Showing posts with label फिचर. Show all posts
Showing posts with label फिचर. Show all posts

Friday, September 18, 2020

 भारतबाट नेपालमा निर्बाध आवतजावत

भारतबाट नेपालमा निर्बाध आवतजावत


सुषमा शर्मा, वीरगंज, २ असोज/
    पछिल्लो समयमा पर्सानजीक भारतको बिहारमा कोरोना सङ्क्रमित बढ्दो पाइएको छ। जसले गर्दा पर्सावासी  जहिले असुरक्षित महसूस गरिरहेका छन्।
    नेपाल सरकारबाट तोकिएको नाकाबाहेक अरू सबै नाका बन्द गरी आवतजावतमा रोक लगाएको छ। तर पनि यहाँ निर्बाधरूपले आवतजावत भइरहेको पाइएको छ।
    वीरगंजको नेशनल मेडिकल कलेजको बाटो हँुदै हामी केही सञ्चारकर्मी विश्रामपुर पुग्ने क्रममा बिहान करीब ११ः३० बजेको थियो। केही बालक र  वृद्ध लाइन लागेर साइकलमा चामल ओसारिरहेका थिए। शुरूमा त घरको दैनिक प्रयोगका लागि केही सामान होला भन्ने हामीलाई लाग्यो। चामल ढुवानी गरिरहेको एकजना बालकको साइकल रोकेर मैले सोधें यो चामल कहाँबाट ल्याएका हौं ? ती बालकले भारतबाट ल्याएको र सोबापत प्रतिबोरा रु १०० पाउने बताए। यत्तिकैमा एकजना बालक साइकलमा सकिनसकी तरकारी ल्याउँदै थिए। उनले सो हरियो तरकारी इटियाहीबाट नजीक पर्ने बारा जिल्ला क्षेत्रको नाकाबाट भित्र्याएको
बताए।
    नेपाल सरकारले अनुमति दिएको नाका वीरगंज भन्सार नाका मात्र हो। बारा जिल्लाको कुनै पनि नाकाबाट हाल आवागमनको लागि अनुमति दिइएको छैन। यदि कसैलाई आउनुपरेमा मुख्य नाका हुँदै आउने र १५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने अनि मात्र आफ्नो गन्तव्यतिर लाग्नुपर्ने व्यवस्था छ। तर यहाँ भने सयौंजना भारतबाट नेपालतर्फ भन्सार छलीका सामान ल्याइरहेका थिए।
    दिनको करीब १२ः३० बजेको थियो। भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका एक किशोरलाई सोधें, “मलाई सीमापारि जानु छ सामान किन्न, यताबाट जान पाइन्छ ?” किशोरले साइकल रोक्दै भने, “यताबाट नजानु, यताबाट स्कुटी जाँदैन, उता मुसहर गाउँबाट जानु, त्यहाँ राम्रो बाटो छ, म त्यहींबाट आएको हुँ, बन्जरिया जाँदैछु,” उनले थपे, “सामान जति पनि ल्याउन पाइन्छ। यी सबै तरकारी, चामल, पीठो त्यहींबाट त आइरहेको छ।”
    बन्जरिया नाकाबाट बिहानपख चामल, दाल, पीठो, तरकारी र साँझदेखि रातिसम्म कपडा आउने रहेछ। त्यति जानकारी दिएर किशोर अगाडि बढे। हामी पनि त्यहींबाट फर्केर तरकारी बोकेको साइकलको पछिपछि लाग्यौं। यसरी आउँदा एक ठाउँमा दुईजना प्रहरी देखिए। तरकारी बोकेको साइकलको गति कम भयो। प्रहरीले साइकललाई रोक्यो र फेरि छाडिदियो।
    उक्त नाकाबाट दैनिक काम गर्ने मजदूरहरू आउनेजाने गर्दा रहेछन्। यहाँबाट आउनेजाने साइकल र पैदल यात्रीको त लाइन नै लाग्ने रहेछ। यही अवस्था हुने हो भने वीरगंज मुख्य नाकामा कडाइ गरेर केही हुँदैन। भारतमा सङ्क्रमणको गति निकै तीव्र छ। नाकामा यसरी नै खुला हुने हो भने भोलि फेरि पर्सा जिल्ला ‘रेड जोन’मा पर्छ। स्थिति पुनः भयावह हुन सक्छ। सरकार, सम्बन्धित निकाय र यस क्षेत्रका नागरिकले समयमा ध्यान दिनुपर्ने अति आवश्यक देखिन्छ।

