Saturday, August 1, 2020

नारायणी अस्पताल पुनः कोभिड अस्पताल हुँदै, वीरगंज हेल्थकेयरलाई कोभिड बनाउन सम्झौता

 
प्रस, वीरगंज, १७ साउन/
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीरगंजमा समुदायस्तरमा फैलिरहेको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वीरगंजमा अस्थायी कोभिड गण्डक अस्पतालबाहेक थप दुई अस्पताललाई कोभिड अस्पताल बनाइ सङ्क्रमितको उपचार शुरू गर्न निर्देशन दिएको छ।
    नारायणी अस्तपालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले मन्त्रालयको नारायणीलाई कोभिड अस्पताल बनाउने विषयमा पत्र आइसकेकोले आन्तरिक तयारीमा जुटेको बताए। उनले नारायणी अस्पताललाई पुनः कोभिड अस्पताल बनाउने सरकारको निर्देशन अनुसार तयारी शुरू भइसकेको बताए।
जनशक्तिको अभाव
    नारायणी अस्पतालका साथै वीरगंजमा सञ्चालित गण्डक र अब सञ्चालन हुन लागेको वीरगंज हेल्थकेयरको व्यवस्थापकीय जिम्मेवारी बढेकोले जनशक्ति अभाव देखिएको छ। नारायणी अस्पतालमा कोभिड अस्पताल सञ्चालन गर्नुपर्ने र थप एकसहित दुई निजी कोभिड अस्पतालको व्यवस्थापकीय जिम्मेवारी वहन गर्नुपर्ने हुँदा नारायणी अस्पताललाई जनशक्तिको अभाव भएको हो। मेसु डा उपाध्यायले जनशक्तिमध्ये आधा दर्जन चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेको अवस्थामा सञ्चालनको दायित्व चुनौतीपूर्ण भएको बताए। उनले सङ्क्रमितहरू १४ दिनसम्म आइसोलेट हुनुपर्ने अवस्था भएकोले तीनवटा कोभिड अस्पताल सञ्चालनमा समस्या हुने बताए।
वीरगंज हेल्थकेयरसँग सम्झौता
    निजी अस्पताललाई कोभिड अस्पताल बनाउने सन्दर्भमा शनिवार नारायणी अस्पताल र वीरगंज हेल्थकेयरबीच सम्झौता भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीरगंज हेल्थकेयरलाई सरकारले तोकेको मापदण्ड अनुसार कोभिड अस्पताल बनाउन स्वीकृति प्रदान गरेपछि आज सम्झौता भएको वीरगंज हेल्थकेयरका सञ्चालक डा अबुलेस अन्सारीले बताए। उनले कोभिड–१९ सङ्कट व्यवस्थापन समिति, पर्सा साक्षी रहेर आफू र नारायणी अस्पतालका मेसु डा उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरेको प्रतीकलाई बताए।
    वीरगंज हेल्थकेयरमा कोभिड अस्पताल सञ्चालन गर्ने अब सम्पूर्ण जिम्मेवारी नारायणी अस्पतालको भएको उनको भनाइ छ।
विकास समितिलाई थाहा छैन

    नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभले अस्पताललाई कोभिड बनाउने विषयमा आफूलाई जानकारी नभएको बताएका छन्।
    उनले बिहान मेसु डा उपाध्यायसँग कुराकानी भएपनि यसबारे जानकारी नगराएको बताए। विकास समितिलाई जानकारी नगराएर कोभिड अस्पताल सञ्चालन हुन नसक्ने उनले प्रतिक्रिया दिएका छन्।
राजनीतिक दलको विरोध
    यसैबीच, पर्साका राजनीतिक दलका नेताहरूले नारायणी अस्पताललाई पुनः कोभिड अस्पताल बनाउने निर्णयको विरोध गरेका छन्।
    भर्खरै वीरगंज उद्योग वाणिज्य सङ्घमा भएको सर्वपक्षीय बैठकले नारायणी अस्पतालको बन्द सेवा सुचारु गर्न माग गरिएको थियो। नेकपा, नेपाली काङ्ग्रेस, जसपा, नागरिक समूहका अगुवा, उद्योग वाणिज्य सङ्घका प्रतिनिधिसमेतको भेलाले अस्पतालले हालै आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरेकोमा अविलम्ब सुचारु गर्न माग गरेको थियो।
    सर्वपक्षीय भेलाको निर्णयविरुद्ध मन्त्रालयले गरेको निर्णयको विरोध भएको छ। नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेपाली काङ्ग्रेस पर्साका अध्यक्ष अजय द्विवेदी र जसपा, पर्साका अध्यक्ष रामनरेश यादवले नारायणीलाई कोभिड अस्पताल बनाउने निर्णयको विरोध गरेका छन्।
अस्पतालको सेवा शुरू गर्न उच्च अदालतको आदेश
    उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले शुक्रवार १५ दिनभित्र नारायणी अस्पतालमा बन्द रहेका सेवा शुरू गर्न निर्देशनात्मक आदेश जारी गरेको छ। अधिवक्ता सुधीर कर्णले दायर गरेको रीटमाथि न्यायाधीश डिल्लीराज आचार्यको इजलासले कोभिड सङ्क्रमणबाहेकका अन्य बिमारीको उपचारको व्यवस्था अदालतको आदेश प्राप्त मितिले बढीमा १५ दिनभित्र शुरू गर्न भनिएको छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us