Monday, August 24, 2020

धानबालीमा गबारो कीराको प्रकोप, किसानहरू चिन्तित


बलिराम शुक्ला, बिरुवागुठी, ८ भदौ/
    धानबालीमा गबारो कीराको प्रकोप देखा परेपछि किसानहरू चिन्तित भएका छन्।
    पर्सागढी नगरपालिका, पटेर्वासुगौली, सखुवाप्रसौनीलगायतका गाउँपालिकामा किसानले लगाएको धानबालीमा यस वर्ष गबारो कीराको प्रकोपको कारण धानबाली नष्ट हुँदा किसान चिन्तित भएका हुन्।
    गबारो कीराले धानको गुबो काट्ने गरेको कारण गुबो गुलाबी/रातो भई सुक्ने गरेको किसानहरू बताउँछन्। कोरोना महामारीले सताइरहेको अवस्थामा धानबालीमा कीरा देखिनुले यस वर्ष धानको उत्पादन कम हुने चिन्ताले किसानहरूलाई सताएको छ।
    कोरोना महामारी, निषेधाज्ञाका कारण नगरपालिका तथा गाउँपालिकाहरू बन्द हुँदा कृषि शाखाका प्राविधिकसँग सुझाव लिन नपाएका किसानहरूले आफूखुशी छरेको विषादीले काम नगरेको र थप आर्थिक भारसमेत बढेको पर्सागढी नगरपालिका–३ का किसान नन्दलाल चौधरीले बताए।
    नगरपालिका तथा गाउँपालिका कृषि प्राविधिकहरू किसानका गाउँँ/टोलमा गई धानबालीमा देखिएको रोग/कीरा न्यूनीकरणको लागि किसानलाई जानकारी गराउनुपर्ने नारायणप्रसाद दाहालले बताए।
    पर्सागढी नगरपालिका कृषि शाखा प्रमुख खड्गप्रसाद खत्रीका अनुसार नगरपालिका बन्द भएको कारण किसानहरूलाई अहिलेको रोग/कीरा सम्बन्धमा सुझाव दिन नसकिएको र अहिले देखिएको गबारो कीरा नियन्त्रणको लागि प्रकाशको पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षित गरी मार्ने र विषादी प्रयोग गर्नुपरेमा कारटाप हाइड्रोक्लोराइड २ जिआर वा फिप्रोनिल ०.३ जिआर १.२५ किलो प्रतिकट्ठाको दरले युरिया मलमा मिसाइ छर्न उनले सुझाव दिएका छन्।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us