Showing posts with label प्रमुख समाचार. Show all posts
Showing posts with label प्रमुख समाचार. Show all posts

Saturday, November 30, 2019

शान्तिपूर्ण उपनिर्वाचनमा उत्साहजनक मतदान

शान्तिपूर्ण उपनिर्वाचनमा उत्साहजनक मतदान

प्रमोद यादव, पंचगावाँ, १४ मङ्सिर/
    सखुवाप्रसौनी गाउँपालिका–५ मा शनिवार उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ । कुल २६०२ मतदातामध्ये २१२८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले बताए । पुरूष १२११ र महिला ९१७ जनाले मतदान गरेको खरेलले जानकारी गराए । बिहान ७ देखि शुरू भएको मतदान साँझ ५ बजे सम्पन्न भएको थियो ।
    पर्सा जिल्लामा एक स्थान सखुवाप्रसौनी गापा–५ मा वडाध्यक्ष पदको लागि मतदान भएकोले उम्मेदवारी दिएका पार्टीका सबै नेताहरूको सहभागिता थियो । वडाध्यक्षको लागि पाँचजना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली काङ्ग्रेस, समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, राप्रपा र एकजना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली काङ्ग्रेस, समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
    समाजवादी पार्टीबाट रूपलाल यादव, नेपाल कम्युनिस्ट पार्टीबाट उदयशङ्कर रौनियार, नेपाली काङ्ग्रेसबाट अशेश्वर यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सदरीमहरा चमार र स्वतन्त्र गोपालसाह कानु चुनावी प्रतिस्पर्धामा छन् । तत्कालीन सङ्घीय समाजवादी फोरमबाट २०७४ सालको स्थानीय तहको चुनावमा वडाध्यक्षमा निर्वाचित बृजमोहन यादवको निधन भएपछि रिक्त स्थानमा आज निर्वाचन भएको हो । आजै राति आठ बजेपछि सर्वदलीय सहमतिपछि मतगणना शुरू गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत खरेलले जानकारी गराएका छन् ।
रौतहटमा शान्तिपूर्ण मतदान
प्रस, गरुडा/
    रौतहटको गढीमाई नपा–२ मा वडाध्यक्ष पदको लागि शनिवार सम्पूर्णरूपले शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।
    वडाको समनपुरस्थित स्वास्थ्य चौकीमा दुई र हथिऔल प्राविमा एक गरी तीनवटा मतदान केन्द्रमा सम्पन्न निर्वाचनमा १ हजार ५ सय ४४ जनाले मतदान गरेका छन् । कुल मतदाताको करीब ८५ प्रतिशत मतदान भएको छ ।
    वडाध्यक्ष योगेन्द्र दासको मृत्युपछि रिक्त वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी ११ जना उम्मेदवार थिए । स्थानीय मतदाताले उत्साहपूर्ण सहभागिता जनाएको र कुनै होहल्लाविना मतदान भएको स्थानीय कामेश्वर सहनीले बताए ।

