Saturday, August 1, 2020

बारामा आइतवारदेखि निषेधाज्ञा


प्रस, निजगढ, १७ साउन/
    बारामा भोलि आइतवार बिहानदेखि निषेधाज्ञा जारी हुने भएको छ। छिमेकी जिल्ला पर्सामा नगरप्रमुख, सांसदलगायत समुदायमा कोरोना सङ्क्रमण फैलिएपछि बारामा पनि सङ्क्रमण बढ्न सक्ने भन्दै शुक्रवार बसेको जिल्ला सुरक्षा समिति, बाराको बैठकले सो निर्णय गरेको हो।
    जिल्ला प्रशासन कार्यालय, बाराले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम लागू हुनेगरी जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।
    आवश्यक कामबाहेक नागरिकहरू भेला हुन तथा घरबाहिर निस्कन नहुने, पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्गमा पर्ने सबै स्थानीय तह, कलैया बजार क्षेत्र, पथलैया—वीरगंज औद्योगिक कोरिडोरमा पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियारपुरलगायत भीड हुने ग्रामीण क्षेत्र पूर्णरूपमा बन्द गर्ने, अत्यावश्यक खाद्यान्न, औषधि, ग्यास, दूधबाहेक सम्पूर्ण पसल, हाटबजार बन्द गर्ने, स्वास्थ्य सेवा, विद्युत्, सञ्चार, खानेपानी, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, औषधि, एम्बुलेन्सबाहेक अन्य सवारीसाधनहरूलाई रोक लगाइएको छ। धार्मिक, सांस्कृतिक, सामाजिक कार्य विवाह, व्रतवन्धमा भेला, भोजभतेर गर्न गराउन नपाइने, उद्योग–व्यवसायीहरूले कलकारखाना सञ्चालन गर्दा कामदारहरू आफ्नो उद्योग परिसरभित्रको क्वाटरमा राखी स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर मात्र सञ्चालन गर्नुपर्ने, भारतसँग जोडिएका सीमानाकाहरूमा आवतजावत पूर्ण बन्द गर्ने प्रशासनले जनाएको छ।
    बारामा हालसम्म १९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने जिल्लाको उमजनमा ७२ वर्षीय वृद्ध, निजगढमा ५ वर्षीय एक बालक र फेटामा ६५ वर्षीय वृद्धा गरी तीनजनाको मृत्यु भइसकेको छ। हाल कलैया उपमहानगरपालिकामा १४ जना, वीरगंजमा २ जना र देवताल गाउँपालिकामा २ जना गरी १८ जना आइसोलेशनमा भर्ना छन्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us