Friday, July 24, 2020

द्रोण पर्व–२०


 - उमाशङ्कर   िद्ववेदी
    त्यो बाण लाग्ने बित्तिकै कोशलनरेशको ह्दय च्यातियो र उनी रणभूमिमैं लडिहाले, साथै अभिमन्युले त्यहाँ उभिएर अमङ्गलसूचक जयकारा घन्काउँदै गरेका ती दश हजार राजाहरूको पनि वध गरिदिए। यस प्रकार सुभद्रा र अर्जुनकुमार अभिमन्युले बाणहरूको वर्षा गरेर तपाईंका योद्धाहरूको गतिलाई रोकेर रणभूमिमा निर्भय भई विचरण गर्न थाले।
    सञ्जय भन्छन्– तदन्तर कर्ण र अभिमन्यु दुवै युद्ध गर्दागर्दै रक्ताम्यै हुन पुगे। यसपछि कर्णका छजना मन्त्री सामुने आए। ती जम्मैजना विचित्र प्रकारले युद्ध गर्ने खालका थिए तर वीर अभिमन्युले उनीहरूलाई घोडा र सारथिसहित नष्ट पारिदिए तथा अन्य धनुर्धारीहरूलाई पनि दश/दश वटा बाण हानेर घाइते तुल्याइदिए, उनको यो कर्म अद्भुत प्रकारको थियो। यसपछि उनले मगधराजका पुत्रलाई छवटा बाण हानेर मृत्युको मुखमा पु–याइदिएर घोडा र सारथिसहित अश्वकेतुलाई पनि मारिदिए। अनि मर्तिकावतक देशका राजा भोजलाई क्षुरप्र नामक बाणबाट मारेर बाण वर्षा गर्दै सिंहनाद गरे। यत्तिकैमा दुःशासनको छोरा आएर चारवटा बाण हानेर चारैवटा घोडालाई, एउटा बाण हानेर सारथिलाई तथा दशवटा बाण हानेर अभिमन्युलाई घाइते पारिदियो। अनि सातवटा बाण हानेर दुःशासनपुत्रलाई घाइते पार्दै भने– अरे, तेरो बाउ त काँतरझै युद्धभूमि छाडेर भागिहाले, अब तिमी युद्ध गर्न आएका रहेछौ ? सौभाग्यले तिमीले पनि लड्न जान्दो रहेछौ, तर तिमीलाई मैले जीवित छाडनेछैन। यति भनेर उनले दुःशासनपुत्रमाथि एउटा तीखो बाण हाने तर अश्वत्थामाले आप्mनो तीनवटा बाण हानेर त्यसलाई काटिदिए। अनि अभिमन्युले अश्वत्थामाको ध्वजा काटेर तीनवटा बाण हानी शल्यलाई घाइते पारे। शल्यले पनि उनको छातीमा नौवटा बाण हाने। अभिमन्युले शल्यको ध्वजा काटेर उनको पाश्र्वरक्षक र सारथिलाई मारिदिए। फेरि छवटा बाण हानेर शल्यलाई व्यथित बनाइदिए। शल्य त्यस रथबाट भागेर अर्को रथमा गएर बसे। यसपछि सुभद्राकुमारले शत्रुञ्जय, चन्द्रकेतु, मेघवेग, सुवर्चा र सूर्यभास–यी पाँच राजाको वध गरेर शकुनिलाई पनि बाण हानेर घाइते पारिदिए। शकुनिले पनि तीनवटा बाण हानेर अभिमन्युलाई घाइते पारी दुर्योधनसित भने– हेर, यसले पालैपालो गरी हामीहरूलाई मार्दै गइरहेको छ, अब हामी सबैजना मिलेर यसलाई मारिहालौं।

