Sunday, August 2, 2020

दुईजनाको शङ्कास्पद मृत्यु

राधेश्याम पटेल, परवानीपुर, १८ साउन/
    वीरगंजमा थप दुर्ईजना पुरुषको शङ्कास्पद मृत्यु भएको छ।
    मृत्यु हुनेमा वीरगंज–१६ गणेशटोलमा बसोवास गर्ने अविवाहित ६५ वर्षीय पुरूष रहेका छन्। उनको शनिवार दिउँसो गणेशटोलमैं रहेको आफ्नै निवासमा मृत्यु भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
    उनको घरमा परिवारका अन्य कोही सदस्य नबस्ने गरेको र एक महीनाअघि उनी भारतको दिल्लीबाट वीरगंज फर्केका थिए। घरमैं बसिरहेको अवस्थामा उनको स्वास्थ्यमा गडबडी भई उपचारको अभावमा मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको पर्सा प्रहरीका प्रवक्ता प्रनाउ मनोजीत कुँवरले जानकारी गराए। प्रनाउ कुँवरका अनुसार उनको स्वाब सङ्कलन हिजै भइसकेको र सम्भवतः आइतवार रातिसम्म रिपोर्ट आउनेछ।
    त्यसैगरी, वीरगंज–१५ भिस्वा क्षेत्रको जिल्ला आयुर्वेद कार्यालयनजीक पनि एकजना २३ वर्षीय युवकको शव शनिवार अपराह्न भेटिएको थियो। बाराका बासिन्दा भई डेरामा बसी दैनिक ज्यालादारीमा काम गर्दै आएका ती युवकको मृत्युको कारण अत्यधिक मदिरासेवन हुन सक्ने प्रहरीको ठम्याइ छ। तर पनि उनको मृत्यु कोरोना सङ्क्रमणबाट भएको हो वा होइन यकीन गर्न उनको स्वाब सङ्कलन गरी परीक्षणको लागि नारायणी प्रयोगशालामा पठाइसकिएको प्रनाउ कुँवरले बताए।
    “जहाँ युवकको लाश भेटिएको थियो, त्यहाँ उनको दाजुको घर पनि छ, दैनिक ज्यालादारी गर्ने उनी सधैं मदिरासेवन गर्थे, उनी अविवाहित हुन्, पिसिआर रिपोर्ट आएपछि मात्र मृत्युको कारण कोरोना हो वा मदिरासेवन भन्न सकिन्छ,” प्रनाउ कुँवरले भने।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us