Saturday, January 30, 2021

जाडोका कारण मिथिलाका विद्यालय बन्द

प्रस, जनकपुरधाम, १७ माघ/
    बढ्दो जाडो तथा शीतलहरका कारण शिक्षक र विद्यार्थीलाई समेत समस्या देखिन थालेपछि धनुषाको मिथिला नगरपालिकाले विद्यालय बन्द गरेको छ।
    माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको मिथिला नगरपालिकाको शिक्षा शाखाले जनाएको छ। पुसको अन्तिम सातादेखि शुरू भएको लगातारको शीतलहरका कारण विद्यार्थीलाई विद्यालय जान आउन समस्या हुन थालेपछि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय यही माघ १८ देखि २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख हरिनारायण महतोले बताए।
    बाक्लो हुस्सु र शीतलहरको कारण बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी नगरपालिकाले चार दिन  विद्यालयमा जाडो बिदा दिएको नगरप्रमुख महतोले जानकारी गराएका छन्।
    जाडोको समयमा बालबालिका सबैभन्दा बढी प्रभावित हुने भएकाले नगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
    सामुदायिक विद्यालयमा अर्धवार्षिक परीक्षा हालै सकिएकोले पनि बिदा अवधिमा उत्तरपुस्तिका परीक्षण गर्ने गरी बिदा दिइएको सो पालिकाले जनाएको छ। विद्यालय खुलेलगत्तै अर्धवार्षिक परीक्षाको परिणाम दिने तालिका रहेको छ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us