Friday, January 29, 2021

सर्वोत्तम स्टीलले वैशाखदेखि उत्पादन गर्ने

प्रस, परवानीपुर, १६ माघ/
फलामजन्य निर्माण सामग्रीको बजारमा प्रतिस्पर्धा बढ्ने देखिएको छ। वीरगंज कोरिडोरमा सौरभ समूहले रु ३ अर्ब २८ करोडको स्टील उद्योग लगाएपछि अन्य स्टील उद्योगसँग बजारमा प्रतिस्पर्धा बढ्ने विश्लेषण छ।
वीरगंज महानगरपालिका वडा नं २२ जगरनाथपुर, २८ बगही र ३० लालपर्साभित्र निर्माण भएको विशाल उद्योग परवानीपुर–ड्राइपोर्ट सडकखण्डको लालपर्सा गाउँ जाने बाटोसँग टाँसिएको छ।
तीन वर्षदेखि जग्गा खरीद तथा पर्खाल लगाउने काम शुरू भएको उद्योगको काम करीब ९० प्रतिशत सम्पन्न भइसकेको छ भने आगामी वैशाखदेखि उद्योगले आफ्नो उत्पादन बजारमा ल्याउने लक्ष्य राखेको छ।

सौरभ समूहका विष्णुप्रसाद न्यौपाने, वीरगंजका उद्योगी राजेश अग्रवाल र एकजना भारतीय लगानीकर्ताको यो उद्योगमा लगानी रहेको छ। करीब १६ बिघा क्षेत्रफलमा फैलिएको उद्योगले सर्वोत्तम ब्रान्डको डन्डी, एङ्गल, पट्टी उत्पादन गर्नेछ। वर्षमा २ लाख ६४ हजार मेट्रिकटन निर्माण सामग्री उत्पादन गर्ने लक्ष्य राखेको उद्योगले एक हजारदेखि १२ सय मजदूरलाई रोजगार दिने बताएको छ।
अत्याधुनिक प्रविधिको मेशिन जडान भइसकेको र बेल्ट लगाउने तथा अन्य फिनिसिड्ढा कार्य बाँकी छन्। उद्योगका व्यवस्थापकीय जिम्मेवारी हेर्ने एक अधिकृतले भने, “उद्योगको मेशिन तथा अन्य तयारी पूरा भइसकेको छ, प्राविधिक सेटिङ मात्र बाँकी छ, वैशाखको अन्त्यसम्म उद्योगले उत्पादन बजारमा पठाउनेछ।” कोभिडले उद्योगको निर्माण कार्य एक वर्ष पछि धकेलिएको थियो। उद्योगमा विद्युत् आपूर्तिको लागि ब्रिटानिया नेपाल प्रालिको पूर्व क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको मूलगेटनजीकै ३३ हजार केभिएको सबस्टेशन निर्माण गरी श्रीसिया खोलाको किनारमा पोल गाडेर परवानीपुर प्रहरी चौकी हुँदै ६ लेन बाटो हँुदै ३ किलोमिटर दूरीमा पर्ने उद्योगमा विद्युत् ल्याइएको छ।
विद्युत् आपूर्ति र उद्योग निर्माणमा केही दिन जग्गाको स्वामित्वलाई लिएर विवाद पनि भएको थियो। सौरभ समूहले सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील, जगदम्बा सिमेन्ट, शुभश्री जगदम्बा सिमेन्ट, जगदम्बा स्पिनिङ, जगदम्बा सिन्थेटिक, सौरभ टि इस्टेट, सौरभ फोटो इन्टरनेशनल, सौरभ रोटो प्याकेजिङलगायत उद्योगमा लगानी गरेको छ।
सन् ६० को दशकमा म्यानमामा बसोबास गर्ने नेपाली व्यवसायी तथा उद्योगी विष्णुप्रसाद न्यौपानेका बुबा लीलाराम न्यौपानेले यो समूहको स्थापना गरेका थिए। स्वदेश फर्केपछि सन् १९९० को दशकमा छोरा विष्णुले बुबाको विरासतलाई मूर्तरूप दिन जगदम्बा सिमेन्ट उद्योगको स्थापना गर्दै सौरभ समूहलाई अग्रपङ्क्तिको औद्योगिक प्रतिष्ठानको रूपमा चिनाएका छन्।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us