसकेको थियो। विधवा ब्राह्मणी कान्तिवतीको आशक्तिमा डुबेर राजा रणबहादुर सत्ता परित्यागको बिन्दुसम्म पुग्दै थिए। यस काण्डमा पनि अमरसिंह संस्थापनकै पक्षमा उभिए।  
संयोगवश गद्दी परित्यक्ता पूर्वराजा रणबहादुर शाह काशी पलायन भएपनि नायबी हातमा लिएकी निजकी रानी सुवर्णप्रभादेवीले पनि अमरसिंहलाई माया नै गरिन्। यतिमात्र होइन आफ्नो भारदारीमा सामेल गरिन्। रणबहादुर पनि लामो समय बनारसमा टाँस्सिनुपरेन र चार वर्षपछि नै काठमाडौं फर्किन सफल बनेपछि पुनः गद्दीनसीन राजा गीर्वाणयुद्धको नायबी आफ्नो हातमा लिए।
अर्कोतर्फ बदलिएको परिवेशमा काठमाडौंको सत्ताका निर्णायक व्यक्ति अमरसिंहकै नातेदार भीमसेन थापाको हातमा केन्द्रित भयो, जो आफू सामान्य पृष्ठभूमिबाट देशको केन्द्रीय सत्तामा हावी हुन पुगेबाट दरबारका हस्तीहरूलाई पन्छाएर आफ्नो प्रभुत्व र वर्चस्वको सुदृढीकरण गर्ने नीति लिन पुगेका थिए। खलङ्गाको युद्धमा अङ्ग्रेज जर्नेल जिलेस्पी मारिए। अमरसिंह थापाले लडाइँ नहोस् भनेर धेरै प्रयत्न गरेका थिए। देहरादूनको सानो दुर्गमा पाँच सय नेपाली बसेका थिए, त्यहाँ बाँचेका सत्तरीजना मात्रै लड्दै नेपालको गौरव उँmचो बनाएर स्वेच्छाले किल्ला त्यागे। बलभद्र, चुमरा राना, जसपाउ र रेवन्त बाँकी सिपाहीसहित जैतक किल्लामा रणजोरकहाँ मिसिन पुगे। शार्दूलजङ्ग, कृष्णदत्तलगायत धेरै दल एकत्रित भई लड्न थाले।  
नेपाली सेनाले नालापानी, नालागढ, रामगढी, तारागढी, जुरजुरे, चम्बा सबै गुमायो। मलाउँमा काजी अमरसिंहलाई अङ्ग्रेजहरूले बलियो घेरा हालेर राखेका थिए। केन्द्रबाट कुनै सहयोग पाएका होइनन्। उनका साथमा भक्ति थापाहरू पनि छन् तर अङ्ग्रेजको घेरा तोडेर निस्कने कुनै साधन छैन। यदि अङ्ग्रेजसँग तोप नहुँदो हो त सो लडाइँ नेपालले हार्ने थिएन। गुरुज्यू गजराज मिश्र भित्रभित्रै अङ्ग्रेजसँग मिलिसकेका रहेछन्। अमरसिंहलाई गढवालको राजा बन्ने प्रस्ताव अङ्ग्रेजले पठाएका थिए। सत्तरी वर्षका भक्ति थापा स्फूर्ति साहसका साथ देउथल किल्लाबाट निस्केर अङ्ग्रेजी फौजलाई काट्दै अगाडि बढे। राजधानीले मलाउँमा अमरसिंहकहाँ जान भनेर पठाएको सेना अलमोडामा नै बस्यो। सहयोग गर्न समयमा नै त्यो सेना आइपुगेको भए जीत अवश्य हुने थियो। राजधानीबाट पैसा मात्रै पठाएको भएपनि लड्ने सिपाही यतै भर्ना गर्न सक्थे। नेपाली सेना आधा पेट खाएर, अनेक कष्ट सहेर लड्दै थिए। नेपाली सेनामा धर्म, जातको विभेद थियो, जातभातको कुरोले गर्दा पनि स्थानीय जनताको मन जित्न नसकेको हो। अङ्ग्रेजलाई गाँजर, मुला जस्तै काट्दै गरेका भक्ति थापा छातीमा गोली थापी ढले। शत्रु सेनाको तोप खोस्न लागिसकेको सेना भक्ति थापा ढलेपछि फर्कियो। कतिपय सिपाही बन्दूक फालेर अङ्ग्रेजी सेनामा मिल्न नगएका पनि होइनन्। यस्तो अवस्थामा नेपालको जीत कसरी हुन्छ। अङ्ग्रेजी सेनामा कोही अजम्मरी बन्ने पनि होइन। एउटा सानो चूकले गर्दा आज नेपाली विदेशका गल्ली गल्ली र ढोकामा मगन्ते दास भैकन हिंड्नुपरेको