Sunday, July 19, 2020

सुक्खा बन्दरगाह भन्सारले लक्ष्य भेटाएन

राधेश्याम पटेल, वीरगंज, ४ साउन/
    नेपालको एकमात्र सुक्खा बन्दरगाह वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सारले गत आवमा लक्ष्यको तुलनामा करीब साढे ५ अर्ब रुपैयाँ कम राजस्व असुली गरेको छ।
    कोरोना सङ्कटको कारण आयात–निर्यात प्रभावित भएपछि राजस्व सङ्कलनमा गिरावट आएको श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले जानकारी गराएका छन्।
    गत आर्थिक वर्षको साउनदेखि असारसम्म भन्सार कार्यालयले रु ४१ अर्ब ८८ करोड ५ लाख ४ हजार राजस्व लक्ष्य लिएकोमा रु ३८ अर्ब १९ करोड ७३ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ।
    भन्सार कार्यालयले भन्सार महसूलतर्फ रु १९ अर्ब २२ करोड ९० लाख ४८ हजार लक्ष्य पाएकोमा रु १६ अर्ब ५८ करोड ९९ लाख ४१ हजार, मूअकतर्फ रु १९ अर्ब ४० करोड ६ लाख २६ हजार लक्ष्य पाएकोमा रु १७ अर्ब १४ लाख २९ हजार, अन्तःशुल्कतर्फ रु ३ अर्ब २५ करोड ८ लाख २९ हजार लक्ष्य पाएकोमा रु २ अर्ब ४३ करोड २ लाख ७० हजार र सडक निर्माण दस्तुरतर्फ रु १७ करोड ५७ लाख ५ हजार गरी कुल रु ३६ अर्ब १९ करोड ७३ लाख ९५ हजार राजस्व सङ्कलन भएको उनले बताए।
    कोरोना महामारीको कारण श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले साउनदेखि फागुनसम्म लक्ष्यको न्यूनतम ९० प्रतिशतभन्दा माथिको अङ्कमा राजस्व सङ्कलन गर्दै आएकोमा चैतदेखि राजस्व सङ्कलनमा रोक नै लागेको थियो।
    कार्यालयले चैतमा रु ३ अर्ब १६ करोड १२ लाख राजस्व लक्ष्य पाएकोमा रु २ अर्ब ३ करोड ६९ लाख, वैशाखमा रु ३ अर्ब ३५ करोड ८८ लाख लक्ष्य पाएकोमा वर्षकै सबैभन्दा कम रु १ अर्ब ३८ करोड ९५ लाख, जेठमा रु ३ अर्ब ७४ करोड ९७ लाख लक्ष्य पाएकोमा रु ३ अर्ब ५४ करोड ३७ लाख र असारमा रु ३ अर्ब ४९ करोड ४२ हजार लक्ष्य पाएकोमा रु ३ अर्ब १९ करोड ३२ लाख राजस्व सङ्कलन गरेको थियो।
    जेठमा सवारी आयात बढी भएकोले लक्ष्यको तुलनामा राजस्व असुली बढेको थियो भने असार १ गतेदेखि लकडाउन खुकुलो भएसँगै भन्सारमा रोकिएका मालवस्तुको जाँचपास हुँदा राजस्व असुलीमा पछिल्लो महीनाभन्दा वृद्धि भएको थियो।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us