Friday, January 29, 2021

महोत्तरीमा कोभिडविरुद्धको खोप लगाउने कार्य सुस्त गतिमा

प्रस, महोत्तरी, १६ माघ/
कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य महोत्तरी जिल्लामा सुस्त देखिएको छ। फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरू गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन्।
खोपबारेको भ्रमका कारण  खोप लगाउने लक्षित समूह उत्साहित नभएको खोप टोलीमा सहभागी स्वास्थ्य अधिकारीहरूको अनुमान छ। जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरत स्वास्थ्यकर्मीलाई खोप लगाइने तालिका थियो। सोबमोजिम पहिलो दिन बुधवार ३८ जना र बिहीवार २६१ जनाले मात्र यो सेवा लिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। पहिलो दिन १३५ जनालाई खोप दिने लक्ष्य रहेकोमा ३८ जनाले मात्र खोप लिएको जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी गराएका छन्। कतिपयमा खोपबारे भ्रम रहेकाले प्रारम्भिक चरणमा सेवा लिने कम देखिएको उनले बताए। यद्यपि यो भ्रम चिर्दै जाने र केही दिनभित्रै सेवाबारे विश्वसनीयता बढ्ने झाको विश्वास छ।
महोत्तरीमा दोस्रो दिन बिहीवार २६१ जनाले खोप लिएको कार्यालयले जनाएको छ। एक साताभित्र दुई हजार २३० जनालाई खोप दिइने कार्यालयको लक्ष्य छ। खोपबारे सामाजिक सञ्जालमा विभिन्न भ्रम देखेपछि शुरूका दिनमा डरले खोप लगाउने घटेका स्वास्थ्यकर्मीको ठम्याइ छ।
पहिलो दिन जलेश्वर अस्पतालका मेडिकल अधिकृत डा प्रभातकुमार गामीले वरिष्ठ स्वास्थ्यकर्मी कला चौधरीबाट खोप लिएर सेवा शुरू गरेका थिए।
हाल जलेश्वर अस्पताल कक्षमा  सञ्चालन गरिएको यो सेवा बिस्तारै  जिल्लाका अन्य अस्पतालमा पनि पु–याइने स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। शुरूमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, व्यवस्थापन समितिका पदाधिकारी र स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारीले खोप लिइरहेका छन्।
पहिलोपटक खोप लिएकाहरूले चार सातापछि अर्को खोप लिनुपर्नेछ। थप खोप प्राप्त हुँदै गएपछि क्रमशः जनस्तरमा पनि यो सेवा विस्तार गरिने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us