Friday, August 21, 2020

भदैया मन्सुली धानको बाला सुक्न थाल्यो

 
प्रस, सेढवा, ५ भदौ/
    भदैया मन्सुली धानको बालामा दाना नलाग्दै सुक्न थालेपछि किसानहरू चिन्तित भएका छन्।
    यो बाली रोपेको ६० दिनपछि बाला निस्किन थालेको र बालाहरूमा दाना नै नलागी सुकेको जीराभवानी गाउँपालिका–२ सेढवाका किसान रामजनम दास थारूले बताए।
    यस वर्ष समय–समयमा पानी परेकाले बाली सप्रे पनि दाना नलाग्दै बाला सुक्दा उत्पादनमा निकै –हास आउने किसान दासले बताए।
    भदौ महीनाको अन्तिम साता वा असोजको पहिलो सातामा भिœयाउन सकिने भदैया मन्सुली, सोना सारो, हर्दिनाथ जातका सबै बालीमा यो रोग देखा परेको छ। यो बाली विशेषगरी गण्डक नहरभन्दा उत्तरतर्फका जगरनाथपुर, जीराभवानी, ठोरी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र वीरगंज महानगरपालिकाका किसानहरू लगाउने गरेका छन्।
    जगरनाथपुर गाउँपालिका–३ का साबिर आलमले बितेका वर्षमा पनि यो रोग लागेको बताए। तर पहिले कम थियो, अहिले धेरै बाला सुक्दै गएको उनले बताए।
    पटेर्वासुगौली गाउँपालिकाका कृषि संयोजक गोविन्दभैया थारूले फङ्गस जीवाणुको कारण यो रोग लागेको बताए। बाला निस्किनुअघि धानको पात पहेंलो हुनु यसको लक्षण रहेकोे र समयमैं कारबेन्डाजिन ५० प्रतिशत डब्ल्युपी वा हेक्सा क्लोनाजेल ढुसीनाशक औषधि छरे यो रोग नियन्त्रण गर्न सकिने संयोजक थारूले बताए। तर बाला निस्किसकेपछि यो रोग नियन्त्रण गर्न नसकिने संयोजक थारूले जनाएका छन्।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us