प्रस, परवानीपुर, १ फागुन/
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सरकारले नियन्त्रण गर्न खोजेमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
वीरगंजमा शनिवारदेखि शुरू भएको नेपाल पत्रकार महासङ्घ प्रदेश २ को दोस्रो प्रदेश साधारणसभामा उनले सरकारले लोकतन्त्रमाथि प्रहार गर्न संसद् विघटन गरेको र प्रेस स्वतन्त्रतालाई कुण्ठित र नियन्त्रण गर्न अनलाइन निर्देशिका ल्याउने तयारी गरेको जानकारी गराउँदै त्यस निर्देशिकामा अनलाइन सूचना सम्प्रेषणका प्लेटफर्महरूलाई नियन्त्रण गरी प्रेस स्वतन्त्रतालाई समाप्त पार्न सरकार लागेको पनि उनको आरोप थियो।
महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टले संसद् विघटन गरेर प्रधानमन्त्रीले लोकतन्त्रमाथि धावा बोलेको चर्चा गर्दै उनले विगतझैं आगामी दिनमा पनि महासङ्घ सशक्त भएर लागिरहने बताए।
प्रेस युनियन नेपालका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रधानमन्त्रीले बन्दुक र बुलेटको ज्याकेट लगाउन मात्र बाँकी राखेको बताए। उनले देशको सत्ता सञ्चालनमा उनी एउटा तानाशाह शासकको रूपमा अघि बढेकोप्रति टिप्पणी गर्दै उनले लोकतन्त्र रक्षाको लागि पत्रकारहरूको छाता सङ्गठनलाई आगामी दिनमा अझै मजबूत र गोलबन्द भएर अघि बढ्न सुझाव दिए।
प्रादेशिक पत्रकारिता पुरस्कार झा र नेपाललाई
उद्घाटन सत्रमा रु २५ हजार राशिको प्रादेशिक पत्रकारिता पुरस्कार–२०७६ बाट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा र प्रादेशिक पत्रकारिता–२०७७ बाट नेपाल पत्रकार महासङ्घ पर्साका पूर्वअध्यक्ष शत्रुघ्न नेपाललाई पुरस्कृत गरिएको थियो। सोही अवसरमा वीरगंजका प्रमुख विजयकुमार सरावगीलाई कोभिड नियन्त्रणमा सहयोग गरेको भन्दै प्रशंसापत्रसहित सम्मानित गरिएको थियो। त्यसैगरी, पर्सादेखि सप्तरीसम्म आठ जिल्लामा लामो समयदेखि पत्रकारिता गर्दै आएका आठजना अग्रज पत्रकारलाई दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मानित गरिएको थियो। सम्मानित हुनेमा पर्साका शेषमन पडित, बाराका रामेश्वर मेहता, रौतहटका विनयलाल दास, सर्लाहीका रोशन न्यौपाने, महोत्तरीका रवीन्द्र उप्रेती, धनुषाका अजय झा, सिराहाका चन्द्रदेव कान्ति र सप्तरीका प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा रहेका छन्। सोही अवसरमा होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजका अध्यक्ष हरि पन्तलाई पनि सम्मानित गरिएको थियो।
नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानको अध्यक्षता तथा महासचिव किरण कर्णको सहजीकरणमा शुरू भएको कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, महासङ्घका केन्द्रीय सचिव रामप्रसाद दहाल, वीरंगजका प्रमुख विजयकुमार सरावगी, उपप्रमुख शान्ति कार्की, नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी, नेकपा पर्सा ओली समूहका अध्यक्ष प्रभु हजरा, जसपा पर्साका अध्यक्ष रामनरेश यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा प्रदेश उपाध्यक्ष केसी लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

