Monday, November 2, 2020

मधेस केन्द्रित दलमा पहाडी अनुहारका नेता जरी लामाको उद्घोष, आगामी चुनावमा जसपाले ठोरीमा सरकार बनाउँछ

    


वीरगंजबाट ६५ किलोमिटर पश्चिममा रहेको अति नै सुन्दर र प्रकृतिको काखमा बसेको ठोरी गाउँँपालिका। यो पर्सा जिल्लाको प्रमुख पर्यटकीय स्थल हो। इतिहास र प्राकृतिक सौन्दर्यले गर्दा पर्सा जिल्लामा मात्र नभई नेपालमैं ठोरीले आफ्नो छुट्टै पहिचान बनाएको छ।
    ठोरीले धेरै प्रतिभालाई पनि जन्म दिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी, पत्रकार, कलाकार जन्माइसकेको छ। तर राजनीतिकरूपमा भने राष्ट्रिस्तरमा दखल राख्ने नेताको अभाव छ। तर मुलुकका अधिकांश ठूला पार्टीमा यहाँका अगुवाहरूको जबरजस्त प्रभाव छ। यसैबीच, आगामी डेढ वर्षपछि मुलुकमा स्थानीय, प्रदेश र सङ्घीय चुनाव हुँदैछ। ठोरीको सुवर्णपुरका पूर्व गाविस अध्यक्ष जरी लामा पहाडी अनुहारका आदिवासी नेता हुन्। उनी मधेस केन्द्रित दल राजपाबाट गत चुनाव लडेका थिए। आउँदो चुनावमा उनको पार्टीको योजना के छ, यसै सेरोफेरोमा प्रतीककर्मी राधेश्याम पटेलले गरेको कुराकानी।

–    तपाईंको राजनीतिक यात्रा कहिंलेबाट शुरू भयो ?
+    मैले आफ्नो राजनीतिक यात्रा २०४६ सालमा काङ्गेसबाट शुरू गरें र त्यो बेलादेखि आफ्नो गाउँसमाजमा निरन्तर सामाजिक कार्यमा जुटिरहें। फलस्वरूप तत्कालीन सुवर्णपुरका  जनता र पार्टीले पनि मेरो कामको उचित मूल्याङ्कन गर्दै २०५४ मा गाविस अध्यक्षमा विजयी बनाउनुभयो। म विजयी भएपछि यहाँ बाटो, शिक्षा, खानेपानी र सरसफाइको अभियानमा अघि सरें र सबै कार्यमा सफल पनि भएँ।
–    काङ्ग्रेस परित्याग गरेको कुरा सत्य कि झूटो ?
+    हो, मैले काङ्गेस पार्टी परित्याग गरें। किनकि काङ्ग्रेस आफ्नो अभियानबाट पछि हट्यो र लोकतन्त्रको खिल्ली उडायो।
–    तपाईं ठूलो पद पाउन तत्कालीन राजपामा प्रवेश गर्नुभएको त होइन ?
+    मेरो मनमा पदको कुनै लोभ छैन। पदमा भएपनि जनताको सेवामा लागिरहनेछु। पदमा नभए पनि जनताको सेवा गर्नेछु। यतिखेर हामीलाई संविधान संशोधन चाहिएको छ। सरकारले तराईमा बसोबास गर्ने आदिवासी जनजाति, दलितको अधिकार खोसेको छ। मुलुक सङ्घीयतामा गएको झन्डै चार वर्ष हुन लाग्यो तर हामी अझै केन्द्रबाट हेपिएका छौं। प्रदेश सरकारलाई पनि केन्द्र सरकारले हेपेर राखेको छ। हामी प्रदेश २ मा बसोबास गर्ने जनता त केन्द्र सरकारबाट झनै हेपिएका छौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले संविधान संशोधन गर्छौं भनेर हामीलाई सरकारमा सहभागी गरायो तर हामीले नेकपा सरकारबाट धोका पायौं। त्यस्तै, काङ्गेसले पनि आशा दियो तर निराश पा–यो। अब हामी यी दुर्ई पार्टीको पछि नलागेर अब आउने चुनावमा जनता समाजवादी पार्टी नेपालको सरकार बनाउनेछौं र सबैको समस्या समाधान गर्नेछौं। जनता समाजवादी पार्टी नेपालको सरकारबाट कसैलाई केही गुनासो हुनेछैन।

–    जसपाको सरकार ठोरी, प्रदेश र केन्द्रमा बनाउन के के पहल हुँदैछ ?
+    हेर्नुस्, नेपाली जनता अहिले वैकल्पिक शक्तिको खोजीमा छ। जुन शक्ति जसपा हो। काङ्गेस र नेकपा सरकारबाट नेपाल जनता निराश बनिसकेको छ। चुनावी प्रचारप्रसारमा नानाथरीका भाषण गरेर जनताको भरोसा जित्छन् र चुनाव जितेपछि जनताको मतको कदर गर्दैनन्। नेकपा सरकार पनि भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चुनाव प्रचारप्रसारमा जनतासँग गरेका प्रतिबद्धता तोडिसके। काङ्ग्रेसको हालत पनि त्यस्तै देखियो। जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नेकपा र काङ्ग्रेसको सरकार असफल भयो। धेरै भरोसा साथ जनताले नेकपालाई दुर्ई तिहाइ मतदान गरेर सत्तामा पु–यायो तर ओली सरकारले पनि जनतालाई निराश बनायो। अबको चुनावबाट सबै प्रदेशमा जसपाको सरकार बन्ने सम्भावना छ। ७७ वटै जिल्लामा जसपाले पार्टी कमिटी विस्तार गरिसक्यो। ती जिल्लाहरूमा मधेसी, आदिवासी जनजाति र पछाडि पारिएका समुदायको बाहुल्यता छ, उनीहरू ब्यूँझिसकेका छन्।

–     ठोरी गाउँपालिकामा तपाईंहरूको अवस्था कस्तो छ ?
+    आगामी निर्वाचनमा ठोरी गाउँपालिकामा पनि जसपाको सरकार बन्नै पूरै सम्भावना छ। यहाँको स्थानीय सरकारको काम देखेर जनता आक्रोशित बनेको छ र ठोरी गाउँपालिकामा जसपा जिताउन हामी पनि विभिन्न अभियान चलाउँदै छौं।
–    आगामी चुनावमा जसपाले कस्तो उम्मेदवार छान्नुपर्छ ?
+    योग्य र समाजसेवी, जसको सबै धन नै जनता होस्, त्यस्ता व्यक्तिलाई जसपाले मूल्याङ्कन गरेर टिकट दिनुपर्छ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us