Thursday, August 20, 2020

युरिया मलको अभावः डिएपी छर्दै किसानहरू


प्रस, सेढवा, ४ भदौ/
    भदैया मन्सुली धानको बाला निस्किने र सोना मन्सुलीको गोभा आउने समयमा रासायनिक मलको अभाव कायम नै रहेको छ।
    जीराभवानी गाउँपालिका–१ शान्तिनगरका रविमोहन सापकोटा युरिया मल खरीदको लागि दर्जनौं पसलमा चहारे पनि मल पाएनन्। युरिया मलको अभाव भएपछि उनले डिएपी मल धानमा छरेका छन्। युरिया मलको अभावले गर्दा डिएपी मलमा जिङ्क र श्रीराम फोर्जा मिसाइ बालीमा छरेको किसान सापकोटाले बताए।
    रु १५ प्रतिकिलो पर्ने भारतीय युरिया मल अहिले रु ४० प्रतिकिलोको दरमा बिक्री भइरहेको भएपनि पाउन मुश्किल भएको किसानहरूले गुनासो गरेका छन्।
    पटेर्वासुगौली गाउँपालिका–२ बेलवाका किसान रामपूजन चौधरीले बालीमा छर्न एक महीनादेखि मल खोज्दै हिंडेको तर हालसम्म नपाएको बताए। खेतमा मल नछरेको कारण बाली पहेंलो भएको उनले दुःखेसो गरे। युरिया मल अभावको कारण धान उत्पादनमा निकै गिरावट हुने बताउँदै उनले आगामी एक वर्ष कसरी जहानको पेट पाल्ने भन्ने कुरामा चिन्तित छन्।
    कतिपय किसानले ४० रुपैयाँ प्रतिकिलोको युरिया छर्नुभन्दा ४५ रुपैयाँ प्रतिकिलोमा पाइने डिएपी रासायनिक मल प्रयोग गर्न थालेका छन्। भारतबाट आउने युरिया गुणस्तरहीन भएको भन्दै किसानहरूले बालीमा दोस्रोपटक युरिया मलको साटो डिएपी छर्न थालेका छन्।
    जीराभवानी गापा–२ सेढवाका किसान सन्तोष महतोले भारतीय युरिया मल प्रयोग गर्दा बाली हरियो हुनुको सट्टा रातो हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us