Sunday, August 2, 2020

निषेधाज्ञापछि वीरगंजका होटलहरू खोल्ने तयारी


प्रस, वीरगंज, १८ साउन/
    वीरगंजका होटलहरू निषेधाज्ञापछि खुल्ने तयारीमा छन्। पर्यटन तथा होटल व्यवसायी सङ्घ, पर्साका अध्यक्ष हरि पन्तले सरकारले साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन खुला गरे पनि वीरगंज महानगरमा साउन १० गतेदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू भएको कारण होटल व्यवसाय सञ्चालनमा आउन नसकेको बताए।
    उनले वीरगंज महानगरमा ६० वटा साना–ठूला होटल सञ्चालनमा रहेका र त्यहाँ एक हजारको हाराहारीमा कामदार रहेको बताए। लकडाउनको कारण चैत ११ गतेदेखि बन्द रहेको होटल व्यवसायमा कार्यरत कामदारहरूलाई सञ्चालकहरूसँगको सहकार्यमा पारिश्रमिक दिइरहेको उनले बताए। होटल व्यवसायको अवस्थाबारेमा सञ्चालक र कामदार दुवै जानकार भएकाले परिस्थितिको आकलन गरेर समझदारीमा पारिश्रमिक लिने–दिने काम भएको अध्यक्ष पन्तले बताए।
    उनले साउन १५ गतेदेखि होटल सञ्चालनको लागि वीरगंजका व्यवसायीहरूले आआआफ्नो होटल विसङ्क्रमित गरेर तयारी अवस्थामा राखेका र निषेधाज्ञा हट्नासाथ सञ्चालनमा आउने बताए। उनले ठूला लगानीका होटलहरू निषेधाज्ञापछि पनि सञ्चालनमा आउने सम्भावना कम रहेको बताएका छन्। राष्ट्रिय, अन्तर्राष्ट्रिय हवाई उडान बन्द रहेको, एक जिल्लाबाट अर्को जिल्लामा सवारी सञ्चालन नभएको र सीमानाका सिल भएको अवस्थामा होटल व्यवसाय सञ्चालन गरेर पनि थप घाटा बेहोर्नुपर्ने हुनाले ठूला होटलहरू सञ्चालनमा आउने सम्भावना नरहेको उनले बताए। ठूला होटलबाहेक साना होटलहरू सञ्चालनको तयारीमा रहेको उनले बताएका छन्। निषेधाज्ञापछि परीक्षणका लागि होटलहरू सञ्चालन गर्ने र सोको प्रतिफल राम्रो देखिएपछि ठूला होटलहरू पनि सञ्चालन हुन सक्ने अध्यक्ष पन्तले बताए।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us