Tuesday, September 8, 2020

सुक्खा बन्दरगाहद्वारा १ अर्ब ८६ करोड राजस्व असुली


राधेश्याम पटेल, वीरगंज, २३ भदौ/
    श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आवको साउनमा राजस्व लक्ष्य भेटाएको छ। भन्सार विभागले भन्सार कार्यालयलाई दिएको लक्ष्यभन्दा ४.६७ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ।
    सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत साउनमा रु १ अर्ब ७८ करोड २७ लाख ८४ हजारको मासिक राजस्व लक्ष्य पाएकोमा लक्ष्यभन्दा ४.६७ प्रतिशत बढी अर्थात् रु १ अर्ब ८६ करोड ६० लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ। भन्सार कार्यालयले भन्सार महसूलतर्फ रु ९८ करोड ७ लाख ५२ हजार लक्ष्य पाएकोमा रु ८२ करोड २८ लाख २ हजार, मूअकतर्फ रु ५२ करोड २४ लाख १ हजार लक्ष्य पाएकोमा रु ९२ करोड ९९ लाख ९५ हजार, अन्तःशुल्कतर्फ रु २५ करोड ७१ लाख ५ हजार लक्ष्य पाएकोमा रु १० करोड १२ लाख ३३ हजार, सडक निर्माण दस्तुर तथा अन्य महसूल गरी कुल रु १ अर्ब ८६ करोड ६० लाख ८५ हजार राजस्व असुली भएको सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी जगदीश पूर्वेेले जानकारी गराए।
    उनले गत आवभन्दा यस आवको साउनमा राजस्व लक्ष्य कम पाएको हुनाले लक्ष्य भेटाउन सहज भएको बताए। कोरोना महामारीको कारण वीरगंज भन्सार र श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत वर्षभन्दा यस वर्ष राजस्व लक्ष्य कम पाएका छन्।
    यस बन्दरगाह भन्सारले चालू आवको १२ महीनाको लागि रु ४४ अर्ब ६३ करोड ३ लाख ६२ हजार राजस्व लक्ष्य पाएको छ। भन्सार कार्यालयले भदौमा रु ३ अर्ब १२ करोड ५७ लाख ७१ हजार, आगामी असोजमा रु ४ अर्ब ४६ करोड २६ लाख ९२ हजार, कात्तिकमा रु २ अर्ब ५ करोड ४२ लाख ८ हजार, मङ्सिरमा रु ४ अर्ब ९२ करोड २६ लाख ६४ हजार, पुसमा रु ५ अर्ब ९७ करोड ८८ लाख २५ हजार, माघमा रु ३ अर्ब ५७ करोड ५१ लाख ३० हजार, फागुनमा रु ३ अर्ब ५६ करोड ९९ लाख २० हजार, चैतमा रु ३ अर्ब ६५ करोड ८५ लाख ३५ हजार, वैशाखमा रु ५ अर्ब १ करोड २४ लाख २२ हजार, जेठमा रु ४ अर्ब १ करोड ९ लाख ४४ हजार र असारमा रु ३ अर्ब ५५ करोड ६४ लाख ६१ हजारको राजस्व लक्ष्य पाएको छ।
सुक्खा बन्दरगाह भन्सार प्रमुखको सरुवा

    श्रीसिया सुक्खा बन्दरगाह भन्सार प्रमुख उमेश श्रेष्ठको सरुवा भएको छ। उनलाई वीरगंजबाट राजस्व अनुसन्धान विभाग, ललितपुरमा सरुवा गरी पठाइएको छ।
    भन्सार प्रमुख श्रेष्ठ आज काठमाडौं गए। उनको ठाउँमा को आउनेबारे निर्णय भएको छैन।
    पछिल्लो दुई वर्षमा सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्य अनुसारको असुली गर्दै आएको थियो भने कोरोनाकालमा पछिल्लो ६ महीनामा राजस्व सङ्कलन प्रभावित भएको थियो।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us