Showing posts with label फिचर. Show all posts
Showing posts with label फिचर. Show all posts

Sunday, August 9, 2020

पिसिआर परीक्षणको लागि कुर्दै

पिसिआर परीक्षणको लागि कुर्दै




मलेसियाबाट पर्सा जिल्ला घर फर्केका ९ जना व्यक्ति त्रिजुद्ध माविअगाडि पिसिआर परीक्षणको लागि कुर्दै। काठमाडौंमा शनिवार उत्रेका उनीहरू त्यहाँबाट ट्याक्सीमा वीरगंज पठाइएको थियो। वीरगंजमा पिसिआर परीक्ष्Fण समयमा नहुँदा पीडित भएको उनीहरूले बताए। मलेसियामा खाना खाएका उनीहरूले अहिलेसम्म खाना खान नपाएको दुःखेसो पोखेका छन्। तस्वीरः प्रतीक

Saturday, August 8, 2020

अन्नबालीभन्दा राम्रो आम्दानी

अन्नबालीभन्दा राम्रो आम्दानी



आयुर्वेद औषधिमा प्रयोग हुने क्यामोमाइल बाली भित्र्याउँदै बारा, कोल्हवीकी महिला। अन्नबालीभन्दा राम्रो आम्दानी क्यामोमाइलबाट हुने भएपछि यसको खेतीतर्फ किसानहरूको आकर्षण बढ्दो छ। तस्वीरः जीतलाल श्रेष्ठ

Monday, August 3, 2020

कोसेली (सन्नेसा) लिएर जाँदै थारू समुदायका महिलाहरू

कोसेली (सन्नेसा) लिएर जाँदै थारू समुदायका महिलाहरू

आफन्तजनकहाँ कोसेली (सन्नेसा) लिएर जाँदै थारू समुदायका महिलाहरू । बाराको कोल्हवी, ककरी, मनहर्वा, जैतापुरलगायतका स्थानमा थारू समुदायको बाहुल्यता छ । तस्वीरः जीतलाल श्रेष्ठ

Tuesday, July 28, 2020

सेढवा बजारमा  माछा बेच्दै

सेढवा बजारमा माछा बेच्दै

जीराभवानी गाउँपालिका–२ सेढवा मुसहरबस्तीमा मुसहर समुदायका महिलाहरू खोला, कुलोमा मारेर ल्याएको माछा सेढवा बजारमा बेच्दै। तस्वीरः ओमप्रकाश चौधरी

Sunday, July 26, 2020

यताबाट उताबाट जानुस्:

यताबाट उताबाट जानुस्:

 स्थानीय प्रशासनले शनिवारदेखि वीरगंज महानगरपालिकाभित्र अनिश्चितकालीन निषेधाज्ञा जारी गरेपछि मुख्य सडकबाट हिंड्ने मानिसहरूलाई भित्री बाटोको प्रयोग गर्न प्रहरीले निर्देशन दिंदै। पछिल्लो समय वीरगंजमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। तस्वीरः सफल खतिवडा

Tuesday, July 21, 2020

मौसम परिवर्तन भएपछि विभिन्न रोगको सङ्क्रमण बढ्यो

मौसम परिवर्तन भएपछि विभिन्न रोगको सङ्क्रमण बढ्यो



प्रस, पंचगावाँ, ६ साउन/
    पर्साका ग्रामीण क्षेत्रमा मौसम परिवर्तनसँगै विभिन्न रोगको सङ्क्रमण बढेको छ।
    लकडाउन शुरू भएयता मौसममा यस वर्ष व्यापक परिवर्तन आएकोले मानिसहरूको स्वास्थ्यमा पनि परिवर्तन आएको छ। प्राथमिक स्वास्थ्य केन्द्रमा वर्षायाम शुरू भएसँगै विभिन्न रोगको उपचार गराउनेहरूको सङ्ख्या बढेको छ। खासगरी, यो मौसममा टाउको दुख्ने, बान्ता हुने, रुघाखोकी, ज्वरो, पेट दुख्ने, छाला चिलाउने, घमौरा, लुतो आउनेजस्ता रोगका समस्याहरू देखिने गरेको निचुटा स्वास्थ्य चौकीका इन्चार्ज प्रमोद कर्णले बताए।
    चौकीमा दैनिक चालीसदेखि साठीजनासम्म मानिस उपचारको लागि आउने गरेको उनले बताए। सामान्य अवस्थामा बीस–पचीसजना मात्र आउने गरेका थिए। पटेर्वासुगौली, सोनवर्षा, निचुटाका मानिस यस्ता समस्या लिएर आउने गरेका पटेर्वासुगौली स्वास्थ्य चोकीका इन्चार्ज दिनेश रौनियारले बताए। गत असारदेखि यस प्रकारका बिरामीहरूको सङ्ख्या बढेको उनको भनाइ छ।
    मौसममा आएको परिवर्तनको परिणाम बिरामीहरू बढेको इन्चार्ज रौनियारले बताए। कहिले घाम, कहिले पानी परिरहेकाले यस्ता खाले रोगहरू देखिएको उनको भनाइ छ। गापा संयोजक जगन्नाथ साहले गाउँदेहातका मानिस स्वास्थ्यप्रति लापर्बाह देखिएकाले रोगको सङ्क्रमण बढेको बताए। उनले खुलारूपमा राखिएका खानेकुरा खाने, सरसफाइमा ध्यान नदिने, जहाँ पायो त्यहींको पानी पिउनेजस्ता कारणले गर्दा रोगको सङ्क्रमण बढिरहेको बताए। उनले स्थानीय तहले सचेत गराए अनुसार स्वास्थ्य निर्देशन पालना गर्न आग्रह गरेका छन्।
    कोरोनाको सङ्क्रमणबाट जोगिन पनि अहिले स्वास्थ्य सरसफाइमा ध्यान दिनुपर्ने र यसतर्फ गम्भीर हुनैपर्ने उनले बताए।
   