    तदन्तर कर्णले द्रोणाचार्यसित भने–अभिमन्युले पहिलेदेखि नै हामी जम्मैजनालाई कुल्चँदै गइरहेको छ, अब यसको वध गर्ने कुनै उपाय हामीलाई बताउनुहोस्। महान् धनुर्धर द्रोणाचार्यले सबैसित भने– यो पाण्डवनन्दनको फुर्ती त हेर, प्रत्यञ्चा चढाउने र बाण हान्ने बेला उसको केवल मण्डलाकार धनुष मात्र देखा पर्दछ, ए आपूm स्वयम् कहाँ छ, यसको पत्तो नै लाग्दैन। सुभद्रानन्दनले आप्mनो बाणबाट मलाई क्षतविक्षत पारिरहेको छ, मेरो प्राण मूर्छित भइरहेको छ, तापनि यसको पराक्रम हेरेर मलाई हर्ष भइरहेको छ। आप्mनो हातको फुर्तीबाट यसले समस्त दिशामा बाणवर्षा गरिरहेको छ। यतिबेला अर्जुन र यसमा कुनै खासै भिन्नता देखिइरहेको छैन। यो सुनेर कर्णले अभिमन्युको बाणले आहत भएर द्रोणाचार्यसित पुनः भने– आचार्य, अभिमन्युले मलाई बडो कष्ट दिइरहेको छ। मैले साहसपूर्वक युद्धभूमिमा उभिराख्नुपर्दछ यो सोचेर म उभिइरहेको छु। यस तेजस्वी कुमारका तीखा बाणहरूले मेरो ह्दयलाई च्यातिरहेको छ।
    कर्णको कुरा सुनेर आचार्य द्रोण हाँसे अनि फेरि बिस्तारै भने– एक त यो तरुण राजकुमार स्वयम् नै द्रुत पराक्रम देखाउने खालको छ, अर्को यसको कवच अभेद्य छ। यसबाहेक अर्जुनलाई मैले जुन कवच धारण गर्ने विद्या सिकाएको थिए, त्यसबारे निश्चय नै यसले त्यो विद्या पनि जान्दछ। अतः यदि यसको धनुष र प्रत्यञ्चा काट्न सके, बागडोर काटेर घोडा, पाश्र्वरक्षक र सारथिलाई मार्न सके मात्र काम फत्ते हुन सक्दछ। राधानन्दन, तिमी उच्चकोटिको धनुर्धर हौ, यदि तिमीले गर्न सके यतिको गर। सबै प्रकारले यसलाई असहाय पारेर यसलाई रणभूमिबाट भगाऊ र पछाडिबाट प्रहार गर। यसको हातमा धनुष रहुन्जेल यसलाई देउता वा असुरहरूले पनि जित्न सक्दैनन्।
    आचार्यको कुरा सुनेर कर्णले आप्mनो बाणबाट अभिमन्युको धनुषलाई काटिदिए। कृतवर्माले उनको घोडा तथा कृपाचार्यले उनको पाश्र्वरक्षक र सारथिलाई मारि हाले। अभिमन्युलाई रथ र धनुषबाट हीन भएको हेरेर बाँकीका जम्मै महारथीले अभिमन्युमाथि बाणवर्षा गर्न थाले। एकातिर छवटा महारथीहरू थिए, अर्कोतिर असहाय अभिमन्यु, तापनि यी निर्दयी महावीरहरूले त्यस बालकमाथि बाणको ओइरो लगाउँदै थिए। धनुष काटियो, रथको साथ रहेन तापनि अभिमन्युले धर्मको पालन गरे। हातमा ढाल तरबार लिएर ती तेजस्वी बालक आकाशमा चम्किहाले। आप्mनो शक्तिबाट उनी गरुडझंै माथि कावा खाँदै थिए, तबसम्म द्रोणाचार्यले क्षुरप्र नामक अस्त्रबाट उनको तरबारको टुक्रा–टुक्रा पारिदिए तथा कर्णले उनको ढाललाई पनि नष्ट–भ्रष्ट पारिदिए।
    अब उनको हातमा ढाल तरबार पनि रहेन, सम्पूर्ण अङ्गमा बाण बिझेको थियो, त्यसै दशामा उनी आकाशबाट ओर्लेर क्रोधले मुर्मुरिएर हातमा चक्र धारण गरी द्रोणाचार्यतिर झम्टिए। त्यतिबेला उनी चक्रधारी भगवान् विष्णुझैं देखा परिरहेका थिए। उनलाई हेरेर राजाहरू अत्यन्त भयभीत भए तथा सबैजना मिलेर उनको चक्रलाई पनि टुक्रा–टुक्रा पारिदिए। क्रमशः...
- महाभारतबाट सङ्कलन तथा अनुवाद

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us