Sunday, August 2, 2020

बदलिंदो परिवेशमा शिक्षा

 - अनन्तकुमार लाल दास
    २१औं शताब्दीको वैश्विक अर्थव्यवस्था यस्तो वातावरणमा उन्नति गर्न सक्छ, जुन रचनात्मकता एवं कल्पना, विवेचनात्मक सोच र समस्या समाधानसँग सम्बन्धित सीपमा आधारित होस्। अनुसन्धानमूलक विश्लेषण शिक्षा र आर्थिक उन्नतिबीच सुदृढ र सकारात्मक सम्बन्ध हुन्छ। यदि विद्यालय जाने केटाकेटीहरूलाई वास्तविक दुनियाँमा आत्मविश्वासका साथ जुध्ने शिक्षा दिइयो भने प्राप्त सामथ्र्यको उपयोग आफ्नोलागि गर्न सक्षम हुन्छन्। हालसम्म सरकारले शिक्षाको प्रचारप्रसारमाथि मात्र ध्यान दिएको छ। जबकि आजको आवश्यकता भनेको शिक्षाको गुणस्तरीयतामाथि पनि ध्यान दिनु हो। वर्तमानमा प्रदेश सरकारले पनि सङ्घ सरकारको साझेदारीमा शिक्षाको गुणस्तरीयतामा ध्यान दिनु आवश्यक छ। यसका लागि सङ्घ र प्रदेश सरकारलगायत स्थानीय सरकारले समेत नयाँ व्यापक दृष्टिकोण र रणनीति बनाउनुपर्ने खाँचो छ।

    शिक्षाको उद्देश्य विद्यार्थीहरूमा राम्रो संस्कार विकसित गर्नु र आर्थिक दृष्टिले आत्मनिर्भर बनाउनु हो। विद्यालयमा भर्ना भएपछि एउटा विद्यार्थीले पुस्तकबाट, शिक्षकसँग, विद्यालयको वातावरण र साथीहरूसँग थुप्रै कुरा सिक्छ। शिक्षाको उद्देश्य न अरूमाथि आफ्नो विचार थुपार्नु हो, न मानिसलाई ‘आदेश’ दिनु हो। शिक्षाको उद्देश्य कुनै प्रकारको दण्ड वा कष्ट दिनु पनि होइन। शिक्षा ‘दण्ड’ भएपछि त्यसले विद्यार्थीहरूमा अनुशासनहीनता बढाउँछ र पढ्न छाडेर ‘आन्दोलन’ र ‘हडताल’ गर्न प्रेरित हुन्छन्। शिक्षाको उद्देश्य किताबी कीरा पैदा गर्नु नभई देशको लागि श्रेष्ठ नागरिक तयार गर्नु हो।
    वास्तविक शिक्षाले व्यक्तिलाई सबैखाले अन्धकारयुक्त बन्धनबाट मुक्त गर्दछ। वास्तविक शिक्षाले मानिसको विवेक जागृत गरेर उसलाई बुद्धिमान बनाउँछ। शिक्षित मानिस आफ्नो खुट्टामा उभिएर गरीबीजन्य दुःख–कष्टबाट मुक्त हुन्छन्। मानव मनमा स्थित कैयन दुराग्रह र हठ शिक्षाको प्रभावले समाप्त हुन्छ। शिक्षाको लक्ष्य व्यक्तिको सम्पूर्ण विकास गर्नु हो। शिक्षाले सबै जात, वर्ग र समुदायसँग प्रेम गर्न सिकाउँछ। विडम्बना के छ भने आजका केटाकेटीहरूमा शिक्षाबाट केही नयाँ गर्ने क्षमता विकसित भइरहेको छैन। केही नयाँ गर्नका लागि चुनौतीसँग जुध्नुपर्छ। अपवादबाहेक यस्तो क्षमता आजका विद्यार्थीमा देखा परिरहेको छैन।
    शिक्षाबाट मानिसलाई ज्ञान, विवेक र समझदारी प्राप्त हुन्छ, जसको आवश्यकता जीवनको हरेक पाइलामा महसूस गर्न सकिन्छ। दैनिक जीवनको हरेक क्रियाकलापमा शिक्षाले हामीलाई बाटो देखाउँछ। शिक्षाको आवश्यकता आज समाजको प्रत्येक वर्ग र व्यक्तिलाई छ। शिक्षित भएपछि मानिस अन्यायको सामना गर्न सक्षम हुन्छ। समाजलाई अझ राम्रो बनाउन र राष्ट्रलाई समृद्ध बनाउन आज विशेष शिक्षाको आवश्यकता छ। अहिले हाम्रो राष्ट्र र समाजको