Showing posts with label प्रतीक दैनिक. Show all posts
Showing posts with label प्रतीक दैनिक. Show all posts

Wednesday, January 8, 2020

 दीर्घकालीन अभियानको खाँचो

दीर्घकालीन अभियानको खाँचो

    दुईपटक खुला दिसामुक्त क्षेत्र घोषणा गरेर पनि अझै खुला दिसा भइरहेको गाउँहरू पर्सामा प्रशस्तै छन् । पर्सागढी नगरपालिका–४ विसं २०७२ र २०७५ सालमा गरी दुईपटक खुला दिसामुक्त भएको हो । व्यवहारमा भने सो वडा अझै खुला दिसामुक्त भएको छैन । त्यसैले त कठोर निर्णय गर्न वडापालिका बाध्य भएको हो । खुला दिसापिसाब गर्ने घर परिवारलाई वडापालिकाबाट प्रवाह हुने कुनै पनि सेवासुविधा प्रदान नगरिने निर्णय भएको छ । ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गले पाउने सामाजिक सुरक्षा भत्तासमेत त्यस्ता घरपरिवारका सदस्यलाई प्रदान नगरिने वडापालिकाले निर्णय लिएको छ । सम्झाइ, बुझाइ एवं चेतना जागरणले नभएको र अटेर गरेको हुनाले निर्मम बन्नुपरेको वडापालिकाका पदाधिकारीहरूको भनाइ छ । कुनाकानी पस्नुपर्दैन, चल्तीको सडक पोखरियादेखि जानकी टोला, पाँडेपुरको बाटोमा नाक नछोपी हिंड्न सक्ने क्षेत्र शायदै होला । सो सडक क्षेत्रमा उड्ने धूलोका कणमा खुला दिसाकै मात्र बढी हुन्छ । मानिसको आवतजावत भइरहने सडकको यो हबिगत छ भने अपवादबाहेक अन्यत्र खुला दिसाको अवस्था अनुमान लगाउन सकिन्छ ।
    फेरि पनि सबै स्थान वा गाउँटोललाई एकै नजरले हेर्न भने मिल्दैन । कतिपय गाउँटोल खुला दिसामुक्त क्षेत्रको रूपमा उदाहरणीय पनि बनेका छन् । चेतनास्तर, उपलब्ध स्रोतसाधन, लत तथा बानी परेको कुरा र परिस्थितिले मानिसको क्रियाकलाप निर्धारण गर्छ । पहिलो कुरा त खुला दिसा गर्नुहुन्न भन्ने चेतनाको विकास राम्रोसँग हुन पाएन । अधिकांश अभियानकर्ताहरूमा आपूmले पाएको समयसीमाभित्र जसरी हुन्छ, खुला दिसामुक्त घोषणा गर्ने र ठेक्का पूरा गर्ने ध्याउन्न मात्रै रहयो । खुला दिसाको कारण लाग्ने रोगहरू र त्यसबाट हुने सङ्क्रमणका प्रक्रियाबारे धेरैलाई थाहा छैन । अपनाइरहेको एउटा कुरा त्यागेर अर्को कुरा अँगाल्न लगाउने हो भने पहिलो पक्षको अवगुणबारे सम्बन्धित पक्षलाई विस्तृतरूपमा जानकारी गराउनुपर्छ । जिम्मेवार पक्षको हतारो, सामग्री अभाव, भाषिक समस्या एवं चेतनामूलक कार्यक्रमहरूमा सहभागी हुने अवसर स्थानीयलाई पर्याप्त नजुटेको कारणले पनि खुला दिसाको अवगुणबारे जान्नुपर्ने कुराहरू धेरैलाई जानकारी नभएको हो ।
    बिहान, बेलुका खुला शौच गर्न महिलाहरू एकातर्पm, पुरुषहरू अर्कोतर्पm जाने पुरानो चलन हो । गाउँटोलका साथीसङ्गी पनि त्यतिबेला भेट हुने एउटा परम्पराकै रूपमा विकास भएको छ । गाँधीजी ले पनि खेतमा दिसा गर्न किसानहरूलाई सुझाएका थिए । तर उनले एउटा धारिलो वस्तु पनि साथै लिएर जान भनेका थिए । धारिलो वस्तुले खाल्डो खन्ने, त्यो खाल्डोमा दिसा गर्ने र पुर्ने, यसो गर्दा कृषि क्रान्तिमा सहयोग पुग्ने थियो । धारिलो वस्तु साथमा रहेपछि आत्मसुरक्षा पनि हुने थियो । तर अहिलेकाहरू खाल्डो खन्दैनन्, पुर्दैनन् पनि । खेतमा गर्ने शौच सडकमा आइपुग्यो । यसले ठूलो विकृति निम्त्याएको छ । रोगको सङ्क्रमण छँदैछ,  कैंयन चेलीहरूको शौच गर्न जाँदा अस्मिता लुटिएका पनि छन् । परम्पराकै रूपमा लत बसेको कुरालाई छुटाउन अलि बढी नै मेहनतको खाँचो पर्छ । जसरी लामाको घेवा र नेवारको भोजमा फजुल खर्च गर्ने परम्परा रोक्न त्यस समुदायका अभियन्ताहरू वर्षौंदेखि लागिपरेका छन् । कारबाई अल्पकालीन उपाय हो । कारबाई गर्न छोडेपछि फेरि उही रूप शुरू हुन्छ ।  यहाँ त दीर्घकालीन अभियानको खाँचो छ ।

Find us