Friday, November 29, 2019

पर्सेली सुर्ती किसान निराशामा, सञ्चय बढी भएकोले सुर्ती खेतीमा रोक –सूर्य नेपाल

पर्सेली सुर्ती किसान निराशामा, सञ्चय बढी भएकोले सुर्ती खेतीमा रोक –सूर्य नेपाल

प्रस, सेढवा, १३ मङ्सिर/
    सूर्य नेपालले यस वर्ष फागुन महीनामा हुने सुर्तीखेती नगर्न सूचित गरेपछि पर्साका किसानहरूमा निराशा छाएको छ । प्रत्येक वर्ष असोज र फागुन महीना गरी दुईपटक सुर्तीबाली लगाउँदै आएका किसानहरू अहिले सूर्य नेपालको सूचनापछि निराश भएका छन् ।
    सूर्य नेपालका सुर्ती फाँट प्रमुख माधव खनालले सुर्तीको सञ्चय बढी भएको कारण यस वर्ष फागुन महीनामा गरिने सुर्तीखेतीमा रोक लगाइएको प्रस्ट्याए ।
    कारखानाले यसअघि डेढ वर्षको लागि आवश्यक सुर्ती सञ्चय गर्दै आएकोमा यसपटक तीन वर्षलाई पुग्ने सुर्ती सञ्चय भएको कारण किसानहरूलाई फागुन महीनामा गरिने खेती नगर्न सूचित गरिएको उनले बताए । प्रमुख खनालले निर्यातका लागि प्रयास भइरहेको बताउँदै निर्यात गर्न सफल भएको खण्डमा सूचना रद्द हुन सक्ने पनि जानकारी गराए । तर तत्काल निर्यातको लक्षण नदेखिएको उनको भनाइ छ । सूर्य नेपालले सिगरेट उत्पादनमा आवश्यक आरजी, एचडिबी र बर्नी जातका गरी तीनथरीको सुर्ती पर्सा, बारा, रौतहट, सर्लाही र धनुषासमेतबाट सङ्कलन गर्छ ।
    सूर्य नेपालले भर्जिनिया जातको सुर्ती मात्र आयात गर्छ । यही कारण हो स्थानीय किसानहरूलाई सुर्ती खेती गर्न आवश्यक अनुदान सहयोग, बीउबिजन, जेटिएहरूसमेतको सूर्य नेपालले व्यवस्था गर्दै आएको छ । सूर्य नेपालले तीन जातका सुर्तीमध्ये पर्साबाट मात्र ८० प्रतिशत सङ्कलन गर्ने प्रमुख खनालले बताए । पर्सा जिल्लाको ठोरी, पटेर्वासुगौली, जीराभवानी गाउँपालिका र पर्सागढी नगरपालिकामा सुर्तीखेती हुँदै आएको छ । ठोरी गापाको विजयबस्तीमा धान, गहुँ, मकै, राजमा र तोरी खेती गर्दै आएका किसानहरू नगदेबालीमा सुर्तीखेती लाभदायक साबित भएपछि त्यसतर्पm आकर्षित भएका हुन् । विजयबस्तीमा अहिले ८० प्रतिशत किसान सुर्तीखेतीमा संलग्न छन् । खासगरी गाँजाखेती बन्द भएपछि नगदेबालीमा सुर्ती उत्कृष्ट साबित भएको छ ।
    वनजङ्गलबाट आउने जनावरहरूले अन्य खेती नष्ट गरे पनि सुर्तीखेतीमा आँखै नलगाउने हुँदा जङ्गली जनावरहरूबाट पनि सुरक्षित रहने भएकोले सुर्तीखेती विजयबस्तीमा लोकप्रिय नगदेबाली भएको ठोरी गापा–५ प्रधानटोलका हरिप्रसाद चौलागाईंको बुझाइ छ ।
    जीराभवानी गापा–४ सुपौलीका रामराज महतो भन्छन्– कम परिश्रममा बढी आम्दानी भएकोले किसानहरू सुर्तीखेतीमा आकर्षित भएका हुन् । एक दशकभन्दा बढी समयदेखि सुर्तीखेती गर्दै आएका महतो यसपटक सूर्य नेपालले फागुन महीनामा सुर्तीखेती नगर्न सूचित गरेको कारण निराश छन् । पर्सामा गत वर्ष २५ सय मेट्रिकटन सुर्ती उत्पादन भएको र यसपटक १४ सय मेट्रिकटन मात्र सुर्ती उत्पादन हुने जेटिए ब्रजेश साहले बताए । उनले पर्सा जिल्लाको ११ सय हेक्टर जमीनमा सुर्तीखेती भइरहेको जानकारी गराए । सूर्य नेपालका सुर्ती फाँट प्रमुख खनालले असोजमा बढी सुर्तीखेती हुने गरेको र फागुनमा ४ सय मेट्रिकटन मात्र सुर्तीखेती हुने गरेको बताए ।

