Sunday, November 29, 2020

सशस्त्र प्रहरीसहित जीराभवानी गापाका प्रमुख प्रशासकीय अधिकृत हाजीर

प्रस, वीरगंज, १४ मङ्सिर/
जीराभवानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्ने वातावरण सृजना गराउन जिल्ला प्रशासन कार्यालय, पर्साले निर्देशन गरेको छ।


प्रशासनको पत्र अनुसार आज सशस्त्र प्रहरीले गापाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत प्राण मेहतालाई सुरक्षा प्रदान गरी काम गर्न लगाएको थियो। गापाका प्रमुख प्रशासकीय अधिकृत कुलोत्तम पोखरेलले कात्तिक ४ गते स्वेच्छिक अवकाश पाएपछि गापाले पशु सेवा केन्द्रका प्रमुख शिवचन्द्र ठाकुरलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर काम गराएको थियो।
यसबीचमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्राण मेहतालाई जीराभवानी गापाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो। मेहता मङ्सिर ८ गते गापाको कार्यालयमा हाजीर हुन जाँदा उनलाई त्यहाँ धम्क्याइएको थियो। त्यसपछि मेहताले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका थिए।
जिप्रका, पर्साले स्थानीय सशस्त्र प्रहरीलाई मेहतालाई गापाको कार्यालयमा हाजीर गराउन निर्देशन दिएपछि आज सशस्त्र प्रहरीको उपस्थितिमा गापाको कार्यालयमा हाजीर गरेर काममा खटेका हुन्। मेहता प्रमुख प्रशासकीय अधिकृतमा हाजीर भएपछि सोही गापाका पशु सेवा केन्द्रका प्रमुख एवं गापाका निमित्त प्रमुख ठाकुर बिदामा बसेका छन्।
ठाकुरले मन्त्रालयबाट प्रमुख खटाइएपछि आफू बिदामा बसेको र सोको जनाउ गापा प्रमुखलाई गराएको बताएका छन्।
गापाका केही जनप्रतिनिधिले ठाकुरबाटै काम लिने गरी निमित्त बनाएको र उनलाई हटाउन नचाहेकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत मेहतालाई धम्क्याइएको स्रोतले जनाएको छ। यस सम्बन्धमा गापा प्रमुख रामप्रीत महतोसँग बुझ्दा उनले प्रमुख प्रशासकीय अधिकृतलाई केही जनप्रतिनिधिले धम्क्याएको बुझिन आएको बताए। आफूले उनलाई हाजीर हुन र काम गर्न आग्रह गरेको बताएका छन्।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us