पर्सागढीमा माछापालकहरूको सङ्ख्या बढ्दै

पर्सागढीमा माछापालकहरूको सङ्ख्या बढ्दै


नरेश यादव, पर्सागढी, ६ साउन/
    पर्सागढी नगरपालिकामा माछापालन गर्नेहरूको सङ्ख्या बर्सेनि बढ्दैछ। खेतीबारीभन्दा माछापालनबाट मनग्य आम्दानी हुन थालेपछि मानिसहरू मत्स्यपालनमा आकर्षित भएका हुन्।
    गत आवमा पर्सागढी नगरपालिकामा मात्र १३ हेक्टर क्षेत्रफलमा पोखरी खनेर मत्स्यपालन गरिएको मत्स्य सञ्चालन समिति बिरुवागुठी, पर्सागढीका उपसंयोजक अच्छेलाल यादवले बताए। उनले गत वर्ष सयभन्दा बढी पोखरी सञ्चालनमा आएको जानकारी गराएका छन्।
    पोखरी सञ्चालन गर्नेहरूलाई दोब्बर नाफा भएको कारण यसतर्फ आकर्षण बढेको उनको बुझाइ छ। उपसंयोजक यादवले खर्चको तुलनामा दोब्बरी आम्दानी माछापालनबाट भइरहेको बताए। प्रतिकट्ठामा तीन महीनामा तीन क्विन्टल माछा उत्पादन हुने र एक क्विन्टल माछा खर्च काटेर दुई क्विन्टल माछाको बिक्री आम्दानी हुने उनले बताए।
    समितिका संयोजक सहिम अन्सारीले पर्सागढी नगरपालिकामा अहिले ५ सय हेक्टर जग्गामा सानातिना गरी हजारभन्दा बढी पोखरी रहेको बताएका छन्। उनले पर्सागढीमा मासिक १२ सय क्विन्टलभन्दा बढी माछा उत्पादन हुने र स्थानीय हाटबजार तथा जीतपुरमा बिक्री हुने गरेको बताए। उनले उत्पादित माछाको खपत पर्सागढी नगरपालिका र जीतपुर बजारमैं भइरहेको जानकारी गराएका छन्। रहु, नैनी, बिग्रेड, सिल्भर, ग्रास, भकुरा जातका माछाहरू पर्सागढीमा उत्पादन हुने गरेको र सोही ठाउँमा खपत हुने गरेको छ।
    यसैबीच, अहिले बाढीबाट पर्सागढी नगरपालिकामा रहेका सयभन्दा बढी पोखरीमा क्षति पुगेको संयोजक अन्सारीले बताए। उनले प्रारम्भिक अनुसन्धानमा पानीको सतह बढेर पोखरीलाई क्षति पु–याएको भनी सयभन्दा बढी गुनासो आएको बताएका छन्।