Thursday, November 28, 2019

देउसीभैलोको रकमले ८२ वर्षीय वृद्धलाई घर, नगरकी उपप्रमुख लामिछाने गरिन् शिलान्यास

देउसीभैलोको रकमले ८२ वर्षीय वृद्धलाई घर, नगरकी उपप्रमुख लामिछाने गरिन् शिलान्यास

प्रस, निजगढ, १२ मङ्सिर/
    निजगढ नगरपालिका–७ को चौतारा युवा क्लबले ८२ वर्षीय असहाय वृद्धलाई घर बनाइदिने भएको छ।
    बिहीवार विशेष समारोहमा निजगढ नगरकी उपप्रमुख लीलादेवी लामिछानेले वृद्धको घर शिलान्यास गरेकी छन्।
    सो अवसरमा उपप्रमुख लामिछानेले क्लबले गर्न लागेको सेवा कार्यबाट निजगढ नगरपालिकाले पनि पाठ सिक्नुपर्ने बताउँदै गरीबीले पिल्सिएका सहाराविहीन, बास नभएकाहरूको पहिचान गरी बासको व्यवस्था मिलाउन नगरपालिका योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने महसूस भएको बताइन्।
    निनपा–७ का वडाध्यक्ष रामजी बजगाईंले पनि क्लबको कार्यको खुलेरै प्रशंसा गरे। बेसहारालाई सहारा दिनु, बास नहुनेलाई बास बनाइदिनु नै मानवको पुण्य कार्य र धर्म रहेको बताउँदै ६ महीनाअघि मात्रै तिनै दुर्गाबहादुरको ८२ वर्षको उमेरमा चौतारा क्लबको सक्रियतामा नागरिकता बनाइएको स्मरण गरे। क्लबले बेसहारा वृद्धलाई घर बनाइदिने कार्य उदाहरणीय रहेको महिला समाजसेवी सावित्री भारती र महिला जनप्रतिनिधि जगतकुमारी न्यौपानेले बताइन्।
    क्लबले तिहार पर्वमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट स्थानीय बेसहारा वृद्ध दुर्गाबहादुर रानामगरलाई घर बनाइदिने भएको हो। उनको काठेघर जीर्ण भई भत्किएर लड्नै लागेकोले उनको घर बनाइदिने योजनाका साथ अघि बढेको क्लबका अध्यक्ष दिलबहादुर पुलामीले बताए।
    स्थानीय बलराम रानामगरको जग्गामा बनाउन थालिएको घरमा दुर्गाबहादुर बाचुन्जेलसम्म जग्गाधनीले कुनै बाधा, विरोध नगर्ने सहमति भएको छ। सोही सहमतिको आधारमा घर निर्माणको लागि आज शिलान्यास गरिएको अध्यक्ष पुलामीले बताए।
    करीब डेढ लाख रुपैयाँको लागतमा दुई कोठे ब्लक र जस्तापाताको छानासहितको घर बनाइदिने योजना रहेको क्लबका सहसचिव शिव रानाले बताए।
    रातभरि देउसीभैलो खेलेर पिकनिक जाने र पैसा सिध्याउने जस्ता विकृति बढिरहेको बेला असहायको बासको व्यवस्था गरी उदाहरणीय सामाजिक कार्यमा अग्रसर हुन सल्लाह, सुझाव दिएको र सोही अनुसार क्लबका सदस्यहरू अग्रसर भइरहेको क्लबका सल्लाहकार मोती रानाले बताए।
    वृद्धको घर निर्माणका लागि स्थानीय घर निर्माण ठेकेदार बमबहादुर दर्लामीले निश्शुल्क मिस्त्री उपलब्ध गराउने बताएका छन्। क्लबको यस कार्यले देउसीभैलोबाट सङ्कलन भएको रकम समाजसेवामा पनि समर्पित गर्नुपर्छ भन्ने भावना पैदा हुने स्थानीय महिला समाजसेवी एवं जनहित सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष चन्द्रिका पुलामीले बताइन्।
     ढल्नै लागेको घरबाट क्लबले नयाँ घर बनाइदिएर उद्धार गर्न थालेकोमा ८२ वर्षीय दुर्गाबहादुरको मुहारमा खुशी छाएको छ।

