Tuesday, December 29, 2020

पूर्वराजा वीरेन्द्रको जन्मजयन्ती मनाइयो

प्रस, वीरगंज, १४ पुस/
पूर्वराजा वीरेन्द्र शाहको ७६औं जन्मजयन्ती वीरगंजमा मनाइएको छ। महावीर मन्दिरअगाडि आयोजित कार्यक्रममा सहभागीहरूले जन्मजयन्ती मनाउने क्रममा राजा कसको जनताको, जनता कसको राजाको, राजा–जनता एक हौं, नेपाली जनता के भन्छ, राजतन्त्र ले भन्छ जस्ता नाराहरू लगाएका थिए।

राजभक्त, देशभक्त समूह, पर्साका अध्यक्ष दीपेन्द्र रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा राजसंस्था पुनस्र्थापना सङ्घर्ष समितिका उपाध्यक्ष राजकिशोर चौबे, समाजसेवी पशुपति विक्रम शाह, सतीश श्रीवास्तव, रामनारायण साह, रमेश जाटिया, हीराबहादुर चन्दलगायतको सहभागिता थियो।
यसैगरी, राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले वीरगंज–१५ प्रतिमाचोकमा रहेका पूर्वराजा स्व वीरेन्द्र शाहको सालिकमा माल्यार्पण गरेको थियो।
कार्यक्रममा समाजसेवी पशुपति विक्रम शाहले राजनीतिमा विदेशीको चलखेल बढेको आरोप लगाए। उनले वर्तमान सरकार ख्रिस्टियनको इशारामा चलिरहेको बताए।
नागरिक सङ्घर्ष समितिका हीराबहादुर चन्दले पूर्वराजा स्व वीरेन्द्र शाहले देखाएको मार्गमा हिंड्न जरुरी रहेको बताए। कार्यक्रममा राष्ट्रिय सरोकार मञ्च नेपालका केन्द्रीय सदस्य अर्जुन सिंह, नेपाल राष्ट्रवाद सङ्घका अध्यक्ष जनकलाल शाहलगायतले मन्तव्य राखेका थिए। मञ्चका अञ्चल संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी उषा शाह, विद्वत् परिषद् नेपालका केन्द्रीय सदस्य अध्यानन्द प्रसाद, विश्व हिन्दू परिषद्का पृथ्वी झाले मन्तव्य राखेका थिए।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us