Tuesday, September 15, 2020

 शिक्षिकाको मृत्यु होइन हत्या, घटनाको छानबीन गर्न माग

शिक्षिकाको मृत्यु होइन हत्या, घटनाको छानबीन गर्न माग


प्रस, वीरगंज, ३० भदौ/
    नारायणी विशेष कोभिड अस्पताल गण्डकमा नेपाल राष्ट्रिय विद्यापीठ मावि श्रीपुरकी शिक्ष्Fिका किरणदेवी कर्णको चिकित्सक, स्वास्थ्यकर्मीको लापरवाहीको कारण मृत्यु भएको खुलासा भएको छ।
    गण्डक अस्पतालमा भदौ १२ गते भर्ना भएकी शिक्षिका कर्ण भदौ २२ गते कोरोना सङ्क्रमित पुष्टि भएको थियो। छातीमा पानी जमेको कारण श्वासप्रश्वासमा समस्या भएर उनलाई अस्पतालमा भर्ना गरिएको थियो। भर्ना गरिएको १० दिनपछि उनमा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमितलाई मात्र गण्डक अस्पतालमा भर्ना गरिन्छ। यो खोजीको विषय हुन सक्छ, उनलाई कसरी भर्ना गरियो। भर्ना भएको १० दिनपछि सङ्क्रमित शिक्षिकालाई चिकित्सक, स्वास्थ्यकर्मीले पूर्ण बेवास्ता गरेको कारण उनको मृत्यु भएको सोही अस्पतालमा सङ्क्रमित भएर उपचार गराइरहेका सञ्चारकर्मी जियालाल साहले आरोप लगाएका छन्।
    पत्रकार साहले आइसोलेशन, आइसियूको अवस्था एकदमै जर्जर रहेको बताएका छन्। चौबीस घण्टामा एकपटक पनि चिकित्सकहरू आइसोलेशन र आइसियूमा नपुग्ने गरेको उनले बताए। स्वास्थ्यकर्मीहरू पनि दैनिक एकपटक मात्रै, त्यो पनि आइसियूमा पुग्ने गरेको पत्रकार साहको भनाइ छ। उनले आइसियूमा भएका बिरामीहरूको उपचारमा लापरवाही भइरहेको छ भने आइसोलेशनमा भएका सङ्क्रमितहरूको उपचार र हेरचाह कसरी भइरहेको छ भनेर सहज अनुमान लगाउन सकिने बताए।
    पत्रकार साहले आइसियूमा भर्ना भएका बिरामीहरू सक्नेले आफैं पानी पिउनुपर्ने, अक्सिजन फेर्नुपर्नेलगायतका समस्या विद्यमान रहेको बताए। स्वास्थ्यकर्मी र चिकित्सकले सिसिटिभीबाट अनुगमन गर्ने र बिरामीलाई समस्या भएपछि उपचार गर्ने भनिएको प्रचारबाजी पनि मिथ्या भएको उनको आरोप छ। सिसिटिभीबाट बिरामीहरूको निगरानी भइरहेको भए कठिन अवस्थाका बिरामीहरूलाई समस्या नहुनुपर्ने र समस्या देखिएको खण्डमा चिकित्सकहरूले त्यसको निदान गर्नुपर्ने उनको भनाइ छ।
    पत्रकार साहले कर्णको मृत्यु सम्बन्धमा त्यहाँ उपलब्ध सिसिटिभीको फुटेज हेरेर अनुसन्धान गरी दोषीमाथि कारबाई हुनुपर्ने बताएका छन्। आफूले लगाएको आरोप सिसिटिभीबाट प्रमाणित हुन सक्ने उनको भनाइ छ। पत्रकार साहले कर्णको मृत्यु नभई हत्या भएको र त्यसको जिम्मेवारी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीमाथि जानुपर्ने भन्दै घटनाको निष्पक्ष छानबीन गरी कारबाई हुनुपर्ने माग गरेका छन्।
    आइसोलेशनमा बसेका र आइसियूमा भएका बिरामीहरूको स्वास्थ्य उपचारको अवस्था यस्तो छ भने त्यहाँको सरसफाइ पनि एकदमै दयनीय अवस्थामा रहेको पत्रकार साहले जिकिर गरे।