Sunday, July 19, 2020

चुरे पर्वत, वन र मानवजीवन, चुरेविना तराईको अस्तित्व सङ्कटमा

चुरे पर्वत, वन र मानवजीवन, चुरेविना तराईको अस्तित्व सङ्कटमा


जीतलाल श्रेष्ठ, निजगढ, ४ साउन/
    ‘चुरे रहे पानी, पानी रहे हामी, चुरेको माटो चुरेलाई सफा पानी सबैलाई’ भनिरहँदा ‘चुरेको माटो चुरेलाई, घना हरियाली वन र सफा पानी सबैलाई’ भन्ने हरफ जोड्दा सुनमा सुगन्ध हुन्छ।
    चुरे पर्वत शृङ्खलाको विषय उठान गर्दा माटो र वनलाई टाढा राख्नुहँुदैन। यी सबै एकअर्कासँग जोडिएका महत्वपूर्ण पाटो हुन्। यस्तै, चुरे जोगाउने अनि हामी पनि जोगिने र भावी सन्ततिलाई पनि सुन्दर प्राकृतिक स्रोत, साधन, सम्पदा, वातावरण सुम्पिनुपर्ने हामी सबैको साझा दायित्व, कर्तव्य र जिम्मेवारी रहन्छ।
    माथिल्ला यस्ता हरफहरू केही वर्ष वा दशकमा नै चुरे जोगाउने दिव्य उपदेशको रूपमा सत्य साबित हुन सक्ने देखिएको छ। संरक्षणभन्दा कटान, उत्खनन, विकासभन्दा बढी विनाश अनि जथाभावी चुरे, खोला, खोल्सी, बगर उत्खननले सीमा नाघ्दै गइरहे विकास होइन विनाश निश्चित छ।
    चुरेलाई जिस्काउनु अर्थात् चलाउनु मानवजातिका लागि मात्रै नभई चुरे पर्वत शृङ्खला आसपास, वन क्षेत्रमा रहने वन्यजन्तु, प्राणीहरूका लागि पनि हितकर नहुने चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यक्रम एकाइ भरतपुर चितवनका प्राविधिक अनिल सिन्हा बताउँछन्।
    “चुरेका लागि हामी हैनौं, हाम्रालागि चुरे पर्वत प्रकृतिले उपहार दिएको हामीले बुझ्नुपर्दछ। यसको दिगो संरक्षणविना तराई–मधेसको भविष्य सुन्दर छैन,” उनले भने। चुरेको दिगो संरक्षणका लागि वनजङ्गल, माटोको संरक्षण अनिवार्य शर्त हो। रूखबिरुवाविनाको चुरेको कल्पना पनि गर्न नसकिने डिभिजन वन कार्यालय बाराका प्रमुख एवं डिएफओ मन्जुर अहमद बताउँछन्। “जबसम्म चुरेलाई रूखबिरुवाले हराभरा बनाउन सकिंदैन, तबसम्म चुरेबाट पाउनुपर्ने लाभ तराई–मधेसको भूभागले पाउन सक्दैन,” उनले थपे।
    हाम्रो मुलुकमा चुरे अथवा शिवालिक भनेर चिनिने भौगोलिक क्षेत्र हिमालय पर्वत शृङ्खलाको महाभारत श्रेणीदेखि दक्षिणी भागमा पूर्व–पश्चिम भई फैलिएको छ। नेपालको कुल भूभागको १२.७८ प्रतिशत क्षेत्र यसले ओगटेको छ। चुरे क्षेत्रमा मूलतः पाँच भूप्रदेश छन्। जुन चुरे पर्वत, भित्री मधेस, साँगुरा खोंच, भावर र तराई हुन्। चुरे पर्वतले १३,४८,९५५ हेक्टर, भावरले ५,८४,५८१ हेक्टर, भित्री मधेस वा दुनले ३,३०,८६८ हेक्टर, साँघुरा खोंचले ८८,०७७ हेक्टर, तराईले १५,७१,०७५ हेक्टर क्षेत्रफल ओगटेका छन्।
    नेपालमा चुरे क्षेत्र तराईका कैलाली, नवलपरासी, चितवन, मकवानपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, धनुषा, सिराहा, सप्तरीलगायत ३६ जिल्लामा फैलिएको छ। चुरे क्षेत्रमा मनसुनी मौसम जेठदेखि असोज महीनासम्म रहन्छ। यहाँ ८० देखि ९० प्रतिशत वर्षा हुने गरेको पाइएको छ। २४ घण्टामा ४५० मिलिमिटरसम्म वर्षा भएको तथ्याङ्क छ।
    चुरे पर्वत तराईको भूभागका लागि र त्यहाँ रहेका मानव, जीवजन्तुलगायत हरेक प्राणीका लागि पानीको मुख्य स्रोत हो। यसको संरक्षणविना तराईको कल्पना पनि गर्न नसकिने जानकारहरू बताउँछन्।
    यस क्षेत्रको जनसङ्ख्या १ करोड ४५ लाख ४३ हजार ५०९ रहेको छ। झन्डै कुल जनसङ्ख्याको आधा भाग चुरे क्षेत्रमा नै रहेको छ। जसले गर्दा पनि चुरे मानवरहित कि मानवसहित भन्ने लामो तर्क, बहस चलिरहेको छ। यस तथ्याङ्कलाई हेर्दा पनि चुरे मानवरहित भन्न सकिंदैन। चुरे पर्वतलाई नै असर पर्ने गरी रहेका बस्तीहरूलाई स्थानान्तरण गर्नुपर्ने देखिन्छ। तर पूरै मानवरहित चुरे बनाउनु तत्काल चुरेका लागि पनि सुहाउँदो नहुन सक्छ।
    चुरे पर्वत र यहाँ बसोबास गर्दै आइरहेका जसले पुस्तौं पुस्ता बिताइसकेका छन्। एकअर्कामा प्रगाढ सम्बन्ध रहेको छ। चुरेमा वसोवास गर्नेहरूले चुरेको भूभागमा घर, टहरा बनाउन वा खेतीपाती लगाउन सामान्य ढङ्गबाट भूबनोटको परिवर्तन गर्न सकिने भएपनि बसोवास, खेतीपाती, विकासको नाउँमा भूबनोट परिर्वतन गर्नु, गराउनु बिल्कुलै चुरेको प्रकृतिविपरीत हुने चुरे—तराई मधेस संरक्षण विकास समिति कार्यक्रम एकाइ भरतपुर चितवनका प्रमुख रामहरि पन्तले बताए।
    चुरे र चुरे भएर बग्ने खोलानाला, नदीहरूमा जीवन गुजारा चलाउनेदेखि हुनेखाने, स्थानीय तह, जनप्रतिनिधिदेखि ठेकेदारसम्मको आँखा चुरे, वन र नदीजन्य वस्तु ग्रेभल, ढुङ्गा, बालुवातर्फ निरन्तर एकोहोरिएको पाइन्छ। हातमुख जोर्नेलाई भन्दा पनि हुनेखाने, ठूलाठालुलाई चुरे दोहन गरी कसरी तत्कालै धनाढ्य हुने भन्ने चिन्ता छ।
    प्राकृतिक स्रोत साधनको जथाभावी उत्खनन, दोहन, सङ्कलन यस्ता विकृत सोच, मनोविज्ञानले प्रायः जहिल्यै पनि प्राकृतिक स्रोत साधनमाथि नै आक्रमण गरिरहेको हुन्छ। चाहे वनजङ्गल मास्न होस्, चाहे नदीजन्य वस्तुको उत्खनन, सङ्कलन, बिक्री र ओसारपोसार गर्न होस्।
    स्थानीय तहको निर्वाचनपछि स्थानीय तहको प्रमुख आम्दानीको स्रोत नदीजन्य पदार्थ नै भएको छ। खोला त खोला चुरे फेद, आसपासका खोला, खोल्सीहरूको समेत उत्खनन गर्न पालिकाहरू उद्धत छन्।
    त्यसैगरी, अप्राकृतिक खोला, बगर उत्खननले खोलानाला आसपासका खेतीयोग्य जमीन कटान हुने, चुरे पहाड स्खलन हुने क्रम बढेको छ। जथाभावी चुरे उत्खनन गर्दा खोलामा पागो माटो थुप्रिने गर्छ। पागो माटोले खोला बिगार्छ।  खोला, बगरमा भेलबाढी वा सामान्य पानी बग्दा पनि ढुङ्गा भइदियो भने ढुङ्गाले बालुवा, माटोलाई बगाउने र खियाउने प्रक्रिया चल्छ। तर खोला, बगरबाट जथाभावी ढुङ्गा उत्खनन गर्दा यस्तो प्राकृतिक प्रक्रिया अवरुद्ध हुन पुग्छ। जसका कारण चुरे पहाड, खोला, बगर किनारका जमीन कटान हुँदा पागो माटो, बालुवा थुप्रिएर बस्दै जान थाल्छ। कतै खोलाको सतह उठ्ने र कतै गहिरिने पनि ढुङ्गा नभएको कारणले नै हो।
    चुरे भएर तीव्र गतिमा आउने भेलबाढीले राजमार्ग उत्तरतर्फको जमीन ठूलो मात्रामा कटान हुने, भेलबाढीको गति कम हँुदै गएमा पागो माटो, बालुवा थुप्रिने प्रक्रिया शुरू हुन्छ। जसका कारण केही वर्षयताबाट चुरे फेद आसपासका जमीन, बस्ती कटानको चपेटामा छन्। दक्षिणतर्फका जमीन, बस्तीमा बाढी पस्ने त्रास बढी देखिएको छ।
    निजगढस्थित बकैया बगरमा ट्याक्टरले जोतेर ढुङ्गा निकाल्ने कार्य अझै रोकिएको छैन। राष्ट्रपति चुरे तराई संरक्षण कार्यक्रम अन्तर्गत करोडौं रकम लगानी गरी निर्माण गरिएका ड्यामहरू अहिले सङ्कटमा छन्। ड्याम फेद आसपासको खोला, बगर किनारमा ट्याक्टरले जोत्ने, तटबन्धका लागि तारजालीमा भरेको ढुङ्गा तार काट्दै झिक्ने गलत कार्यलाई रोक्न स्थानीय तह सक्रिय देखिंदैन।
    चुरेमा रहेका ५/७ घरका लागि डोजरले खनेर विकास भन्दै सडक पु–याउने होडबाजी स्थानीय तहमा बढेको छ। जसले गर्दा चुरेको क्षयीकरण त्यहींबाट हुन सक्ने प्रवल सम्भावना रहन्छ। चुरे पर्वत शृङ्खला विश्वकै कान्छो पहाड हो। यसको उत्पत्ति ४ करोड वर्ष पहिले मात्रै भएको मानिन्छ। त्यसैले पनि चुरे पर्वत र तराईका भूभाग र मानवजीवनको चक्र एकअर्कामा परिपूरक देखिन्छ।

