Monday, July 27, 2020

वर्षाले पर्साको बदामखेती प्रभावित


प्रस, पोखरिया, १२ साउन/
    यसपालिको बाढीले पर्सा जिल्लाका विभिन्न गाउँपालिकामा बदामखेतीलाई क्षति पु–याएको छ।
    पर्सा जिल्लाका कालिकामाई, धोबिनी, पकाहामैनपुर, जगरनाथपुर, छिपहरमाई, जीराभवानी गाउँपालिकालगायतमा करीब २० हेक्टर क्षेत्रफलमा बदामखेती गरिन्छ। कृषि ज्ञान केन्द्र, पर्साका सुरेश चौरसियाले करीब २० हेक्टर जमीनमा बदामखेती हुने र यसपटकको बाढीले बदामखेतीलाई क्षति गरेको बताए।
    किसानहरूले प्रतिकट्ठा ६०–७० किलो बदाम उत्पादन गर्दै आएका थिए। तर यसपटक बाढीले क्षति पु–याएको हुँदा प्रतिकट्ठा २० किलो बदाम उत्पादन हुने लक्षण पनि देखिएको छैन। नगदेबालीको रूपमा रहेको बदामखेतीबाट किसानहरूले प्रतिकिलो रु २ सयमा बदाम बिक्री गर्दै आएका थिए। बदामखेतीमा यो क्षेत्रका सयभन्दा बढी किसान संलग्न छन्। कालिकामाई गापाको मुर्ली, तीनडोबिया, छिपहरमाई गापाको भिस्वा, जयमङ्गलापुर, मिर्जापुर, भलुवाही, धोबिनी गापाको लङ्गडी, आसवारी, पटेर्वासुगौली गापाको शङ्करसरैया, पाँडेपुर, देउरिया, पकाहामैनपुरको पोखरिया टोल आदिमा बदामखेती गरिन्छ।
    खासगरी, नदी किनारको जमीन र  बलौटे जमीनमा बदामखेती राम्रो हुने गर्छ। जेठ महीनामा बदाम लगाउने र असोजमा उत्पादन भित्र्याइन्छ। यसपटक लगातार आएको बाढीले बदामखेती गर्ने किसानहरूलाई निराश पारेको छ। अझ आज सोमवारदेखि चर्को वर्षा हुने मौसम विभागले सूचना जारी गरेपछि बदाम किसानहरू झनै चिन्तित भएका छन्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us