Monday, September 14, 2020

 “परिवार भोकले मर्दैथियो, त्यसैले बाँच्नुभन्दा मर्ने आँट गरें”

“परिवार भोकले मर्दैथियो, त्यसैले बाँच्नुभन्दा मर्ने आँट गरें”


राधेश्याम पटेल, वीरगंज, २९ भदौ/
    गत शनिवार दिउँसो ३ बजे वीरगंज महानगर–१२ मुर्ली मस्जिद टोलमा एकजनाले आत्महत्याको प्रयास गरेपछि हल्लीखल्ली मच्यो। आत्महत्याको प्रयास गरेका युवकलाई छिमेकीले बचाएका थिए।
    मुर्लीचोकमा चियापसल गर्दै आएका ३५ वर्षीय मुस्तफा अन्सारीले आत्महत्याको प्रयास गरेका थिए। दिल्लीमा सिलाइकटाइ गर्दै आएका मुस्तफा एक वर्षअघि नेपाल फर्के र टेम्पो चलाउने काम गरे। त्यसपछि मुर्लीचोकमा चियापसल शुरू गरे। जिन्दगी राम्ररी चलिरहेको थियो।
    यसैबीच, कोरोना महामारी शुरू भयो। साथीहरूसँग पैसा मागेर चलाउँदै आएको चियापसल बन्द गरी घरमैं थुनिने अवस्था उत्पन्न भयो। ६ महीनादेखि बेरोजगार भएपछि उनी निराश भए।
    लामो समयको लकडाउन र निषेधाज्ञाको कारण बाँच्नुभन्दा मर्ने बाटो रोजेका मुस्तफाले भने, “वीरगंजमा ६ महीनादेखि लकडाउन र निषेधाज्ञा छ, घर–जग्गा खासै छैन र कुनै आम्दानीको स्रोत पनि भएन। कसरी बाँच्ने ?”
    साथीहरूसँग लिएको ऋणको बोझले उनी ६ महीनादेखि तनावमा थिए। उनको परिवारमा पत्नीसहित २ छोरी र एक छोरा गरी ५ जना छन्। चार दिनदेखि उनको परिवारले राम्ररी दुर्ई छाक खान पाएको थिएन। त्यसपछि उनले कोठाको पङ्खामा पासो लगाएर आत्महत्या गर्ने निर्णय गरे।
    “महीनौंदेखि छिमेकी दाइहरूबाट मागेर गुजारा चलाउँदै आएको थिएँ। चार दिनदेखि सन्तान र पत्नीलाई राम्ररी खुवाउन पनि सकिनँ,” मुस्तफाले भने, “कहिले निषेधाज्ञा हट्छ, काम गर्छु, परिवारलाई खुशी पार्छु, त्यसको पनि ग्यारेन्टी भएन, त्यस कारण आत्महत्या गर्ने सोच मनमा पलायो।” कोठामा कोही नभएपछि उनले पासो लगाएर झुन्डिनेबित्तिकै उनकी ९ वर्षीया जेठी छोरीले देखिन् र छिमेकीलाई बोलाइन्।
    छिमेकीले पासो काटेपछि मुस्तफा बेहोश भइसकेका थिए। केहीबेरपछि मुस्तफालाई होश आएको उनका छिमेकी जहुर अन्सारीले बताए।
    यो घटना सार्वजनिक भएपछि वीरगंजका दाताहरूले मुस्तफालाई खाद्यान्न र नगद सहयोग गरिरहेका छन्। श्रीपुर निवासी एवं निम्बसको प्रोबायोटेक इन्डस्ट्रिज प्रालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश बैठाले आइतवार साँझ व्यक्तिगतरूपमा १० हजार नगद र ५० हजार मूल्यको खाद्यान्न सामग्री सहयोग गरेका थिए।
    यसअघि वीरगंज महानगर–३१ बेलवाका सतन माझीले पनि  निषेधाज्ञाको कारण घरपरिवार भोकले मर्न थालेपछि विषसेवन गरी आत्महत्या गरेका थिए।
    कोरोनाले मार्छ/मार्दैन तर अब जनतालाई भोकले मार्न शुरू गरिसकेको यो घटनाले दर्शाउँछ। तसर्थ स्थानीय प्रशासन र सरकारले सोच्नुपर्ने बेला आएको छ।