Thursday, July 16, 2020

यस्तो घटना पटक–पटक भएपछि प्रहरीकहाँ आएकी हुँ –उमादेवी

यस्तो घटना पटक–पटक भएपछि प्रहरीकहाँ आएकी हुँ –उमादेवी


विमला गुप्ता, वीरगंज, १ साउन/
    “दैलोबाट घिसार्दै आँगनमा पु–याए, कपाल काटेपछि अर्धनग्न पारेर कालोमोसो दल्दै पूरै गाउँँ घुमाए। मलाई डाइन (बोक्सी) भन्दै कसैले कपाल भुत्ल्याए, कसैले मेरा हात समाए र खुट्टा समाइ मुक्काले खुब पिटे,” बिहीवार पर्सा प्रहरीसमक्ष  पीडा पोख्दै ४८ वर्षीया एकल महिला उमादेवी ठाकुरले उक्त कुरा बताएकी हुन्।
    पर्साको छिपहरमाई गाउँँपालिका–३ छोटकी जयमङ्गलापुर बस्ने उमादेवीमाथि बुधवार बोक्सी र अनैतिक सम्बन्ध रोखेको आरोप लगाउँदै उनका देवर राजदेव शर्मा, कार्यपालिका सदस्य सुवास साह कानू, सञ्जय गिरी र स्थानीय गायक मुन्नीलाल परदेशी, राजदेव शर्मा र दुईजना देवरानीसमेत गरी ९ जनाले यस्तो दुव्र्यवहार गरेका थिए।
    घटना भएको दिन स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि बुडगाइँ प्रहरी चौकीको टोली घटनास्थलमा पुगेर एकल महिलाको उद्धार गरेको थियो। घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट थप प्रहरी मदतको लागि पुगेर आरोपितमध्ये पाँचजनालाई  पक्राउ गरेको छ भने गाउँँपालिका सदस्य सुवास साह कानूलगायत आरोपित चारजना अझै फरार छन्।
    उमादेवीमाथि बुधवारदेखि अपराध भएको हो तर सात महीनादेखि उनीमाथि नदेखिएका अपराध गरिंदै आएको थियो। उनीमाथि नानाथरीका आरोपहरू लगाइँदै आइएको थियो। एकल महिला र गरीब भएको कारण उनको पक्षमा गाउँमा कोही खडा भएका थिएनन्। सबै पक्षबाट कमजोर ठहरिएपछि उमादेवीमाथि बुधवार घटना गरिएको हो। 
    घटना गर्नेहरूलाई राजनीतिक आड पनि पाएको छ। वडासदस्य स्वयम् सहभागी हुनुले राजनीतिक आश्रय उनीहरूमाथि रहेको पुष्टि हुन्छ। उमादेवीको लामो कपाल छोटो पारिएको छ, कुटाइले शरीर सुन्निएको छ। घटना सम्झँदै उनी भक्कानिएर रुन्छिन्।  उनको पतिको दुई वर्षअघि मृत्यु भएको थियो। सासू, चार छोरी र एकजना छोराको जिम्मेवारी उनीमाथि छ। जेठी छोरीको बिहे भएको छ भने छोरासहित माइतीमैं एक वर्षदेखि बस्दैछिन्। 
    जेठी छोरीले आमालाई बचाउन जाँदा उनीमाथि पनि कुटपीट भएको स्थानीय बताउँछन्। उमादेवीकी जेठी छोरीको भर्खरै विवाह भएको र सुत्केरी अवस्थामा छिन्। सुत्केरी छोरी पनि कुटिएको उनले बताइन्।
    उनले यो घटना भने पहिलोचोटि नभएको बताउँदै पटक–पटक अहिलेसम्म तीनपटक यस्तो घटना भइसकेको र बोक्सीको आरोप लगाइएपछि प्रहरीसमक्ष पुगेको बताइन्।
    उमादेवीको १४ वर्षीय छोरा छ। घरको आर्थिक अवस्था कमजोर भएकोले उनी हेटौंडाका एउटा कारखानामा काम गर्छन्। उमादेवीले जीविकोपार्जनको लागि घरमा गाई पालेकी छन् र त्यसबाट अहिलेसम्म घरखर्च चल्ने गरेको उनको भनाइ छ।
    पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले महिलामाथिको यो दुव्र्यवहारको घटना निन्दनीय भएको बताइन्। उनले घटना प्रकृति हेर्दा अमानवीय व्यवहारको मुद्दा दोषीहरूमाथि लगाइने बताइन्। उनले पीडितलाई कानूनले हुने हदैसम्म सजाय दिलाउन आपूmबाट इमानदार प्रयत्न हुने बताइन्।

Monday, July 13, 2020

खोइ कोरोनाको त्रासः

खोइ कोरोनाको त्रासः

 तस्वीरमा देखिएको दृश्य वीरगंजमा रहेको यातायात व्यवस्था कार्यालय सवारी शाखाको हो। सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो गरेसँगै कोरोना भाइरससम्बन्धी तोकिएको मापदण्डभित्र रहेर काम गर्न निर्देशन गरेको थियो। २५ जनाभन्दा बढी सेवाग्राही भेला हुन नदिएर काम गर्ने र दैनिक दुई समय बिहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि ६ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्देशन पर्सा जिल्लामा लागू छैन। जनशक्ति अभाव भन्दै यहाँका सरकारी कार्यालयहरूले एउटै समयमा सेवाप्रवाह गरिरहेका छन्। यही कारण हो आम मानिसको बढी भीड हुने कार्यालयमध्ये यातायात कार्यालय सवारी शाखा वीरगंजमा यसरी भीड भएको। सवारी शाखाका सबै कोठामा मानिसहरूको शारीरिक दूरी कायम छैन। यसैगरी मास्क लगाउने, सेनिटाइज गर्नेतर्फ पनि लापरवाही देखिएको छ। कार्यालयसँगै नगद बुझाउने ग्लोबल बैंकको काउन्टरमा पनि थामि नसक्नु भीड छ। कुनै बेला सिनेमा टिकट काट्न लाग्नेभन्दा बढी भीड बैंकमा देखिन्छ। यो कार्यालयमा कसैले पनि कोरोना भाइरसलाई सम्झने काम गरेका छैनन्। र उनीहरूलाई सम्झाउनेतर्फ पनि कार्यालयका कर्मचारीहरू जिम्मेवार देखिएका छैनन्। तस्वीरः प्रतीक

वीरगंज महानगरको सडकको दुर्दशाः

वीरगंज महानगरको सडकको दुर्दशाः

आदर्शनगरस्थित कैलाश चोकदेखि रेशमकोठी चोक, गीतामन्दिरदेखि माईस्थान चोक र घण्टाघरदेखि पावरहाउस चोकसम्म फोरलेन सडक अन्तर्गतको पश्चिमी सडक गत वर्ष टालटुल गरिएको थियो। रु २७ लाख खर्च गरी टालटुल गरिएको सडकको दुर्दशा यस्तो छ। तस्वीरः प्रतीक
रौतहट डुबानमाः

