Friday, February 26, 2021

राजनीतिलाई खेल बनायो

दुवैतर्फ एकै किसिमका चतुर खेलाडी भएमा खेल हेर्न निकै रोमाञ्चक हुन्छ। एकातर्फ कुशल खेलाडी र अर्कोतर्फ कमजोर खेलाडी प–यो भने कसले जित्ला भन्ने कुरा सहजै अनुमान गर्न सकिने हुँदा खेलमा मज्जा आउँदैन। दुवैतर्फ चतुर खेलाडी भएका टीमहरूबीच प्रतिस्पर्धा हुँदा खेल अन्तिमसम्म नै अनिश्चित हुने भएकोले रोचक हुन्छ। अन्ततः जित्नेले अविश्वसनीय तरीकाले जीत हात पार्छ। राजनीति र खेल नितान्त फरक कुरा हुन्। राजनीतिमा हरेक कुरा निश्चित हुन्छ। कुनै पनि राजनीतिक दल आफ्नो निश्चित नीति, सिद्धान्त तथा आस्थामा चलेको हुन्छ। उसको रणनीति, कार्यनीति तथा योजनाहरू पनि सङ्गठनले निर्णय गर्ने हुँदा यसको कार्यान्वयनपूर्व नै निर्धारित हुन्छ । असल राजनीतिज्ञले दूरदृष्टि तथा दीर्घकालीन सोच लिएका हुन्छन्। मतदाताले आफ्नो मुलुकलाई कुन मोडलमा लान चाहेको हो सोहीबमोजिमका दल तथा नेतालाई मतदान गर्छन्। संयुक्त राज्य अमेरिकामा रिपब्लिकन र डेमोक्रेटिक पार्टी तथा तिनका उम्मेदवारले जितेमा गर्ने कामबारे नागरिकलाई अग्रिम थाहा छ। त्यसैगरी, छिमेकी देश भारतमा पनि काङ्ग्रेस र भारतीय जनता पार्टीलगायतका दल अनि तिनका नेताहरूका योजनाबारे अधिकांश मतदातालाई थाहा हुन्छ।
राजनीति खेल होइन, यो एउटा विज्ञान हो। खेलको आफ्नै महत्व छ। शारीरिक स्वास्थ्य, तन्दुरुस्ती एवं स्फूर्तिको लागि खेल अपरिहार्य छ। यो मनोरञ्जनात्मक हुने र प्रतिस्पर्धाको अवधि पनि छोटो हुन्छ। तर राजनीतिलाई शारीरिक स्फूर्ति, छोटो अवधि र मनोरञ्जनको लागि भनेर सोच्न थालियो भने सबैभन्दा ठूलो भूल हुनेछ। यसर्थ खेललाई राजनीतिको रूपमा र राजनीतिलाई खेलको रूपमा लिनुहुँदैन। हाम्रो मुलुकमा राजनीतिलाई नेतृत्व तहले जहिले पनि खेल सम्झिएको छ। जसरी पनि आफूले जित्नै पर्ने, जीतको निम्ति जस्तोसुकै चाल चल्न पनि तयार हुने प्रवृत्ति यहाँ हावी छ। हाम्रो मुलुकको राजनीतिमा कति बेला के हुन्छ, के चाल चल्छ र कसले कसलाई सिध्याउँछ भन्न सकिंदैन। त्यसैले हामीकहाँ राजनीतिक घटनाक्रम कुनै रोचक खेलभन्दा कम छैन।
अहिले त झन् नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल आफैंमा चतुर खेलाडी हुन्। जनयुद्धकै क्रममा सकिन लागेको पार्टीलाई प्रचण्डले खुला राजनीतिमा ल्याएर बचाए। खुला राजनीतिमा आएपछि पनि प्रथम स्थानबाट अन्तिम स्थानमा पुग्न लागिसकेको माओवादी केन्द्रलाई एमालेसँग एकीकरण गराएर सञ्जीवनी दिए। त्यसपछि क्रमशः आफ्नो प्रभाव वृद्धि गर्दैछन्। यस क्रमसम्म आइपुग्दा उनले आफ्नो अग्रज वैद्य, सहयोद्धालगायत कैयौंलाई किनारा लगाइदिए। त्यसैगरी, ओलीले आफू प्रधानमन्त्री बन्नकै लागि माओवादी केन्द्रसँग पार्टी एकीकरण गरे। यहाँसम्म आउँदा उनले आफ्ना सहयोद्धाहरू झापाका मैनाली दाजुभाइदेखि माधव र खनालहरूलाई भित्तामा पु–याएकै हुन्। अब टकराव दुवै चतुर खेलाडीको बीचमा छ। अदालतले संसद् पुनस्र्थापनाको फैसला गर्नु, यी दुईबीच खेलको अन्त्य होइन। ओलीले राजीनामाविना नै संसद् विघटनको सिफारिश गर्नुले पनि अहिलेको अवस्था आउन सक्ने कुरा उनलाई अनुमान थियो भन्ने प्रस्ट हुन्छ। दुवै पक्षबाट चल्न सक्ने धेरै चाल अझै बाँकी नै छ। नैतिकता भन्ने शब्द कतै पनि छैन। उनीहरूको यही चाल तथा दाउपेचको कारण मुलुक झन् अस्थिरता र अन्योलतातर्फ पँmस्दैछ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us