छ। लडाइँमा सबैले एकै ठाउँ ताकेर बन्दूक हानेको भए बैरी अवश्य धूलोमा मिल्ने थियो। अमरसिंह काजीका साथमा रहेका सेना एकजना बाँचुन्जेल पनि युद्ध गर्न दृढ थिए। केही सिपाही अङ्ग्रेजसँग मिल्न गएको थाहा पाएर अमरसिंह चिन्तित भए, त्यसमाथि झन् भक्ति थापाको मृत्युले छटपटाएका थिए। भीमसेन थापाको हातमा सत्ता आएपछि उनी अमरसिंहलगायतका हस्तीहरूलाई मोफसल पठाइ आफ्नो प्रशासनिक प्रभुत्व सुदृढ गर्नेतर्फ अग्रसर भए।  
भीमसेन थापाको नीतिले अमरसिंहलाई कुनै फरक पारेन तर देशलाई ठूलो असर पा–यो। त्यस्तो असर त्यस बेला प्रकट भयो, जब नेपालले विसं १८७१–७२ मा ब्रिटिश भारतसँग डरलाग्दो युद्ध लड्नुप–यो। त्यसै कारणले गर्दा मलाउँमा पनि नेपालको हार भएको हो। भीमसेन प्रधानमन्त्री मात्रै होइन फौजको सेनापति जनरल पनि थिए। टिस्टादेखि काँगडासम्म, ब्रह्मपुत्रदेखि गङ्गा–जमुनासम्म फैलिएको विशाल नेपालको क्षति भयो। हो समर मैदानमा लड्नको लागि मान्छे पुगेन, केन्द्रबाट सिपाही पुगेन, आवश्यकता अनुसार भर्ना गर्न धन केन्द्रले उपलब्ध गराएन, यदि नेपाली प्रशस्त हुँदा हुन्, ठाउँ–ठाउँमा मानिस राख्न सकेको भए अङ्ग्रेजका तोप नेपालीका हुन्थे, यी सबैको लागि मान्छे पुगेन। कप्तान बलभद्र कुँवरले आवश्यकता अनुसार हजार–पाँच सय मानिस बढी पाएको भए लडाइँको स्वरूप नै अर्कै हुने थियो।  
थापाकाजी रणजोरसिंहले जैतक किल्लालाई नै बलियो बनाउन सकेका थिएनन्, प्रबल राणाले राजधानीबाट ल्याएको सेनालाई चौतारिया बम शाहले आफैंकहाँ राखे, बडाकाजी अमरसिंहकहाँ पठाएनन्, किनभने कुमाउँमा पनि फौजको कमी थियो। सरदार भक्ति थापाले आक्रमण गर्दा त्यस्तै आक्रमण अरू दुईतिरबाट गर्न पाएको भए शत्रु डाँडा काटेर भाग्थे। हतियार मात्र होइन मानिसकै कमी भएको हुँदा नेपालीको हार भएको हो। पैसाको कमीले गर्दा सिपाहीले खान पाएनन्, बाध्यतावश बाँच्नको लागि दुई/चार ठाउँमा लुटे पनि, यस्तो कार्यले सोझा रैतीको मनमा फिरङ्गी जाती भन्ने भान पर्न गयो। धन, जन र सामानको अभावले गर्दा नेपाली शतरुद्रासम्म हट्नुप–यो। सिमला, गढवाल, कुमाउँको तराईबाट हात धुनुप–यो। खासमा नेपाली सेनाले राजधानीबाट चाहिंदो मदत पाएन। सबैभन्दा पहिले झुलाघाटको साँध गरेर बम शाहले देशप्रति गद्दारी गर्न पुग्यो। डोटीका राजा बन्ने बम शाहको चाहनाले पनि नेपाल आधा फ्याक भएको हो। सबैभन्दा ठूलो कुरा त लडाइँ लड्नको लागि मान्छेकै अभाव भएको हो। मलाउँमा बडाकाजीले आत्मसमर्पण गर्दा अढाई सयका करीबमा सिपाही थिए। सो युद्ध नेपालको लागि आत्मघाती भएपनि युवा जोशका मुख्तियार भीमसेन थापा युद्धकै पक्षमा उभिए, जसले यथार्थमा तत्कालीन समयको यथार्थ बुझेकै रहेनछन्। दुःखको कुरा, अमरसिंह लगायतका पङ्क्ति भीमसेनको नीतिले गर्दा मोफसलमा भएकोले युद्ध रोक्ने नीतिमा खासै योगदान गर्न सक्ने अवस्थामा थिएनन्।  
