राधेश्याम पटेल, वीरगंज, १५ मङ्सिर/
स्वास्थ्य मन्त्रालयको नीति अनुसार सातवटै प्रदेशमा सातवटा महामारी तथा सरुवा रोग अस्पताल स्थापना हुने भएको छ। सोही अनुरूप प्रदेश २ को बारा जिल्लाको कलैया–१६ उत्तरझिटकैयामा सोमवार प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास भएको छ।
सरकारले ७७ जिल्लामध्ये ३९६ पालिकामा ५ देखि १५ बेड क्षमताको अस्पताल निर्माण कार्य पनि प्रारम्भ गरेको छ। स्वास्थ्य मन्त्रालयको पूर्व कार्यक्रम अनुसार मङ्सिर १५ गते ३९६ पालिकामा आवश्यकता अनुसार ५, १० र १५ बेड क्षमताको एक अस्पतालको आज शिलान्यास भइरहेको छ। बाराको विभिन्न पालिकामा ११ अस्पताल र पर्सामा चार पालिकामा अस्पताल शिलान्यास भइरहेको छ।
बाराको करैयामाईको हरैया,देवताल गापाको प्रिपाढी, परसौनी, विश्रामपुर, निजगढ, कोल्हवी, सुवर्णपुर, फेटालगायत ११ ठाउँमा अस्पताल निर्माण शुरू भएको छ भने पर्साको ठोरी, पटेर्वासुगौली, धोबिनी, जीराभवानी गापामा अस्पताल निर्माण भइरहेको छ। सरकारले प्रादेशिक सरुवा रोगको लागि ३३ करोड, ५ बेड क्षमताको अस्पताललाई ७० लाख, १० बेडको अस्पतालका लागि ८५ लाख र १५ बेड क्षमताको अस्पताल बनाउन स्थानीय पालिकालाई १ करोड बजेट रनक्शा पठाएको छ।
स्वास्थय मन्त्रालयका अनुसार प्रदेश १ मा ३२, दुईमा २०, वाग्मतीमा १९, गण्डकीमा ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिम प्रदेशमा ३४ वटा अस्पताल निर्माण गर्ने बजेट निकासा गरेको छ। देशभरको ७७ जिल्लाको ७५३ स्थानीय तहमा ६४९ पालिकामा अस्पताल नभएकोले सरकारले पहिलो चरणमा ३९६ पालिकामा यसै वर्ष अस्पताल स्थापना गर्न लागेको हो।

0 comments: