Sunday, August 2, 2020

४५ जना सङ्क्रमित थपिए, नगरप्रमुखको परिवारका सदस्य पनि सङ्क्रमित


प्रस, वीरगंज, १८ साउन/
    वीरगंजमा शनिवार राति ४५ जना सङ्क्रमित थपिएका छन्। नारायणी प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिपोर्टले १४ महिलासहित ४५ जनामा सङ्क्रमण देखाएको मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए। हिजो राति आएको पिसिआर परीक्षण रिपोर्टमा नगरप्रमुख विजय सरावगीको परिवारका दुईजना सदस्यमा पनि सङ्क्रमण पुष्टि भएको छ। नगरप्रमुख काठमाडौंमा सङ्क्रमित भएर घरमैं आइसोलेट भएका छन् भने वीरगंजमा उनको परिवारको स्वाब नमूना सङ्कलन गरिएको थियो। यसैगरी, नगरप्रमुखको कन्ट्याक्ट टे«सिङमा परेका वीरगंज–११ का १८ र ४५ तथा वीरगंज–१३ का १९ र ३० वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएको छ।
    शनिवार राति भेटिएका ४५ जना सङ्क्रमितमा अधिकांश मास टेस्टिङ, कन्ट्याक्ट टे«सिङ र निजी खर्चमा पिसिआर परीक्षण गराएकाहरू छन्। ४५ जनामा एकजना सखुवाप्रसौनी र एकजना निर्मलबस्तीबाहेक सबै वीरगंजका हुन्। सो रिपोर्टमा सबैभन्दा बढी सङ्क्रमित साउन १२ गते वीरगंज–४ बिर्तास्थित रामकुमार महावीरप्रसाद कन्या माविमा कन्ट्याक्ट टे«सिङमा स्वाब नमूना सङ्कलन गरिएका व्यक्तिहरू परेका छन्। सो ट्रेसिङमा १९ जना सङ्क्रमित भेटिएका हन्। १४९ जनाको स्वाब नमूना सङ्कलन गरिएकोमा ५ वर्षीया बालिकासहित ६० वर्षसम्मका पुरुषहरू गरी १९ जना सङ्क्रमित भेटिएका हुन्।
    यसैगरी, वीरगंज–११, नेरावि मावि श्रीपुरमा गरिएको स्वाब नमूना सङ्कलनमा १० जना सङ्क्रमित पुष्टि भएका छन्। तीनजना महिला र सातजना पुरुष गरी दशजना सङ्क्रमित भएका हुन्। त्यस्तै, म्याग्नेस फर्माका ५ जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ। वीरगंज–८ की ४१ वर्षीया महिला, वीरगंज मनियारीका ३२ वर्षीय पुरुष, वीरगंज–४ भगवतीटोलका ४६ वर्षीय पुरुष र ठोरी गापा–४ निर्मलबस्तीकी २६ वर्षीया महिलासहित ५ जना कामदारमा सङ्क्रमण देखिएको छ। यसैगरी, वीरगंज–३ छपकैया र वीरगंज–११ छपकैयाका दुईजना पुरुषले निजी खर्चमा पिसिआर परीक्षण गराएका थिए। उनीहरूको परीक्षण रिपोर्ट पोजेटिभ आएको जनाइएको छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us