Sunday, January 31, 2021

सुक्खा बन्दरगाहमा ५ सय खाली कन्टेनर होल्ड


प्रस, परवानीपुर, १८ माघ/
    कोरोना महामारीको बेला वीरगंजस्थित ड्राइपोर्ट भन्सारमा थुप्रिएका करीब ५ सय कन्टेनर फिर्ता हुन सकिरहेको छैन ।
    भारतीय रेलवेको भगिनी संस्था कन्करले खाली रेल कोलकाता र विशाखापटनम्को लागि नपठाइदिंदा ती कन्टेनरहरू विगत ६ महीनाअघिदेखि ड्राइपोर्ट भन्सारकै यार्डमा थन्किएर ठाउँ ओगटेको छ । यसले गर्दा यार्डमा कन्टेनरको जाम बढेको छ भने व्यवसायीलाई मालसामान लोड, अनलोडमा समस्या भइरहेको छ । वीरगंज उद्योग वाणिज्य सङ्घका महासचिव माधव राजपालले भने, “६ महीनासम्म खाली कन्टेनरहरू उठ्न सकेका छैनन्, जसले गर्दा ड्राइपोर्टमा कन्टेनरमाथि कन्टेनर चाङ लागेको छ, यसबारे ड्राइपोर्ट सञ्चालक कम्पनीले चाँडै पहल गरी खाली कन्टेनर फिर्ता पठाएर यार्ड खाली गराउनेतर्पm अग्रसरता देखाउनुपर्छ ।”
    कोरोना महामारीको बेला गत साउनदेखि असारसम्म तेस्रो मुलुकका सामान भारतका दुईवटा बन्दरगाह कोलकाता र विशाखापट्टनमबाट आउने क्रम केही महीनासम्म चलिरह्यो । सो अवधिमा आयातकर्ताले मालसामान समयमा नउठाउँदा र उठाए पनि समयमा खाली कन्टेनर यार्डमा नपु¥याउँदा कतिपय रेल वीरगंजबाट खाली कन्टेनर लिएर फिर्ता हुनुपर्नेमा खाली नै गएका थिए । त्यस कारण पनि अहिले वीरगंजबाट खाली कन्टेनर जान नसकेको हो । अहिले ड्राइपोर्ट भन्सारमा दैनिक २, ३ वटा ¥याक आउने गरे तापनि फिर्तीमा हालसालै खाली भएका कन्टेनर मात्र लिएर जाने गरेकोले कोभिड अवधिका  खाली कन्टेनर अड्केर बसेको श्रीसिया सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकारी चूणामणि शर्मा कट्टेलले बताए । यस विषयमा ड्राइपोर्ट सञ्चालन गर्ने कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिका चिफ अपरेशन हेड अतुल शर्माले होल्ड भएका ५ सय कन्टेनरको लागि नेपाल इन्टरमोडेल यातायात विकास समिति र कन्करलाई पत्र लेखेर खाली कन्टेनरको लागि रेल माग गरेको र रेल आउने बित्तिकै ती कन्टेनर पठाएर यार्ड खाली गराउने प्रतिक्रिया दिए । व्यवसायीहरूले मालसामान उद्योग वा गोदाममा खाली गराएर कन्टेनर ल्याएपछि व्यवसायीको जिम्मा हट्छ, त्यसपछि सिपिङलाइनको जिम्मा उक्त कन्टेनर आउने नियम छ । यदि कन्टेनर खाली गराउने समयसीमाभित्र अर्थात् सामान आएको ७ दिनभित्र कन्टेनर खाली गरी ड्राइपोर्टमा नबुझाएमा भने ७ दिनपछि व्यवसायीले हर्जाना तिर्नुपर्छ ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us