रौतहट डुबानमाः

 
अविरल वर्षा र नदीमा आएको बाढीका कारण रौतहट जिल्लाका विभिन्न स्थान डुबानमा परेका छन्। तस्वीरमा गौर नगरपालिकालगायत रौतहटका विभिन्न स्थान डुबानमा परेको देख्न सकिन्छ। तस्वीरः शैलेन्द्र झा

Sunday, July 12, 2020

वीरगंजलाई डुबानमुक्त बनाउँदैः

वीरगंजलाई डुबानमुक्त बनाउँदैः

वीरगंज महानगरका विभिन्न वडा डुबानमा परेपछि डुबानमुक्त गर्न श्रीसिया नदी सफाइ कार्यक्रम शुरू भएको छ। व्यवस्थित र सुरक्षित वीरगंज अभियान अन्तर्गत प्रहरी र विभिन्न सङ्घसंस्थाको सहयोगमा श्रीसिया नदीको अशोकवाटिकास्थित श्मशानघाटनजीकको पक्की पुलमा जलकुम्भी हटाउने कार्य भएको छ। श्रीसिया खोला अन्तर्गत रानीघाट, छपकैया, ठाकुर राम क्याम्पसलगायत ६ वटा ठाउँमा पुल छन् र वीरगंज महानगरको पानी श्रीसिया खोलामा बग्ने गर्छ। नदीमा पानीको बहाव बढी भएपछि महानगरको पानी बग्न नसक्दा डुबानमा परेको हो। श्रीसियाको पानीको बहावलाई जलकुम्भीले ठाउँ–ठाउँमा रोकेपछि सोको सफाइ गरिएको हो। तस्वीरः प्रतीक

छाडा चौपाया नियन्त्रणः

छाडा चौपाया नियन्त्रणः

व्यवस्थित र सुरक्षित वीरगंज अभियान अन्तर्गत छाडा चौपाया नियन्त्रण गर्ने काम शुरू भएको छ। पहिलो चरणमा आठवटा छाडा चौपाया नियन्त्रणमा लिइएको थियो भने आइतवार १५ वटा छाडा चौपाया नियन्त्रणमा लिइएको छ। महानगरको श्रीपुर, मुर्ली, घण्टाघर, मीनाबजार, आदर्शनगर, अलखियारोडमा दिउँसो र राति छाडा चौपायाहरू मुख्य सडकमैं देख्न पाइन्छ। तस्वीरः प्रतीक

Saturday, June 20, 2020

सर्पदंशका बिरामीहरू मृत्युको मुखबाट जोगिए

सर्पदंशका बिरामीहरू मृत्युको मुखबाट जोगिए


प्रस, परवानीपुर, ६ असार/
    तराईमा अहिले गर्मी र वर्षात् दुवै छ। यसैबीच सर्पदंशका घटनामा पनि वृद्धि भएको छ। नारायणी अस्पतालमा मात्रै बारा, पर्सा, रौतहटबाट प्रतिदिन १० भन्दा बढी सर्पदंशका बिरामी आउन थालेका छन्। जसमध्ये धेरैजनाको ज्यान  जोगिएको छ। यस्तै, एक साताभित्र  तीन/चार जना मृत्युको मुखमा पुगिसकेका बिरामीहरूको ज्यान जोगिएको छ।
    नारायणी अस्पतालको आकस्मिक विभाग प्रमुख डा उदयनारायण सिंहका अनुसार चार दिनभित्र चारजना गम्भीर प्रकृतिका बिरामीहरू निको भएर घर जाने तयारीमा रहेको बताए।
घटना नं. १
    बारा, जीतपुरसिमरा उपमनपा–४ बिसौलियाकी ६५ वर्षीया लक्ष्मनीयादेवी सहनीलाई बुधवार साँझ ५ बजे घरमा गोमन सर्पले डसेको थियो। फूसको घरमा रहेको दुलोलाई खुट्टाले पुर्ने क्रममा उनलाई सर्पले डसेको थियो तर त्यतिबेला उनले मुसाले टोकेको भन्दै बेवास्ता गरिन्। दुई घण्टापछि उनको अवस्था बिग्रियो। साँस फेर्न अप्ठेरो र कण्ठ अवरुद्ध भएपछि उनी अचेत भइन्। उनको श्वासप्रश्वास र मुटुको ढुकढुकी पनि रोकिएपछि परिवारजन तनावमा आए।
    लक्ष्मिनीयाकी जेठी बुहारी जानकी देवीले भनिन्, हामीले आु मारिसकेका थियौं, आमाको श्वास बन्द भइसकेको थियो, उहाँ होसमा हुनुहुन्थेन। १२ घण्टाको चिकित्सकको प्रयासपछि उनको ज्यान जोगिएको छ।”
    डा उदयनारायण सिंहले यस्तो अवस्थालाई कार्डियो पुल्मोनरी अरेस्ट भनिन्छ भने। सर्पदंश भएपछि न्युरो टक्सिन तत्वले मानिसको शरीरको नसालाई असर पार्दै पक्षघात गर्दै जान्छ। समयमा उपचार भएन भने केही घण्टामैं मृत्यु हुने सम्भावना रहन्छ। ५ बजे सर्पले टोकेपछि उनलाई ८ बजे अस्पताल पु–याइएको थियो। त्यसपछि उनको जीवन जोगियो।
घटना नं. २
    बारा, बलिरामपुर गाउँपालिका–४ बलिरामपुरका ६० वर्षीय रामविलास साह सोमवार राति फुसको घरमा सुतिरहेका थिए। उनीसँगै छोरा अर्जुन साह पनि सुतेका थिए। राति सवा १० बजे उनको खुट्टामा कसैले टोकेको जस्तो दुख्यो। उठेर हेर्दा केही थिएन। पछि सर्पले टोक्यो भनेर आशङ्का भयो। एक घण्टापछि घाँटी अवरुद्ध हुने, बेचैनी र साँस फेर्न कठिनाइ भएको उनले छोरालाई बताए।
    राति १ बजे उनलाई नारायणी अस्पताल ल्याइयो। चिकित्सकको निगरानीमा विनाभेन्टिलेटर इमर्जेन्सी कक्षमा उपचार शुरू भयो। कृत्रिम श्वास दिएर करीब ७२ घण्टापछि उनको बिहीवार दिउँसो १ बजे श्वास फर्केको र उनी होसमा आएको डा सिंहले बताए। सर्पदंशबाट वृद्धहरू बाँच्ने सम्भावना कम हुन्छ तर पनि उनको ज्यान जोगियो।
घटना नं. ३
    वीरगंज महानगर–१५ भिस्वाकी २७ वर्षीया सुनन्दा सिंह पनि सर्पले टोकेपछि अस्पतालमा उपचारपछि घर जाने तर्खरमा छिन्। गत बिहीवार बिहान ११ बजे पूजा गर्न जाने क्रममा बारीबाट निस्केको सर्पले उनको खुट्टामा टोक्यो। कुन सर्प हो भनेर चिन्न सकिनन् तर पूजा नगरीकन उनलाई हतारहतारमा नारायणी अस्पताल पु–याइयो। उनको अवस्था पनि अहिले सुधारोन्मुख छ। उनलाई सम्भवतः शनिवार डिस्चार्ज गर्ने तयारी छ।
    यसैगरी, एकजना बालकलाई पनि चार दिनअघि सर्पले टोकेको थियो। उनी पनि निको भएर घर फर्केका छन्। चिकित्सकहरूले गर्मी र वर्षायाममा सर्पदंशका घटना वृद्धि हुने भएकाले राति सुत्ने बेलामा र अँध्यारोमा हिंड्डुल गर्दा सावधानी अपनाउन आग्रह गरे।

