Tuesday, December 29, 2020

जाडोमा माछाको मागसँगै मूल्य पनि बढ्यो

नरेश यादव, पर्सागढी, १४ पुस/
जाडोयाममा माछाको माग बढेसँगै पोखरीमा माछा मार्ने क्रम पनि बढेको छ। अधिकांश माछा व्यवसायीले जाडोयामलाई लक्षित गरेर पोखरीमा माछा सञ्चित गर्ने र यो मौसममा माछा मारेर राम्रो मूल्यमा बिक्री गर्ने गर्छन्।
जाडोयाममा माछाको हेरचाहमा खासै खर्च नहुने र दोब्बरी मूल्यमा माछा बिक्री हुने भएकाले पर्सा जिल्लाका अधिकांश पोखरी सञ्चालकले जाडोयाममा माछा मार्ने गर्छन्। जाडोयाममा माछाको मूल्य अन्य यामको तुलनामा दोब्बरी भएको छ। पोखरीमा छरी माछा सामान्य अवस्थामा रु १८० प्रतिकिलोमा बिक्री हुने गरेको थियो भने अहिले जाडोयाममा छरी माछा रु २५० देखि २७५ प्रतिकिलोमा बिक्री भइरहेको माछा व्यवसायीले बताए।

यसैगरी, एक किलो तौलको माछा सामान्य अवस्थामा रु १६० प्रतिकिलोमा पाइने गरेकोमा अहिले रु २५० पुगेको छ। दुई किलो तौल भएको माछा सामान्य अवस्थामा रु ३ सयमा बिक्री हुने गरेकोमा अहिले रु ५ सय पुगेको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्साका कार्यालय प्रमुख सहमत राम मौर्यले पर्सा जिल्लामा ५७१.०७ हेक्टर जलाशय क्षेत्र रहेको र त्यसमध्ये ४२१.७१ हेक्टर पोखरीमा माछाखेती भइरहेको बताए। जिल्लामा ३१४४.३५ मेट्रिक टन खानयोग्य माछा उत्पादन भइरहेको उनले बताए। पर्सा जिल्लामा प्रतिव्यक्ति वार्षिक तीन किलो माछा खपत हुने गरेको प्रमुख मौर्यले बताए।
पर्सामा निजीस्तरका २० वटा मत्स्य नर्सरी र ६ वटा भुरा उत्पादन केन्द्र रहेको उनले बताए। उनले अहिले एउटा भुरा उत्पादन केन्द्र निर्माणाधीन अवस्थामा रहेको जानकारी गराएका छन्। पर्सा जिल्लामा भुरा उत्पादन र बिक्री गर्ने १५ वटा समूह रहेको उनले बताए।
अहिले माछा मार्ने क्रम बढेको पर्सागढी नगरपालिका–९ का माझी सुरेश सहनी बताउँछन्। जाडोयाममा पोखरीमा पस्न समस्या हुने भएपनि पोखरीको तल सतहको पानी तातो हुने भएकोले माछा मार्दा समस्या नहुने उनले बताए। जाडोयामविपरीत गर्मीमा पोखरीको तल सतह चीसो हुँदा माछा मार्न गर्मीले समस्या नहुने उनको जिकिर छ। माछा मार्नको लागि सबैभन्दा अनुकूल मौसम वर्षायाम हुन्छ। गर्मीयामको तुलनामा जाडोयाममा माछा मार्ने क्रम बढी हुने गरेको उनले बताए। पर्सा जिल्लामा बारा जिल्लाका माझीहरू पनि माछा मार्न आउँछन्।
बाराका भागीरथ सहनी, कृत सहनीले जाडोयाममा माछा मार्न भ्याइनभ्याइ हुने गरेको बताए। चौतर्फीरूपमा पोखरी सञ्चालकहरूले माछा मार्न आग्रह गर्ने गरेको उनले बताए। माझीहरूकै कारण कतिपय पोखरीमा अहिले माछा मार्न नसकिएको अवस्था छ। यही मौसममा जिल्लाभरिका पोखरीमा सञ्चित माछा मार्नुपर्ने र बजारमा बिक्री गर्नुपर्ने भएकोले माझीहरूको माग बढेको हो।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us