Saturday, August 1, 2020

साउने त्रयोदशीमा जीराभवानीको बट्टेश्वरनाथ मन्दिरमा भीड




प्रस, सेढवा, १७ साउन/
    शनिवार साउन शुक्ल त्रयोदशीका दिन पर्सा जिल्लाको जीराभवानी गाउँपालिकामा रहेको जीराभवानी मन्दिरमा साउनको जल चढाउन काँवरियाहरूको भीड लागेको थियो।
    जीराभवानी मन्दिरस्थित बट्टेश्वरनाथमा काँवरियाहरूले जल चढाएका थिए। नवलपरासीको त्रिवेणीधामबाट नारायणी नदीको जल भरेर काँवरियाहरूले बट्टेश्वरनाथ मन्दिरमा जल चढाएका थिए। सरकारले लकडाउन खुकुलो गरे पनि मन्दिर, मस्जिद बन्द राखेको बेलामा आज साउनको जल चढाउनेहरू ठूलो सङ्ख्यामा जीराभवानी मन्दिरमा देखा परे। करीब सात सयजना काँवरिया तथा स्थानीयहरू मन्दिरमा सहभागी भएको बताइएको छ।
    लकडाउनमा ठूलो सङ्ख्यामा उपस्थित भएर मन्दिरमा पूजा भएको यो पहिलो अवसर हो। साउने सोमवार तिथि अनुसार सम्पन्न हुँदा पनि यतिविघ्न भीड थिएन। अहिले मिति अनुसारको दुईवटा सोमवार बाँकी छ। हिजो साँझ जल भर्नको लागि बालबालिका, युवती, वयस्क, वृद्ध सबैथरीका काँवरिया जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली गापाबाट त्रिवेणीधाम पुगेका थिए। आज उनीहरूले जल ल्याएर चढाएका हुन्। जल चढाउने क्रममा मास्क लगाइएको र सामाजिक दूरी कायम गरिएको स्थानीयले दाबी गरेका छन्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us