Tuesday, September 29, 2020

मटर तस्करीको ट्रान्जिट प्वाइन्ट महोत्तरी

जलेश्वर, १३ असोज/रासस
    महोत्तरी जिल्ला विगत केही दिनदेखि नेपालबाट भारततर्फ मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ। भारतसँग करीब १४ किलोमिटर खुला सिमानाका कारण जिल्लाबाट अहिले दैनिक सयौं क्विन्टल मटर चोरी निकासी हुने गरेको छ।
    सीमामा खटिएका सशस्त्र प्रहरी सीमा सुरक्षा बल, नेपाल प्रहरीको सीमा गस्ती टोली र सशस्त्र प्रहरी राजस्व गुल्मसमेतले अहिले दैनिक नेपालबाट भारततर्फ चोरी निकासी हुने गरेको मटर जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिने गरेका छन्। ६ महीनाभन्दा लामो लकडाउनका कारण जिल्लामा अवस्थित १३ वटै भन्सार नाका बन्द रहेको अवस्थामा तस्करहरूले झोला, पोका र ठूलाठूला बोरासमेतमा राखेर वन तथा खेतको बाटो हुँदै मटर तस्करी गर्ने गरेका छन्।
    सीमानाकाका वन तथा खेतमा दैनिक मटर तस्करहरूको मेला लागेको देखिन्छ भने बाढी र वर्षाको पानीले डुबानमा पारेको स्थानबाट पनि ठूलो मात्रामा नै मटर पार हुने गरेको सीमानाकामा अवस्थित गाउँँका बासिन्दाहरूको भनाइ छ। तस्करहरूले दिनको समयमा कम गतिविधि गरे पनि रातिको बेला रातभर सीमानाकाका गाउँँहरू हुँदै मटर तस्करी गर्ने गरेको र रातभरि ओहोरदोहोर गर्ने गरेको गाउँँलेहरू बताउँछन्।
    यस विषयमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले प्रहरीले जानकारी पाएको खण्डमा कुनै पनि अवस्थामा तस्करीका सरसामान नियन्त्रणमा लिने गरेको तथा तस्करलाई समात्ने प्रयास भइरहेको बताए। सोही क्रममा अहिले दैनिक विभिन्न स्थानबाट मटर बरामद हुने गरेको उनको भनाइ छ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us