Friday, June 19, 2020

लकडाउन खुलेपछि तरकारी, माछामासु महँगो

लकडाउन खुलेपछि तरकारी, माछामासु महँगो

प्रस, पोखरिया, ५ असार/
    लकडाउन खुलेसँगै हरियो तरकारी र माछामासुको दरमा वृद्धि भएको छ। चैत ११ गतेदेखि शुरू भएको लकडाउनको करीब तीन महीना अवधिमा हरियो तरकारीको दाम सस्तो भएको थियो भने बोइलर कुखुरा पनि सस्तो थियो।
    लकडाउनको सुरुआतमा हरियो तरकारी बोडी, घिरौंला, रामतोरई, करैला, बन्दा, कोभी, गोलभेंडा, खुर्सानी, परवल आदि रु १० देखि ३० प्रतिकिलो थियो। बाह्य जिल्ला र स्थानीय तहमा पनि एक ठाउँबाट अर्को ठाउँ जान नसक्दा हरियो तरकारी निकै सस्तो भएको थियो। पर्सा, बारामा उत्पादित तरकारी बाहिर नजाँदा वीरगंजलगायत जिल्लाका ग्रामीण क्षेत्रमा पनि निकै सस्तो भएको थियो।
    असार १ गतेदेखि लकडाउन खुलेसँगै हरियो तरकारी महँगो हुँदैछ। बाह्य जिल्ला र स्थानीय तहमा पनि एक ठाउँबाट अर्को ठाउँमा ढुवानी सहज भएको कारण हरियो तरकारी बाहिरिएपछि महँगो भएको हो।
    वीरगंज तरकारी तथा फलफूल व्यवसायी सङ्घका अध्यक्ष विदुर गुप्ताले ढुवानी सहज भएपछि तरकारी महँगो भएको बताए।
माछामासु महँगो
    लकडाउन शुरू भएपछि सस्तो भएको बोइलर कुखुरा अहिले महँगो हुँदैछ। लकडाउनको कारण माछामासु बिक्रीमा रोक लागेपछि पर्सामा रहेका करीब ५ सय कुखुरा फार्ममध्ये आधा बन्द भएका थिए। त्यसपछि बोइलर कुखुरा सस्तो भएको कारण थुप्रै फार्मले नयाँ चल्ला राखेनन्। जसको कारण अहिले उत्पादन थोरै भएपछि बोइलर कुखुरा महँगो भएको छ।
    लकडाउनताका जिउँदो रु २ सय र मासु रु २५० मा बिक्री हुने गरेको बोइलर कुखुरा अहिले जिउँदो रु ३ सय र मासु रु ४४० मा बिक्री भइरहेको छ। कुखुरा व्यवसायी सङ्घ पर्साका अध्यक्ष फिरोज आलमले उत्पादनमा कमी आएको र माग बढी भएको कारण बोइलर कुखुरा महँगो भएको बताए। उनले अहिले दश प्रतिशत फार्म मात्र सञ्चालनमा रहेको र तिनीहरूबाट उत्पादित बोइलर कुखुरा बजारमा माग अनुसार आपूर्ति हुन नसक्दा मूल्य बढेको बताए।
    यसैगरी, खसीको मासुको पनि मूल्य बढेको छ। वीरगंज महानगरमा प्रतिकिलो रु ९ सय तोकिएको खसीको मासु लकडाउनदेखि नै हजार रुपैयाँ पुगेको थियो। अहिले पनि सोही दाममा बिक्री भइरहेको छ। माछामासु व्यवसायी सङ्घका सचिव ग्यासुमियाँ देवानले सङ्घले तोकेको दर रु ९ सय प्रतिकिलो रहेको तर बजारमा रु १ हजारसम्म बिक्री भइरहेको बताए। उनले अहिले पनि ढुवानी सहज नभएकोले बाहिरबाट खसी ल्याउन नसक्दा महँगो भएको बताए। पर्सा जिल्लाका गाउँटोलमा भएका खसीहरू महँगो मूल्यमा खरीद गर्नुपर्ने बाध्यकारी अवस्था भएकोले मासु महँगो भएको उनको तर्क छ। वीरगंज महानगरमा प्रतिकिलो रु १ हजारमा बिक्री भइरहेको खसीको मासु ग्रामीण क्षेत्रमा प्रतिकिलो रु ८ सयमा बिक्री भइरहेको छ। ग्रामीण क्षेत्रमा पानी मिसाएको मासु प्रतिकिलो रु ७ सय र पानी नमिसाएको प्रतिकिलो रु ८ सयमा बिक्री भइरहेको छ। अहिले ग्रामीण क्षेत्रमा पनि बोइलर कुखुराबाहेक खसीको मासु खुलारूपमा बिक्री भइरहेको छैन। लकडाउनको समयदेखि खसीको मासु गाउँटोलमा भाग लगाएर बिक्री हुने प्रचलन अहिले पनि कायम छ।