Monday, September 7, 2020

 वीरगंजमा ट्राफिक नियम विचित्र

वीरगंजमा ट्राफिक नियम विचित्र

 


वीरगंजमा ट्राफिक नियम विचित्रको छ। ट्राफिकले मुख्य सडकको एकतर्फी सञ्चालित सडकमा मात्र पार्किङ गर्ने नियम बनाएको छ। दुईतर्फी सवारीसाधन चल्ने सडकमा पार्किङ निषेध गरिएको छ। यसै कारणले आदर्शनगर चोकदेखि ठाकुर राम क्याम्पससम्म दुईतर्फी सञ्चालित सडकमा पार्किङ निषेध गरिएको छ। तर त्यही फुटपाथमा पार्किङ गरी राखेको मोटरसाइकललाई भने ट्राफिक प्रहरीले केही गरेको छैन। यसैगरी, दुईतर्फी सवारीसाधन चल्ने गहवामाई मन्दिर सडक, घण्टाघरबाट जिल्ला प्रशासन जाने सडक र घण्टाघरबाट बसपार्क जाने सडकमा मोटरसाइकल, साइकल पार्किङ गरिएका छन्।  तस्वीरः प्रतीक

Friday, September 4, 2020

मुसहर परिवारलाई छाक टार्न समस्या

मुसहर परिवारलाई छाक टार्न समस्या

नरेश यादव, पर्सागढी, १९ भदौ/
    वीरगंज महानगरपालिका–३१ बेलवामा रहेको पचास घरपरिवार मुसहर बस्तीमा अहिले दुई छाक टार्न निकै समस्या भएको छ।
    लकडाउन र निषेधाज्ञाको कारण बेरोजगार भएका बेलवाका मुसहर बस्तीमा अहिले कुनै पनि संस्थाले सहयोग गरेको छैन। चैत ११ गते लकडाउन शुरू भएपछि नगरपालिकाले राहत बाँडेको थियो। त्यसपछि असार महीनाभरि सानो पाइलाले खाना खुवाएर सहयोग ग–यो। सोही बेलामा पानीबाट जोगिन सानो पाइलाले सो बस्तीमा त्रिपाल सहयोग गरेको थियो।
    अहिले उनीहरूको हाल बेहाल छ। रोजगार नभएकोले खानको लागि उनीहरूलाई समस्या भएको छ। केही मुसहर दिनभरि माछा मारेर गाउँमा बिक्री गरी जेनतेन गुजारा गरिरहेका छन्। माछाको पैसाले मुस्किलले एक छाक गुजारा हुने गरेको उनीहरूले बताए। बस्तीका धेरै परिवारका सदस्यहरू भोकै सुत्नुपरेको उनीहरूको भनाइ छ।
    मुसहर बस्तीका बासिन्दाले भोकै बस्नुपरेको कारण सहयोगी हातहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।

फरक समाचार

Find us