Wednesday, November 27, 2019

तत्कालीन सप्रजिअ पौडेल, वडाध्यक्षहरूसहित ९ जनामाथि अदालतमा भ्रष्टाचार मुद्दा

तत्कालीन सप्रजिअ पौडेल, वडाध्यक्षहरूसहित ९ जनामाथि अदालतमा भ्रष्टाचार मुद्दा

प्रस, परवानीपुर, ११ मङ्सिर/
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल, वीरगंज–२ का वडाध्यक्ष शेष अब्बास, वडा नं १५ लक्ष्मनवाका वडाध्यक्ष गजेन्द्रप्रसाद कुर्मीसहित ९ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले विशेष अदालत काठमाडौंमा मङ्सिर ९ गते मुद्दा दायर गरेको हो। गलत कागजात पेश गरेका तीनजनाको आर्थिक प्रलोभनमा परी वंशजको नागरिकता उपलब्ध गराएको अभियोगमा सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, दुईजना वडाध्यक्ष, जिल्ला प्रशासन कार्यालय पर्साका कर्मचारी गरी नागरिकता लिने तथा दिन लगाउने गरी ९ जनामाथि मुद्दा दायर भएको हो।
    जिल्ला प्रशासन कार्यालय, पर्साबाट गलत कागजातको आधारमा गैरनेपालीलाई वंशजको आधारमा नागरिकताको प्रमाणपत्र दिएको भन्ने उजूरी सम्बन्धमा अनुसन्धान हुँदा वीरगंज उपमहानगरपालिकाको बसाइँसराइको सरकारी कागजातमा घरमुलीको विवरण सच्याइएको, वीरगंज महानगरपालिका वडा नं. २ को सिफारिशमा केरमेट गरी भूmटो विवरणको आधारमा वंशजको नागरिकता बनाएको रहस्य खुलेको छ।
    वीरगंज महानगरपालिका वडा नं. २ बस्ने अजहर हुसेन र आरिफ हुसेनको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्यमा वीरगंज महानगरपालिका वडा नं. २ बस्ने आरिफ हुसेन, सबरून खातुन, वीरगंज महानगरपालिका वडा नं. २ का अध्यक्ष शेष अब्बास, जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा चन्द्रदेव ठाकुर, प्रशासकीय अधिकृत सदनकुमार कर्ण र तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको संलग्नता देखिएको छ।
    उक्त कार्यमा संलग्नहरू वडाध्यक्ष शेष अब्बास, कर्मचारीद्वय चन्द्रदेव ठाकुर, सदनकुमार कर्ण र सप्रजिअ दुर्गादत्त पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिम सजाय हुने र सबरून खातुन र आरिफ हुसेनको हकमा निज आरोपितहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सजाय गर्न मागदाबीसहित आरोपपत्र दायर भएको छ।
    उता, वीरगंज महानगरपालिका वडा नं. ११ को बसाइँसराइको सरकारी कागजातलाई सच्याइ वडा नं. १५ बनाउँदै ममताकुमारी गुप्ताको नामको नेपाली नागरिकताको पतिको नाम खण्डमा जयप्रकाशप्रसाद गुप्ता लेखी सच्याइएको, स्थानीय पञ्जिकाधिकारीबाट जारी हुने सरकारी कागजातहरूमा समेत नामलगायतका विवरण सच्याइ भूmटो विवरणको आधारमा वीरगंज महानगरपालिका वडा नं. ११ बस्ने आशीषकुमार गुप्ताको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्य भएको पाइएको छ। तसर्थ वीरगंज महानगरपालिका वडा नं. ११ बस्ने ममताकुमारी गुप्ता, वीरगंज महानगरपालिका वडा नं. १५ का अध्यक्ष गजेन्द्रप्रसाद कुर्मी, जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा चन्द्रदेव ठाकुर र सोही कार्यालयका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसमेतको संलग्नता देखिएकोले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको सजायको लागि मुद्दा दायर भएको छ भने २०५९ को दफा ९ र दफा ११ बमोजिम सजाय हुने भन्दै ममताकुमारी गुप्तामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सजाय गर्न मागदाबी लिई विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।