स्थिति–परिस्थिति सन्तोषजनक छैन। आज हाम्रो राष्ट्र आर्थिक दुर्बलताको शिकार भएको छ। समाजमा विघटनकारी शक्तिको वर्चस्व छ। धेरै मानिस अहिले पनि शिक्षित हुन नसकेको अवस्था छ। उनीहरू अन्धविश्वास र भ्रमको चपेटामा छन्। असामाजिक तत्वले समाजलाई भ्रमित गरेर हिंसा गर्न उत्तेजित गरिरहेको छ। वास्तविक शिक्षाको अभावमा नेताहरूले विद्यार्थीको क्षमतालाई दुरुपयोग गरिरहेका छन्।
    अहिले शिक्षामा परिमार्जनको खाँचो छ। हालको घोकन्ते शिक्षाको कुनै महत्व छैन, किनभने हामी जे पढ्छौं, त्यो दीर्घकालसम्म स्मृतिमा रहँदैन। उदाहरणका लागि हामीले पढेका छौं, भ्रष्टाचार गर्नुहुँदैन, तर भ्रष्टाचारमा लिप्त छौं, आमाबुबाको आदर गर्नुपर्छ तर गर्दैनौं, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्छ तर गर्दैनौं, कोरोनाकालमा मास्क लगाएर घरबाहिर निस्कनुपर्छ, भीड गर्नुहुँदैन तर हामी त्यही गरिराखेका छौं, ट्राफिक नियम थाहा छ तर पालना गर्दैनौं आदि। अङ्क वा ग्रेडको व्यावहारिक जीवनमा कुनै महत्व हुँदैन। महत्व त जीवनमा आउने समस्याको सहज र सरल समाधान गर्न सक्नुमा छ। यस कारण वर्तमानमा थोरै सैद्धान्तिक र बढी प्रयोगात्मक शिक्षा दिनु आवश्यक छ, किनभने आफैं गरेर प्राप्त भएको शिक्षा सधैं हाम्रो स्मरणमा रहन्छ। सँगसँगै यसले हाम्रो काल्पनिक उडानलाई पनि सही दिशा प्रदान गर्छ। आफ्नो समस्याको समाधान आफैं कसरी गर्ने भन्ने सिकाउँछ।
    हामीले शिक्षालाई जीवनमा चाहिने कुरासँग गाँस्दैनौं भने यो शिक्षा हाम्रो कुनै काम लाग्दैन। उदाहरणका लागि आज हामीलाई अमेरिकाको पहिलो राष्ट्रपति को हो भन्ने थाहा छ तर हाम्रो पहिलो पूर्वजको थिए र उनले के–के गरेका थिए भन्ने थाहा छैन। आज हामी सबैले प्राप्त गरेको शिक्षामध्ये वर्तमानमा के–के काम लागिरहेको छ भन्ने कुराको विश्लेषण गर्नु आवश्यक छ। यस प्रकारको विश्लेषणले वर्तमान शिक्षामा कस्तो परिमार्जन गर्नुपर्छ भन्ने कुरा छर्लङ्ग हुन्छ। यसविपरीत के पनि सोच्नुपर्छ भने प्राप्त शिक्षामध्ये कति कुरा हामीलाई स्मरण छ र किन ? यसले के देखाउँछ भने जुन कुरा हामीलाई प्रतिदिन काम लाग्छ, त्यही मात्र स्मृतिमा रहन्छ र जुन काम लाग्दैन त्यो विस्मृत हुन्छ।
    अर्कोतिर ध्यान दिनुपर्ने कुरो के हो भने जहाँ केटाकेटीहरू विद्यालय शिक्षाको केन्द्रमा हुन्छन्, त्यहीं उनीहरूलाई ज्ञान प्रदान गर्न शिक्षकको महत्वपूर्ण भूमिका खेल्छ। तर हाम्रो देशमा विषयगत शिक्षकको अभाव छ र यसतर्फ सरकारले भाषणबाहेक कुनै ध्यान दिएको पाइएको छैन। शिक्षामा ध्यान नदिएको कुरा बजेटले पनि देखाएको छ। ‘सबैको लागि शिक्षा’ अभियान पनि बालुवामा पानी हालेजस्तो छ। रोजगारोन्मुख शिक्षा भनाइमा मात्र सीमित छ, किनभने यसले रोजगार दिन सकिरहेको छैन। आज अध्यापन क्षेत्रमा प्रतिभाशाली विद्यार्थीलाई आकर्षित गर्नुपर्ने खाँचो