Wednesday, June 17, 2020

स्वदेशमैं मनग्गे आम्दानी भएपछि, बिनलाई विदेशिने चाहनै भएन

स्वदेशमैं मनग्गे आम्दानी भएपछि, बिनलाई विदेशिने चाहनै भएन


प्रमोद यादव, पंचगावाँ, २ असार/
    पर्साको पटेर्वासुगौली गाउँपालिका– ५ निचुटा बजारमा निचुटा वर्कशप सञ्चालन गरेका पुरानो मोटरसाइकल मिस्त्री सुरेन्द्र मुखिया बिनबाट सीप सिकेर अहिले दुई दर्जनभन्दा बढी व्यक्तिले आफ्नै व्यवसाय शुरू गरेर मनग्य आम्दानी गरिरहेका छन्।
    पटेर्वासुगौलीमा मोटरसाइकलका पुरानो मिस्त्री भएकोले बिन चर्चित छन्। उनको वर्कशपमा दैनिक २० भन्दा बढी मोटरसाइकलको सर्भिसिङ हुन्छ। पुरानो मिस्त्री भएकोले उनीबाट थुप्रैले सीप सिकेर आफ्नो छुट्टै व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनको वर्कशपबाट प्रशिक्षित भएर छुट्टै व्यवसाय शुरू गर्नेहरूको सङ्ख्या बढेसँगै उनीकहाँ रोजगारको लागि काम माग्न आउनेहरूको लर्काे पनि रोकिएको छैन।
    पटेर्वासुगौलीमा बिनको निचुटा वर्कशप सञ्चालनमा आएको एक दशक भयो। यो अवधिमा उनको वर्कशपमा काम सिकेर पसल सञ्चालन गर्नेहरूको सङ्ख्या पनि बीसभन्दा बढी भइसकेको छ। ‘गुरु गुरु नै भए तर चेला चिनी’ भन्ने उखान छ तर बिन आफ्नो पेशामा अहिले पनि चेलाहरूभन्दा माथि नै छन्। उनको प्रतिस्पर्धामा अहिलेसम्म कुनै चेलाले उनको नाम र कामलाई माथ दिन सकेको छैन। यस क्षेत्रका पुराना मानिसहरू अहिले पनि बिनको निचुटा वर्कशपमा नै मोटरसाइकल मर्मत गराउँछन्। अहिले पनि निचुटा वर्कशपमा सातजना सहयोगीहरू काम गर्छन्। आसपासका गाउँमा मोटरसाइकल मिस्त्रीको रूपमा बिनको नाम प्रख्यात छ। उनले काम सिकेकाहरूलाई मासिक पारिश्रमिक दिंदै आएका छन् भने सिकारुहरूलाई पकेट मनी र खाजा दिने गरेका छन्। वर्कशपबाट परिवारका सातजनाको खर्च टार्दै उनले मासिक ३५ हजार कमाउने गरेको बताए।
    गाउँघरबाट कोरोनाअघि वैदेशिक रोजगारको लागि मानिसहरू विदेशिने गरेका थिए। त्यतिखेर विदेशिनेहरूको आर्थिक हैसियत बढेको देखेर पनि बिन कहिले आत्तिएनन्। उनी भन्छन्– त्यतिखेर विदेशिएको भए अहिले दुःख पाउँथें। लकडाउनमा संसारभर रोजगारका लागि गएकाहरू देश फर्किंदै छन्। खासगरी भारत जानेहरू गाउँघरमा आएर रोजगार खोजिरहेको अवस्था छ। यो अवस्थामा आफू सक्षम रोजगारी भएर शानले बस्न पाएको भन्दै गर्व गर्छन्। कुनै बेला वैदेशिक रोजगारमा जानेहरूको दिन थियो। अहिले मजस्ता स्वदेशमा रोजगार गरेर बस्नेहरूको दिन आएको छ, बिनले भने। गाउँमा अझै विदेशमा भन्दा बढी हेपिएर र पेलिएर काम गर्ने वातावरण रहेको बिन बताउँछन्। विदेशमा गएर सानोभन्दा सानो काम गर्न नलजाउने युवाहरू स्वदेशमैं प्लम्बर, हाउसवायरिङ, मोटरसाइकल वर्कशप, सिलाइकटाइ,  सेनिटेरी पैड बनाउने, खेतीपाती, पशुपालन आदिमा संलग्न हुने हो भने वैदेशिक रोजगारको मुखै ताक्नुपर्दैन।
    यहाँ काम गर्नेहरूको अभाव छ। यहाँका मानिसहरू थोरै आम्दानीको लोभमा विदेशिने र हाम्रा कामहरू अरूले आएर सम्पन्न गरेको पर्याप्त उदाहरणहरू हुँदाहँुदै किन चेत नखुलेको बिन प्रश्न गर्छन्। उनी आफू वैदेशिक रोजगारको विरोधी नभएको बताउँदै अवसर स्वदेशमा हुँदाहँुदै विदेशिने प्रवृत्तिको विरोधी भएको बताउँछन्।
    बिनको वर्कशपको प्रशंसा गापाले पनि गर्छ। गाउँमा रोजगारको लागि मोटरसाइकल वर्कशपको तालीम बिनमार्फत् आयोजना हुँदै आएको छ। गापा प्रमुख हरिनारायण चौधरी चालू आवमा पनि सीपमूलक तालीममा मोटरसाइकल वर्कशप तालीम राखिएको र आगामी बजेटमा पनि बजेट विनियोजन गरिने बताउँछन्। वर्कशपको तालीमले गापामा सकारात्मक सन्देश दिन सफल भएको उनले बताए। तालीम लिएकाहरू रोजगारमा लागेकाले यो तालीम अन्यभन्दा सफल भएको मैले पाएको छु, गापा प्रमुख चौधरीले भने।