Tuesday, November 26, 2019

 विकास निर्माणका काम रोकिए सह्य नहुने –अध्यक्ष प्रचण्ड

विकास निर्माणका काम रोकिए सह्य नहुने –अध्यक्ष प्रचण्ड

प्रस, निजगढ, १० मङ्सिर/
    वर्तमान सरकारले प्रदेश नं २ मा विकासको क्रान्ति नै ल्याउन थालेको र प्रदेश २ मा सकारात्मक परिवर्तन ल्याउने सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष्F पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
    निजगढ–काठमाडौं फास्ट ट्रयाक, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, रेलमार्गलगायतका राष्ट्रिय गौरवका आयोजनाहरू तीव्र गतिमा अघि बढिरहेको चर्चा गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले रुग्ण गतिमा रहेका विकास परियोजनाहरूलाई तीव्रता दिने बताएका छन् ।
    नेकपाले प्रदेश २ अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बाराको निजगढमा मङ्गलवार आयोजना गरेको वृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
    “विकास निर्माणसँग मेरो लभ परेको छ । विनाकारण आप्mनो लवरलाई कसैले अवरोध गर्छ भने म जनसमुदायको सामु अनसनसमेत बस्नेछु । यसमा आमजनताको पनि साथ रहने विश्वास लिएको छु,” उनले ठट्यौली पारामा भन्दै कुनै पनि बहानामा विकासका कार्य रोकिन नहुने र नरोकिने बताए । “लामो समयदेखि हुलाकी सडक अलपत्र परेपछि आपूmले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीधैं कुरा गरेको र हुलाकी सडक निर्माणमा विलम्ब हुने हो भने  अब नेपाल सरकार आपैंmले बनाउने बताएपछि सो सडक निर्माण कार्य  युद्धस्तरमा भइरहेको अध्यक्ष प्रचण्डले खुलासा गरे ।
    नेकपाको सरकारले जुनसुकै विकास निर्माण कार्यलाई प्राथमिकतामा राख्दै अघि बढाइरहेको र सम्पन्न गरी मुलुक समृद्ध भएको हेर्न चाहेको बताउँदै उनले भने, “अब विकासको विकल्प छैन । सडक, शिक्षा, सिंचाइ, स्वास्थ्य हरेक क्षेत्रमा विकास गर्दै अगाडि बढ्ने हो । कुनै पनि बहानामा विकास निर्माणमा अवरोध गर्नेलाई नछोड्ने हो । तब मात्रै आर्थिक समृद्धिसँगै देश र जनताले नेकपाको सरकारले गरेका कार्यहरूको अनुभूति गर्न पाउनेछन् ।”
    निजगढ हुँदै काठमाडौं जोड्ने तराई–मधेस दु्रर्त मार्ग आपूm प्रधानमन्त्री हुँदा शिलान्यास गरेको सोको निर्माण कार्यको जिम्मेवारी सरकारले नेपाली सेनालाई सुम्पेसँगै युद्धस्तरमा अघि बढिरहेको अध्यक्ष प्रचण्डले दाबी गरे ।
    कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनताले आशा र भरोसाका साथ ठूलो पार्टीका रूपमा नेकपालाई जिताएको भन्दै भ्रष्टाचार र अनियमितता कुनै पनि हालतमा सह्य नहुने बताए । उनले विकास निर्माणको काममा ५० प्रतिशतसम्म भ्रष्टाचार हुने गरेको सुनिएको र केही तŒवले सरकारको बदनाम गराउन खोजिरहेको आरोप लगाउँदै भ्रष्टाचारी जोसुकै भएपनि जनताले आप्mनो तहबाट र सरकारले आप्mनो तहबाट कारबाई गर्ने चेतावनी दिए ।