छ। विद्यालय व्यवस्थापनमा सुधारको खाँचो छ। राष्ट्रनिर्माणमा इमानदारीपूर्वक रुचि हुने युवाको ध्यान आकृष्ट गर्न नयाँ कार्यक्रम तयार गरी व्यापक प्रचारप्रसारको खाँचो छ। कक्षा कोठामा प्रयोग हुने विधि, ज्ञानको बुझाइ प्रस्ट हुने विद्यार्थी–शिक्षक संवादलाई परिमार्जित र विद्यार्थीहरूबीच विश्लेषण, सृजनशीलता र समस्या समाधान गर्ने गतिविधिमा अत्यधिक ध्यान दिनुपर्ने खाँचो छ। अनिमात्र राष्ट्रिय शैक्षिक विकास सम्भव हुन्छ।
    विद्यालयहरूमा दिइने अत्यधिक गृहकार्यले विद्यार्थीहरूलाई ‘गधा’ बनाइराखेको छ। गधा त्यो हो, जसले बोझा त वहन गर्छ तर उसको आफ्नो मानसिक विकास हुँदैन। आज पढाइको बोझले विद्यार्थीहरूको कल्पनाशीलता र सृजनशीलता लुप्त भइरहेको छ। कक्षाकार्य, गृहकार्य, ट्युशनकार्य सँगसँगै परिवार र समाजको बेग्लाबेग्लै चाहनाको कार्य गरेर पनि जीवनमा केही गर्ने क्षमता उसमा उत्पन्न हुँदैन भने त्यस्तो शिक्षाको कुनै काम छैन। ज्यादा घोकेर वा गृहकार्य गरेर होइन, बढी स्वतन्त्र चिन्तन गरेर मात्र वैज्ञानिक बन्न सकिन्छ। उत्तीर्ण वा अनुत्तीर्णसँग जीवनको कुनै सम्बन्ध छैन। उदाहरणका लागि न्यूटन परीक्षामा अनुत्तीर्ण भए, विद्यालयबाट निकालिए तर ठूलो वैज्ञानिक बने। तसर्थ समाज र राष्ट्र निर्माणका लागि स्वतन्त्र चिन्तन आवश्यक छ। हालको शैक्षिक संरचनामा केटाकेटीहरू जे बन्न चाहन्छन्, त्यो बन्न सकिरहेका छैनन्। आज शिक्षालाई कल्पनाशीलता र सिर्जनशीलतासँग जोड्नु आवश्यक छ। आज जीवन जिउने शिक्षाको आवश्यकता छ, डिग्रीको होइन। ज्ञानको महत्व बुझ्ने शिक्षा आवश्यक छ। देश विकासको लागि विद्यार्थीलाई ‘मालिक’ र ‘वैज्ञानिक’ बनाउने शिक्षाको खाँचो छ। यस अभियानमा तीनवटै सरकार, नागरिक समाज, सङ्घ–सङ्गठन, आमाबुबा, अभिभावक, समाजका सदस्यसँगै केटाकेटी स्वयम्को प्रयास आवश्यक महसूस गरिएको छ। 
    यस कारण यदि देशलाई समृद्ध र विकसित बनाउनु छ भने वर्तमान शिक्षाको स्वरूपमा परिवर्तन गर्नैपर्ने हुन्छ। यदि देशका युवामा बहुआयामिक व्यक्तित्व छ भने देश निर्माणमा अग्रणी भूमिका निर्वाह हुन सक्छ। यसका लागि आधारभूतदेखि उच्च शिक्षासम्मको पाठ्यक्रम आफ्नो परिवेश अनुसार परिमार्जन गर्नु आवश्यक छ। मानवीय क्षमता बढाउने कर्मप्रधान शिक्षा आजको आवश्यकता हो। देशको राजनीतिमा शिक्षालाई ठूलो मुद्दा बनाउनुपर्छ। देशको सोचमा शिक्षालाई सर्वोपरि मुद्दा बनाउनुपर्छ। आज खाँचो छ, यस कुरामा व्यापक बहस होस्। त्यहाँ राजनीतिक दलहरू पनि उपस्थित होऊन् र त्यसै मञ्चबाट के घोषणा गरियोस्– “यदि हाम्रो दलले सरकार बनायो भने शिक्षालाई यहाँसम्म पु–याउछौं।” अर्थात् दलहरूले ‘शिक्षा’लाई चुनावी मुद्दा बनाए मात्र हामीले खोजेको, चाहेको शिक्षा हासिल हुन सक्छ र देश समृद्ध र विकसित हुन सक्छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us