Tuesday, December 29, 2020

बेवारिसे वृद्धको उपचारको क्रममा निधन

प्रस, परवानीपुर, १४ पुस/
नारायणी अस्पतालमा उपचाररत एकजना बेवारिसे वृद्धको मृत्यु भएको छ। उपचारको क्रममा सोमवार बिहान साढे ८ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
अस्पताल व्यवस्थापन पक्ष र मेडिकल सुपरिटेन्डेन्ट सञ्जय ठाकुरको लापरवाहीको कारण वृद्धको मृत्यु भएको चिकित्सक स्रोतले जनाएको छ। चीसोको बेला उनको स्याहारसुसारमा अस्पतालले खासै चासो नदिएपछि हेरचाह र पर्याप्त उपचारको अभावमा वृद्धको मृत्यु भएको हो।
कोरोना महामारी वीरगंजमा शुरू भएको गत चैतदेखि नै उनको उपचार भइरहेको थियो। उनको खुट्टामा समस्या भएकोले हिंड्डुल गर्न सक्दैनथे। उनलाई बेडसोर भएको थियो। ढाडमुनि घाउ र खुट्टामा पनि घाउ भएकोले उनी २४ घण्टा ओछ्यानमैं रहन्थे। उनलाई बिहान र बेलुका प्लास्टिकमा खाना राखेर अस्पतालका पियनहरूले दिन्थे।
हरियो बेडसिट ओढेर उपचार लिंदै आएका वृद्धको चीसोले कठ्याङ्ग्रिएर र घाउको सङ्क्रमणको कारण मृत्यु भएको हो। उनको शव अस्पतालको शवगृहमा राखिएको छ।
यस विषयमा अस्पतालका मेसु डा ठाकुरले सामाजिक संस्थाले सडकपेटीबाट जोकसैलाई उपचारको लागि ल्याइदिने र उपचार भइसकेपछि फिर्ता नलैजाने गरेकाले यस्तो भएको प्रतिक्रिया दिए। उनले भने– अस्पतालको काम उपचार गर्ने हो, स्याहारसुसार गर्ने हाम्रो काम होइन।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us