सञ्जय साह, गरुडा, १६ पुस/
शहरी विकासमन्त्री प्रभु साहले प्रचण्ड–नेपाल समूहद्वारा राष्ट्रपति कार्यालयमा पेश गरिएको अविश्वासको प्रस्तावमा हस्ताक्षर किर्ते रहेको बताएका छन्। बिहीवार रौतहटको गरुडामा आयोजित जिल्लास्तरीय वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन्।
तीन महीना पहिले अन्य बैठकमा गरिएको हस्ताक्षरलाई अविश्वासको प्रस्तावमा पेश गर्नु किर्ते जालसाज भएको उनले बताए। पदको लागि प्रचण्ड– नेपालहरूले आफ्नै पार्टीभित्र षड्यन्त्र गरेको भन्दै पूर्वमाओवादी नेता साहले माओवादीको सिद्धान्त, नीति र माओको फोटोलाई समेत प्रचण्डले त्यागिसकेको आरोप लगाए। प्रचण्डले भूमिगतकालदेखि नै जालझेल, छलकपट र प्रपञ्च गर्दै आएको आरोप लगाउँदै उनले योग्य र कर्मठ नेता, कार्यकर्ताभन्दा पनि चाकरी चाप्लुसी गर्ने व्यक्ति प्रचण्डलाई चाहिएको बताए।
“पदको लागि राजा ज्ञानेन्द्रसँग लम्पसार परेर दाम चढाउन जाने माधव नेपाल, क्यान्टोनमेन्टका जिउँदा शहीदको रकम कुम्ल्याउने प्रचण्ड र जिन्दगीमा क्रान्ति नगरेका, आन्दोलन नहाँकेका नारायणकाजीले जनता र लोकतन्त्रको पक्षमा सोच्न पनि सक्दैनन्,” उनले ठोकुवा गरे। रौतहट सत्यको साथ दिने नागरिकको बाहुल्य रहेको भन्दै उनले अबको चुनावमा प्रचण्ड–नेपाल जिल्लाबाटै तिरस्कार हुने दाबी गरे।
नेकपाका प्रदेश सदस्य उपेन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा प्रदेश नं २ का इन्चार्ज सत्यनारायण मण्डल, सचिव सुमन प्याकुरेल, सांसद ज्योति साह, सांसद रेखा झा, नेता राजन यादव, पूर्वसांसद अब्दुल कलाम आजादलगायतले मन्तव्य व्यक्त गरेका थिए।

0 comments: