Sunday, August 2, 2020

सोमवारदेखि पर्सा जिल्लाभरि निषेधाज्ञा


प्रस, वीरगंज, १८ साउन/
    जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ रोकथाम नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम साउन १० गतेदेखि वीरगंज महानगरपालिकामा मात्र लगाएको निषेधाज्ञा साउन १९ गतेदेखि पर्सा जिल्लाभरि लागू हुने निर्णय गरेको छ।
    साउन १९ गते बिहान ५ बजेदेखि वीरगंजबाहिर पर्सा जिल्लाभरि निषेधाज्ञा लागू हुने र सो अवधिमा वीरगंजमा जारी भएको निषेधाज्ञाअनुरूपका कामहरू गर्न नपाइने सुरक्षा समितिले निर्णय गरेको छ। निषेधाज्ञा अवधिमा औषधि र अत्यावश्यक कामबाहेक कसैलाई पनि घरबाहिर ननिस्कन सुरक्षा समितिले आग्रह गरेको छ। यो अवधिमा शान्ति सुरक्षा, सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दमकल, दूध, विद्युत्, सञ्चार, भन्सार, आइसिपी, ड्राइपोर्ट र सो क्षेत्रका बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अत्यावश्यकबाहेक सम्पूर्ण पसल, उद्योग, व्यवसाय सेवा बन्द गरिएको जनाएको छ। यो अवधिमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने साधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी वाहन सञ्चालनमा रोक लगाइएको छ।
    यसैगरी, छिमेकी मित्रराष्ट्र भारतसँगको सीमाबाट मानिसहरूको आवागमन निषेध गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएकोमा सोमवारदेखि यो कार्यको लागि नेपाली सेना पनि परिचालन गरिएको सुरक्षा समितिले निर्णय गरेको छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us