    “जबसम्म भ्रष्टाचारको अन्त हँुदैन, तबसम्म मुलुकले दिगो गति लिन सक्दैन,” मन्त्री पोखरेलको कथन थियो । भारतसँगको सीमा विवादको सम्बन्धमा रक्षामन्त्री पोखरेलले थपे, “हामी कसैको एक इन्च पनि सीमा मिच्दैनौं र हाम्रो पनि मिच्न दिंदैनौं । चाहे उत्तरी छिमेकी देश होस्, चाहे दक्षिणी छिमेकी देश होस् । आप्mनो मुलुकको अस्मिता रक्षाका लागि किमार्थ पछि हट्दैनौं । हामी त्यहीरूपमा लागिपरेका छौं,” उनले जनसमुदायलाई आश्वस्त पारे ।
    आँधीहुरीबाट घरवारविहीन बाराका जनतालाई नेपाली सेनाको सहयोगमा  सरकारले ४ महीनाभित्र एकीकृत नमूना बस्ती हस्तानान्तरण गरेको उदाहरण दिंदै रक्षामन्त्रीले भने, “सरकारले कुरा मात्रै होइन, काम गरेर देखाउँछ ।”
    कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले यस क्षेत्रमा सञ्चालित योजना तथा परियोजना र त्यसको अवस्थाबारे चर्चा गरे । महासचिव पौडेलले विशेष आर्थिक क्षेत्र (सेज), पेट्रोलियम पाइपलाइन, सुनकोशी—मरिन डाइभर्सन, कोशी—कमला डाइभर्सन, व्यापारिक मार्ग विस्तार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, तराई–मधेस समृद्धि कार्यक्रम, बकैया निजगढदेखि गौरसम्म सडकसहितको तटबन्धका योजनाहरूलाई वर्तमान सरकारले उल्लेखनीय गति दिएको बताए ।
    उनले प्रदेश नं. २ भित्रका नदीहरूको प्रभावकारी र दिगो नियन्त्रण, पुराताŒिवक शहर सिम्रौनगढ, जीतपुर–सिमरा मेगासिटी, निजगढ र महागढीमाई, चन्द्रपुर स्मार्टसिटी, वीरगंज, जनकपुर, कलैयालगायतका शहरको व्यवस्थित विकास, चुरे संरक्षण र पर्यटन, उद्योग, स्वास्थ्य, शिक्षा र कृषिको विकाससहितको समृद्धिका योजनाहरूका बारे नेकपा पार्टी र सरकार गम्भीरताका साथ अघि बढिसकेको जानकारी गराए ।
    आमजनताको चाहना हँुदाहुँदै पनि नेकपा पार्टीको तर्पmबाट प्रदेश नं. २ मा सरकार सञ्चालन गर्न जिम्मेवारी नपाएको दुःखेसो पोख्दै उनले जुनसुकै अवस्था र जहाँसुकै पनि विकासका कार्यलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
    निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समस्या, चुनौती र कार्यप्रगतिका बारेमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख ओम शर्माले प्रकाश पारेका थिए । उनले मुख्यगरी टाँगियाबस्तीको समस्या समाधान गर्नुपर्ने बताए ।
    नेकपा प्रदेश नं. २ का अध्यक्ष प्रभु साहको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा राष्ट्रपति चुरे तराई–मधेस विकास संरक्षण समितिका अध्यक्ष वीरेन्द्र यादव, र पार्टीका प्रदेश सचिव सुमनराज प्याकुरेलले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा झाँकी, पञ्चेबाजा, ¥यालीसहितको प्रदेश नं. २ का आठ जिल्लाबाट हजारौंको सङ्ख्यामा जनसहभागिता थियो ।

Find us