Monday, November 30, 2020

सुरक्षित वीरगंज बनाउन सिसिटिभीको सञ्जाल

राधेश्याम पटेल, वीरगंज, १५ मङ्सिर/
सेफर वीरगंज संस्थाले वीरगंज शहरलाई आपराधिक घटनाबाट सुरक्षित पार्न करीब १ करोडको बजेट खर्च गर्ने योजना अघि बढाएको छ। वीरगंजको विभिन्न सडक, चोक, बजार क्षेत्रमा प्रशस्त सिसिटिभी क्यामेरा जडान गरी सिसिटिभी क्यामेराले निगरानी गर्ने योजना अघि बढाइको हो।

सेफर वीरगंजले सोमवार वीरगंज उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजना गरेको छलफल कार्यक्रममा  सरोकारवाला व्यक्तिहरूले वीरगंजलाई चोरी, डकैती, हत्या, अपहरणलगायत आपराधिक घटनाबाट बचाउन यस्तो योजना अघि सारेका हुन्। यस अघि सेफर वीरगंजलाई प्रदेश २ सरकारले ३५ लाखको भिडियो वाल सहयोग गर्ने बताएको थियो। जसले विभिन्न क्यामेराले खिचेको भिडियो निगरानी गर्न र प्रदर्शन गर्न सहयोग गर्छ। त्यसैगरी पर्सा क्षेत्र नं १ का सङ्घीय सांसद प्रदीप यादवले १० लाख, प्रदेश सांसद विभा यादव, करिमा बेगमले ५–५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
वीरगंज महानगरको विभिन्न वडाको करीब ८ वटा वडा कार्यालयले ३–३ लाख अर्थात् २४ लाख सहयोग पाउने आश्वासन पाएको सेफर वीरगंजका संयोजक मनोज दासले जानकारी गराए। उनले भने–“आजैको बैठकबाट करीब ८० लाखको सहयोग प्राप्त हुने निश्चित भइसकेको छ, प्रदेश सांसद ओमप्रकाश शर्मा, राजेश्वर साह तेली, रमेश कुर्मी, जन्नत अन्सारीलगायत चारजनाबाट पनि सहयोग पाउने आशा छ। यसरी करीब १ करोड खर्च गरी वीरगंजको सुरक्षा अवस्था चुस्तदुरुस्त पारिने लक्ष्य छ।’
२०६७ सालमा स्थापना भएको सेफर वीरगंजले पहिले ८२ वटा सिसिटिभि क्यामेरा सञ्चालन गरेकोमा हाल घण्टाघर, माईस्थान, गीता मन्दिर, आदर्शनगर, मकालु चोक, पूजनहोटल चोक रोड, ठाकुरराम क्षेत्र, लिंकरोड, बसपार्क, गण्डक, रजतजयन्ती चोकमा जम्मा ५२ वटा सिसिटिभी क्यामेरा मात्र सञ्चालनमा रहेको उनले जानकारी गराए।
जिल्ला प्रहरी कार्यालय, पर्साको सहजीकरणमा आयोजना भएको कार्यक्रममा सङ्घीय सांसद प्रदीप यादव, प्रदेश सांसद विभा यादव, करिमा बेगम, वीरगंज–५ का वडा अध्यक्ष प्रदीप चौरसिया, व्यवस्थित वीरगंजका संयोजक दिलीप कार्की, सेफर वीरगंजका पूर्व अध्यक्ष अमर गौतमलगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us