तसर्थ मुलुकले सो घातक नेपाल–अङ्ग्रेज युद्ध बेहोर्न विवश हुनुप–यो। जहाँ नेपालको एक तिहाइ भूभाग मात्र गुमाउनुपरेन, सुगौली सन्धिजस्तो असमान र अपमानजनक सन्धि बेहोर्न पनि विवश हुनुप–यो। नेपाल राष्ट्रको एकतालाई साझा उन्नति खातिर राष्ट्रनिर्माण गरिएको थियो। विश्वासघात गरेर राज बैठकमा स्थिर आसन गरेको कारण नेपालको शिर सदा सर्वदाको लागि झुक्यो।  
नेपालीको आपसमा विश्वास, पर्याप्त सेना, धन र हतियारको अभावले अङ्ग्रेजसँग हार्नुपरेको हो, यो अभाव पूरा गर्न सकेमा भोलि जित्ने विश्वास अमरसिंहमा थियो। अमरसिंह अङ्ग्रेजको चाहना अनुसार सन्धि गर्ने पक्षमा थिएनन्, राजगुरु रङ्गनाथ र गजराज मिश्र अङ्ग्रेजको सम्पूर्ण कुरा स्वीकार गरेर सन्धि गर्नुपर्छ भन्ने पक्षमा थिए।
अङ्ग्रेजसँगको युद्धमा जीवनमरणको भूमिका खेल्ने अमरसिंहको भूमिका र युद्धगाथा गाउन आजका पुस्ताले पुरानो पुस्ताबाट सिक्नुपर्ने हुन्छ। अमरसिंहलगायतका धेरै योद्धा कपटपूर्ण सन्धि गर्नुहुँदैन, आफ्नो स्थिति बलियो बनाएर लड्नको लागि कम्मर कस्नुपर्छ भन्ने पक्षमा थिए। आफ्नो शिर ठड्याएर देशको शिर उठाउन योद्धाहरू लड्न तयार थिए। नेपाली जनता लड्नको लागि घर–घरबाट निस्किएका थिए। नेपाललाई पराधीन हुन नदिन हात–हातमा तरबार लिएका थिए।  
सिन्धुलीगढीनेरको रणक्षेत्रमा हातमा नाङ्गो तरबार लिएर अमरसिंह लड्दै थिए। राष्ट्र धर्मको विचारले सिपाही युद्ध मैदानमा रगत बगाउँदै थिए। दुःखको कुरा दरबारले राष्ट्रघात गरेर अङ्ग्रेजको सामु घुडा टेक्यो। दरबारले गरेको राष्ट्रघाती सुगौली सन्धिको कारण आज बलभद्र, अमरसिंह, उजीरसिंह, बहादुर शाह जस्ताको स्मृतिसमेत तिनका परिवारले मात्रै मनाउनुपर्ने भएको छ। राज्य या नेपालका विगतदेखि वर्तमानसम्मका साहसी वीर योद्धाहरूलाई विस्मृतिमा पठाउने पक्षमा रहेको व्यवहारले बताउँदै छ।  
जसले यो देश बनायो, बलिदान भयो, जीवनमरणको युद्ध लड्यो, त्यो नै बिरानो भयो। अमरसिंहहरू लडिरहेका थिए, ज्यानको बाजी थापेर, वीरहरूको आँखा छली नेपालको हार भयो भनी सेतो झन्डा फहरायो दरबारले। अनि अमरसिंह सिन्धुलीबाटै गोसाईंकुण्ड गए, अनि कहिल्यै फर्केनन्। देश पराजयको पीडा योद्धा अमरसिंहले पचाउन सकेनन्, दरबारका छलीहरूको मुख हेर्नुको साटो गोसाईंकुण्डमा गए। वीर अमरसिंहको देशप्रतिको भावनाको प्रचारप्रसार अहिलेसम्म हुन सकेन, दरबारको राजनीतिमा जुन प्रवृत्ति हिजो हावी थियो, त्यही मूल्यमा वर्तमान समयमा राज्य सञ्चालन गर्न पुगेका नेतामा रहेको पाइएको छ। देशप्रति माया नै छैन, यसो भन्नु गलत हुनेछ। उनीहरूका पवित्र सोचले मूर्तरूप लिनुअघि नै विकृतिको जञ्जालमा फस्न पुगेको पाइन्छ। मूल्य र उपयोग पारमार्थिक बन्नुपथ्र्यो, हुन सकेन नेपालमा, यो अवश्य शोधको विषय बन्न पुगेको छ।   
आज हामी कति लज्जास्पद क्षणमा बाँचेका छौं। आज अमरसिंह जस्ता हस्तीहरूको सही इतिहास र योगदान पनि समुचित मूल्याङ्कन गर्न असमर्थ छौं। के आजका हामीहरूको अन्तरात्मा कर्मविहीन नै हो त, नेपाल देश बनाउने र बचाउनेलाई नसम्झने धर्म लिएकै हौ त।

फरक समाचार

Find us