Sunday, August 2, 2020

निषेधाज्ञामा रक्त सञ्चार केन्द्रमा रगतको माग घट्यो

प्रस, वीरगंज, १८ साउन/
    कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले साउन १० गतेदेखि वीरगंज महानगरपालिकामा निषेधाज्ञा जारी गरेपछि रक्त सञ्चार केन्द्र वीरगंजमा रगतको माग घटेको छ।
    कोरोना सङ्क्रमण समुदायमा फैलिएको र कोरोनाबाट चिकित्सक, स्वास्थ्यकर्मीहरू पनि सङ्क्रमित भएपछि प्रशासनको निषेधाज्ञासँगै चिकित्सक सङ्घले आकस्मिक सेवाबाहेक सबै सरकारी, निजी अस्पताल, नर्सिङ होम, क्लिनिकका सेवा बन्द गर्ने निर्देशन गरेको थियो।
    अस्पतालहरू बन्द भएपछि शल्यक्रिया ठप्प भएको र रगतको माग घटेको नेपाल रेडक्रस सोसाइटी, पर्साका कार्यालय प्रमुख उदयराज शर्माले बताए। केन्द्रमा अहिले दैनिक १० पिन्टभन्दा बढी रगतको माग छैन। केन्द्रमा रगतको अभाव नभएको प्रमुख शर्माले बताए। उनले माग घटेको र रगत सञ्चित रहेकोले अभाव नहुने बताए।
    अहिले केन्द्रमा ‘ए’ पोजेटिभबाहेक अरू रक्त समूहका रगत सञ्चित रहेको प्रमुख शर्माले बताए। पछिल्लो समयमा ‘ए’ पोजेटिभको माग बढेको र सोको मात्र अभाव भएको उनले बताए। रगतको माग घटेसँगै रक्तदान कार्यक्रम पनि स्थगित भएका छन्।
    निषेधाज्ञाले गर्दा घोषित रक्तदान कार्यक्रम स्थगित गरिएको उनले बताए। निषेधाज्ञा र कोरोनाको सङ्क्रमण बढेसँगै रक्तदान गर्ने संस्थाहरूले घोषित कार्यक्रमहरू स्थगित गरेको प्रमुख शर्माले बताए।
    निषेधाज्ञाअघि रगतको माग बढेको थियो र अभाव पनि भएको थियो। सामान्य बेला दैनिक ३० देखि ५० पिन्टसम्म रगतको माग हुने गरेकोमा अहिले १० पिन्टभन्दा कमै रगत खपत भइरहेको छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us