Sunday, August 2, 2020

निर्विकल्प उपाय: आफैं सजग बनौं

    सरकारको अङ्ग प्रशासनले कोभिड–१९ समुदायमा फैलिएको मानोस् कि नमानोस्, यथार्थमा कोभिड समाज–सञ्जालमा प्रवेश गरिसकेको छ। वीरगंजमा बितेको हप्तामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या मात्र बढेको  छैन, मृतकको सङ्ख्या पनि ह्वात्तै बढेको छ। यस्तो हुनुमा सरकारको सोच र कारबाई प्रतिकूल हुनु त हो नै, नागरिक समाज पनि सजग नभएको स्पष्ट छ। अब त सरकारले केही गर्ला भन्ने आस नै समाप्त भइसकेको छ, नागरिक समाज स्वयम् आफ्नो सुरक्षाप्रति सजग हुनुपर्छ। सरकारमा त यति पनि साहस छैन कि जनस्तरमा सङ्क्रमण भए–नभएको परीक्षण गर्न सकोस्। परीक्षण भयो भने सङ्क्रमितको सङ्ख्या अकल्पनीयरूपमा बढ्नेछ। तिनको उपचार असम्भव हुनेछ। हुनत यसको कुनै उपचार छैन, आइसोलेशन मात्र विकल्प छ, जसको प्रबन्धसम्म सरकारले गर्न सक्दैन। यसो त आइसोलेशनका लागि वीरगंजका होटलहरूले सुविधा उपलब्ध गराउने वचन दिएका छन्, सरकार त्यसमा पनि राजी छैन। कारण एउटै छ, सरकारको जनउत्तरदायित्वको पोल खुल्छ। प्रशासनले कोठे बैठकको जाँगर त्यागेर समुदायमा आउनुपर्छ।
    परीक्षणको दायरा फराकिलो नपार्दा सङ्क्रमितको सङ्ख्या बढेको देखिंदैन। अनावश्यक र असमयको लकडाउनले सङ्क्रमण व्यापक नभएको तथ्याङ्क प्रस्तुत गर्न सरकारलाई सजिलो भएको छ। अर्को कुरा राष्ट्रको ढुकुटी महामारी रोकथाममा खर्च भएको देखाउने तर वाञ्छित कार्य नगर्ने सुविधा सरकारले पाएको छ। आपत्कालका बेला व्यक्तिको साधन पनि सरकारले उपभोग गर्न पाउने दुरभिसन्धियुक्त अवस्थाबाट सरकार जोगिएको छ। किनकि यस महामारीको बेला अन्यान्य रोगीबाट अवाञ्छित फाइदा कमाउने अवसर सरकारका कृपापात्रहरूले पाएका छन् र तिनै त्यस्ता साधनले सम्पन्न छन्। सरकारले एउटा तीरले दुई शिकार होइन, अनेक शिकार गरिरहेको छ। कि श्रीराममा त्यो शक्ति थियो, किष्किन्धमा एउटै तीरले सातवटा ताडको रूखको छेदन गरेका थिए कि अहिले सरकारले, सामथ्र्य भएर होइन अवसरको आग्रहले, त्यो शक्ति प्राप्त गरेको छ। सङ्क्रमित बढेको छैन, आइसोलेशनको थप व्यवस्था गर्नुपरेको छैन, आइसोलेशन स्थल थप्नुपरेको छैन, खर्च गर्नुपरेको छैन, जनतालाई दिग्भ्रमित पार्न लकडाउन गरिदियो, दूरदर्शिताको माला पहि–यो, सङ्क्रमण बढ्न थाल्यो, निषेधाज्ञा लगाइदियो,  अकर्मण्य सरकार यतिमैं सन्तुष्ट छ।
    जनता आफैं सजग हुनुपर्छ। तर जनताको पनि सरकारकै सिको गर्ने चाहना देखिएको छ। लकडाउन खुल्यो, कोभिड–१९ हरायो भन्ने भ्रम जनता आफैंले सिर्जना ग–यो। हाटबजारमा कमिलाको ताँतीझैं झुम्मियो। सरकारको कुटिलता बुझ्न सकेन। सङ्क्रमण एक्कासि समुदायस्तरमा फैलियो। यसले न सरकारको केही बिग्र्यो छ, न प्रशासनको। सरकार अहिले पनि सत्ता तानातानमा छ, प्रशासन निषेधाज्ञा लागू गरेर चैनको बाँसुरी बजाइरहेको छ। जनताले अब आफैं आफ्नोलागि सुरक्षाको प्रबन्ध गर्नुपर्छ। भ्रम र उत्तेजनामा लागेर होइन, संयमित भएर जीविकाको सबै काम गर्नुपर्छ, होशियारी यत्तिमात्र राखे पुग्छ–आवश्यक काममा बाहिर निस्कँदा मास्क लगाऔं, आवश्यक दूरी कायम गरौं, भीड नलगाऔं, बेला–बेला साबुनपानीले हात धोऔं। सहनशील र सहिष्णु बनौं। अहिलेलाई यही नै निर्विकल्प उपाय हो।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us