Monday, June 15, 2020

वीरगंज बजार व्यवस्थित नगरिए सम्हाल्न गा–हो हुने

वीरगंज बजार व्यवस्थित नगरिए सम्हाल्न गा–हो हुने


प्रस, परवानीपुर, १ असार/
    नेपाल सरकारले लकडाउन खोलेसँगै वीरगंज बजारमा चहलपहल बढेको छ। बजारमा दैनिक सयौं मानिसको भीड बढेपछि सरोकारवाला निकायका व्यक्तिहरू चिन्तित भएका छन्।
    पछिल्लो समयमा नेपालका ७३ जिल्लामा कोरोना सङ्क्रमण देखिएको र विभिन्न जिल्लाको क्वारेन्टाइनमा रहेका शङ्कास्पद सङ्क्रमितहरूबाट कोरोना पुष्टि हुनेक्रम तीव्र भइरहँदा वीरगंज बजार विनानीतिनियम पूर्णरूपले खोल्दा जोखिम बढ्ने हो कि भन्ने विषयमा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, नागरिक समाज चिन्तित छन्।
    यसै सन्दर्भमा व्यवस्थित वीरगंज अभियानले वीरगंज बजारलाई यस सङ्कटको घडीमा व्यवस्थित पार्ने विषयमा छलफल शुरू गरेको छ। आइतवार आयोजित अन्तत्र्रिmयामा पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्त, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रनि कमलराज पण्डित, वीउवासङ्घका अध्यक्ष गोपाल केडिया, ग्रीनसिटी सामुदायिक केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, व्यवस्थित वीरगंज अभियानका सदस्य एवं होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हरि पन्त, वडा नं ३ का अध्यक्ष बैजु स्वर्णकार, वडा नं ४ का अध्यक्ष जगतसाह कानूलगायतले बजारलाई व्यवस्थित गर्ने विषयमा आआफ्नो धारणा राखेका थिए।
    कोरोना सङ्कटसँग जुध्दै दैनिक जीवनमा अति आवश्यक सामग्री किनमेल गर्दा सावधानी अपनाउनुपर्ने, पसलेले ग्राहकलाई सम्झाउने, बजारमा निश्चित ठाउँ तोकेर सवारीसाधन पार्किङस्थल गराइ भीड कम गर्ने, सामाजिक सञ्जालको माध्यमबाट वीरगंजका उद्योगी, व्यवसायी, पसले, सर्वसाधारणलाई सचेत पार्नेलगायतका विषयमा छलफल भएको व्यवस्थित वीरगंज अभियानका संयोजक दिलीपराज कार्कीले जानकारी दिए।
    प्रउ पन्तले वीरगंज बजारलाई व्यवस्थित नपारे अनियन्त्रित हुने भएकोले सरोकारवाला सबैले सहयोग गर्नुपर्ने आग्रह गरिन्। बजारमा सामाजिक दूरीलाई ख्याल गर्नुपर्ने, वीरगंजमा प्रवेश गर्ने सवारीसाधनलाई बजारभन्दा टाढा पार्किङस्थलमा पार्क गरी पैदल घुमफिर गर्दै किनमेल गर्नुपर्ने, व्यवस्थित वीरगंज अभियानका स्वयंसेवकहरूले वीरगंजका पसलेहरूलाई उच्च सतर्कता अपनाउनको लागि सहयोग गर्नुपर्ने प्रउ पन्तले आग्रह गरिन्।
    वीउवासङ्घका अध्यक्ष केडियाले दुई हजार व्यवसायी वीरगंजमा रहेको र एक दिनमा २५/२५ जना गरेर छुट्टाछुट्टै समूहमार्फत् उनीहरूलाई बजार व्यवस्थापनको बारेमा परामर्श दिएर बजार सुचारु गर्नुपर्ने धारणा राखे।

Sunday, June 14, 2020

भलुही खोलाको पुल सञ्चालनमा आएन

भलुही खोलाको पुल सञ्चालनमा आएन

प्रमोद यादव, पंचगावाँ, ३२ जेठ/
    सात वर्षको अवधिमा बनेको पटेर्वासुगौली गाउँपालिका र जीराभवानी गापा जोड्ने भलुही खोलामा निर्माण भएको पुल अहिलेसम्म सञ्चालनमा आएको छैन।
    साढे पाँच करोडको लागतमा डिभिजन सडक कार्यालय, हेटौंडाले ठेक्कामार्फत् बनाएको सो पुल आवश्यकताभन्दा कम लम्बाइमा निर्माण भएको कारण बाढीले दुवैतर्फको सडक बगाएको कारण अहिलेसम्म सञ्चालनमा नआएको हो। गत वर्ष असारमा पुल हस्तान्तरण गरिएपछि बाढीले एक महीनामैं पुलको दुवैतर्फको सडक बगाएको थियो। स्थानीयले पुल निर्माणकै क्रममा १५० मिटर लम्बाइको पुल बनाउन माग गरेका थिए। उनीहरूले डिभिजन सडक कार्यालयले ठेक्का लगाउँदा खोलाको बहाव अनुसार पुल निर्माण नगरेको भन्दै दुई वर्ष काम रोकेका थिए। तर डिभिजन सडक कार्यालय हेटौंडाले पुलको लम्बाइ नबढाइ तोकेको मापदण्ड अनुसार नै पुल निर्माण गराएको कारण सञ्चालनमा आउन नसकेको हो।
    पुल निर्माणको ठेक्का लिएको वाइपी–मोना कन्स्ट्रक्शन जेभीका रामाकान्त चौरसियाले आवश्यकताभन्दा कम लम्बाइको पुल बनेको र सडक जोगाउन खोलाको पानीको बहाव रोक्न तारजाली नबिछ्याएको कारण सडक बाढीले बगाएको र पुल अलपत्र परेको बताए। उनले सो पुल सञ्चालनको लागि तारजाली लगाउनुपर्ने अथवा पुलको लम्बाइ बढाउनुपर्ने बताए। २०७० सालमा पुल निर्माण कार्य शुरू भएको थियो। ७ वर्ष बित्दा पनि पुल सञ्चालन भएको छैन। वर्षायाममा पटेर्वासुगौली र जीराभवानी गापाबीच मानिसहरूको आवतजावत रोकिने गरेको छ।

Friday, June 12, 2020

पोखरियामा जोर–बिजोर, बाँकी ठाउँका पसल खुला

पोखरियामा जोर–बिजोर, बाँकी ठाउँका पसल खुला

प्रस, पोखरिया, ३० जेठ/
    पर्साको ग्रामीण क्षेत्रका बजारहरू कतै जोर–बिजोरको आधारमा अहिलेसम्म चलेका छन् भने अधिकांश ठाउँमा एक सातादेखि सबै पसल निर्बाधरूपमा सञ्चालन भइरहेका छन्।
    पोखरिया नगरपालिकामा रहेको बजार शुक्रवार पनि जोर–बिजोरको आधारमा चल्यो।
प्रस, पंचगावाँ/
    सखुवाप्रसौनी गाउँपालिका–२ श्रीपुर पंचगावा, वडा नं. ५ महुवन, वडा नं. ४ सुगौली, १ खजुरिया, पटेर्वासुगौली गापा–४ सुगौली बजार, वडा नं. ५ देवरिया निचुटा, वडा नं. २ रङ्गपुर टाँडी, वडा नं. १ सोनवर्षा, जीराभवानी गापा–२ सेढवा, ५ को शङ्करसरैया, हरैया, बहुदरमाई नपा–४ डोकैला बहुअरीमा रहेका बजारहरू एक सातादेखि निर्बाध सञ्चालनमा छन्। लकडाउन खुकुलो गर्ने सरकारको निर्णय अगावै ग्रामीण क्षेत्रका यी ठाउँमा पसलहरू सञ्चालनमा आएका हुन्। अहिले सरकारले सञ्चालनमा रोक लगाएका पसलहरू पनि यी क्षेत्रमा सञ्चालित छन्। मदिरापसल निर्बाधरूपमा चलिरहेका छन्।
प्रस, पर्सागढी/
    पर्सागढी नपा–२ मनवा, वडा नं ३ बडनिहारमा रहेका बजारका पसलहरू सञ्चालनमा छन्। सबैखाले पसल सञ्चालनमा रहे पनि हाटबजारहरू भने बन्द छन्। मदिरा, माछामासु, मिठाइ, सैलुन, कपडा, हार्डवेयर, रेडिमेड सबै पसल एक हप्तादेखि सञ्चालनमा छन्। स्थानीय प्रहरीले पसल सञ्चालनमा अवरोध गरेको छैन।

फरक समाचार

Find us